17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्य शिखर इन्द्रबहादुर राई : कीर्ति र कृतिहरूमा

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व June 1, 2023, 12:53 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतीय नेपाली भाषा एवं साहित्य विकासको इतिहासमा इन्द्रबहादुर राईको स्थान बढ़ो महत्वपूर्ण रहेको छ। विश्वभरिकै सम्पूर्ण नेपाली भाषी जगतमा उनको नाम सम्मानपूर्वक लिने गरिन्छ। नेपाली साहित्यका धुरन्धर विद्वान, तेस्रो आयाम र लीला लेखनका प्रयोक्ताका रुपमा सुपरिचित एवं चर्चित व्यक्तित्व, युग पुरुष इन्द्रबहादुर राईलाई नेपाली जगतमा चिनाइरहनु पर्ने आवश्यकता नरहेता पनि यहाँ उनको संक्षिप्त जीवनी तथा कर्म-कीर्तिमाथि केन्द्र गरी उनका केही प्रेरणाप्रद तथा शिक्षाप्रद् कुराहरू अघि राख्ने प्रयास गर्दछु।
भारतीय नेपाली साहित्य जगतका अगमसिंह गिरी, दान खालिङ, अच्छा राई ‘रसिक’, वीरेन्द्र सुब्बा, भाइचन्द प्रधान, बद्रीनारायाण प्रधान, वीरविक्रम गुरुङ, सानुमति राई, लक्खीदेवी सुन्दास जस्ता प्रसिद्ध साहित्यकारहरूका समकालीन इन्द्रबहादुर राईको जन्म 3 फरवरी 1927 सोमबारको दिन खरसाङदेखि मुनि बालासन चियाकमानको छेउ पर्ने बालासन नदीको बगरकै किनारमा हुन गएको जानकारी पाइन्छ। वास्तवमा, संयोगवश त्यहाँको बालासन खोलामा पुल बनिन लाग्दा उनकी आमाकी दिदीले त्यहाँ आवश्यक पर्ने केही सामानहरू पुर्याउने सानो ठेका लिएकी थिइन् र उनको बहिनी-ज्वाँईलाई त्यो काम हेरिदिने जिम्मा दिएको हुँदा त्यहाँ उनीहरूले अस्थायी रुपमा छाप्रो बनाएर बसेको अवधिमा इन्द्रबहादुर राईको जन्म भएको रहेछ। उनको पिताको शुभनाम रणवीर राई अनि माताको नाम हस्तमाया राई थियो। उनीहरू दार्जीलिङका निवासी थिए। इन्द्रबहादुर राईको पुर्ख्यौलीबारे यस्तो जानकारी पाइन्छ कि उनका बाज्ये जीतमान राई पूर्व नेपालको इलामको निकट पर्ने चैनपुर भनिने ठाउँबाट युवा उमेर छँदा उन्नाइसौं शताब्दीको अन्ततिर दार्जीलिङ पहाड़ आएका रहेछन्। उनी चामलिङ थरका राई, चैनपुरको लिम्बु गाउँमा बसेका लिम्बु भाषा जान्ने तर नेपाली र राई भाषा नजान्ने एक असाधारण व्यक्ति थिए। दार्जीलिङ आएपश्चात् उनले नेपाली भाषा बोल्न र लेख-पढ़ गर्न सिकेका रहेछन् र उनकी बज्यु खरसाङको मुनि तुङसुङ चियाकमानका मुन्सीकी छोरी नेपाली पढ्न-लेख्न जान्ने, धर्मकर्मतिर चाख राख्ने मध्यमवर्ग परिवारकी निष्ठावान् नारी थिइन्। उनी रामायण, महाभारत जस्ता धार्मिक पुस्तकहरू पढ्थिन् र पछि उनले नातिलाई पनि पढ्न लगाएर ती पौराणिक कथाहरू चाख मानेर सुन्ने गर्थिन्। फलस्वरूप बाल्यकालदेखि नै इन्द्रबहादुर राईको अध्ययनप्रति उत्सुकता एवं एकाग्रता बढ्न थालेको थियो। उनका पिता रणवीर राई केही लेखपढ़ गर्न सक्ने सामान्य ज्ञान हासिल गरेपश्चात् दार्जीलिङ शहर आएर कामधन्दा गर्न थालेपछि त्यहींको पान्दाम बस्तीबाट हस्तमाया राईसित बिहे गरी दार्जीलिङको तुङसुङ बस्तीमा बसोबास गर्न थालेका थिए। त्यहाँ उनीहरूको तीन ऐकर जति जमीन र घर थियो। इन्द्रबहादुर राईको बाल्यकाल त्यहीँको परिवेशमा बित्यो।
