18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म, फातिमा अनि क्रिस्टिना

कथा योगप्रसाद उपाध्याय चापागाईं June 13, 2023, 11:29 pm
योगप्रसाद उपाध्याय चापागाईं
योगप्रसाद उपाध्याय चापागाईं

"उनको आत्मकथा पढेपछि मैले उनलाई बुझ्ने प्रयास गरेको थिएँ । यो उमेरमा यदि ऊ यति राम्री जवान युवती देखिएकी छन भने पन्द्रवर्ष अगि साँच्चै ऊ अल्लाहकै सुन्दर सृष्टिहरू बिचकी एक अनूपम सृष्टि थिन् । अल्लाहले उनलाई बनाएर फेरि विगारे । किन विगारे यति सुन्दर सृष्टि ॽ अल्लाहको नियम तोडन कस्ले सक्छ ॽ अल्लाहले उनलाई जसरी सुन्दर बनाए त्यसरी अल्लाहले नै उनलाई जीवन कोर्न सेतो खालीकागज दिए । आज ऊ अल्लाहले दिएको सेतो खालीकागज च्यापेर भोगेको जीवन त्यसमा कोर्दै छन् ।"

उनि थिन् फातिमा बेगम । जसलाई म धेरैवर्ष पहिला देखि जान्द थिएँ । फातिमा बेगमलाई नजिकबाट चिन्ने प्रयासले म बंगाल पुगेको थिएँ । उनि आफ्नो घर अगाडिको खुल्ला जग्गामा एउटा कुकुरलाई डोहोर्याई रहेकि थिन् । मलाई देख्नासाथ फातिमाले बुर्का खिंच्ने प्रयास गरिन । तर उन्को कानमा लाएको सुनमा उन्को बुर्का अल्झिएको थियो । उनले बारबार बुर्काको घुम्टो ओडन खोजेर असफल भएको देखेर मैले फातिमालाई भने "फातिमा, के तिम्रो बुर्काले बाहिरको चिच्याहट आवाज सुन्न दिएको छैन् ॽ"

"कस्को आवाज ॽ"

"बाहिरको चर्को आवाज सुनेकी छैनौ ॽ" यतिदिन बुर्काले छेकेको उनको अनुहार खुल्ला भएको थियो । मैले तिन्को बुर्का बिनाको अनुहार एकछिन एकटकले हेरें । उन्का ओठहरूले विगतका चुम्बनका प्रतिकार गरिरहेका थिए । त्यसमा नयाँ कुनैकुरा खोजिरहेको उदासी पना देखिन्थियो ।

अब भने उनले बुर्का तान्ने दोस्रो प्रयास गरिनन् र आक्रोश भावमा भनिन्- "त्यो आवाजको कुनै अर्थ छैन ।"

"मतलव छोरी पढाउ, छोरी बचाउ भनेर बाहिरको सडकमा भै रहेको जुलुश मिथ्या भन्न खोजेको ॽ'

"सत्य हो, एकदम सत्य हो ! तर ए मानव, त्यो नारा जुलुशमा सामेल भैरहेका ती अनगन्ति मानिसहरू सब आल्लाहका सृष्टिहुन् ।"

"अनि के भो ?" मैले सोधेँ ।

"इस्लाममा अल्लाहले दुईवटा स्वर्ग बनाएका छन भनेर पत्याउनेहरूका लागी । बाहिर भैरहेको चर्को सोर सुनेर स्वर्गको सुक्खको अनुभूति लिनेहरूका लागि । ती चरम सुक्खको सिंहाशनमा बसिरहेकाहरू यस्तोमा अभ्यस्त छन् । उनिहरू नारा र जुलुशको चर्को सोर सुनेर मातिन्छन् ।"

"अरे, तिमी किन यस्तो कुरा गरि रहेकी छौ ॽ इस्लामको हुकूम भएको छैन र ?

उनले कुकुरलाई खोर भित्र हालिन र हातगोढा धुएर भित्र पसिन् । म बाहिर हेर्न लागें । बाहिरको जुलुश झन उत्तेजिन देखिदैँ थियो । राँकाहरूको धूवाँ र बाटोको धूलोले पुरै सहरको अकास बादलले ढाके जसरी ढाकिएको थियो ।

