18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फुर्के

कथा नारायण मरासिनी May 21, 2023, 9:59 pm
नारायण मरासिनी
नारायण मरासिनी

उसलाई पटक्कै निद्रा लागेन । जति नै बल गरेर आँखा चिम्ले पनि निदाउन सकेन ऊ । मनमा नानाथरी कुराहरू आएर खेल्न थाले । पल पलमा उसको मस्तिष्कमा त्यही स्कुल र तिनै संस्थापकहरूले झापट हानिरहे । दिउँसो संस्थापकहरूले गरेको निर्णयलाई दिमागबाट हटाउनका लागि निकै प्रयत्न ग-यो । सकेन । रिस उठेको कुराबाट टाढिन भनी दिउँसोको त्यस घटनालाई मनमा आउन नदिएर निदाउनका लागि लाख कोसिस ग-यो तर उसको मस्तिष्कलाई ती संस्थापकहरूले यतिसम्म चिथोरे कि उसले कतै पनि उम्कने बाटो देखेन । यो उमेरमा पनि उसलाई आमाको काखमा घोप्टिएर रुन मन लाग्यो तर आमाले उहिल्यै यो संसार छोडिसकेकी थिइन् र बाबुले त झन् आमाले भन्दा पनि पहिल्यै छोडेका । स्मरणमा आमा र बाबु आउँदा मन उडेर बिस्तारै गाउँमा पुग्यो । आफ्नै बाल्यकाल आएर मन भरिन थाल्यो । ऊ जमानाका साथीहरू सम्झ्यो । सम्झँदै जाँदा उसले स्कुल पढ्न जाँदाका स्कुले साथीहरू सम्झ्यो । सम्झनामा गाईबाख्रा चराउन हिँडेका दिनहरू आए । गाईवस्तु चराउन सँगसँगै पखेरातिर जाने साथीहरूलाई सम्झँदासम्झँदै उसको मानसपटमा अचानक फुर्केको तस्बिर आयो ।
माली गाईको बाच्छाको नाम थियो फुर्के । गोठमा रातु, धेनु र माली तिनवटा गाई थिए । पाखो बारी र टारी खेत जोत्नका लागि तारे र काले नामका दुइटा गोरु । हल गोरु । तारे रातु गाईले पाएको घरकै बाच्छो र काले चाहिँ पारि लामडाँडाबाट दुई वर्षपहिले किनेर ल्याएको गोरु । तारेको उमेरको तुलनामा काले केही बुढो थियो । दुवै सजिएका । धेनु गाईको एउटा बाच्छी । गाईगोठमा यिनै सातवटा गाईगोरु र भैँसीगोठमा चाहिँ दुइटा माउ भैंसी र एउटा लैनो पाडी । भैँसीको गोठ आकारमा केही ठुलो र गाईको गोठ केही सानो तर दुवै जोडिएका । सानाठुला गरी एघारवटा बाख्रा पनि थिए खोरमा । बाख्राको खोर चाहिँ भैँसीगोठमै पूर्वपट्टिको भागमा र दुवै गोठ घरको पश्चिमपट्टि । घर, गोठ सबै खरले छाएका । गाईगोरु र बाख्रा घरमाथिकै जङ्गल र पूर्वपट्टिको पखेरातिर लगेर चराउने चलन थियो । वस्तुभाउलाई पानीका लागि माथि जङ्गलकै बिचमा रहेको अलिकति सम्यानमा पोखरी खनिएको थियो । भैँसी भने फुकाएर चराउने चलन थिएन । पखेरो बढी भिरालो र जङ्गलमा पनि भिरपहराहरू ठुल्ठुलै भएकाले भैँसी चराउन समस्या थियो ।
