17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कृष्ण बजगाईंको ‘उमिहोतारु’ : एक पाठकप्रिय कृति

कृति/समीक्षा नवीन पौड्याल May 10, 2023, 3:43 am
नवीन पौड्याल
नवीन पौड्याल

१.आमुख
मान्छे भ्रमणशील प्राणी हो । उभित्र नयाँ ठाउँ हेर्ने, नयाँ ठाउँ जाने नयाँ ठाउँ बुझ्ने अभिलाषा रहेको हुन्छ । कोही नजिकैको ठाउँ जान्छन् कोही टाडा जान्छन् । कोही स्वदेशभित्रकै विभिन्न स्थान जान्छन् त कोही विदेश घुम्छन् । मानिसले आफ्नो जीवनमा लामो छोटो जे जस्तो भए पनि यात्रा गरेको हुन्छ, आफ्नो गाउँ र ठाउँभन्दा टाढा टाढा गएको हुन्छ । त्यो लामो चाहे पैदलदेखि लिएर हवाइजहाजसम्मको गरेको हुन्छ । मानिस जीवन नै जिज्ञासाहरूको अनन्त भण्डार हो । कुनै पनि कुरामा उसले जानकारी हासिल गर्न कोसिस गर्दछ । चन्द्रमा देखेर उ त्यही नै जाने कल्पना गर्न सक्दछ । चराहरू आकाशमा विचरण गरेजस्तै आफु पनि त्यस्तै आकाशमार्गबाट देश–देशावर घुम्ने कल्पना गर्दछ । मान्छेको सभ्यताको शुरूआतदेखि हालसम्म मान्छेले ओडारदेखि विकसित हुँदै अब त अन्तरीक्ष यात्रा पनि सम्पन्न गरिसकेको छ ।

यसरी विभिन्न ठाउँ, शहरतिर यात्रा गर्दा, हिँड्दा विभिन्न नयाँ कुरा देख्छ । त्यो घुम्ने मान्छेभित्रको सिर्जनात्मक चेतनाले घच्घच्याएर उसका अनुभव–अनुभूति लेखेर व्यक्त गर्दछ । यद्यपि आफुले घुमेको, देखेको र अनुभूत गरेको कुरालाई लेख्ने क्षमता सबैमा हुँदैन । देश विदेश भ्रमण गर्ने जति सबैले लेख्दैनन् । सिर्जनात्मक कला भएको व्यक्तिले मात्र आफ्ना मनमा खिलेका कुरा लेख्न सक्छ ।

२.देशाटनको महत्व

उपनिषदमा चरैवेती चरैवेती भन्ने सङ्केत उल्लेख पाइन्छ । यसको अर्थ हिँडिरहू हिँडिरहू । जीवन भन्नु नै नरोकिइकन हिँडिरहनू हो । यसका विभिन्न अर्थ लागे ता पनि जीवनको विचरणशीलतालाई प्रोत्साहन दिइएको पाइन्छ । मानिसको विचरणशीलताको कारणले पूर्वका मूल्यवान वस्तु पश्चिममा, पश्चिमी देशका सामान यता पूर्वीय देशमा, चीनको चिया भारतमा आयो, पूर्वका कुरा पश्चिमले सिक्यो, पश्चिमका खानेकुरा पूर्वले जान्न पायो । देश–विदेश भ्रमण पनि जीवनको एउटा कर्तव्य हो । कतिपय देशले त आफ्ना नागरिकहरूलाई स्वदेश र विदेश घुम्न जान प्रेरित गर्दछ । भ्रमण पनि ज्ञानको अनन्त स्रोत हो । देशाटनले तत् तत् ठाँउका बाह्य र आन्तरिक ज्ञान हासिल हुन्छ । यसबाट प्राप्त हुने अनुभव र ज्ञान महत्वको कुरो हो । यस्तो अनुभव र ज्ञान कुनै पनि ग्रन्थ पढेर, सुनेर प्राप्त हुन सक्दैन । हाम्रो गोर्खाली समाजमा धेरै अघिदेखि नै धार्मिक उद्देश्यले देशका विभिन्न तीर्थस्थान जाने गरेको पाइन्छ । यस्तो तीर्थ–भ्रमण पनि देशाटन नै हो भने अहिलेका पुस्ता संसारका विभिन्न ठाउँ घुमेर, धन कमाएर, पढ़ेर आँउछन् । कतिपय देशले त विदेश भ्रमणलाई अधिक महत्व दिएर आफ्ना जनतालाई सहुलियतादि दिने गर्छन् । पाठकले पनि केही मात्रामा भए पनि निबन्धमा वर्णित ठाउँ र अनुभवबारे जानकारी पाउँछन् । मान्छेको सभ्यताको शुरूआतदेखि हालसम्म मान्छे ओडारदेखि विकसित हुँदै अब त अन्तरीक्ष तिरको यात्रा पनि सम्पन्न गरिसकेको छ । हाम्रा पुर्खाहरू तीर्थयात्रा गर्दथे, नयाँ गाँस बासको व्यवस्था गर्न आफ्नो थलो छोडेर अन्य थलो बसाइँ सर्थे ।

३.नियात्रा विधाबारे छोटो चर्चा

भ्रमण, पर्यटन, देशाटन, यात्रा, घुमाइ, परिभ्रमण, तीर्थाटन, विचरण आदि केही नाम भए पनि यात्रा नै सर्वप्रचलित पाइन्छ । यात्राका रूप पनि धेरै किसिमका हुन्छन् । पदयात्रा, तीर्थयात्रा, व्यापारिक यात्रा, कुटनैतिक यात्रा, शैक्षिक यात्रा, साहसिक यात्रा, पर्यटन यात्रा, ग्रामीण यात्रा, साहित्यिक भ्रमण इत्यादि । यसै गरी यात्राको उद्देश्य पनि मूलतः पर्यटनीय र प्रयोजनीय गरी दुई प्रकारका हुन्छन् । यात्रा गर्दा टिपिएका साहित्यिक रूपलाई यात्रासाहित्य, यात्रानिबन्ध, यात्रावृतान्त, यात्राविवरण आदि भनिन्छ । यद्यपि यस्तो किसिमको साहित्यलाई नियात्रा शब्द नै सर्वाधिक चल्तीमा आएको देखिन्छ ।

बालकृष्ण पोखरेलले निबन्धको वर्गीकरण गर्ने क्रममा दुईवटा वर्गीकरण गरेका छन् – प्रबन्ध र जमर्का । प्रबन्धका विभिन्न उपभेदमध्ये यात्रा विवरण ९त्चबखभ िब्अअयगलत० लाई राखेका छन् भने जमर्को (निजात्मक) का चारवटा भेदमध्ये नियात्रालाई एउटा अर्कै उपभेदका रूपमा राखेका छन् । यस हिसाबले हेर्दा बालकृष्ण पोखरेलले यात्रा–विवरण र नियात्रालाई अलगअलग अर्थ र उपविधाका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार यात्रा गर्दा सामान्य विवरण यात्रा विवरण हो भने त्यही यात्रा विवरण गर्दा लेखकले निजी रङ्गमा रंगाएर साहित्यिक अभिव्यक्ति दिँदा नियात्राको जन्म हुन्छ । यात्रा विवरण वा भ्रमण संस्मरणमा आधारित भएरै नियात्रा लेखिन्छ । यसको सत्य विषयवस्तुले नै यसलाई कथा हुनुबाट जोगाएर नियात्राको रूप लिन्छ । हिन्दी साहित्यमा पनि यात्रासाहित्य शब्द बढी उपयुक्त हुन्छ । यसका दशवटा श्रेष्ठ कृतिहरूमा दत्तात्रेय बालकृष्ण काका कालेलकरको ‘यात्रा का आनन्द’, राहुल सांकृत्यायन ‘किन्नर देश में’, अज्ञेयको ‘अरे यायावर रहेगा याद’, फणीश्वरनाथ रेणूको ‘ऋणजल धनजल’, मोहन राकेशको ‘आखिरी चट्टान तक’, निर्मल वर्माको ‘चींडो पर चाँदनी’, कृष्णनाथको ‘स्पीति में वारिश’, राम कुमारको ‘युरोप के स्केच’, कृष्णा सोवतीको ‘बुद्ध का कमण्डल लद्दाख’ र अमृतलाल बेगडको ‘तीरे तीरे नर्मदा’ हुन् ।