उनको प्रारम्भिक शिक्षा घरबाटै शुरु भएको थियो। दार्जीलिङ शहरको भोटे बस्ती निवासी त्यसबेला सेण्ट रोबर्ट्स हाई स्कुल पढ्दै गरेका विद्यार्थी कमल कुमार शर्मा उनलाई घरमै गएर पढाउने गर्थे। इन्द्रबहादुर राई सानै उमेरदेखि पढ्न लेख्नमा निकै तेज थिए। सन् 1934 मा उनी दार्जीलिङको सेण्ट रोबर्ट्स हाई स्कुलमा प्राथमिक कक्षाको प्रारम्भिक तहमा भर्ना भए अनि सन् 1946 मा त्यही स्कुलबाट उनले म्याट्रिक परिक्षा प्रथम श्रेणीमा उतिर्ण गरे। त्यसपछि उनी सेण्ट जोसेफ कलेजमा भर्ना भएर सन् 1948 मा आई.ए. प्रथम श्रेणीमा अनि सन् 1950 मा बी.ए. विशिष्ट स्थान (Distinction) लिएर पास गरेका थिए। त्यसपछि सन् 1964 मा उनले बाह्य परिक्षार्थीका रुपमा उत्तरबङ्ग विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. गरे। यस अघि उनले पत्राचारको माध्यमबाट वकालतको परिक्षा बी.एल. पनि उतिर्ण गरेका थिए।
सन् 1950 मा बी.ए. पास गरेको वर्षदेखि नै उनी आफु पढेको सेण्ट रोबर्ट्स हाई स्कुलमा अध्यापन गर्न थालेका थिए। त्यहाँ प्राय: दुई वर्ष शिक्षण कार्य गरेपश्चात् उनी भारत-नेपाल सिमानामा रहेको पशुपति नगरको पारीपट्टि इलामको करफोक विद्या मन्दिरमा अढाई वर्षजति प्रधान अध्यापक रहे। त्यसपछि सन् 1955 मा टर्नबुल हाई स्कुलमा शिक्षकको नियुक्ति पाएर आफ्नै जन्म थलो दार्जीलिङ फर्किए। लगभग 20 वर्ष जति टर्नबुल हाई स्कुलमा शिक्षण कार्य गरेपश्चात् उनी सेण्ट जोसेफ कलेजमा अंग्रेजीका प्राध्यापक भएर पढाउन थालेका थिए।
सेण्ट रोबेर्ट्स स्कुलमा पढाउँदा सन् 1950 मै उनले मायादेवी राया (छेत्री)-सित प्रेम विवाह गरेका थिए। त्यसबेला मायादेवी दार्जीलिङकै एउटा प्राथमिक पाठशालामा शिक्षिका थिइन्। नेपालमा जन्मिएकी मायादेवीका पिता रक्सौलमा रेल विभागमा सेवारत थिए। पिताको मृत्युपश्चात् बाज्ये हरिसिंह थापाले उनलाई पढाउन दार्जीलिङ ल्याएर तुंङसुङको घरमा राखी सेण्ट ट्रिजा स्कुलमा भर्ना गरिदिएका थिए। एक समयमा हरिसिंह थापाको खरसाङमा हरि प्रिन्टिङ प्रेस थियो जहाँबाट पारसमणि प्रधानको सम्पादनमा प्रसिद्ध साहित्यिक पत्रिका ‘चन्द्रिका’ छापिने गर्थ्यो। इन्द्रबहादुर राईको घर तुङसुङमै रहेको हुनाले विद्यार्थीकालदेखि नै मायादेवीसित उनको परिचय थियो। मायादेवी म्याट्रिक उतिर्ण गरेपश्चात् शिक्षिका बनिन् अनि इन्द्रबहादुर राईसित विवाह गरेपश्चात् उनले शिक्षण पेशा छोड़ेर आफ्नो घर-परिवारको निम्ति नै आफ्नो जीवन उत्सर्ग गरिन्। सन्तानको रुपमा उनीहरूका दुई छोरी अनि एक छोरा भए। कालान्तरमा ती शिक्षित माता-पिताका सन्तानहरू पनि शिक्षित भएर आफ्नो आफ्नो घर परिवार सम्हाल्दै पिताको नाम यशलाई साकार तुल्याए।
विद्यार्थी जीवनकालदेखि नै साहित्य अनुरागी रहेका इन्द्रबहादुर राईले आठौँ श्रेणी पढ्दा कथा, कविता, उपन्यास आदि विधामा कलम चलाउन थालिसकेका थिए। एकपल्ट दार्जीलिङमा सम्पन्न भएको रामकृष्ण कथा प्रतियोगितामा उत्कृष्ट कथा लेखेबापत उनले प्रथम पुरस्कार प्राप्त गरेका थिए। सन् 1944 तिर तुङसुङ पुस्तकालयको ‘सुधा’ नामको एउटा हस्तलिखित पत्रिकामा उनको एउटा कविता प्रकाशित भएको जानकारी पाइन्छ। दशौँ कक्षामा पढ्दा उनले एउटा नाटक लेखेर विद्यालयको पारितोषिक दिवसमा मञ्चन पनि गराएका थिए। तर विद्यार्थीकालमा लेखिएका ती रचनाहरू संरक्षित रहन नसकेको कारणले कृतिका रुपमा प्रकाशमा आउन सकेनन्। उनको प्रथम प्रकाशित रचना सन् 1949 मा दार्जीलिङबाट रुपनारायण सिंह र पारसमणि प्रधानको सम्पादनमा प्रकाशित हुने पत्रिका ‘भारती’ वर्ष 1 अङ्क 2 मा प्रकाशित ‘चाखलाग्दो हुनु कसरी?’ शीर्षक निबन्ध हो। सेण्ट रोबर्ट्स स्कुलमा पढाउन थालेपछि सन् 1950 मा भारती वर्ष 2 अङ्क 1 मा उनको अर्को निबन्ध ‘आधुनिक शिक्षक’ प्रकाशित भएको थियो। यस निबन्धलाई सन् 1956 मा डा. ईश्वर बरालको सम्पादनमा प्रकाशित ‘सयपत्री’ गद्य सङ्ग्रहमा पनि सङ्कलित गरिएको छ। ‘भारती’-मा उनका अन्य रचनाहरू पनि प्रकाशित भएका थिए। तीमध्ये ‘मुलुक बाहिर 1/5 पढ़ेर’ (वर्ष 2 अङ्क 11, 1951), ‘पाँच प्रश्न : लेखनाथका उत्तर’ (वर्ष 3 अङ्क 5, नोभेम्बर 1951), ‘पूर्व नेपाल – तराईका धिमालहरू’ ( वर्ष 7 अङ्क 8-9 मार्च 1955) प्रमुख हुन्। पछि टर्नबुल हाई स्कुलमा अध्यापनको काम गर्दै उनले नेपाली साहित्य सम्मेलनको त्रयमासिक पत्रिका ‘दियालो’ को हाँगो 1 देखि 21 सम्मको सम्पादनको कार्यभार पनि सन् 1959 को नोभेम्बरदेखि लगभग 5/6 वर्षसम्म सम्हालेका थिए। त्यस अवधिमा दियालोमा उनका चारवटा कथा ‘सपना शक्ति’ (हाँगो 1), ‘जार भएकै एउटा कथा’ (हाँगो 4), ‘वाध्यता’ (हाँगो 12) र ‘इच्छा बाँचिरहन्छ’ (हाँगो 21) अनि चारवटा लेख-निबन्धहरू ‘मृतहरूको बीचमा’ (हाँगो 7), ‘रुपनारायण सिंहको लेखन कला’ (हाँगो 10), ‘नेपाली भाषामा राजस्थानी तत्व’ (हाँगो 14) र ‘डायरीका तीन प्रविष्ट : गिरीमाथि’ (हाँगो 18) प्रकाशित भएको पाइन्छ। सन् 1959 मा दार्जीलिङबाट गुमानसिंह चामलिङको सम्पादनमा प्रकाशित पत्रिका ‘सङ्गम’-मा उनको पहिलो कथा ‘रातभरि हुरी चल्यो’ प्रकाशित भएको थियो। यसबाहेक त्यसबेला तिनका रचनाहरू पूर्णिमा, साहित्य-सङ्गम, गोर्खा, घाँसी, नवयुग, जुनेली, उदय, रुपरेखा जस्ता पत्र-पत्रिकाहरूमा पनि प्रकाशित भएका थिए। सन् 1958 मा उनले आफ्नो एकमात्र प्रसिद्ध उपन्यास ‘आज रमिता छ’ लेखिसकेका थिए। तर 6 वर्षपछि सन् 1964 मा नवयुग नेपाली पुस्तक मन्दिर, गोरुबथानबाट यसको प्रकाशन हुनसकेको थियो। यस उपन्यासलाई नेपालका कलेज तथा विश्वविद्यालयको पाठ्यक्रममा अन्तर्भुक्त गरेपश्चात् नेपालमा उनको निकै चर्चा बढ्न थाल्यो। सन् 1975 मा यस उपन्यासको दोस्रो संस्करण साझा प्रकाशन, नेपालबाट प्रकाशित भयो। त्यसपछि सन् 2017 सम्म यसका आठौँ संस्करणसम्म प्रकाशित भइसकेका छन्। उनको यस उपन्यासलाई सामाजिक यथार्थवादमा आधारित उत्कृष्ट कृति मानिन्छ। कतिले यसलाई नेपाली साहित्यको कोशेढुङ्गा पनि मानेका छन्। दार्जीलिङका मूर्धन्य साहित्यकार कृष्णसिंह मोक्तान यसलाई अद्भूत, अद्वितिय र अनुपम मान्छन्। यसको अङ्ग्रेजी अनुवाद ‘There is a Carnival today’ नेपालकी लेखिका मञ्जुश्री थापाले गरेकी छन् जो सन् 2017 मा स्पीकिङ टाइगर बुक्स, दरियागञ्ज, नयाँ दिल्लीद्वारा प्रकाशित भएको छ। यस अनुवादको निम्ति उनले सन् 2017 को Pen America Heim Translation Grants को रुपमा पुरस्कार राशि 4000 अमेरिकन डलर प्राप्त गर्न सफल भइन्। उनी क्यानाडामा बस्छिन्। अंग्रेजी भाषामा उनका मौलिक र अनुवाद गरी लगभग एक दर्जन कृतिहरू प्रकाशित