सार-
पूर्वीय वाङ्मयमा लोक शब्दका विभिन्न अर्थ, सन्दर्भ र व्यापकता पाइन्छ। यद्यपि यहाँ लोक भन्नाले जनगोष्ठी बुझिन्छ अनि समयका क्रममा जनगोष्ठीबाट अलिखित रूपमा सिर्जिएको परम्परागत साहित्यिक रूपलाई लोकसाहित्य बुझिन्छ। लोककथा, लोकगीत, लोकनाटक, लोकगाथा, लोकोक्ति आदि लोकसाहित्यका अङ्ग हुन्। लोकनाटकको एउटा प्रकारमध्ये सिताभारत बालुन पनि हो। बालुनका पनि केही भेदहरूमा रामायणको बालन, महाभारतको बालन, कृष्णलीला बालन, दशावतार बालन आदि प्रचलित छन्। रामायणको बालनअन्तर्गत पनि रामभारत, सिताभारत, नैमिनीभारत आदि प्रकारका पाइन्छ। यता कालेबुङतिर प्रचलित लोकरामायणअन्तर्गत सिताभारत बालुनमा राम र सितासम्बन्धित उपकथा पाइन्छ। प्रस्तुत लेखमा त्यही राम सिताको उपकथाको अध्ययन प्रस्तुत गरिन्छ।
बीजशब्द- लोकनाटक, लोकरामायण, बालुन, आशिका, खलिफा।
१. लोकसहित्य परिचय -
लोकबाट रचिएको साहित्यलाई लोकसाहित्य भनिन्छ। यो लोक जीवनको सरल, सहज र स्वाभाविक अभिव्यक्ति हो। लोकभाषा र लोकसाहित्य कुनै पनि भाषा-साहित्यको मूल आधार हो। जब मानिस सभ्य भएको थिएन, त्यतिबेला उसले आफ्ना मनका सुख-दुःख, जीवन-मरणका भाव, आफुले देखे-भोगेका घटना तथा आवेग- संवेग अरूलाई सुनाउँथ्यो। त्यसै बेलादेखि लोकसाहित्यको प्रादुर्भाव भएको हुनुपर्छ। यसलाई मानिसको आदिम अवस्थाको अवशेष पनि मान्न सकिन्छ। मान्छे आदिम र असभ्य अवस्थादेखि सभ्यताका अनेक सिँढीहरू उक्लिसकेको छ तर पनि उसमा आदिम प्रकृतिका कतिपय अवशेष विद्यमान छँदैछन्। परम्परागत रूपमा मान्छेले भाषालाई ग्रहण गर्दैआएको छ र त्यसका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त पनि गर्दछ। यसरी भाषाका माध्यमबाट व्यक्ति-व्यक्तिमा सर्दै र फिँजिदै जाने क्रममा समाजको साझा सम्पत्तिका रूपमा लोकसाहित्यिक सामग्री विकसित भएका हुन्छन्। अतः आदिम मानस, लोकमानस, मौखिक अभिव्यक्ति, श्रुतिपरम्परा, भाषिक माध्यम, साझा सामाजिक सम्पति आदिसँग लोकसाहित्य सम्बद्ध हुन्छ।
लोकसाहित्यका विशेषतालाई निम्न बुँदामा बाँड्न सकिन्छ- (क) सामुहिकता (ख) पारम्परिक (ग) मौखिकता (घ) गतिशालता, (ङ) रचनाकार अज्ञात र गौण, (च) रचनाकाल अज्ञात (छ) स्थानिकता, (ज) हार्दिकता, (झ) अनौपचारिकता, (ञ) अशास्त्रीयता (ट) अभिधामूलक अभिव्यक्ति इत्यादि। सामान्य साहित्यमा झैं लोकसाहित्यका पनि विभिन्न विधा-उपविधा हुन्छन्। अतः यसलाई लोककथा, लोककविता, लोकगीत,लोकगाथा, लोकनाट्य, उखान-तुक्का, वाग्धारा, गाउँखाने कथा, प्रहेलिका आदि विधाहरूमा विभाजन भएको पाइन्छ।
२. लोकनाटक –