बालकृष्ण पोखरेलको यात्रा साहित्यसम्बन्धी दुई किसिमका वर्गीकरणलाई अघि बढाउँदै यात्रा वर्णन र नियात्रा गरी दुई वटा वर्गीकरण गरेका छन् । यात्रावर्णन, यात्राविवरण, यात्रावृतान्त र यात्रासंस्मरणमा यात्राका विषयवस्तु र घटनाक्रमहरूको उपस्थिति भए पनि निजात्मक अनुभव र अनुभूतिका प्रसङ्गहरू कि हुँदै हुँदैनन् कि ज्यादै कम हुन्छन् । तर घटनाक्रमसँगसँगै लेखका अनुभव, अनुभूति र विचारहरूको मनोरम प्रस्तुतिका शीप र शैलीको त्यो रचना यात्रा वर्णन–विवरण– संस्मरण हो या नियात्रा हो भन्ने निर्धारण गर्छ । नेपाली बृहत् शब्दकोशमा नियात्राको अर्थ दुईवटा दिइएको छ– १. यात्रा निबन्धको औपन्यासिक वा उपाख्यानात्मक रूप । २. यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध ।

यसबाट नियात्रा निबन्धकै उपविधाका रूपमा देखाइएको बुझिन्छ। नियात्रा शब्द नेपालीमा मात्र प्रयोग देखिन्छ । यसको सैद्धान्तिक रूपमा न्वारान गर्ने बालकृष्ण पोखरेल हुन् । उनले वि. सं २०२५ मा प्रकाशित तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ पुस्तकको भूमिकामा सर्वप्रथम यस शब्दको प्रयोग गरेका गरेका थिए । त्यसपछि वि. सं. २०४० मा बृहत् नेपाली शब्दकोशमा यस शब्दले प्रविष्टि पायो। त्यसपछि भने नेपालीमा यही शब्दले मान्यता व्यापकता पायो र यो शब्द सामान्य उपविधाको रूपमा चलनचल्तीमा आयो ।

नियात्रा शब्दको व्युत्पत्ति यात्रा निबन्धबाट भएको हो । निबन्ध शब्दबाट नि उपसर्ग झिकी यात्रा शब्द लगाएर यात्रानिबन्धको अर्थमा नवनिर्माण गरिएको शब्द हो । निबन्धमा झैं यसमा पनि निजात्मक अनुभूतिको उपस्थिति रहनु आवश्यक हुन्छ । यात्रा विवरण दिँदैजाँदा आफ्ना रागात्मक अनुभूति र संवेदनालाई समेत अभिव्यक्ति दिदैँ आत्मपरक शैलीमा चमत्कारितासहित लेखिने नियात्रा हो । ‘कुनै सृजनशील यात्रीले यात्राका क्रममा देखे–भोगेका विविध परिदृश्य, घटना प्रसङ्ग र सङ्गालेका अनुभवलाई निजात्मक रङ्गले रंगाएर भावना र कल्पनाको यथोचित समन्वयका साथ मनोहारी शैलीमा आत्मपरक ढङ्गबाट लिपिबद्ध गरेको यथार्थपरक गद्यकृति नै नियात्रासाहित्य हो ।’ यात्रा विवरण जति सबै नियात्रा हुँदैन । निरस तवरले वस्तुनिष्ठ वर्णनबाट साहित्यिकता नआए नियात्रा हुँदैन । बालकृष्ण पोखरेलले यात्रासाहित्यलाई यात्रा विवरण र नियात्रा गरी दुई भेद गरेका छन् । उनका अनुसार सत्यको निस्तो वर्णन छ भने लेख मात्र हुन्छ औ रमरमको आनन्दबाट मुछिएको चाँहि नियात्रा हुन्छ । नियात्रालाई उद्देश्य जे भए पनि गौण हुनुपर्छ । यात्रालेख पशुपतिको जात्रा हो भने नियात्रा चाँहि सिद्राको व्यापार हो । यात्राकारको स्वयंको उपस्थिति, यÞात्राकारको निजात्मक अनुभूति, रोचकता, चित्रात्मकता, यात्राको पश्चकालिक प्रस्तुति अनुभूतिका साथै आत्मीयता, स्वच्छन्दता, अनौपचारिकता, कल्पनाप्रवणता. हार्दिकता र भावनाको उच्छलन जस्ता गुणको समन्विति यसको निबन्धात्मक स्वरूपसित सम्बन्धित भावात्मक पक्ष हो भने यात्राका क्रममा लेखक यात्रीसित सम्बन्धित हुन आउने स्थलहरू, व्यक्तिहरू, विविध दृश्यावली र घटना–प्रसङ्ग अनुभवात्मक पक्ष हुन् । आदि यसका स्वरूप र विशेषता हुन् । नियात्रासित संस्मरणको पनि सहसम्बन्ध हुन्छ । यद्यपि आफ्नो बाल्यकालको सम्झना वा कसैसितको सम्झनामा लेखिने संस्मरण र यात्रामा देखिएको र अनुभूत गरिएको सम्झनामा लेखिएको नियात्रा हो । यसर्थ, यात्रासित सम्बन्धित संस्मरण मात्र नियात्रा हो ।

नियात्रा साहित्यलाई पनि क) वर्णनात्मक–विवरणात्मक ख) आख्यानात्मकता, ग) पत्रात्मक, घ) दैनिकी लेखन, ङ) संस्मरणात्मकता, च) निबन्धात्मक गरी छवटा उपभेद गर्न सकिने ठाउँ छ । यद्यपि अहले आएर नियात्रा साहित्य झन झ्याँगिएको छ । यसको परिभाषा, आकार–प्रकार, विषयविस्तार, परिधि बढेको छ । अब त हिमालयात्रा, समुद्री यात्रा, अन्तरिक्ष यात्रा आदि पनि यात्रा साहित्यिको परिधिमा रहेको छन् ।

४. नियात्रा– निबन्ध कि अन्य विधा ?