माली गाईले पहिलो बेतमा पाएको बाच्छी हजुरआमा बित्दा तेह्रौँ दिनमा दान गरिएको थियो । मालीको दोस्रो बेतको बाच्छो थियो फुर्के । निधारमा ताराजस्तो सेतो टीका थियो । पुच्छरको फुर्को सेतो रङको । घरमा अर्को गोरुको नाम तारे भएकाले त्यो बाच्छलाई पनि तारे नामले बोलाउँदा नाम जुध्ने समस्या । पुच्छरको फुर्को र निधारको टीकाबाहेक अरु जिउभरि कालो रङ भएकाले काले भनेर बोलाउन पनि मिल्थ्यो तर घरमा अर्को गोरुको नाम पनि काले थियो । यसै अर्थमा सजिलाका लागि फुर्के नाम दिइएको थियो । त्यो नाम बाले जुराउनुभएको ।
ऊ टुकुनटुकुन हिँड्न थालेपछि जन्मेको थियो फुर्के । सानै उमेरको थियो ऊ । बाले फुर्केको दाम्लो घाँटीबाट नभई खामाबाट फुकाउनुहुन्थ्यो । फुर्के उफ्रँदै मालीको दुध चुस्न पुग्थ्यो । छोटै समयमा पग्रन्थ्यो माली । अनि बाले दुध चुस्दाचुस्दैको फुर्केलाई जबर्जस्ती तानेर मालीले नभेट्ने गरी खामामै बाँध्नुहुन्थ्यो । त्यसपछि भने बाले पानी छ्याप्दै कल्चौँडो सफा गर्नुहुन्थ्यो र गबुवा लिएर दुवै हातले मालीको थुन तान्दै त्यार्तुर त्यार्तुर पार्न थाल्नुहुन्थ्यो । ऊ नजिकै बसेर बाले माली दुहेको हेरिरहन्थ्यो ।
फुर्के निकै बल गरेर तानिन्थ्यो । जतिसुकै तानिए पनि दाम्लो चुँडाउन चाहिँ सक्दैनथ्यो । आफ्नी आमाको दुधमा त्यसैको एकलौटी अधिकार हुनुपर्ने तर बाले फुर्केको अधिकारमाथि कब्जा जमाएको उसलाई मन पर्दैनथ्यो । टुलुटुलु हेरेर बस्थ्यो । त्यस समयमा ऊ मानवअधिकार र पशुअधिकारका कुराहरूबारे केही बुझ्दैनथ्यो । उसको बुझ्ने उमेर पनि भइसकेको थिएन । फुकर्ले दुध खान नपाएकामा उसको मन अमिलिन्थ्यो । आफ्नी आमाको दुध खान नपाएर फुर्के छटपटाएको देख्दा उसलाई असह्य चिन्ता हुन्थ्यो र मुखबाट बालबोली निस्कन्थ्यो, “बा ! फुल्केलाई पनि खान दिनु न बुबु ।”
बा भन्नुहुन्थ्यो, “दुध जति फुर्केलाई दिएपछि तैँले के खान्छस् त बाबु ?” ऊ निरीह भएर हेरिरहन्थ्यो फुर्के तानिँदै गरेको दृश्य र बाले त्यार्तुर त्यार्तुर पारेको दृश्य पनि । उसले फुर्केका आँखा रसाएको देख्थ्यो र नजिकै जान्थ्यो अनि सम्झाएको भावमा भन्थ्यो, “हऽऽ हऽऽ फुल्के ! नलो फुल्के नलो !”
उसको आवाज सुन्दा फुर्केलाई झन् असह्य हुन्थ्यो र अझ बढी तानिन्थ्यो । फुर्के तानिएको देख्दा मालीले पुच्छर चलाउँथी, खुट्टै पनि चलाउँथी । दुहुँदै गर्दाको अवस्थामा जब मालीले खुट्टा चलाउँथी तब बाका कन्सिरीका रौँ तात्थे । अनि उसलाई गाली गर्नुहुन्थ्यो, “यो कुकुर ! गाई दुहुने बेलामा त यता नअन्भरिए पनि हुन्थ्यो नि ।”
बा रिसाउन थालेपछि ऊ गोठबाट लुते कुकुर झैँ लुरुलुरु घरतिर फर्कन्थ्यो र आमासँग गुनासो गर्थ्यो, “आमा, आमा ! बाले मलाई कुकुल भनेल गाली गल्यो ।”
आमाले सम्झाउनुहुन्थ्यो, “गाई दुहुने बेलामा तँ त्यता नजा न त । तँलाई किन जानु प-यो त नि त्यता ?”