छन्। यस उपन्यासको बङ्गला अनुवाद ‘आज रमिता’ कलकत्ता निवासी शमिक चक्रवर्तीले गरेका छन् जो नोभेम्बर सन् 2020 मा लाली-गुँरास प्रकाशनबाट प्रकाशित भएको छ। बङ्गला भाषामा प्रकाशित यस उपन्यासको दोस्रो संस्करण पनि दिसम्बर सन् 2021 प्रकाशित भइसकेको छ। उनको प्रथम प्रकाशित कृतिको रुपमा ‘विपना कतिपय’ (कथा सङ्ग्रह) सन् 1961 मा नवयुग नेपाली पुस्तक मन्दिर, गोरुबथानबाट प्रकाशित भएको थियो। उनका आरम्भमा लेखिएका ‘विपना कतिपय’ र ‘आज रमिता छ’ जस्ता कृतिहरूले नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारको प्रवेश गराएको मानिन्छ। उनको दोस्रो कथाकृति ‘कथास्था’ (सन् 1972) तेस्रो आयामको सिद्धान्तमाथि आधारित छ भने तेस्रो कथाकृति ‘कठपुतलीको मन’ (1989) लीला लेखनमाथि आधार गरी लेखिएको छ। तिनका चर्चित कथाहरू हिन्दी, बङ्गला, असमिया, मैथिली, अंग्रेजी आदि भाषामा अनुवाद भएर विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। जनवरी 2009 मा प्रा. प्रेम पोद्दार र अनमोल प्रसादको सम्पादनमा अंग्रेजी भाषामा ‘Gorkhas Imagined : Indra Bahadur Rai in Translation’ प्रेम पोद्दारको भूमिकासहित उनका आठवटा कथा र एउटा निबन्धको अनुवाद अनि मूल अंग्रेजीमा लेखिएको इबराको लेखसहित कालिम्पोङको मुक्ति प्रकाशनबाट प्रकाशित भयो। आठवटा कथा ‘विपना कतिपय’ र ‘कथास्था’-बाट चयनित गरिएको छ भने एउटा निबन्ध ‘पहाड़ र खोला’ बाट लिइएको छ। यस पुस्तकमा सङ्कलित चारवटा कथा हामी जस्तै मैनाकी आमा (Maina’s mother is just like us), घोष बाबु (Ghosh Babu0, रातभरि हुरी चल्यो (The Storm raged all night long), उज्यालो (Light) र पहाड़हरू र खोलाहरू (Hills and Streams) नेपाली भाषाका ज्ञाता अंग्रेजी लेखक माइकल हटले अनुवाद गरेका हुन्, जार एउटा भएकै कथा (Jarr : A story that happened ) र जयमाया आफूमात्र लिखापानी आइपुगी (Jayamaya alone arrived at Likhapani) स्व. दोर्जे छिरिङ लेप्चाद्वारा अनि एउटा दिनको सामान्यता (The Ordinaryness of a day) र खीर (Kheer) अनमोल प्रसादद्वारा अनुवाद भएको हो। इन्द्र बहादुर राईको मूल अंग्रेजीमा लेखिएको लेख Indian Nepali Nationalism and Nepali Poetry (पूर्व प्रकाशित Journal of South Asian Literature, Vol. XXIX, No. 1, 1994)-ले यस कृतिको महत्व अझ बढ़ाएको छ। यसरी नै नेपालका प्रवीन अधिकारीले इन्द्रबहादुर राईका 16 वटा कथाहरूको अंग्रेजी अनुवाद गरी पुस्तक रुपमा ‘Long Night of Storm’ सन् 2018 मा स्पीकिङ टाइगर बुक्स, नयाँ दिल्लीबाट प्रकाशित गराएका छन्। अन्य भारतीय भाषा तथा अंग्रेजीमा अनुवाद गरिएका यस्ता कृतिहरूले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा नै उनको सुनाम र कीर्ति बढेको छ। यसबाट भारतीय नेपाली साहित्यका शिखर पुरुष मानिएका व्यक्तित्वको प्रतिभा र परिचयको प्रसारण विश्वस्तरमा हुनको साथै नेपाली भाषी भारतीय गोर्खाहरूको अस्मिता र गरिमालाई गौरवान्वित तुल्याउन पनि मदत पुगेको छ।