नियात्रालाई विधा खुट्याउने क्रममा दुईवटा मत देखा पर्छन्– पहिलो मतमा यो निबन्ध विधाअन्तर्गत पर्दछ । अर्को मतमा यसलाई स्वतन्त्र विधाका रूपमा मानिन्छ । नियात्रा शब्दको नि उपसर्गलाई निबन्ध माने पनि निजात्मकता माने पनि केही अध्येताहरूले यसलाई निबन्ध विधाभित्र नराखी अन्य विधाका रूपमा उभ्याएका छन् । अघिल्लो मतका केही पक्षधरमा बालकृष्ण पोखरेल, डा लक्ष्मणप्रसाद गौतम, राजेन्द्र सुवेदी, बालकृष्ण पोखरेल, तारानाथ शर्मा आदि हुन् । डा. बासुदेव त्रिपाठीका अनुसार स्वयम् आफ्नै अनुभवमा आत्मकथा, दैनिकी, संस्मरण र यात्रावृतान्त आधारित हुन्छन् र यी विधामा केन्द्रविन्दु स्वयम् नै हुन्छ । यति हुँदाहुँदै पनि आत्मकथा र दैनिकी मूलतः स्वयम्मा केन्द्रित रहन्छन् भने संस्मरण र यात्रावृतान्त चाँहि विन्दुमा आफु रहँदारहँदै पनि वर्णय विषयका मूलमा अर्कै व्यक्ति वा वस्तु तथा विषयलाई अँगाल्दै आत्मपरकताबाट प्रशस्त फैलिई वस्तुपरकतातिर जान सक्छ । उनका अनुसार अन्यविधाको यात्रासाहित्य आख्यानात्मकतामा पर्दछ । डा. घनश्याम नेपालले नियात्रालाई एक स्वतन्त्र उपविधाका रूपमा मानेका छन् । यस्तै गरी निर्मोही व्यासले पनि यसलाई एक स्वतन्त्र विधा वा नव अन्यविधाका रूपमा लिएका छन् । निबन्धचाँहि यात्रासाहित्यको पूर्वज विधा हो । निर्मोही व्यासका विचारअनुसारको निबन्ध र यात्रा साहित्यका बिच मुख्य भिन्नता यसरी देखाउन सकिन्छ–

निबन्ध --------------------------------- नियात्रा

१. मूलतः स्थितिशील लेखन ---------- पूर्णतः गतिशील लेखन

२. संस्मरणतत्व अनुभूतिका रूपमा मात्र ----- संस्मरण तत्व अनिवार्य रूपमा

३. आत्मपरक हुँदाहुँदै परकेन्द्री लेखन--------स्वकेन्द्री लेखन

४. स्वच्छता, कल्पनाप्रवणता, चिन्तनगतता -------- स्थानीयता, तथ्यात्मकता, विवरणात्मकता, गतिशीलता,

निजात्मकता, चित्रात्मकता ।

५. वैचारिकताको प्राधान्य -------------- विवरणात्मकता, सूचनात्मकता ।

समग्रमा नियात्राका लक्षण, विशेषता र स्वरूपलाई यसरी केलाउन सकिन्छ–

१. नियात्रामा यात्रावृतान्तका स्मृतिबिम्बहरूको प्रयोग र त्यस्ता स्मृतिबिम्बहरूलाई कल्पनाको रङ्गले रङ्गाइएको हुन्छ ।

२. नियात्रामा लेखकीय स्वको आत्मप्रकटीकरण हुन्छ र यसमा वैयक्तिकताको समेत प्रशस्त उपयोग हुन्छ ।

३. वर्णनको मनोहारिता, रोचकता र कुतूहलता हुन्छ ।

४. यो प्रथम पुरूष दृष्टिबिन्दूमा नै लेखिन्छ ।

५. यसमा कोरा वृतान्त वा वर्णनात्मकता हुनुहुँदैन ।

६. सूचनात्मकता, निजात्मकता र चिन्तनशीलता हुन्छ ।

७. नियात्रामा लेखकले उसको गद्यमा काव्यिकता ल्याउनु पर्छ ।

८. लेखकले यात्रा वर्णन गर्दा आफुलाई कवि, दार्शनिक, अन्वेषक आदिको रूपमा समाहार गर्नुपर्छ ।

भ्रमण साहित्य भन्दैमा जम्मै नियात्रा हुँदैनन् । नियात्रामा आत्मीयता, हार्दिकता, रागात्मकता, कल्पनाप्रवणता, चित्रात्मकता र रमणीयता आदि गुणको अनिवार्य रूपमा समन्वित हुनुपर्छ । अतः नियात्रा यात्राकालीन दैनिक टिपोट र संस्मरणको रागात्मक लेखन हो । यसमा स्थानविशेषको सामाजिक, सांस्कृतिक, रीतिरिवाज, इतिहास, भूगोल, प्राकृतिक सौन्दर्य, स्थानीय इतिवृत्त आदि झल्काइएको हुन्छ । भ्रमण गरिएको ठाउँको सामान्य विवरण भए यात्रानिबन्ध, यात्राविवरण, यात्रावृतान्त हुन्छ भने यात्रावर्णनमा लेखकले आफ्ना अनुभव र अनुभूतिलाई कलात्मक ढङ्गले प्रस्तुत गरेमा त्यो नियात्रा कहलाउँछ । अर्थात् विशिष्ट किसिमको भए मात्र नियात्रा हुन्छ । लेखकले सोझो तरिकाले कहिले हिँडियो, एक्लै कि अरू कसैसँग डुलियो, केमा चडेर गइयो, कहाँ बसियो, के खाइयो, कहिले फर्किइयो आदिजस्ता कुरा मात्र वर्णन गरियो भने नियात्रा हुँदैन । विषयवस्तुका साथसाथै भावना पनि हुनुपर्छ । नियात्रा पढ्दा पाठक पनि बनोस् घुमक्कड र अभिन्न मित्र अनि लेखकसँग हिँडिरहोस् यात्राको आनन्द लिँदै र साथमा ज्ञान बटुल्दै ।

यस यात्रा संस्मरणसित सम्बन्धित अन्य शब्दहरू पनि प्रयुक्त छन् । तीर्थाटन, देशाटन, पर्यटन, भ्रमण आदि पनि प्रयुक्त छन् । कोही तीर्थको उद्देश्य लिएर घुंम्ने तीर्थाटन, कोही सामान्य रूपमा देश–विदेश भ्रमण गर्नु देशाटन हुन्छ । पर्यटन भनेको कुनै एउटा ठाउँको कुनै आकर्षणले देश–विदेशका मानिसहरू घुम्ने काम गर्नु हो । विद्यार्थीहरूको कुनै सर्वेक्षण र अन्वेषणात्मक उद्देश्य लिएर घुम्ने गरेको पनि देखिन्छ । यस्तोमा शैक्षिक भ्रमण हुन्छ । पैदलै हिँडेर कुनै दुरी तय गर्नु पदयात्रा हो । कुनै राजनयिक व्यक्तिले विदेशतिर गएर अन्य देशका राजनयिक व्यक्तिहरूसित सम्पर्क गर्ने उद्देश्य लिएको छ भने कुटनैतिक यात्रा आदि पनि प्रयुक्त हुन्छन् । कोही मानिस आफ्नो शौकका रूपमा मात्र पनि यात्रा गर्छन् । यसर्थ, धार्मिक यात्रा, स्वदेश यात्रा, विदेश यात्रा, कुटनैतिक यात्रा, तीर्थ यात्रा आदिसित सम्बन्धित सबै खाले लेखन यात्रा संस्मरण हुन् ।