बाले मालीको कल्चौँडामा भए जति सबै दुहेर सकेपछि मात्र फुर्केलाई फुकाइदिनुहुन्थ्यो । के के न खान पाइन्छ जस्तो गरी फुर्के एकै सासमा बुर्कुसी मार्दै थुनमा मुन्टो जोत्न पुग्थ्यो । कल्चौँडो रित्तिसकेपछि र थुनबाट पनि निख्रिसकेपछि कहाँबाट दुध आओस् ? तैपनि फुर्केले चुस्न छोड्दैनथ्यो । माली झिँजो मानेर हो वा दिक्क लागेर हो ! चल्थी, उफ्रन्थी । फुर्केले रित्तो थुन पालैपालो तानिरहन्थ्यो । मालीलाई यति रिस उठ्थ्यो कि अरु बढी जोड जोडले उफ्रन थाल्थी ।
एकातिर फुर्केलाई दुध आउँछ कि भन्ने आशा हुन्थ्यो भने अर्कातिर मालीलाई फुर्केले रित्ता थुन चुसेर दुःख नदिए हुन्थ्यो जस्तो लाग्थ्यो सायद् !
आफ्नी आमाको दुध पेट भरुन्जेल चुस्न नपाए पनि घाँसकुँडाले हो कि कुन्नि ! फुर्केको जिउ मोटोघाटो, भरोसलाग्दो थियो । घरिघरि उफ्रँदै आँगनतिर आउँथ्यो र पुच्छर ठड्याएर भाग्दै फेरि गोठमै पुग्थ्यो ।
हिउँदको समयमा पाखो बारीमा खेती गरिँदैनथ्यो । कोदो टिपेर नल काटेपछि गाईवस्तुलाई फुकाएर तगाराबाट निकालिदिने चलन थियो अर्थात् छाडा छोडिन्थ्यो । फुर्के आफ्नी आमासितै बारीतिर चर्न जान्थ्यो । घाम अस्ताउने बेलामा सबै वस्तुभाउ आफ्नै गोठमा फर्कन्थे । मालीलाई एकछिन पनि छोड्दैनथ्यो फुर्केले । साँझपख मालीसँगै फर्कन्थ्यो । मालीले पनि फुर्केलाई यति धेरै माया गर्थी कि फुर्सदको समयमा फुर्केको जिउ चाटेर बस्थी । महिलाहरूले लछप्प तोरीको तेल घसेर कपाल कोरे जस्तै बनाइदिन्थी । मालीले चाटिरहँदा फुर्के पनि सन्च मानेर बस्थ्यो ।
माली र फुर्के बिचको माया देखेर द्रवीभूत हुन्थ्यो ऊ । मायालु भावले मन भरिन्थ्यो र आफ्नी आमालाई सम्झन्थ्यो । उसका दुवै आँखाले आमाको खोजी गर्थे । आमा मेलापात अथवा घाँसदाउराका लागि घरबाट बाहिरिएको अवस्था हुन्थ्यो । ऊ आफ्नी आमाबाट पनि मालीले फुर्केलाई गरेको जस्तै माया चाहन्थ्यो यद्यपि आमाको काखमा बस्ने उसको समय भने विस्तारै टरिसकेको थियो ।
ऊ ठुलो हुँदै गएको थियो । उसको तुलनामा फुर्के अझ हलक्क बढेको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न जानुप-यो भने अरुलाई ढड्डीढड्डी दिएर फुर्केलाई कलिलोकलिलो खालको घाँस हालिदिन्थ्यो । ढाड मुसारिदिन्थ्यो । फुर्के र ऊ एकापसमा हित्तचित्त मिलेका साथी जस्तै भएका थिए । बिहान उठ्नासाथ र साँझपख पनि फुर्केलाई हेर्ने निहुँमा ऊ गोठ पुग्थ्यो । जब ऊ गोठमा पुग्थ्यो फुर्केले पनि मुन्टो घुमाएर उसैतिर दृष्टि दिन्थ्यो । एक बिहान गोठमा पुग्दा फुर्केले गोब्र्याउँदै गरेको देखेर पहिलेको एउटा कुरो सम्झ्यो उसले । त्यस समयमा फुर्केले गोब्र्याएपछि उसले बालाई सोधेको थियो, “बा ! फुल्केले दिसा धुन पल्दैन ?”