भरतमुनि अनुसार स्वाभाविक, शुद्ध र विकाररहित लोकप्रचलित कार्यसँग सम्बद्ध, अङ्ग-लीलारहित, सहज, विभिन्न प्रकारका स्त्री र पुरूषहरूद्वारा अभिनीत नाटक नै लोकधर्मी नाटक हो। लोकधर्मी रूढिहरूको अनुकरणात्मक अभिव्यक्तिको त्यो नाट्यरूप हो जसले आ-आफ्ना क्षेत्रका लोकमानसलाई आह्लादित, उल्लासित एवम् अनुप्राणित गर्छ, त्यो लोकनाटक कहलाउँछ।– श्रीराम शर्मा।
विधिविधान, कथावस्तु लोक पात्र, लोकगीत र नृत्य वाद्य आदि आदि यसका सामाग्री हुन्। लोकनाटकलाई जहाँ पनि र जसरी भए पनि देखाउन सकिन्छ। मेला, सामूहिक भेला आदितिर प्रदर्शन गर्न सकिन्छ। व्यवहारिक रूपमा यो एक प्रकारको लोक मनोरञ्जन, लोक शिक्षापरक हुन्छ। गुरू परम्परा, कुनै निश्चित कथावस्तु, सहज र सरल भाषा, गेयात्मकता, संवादात्मकता, सहज प्रदर्शन, अभिनेयता, मङ्गलाचरणको प्रस्तुति, समुचित वेषभूषा, रोमाञ्चकाररी कथावस्तु, मनोरञ्जनपरकता र शिक्षापरकता आदि यसका विशेषता हुन्।
लोकनाटकको विभिन्न प्रकारले प्रस्तुति हुनाले यसका वर्गीकरणका आधारहरू पनि विभिन्न किसिमका हुन्छन्। यसभित्रका अङ्ग-उपाङ्ग, निश्चित भेषभूषा, मङ्गलाचरणको प्रस्तुति पनि विभिन्न किसिमका हुन्छन्। लोकनाटकमा अभिनेयता पनि एउटा विशेषता हो। प्रयोजनका दृष्टिले मनोरञ्जनात्मक र अनुष्ठानात्मक गरी दुई प्रकारका हुन्छन्। यसै गरी प्रस्तुतिकरणका दृष्टिले एकालापीय र वार्तालापीय हुन्छन्।
३. बालन परिभाषा अर्थ र विशेषता –
नेपाली समाजमा एउटा लोकप्रिय लोकनाटकका रूपमा बालन देखिन्छ। यसमा नृत्य गर्दै नाट्य अभिनय गरिने हुनाले यसलाई नृत्यनाटक पनि मान्न सकिन्छ। यो नेपाली गोर्खाली समाजमा विशेषगरी खस जातिमा प्रचलित देखिन्छ। बालुन पनि एक प्रकारले लोकनाटक नै हो। यसमा कृष्ण लीलाका विभिन्न झाँकीहरू प्रस्तुत हुन्छ। यो बाहुन छेत्री समुदायमा चल्तीमा रहेको पाइन्छ।
समाजमा सामान्य रूपमा बालन शब्द प्रयोग तापनि यसलाई बालुन पनि भन्ने गरिन्छ। यस बालन वा बालुन शब्दको व्युत्पत्ति कसरी भयो सो निश्चित रूपमा भन्न सकिन्न। कसैले हिन्दी शब्द बालमबाट आएको, कसैले बाल वा बालाको कथा अर्थात् बाललीला भन्ने अर्थ ग्रहण गरी बालन व्युत्पन्न भएको ठान्छन्। कालिम्पोङका बालन विशेषज्ञ श्री इन्द्रप्रसाद अधिकारीका अनुसार 'बालन' शब्द 'व्यायाम लय' बाट व्युत्पन्न भएको हो। देवताहरूले ब्रह्मलोकमा दिनभरि कार्यक्रम गरेपछि रातमा मनोरञ्जन गर्नलाग्दा एकप्रकारले व्यायाम गरेर सिर्जना भएको लयलाई गाउने चलन बसाए र यही व्यायाम लयबाट बालन भएको हो। बालन पौराणिक र धार्मिक विषयवस्तुमा आधारित छ भने अचेल कतै तै सांस्कृतिक विषयवस्तुमा पनि प्रस्तुति गरेको पाइन्छ। यो खेलाइनुको विशेष उद्देश्य मनोरञ्जनका