18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हर्के तैले ठिक गरिस् यार

हास्यव्यङ्ग्य विश्व विनोद June 13, 2023, 11:27 pm
विश्व विनोद
विश्व विनोद

प्रिय हर्के,
अब गाउँमा नफर्के
याद छ तँ मेरो लगौंटियार होस् । सुख दुखका कुरा एकापसमा साट्ने तँ र म नै थियौं । हातमुख जोड्ने बाध्यताले तँ नौ डाँडा पारि जाँदै गर्दा मन अमिलो र मष्तिस्क धमिलो बनाउनेको एक नम्बरमा मेरो आउँथ्यो । यहीँको जमिनमा नै पौरख गर्नु पर्छ, यहि देशको मानिसहुनुमा गर्व गर्नुपर्दछ भन्ने मेरो अन्ध देश प्रेमको गजबको आकांक्षा थियो । तर रोजगारीको कारण बिदेशीनु तेरो बाध्यता थियो पनि । तेरो पासपोर्टसँग मैले मेरो नागरिकता दाँजेको थिएँ कुनै बेला । त्यो बेला सम्म पासपोर्ट नबनाएकोमा मलाई यै देशको नागरिक भएकोमा गर्व लाग्थ्यो अनि मनमनै गुनगुनाउने गर्थेँ — कमसेकम गुलामी गरेर त बाँच्न परेको छैन ।
समय उस्तो रहेन जुन मैले सोचेको थिएँ । आखिर हर्के, तँ भन्दा बढी गुलामी मैले नै गर्न परेको छ । कृषि कर्ममा रमाउँछु भनेर कृषि फाराम खोल्दा हरेक कुना कुनामा हाकिम साब हरुलाई गुलामी गर्न परेको छ । यहाँको महङ्गाई सँग म चेपुवामा पर्नु परेको छ । तर हर्के तैले त ठिक गरिछस् यार बेलैमा बिदेश गएर । यति भनेर मैले मेरो निराशा पोखेको हैन तर अब आउने पुस्ताको हविगत देखेर चिन्ता मात्र लागेको हो ।
हर्के, कमसेकम तँ घर फर्कदा गाउँलेले तलाई अर्कै सानदार नजरले पनि त हेर्ने गरेका छन् । खाडीमा पसिना झारेर भएपनि देशलाई रेमिट्यान्स भित्र्याउन योगदान दिने तैं जस्ता लाखौं मानिस छन् भनेर मलाई गर्व गर्न मन लाग्छ । तर हर्के तैंले जति पनि त मैले यो देशमा केही गर्न सकेको छैन । म यहाँ महिना दिन काम गरेर पनि परिवार पाल्न धौ धौ छ, यौटा टिभिको सेट किन्न सकेको छैन , तर हर्के तैले त बिदेशमा काम गरेर भए पनि आफ्ना बाल बच्चालाई राम्रो सँग पढाउन सकेको छस्, राम्रो घर बनाएको छस् तर हर्के मेरो घर त तँ हामी भाँडाकुटी खेल्ने बेलाको घर नै हो , उही पुरानोमा नै त छु ।
प्रिय हर्के, तँ बिदेशमा बस्दा हरेक दिन देशलाई सम्झन्छस् तर हर्के मलाई आजकाल यो देश हरेक पल्ट बिर्सन मन लागेको छ । देशलाई मैले न केही गर्न सँके न देशले मलाई वातावरण दियो । केही गर्छु भन्दा आफ्नै जग्गा बन्धकी, धितो, अडाना राखेर दुनियाँ थरि काम गर्नु पर्छ । किसानी ग¥यो , ग¥यो, अर्कै देशको तरकारी सस्तोमा सरकारले भित्र्याउन दिएर हाम्रो बिक्रि हुन्न । नयाँ कुनै कुरा चाल्यो, ईजाजत लिनै अप्ठ्यारो, पुरानो कुनै कुरा गरुँ बिचौलियाका दबदवा । ए हर्के यहाँ मलाई स्वास फेर्न पनि मुस्किल भै सक्यो ।
हर्के, तिमी गएको देशमा कमसेकम नीति छ,थिती छ, तर यहाँ न नीति न थिती बर झन् बेथिती छ । तिमी खाडीमा गएर पनि आफ्ना सन्ततीलाई युरोप पठाईसकेको छौ । अबको ५ बर्षमा तिम्रा सन्तती उतैको बासिन्दा बनेर भविष्य सुरक्षित गर्नेछन् तर हर्के म नेपालमा नै बसेको कारण गरिब भएको कारण मेरा सन्ततीले युरोपको यात्रा तय गर्न सकेका छ्रैनन् । हर्के, तिमीले ठिकै गरेछौ, बिदेशमा श्रमको नियम मानेर तिमी काम त गरेका छौ तर यहाँ म चौबिसै घण्टा जोतिएर काम गर्नु पो परेको छ ।
हर्के, तिमी बिदेशीएका पटक्कै हैनौ किनकी हरेक स्वासमा तिमिले देश सम्झेका हुन्छौ , हरेक चाडबाडमा रेमिट्यान्स पठाईदिएका हुन्छौ तर हर्के हामी यहाँ देश भित्र बस्नेलाई परेका पिडा कतै गए पनि सुनाउन नपाईने रहेछ । हर्के तिमीले ठिकै गरेको छौ यार ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।