फुर्के बढ्दै गयो । बहर भयो । हिउँदको समयमा एक दिन फुर्केलाई दाउन भनेर जुवामा नार्न खोजियो । सुरुमा मानेन । बाले हरियो घाँस देखाएर फकाउन थाल्नुभयो ।
तिनताका गाउँको पारिपट्टि अर्थात् पश्चिमतिरको पाखामा बस्ने सार्की जेठो हली थियो । उसको वास्तविक नाम जुद्धबहादुर सार्की थियो तर बोलाउने क्रममा अलिक बुढापाकाले ‘जेठा’ भन्थे भने केटाकेटीले ‘जेठा बा’, ‘हली बा’ आदि नामले बोलाउँथे । जेठाको पुख्र्यौली थलो त्यहाँ थिएन ।
उसका हजुरबा राणाकालमा डिट्ठा थिए । गाउँमा अरुहरूका तुलनामा केही टाठाबाठा पनि थिए रे । उनै डिट्ठा बाजेले कामको भाँडो ठानेर जेठाका बाउलाई त्यहाँ ल्याएर राखेका । बाउ मरेपछि जेठाले बाउकै पेसालाई अगाडि बढाएको थियो । सालघारीको मुखैमा थियो जेठाको कटेरो । त्यस कटेराको छानाको तल्लो आधा भाग कटुसका स्याउला र धुरीपट्टिको आधा भाग खरले छाएको थियो । जहान परिवारका नाममा स्वास्नी जेठी र चारवटा छोराछोरी । बाहुन गाउँका चार परिवारको खेतबारी जोत्थ्यो उसले । वर्षभरिको एकमुष्ट मजुरीबापत जोत्ने घरहरूबाट पन्ध्र-पन्ध्र पाथीका दरले कोदो र कामको दिनमा बिहानको खाना, दिउँसोको खाजा अनि एक मानो खर्चका साथमा दुइटा ढिका नुन पाउँथ्यो ।
जिन्दगीको बैँस जति सबै हलाको अनौ समाएर बितायो । गोरुको पछि लाग्दालाग्दै आफ्नो उमेर गएको पनि थाहा पाएको थिएन उसले । जोत्ने काम नभएको समयमा विष्टबराजुहरूका घरमा अन्य ज्यालामजदुरीका काम गथ्र्यो । कसैका डिँगाडाँगर मरेको थाहा पाउँदा छाला काढ्न जान्थ्यो । डोकाभरि मासु बनाउँथ्यो र स्याउलाले छोपेर लान्थ्यो । उसको कटेरामा प्रायः मासु खाली हुँदैनथ्यो । मान्छे पनि रातोपिरो हट्टाकट्टा । उसैले दाउँदै थियो फुर्केलाई । जुवामा नार्न निकै गाह्रो परिरहेको थियो । फुर्के मानिरहेको थिएन । समाउँदासमाउँदै फुर्के ठुलो गरामा यता र उता दुगुर्न थाल्यो ।
धेरै समयको प्रयास खेर गएपछि जेठालाई रिस उठ्न थालेको थियो । जब फुर्के जेठालाई पनि सिङले उधिनेर भाग्यो तब जेठालाई खपिसक्नु भएन । उसको रिसको पारो चढ्यो । हातमा निकै मिहिनेत गरेर बनाएको कालिकाठको लट्ठी लिन्थ्यो, त्यसैले पाँच-सातपटक आँखै नहेरी सुम्ल्यायो । साह्रै दुःखेछ क्यारे ! फुर्केले तुरुक्क मुत्यो र छे-यो पनि । अनि थुचुक्क बस्यो । जेठाले छोडेन फुर्केलाई । पुच्छर निमोठ्दै उठायो र जुवामा नारेरै छाड्यो । गराको एक छेउबाट अर्को छेउसम्मको सियो पनि पूरा नहुँदै बिचैमा बसिदिन्थ्यो फुर्के । उठाउँदै क्यार्दै दुई-चार सियो लाएर त्यस दिन फुर्केलाई दाउने काम मात्र भयो ।