उनी उच्च कोटीका आख्यानकार हुनका साथै पूर्वीय अनि पाश्चात्य दर्शन एवं साहित्यका गम्भीर अध्येता पनि थिए। नयाँ नयाँ विचार र सिद्धान्तहरूको प्रयोक्ताका रुपमा उनले नेपाली साहित्यलाई अलग्गै एउटा दिशा प्रदान गरे। सन् 1963 मा प्रारम्भ गरिएको तेस्रो आयामका अभियन्ताहरू ईश्वर वल्लभ, वैरागी काइँला र इन्द्रबहादुर राईमध्ये अघिल्ला दुइले कवितामा यस सिद्धान्तको प्रयोग गरे भने राईले गद्यमार्फत आफ्नो लेखन शैली र विचारहरूमा यसको प्रतिपादन गरे। तेस्रो आयामको वैचारिक साहित्य लेखनबाट उनले नेपाली साहित्यलाई प्रभावित गरे। साहित्यकार रत्नलाल नेपाल अनुसार उनी अझ पछि समाज विज्ञान र भौतिक विज्ञानको प्याराडाइम शिफ्टलाई नेपाली साहित्यमा लागू गरेर तेस्रो आयामबाट लीला लेखनमा सरे। यसरी नै वरिष्ठ समालोचक राजेन्द्र सुवेदी लेख्छन् – ‘राईको चिन्तन र सिर्जन-कलामा जति पौढ़ता थपिँदै आयो त्यति नै शैलीमा क्लिष्टता र भाषिक दुरुहता थपिँदै आयो।‘ उनको लेखन शैली र विचारमा रहेको विशिष्टताको कारणले नै उनी भारत र नेपालमा सबैभन्दा अधिक चर्चित रहेका थिए।
नेपाली साहित्यको समालोचनाको क्षेत्रमा उनले पुर्याएको योगदान पनि अतुलनीय रहेको छ। सन् 1966 मा प्रकाशित ‘टिपेका टिप्पणीहरू’ उनको पहिलो समालोचनात्मक लेखहरूको सङ्ग्रह हो। सन् 1974 मा प्रकाशित ‘नेपाली उपन्यासका आधारहरू’ ले उनलाई एक प्रखर समालोचकका रुपमा चिनायो। यस कृतिका निम्ति उनलाई सन् 1976 मा साहित्य अकादेमी पुरस्कारले सम्मानित गरियो। साहित्य अकादेमी, दिल्लीबाट सन् 1975 मा नेपाली भाषालाई भारतीय भाषाको रुपमा मान्यता दिए पश्चात् यस पुरस्कारले सम्मानित हुने उनी प्रथम भारतीय नेपाली साहित्यकार थिए। उनका कुल तीनवटा कथा सङ्ग्रह, एउटा उपन्यास, नौ वटा समालोचनात्मक लेख सङ्ग्रह, एउटा नाटक, पाँच वटा विविध लेख-निबन्ध सङ्ग्रह गरी 19 वटा कृतिहरू प्रकाशित छन्। उनका ती सम्पूर्ण कृतिहरू नेपाली साहित्यका अमूल्य निधि हुन्।

उनका प्रकाशित कृतिहरूको सूची यस प्रकार रहेका छन् : –
1) विपना कतिपय (कथा सङ्ग्रह – 1961)
2) आज रमिता छ (उपन्यास – 1964)
3) टिपेका टिप्पणीहरू (समालोचना – 1966)
4) कथास्था (आयामिक कथा सङ्ग्रह र सिद्धान्त – 1972)
5) नेपाली उपन्यासका आधारहरू (समालोचना – 1974)
6) सन्दर्भ ईश्वर वल्लभका कविता (समालोचना – 1976)
7) साहित्यको अपहरण : मार्क्सवादिक प्रतिबद्धता (समालोचना – 1979)
8) दार्जीलिङमा नेपाली नाटकको अर्द्धशताब्दी (इतिहास -1984)
9) कठपुतलीको मन (लीला लेखनमा आधारित कथा सङ्ग्रह – 1989)
10) पहाड़ र खोला (सामाजिक लेख सङ्ग्रह – 1993)
11) अर्थहरूको पछिल्तिर (समालोचना – 1994)
12) पृष्ठ पृष्ठ (समालोचना – 1995)
13) समयाङ्कन (दैनिकी – 1997)
14) लेखहरू र झ्याल (समालोचना र लीला लेखन - 2000)
15) पहेंलो दिन (नाटक – 2002)
16) असङ्कलित लेखहरू ( – 2004)
17) सेतो ख्याकको बनोट र बुनोट (समालोचना – 2007)
18) सम्पूरक (समालोचानाहरूको सङ्गालो – 2014)
19) पछिल्ला चुनिएका लेखहरू (लेख सङ्ग्रह – 2018)
सम्पादन :-
1) दियालो (हाँगो 1 देखि 21 सम्म)
2) भानुभक्तका कृति अध्ययनहरू – 1969
3) Encyclopaedia of Indian Literature (Nepali Section – 1987)
4) शिवकुमार राई स्मृति ग्रन्थ 1998 (अतिथि सम्पादक)