निम्ति मात्र पनि हुन सक्छ कतै सन्तान प्राप्तिका निम्ति कतै पुत्र प्राप्तिका निम्ति कतै कुनै अन्य भाकल वा कार्यसिद्धि पूरा गर्न आदि हुन्। अझ सन्तान नभए वा छोरा नभए घरमा बालन नचाए अवश्य नै प्राप्ति हुन्छ भन्ने विश्वास पनि गरेर खेलाइन्छ। बालनको किताब छ भने त्यो धुप अक्षता चन्दनले पूजा गरेर वा विधिसम्मत खोलेर खोल्नु र बन्द गर्नुपर्छ भन्ने मत पनि पाइन्छ। घरमा विभिन्न पूजा आयजना गरेको राती, कनै बालक-बालिकाको छैंटीको रात, न्वरान,ठुली एकादशी, बाला चतुर्दशी सप्ताह पुराणको राती, चणडी पूर्णिमा आदि जस्ता पर्व र अवसरमा बालन खेलिन्छ।
४. बालनका प्रकार –
बालन धार्मिक विषयवस्तुमा आधारित हुनाले यसको कति किसिम हुन्छ भन्ने ठिक निर्क्योल गर्न कठिन पर्छ। तीमध्ये रामायणको बालन, महाभारतको बालन, कृष्णलीला बालन, दशावतार बालन आदि प्रचलित छन्। रामायणको बालनअन्तर्गत पनि रामभारत, सिताभारत, नैमिनीभारत आदि प्रकारका पाइन्छ। यता दार्जिलिङ कालिम्पोङ सिक्किमतिर भने रामभारत र सिताभारत बालन मात्र प्रचलित पाइन्छ।
५. लोकरामायण र बालन –
लोकमा मौखिक रूपमा रहेका रामायणका कथा नै लोकरामायण हो। यसभित्र रामायणका विभिन्न पुस्तकतिर नपाइने राजा दशरथ, राम, सिता, हनुमान रावण आदिका कथा र प्रसङ्ग पाइन सकिन्छ। भानुभक्तको रामायण, तुलसीदासको रामचरित मानस जस्ता चर्चित रामायणमा समेत नपाइने कति कथा नेपाली समाजमा सुन्न पाइन्छ। बालन पनि लोकरामायणकै एउटा प्रकार हो। रामभारत र सिताभारतमा रामायणकै विभिन्न अनसुना र अनौठा कथाप्रसङ्ग पाइन्छ। राजा दशरथलाई ब्रह्मलोकबाट अयोध्याको राजा बनाइनु, उनको निम्ति विशेष प्रकारको घर बनाइनु, राम राजा हुनु, रामसिताको बिहा हुनु, सितालाई रामले शङ्काका आधारमा परित्याग गर्नु अझ लक्ष्मणलाई सितालाई मार्न लाउनु तर लक्ष्मणले आज्ञा पालन नगर्नु, राम सिता लश्र्म आदि सामान्य मान्छेसरह देखिनु आदि कथाहरू लोकरामायण पाइन्छन्।
६. बालन खेल्ने पद्धति –
बालनेहरू पहिले आँगनमा आई २-२, ४-४ वा ८-८ जनाको संख्यामा मुखामुख गरी उभिन्छन्। सर्वप्रथम इष्टदेवता र कुलदेवतालाई सम्झन्छन्। दियो कलस र गणेशको पुजा हुन्छ। बालुन नचाउने घरका घरपतिले बालने, कन्याकुमारी र भजनेहरूलाई स्वागत गर्छन्। मुख्य रूपमा बालन खेल्दा एकजना नेतृत्व गर्ने व्यक्ति हुन्छ जसलाई खलिफा भनिन्छ। खलिफाले सबै भजने र बालनेलगायत अरू दर्शकहरूलाई पनि चामलको टिका लगाइदिन्छ। बालनेहरू दुवै हात जोडेर माथि उठाएर घुम्छन् र आफ्ना आफ्ना समूहमा विभाजित भई बालन शुरू गर्छन्। खलिफाले भट्याउँदैजान्छ र अन्य बालनेहरूले पछ्याउँदै जान्छन् र नाच्नेहरूले नाच्छन्। नाच्नेहरू जोडी जोडी भएर पिठ्युँ जोड्दै छोड्दै जान्छन्। बालनको शुरूमा गणेश, राम, अन्य देव देवताको मङ्गलाचरण हुन्छ। बालनको अन्त्यमा दक्षिणा दिएपछि आशिक दिने चलन पनि छ।