फुर्केले खाएको पिटाइ र त्यसले तुरुक्क मुत्दै छेरेको दृश्यले उसको मन यतिसम्म दुःख्यो कि दुवै आँखामा आँसु भरिएर आए । रुन मात्रै सकेन । अरु कसैले नदेख्ने गरी आँसु पुछ्यो । आफ्नो साथीलाई त्यस्तो हालतमा पु-याउने हली बा (ऊ सार्की जेठालाई ‘हली बा’ भन्थ्यो) र आफ्नै बाबुलाई पनि उसले केही भन्न सकेन । आज यतिका उमेरको भयो ऊ । उसले फुर्केले खाएको त्यो पिटाइ अहिलेसम्म बिर्सन सकेको छैन । स्कुल पढ्ने क्रममा मास्टरहरू भन्थे, “गोरुकुटाइ खालास् नि फेरि !” यस भनाइमा पनि उसले फुर्केले खाएको त्यही कुटाइ सम्झन्थ्यो ।
दुईचार दिनसम्म त्यसरी नै नारेर जोताउन थालेपछि फुर्के अभ्यस्त हुँदै गयो । बाँच्नका लागि पनि जोतिनु पर्ने बाध्यता थियो फुर्केमा, अन्यथा हली बाकै कुटाइबाट ज्यान थिलोथिलो भएर सकिने सम्भावना हुन्थ्यो ।
फुर्के तारेसँगै हलमा नारिन थाल्यो । हली बासँगै ऊ पनि फुर्केले खेतको बाँझो र बारीको पाटो जोतेको हेर्न पच्छ्याउँथ्यो । जेठाको एउटा हातले आफ्नै काँधमा राखेको हलोजुवा र अर्को हातले उसको हात समाएको हुन्थ्यो । साथै गोरु धपाउने लट्ठी पनि । अगाडिअगाडि तारे र फुर्के त्यसपछि हली बासँगै ऊ । बेंसी झर्ने क्रममा बाटो अप्ठेरो । घरिघरि ऊ चार खुट्टा टेकेर गौँडा ओर्लन्थ्यो । दिउँसोको टन्टलापुर घाममा हली बा घुम आढेर खेतको बाँझो चिरिरहेका हुन्थे । बेलाबेलामा हल बिसाएर कटुसको पातलाई चिलिम बनाई भुसाहा तान्थे । ऊ खेत नजिकैको चिलाउनेको सियाँलमा बस्थ्यो । घाम अस्ताउने बेलामा उसरी नै उकालो चढ्थे तिनीहरू जसरी बिहानपख ओरालो झरेका हुन्थे । सानो छँदा उसले फुर्के र हली बाको साथ कहिल्यै छोडेन ।
गाउँमा बहरहरू सुमर्ने कुरा चल्यो । उसको फुर्के पनि सुमरिने भयो । त्यस भेकमा बोकालाई खसी पार्न र बहरहरू सज्न उही सार्की जेठो प्रख्यात । सिपालु पनि थियो । गाउँको बीच ठुलो पाटामा गाउँभरिका सज्न योग्य बहरहरूलाई जम्मा पारियो । महिलाहरू त्यहाँ थिएनन् । युवा, प्रौढ तथा पाकाहरू गाउँभरिका सबै जम्मा भएका थिए । बहरहरू यस्तै बाह्र-पन्ध्रवटा हुँदा हुन् ! अहिले ठ्याक्कै सङ्ख्या चाहिँ सम्झन सकेन उसले ।
चारवटै खुट्टा बाँधेर लडाएपछि बलिया युवा तथा प्रौढहरूले फुर्केलाई चल्न नदिन बेस्सरी समाए, अँठ्याए । त्यसपछि जेठाले फुर्केको अण्डकोषको फेदतिर तेलबेसार घस्न थाल्यो । अण्डकोषलाई ओल्टाइपल्टाई चिल्लो हातले मुसा-यो । अनि झुम्राले दुवै हात पुछ्यो । फेदमा तल र माथि समानान्तर रूपमा दुईवटा डन्डी राख्यो । डन्डी दुवै बलिया, राम्रा र समान आकारका । ती डन्डी कुन काठबाट बनाइएका थिए कुन्नि ! त्यो चाहिँ अहिले उसको दिमागमा आएन ।