नियात्राकार जय छाङ्छा नियात्रा साहित्यको नालीबेली केलाउँदै पुस्तक नै तयारी पारेका छन्– ‘नियात्रा विधा ः परिचय ।’ यसमा नियात्रा साहित्यको सैदेधान्तिक परिचय, तत्वहरू, वर्गीकरण, नेपाली नियात्राको आरम्भ र विकास, नेपाली नियात्राको कालविभाजन, लेखन शैली र तिनको वर्गीकरण आदि विषयमा प्रकाश पारेका छन् । यसमा छाङ्छाले नियात्रालाई एउटा स्वतन्त्र विधाका रूपमा उभ्याएका छन् । उनका अनुसार नियात्रा विधाका विशेषताहरू निम्नानुसार रहेका छन्– नियात्राकार स्वयम् नायक, नियात्राकारको सक्रिय भूमिकाको अनिवार्यता, कल्पनाशीलता, व्यक्तिपरक सिर्जना, चित्रात्मकता, आत्मानुभूतिको प्रस्तुति, सत्यता र विश्वसनीयताको सिर्जना, प्रत्यक्ष एवम् वास्तविक सिर्जना, संवेदनशील शिक्षित वर्गले सहज किसिमले सिर्जना गर्न सक्ने, स्वदेशको भन्दा विदेश जाँदाको नियात्रा सिर्जना मोह, गद्य पद्यलगायत सबै विधामा सृजना हुने, भौतिक उन्नति प्रगति, रहनसहन वातावरण तथा जीनजीवन बारेमा केन्द्रित भएर सिर्जना हुने, पत्र–पत्रिका, साहित्यिक पत्रिका आदिमा प्रकाशनका निम्ति उपयुक्त ठहरिने ।

यस्तै गरी नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित डा. गीता त्रिपाठीको नेपाली नियात्रा सिद्धान्त र प्रयोग भन्ने पुस्तकमा पनि नियात्रालाई बारेमा व्यापक चर्चा गरिएको छ । यसमा पनि नियात्राको परिचय, नियात्रा सिद्धान्त, नेपाली नियात्राको ऐतिहासिक क्रमविकास, नेपाली नियात्राका प्रवृत्तिहरूको निरूपण जस्ता विषयवस्तुहरूमा चर्चा गरिएको छ । यसमा डा. गीता त्रिपाठीले पनि नियात्रालाई एक स्वतन्त्र विधाका रूपमा दर्याएकी छन् । यद्यपि उनका अनुसार गद्य शैलीमा लेखिने आत्मपरक निबन्धभित्रकै यात्रामा आधारित अनुभूति र दृष्टिकोणसहितको विचारको प्रवाह नै नियात्रा हो । तथापि नियात्रा अब निबन्धदेखि कतिपय मौलिक तत्त्वका कारण अघि बढिसकेको छ र यो अब मौलिक र स्ततञ्त्र विधा दह्रिसकेको कुरा उल्लेख गरेकी छन्। नियात्राका प्राथमिक तत्वहरू र द्वितीयक तत्त्वहरू भनेर मूल दुईवटा वर्गीकरण गरेकी छन् । प्राथमिक तत्वभित्र गतिशीलता, तथ्यपरकता, स्थानीयता, समयाङ्कन राखेकी छन् । यस्तैगरी द्वितीय तत्त्वहरू निजात्मकता, कल्पनाशीलता, विषयकेन्दितता, स्वच्छन्दता, आतमीयता, संस्करणात्मकता, चिन्तनशीलता, स्वदेशप्रेम र तुलनात्मकता गरी सातवटा तत्वहरू उल्लेख गरेकी छन् ।

दार्जिलिङका अध्येता डा. गोकुल सिन्हाले यात्रा साहित्यलाई नियात्रा शब्द स्वीकारिहाल्नु साहित्योचित कुरा मान्दैनन् । उनका अनुसार यात्रा साहित्यलाई नियात्रालाई भन्नु बालकृष्ण पोखरेलको लहड़ हो । अर्थ, अभिप्राय र उपपत्तिलाई नहेरी सबैले अन्धाधुन्द पछ्याउँदा विद्यार्थीवर्ग सकसमा पर्छन् । यात्रा निजात्मक नै हुन्छ । यसकारण यात्रा शब्दका अघि नि उपसर्ग लगाइबस्नु पर्दैन ।

५.नियात्राका तत्व

यात्रासंस्मरण लेखनअन्तर्गत नियात्रालाई एउटा उपविधाका रूपमा लिँदा यसका केही तत्व केलाउन सकिन्छ । यसका केही तत्वहरूमा –

५.१. यात्राकारको स्वयम् उपस्थिति– यसमा यात्राकार स्वयम् उपस्थितिबिना नियात्रा लेखनको कुनै औचित्य हुँदैन । यात्रा गर्ने एकजना र वर्णन गर्ने अर्को भएमा त्यो नियात्रा बन्नसक्दैन ।

५.२. यात्राकारको निजात्मक अनुभूति– यसमा यात्राकारको निजात्मक अनुभूतिको लेखन हुन्छ । यात्राकारको मनस्थितिमा उपस्थित भएका बिम्ब, प्रतीक आदि यात्राका क्रममा टिपिएका कतिपय टिपोटहरू समुचित व्यवस्थापव गरी निजात्मक भावपरक रूपले लेखिएको रचना नियात्रा हो ।

५.३. यात्राको परवर्ती प्रस्तुति– नियात्रामा नियात्राकारले यात्रा गरिसकेपछिको प्रस्तुति हुन्छ । त्यसैले यसमा यात्राको स्मृतितत्व प्रधान रूपले उपस्थित हुन्छ । यद्यपि कसैले यात्राकै क्रममा टिपोट लेखिसकेका हुन्छन् ।

५.४. चित्रात्मकता– नियात्रामा पाठकले यात्राकार सँगसँगै यात्रा गरेको अनुभूति गर्दछ । कुनै स्थान अथवा नियात्राकारले कुनै कोहीको वर्णन गर्दा पाठकका आँखामा त्यसको चित्र उपस्थित भएमा नियात्राकार सफल भएको मानिन्छ ।

५.५. रोचकता– लेखन रोचक बनाउन नियात्राकारले कतै आख्यान, कतै हास्यको सहायता लिन सक्छ । यस किसिमको प्रयोगले नियात्रा रोचक बन्न सक्छ ।

५.६. गतिशीलता– यस्तो साहित्यमा सोझै मुख्य कुरालाई लिएर लेखक अघि बढेको हुन्छ । यात्राका क्रममा एकपछि एक साक्षात्कृत हुँदै जाने स्थान, दृश्य, समाज, संस्कृति, जनजीवन एवं घटना प्रसङ्गप्रति यात्रीको कौतूहल यात्राको गतिसँगै क्रमिक रूपमा अघि बढ्दै जान्छ र यात्राअवधिभरि त्यो क्रम जारी रहन्छ र यात्राको अन्त्यसँगै त्यसको अन्त्य हुन्छ ।

५.७. तथ्यात्मकता– यात्रा गरिएका ठाउँहरूमा पाइने विविध विषयगत तथ्य र जानकारीहरूको औचित्यपूर्ण उल्लेख पनि यात्रासाहित्यका निम्ति अपरिहार्य हुन्छ । यसको प्रस्तुति सामान्य तथ्य वर्णनका रूपमा नभएर रोचक र साहित्यिक मूल्यवत्ता हुनुपर्छ ।

