काँकरभिटादेखि धरानसमम जानलाई बस हेर्दै थिएँ...
"धरान एक्स्प्रेस ! धरान एक्सप्रेस !" भन्दै एउटा बस आएर मेरो अघि घ्याच्चै रोकियो ।
"सिट खाली छ ?" भनी सोधेको मात्र के थिएँ, कण्डक्टरले "जत्ति छ सिटड । सरलाई कतिवटा सिट चाहियो ?" भन्दै मलाई घुच्चुकमै समाती बसको पेटभित्र खाँद्यो । बसको पेटभित्र पसेँ...हुत्तिएर...गुन्द्रुक खदाइँ रहेछ बसको पेटभित्र । के साह्रो पनि खाँदेका मान्छेहरूलाई । सोंचेँ बसलाई च्यात्नु हुने भा पनि यी कण्डक्टरले बसलाई च्यातेर धरान जाने जतिलाई बसको पेटभित्र हाल्ने थिए होलाजस्तो लाग्यो । एउटा टीनमा गुन्द्रुक खाँद्दा जस्तो अवस्था हुन्छ म चढ़ेको धरानसम्म पुग्ने बसको पेटभित्रका यात्रुहरूको अवस्था पनि त्यस्तै देखेँ । मान्छे छिर्ने ठाउँ छैन...कण्डक्टर "पछि जानोस्....पछि जानोस्" भनेर कराएको कराएकै । देब्रे हातको किताब छातीमा अड़ेको छ । दाहिने हातले माथि ह्याण्ड च्याप्प । हल्लिने, चलमलाउऩे चान्सै छैन। बस गुँड़्दैछ पेटभित्र असङ्ख्य यात्रुहरू बोकेर । मलाई लाग्दैछ हामी बस्तीका खसी हौं । हामीलाई वागनमा खाँदेर बुच्चड़खानामा लगिरहेछ । गुरुजीको गाड़ी हँकाइँ डरलाग्दो । ठाउँ ठाउँमा ब्रेक लगाउँदा कतिपल्टड हुत्तिएर कसैको छातीमा कहिले, कहिले वा काखीमा नाक जोतिसक्या छ...त्यसको हिसाब छैन । फोल्डिङ दाँत हुनेहरू ता नेपालको बसको पेटभित्र नचढ़ेकै वेस । एकपल्ट घ्याच्च ब्रेक कस्दा फोल्डिङ दाँत कसैको काखीमा उछिट्टिने डर । फेरि म आफू परेँ सरकारी हाइटका मान्छे । यस्ता हाइटका मान्छेलाई ता झन् पीर ।
काँकरभिटादेखि इटाभट्टासम्म मात्रै एक्सप्रेस बस । इटाभट्टा कटो कि सुलसुले बस । कुनै मान्छे देख्नु नहुने.,...कण्डक्टर चमेरोजस्तो तुर्लुङ्ङै झुण्डिएर "धूलाबारी ! चाराली " भन्दै कराएको दृश्य देख्दा यी कण्डक्टर घर पसेपछि आफ्नो श्रीमतीलाई भन्दा हुन् "खाट एक सिट...खाट एक सिट ! खाली छ...खाली छ" भनी दिउँसो बसमा झुण्डिएर धङ्धङ्ती मेटाउलान् जस्तो लाग्यो । एक्सेप्रेस बस नाममात्रै....बाटामा यात्री देख्यो कि घ्याच्चै घ्याच्चै रोक्दा रहेछ । यसरी बस घ्याच्चै घ्याच्चै रोकेर फेरि गुड़्दा हुत्तिएर दङ्दङ्ती गन्हाउने काखीमा जोतिनु पर्दा लु भन्नोस् त्यसबेलाको अवस्था कस्तो होला ? काखीको गन्ध पनि एउटै किसिमका भए ता हुने नि नारायण ! नेपालका काखीहरूबाट अऩ्तरराष्ट्रिय गन्ध मड़ारेर नाकका दुलामै पस्दोरहेछ । तर नेपालका बसको पेटभित्र धेरैपल्ट चढ़िसकेकोले फूलदानीमा खाँदिएका सिन्केधूपजस्तै ठिङ्ग उभिएर हिँड़्दा-हिड़्दा र कैयन् काखीहरूमा यो मेरो नाक जुझिसकेकोले मेरो यो नाक थेत्तर र 'काखी प्रुफ' चाहिँ भएको छ... छ ।
यो बसको पेटभित्र धेर चल्मलाउनु पनि डर सरी । पछिबाट आएको कर्कश स्वर कानैमा थुरिन्छ, "हल्लो सर ! धेर यताउति नगर्नोस् । अहिले डिलिट गरिदिउँला ।" बसको पेटभित्र खाँदिएका यात्रुहरू पनि एक मुख लाएर बोल्छन्, "चुर्णा पर्य़ाजस्तो गुजुगुजु गर्ने ठाउँ होइन क्या !" नेपालमा अचम्म र उदेक लाग्यो, नेपालवासीहरू अरु जहाँ जस्तोसुकै अवस्थामा होस्...मतलब छैन । तर बसको पेटभित्र भने 'एकवाद' चल्दोरहेछ भन्ने यही नेपालको बसको पेटभित्र यात्रा गर्दा छर्लङ्ङै बुझेँ । बसको पेटभित्र 'प्रतिवाद"को चान्सै छैन । वाद भनेको माइनस । बेला बखत नाकको भूगोल नै बिगार्ने गरी भुँड़ीसमेत हुँड़ुलिने गरी कुनै चैं कुनोबाट प्रस्थान भएको वायु नाकका दुलामा प्रवेश गर्दा हिटलरको ग्यास च्याम्बर बसको पेटभित्र पनि भन्ने अनुमान भयो ।
पसिनै सरी भएर कण्डक्टर दङ्दङ्ती गन्हाउँदै छेवैमा आई "भाड़ा....भाड़ा...'' भन्दा उसको मुखारविन्दबाट निस्केको आवाजले यो मान्छेले टिभी देखाउऩे 'टुथ पेष्ट'को विज्ञापन कहिल्यै नहेर्दोरहेछ भन्ने छर्लङ्ङै भयो ।
पछिबाट एउटा आवाज, "यो दाइ के साह्रो चलेका हँ ?" अर्को थप आवाज, "स्प्रिङ खाएर आयो कि क्या हो ?"