जेठाले घन ठोक्न थाल्यो । माथिल्लो डन्डीलाई घनले ठोक्दा फुर्के छटपटाउँथ्यो । बुढापाकाहरूले केटाकेटीले हेर्न हुँदैन भन्दाभन्दै पनि भिडमा उसले लुकेर हेरेको थियो । जेठाले जतिपटक डन्डीमा घनले ठोक्थ्यो त्यति नै पटक फुर्के छटपटाउँथ्यो । अँठ्याउनेहरूले अझ जोड जोडले अँठ्याउँथे । फुर्के बन्धनबाट फुत्कन सक्दैनथ्यो । त्यतिका बलिया मान्छेहरूको अँठ्याइबाट उम्कन सक्दैनथ्यो, मात्र छट्पटाउँथ्यो । उसले यो सबै दृश्य हेरिरहेको थियो । जेठाले नसो कतिसम्म थेप्चियो वा चुँड्यो भनेर घरिघरि डण्डी र अण्डकोषको फेदतिर दुवै हातका बुढी औँला र चोरी औँलाको सहायताले छामछुम छामछुम र मिचमाच गरी जाँच्थ्यो अनि नसो नथेप्चिउन्जेल वा नचुँडिउन्जेल पुनः डन्डी राखेर ताल मिलाई मिलाई घन बजार्न थाल्थ्यो ।
सुमर्ने क्रमको अन्तिमतिर असह्य भएरै होला सायद् ! फुर्केको मुखबाट आवाज निस्क्यो । त्यति नै बेला भिडबाट कसैले भनेको उसले सुन्यो, “ए, यो त करायो है ! सज्दाखेरि कराएको त अशुभ हुन्छ ।”
उसलाई त्यो मान्छेले भनेको शुभ अशुभका बारेमा केही ज्ञान थिएन । एकपटक पुनः फुर्केलाई हे-यो उसले । जेठाले काम सकेछ । बन्धनहरू फुकाइए । ऊ फुर्केको नजिकै पुग्यो । फुर्केका नजरसँग जुधे उसका दुवै नजर । फुर्केका आँखाबाट आँसु झरेको देख्यो उसले । दुई-चार जना मिलेर उठाए र धपाउँदै अर्को बहर सुमर्ने तयारी गर्न थाले ।
फुर्केलाई अँगालो हालेर उसलाई पनि सँगै रुन मन लागेको थियो तर सकेन । बरु एक्लै बारीको कुनापट्टि गएर ऊ अरु कसैले नदेख्ने गरी एकछिन रोयो । बेलुका घरमा आएपछि उसले आमासित फुर्के रोएको देखेर आफू पनि सँगै रोएको कुरा ग-यो । आमाले भनिन्, “तँ त साह्रै हुतिहारा भइस् ! छोरो मान्छे भएर यति कमलो मनको हुन हुँदैन क्या ! अलि आँटिलो हुनपर्छ । पशुको जात, नसुमरी राखेर काम हुन्न ।”
पशुको जात र मान्छेको जातमा हुने फरकबारे घोत्लिनलाई उसको मस्तिष्क त्यति परिपक्व थिएन । उसलाई यति चाहिँ थाहा थियो कि फुर्केको पनि मान्छेको जस्तै मन छ र मान्छेले कुटाई खाँदा जसरी दुख्छ फुर्केलाई पनि त्यसै गरी दुख्छ । यति बेलै उसले के पनि सम्झ्यो भने नौ कक्षामा पढ्दा हो कि सायद् ! एकपटक अङ्क गणितको कुन चाहिँ हो कुन्नि, हिसाब नमिल्दा मास्टरले उसलाई हात थाप्न लगाएर लट्ठीले सुम्ल्याएका थिए र आफ्नो दुखाइको त्यस अनुभवलाई उसले फुर्केले दाउने क्रममा खाएको पिटाइसँग तुलना गरेको थियो ।
सुमरेकै दिनदेखि फुर्केमा फुर्तिफार्ती क्रमशः घट्दै गयो । निरस निरस जस्तो, उदास उदास जस्तो । चरनमा पनि मन लाएर नचर्ने । घरमा जति नै मिठो मिठो घाँस हालिदिए पनि मन लाएर नखाने । कुँडो दिँदा पनि मुख फाल्ने । दुब्लाउँदै गयो । लगभग डेढ महिना जतिमा त जिउमा हाड र छाला मात्र बाँकी देखिन्थ्यो । त्यसका काला आँखामा पनि पहिलेको जस्तै चमक देखिन छोड्यो । आँखामा कचेरा भरिएको हुन्थ्यो । बिस्तारै थला प-यो ।
एकपटक घाँस हाल्ने क्रममा बाले भनेको उसले सुन्यो, “यस्तो दुक्ख देख्नभन्दा त बरु छिटो मरिदिए हुन्थ्यो नि !”