बालनको धुन आफ्नो प्रकारको हुन्छ। यद्यपि यो पनि स्थान र कालविशेष अनुसार भिन्नाभिन्दै पनि हुन्छ। कालिम्पोङको बमबस्तीमा श्री इन्द्रप्रसाद अधिकारी र उनको टोली, टारी गाउँ ग्राम सुधार समितिको बालनटोली, बिजनबारीको बालनटोली, पेदोङको दलेपको बालन टोली, सिक्किमको पामबस्तीको बालन टोलीको वालनको धुन र नृत्य तरिका केही भिन्नभिन्न पाइन्छन्।
7. सिताभारत आख्यानको संरचनागत अध्ययन –
७.१. संरचना- सिताभारत बालन जम्मा तीनवटा वस्तु पाइन्छन्-
१.आशिका- जसमा देवी-देवताको मङ्गलाचरण, राम र सिताको चरित्रको महिमा गाइन्छ। अझ बालन खेलाउनेको घरको वर्णन, घर बनाउँदा कति काठपात लागे, कति बञ्चरा चले, घर कसले बनायो, घरमा धेरै द्रव्य छन् इत्यादि भनेर आशिर्वाद दिइन्छ। यसमा दुईदुई पङ्क्तिका २० श्लोक रहेका छन्।
२. मूलकथा- यसमा मूल रूपमा सिता र रामको कथा जोडिएको छ। यसमा रामले सिताको चरित्रमाथि शङ्का गरेर त्यागेको देखि लिएर राम –सिताको पुनर्मिलन भएर आफ्ना छोराहरू अयोध्या ल्याएको कथावस्तु पाइन्छ। यसमा १९३ श्लोक रहेका छन्।
३. टुङ्ग्याउनी- यसमा पनि मङ्गलाचरण भाग झैं बालन खेलाउने र राम सिताको कथा सुन्ने सुनाउनेलाई पुण्य लाभ हुन्छ, उसका पापहरण हुन्छ, सन्तानको भलो हुन्छ इत्यादि भन्ने कुरा उल्लेख गरिएको छ। यसमा जम्मा सातवटा श्लोक पाइन्छन्।
७.२. सिताभारत बालनको कथासार -
सिताभारत पनि बालनकै एउटा भाग हो। सिताभारतमा ऱामायणको सिताको गाथा गाइन्छ। सिताभारत उत्पत्तिको एउटा छुट्टै लोकरामायणको उपकथा पाइन्छ।यसमा रामहरू चौध वर्षे बनवास कटिसकेर अयोध्यामा आएर बसेको बेला वशिष्ठ ऋषिले रामलाई आफ्नो यज्ञको रक्षा गर्न गुहार गर्न आउँछन्। रामले आफ्नो प्यारा भाइ लक्ष्मण र कुकुरहरू हांसुले र पाँडुले लिएर ऋषिको आश्रम सरयू नदीको तटमा जान्छन्। यता अयोध्य दरबारमा भने सितालाई नन्द पर्ने एउटी नारीले सोध्छे - 'भाउजू, तपाईं त तेत्रा दिन लङ्का बस्नु भयो, रावण पनि नजिकैबाट देख्नुभयो होला। रावण कस्ता थिए'? केही सीप नचल्दा सिताले एउटा काठको पिरामा रावणको आकृति जस्तो बनाएर नाम पनि लेखिन्। त्यसै पिरामा रामले भोजन गर्ने गरेको रहेछ। त्यसको राती राम खान खान लाग्दा त्यो पीरा एक तमासले हल्लिएछ। के हो भनी बुझ्नलाई पीरालाई ओल्टाई-पल्टाई हेर्दा त रावणको नामाङकित आकृति देखेछन्। यो कसले लेखेको भनी सोध्दा त सबै कुरा खुलिहाल्यो। उनको पालो सिताको चरित्रमा शङ्का गरेर उनलाई बनवास पठाउन लक्ष्मणलाई अह्राउँछन्। लक्ष्मणले करैले दोजिया सितालाई जङ्गलमा छोड्छन्। यता लक्ष्मणले भने मिर्ग मारेर सिता मारेर कलेजो ल्याएको र म त खान्न तिमी नै खाउ भनेर रामलाई दिन्छन्।