एक सिद्धहस्त लेखकको रुपमा उनको सुनाम, प्रसिद्धि र उंचाई बढ्दै गए तापनि उनमा रत्तिभर पनि घमण्ड थिएन। उनी व्यवहारिक तौरमा खुबै सरल, शालीन, विनम्र र भद्र स्वभावका व्यक्ति थिए। सन् 1960 – 70 को दशकतिर उनी केही कालसम्म कांग्रेसका समर्थक रहेका भए तापनि कुनै राजनैतिक दलका सदस्य कहिले रहेनन्। पछि कांग्रेसीहरूको कार्यशैली मन नपरेर त्यसप्रति पनि उनको मोहभङ्ग भयो। त्यसपछि प्राय: उनी जातीय उत्थान एवं भाषिक आन्दोलन तथा साहित्यिक विकासका कार्यहरूमा नै संलग्न रहे। सन् 1960 मा दार्जीलिङमा उनले नेपाली साहित्य परिषदको स्थापना गरे। यस संस्थामा डा. कुमार प्रधान र राजनारायण प्रधान जस्ता व्यक्तित्वहरू पनि उनका विद्वत समुहमा रहेका थिए। यस संस्थाबाट भानुभक्तका कृति अध्ययनहरू, वार्ताहरू, नेपाली उपन्यासका आधारहरू, केही कृति केही स्मृति जस्ता महत्वपूर्ण ग्रन्थहरूको प्रकाशन भएको थियो। सन् 1960 मा दार्जीलिङमा बङ्गला भाषालाई सरकारी भाषा बनाउने राज्य सरकारको चेष्टा रहेको बुझेर त्यसका विरुद्धमा मञ्च बनाएर उनले बृहत आन्दोलन नै गरेका थिए। त्यसबेला दार्जीलिङ जिल्ला भाषा मान्यता कमिटि (Darjeeling District Language Implementation Committee) गठन गरी जुलुस, सभा, राज्य सरकारसित लेखापढी, तत्कालीन मुख्यमन्त्री विधानचन्द्र रायसित प्रतिनिधिहरूद्वारा भेट-वार्ता आदि कार्यहरूमा सक्रिय रहेर उनले यस अभियानलाई सफलीभूत तुल्याएका थिए। यस कमिटिका संस्थापक अध्यक्ष गणेशलाल सुब्बा र संस्थापक सचिव इन्द्रबहादुर राई थिए। त्यसबेला अध्यक्ष र सचिव लगायत कलकत्तामा मुख्यमन्त्रीलाई भेट गर्न गएका शिष्टमण्डलका प्रतिनिधिहरू थिए – प्रेम थापा (गोर्खालीग), तत्कालीन सांसद टी. मनेन (कांग्रेस), रतनलाल ब्राह्मण (कम्युनिष्ट पार्टी), तारक कुमार कार्की (प्रजा सोशलिस्ट पार्टी), अमीर लामा, उगेन रंगडोल (भाषा मान्यता कमिटिका सदस्य), एम.चन्दक (मारवाड़ी सम्प्रदायका प्रतिनिधि), पी.आर. प्रसाद (बिहारी सम्प्रदायका प्रतिनिधि) तिलविक्रम नेम्बाङ (विद्यार्थी प्रतिनिधि) आदि। उता तत्कालीन राज्यसभा सांसद मायादेवी छेत्रीको पनि त्यसबेला महत्वपूर्ण भूमिका रहेको थियो। उनले प्रधानमन्त्री जवाहरलाल नेहरु अनि गृहमन्त्री लालबहादुर शास्त्रीसित भेट गरी दार्जीलिङको भाषिक समस्याबारे अवगत गराएकी थिइन्। फलस्वरूप पश्चिम बङ्गाल सरकारले दार्जीलिङ जिल्लाको पार्वत्य महाकुमामा नेपाली भाषा प्रयोग गर्न सकिने मान्यता प्रदान गरी सरकारी कानून नै पारित गर्न वाध्य हुनु परेको थियो। गणेशलाल सुब्बा, आई.बी.राई जस्ता सुयोग्य व्यक्तिहरूको नेतृत्व अनि टी. मनेन र मायादेवी छेत्री जस्ता कांग्रेसी सांसदको सक्रिय सहभागिता एवं केन्द्र र राज्य दुवै ठाउँमा कांग्रेसी दलकै सरकार रहेको हुनाले पनि यस आन्दोलनलाई साकार तुल्याउन बल मिलेको थियो।