सुमरेको दुई महिनाजति भएको थियो होला, एक दिन बिहानमा बा र पल्ला घरका दाइले फुर्केलाई घिसार्दै तगाराबाट निकालेको उसले देख्यो । तगाराबाट घिसार्दै केही तल बारीको छेउमा पु-याएपछि पच्छ्यायो उसले । तल्लो गराको कुनापट्टि एउटा खाल्टो खनिएको रहेछ । पल्लाघरे दाइ र बा मिलेर माथिल्लो गराको छेउबाट खाल्टामै पर्ने गरी गुल्ट्याइदिए । खाल्टामा उत्तानो प-यो फुर्के । तल झरेर बाले खुट्टा दोब्राइदिनुभयो । अनि माथिबाट कोदालाको सहायताले माटो फाल्दै पुरपार गरेको दृश्य उसले काम नसकिँदासम्म हेरिरह्यो ।
फुर्के मरेको केही दिनसम्म त उसको मन पनि निकै भारी भयो । फुर्केको ठाउँमा बाले अर्को गोरु किनेर ल्याउनुभयो । उसको माया फुर्केमा जस्तै नयाँ ल्याएको अर्को गोरुमा बस्न सकेन । सानैदेखि बसेको माया, निकै गहिरो र भावात्मक थियो उसको र फुर्के बिचको सम्बन्ध ।
समयले काँचुली फे-यो । ऊ गाउँ छोडेर शहर पस्यो । क्याम्पस पढ्ने क्रममा बोर्डिङ स्कुलको मास्टर बन्न पुग्यो । गाउँमा उसलाई पुर्खे भन्थे वास्तविक नाम चाहिँ पुरुषोत्तम सुवेदी थियो । बोर्डिङका केटाकेटीहरू बिच ऊ नागरिकतामै उल्लेख भएको नाम अर्थात् पुरुषोत्तम गुरुका रूपमा परिचित भयो । अब भने पुर्खे नियमित रूपले बोर्डिङमा जोतिन थाल्यो । सुरुवाती छ-सात वर्ष एउटा बोर्डिङमा र त्यसपछिको सम्पूर्ण समय अर्को बोर्डिङमा । ऊ त्यही पछिल्लामा अलमलियो । बोर्डिङका संस्थापकहरूले सहरको लगभग बिच भागमै नौ रोपनी जग्गा किनेर बोर्डिङका नाममा ठुलो बङ्गला बनाएका थिए । संस्थापकहरू दुई जना थिए । सहरमा नाम चलेकै बोर्डिङ थियो त्यो । लामो समयको अन्तरालमा थुप्रै मास्टरहरू आए, गए । फेरिए भनौँ । तर ऊ टिकिरह्यो । यतिका वर्षसम्म एउटै बोर्डिङमा टिकिरहन सक्नुको एउटै मात्र कारण यो थियो कि उसले तलब स्केलका बारेमा कहिल्यै बार्गेनिङ गरेन । संस्थापकहरूले जति दिन्थे त्यति नै हात थाप्थ्यो र चित्त बुझाउँथ्यो । वर्षौंसम्म पढायो उसले त्यहाँ । पुगनपुग साढे दुई दशक नै भने हुन्छ । त्यति नै समय भएको थियो उसको सुर्तीको अम्मल पनि । नियमित रूपमा ग्यास्टिकको औषधि भनेर के नामको हो कुन्नि, क्याप्सुल खाने गथ्र्यो । उत्तरार्धमा घाँटीले साथ दिएन उसलाई । रोग मात्रै नभएर उमेरले पनि होला सायद् पढाउने क्रममा बोली पु-याउन पनि गाह्रो हुन थाल्यो । स्वर नै बिग्रियो ।