यता दोजिया सिताले जङ्गलमा जनक ऋषिको आश्रय पाउँछिन र त्यहीं जम्ल्याहा छोरा जन्मन्छन् र ऋषिले लवहरि र कुशहरि नामकरण गरिदिए। यी बालकहरूलाई ऋषिले समुचित शिक्षादीक्षा दिन्छन्। उनीहरू वीर भएर निस्के। एकपल्ट रामले अश्वमेध यज्ञ गर्दा आफ्नो प्रियश्यामकर्ण घोडा छोडे। त्यो घोडा जमुनाका किनार आइपुग्दा लव र कुशले भेटेर आफ्नो तबेलामा लगेर बाँध्छन्। अयोध्यामा घोडा हराएको खोजी गर्न एक दल सिपाहीहरू पठाइन्छ तर ती दुइ बालकले तीर हानेर सबै सिपहीमारिदिन्छन्। त्यसपछि रामले घोडाको खोजी गर्न र घा राख्नेलाई जितेर आउन भरतलाई पठाउँछन्। भरत पनि त्यही आइपुगेर घोडा बाँध्ने दुई बालकसित लडाइँ पर्द वाणलागर मर्छन्। त्यसपछि उही कामका निम्ति रामले लक्ष्मणलाई पठाउँछन्। लक्ष्मण पनि बालकहरूसित लड्दा वाण लागेर मर्छन्। हनुमान चाहि लडाई हुँदा जङ्गलमा अन्यत्र जान्छन्। अन्तमा स्वयम् राम आएर हेर्दा त आफ्नो श्यामकर्न घोडासित दुई बालक डटिएर बसेका देख्छन्। केटा हो गोडा डीदेउ भन्दा त बालकहरू हामीलाई केटा केटा नभन, लैजा तेरो साँडे भनेर कठोर बोल्छन्। रामसित दुई भाइको लडाई हुन्छ तर अचम्म बालकहरूको तीर गएर रामको गोडामा ढोगेर बस्छन् अनि रामको तीर भने बालकका गालामा वाणहरू चुम्बन गरेर झर्छन्। यो देखेर अरूले पनि उदेक माने। रामले ती बालकलाई तिमीहरू को हौ, कसका छोरा नाति हौ भनेर सोधे। गएर आमा सितालाई सोध्छन्, सिताले उत्तर दिन नसक्दा ऋषिलाई सोध्छन्। ऋषि उनीहरू राजा दशरथका नाति र रामका छोरा हौ भन्ने परिचय दिन्छन्। त बालकहरू राम भएको ठाउँमा आएर बताउँदा रामले चेर उनीहरूको मेलमिलाप हुन्छ। हनुमानले आएर भरत, लक्ष्मण र शत्रुघ्नलाई फेरि ब्युँतिन्छन्। अन्तमा रामले आफ्नी सिता र बालकहरूलाई अयोध्या ल्याएर राख्छन्। त्यसपछि चार भाइको राज्यको अङ्शबन्डा हुन्छ।
७.३. सिताभारत बालनको वस्तु संरचना –
प्रस्तुत राम सिताको कथालाई आदि, मध्य र अन्त्य गरी तीन अवस्थामा छुट्याउन सकिन्छ। राम लक्ष्मणको वशिष्ठ ऋषिको आश्रम जानु, उनीहरू त्यहाँ गएका बेला नन्दले सितालाई रावणको बारेमा वर्णन गर्न लाउनु, सिताले वर्णन गर्दा रामले थाहा पाउनु र रामले क्रोधले दोजिया सितालाई परित्याग गर्नु जस्ता घटनावली आदिभाग हुन्। सिता बनवासमा बिजोक पर्नु, लक्ष्मणले पनि यतिकै छोडेर आउनु, सिताले जनक ऋषिको आश्रम भेट्नु र त्यहाँ दुई छोरा जन्माउनु, ती बालकहरूको छैंटी