सन् 1956 तिर उनी दार्जीलिङ नगरपालिकाको कमिश्नरको चुनावमा विजयी भएका थिए। पछि सन् 1965 देखि 1970 सम्म नगरपालिकाको उपाध्यक्ष पदमा रहेर उनले शहरको विकास तथा व्यवस्थापन कार्यमा पनि योगदान पुर्याएका थिए। सन् 1972 मा नेपाली भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त गरेर संवैधानिक मान्यता दिनुपर्छ भन्ने मागको आवाज उठाउँदा उनी त्यसका निम्ति पनि सक्रिय भएर अघि आएका थिए। सन् 1972 देखि 1979 सम्म अखिल भारतीय नेपाली भाषा समितिका अध्यक्ष रहेर उनले त्यस अभियानलाई आफ्नो कुशल नेतृत्व प्रदान गरेका थिए। सन् 1977 मा तत्कालीन प्रधानमन्त्री मोरारजी देशाईले दिल्लीमा भेट गर्न गएका शिष्टमण्डललाई नेपाली भाषा विदेशी भाषा हो भन्दा उनले त्यसको विरोधमा आफुले प्राप्त गरेको साहित्य अकादेमी पुरस्कार नै फ़र्काइ दिएका थिए। भाषा मान्यता आन्दोलनको अन्तिम घडीसम्म उनको पूर्ण सहयोग, सहभागिता र मार्गदर्शन रहेको थियो। अन्तत: नेपाली भाषाले 20 अगस्त 1992 मा संवैधानिक मान्यता प्राप्त गर्यो। यस सफलताको निम्ति भारतका विभिन्न स्थानहरूमा छरिएर बसेका भाषा संग्रामी व्यक्तित्वहरूको लामो सङ्घर्ष र त्यागका साथै सिक्किमका तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी र उनकी धर्मपत्नी तत्कालीन सांसद दिलकुमारी भण्डारीको पनि ठुलो योगदान रहेको मानिन्छ।
सन् 1980 को दशकमा दार्जीलिङको पार्वत्य महकुमा र डुवर्सका नेपाली भाषी क्षेत्रहरूलाई मिलाएर बङ्गालदेखि अलग छुट्टै राज्य गठनको निम्ति प्रान्त परिषदको स्थापना गरी त्यसको अध्यक्ष बनेर यस क्षेत्रमा जनजागरण र राजनैतिक चेतना ल्याउने प्रयास पनि उनले गरेका थिए। तर पछि गोर्खाल्याण्ड आन्दोलनको नाममा सुवास घिसिङको हिंसात्मक लड़ाईंले श्रेय पायो। तर पनि अलग राज्य हुन सकेन। सन् 1990 को दशकमा भुटानी शरणार्थीहरूको समस्या विषय लिएर भारतको केन्द्र सरकार र पश्चिमबंगाल राज्य सरकारले आप्नाएको असङ्गत नीतिहरूको विरोध गर्दै उनले त्यसको आलोचना गरेका थिए अनि शरणार्थीहरूको पक्षमा आवाज उठाउने प्रयास पनि गरेका थिए।
सन् 1978 देखि 1988 सम्म उनी साहित्य अकादेमी, दिल्लीका कार्यकारी समितिका सदस्य रहेका थिए। त्यही अवधीमा आफ्नो स्वतन्त्र अध्ययन र लेखन सँगसँगै उनी भाषा एवं साहित्य सम्बन्धी विभिन्न कार्यहरू लिएर आसाम, देहरादून, दिल्ली जस्ता विभिन्न स्थानका मानिसहरूसित सम्पर्क स्थापित गर्नु, अधिवेशन तथा गोष्ठीहरूमा भाग लिनु जानु पर्ने हुँदा अत्यन्त व्यस्तताको कारणले सन् 1980 तिर सेण्ट जसेफ कलेजको शिक्षण पेशाबाट उनले स्वेच्छापूर्वक विदा लिए। यसबाट आफ्नो जाति अनि समाजप्रतिको उत्तरदायित्व सम्बन्धमा उनी कति गम्भीर थिए भन्ने कुरा बुझिन्छ।
नेपाली भाषा-साहित्यप्रति उनले पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सन् 1995 मा उनलाई नेपालबाट जगदम्बा श्री पुरस्कारले सम्मानित गरियो। यसरी नै सन् 1997 मा सिक्किमबाट अगमसिंह गिरी स्मृति पुरस्कार, सन् 2002 मा पश्चिम बङ्गाल सरकारबाट भानु पुरस्कार, सन् 2002 मै नेपालबाट भूपालमानसिंह कार्की पुरस्कार, सन् 2003 मा सिक्किमको आशारानी निर्माण पुरस्कारद्वारा उनलाई सम्मान गरिएको थियो। सन् 2004 मा उत्तरबङ्ग विश्वविद्यालयले उनलाई मानार्थ डी.लिट. -को उपाधि प्रदान गरेर सम्मान जनायो। त्यही वर्ष साहित्य अकादेमी, दिल्लीले Meet the author कार्यक्रम अन्तर्गत उनका प्रमुख उपलब्धीहरूमाथि प्रकाश पार्दै अंग्रेजीमा विवरणिका (Brochure) प्रस्तुत गरेको थियो। त्यही वर्ष सिक्किमको निर्माण प्रकाशनले पवनकुमार चामलिङको सौजन्यमा र विजयकुमार राईको सम्पादनमा उनका सम्पूर्ण कृतिहरूको सङ्कलन ‘इन्द्र सम्पूर्ण’ पाँच खण्डमा प्रकाशित गरेर प्रचार-प्रसार र संरक्षण गर्ने दिशामा एउटा महत्वपूर्ण कार्य गर्यो। सन् 2014 जी.टी.ए. –ले पनि उनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेर सम्मानित गरेको थियो।