६.कृष्ण बजगाईं– नेपाली साहित्यका एक सच्चा सेवक

नेपाली साहित्यमा अब कृष्ण बजगाईंलाई चिनाइरहन पर्दैन । उनी एक नियात्राकार, कथाकार र कवि र सम्पादक हुन् । सोह्र वर्षदेखि सञ्चालन भइरहेको अनलाइन वेबपत्रिका समकालीन साहित्यका कुशल सम्पादक हुन् । उनको सबैभन्दा प्रिय लेखन विधा भने नियात्रा देखिन्छ । उनी आफैं पनि संसार घुमन्ते हुन् भने आफूले घुमेका ठाउँको विवरण गर्दै एउटा नियात्राकृति प्रकाशित भएको पाउँछौं । हालसम्म उनका नियात्राकृतिहरू ‘युरेशियाको स्पर्श’, ‘भाया साक्रा’, ‘दाइबुचु’ र हालमा प्रकाशित ‘उमिहोतारु’ गरी चारवटा प्रकाशित छन ्। नियात्राबाहेक उनका ‘कमरेड भाउजू’ (कथासङ्ग्रह), ‘हिउँको तन्ना’, ‘कुमारी रात’ र ‘मौन प्रणय’ (हाइकुकवितासङ्ग्रह), ‘यन्त्रवत्’, रोडम्याप ‘कवच’ र ‘संवैधानिक पत्नी’(लघुकथासङ्ग्रह), ‘आगो ओकल्ने पहाड़’ (बालकथासङ्ग्रह) गरी चौधवटा पुस्तककार कृतिहरू नेपाली साहित्यलाई दिइसकेका छन् । कृष्ण बजगाईं युरोप अमेरिका जापान जहाँ गए पनि त्यहाँ विशुद्ध नेपाली मन, भाषा, साहित्य, संस्कृति, परम्परा सबै लिएर गएका हुन्छन् । नयाँ नयाँ ठाउँ गएका कुरालाई नेपाली पाठकलाई पस्किदिन्छन्, उनको देश र देशवासीको मायालाई आफ्नो नियात्रा लेखनमा अभिव्यक्त गर्छन् ।

७. प्रसङ्ग– ‘उमिहोतारु’को प्रकाशन

कृष्ण बजगाईंको चौथो नियात्राकृतिका रूपमा प्रकाशित उमिहोतारु (सं.२०७९) अहिले पाठकका सामु आएको छ । यो कृति पढिसक्दा यस्तो लाग्छ कि म किताब मात्रै पढ्दै छुइनँ तर आफैं अमेरिका बेलायत र जापानका विभिन्न स्थलहरूमा घुम्दै छु अनि त्यहाँको जानकारी लिँदै छु । अहिलेको भर्चुवल वल्र्डको क्यामेराबाट संसारका विभिन्न स्थानको अवलोकन गर्दाको जस्तै रोमाञ्चक अनुभूति भएको लाग्यो । यो कृति पढ्दा लेखकभित्र साहित्यिक रसले टम्म भरिएको पाएको छु । उनी साहित्यकारका घर, समाधि र सङ्ग्राहालय खोजी गर्न संसार घुम्न सक्छन् । यसमा रहेका जम्मा एक्काइसवटा नियात्राहरूमा साँच्चिकै त्यही ठाउँ आफै गएर हेरेको जस्तो लाग्यो । यसमा रहेका लेखहरूका शीर्षक नै पाठकका निम्ति आकर्षक छन् । यहाँ रहेका एक्काइसवटा शीर्षकले नै त्यस पाठभित्रको मुख्य कुरालाई समातेको पाइन्छ ।


बतासे सहरमा बादलको गेट, क्यामब्रिजमा निर्वस्त्र सुन्दरी, क्यान्टरबरी टेल्स र क्याथड्रेल, योनि म्युजियममा चिहाउँदा, ग्रिनविचको काल्पनिक रेखामा पाइला, कुकुरको चिहानमा चार थोपा आँसु, प्रजातन्त्रको जन्मस्थलमा म्याग्ना कार्टा खोज्दा, बिटल्स र यायावर, लन्डनमा शरणीर्थी फ्रायड, डी एच लरेन्स र व्यु ट्रेल, बेलायती गाउँमा कुपर, रोमबाट किट्सलाई पछ्याउँदै लन्डनसम्म, मिल्टन कटेजमा गणतन्त्रवादी कवि, भर्जिनिया उल्फको मंक हाउस, वर्डस्वर्थको जन्मस्थलमा रोमान्टिक मन, जापानमा चारदिने साहित्यिक म्याराथुन, सेन्सोजी मन्दिरमा किमानो गर्ल, उपन्यासकार नात्चुमे र जापानी बिरालो, पहाड़को टुप्पोदेखि समुद्रमुनिसम्म, टोकियोमा सपनाको यात्रा, यासुकुनी जिन्जामा आत्माको बास ।

उमिहोतारूमा नियात्रामा हुनुपर्ने सबै गुण र विशेषता पाइन्छ । यसमा तथ्यपरकता, स्थानीयता, निजात्मकता, कल्पनाशीलता, विषयकेन्द्रितता, स्वचच्छन्दता, आत्मानुभूतिको प्रस्तुति, सत्यता र विश्वसनीयता, संस्मरणात्मकता, चिन्तनशीलता, स्वदेश प्रेम र तुलनात्मकता, चित्रात्मकता, लेखकीय इमानदारिता, संवेदनशीलता, विवरणात्मकता, प्रत्यक्षदर्शी र वास्तविक सिर्जना आदि जस्ता विशेषता र गुण पाइन्छन् । जय छाङछाले उल्लेख गरेको सिर्जना प्रवृत्तिका आधारमा गरिएको नियात्राका वर्गीकरणमा साहित्यिक नियात्रा, धार्मिक नियात्रा, साहसिक नियात्रा, अनुसन्धानात्मक नियात्रा, वर्णनात्मक नियात्रा, संस्मरणात्मक नियात्रा, पत्रात्मक नियात्रा, दैनिकी नियात्रा, काव्यात्मक नियात्रा, निबन्धात्मक नियात्रा र आख्यानात्मक नियात्रा गरी एघारवटा खुट्याएका छन् । यीमध्ये पत्रात्मक नियात्रा, काव्यात्मक नियात्रा, दैनिकीय नियात्राबाहेक अरू जम्मै किसिमका नियात्रा लेखन यस उमिहोतारूमा पाइन्छन् । यसभित्रका प्रत्येक निबन्धले विभिन्न विशेषता बोकेको छन् ।

बजगाईंको उमिहोतारूका जम्मै एक्काइसवटै नियात्राहरुमा साहित्यिक रस पाइनाले पाठकका निम्ति रूचिकर बनेका छन् । यसमा निस्तो यात्रा वर्णन मात्र नभएर लेखकीय आवेग, संवेग र संवेदना मिसाइ रसमय तुल्येको पाइन्छ । यसमा लेखको वैयक्तिक संवेदनासित प्रत्येक ठाउँको र वस्तुको वर्णन गरेको हुँदा पाठकका निम्ति साहित्यिक रस तप्किएको पाइन्छ । यसमा लेखकीय इमानदारीसँग प्रस्तुत गरेका छन् । यात्रा गर्दा आफुले पाएको दुःख, पीडा, कठिन परिस्थिति, कमजोर अवस्थालाई समेत नलुकाई पाठकसामु प्रकाश पारेका छन् । यसमा डा.गीता त्रिपाठीले उल्लेख गरेका गतिशीलता, तथ्यात्मकता, स्थानीयता, आत्मीयता, कल्पनाशील्ता, आत्मपरकता, चित्रात्मकता, देशप्रेम आदि जस्ता जम्मै गुण उपलब्ध छन् ।

८.उमिहोतारूको विषयवस्तुगत वर्गीकरण

कृष्ण बजगाईंको उमिहोतारू नियात्रासङ्ग्रह बहुविषय र वहुअनुभवको कृति हो । यसमा पाठकले युरोप अमेरिका, जापानको सामाजिक, आर्थिक, राजनैतिक, साहित्यिक, ऐतिहासिक, भौगोलिक विषयहरूमा धेरथोर जानकारी हासिल गर्न सक्छन् । यसमा बेलायत अमेरिका र जापानका विभिन्न यसमा रहेका विषयवस्तुहरूलाई स्थूलरूपमा पाँचवटा वर्गीकरण गर्न सकिन्छ– १. भौगोलिक स्थलगत जानकारी, २. ऐतिहासिक स्थलगत जानकारी, ३. साहित्यिक स्थलगत जानकारी, ४. आत्मानुभूति, ५. मातृभूमि प्रेम ।