न्वारान कर्म गर्नु, बालकहरू अत्यन्त वीर , तीक्ष्ण बुद्धिका र तेजस्वी निस्कनु, रामले अश्वमेध यज्ञका निम्ति आफ्नो श्यामकर्ण घोडा छोड्नु, घोडालाई बालकहरूले रोकेर राख्नु, भरत लक्ष्मणहरू लडाइंमा बालकहरूबाट मारिनु र अन्तमा राम आफैं आएर बालकहरूसित लडाई पर्नसङ्कोच गर्नु तर लडाइँमा लवका तीर रामका गोडामा ढोग बन्नु र रामको वाण बालकका गालामा चुम्बन बन्नु आदि घटनावली यसका मध्यभाग हुन्। रामले बालकहरूको परिचय माग्नु, बालकहरू गएर आमा र ऋषिलाई आफ्ना जन्म परिचय माग्नु र ऋषिले परिचय दिनु र यो कुरा राम कहाँ आएर बताउनु, राम र पुत्रहरूको मेलमिलाप हुनु, लक्ष्मणहरू ब्युँतिनु, रामले सबैलाई लिएर अयोध्या आई राम्रोसँग राराज्य चलाउनु आदि यसका अन्यबाग हुन्छ। कथामा कौतुहल तत्त्व पनि निकै सक्रिय छ। सितालाई रामणको वर्णन गर्छिन कि गर्दिनन्. रामले सितालाई के गर्छन्, लक्ष्मणले सितालाई जङ्गलमा कसरी छोडेर आउँछन्, दोजिया सिताले कसरी सहारा पाउँछिन इत्यादि क्रमशः रूपमा जिज्ञासा बढ्दै जान्छ र त्यसको पनि क्रमबद्ध निदान हुँदै गएको पाइन्छ।
प्रस्तुत कथामा रामहरू वशिष्ठ ऋषिका आश्रम जाँदा वीर भाव, नन्दले सितालाई रावणको वर्णन गर्न लाउदा रति भाव, रामले सिताले रावणको नक्सा बनाएको देख्दा क्रोध भाव, लक्ष्मणले सितालाई जङ्गलमा छोडनुपर्दा श्रद्धा र भक्तिभाव, दोजिया शरीर भएकी सिताको अवस्थाले करूण भाव, ऋषिले सितालाई शरण दिनु र शिशुहरूलाई हुर्काउनु, बढाउनु आदि बात्सल्य भाव, रामले अश्वमेध यज्ञ गर्नु भक्तिभाव, बालकहरूको लडाइँ वीरभाव, राम र बालकहरूको लडाइँ वीर र वात्सल्य भाव गर्दै विभिन्न भावहरू उत्पन्न हुन्छन्। यसमा वीररस नै अङगीरसको रूपमा पाइन्छ भने करूण, रौद्र, हास्य, श्रृङ्गार आदि अङ्गरसका रूपमा पाइन्छ।
8. सिताभारतको भाषिक अध्ययन –
सीताभारतको रचनाकार र रचनाकाल अज्ञात छ। यद्यपि यसको भाषिक संरचना हेर्दा यो सय वर्ष अघिको पूर्वीय नेपाली भाषिकाको नेपाली भाषा हो कि भन्ने अन्दाज लाउन सकिन्छ। यो रचनाको लिखित रूप भने भानुभक्तभन्दा पछिको प्रतीत हुन्छ। यसमा व्याकरणिक नियमभन्दा कथनगत ढाँचालाई जस्ताको तस्तै पाइन्छ। यसमा मूलतः तीन सिकिमका भाषिक ढाँचा पाउन सकिन्छ- ठेट र तद्भव शब्द. तत्सम शब्द र हिन्दी मिश्रित शब्द। यसमा व्यकरणिक नियम पालन भएका छैन्न। पदयोग र पदवियोग, विभक्ति, सन्धि, समास, लिङ्ग, कारक, वचन रेफ र संयुक्त अक्षरकोसही रूपमा पालन नभएर कथ्य अनुरूप पाइन्छ। अघिल्लो शब्द र पछिल्लो शब्द संयुक्त भएको, अघिल्ले शब्द भाँच्चिएर पछिल्लोसित गाँसिन पुग्नु, तीन-चार शब्द एकै ठाउँमा जोडिएर आएको इत्यादि देखा पर्छन्। कवितालाई छन्द निर्वाह गर्न र शब्द प्रयोग पाइन्छ।