फातिमा ट्रेमा कफिका दुईवटा कप बोकेर आइन्- मेरो कुराको जवाफ दिने क्रममा भन्न थालिन्- "अल्लाहले दुईवटा जात नारी र पुरुष बनाएका थिए । यि दुबैजातमा पुरुषले नारीलाई गौन बनाए र मनपरि गर्न थाले । काम वासना र सुन्दरताको योग्य बेगार, पुरुषले नारीको कुनै मतलवै राखेनन् । यहि कारनले इस्लाम आए पछि इस्लामले अल्लाहको दोहाइ दिए र ग्रीकहरूसँग बेचि रहेका नारीको प्रतिवाद भयो । तर ग्रीकहरूले फेरि आवाज उठाए "संसारमा पतनको कारन नारीको अस्तित्व हो, नारी सुन्दर रुख हो तर विख भएको; खायो भने मर्नु पर्छ ।"

बुर्का बिनाको उन्को अनुहारमा देखिन्थ्यो बुर्कामा अभ्यस्त भै सकेको अनुहार । घरि घरि उनलाई बुर्काले सम्झाइ रहेको अनुभूति भैरहेको थियो । यो अनुभूति दुई प्रकारको थियो भन्ने मेरो अनुमान थियो । उचित र अनुचित दुबै निर्णयको संघारमा थिन ऊ । मैले फेरि उनका अधुरा कुरा टुङग्याउन आग्रह गरें- "त्यसपछि के भयो ?"

"त्यस पछि, अब कोहि यहाँ आई पुग्छ । रक्सीको गन्ध उस्को सासबाट उकेल्दै अल्लाहको सुन्दर सृष्टि भनेर झन नजिकिन्छ ।" उन्का नजर परको बाटो तिर पुगेका थिए । उनि थोरै अस्थिरहुन पुगिन् ।

मैले बुझ्न चाहे़ँ र भने- भूत ॽ

होइन । भूत बनाउने मान्छे । तपाईं यहाँ बसि रहनु ठिक छैन मानव । ऊ तिनै स्वर्गमा बसेर सुक्ख खाईरहेका मान्छेको पहरेदार हो । ईच्छानुसार उसले तपाईंलाई भूत बनाउन सक्छ । र मलाई पनि ।

फातिमाको यस वाक्यमा इस्लाम अघिको काबुपना जिउँदो प्रतित भै रहेको थियो । र पनि मैले उनलाई म आफू कुनै प्रकारको क्षमता भएको मानिस उनलाई लागेको पाएको थिएँ न वास्तवमा म त्यो क्षमताको नै थिएँ । फातिमा वेवारिश थिन् । हिन्दुहरूमा त्याग गरिएको मूलपुत्र जस्तै । अर्थात म जस्तै । त्यो मान्छेको ढोकामा प्रवेश अगि मैले फातिमालाई भने- "फातिमा तिमी मलाई विश्वास गर वा नगर तिम्रो खुसी । मलाई यति भन कि कुन खुसीले तिमी जीवन भरिको सुक्ख र खुसी पाउन सक्छेउ । म तिम्रो खुसीका लागि जे पनि गर्न तयार छु ।"

"बस्, महोदय ! धन्यवाद ! मलाई यति नै....." फातिमा एक्कासि आत्तिदै उठिन र ढोकाको पर्दा झार्दै म तिर फर्किएर भनिन्- महोदय, तपाईं पछिल्लो ढोकाबाट भाग्नुस् । तपाईं टाडै कतै जानुहोस् । नत्र त्यो मान्छेले तपाईं सहित मलाई पनि भूत बनाउँने छ ।"
-----
फातिमालाई छाडेर यसरी म काठमाण्डौं आएको थिएँ क्रिस्टिना । यो तालको सुन्दरतालाई पनि पर्यटक चाहिँदो रहेछ । ऐले मैले बुझें । मानिसलाई पनि मानिस भएर जिउनका लागी मानिस नै चाहिने ईश्वरको यो लीला । ईश्वरको कानून तोडन नसकिने ।

मेरा प्रिय मान्छे, म तपाईंलाई भन्छु मेरो जिवनको घटना- तपाईं सुन्नुहोस्- "पादरीहरू विश्वास दिनखोज्थे, पुरुषहरूले नारीको सुन्दररूप क्रुर वा जंगली जानवर जसरी हेर्दैनन्, तर त्यो सुन्दर जात भित्र शैतान बसेको हुन्छ ।"

"कतिधेरै अन्यायी दृष्टि । क्रीस्टको अनुयायी बनेर पादरीहरूले त्यसो भन्नु उचित थियो र ॽ के मेरीमाथी निर्मम अन्याय भएन र पादरीहरूको ॽ"

"क्रिस्टिना ताल किनारको चिसो घाँसमाथी घिस्रिएर सरिन र मसँग ठोक्कीएर बसेर भन्न थालिन- प्रिय, तिमीले कहिल्यै सुनेका थियौ कि अंग्रेजहरू पत्नी बेच्थे भनेर ॽ"