८.१. भौगोलिक स्थलगत जानकारी

यसमा सिकागो, म्याडिसन, क्यामब्रिज, लण्डन र थेम्स नदीका विशेष पर्यटकीय स्थलको भ्रमणको रोमाञ्चक विवरण पाइन्छ । अमेरिका, बेलायत र जापानका साना र ठुला ठाउँका स्थलहरूको भौगोलिक चित्रण गरिएको छ । सिकागो र मेडिसन सहरको ठण्ड़ा, लण्डनको गर्मी, जापानका विभिन्न ठाउँका भौगोलिक परिवेशलाई यथाशक्य प्रस्तुत गरिएको छ । म्याग्ना कार्टामा सम्झौता गरेको स्थलको स्थलगत सूक्ष्म निरीक्षण, थेम्स नदीको छेउछाउ, उत्तरी बेलायतको उत्तरी भेकको वर्णन पाइन्छ । अमेरिका बेलायत र जापानका समुद्र, ठण्डा प्रदेश, पहाड, नदी, तलाव, शहर, शहर बाहिरको गाउँ आदि भौगोलिक स्थलको वर्णन गरिएको छ । बतासे सहरमा बादलको गेट भन्ने नियात्रामा उनी सिकागोको सिर्यस टावरको टुप्पाबाट अस्सी किमिमिटरसम्मको वरिपरिको दृष्यावलोकन गर्दछन् । त्यहाँबाट आँखाले भ्याउनजेलसम्म सिकागो शहर, मिचिगन ताल र त्यसमाथि हेलिपक्टर उडरको देख्छन्, माथिबाटा मान्छेलाई कमिलासरह देख्छन् । फेरि बादलको गेट भन्ने पार्क जान्छन् । त्यहाँबाट भ्रमित आकाश र आकाशका बादल देख्छन् । विज्ञानले चरम विकासको नमूना देख्छन्, आफ्नै हास्यास्पद छायाँ देखेर दङ्ग पर्छन् । त्यही ठाउँमा सन्तोष लामिछानेको कथासङ्ग्रह ‘अल्टिमेट आकास’को विधिवत् लोकार्पण पनि गर्छन् । ग्रिनविच पुगेर त्यहाँ भुइँमा ओछ्याइएको एउटा धातुको पातोलाई काल्पनिक रेखाको सीमारेखा बनेको कुरा उल्लेख गरेका छन् । जापान जाँदा डाँड़ाको चुचुरादेखि समुद्री यात्राको पनि वर्णन गर्दछन् । विकासका उदाहरणका रूपमा मानवनिर्मित टापु र त्यस टापुको बिसौनी, अमेरिकामा भ्रमवश् उब्जेको आकाश र बादल, सिकागोमा चल्ने बतास, म्याडिसन शहरको कठ्याँग्रिने जाडो आदिलाई लेखकले परिदर्शन गराएका छन् । बेलायतको उत्तर पश्चिममा अवस्थित लेक डिस्ट्रिकको प्राकृतिक सौन्दर्य, ताल तलैया, हरियालील मनै लोभ्याउँने वर्णन गर्दछन् । त्यहाँको जलयात्रा, त्यसबाट उब्जेको मनको तरङ्ग आदि रोचक वर्णन उनको नियात्रामा पाइन्छ ।

८.२. ऐतिहासिक स्थलगत जानकारी

यस पुस्तकमा अमेरिका र बेलायतको इतिहास निकै केलाइएको छ । बेलायतको म्याग्ना कार्टाको जन्मस्थल, वर्डस्वर्थ, किट्स, सिग्मण्ड फ्रायड आदिको इतिहास केलाइको छ । फ्रायडको जीवनी केलाउँदा उक्त समयको ऐतिहासिक घटना, सामाजिक चेतनालाई केलाइएको छ । म्याग्ना कार्टाको सम्झौता थलोको अवलोकन गरेर त्यससँग सम्बन्धित तथ्यहरु प्रस्तुत गरेका छन् । कहिले, किन कसरी र को कसका बिचमा म्याग्ना कार्टाको सम्झौता भयो त्यसबारे संक्षेपमा भए पनि पाठकलाई अवगत गराएका छन् । क्यामब्रिज शहर र यस नामको विश्वविद्यालय सम्बन्धित कतिपय ऐतिहासिक तथ्यलाई उल्लेख गरिएको पनि पाइन्छ । इङ्ग्लायण्डको राजनैतिक सचेतता, जनचेतना आजभन्दा प्रायः आठसय वर्ष पुरानो रहेको थियो । अहिले नेपाली जनतामा जतिको राजनैतिक चेतना उति बेलै पाइन्थ्यो, त्यो बेलायतमा करीब आठ सय वर्ष अघि नै रहेको थियो भन्ने तथ्यहरू पेश गरेका छन् । इङ्ग्लायण्डमा राजप्रणाली राख्ने वा नराख्ने, अथवा राखे पनि कुन हैसियतमा राख्ने भन्ने कुरा उहिले नै मान्छेले तय गरिसकेका थिए ।

८.३. साहित्यिक स्थलगत जानकारी

यस पुस्तकमा साहित्यिक स्थल, कवि, उपन्यासकारहरूको घर संग्रहालय आदिको परिदर्शन गरिएको छ । कविले के कस्तो वस्तु प्रयोग गर्दथे, घर कस्तो थियो, उनको स्वभाव, जीवनशैली, संक्षिप्त जीवनी आदि बारे धेरथोर प्रकाश पारिएको छ । बिटल्स बन्धुहरू, डि एच लरेन्स, भर्जिनया उल्फ, सिग्मण्ड फ्रायड, किट्स, चउसर, भर्जिनिया उल्फ, जोन मिल्टन, कुपर, वर्ड्सवर्थ जापानी उपन्यासकार नात्चुमे आदि साहित्यिक सर्जकका बारेमा धेरथोर प्रकाश पारिएको छ । यसबाहेक जापानमा आयोजित हाइकु कविता विश्व सम्मेलनमा हाइकु र कार्यपत्र प्रस्तुतिको कार्यक्रमको रूपरेखा, आदिलाई देखाइको छ । नियात्रामा कविहरूका घर, परिवार, उनीहरूले प्रयोग गरेका सामान, डायरी, पुस्तक आदिलाई पनि उल्लेख गरेका छन् । लेखकका निम्ति कवि लेखकहरू नै समाजका अमूल्य निधि हुन्, चेतनाका चिराग हुन्, देशका धरोहर हुन् । क्यान्टरबरीको सन्त थोमस क्याथड्रलको कलात्मक निर्माण, त्यसको निर्माणको इतिहास बेलायतको राजनैतिक इतिहास आदि रोचक बनेका छन् ।