दाइको स्वर, "अरे मेरो जुत्ताभित्र के पसेछ ?"
पछिल्तिरबाट - "जुत्ता खोलेर बाहिर घुइँकाइ दिनोस् । क्लासिकल डान्स गरेजस्तो जीउ बङ्ग्याउऩे काम के छ दाइ ?"
दाइको नम्र जवाफ, "प्रोमिस...मेरो जुत्ताभित्र कोनि के पसेछ । जुत्ताभित्र सिरान लाएर बसेको बूढ़ो औँली कतिचोटि हल्लाइसकेँ । गिलित्...गिलित् परेको के छ...छ..। न्याम्...न्याम् पनि छ ।"
स्त्री स्वर अर्को कुनाबाट - "अरे ! यो मान्छे के साह्रो चलेका हौ हन ?"
नम्र स्वरमा दाइ, "होइन म्याम....मेरो जुत्ताभित्र मूसा पस्याजस्तो लाग्दैछ ।"
"भोलिदेखि बिरालो बोकेर हिँड्नू" - अर्को आवाज ।
बसको पेटभित्र सिटमा बसिरहेका एकजना भद्र मानिसको मानवता बसको पेटभित्र यसरी प्रतिध्वनित हुन्छ - "आउनोस् सर ! मेरो सिटमा बसेर जुत्ता फुकाल्नोस्....।"
अर्को चर्को स्वर, "अरे ! जुत्ता किन फुकाल्नु ? जुत्ताभित्र साँप होला ।"
समवेत् स्वर - "हाम्रो जीवनको कुनै रिस्क छैन कि क्या हो ?"
"रिस्क-सिस्क छोड़्नोस् हजूर । तपाई चुपो लागि यहाँ आएर जुत्ता खोल्नोस् ता " भन्दै ती भद्र व्यक्ति आफ्नो सिट छोड़ी उभिन्छन् । बसको पेटभित्र चूर्णा परेजस्तो गुजुगुजु चल्ने ती व्यक्ति आएर ती भद्र व्यक्तिको सिटमा आएर बसी जुत्ता फुकाले...सबैले आ-आफ्ना नाक छोपे...मोजा दङ्दङ्ती गन्हाएर बसको पेटभित्र हुँड़ीबिड़ी चल्यो । उनले जुत्ता टक्टकाएका मात्र के थियो ...एउटा घर साङ्लो उड़ेर एउटी तरुणीको केशमा थपक्कै बस्यो । साङ्लो भनेपछि स्त्रीमान्छेहरू साह्रै डराउँदा रहेछन् भन्ने यसै दिन प्रमाणित भयो । साङ्लो केशमा बस्नु बेर न ती तरुणी बसको पेटै हुड़़ुलिने गरी कहालिएर मेरो अघिआएर मलाई च्याप्पै अङ्गालो हालिन् । अर्को स्ट्याण्डमा उनी ओर्लिन् । म भने साङ्लोको खोजमा थिएँ । त्यो साङ्लो फेरि उड़ेर कुनै तरुणीको केशराशिमा बसिदिए ता नेपालभूमिमा दोस्रो अङ्गालो जुर्ने थियो जस्तो लागिरह्यो ।
बस आफ्नो रफ्तारमा गुड़िरहेछ । मेरो अघिल्तिर एउटी सुन्दरी परिछन् । बसको रोकिँदा...गुड़्दा हामी कतिचोटि टाँस्यौं.,..टाँस्यौ...हिसाबै छैन । निकै बेर पछि ती सुन्दरी बोलिन् - "दाइ ! तपाईको खल्तीभित्र भएक खैनीको डब्बाले मलाई साह्रो बिझायो । अलिक पर सर्नोस् कि चाहिँ खैनीको डिब्बा निकाल्नोस् ।"
मैले भनेँ, "म्याडम ! माफ गर्नोला...म खैनी कहिल्यै खाँदिनँ । खैनी नखाने मान्छेको खल्तीभित्र खैनीको डिब्बा कहाँबाट आउँछ ।"
ती सुन्दरी लाजले आफै पर...सरिन् । ती सुन्दरीलाई खैनीको डिब्बा नै नबोक्ने मान्छेको के ले बिझायो कोनि...छक्कै परेँ ।
धरान आइपुग्ने ती जुत्तामा साङ्लो बोक्ने यात्रीलाई भनेँ, "ब्र ! भोलि पनि अर्को एउटा साङ्लो ल्याउनुहोला । थ्री टाइम्स युवतीको केशराशिमा बस्यो भने मेरो टार्गेट सक्सेस हुनेछ ।"
मेरो पाकिटमा भएको खैनीको डब्बाले बिझाउने सुन्दरी कति बेला बसको पेटभित्रबाट ओर्लिछिन् साङ्लो खोज्ने हुँदा थाहै भएन ।
सिलिगुड़ी (उत्तर बङ्गाल) भारत