उसको उमेर र अस्वस्थतालाई मध्येनजर गरी संस्थापकहरूले अवकाश दिए । रित्तो हात निस्क्यो ऊ । न औषधीउपचार न बिरामी बिदाको खर्च । उपदान र पेन्सनको त कुरै छाडौँ । “चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो” बन्यो ऊ ।
अब जहान केटाकेटी कसरी पाल्ने ? यसैमा चिन्तित बन्यो । स्वास्नी अलि रोगी रोगी थिई । छोरी स्कुल र छोरो कलेज पढ्दै थिए । छोराले काँध थाप्ने बेला अझै भएको थिएन । यतिका वर्ष शहर बस्दा पनि घर त के कुरा घडेरीको टुक्रोसम्म जोड्न सकेको थिएन । बाबुआमाको मृत्युपछि गाउँको घर भत्क्यो । गाउँमा खेतिपाती गर्न पनि छोडिएको थियो । वरिपरि सबैतिर बाँझो मात्रै । ऊ जमानामा खेती गरिएको जग्गा सबै जङ्गलमा परिणत भएको थियो । नजिकका छिमेकीहरू पनि बसाइँ सरिसकेका थिए । गाउँ एक किसिमले भन्ने हो भने मृतप्रायः थियो ।
केही व्यापार व्यवसाय अँगाल्न उसको हुती आएन । उमेरले पनि साथ नदेला जस्तो ठान्यो । अब के गर्ने त ? निकै छटपटायो । शरीर पसिनाले लछप्पै भिजेको रहेछ । ओढिरहेको सिरक हटायो उसले । आँखा खोलेर घडी हे-यो । रातको एक बजेको रहेछ । पुनः आँखा बन्द ग-यो ।
केही वर्षदेखि यता तिनवटा कोठाको फ्ल्याट भाडामा लिएर बसेको थियो । एउटामा किचन, अर्कामा आमा र छोरी । यसमा चाहिँ आफ्नै बाबुछोरा । छोरो मस्त निदाइरहेको थियो । सोच्यो उसले– पल्लो कोठामा पनि आमाछोरी निदाइरहेका होलान् ।
भित्तामा झुन्ड्याइएको घडीको एकनासे टिकटिक टिकटिकबाहेक अरु कुनै आवाज थिएन । बाहिरको वातावरण अति नै शान्त भए पनि उसको मनमा हुन्डरी चलिरहेको थियो । जति नै बल गरे पनि निदाउन सकिरहेको थिएन । निदाउने प्रयत्नमा सम्झेको फुर्केको कथा पनि सकियो । उसले मनमनै भन्यो, “फुर्के ! आखिर तेरो र मेरो जीवनमा फरक के नै रह्यो र ? मेरो पनि तेरै जस्तो त भयो नि यो जिन्दगी ।”
चकमन्न रातमा आँखा रसाएर आए उसका । ऊ जमानामा आमाले भनेको सम्झ्यो फेरि, “तँ त साह्रै हुतिहारा भइस् । छोरो मान्छे भएर यति कमलो मनको हुन हुँदैन क्या ! अलि आँटिलो हुन पर्छ ।”
उहिल्यै मरेर गएकी आमाको यो वचनले उसलाई निकास दिएजस्तो लाग्यो । शरीरमा बिस्तारै साहसको सञ्चार हुन थाल्यो । रात घर्किसकेको थियो । यति बेला भने घडी हेर्न पनि मन लागेन उसलाई । सायद् साढे एक अथवा दुई नै बजेको हुँदो हो । दाँत किटकिटाउँदै उसको मुखबाट आवाज निस्क्यो, “फुर्के ! तँ त निरास निरास भएर मरिस् तर म तेरोजस्तो मृत्यु मर्न चाहन्न ।”
ज्याग्दीखोला, स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।