८.१. सिताभारतमा प्रयुक्त ठेट र चल्ती शब्दको रूप- यसमा अधिकाङ्श ठेट नेपाली शब्द र तद्भव शब्दहरू नै बढी मात्रामा प्रयुक्त भएको पाइन्छ। रहेका केही ठेट र तद्भव शब्दहरूको यसरी तालिकाबद्ध गर्न सकिन्छ- तुमारो, हामरो, लुरूकेला, खेलन, जग्ये, रामजिउ, दुनु (दुईको अर्थमा), लक्षोमन, लक्ष्योमन, सरजिउ (सरयू नदी), अजुध्या (अयोध्या), पीरूका, भाउजै, यक, तमरा, रावन्ने, लेखिदुनुपाउ, झुरावन, वनिवास, कर्कलाको पात, उदेकाये, बिलखाये, जागित्र (जाग्नु),पकुवा (मासु), दुदु भाग, दोजिया, बहुबुहारी, हामुको, रिषिका, झुलङ्गा, झिज्याउन, घोडो, सोवर्न, पँदालो, कपरू, बाँदर्नी, येकुदिन, लोटिरहे इत्यादि जस्ता शब्द पाछन्।
८.२. सिताभारतमा प्रयुक्त हिन्दी शब्द प्रयोग- भैया, लोग, और, हमारी, नहीं, जनम, बहु, लस्कर , कहे इत्यादि जस्ता समान्य शब्द हिन्दीबाट अरबी – फारसी शब्दहरू थोरै मात्रामा भए पनि पसेका छन्।
८.३. सिताभारतमा प्रयुक्त तत्सम शब्दहरू- स्वान, सत्येषु कीर्ति, सुवर्ण जस्ता तत्सम शब्द यदाकदा देखिन्छन्।
9. उपसंहार –
लोकरामायणको रूपमा रहेको सिताभारतलाई पनि नेपाली लोकरामायण मान्न सकिन्छ। यसमा मूल रामायणका कथाभन्दा केही भिन्न र अनौठा कथाहरू पनि गाँसिएका छन्। यसमा राम र सिताहरू लौकिक रूपमा अति सामान्य मान्छेका रूपमा देखाइएका पाइन्छ। अझ राम त एउटा मूर्ख, अबुझ, क्रोधी र अविवेकी पात्रका रूपमा उभ्याइएको छ। हनुमान पनि अत्यन्त सामान्य, कायर, लडाइँमा पलायन हुने, लक्ष्मन पनि अति सामान्य व्यक्ति, बालकहरूसित पनि लडाइमा हारेर मरेको खाइएको छ। यसमा भरतलाई भरथ, लक्ष्मणलाई लक्ष्योमनका नामले पुकारिन्छ। यस सिताभारतको अध्ययन गरे धेरै कुराहरू पाइन्छन्।
सहयोग लिइएका सन्दर्भ ग्रन्थहरू-
1. चूडामणि बन्धु, नेपाली लोकसाहित्य, काठमाड़ौ, नेराप्रप्र.
१. मोहनराज शर्मा र खगेन्द्र प्रसाद लुइँटेल, लोकवार्ताविज्ञान र लोकसाहित्य,काठमाडौं, विद्यार्थी पुस्तक भण्डार, २०६३।
२. सम्पा. हिरण्य घिमिरे, नेपाली संस्कृति सुधा, गोर्खा उन्नयन परिषद गौहाटी, २०१५।
३. डा जीवेन्द्र देव गिरी, नेपाली लोकवार्ता, कामाडौं , नेपाल प्रज्ञा प्रतिष्ठान, २०७२।
स्रोत व्यक्तिहरू-
१. श्री इन्द्रप्रसाद अधिकारी, गहिरी गाउँ, बमबल्ती, कालिम्पोङ। उमेर ८६ वर्ष।
२. श्री डम्बरप्रसाद शिवाकोटी, तल्लो दलेप बस्ती, पेदोङ, कालिम्पोङ। उमेर ५६।
३. श्री नरेश भण्डारी, गहिरी गाउँ, बमबल्ती, कालिम्पोङ। उमेर ४२ वर्ष।
४. श्री मुक्तिनाथ शर्मा, बिजनबारी, दार्जिलिङ, उमेर अनुमानित ५४ वर्ष।
पेदोङ सरकारी महाविद्यालय