८.४. आत्मानुभूति

प्रस्तुत पुस्तकमा नियात्राकारसित पाठक पनि सँगसँगै भ्रमण गरिरहेको भान हुन्छ । यसमा लेखक कहाँ गयो, के खायो, के भन्यो भन्ने निस्तो वर्णन नभएर लेखकको आत्मानुभूति, संवेदना अनुभवलाई पाठकसामु पस्किएको छ । लेखकको अनुभव र अनुभूतिलाई नै यहाँ मुख्य गरी प्रस्तुत गरिएको छ । यात्रा गर्दाका सुख–दुःख, लक्ष्य पूरा हुँदाको आनन्द र पूरा नहुँदाका विस्मात, संवेदनशीलतालाई राम्रासँग प्रस्तुत गरिएको छ । संवादका ठट्टा, परिहासदेखि लिएर लेखकीय ग्लानि, विक्षोभ, सन्तुष्टि–असन्तुष्टि, प्राप्ति अप्राप्ति आदि पनि पाठकलाई प्रस्तुत गरिएको पाईन्छ । यात्राका क्रममा देखिएका, भेटिएका जानेका कुराले मनमा परेको प्रभावलाई पाठकसामु राखेका छन् । जाडाले कठ्याङ्ग्रिएको, भोकले सताएको, कसैको निधनमा शोक, आदि संवेदनशील पक्षलाई देखिएको छ । क्याम्ब्रिज शहरमा युवक युवतीले सर्वाङ्ग नाङ्गो भएर विरोध प्रदर्शन गर्दा उनीहरूको नग्नतामा लेखकलाई कुनै यौन उत्तेजना, कामुकताको भावना नजागेर बरू श्रद्धाको भाव उब्जिएको उल्लेख गरेका छन् । ती विरोध प्रदर्शनकारीहरू नग्न भएर संसारप्रति चिन्ता लिँदै गरिएको विरोध गरेका हुन् । बढ्दो औद्योगिकरण, अन्धाधुन्ध, जङ्गल फँडानी, कार्वोनडाइ अक्साईडको बढ्दो उत्सर्जन, विष्फोट आदि देखेर ती प्रदर्शनकारीहरू विरोधको पराकाष्टको रूपमा नग्न हुन पनि हिच्किचाएका छैनन् । योनि म्युजियम जाँदा अश्लीलता होइन, नारी स्वस्थ्यप्रतिको सचेतताको भावना जगाइदिएका छन् । लेखकको अनुभव र अनुभूतिलाई जस्ताको तस्तै उतार्ने प्रयास गरिएको छ ।

८.५.मातृभूमि प्रेम

यसमा रहेका प्रायः जम्मै लेखमा नेपालप्रेम झल्किएको पाइन्छ । विदेशको भौगोलिक सामाजिक आर्थिक राजनैतिकलगायत हरेक प्रसङ्गमा नेपाल जोडेका छन् । यो उनीभित्रको नेपालप्रतिको राष्ट्रप्रेम झल्किएको हो भन्न सकिन्छ । नेपालको भौगोलिक स्थिति अत्यन्तै सौन्दर्यमय छ । नेपालको इतिहास पनि महत्त्वपूर्ण छ । नेपालभित्र नै पर्यटनका ठाउँहरू प्रशस्त मात्रामा पाइन्छन् । ती ती स्थानलाई सुव्यवस्थित रूपमा पर्यटकका निम्ति राखिदिए देशले धेरै आयस्रोत हासिल गर्न सक्नेथियो । नेपालका कवि–लेखकहरूका घरलाई पनि ऐतिहासिक धरोहरका रूपमा राख्न सके नेपालमा पनि साहित्यिक पर्यटन विकास गर्न सकिन्थ्यो । नेपालको राजनैतिक व्यवस्था राम्रो भए यहाँका धेरै स्थानलाई पर्यटन केन्द्र बनाउन सकिने थियो । नेपालको भौगोलिक स्थिति वरदानसिद्ध रहेको छ । नेपालका नदी नाला, हिमाल पर्वत, हिमनदी, फुलबारी, प्राकृतिक संसाधन, खनिज पदार्थ, जङ्गल, पशु सम्पदा, भौतिक सम्पदा, मधेसको अन्न उर्वरता आदि जस्ता कुराले भरिएको ठाउँ नेपालको महत्व बुझेका छन् । लेखकको मनमा नेपालले भरिएको छ । उनलाई अरू देसमा जतिसुकै सुख सुविधा भए पनि आफ्नै देश महान लाग्छ । विदेशमा रहेका नयाँ कुरा देख्नेबित्तिकै नेपालमा पनि यस्तो भए कति राम्रो हुन्थ्यो भन्ने भावना व्यक्त गरेका छन् । नेपालका कुरीति, कुप्रथा, कुराजनिती हटाएर स्वच्छ बनाउन सके स्वर्ग बन्न सक्ने थियो, ती विकसित युरोपेली देशहरू जस्तै विकसित सुसभ्य बन्ने थियो भन्ने भावनाले लेखकलाई घच्घच्याएको छ । नेपालमा नेताहरूको कुशासन, दुर्नीति, भ्रष्टाचार, नातावाद कृपावाद देखेर लेखक आक्रोशित बन्दछन्, विक्षोभ व्यक्त गर्दछन् । नेपालको राजनिती बिग्रिएकाले सुन फलाम भएको जस्तो छ। बेलायतको ग्रीनवीचको विकास देखेर आफ्नो देशले कहिले यस्तो विकास गर्ला भन्न् करा व्यक्त गरेका छन्।

९. अन्य विशेषता

कृष्ण बजगाइंको यस उमिहोतारूमा पाठकका निम्ति केही अन्य रोचक तथ्यहरू पनि प्रस्तुत गरिएको पाइन्छ ।

९.१. शीर्षक योजना

कृष्ण बजगाइंले यसमा रहेका एक्काइवटै लेखहरूको आकर्षक ढङ्गमा शीर्षक योजना गरेका छन् । ग्रन्थको नाम नै उमिहोतारू राखिएको छ । यो जापानी शब्दको नेपाली अर्थ हो समुद्री जुनकिरी । जापानको समुद्रमा मानवनिर्मित एउटा टापुमा राती पनि झिलिमिल बिजुली बल्दा टाडाबाट हेर्दा जुनकिरी झैं लाग्ने हुनाले यस टापुको नाम नै उमिहोतारू रहेको तथ्य जान्न पाइन्छ ।

यसमा रहेका नियात्रा लेखहरूका शीर्षक यस्ता छन्– बतासे सहरमा बादलको गेट, क्यामब्रिजमा निर्वन्त्र सुन्दरी, क्यान्टरबरी टेल्स र क्याथड्रेल, योनि म्युजियममा चिहाउँदा, ग्रिनविचको काल्पनिक रेखामा पाइला, कुकुरको चिहानमा चार थोपा आँसु, प्रजातन्त्रको जन्मस्थलमा म्याग्ना कार्टा खोज्दा, बिटल्स र यायावर, लन्डनमा शरणार्थी फ्रायड, डि एच लरेन्स र ब्लु ट्रेल, बेलायती गाउँमा कुपर, रोमबाट किट्सलाई पछ्याउँदै लन्डनसम्म, मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि, भर्जिनिया उल्फको मङ्क हाउस, वर्डस्वर्थको जन्मस्थलमा रोमान्टिक मन, जापानमा चारदिने साहित्यिक म्याराथुन, सेन्सोजी मन्दिरमा किमोनो गर्ल, उपन्यासकार नात्चुमे र जापानी बिरालो, पहाडको टुप्पोदेखि समुद्रमुनिसम्म, टोकियोमा सपनाको यात्रा, यासुकुनी जिन्जामा आत्माको वास । यी शीर्षकहरूले नै पाठकलाई पढुँ पढुँ बनाएको हुन्छ । लेखको विषयवस्तुको सार नै ती शीर्षकहरूमा निहीत छन् ।