कुतहल राखेर मैले टाउको हल्लाएँ, छैन ।

"मात्र दुईसय वर्ष अघिको कुरा हो । अंग्रेजकी पत्नीको मूल्य ६ पाउण्ड थियो । अंग्रेजहरूले आफ्नी पत्नी ६ पाउण्डमा बिक्री गर्न सक्ने कानुन बनाएका थिए । सायद त्यस समय मेरो जन्म भएको हुँदो हो त म पनि कुनै अग्रेजले बेचेपछि उसले मलाई ६ पाउण्डमा किनेर ल्याएकी पत्नी भनेर कसरी सताउथ्यो होला ।" क्रिस्टिनाको अनुहारमा कुनै प्रकारको शंका उत्पन्न भएको थिएन । उत्साह र खुशीको हाँसोले ऊ गुलाफ जसरी हाँसी रहेकी थि ।

मैले कुरा बदल्ने प्रयास गरें- "अहिलेको कथा ?"

"प्याकेजमा नेपाल आएकी थिएँ ।" ऊ पुरै मसँग टाँस्सिएर बसि । उस्को शरीरको स्पर्शले मलाई कुनै प्रभाव पार्न सकेको थिएन । हामी काठमाण्डौंको पशुपति क्षेत्रमा भेट भएपछि पोखरा पुगेका थियौं । क्रिस्टिनाको धर्मप्रतिको चेतनामा केहीँ परिवर्तन आएको थियो । ऊ आफुलाई जिजशकुलकी भने पनि वर्तमान ऊ हिन्दुहरूका देवी देवताको प्रशंसा गर्दैथि र ऊ शिव भगवानकी भक्त हूँ भन्थि । उसले भनेको प्याकेजका बारेमा मैले जिज्ञासा राखें- "के तिमी कुनै विश्वविद्यायकी बेस्ट स्टुडेन्ट वा यर्यटनकी शोधकर्ता हौ र ?"

"होइन, होइन । त्यस्तो केही होइन ।"

"उसो भए ॽ के ॽ"

"उहि पादरीकै अनुकरन ।"

"मतलव तिमी वेश्या वृत्तिमा आएकी ?"

उसका हात एक्कासि उजिए, फेरि मायालु नम्रताका साथ मेरो अनुहार तिर सलबलाए र चिँउडो उस्का औंलाहरूले हल्कासँग मुसार्दै भनि- "हाउ ! म सानो सहरबाट सुन्दरी प्रतियोगितामा प्रथम हुँदै आएकी थिएँ । एउटा कम्पनीका साहुले मलाई विश्वसुन्दरी प्रतियोगितामा प्रतिद्वन्दि बनिन भने र सबै खर्च पनि उनैले दिए । यो यात्रा पनि उन्कै कृपाले भएको हो ।"

मैले भने- 'धर्मले नारीलाई होच्याएको छैन । हिन्दु धर्मले नारीलाई उच्चसम्मान दिएको छ । ज्ञान-बुद्धि, धन-सम्पत्ति, शक्ति सबै नारीमाथि विश्वास गरिन्छ । तर त्यहि समाजमा पहिला पहिला एकेकजना क्षमताशाली पुरुषहरूले सयजना पत्नी भेला गर्थिए । ईच्छा अनुसार तिनलाई बाँच्न समेत दिइदैन थिए । पुरुषको मृत्युसँगै जिउँदै चितामा जलाएर मारिन्थ्यो । यसरी नारीहरू सबै धर्म, देश र सत्ताबाट वञ्चित भैरहे ।"

ऊ केहि डराए जस्तो गरि- "मलाई फातिमाको माया लागिरहेको छ । कति धेरै संघर्ष घरेर बाचेँकी । मलाई पनि ती मानिस देखि डर लाग्छ । शासकपक्षका निशामा मातिएका ती मानिस कति क्रुर । कति निर्दयी । युक्रेनीहरूलाई कसरी मारे हेर त !"

साँझ पर्नै लागेको थियो । मैले पशुपतिमा भेटहुँदाको सर्त पुरा गरिसकेको थिएँ । म उठेँ र उस्कालागी होटलजाने ट्याक्सी बोलाएँ ।

क्रिस्टिनाले मलाई अरु के के भन्न खोज्दै थि र मलाई पनि ऊसँगबाट छुट्टिनुको पीडा भैरहेको थियो । ट्याक्सीमा बसेर उसले मलाई हात हल्लाइ । म एकोहोरो लागेर हेरिरहेको थिएँ । एकैछिनमा ऊ र ट्याक्सी मेरा नजरबाट दूर भए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।