सन् 2002 मा उनी पचहत्तर वर्ष पुगेको खुशीयालीमा खरसाङका वरिष्ठ साहित्यकार चन्द्र शर्माको सम्पादनमा ‘श्री इन्द्रबहादुर राई अभिनन्दन ग्रन्थ – कौस्तुभ वर्ष (1927 – 2002) प्रकाशित भयो। सन् 2016 मा खरसाङबाट चन्द्र शर्माकै सम्पादनमा ‘वार्ताहरूमा श्री इन्द्रबहादुर राई’ प्रकाशित भयो। यसरी नै उनको व्यक्तित्व र कृतित्वबारे भारत र नेपालका विश्वविद्यालयहरूमा धेरै शोध कार्यहरू पनि भए। एकपल्ट उनलाई नेपाली भाषी गोर्खाहरू बसोबास गरेको शहर चीनको हङकङमा निमन्त्रणा गरिएको थियो। त्यहाँका साहित्य अनुरागी गोर्खाहरूले उनको भव्य स्वागत गरेका थिए। यसरी देश-विदेशमा उनका कीर्ति र कृतिहरूको सुनाम फैलिरहेको थियो।
विस्तारै उनको उमेर पनि ढल्किँदै गइरहेको थियो। उनी पहिले जस्तो हिँड़डुल गर्न नसक्ने स्थितिमा पुगिसकेका थिए। यस्तैमा नेपालको त्रिभुवन विश्वविद्यालयबाट उनलाई विद्यावारिधिको उपाधिले सम्मानित गर्ने खबर पाएर पनि उनी काठमाड़ौँ जान नसक्ने अवस्थामा रहेको हुनाले उपकुलपति स्वयं अन्य पदाधिकारीहरूसहित दार्जीलिङ आएर उनलाई सो उपाधिले सम्मानित गरेका थिए। उनकी धर्मपत्नि मायादेवी पनि अस्वस्थ रहन थालेकी थिइन्। उनी हृदय तथा वार्द्धक्य जनित कतिपय रोगहरूले आक्रान्त थिइन्। चिकित्सा उपचार पनि चलिरहेकै थियो। यस्तै परिस्थितिमा 28 अगस्त 2016 को दिन उनको चोला उठ्यो। त्यसपछि राई एक्लो भए। शोक र चिन्ताले उनी कमजोर हुँदै गएका थिए। उनलाई अल्जाइमर रोगले सताउन थालेको थियो। अन्तत: 6 फरवरी 2018 को दिन 91 वर्षको उमेरमा उनको देहान्त भयो। उनको देहावसानको खबर सुनेपछि हजारौं मानिसहरू उनको निवासस्थान दार्जीलिङ पुगेका थिए। दुई दिनपछि उनको दाहसंस्कार गरियो। यसरी भारतीय नेपाली साहित्यका शिखर, एक महान व्यक्तित्व, युग पुरुष इन्द्रबहादुर राईको शरीर पञ्चतत्वमा विलिन हुनपुग्यो। आज उनी हामीमाझ सशरीर नरहे तापनि उनका कालजयी कर्महरूमा, उनका कीर्ति र कृतिहरूमा उनी सदैव बाँचिरहने छन्।

सन्दर्भ :
1) Meet the Author – Indra Bahadur Rai 16th November 2004.
2) श्री इन्द्रबहादुर राई अभिनन्दन ग्रन्थ – कौस्तुभ वर्ष (1927-2002)- स. चन्द्र शर्मा, खरसाङ।
3) वार्ताहरूमा श्री इन्द्रबहादुर राई – 2016 स. चन्द्र शर्मा, खरसाङ ।
4) युग पुरुष डा. इन्द्रबहादुर राई स्मृति ग्रन्थ – 2019 स. मोहन प्रकाश राई
5) इन्द्राख्यान – स्मृतिविम्बमा इन्द्रबहादुर राई –2019 स. रत्नमणि नेपाल।
6) समयाङ्कन दैनिकीय – इन्द्रबहादुर राई
7) Gorkhas Imagined : Indra Bahadur Rai in Translation Edited by Prem Poddar & Anmole Prasad
8) Long Night of Storm (Stories) – Indra Bahadur Rai Translated by Prawin Adhikari
9) There is a Carnival today (Novel) – Indra Bahadur Rai Translated by Manjushri Thapa.

बाग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।