९.२. रोचकता

‘कुकुरको चिहानमा चार थोपा आँसु’ भन्ने नियात्रामा लन्डनस्थित वक्ताहरूको कुनोमा वक्ताहरू नभएको अवसरमा त्यसपरको हाइडपार्कको छेउमा अवस्थित भिक्टोरिया गेटभित्र रहेको कुकुरहरूको चिहानको वर्णन पाठककलाई झस्काउँछ । यसमा मान्छे र कुकुरको आत्मिक सम्बन्ध, कुकुरको विश्वास र स्वामिभक्ति जस्तो कुरालाई बडो संवेदनशील ढङ्गमा प्रस्तुत गरेका छन् । अस्थिपञ्जरको पनि टाउको काटेर सजाय दिएको, खप्परको पनि चोरी भएको आदि जस्ता अनेक प्रसङ्गलाई प्रस्तुत गरेका छन् । जापानमा कालो अण्डा खान नपाएको खल्लोपन, योनि म्यजियममा योनिसम्बन्धि खुल्ला चर्चा र नारीहरूमा स्वस्थ्य सचेतनता प्रसङ्ग केलाइको छ ।

१०.भाषा र शैली

कृष्ण बजगाईंको यस कृतिको भाषालाई हामी सरल सहज र सुललित भाषा मान्न सक्छौं । सिर्जनाभित्रको लेखनगत सरलता, सरलतामा नै रोचक वर्णन क्षमता देखिएको छ । चलनचल्तीका शब्दावलीको प्रयोग गरेर पनि उत्कृष्ट साहत्य सिर्जना गर्न सकिन्छ भन्ने एउटा प्रमाण पनि पाइन्छ । यसमा पाठकका स्वादअनुसारका धार्मिक यात्रा (तीर्थयात्रा होइन), कतै साहसिक यात्रा, कतै साहित्यिक यात्रा जस्ता लाग्छन् । यसमा संस्मरण, वर्णन, काव्यात्मकता, कतै निबन्धात्मकता, आख्यानात्मकता, कतै दैनिकी, कतै संवादात्मकता आदि जस्ता प्रवृत्ति पाइन्छ ।

लेखहरूको परस्पर शृङ्खला जोडेर हेर यसमा घटनाक्रम पनि पाइन्छ । जापानको सेन्सोजी मन्दिर, याकुकुनी जिन्जामा आत्माको बासमा पनि निप्पोनजान म्योहोजी जापानी बुद्धधर्मको लचिलो सम्प्रदाय जस्ता नियात्रालाई धार्मिक यात्रा मान्न सकिन्छ । जापानमा चारदिने साहित्यक म्याराथुन भन्ने लेखमा वर्ड हाइकु एसोसिएसनको टोक्योमा आयोजित दसौं सम्मेलनमा सहभागी हुन जाँदाको चारदिने टोक्यो यात्राको वर्णनले पाठकलाई समेत हाइकुबारे धेरै जानकारी दिन्छ । हाइकु भनेको के कस्तो कविता हो, यसमा गूढार्थ के हुन्छ, नेपाली साहित्यमा हाइकुको के स्थिति छ आदि भन्ने बारे धेरथोर जानकारी पाइन्छ ।

उमिहोतारूलाई नियात्रा बनाउने तत्व नै यसभित्र रहेको रोचक शैली हो । स्थलगत वर्णन गर्दै जाँदा त्यसलाई रागात्मक अनुभूति घोलेर पाठकलाई पस्किएको पाइन्छ । ‘चिसोले गम्ल्याङङ अँगालो हालिरहेकै छ । मन्द बतासले साउँती मारिरहकै छ । मेरो आँखाले नापिरहेछ शहरको नक्सा ।’ विषयवस्तु व्यापकताले पनि पाठकलाई रोचक र रसिलो बनाएको पाइन्छ । यसमा बिट्ल्सको साङ्गीतिक चर्चा, केही साहित्यिकारको साहित्यिक चर्चा, केही इतिहासका चर्चा, कतै मानव चेतना, विवेक र मानसिकताको चर्चा आदिले पनि साहित्यिक कृति तुल्याइएको छ।

११.उमिहोतारूको परिप्रेक्ष्यमा कृष्ण बजगाइँको नियात्रा लेखनको मूल्याङ्कन र उपसंहार

‘कायेन वाचेन मनसान्द्रियर्वा’ सबै कुराले साहित्यलाई जीवन समर्पण गर्ने कृष्ण बजगाईंले अरू विधा लेखे पनि मूल रूपमा उनी नियात्राकार हुन् । हालसम्म उनको चारवटा नियात्रा पुस्तक नेपाली पाठकलाई प्रदान गरिसकेका छन् । उनको पछिल्लो उमिहोतारू नियात्रा नेपाली पाठकका निम्ति एउटा अमूल्य ग्रन्थ बन्नपुगेको छ । नियात्राका मानदण्डअनुसारका तत्वका आधारमा यस कृतिलाई अध्ययन गर्दा प्रायः जम्मै कुराले सजिएको पाइन्छ । यसमा रहेका विषयवस्तुहरूलाई स्थूलरूपमा पाँचवटा वर्गीकरण गर्न सकिन्छ– भौगोलिक स्थलगत जानकारी, ऐतिहासिक स्थलगत जानकारी, साहित्यिक स्थलगत जानकारी, आत्मानुभूति, मातृभूमि प्रेम । उनले आफूले गरेको यात्रालाई सदुपयोग गरेर यसरी रोचक ढङ्गमा एउटा रसिलो साहित्यिक कृति सिर्जना गर्नु नेपाली साहित्यका निम्ति ठूलै उपलब्धि हो ।

सन्दर्भ सूचीहरुः

१. बृहद् नेपाली शब्दकोश, काठमाडौं, नेप्रप्र, २०६८

२. बालकृष्ण पोखरेल, यी नियात्राबारे, बेलायततिर बरालिँदा, तानासर्मा,(भूमिका), पृष्ठ ख, घ )

३. निर्मोही व्यास, नियात्रा–साहित्यको सैद्धान्तिक परिचय, वैजयन्ती, अङ्क ७, वर्ष १, २०६७, असार–साउन, पृष्ठ ७२)

४. ओमी शर्मा, नियात्रासाहित्य– यात्रावृतान्त र यात्रासंस्मरण, वैजयन्ती, वर्ष १ अङ्क ६), पृष्ठ ६९, ७०

५. निर्मोही व्यास, यात्रा साहित्यको विधागत स्वरूप र विशेषता, रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड), काठमाडौं, रत्न पुस्तक भण्डार, २०६८, पृष्ठ ४१२, ४१३

६. बासुदेव त्रिपाठी, साहित्य–सिद्धान्त, शोध तथा सृजनविधि, काठमाडौं, पाठ्य सामग्री पसल, २०६६, पृष्ठ २०३)

७. डा घनश्याम नेपाल, नेपाली साहित्यिको परिचात्मक इतिहास, सिलगडीः एकता बुक हाउस प्रा लि.२००९, पृष्ठ २६०

८. जयनारायण लुइँटेल, निबन्धनिकुञ्ज, गुवाहाटी, अनुराग प्रकाशन, २०११, पृष्ठ ३५

९. प्रमोद प्रधान, नेपाली निबन्धको इतिहास, काठमाडौं, रत्न पुस्तक भण्डार,२०६६, पृष्ठ २१७, २१८

१०.जय छाङछा, नियात्रा विधा परिचय, काठमाडौं, रत्न पुस्तक भण्डार, २०७७, पृष्ठ १४

११. गीता त्रिपाठी, नेपाली नियात्रा सिद्धन्त र प्रयोग, काठमाण्डौं नेप्रप्र, २०७३, पृष्ठ ४४, ४६.

१२. डा. गोकुल सिन्हा, नियात्राको पदयात्रा, साहित्य तृष्णा– यात्रा साहित्य विशेषाङ्क, २०२१, पृष्ठ ४६


कालिम्पोङ, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।