18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कथाकार गायत्री अधिकारीको ‘निर्णय’ कथासङ्ग्रहमा नारीचेत

कृति/समीक्षा रमेश प्रभात May 6, 2023, 5:56 am
रमेश प्रभात
रमेश प्रभात

गायत्री अधिकारीको सामान्य चिनारी
गणतन्त्रपछि चितवनलाई नेपालको वैकल्पिक राजधानी भनेर निकै चर्चा गरियो । यसले यहाँको जग्गाको भाउ ह्वात्तै बढायो । त्यसपछि यसलाई पोल्ट्री जोन, मेडिकल सिटी, शिक्षाको सहर आदि नामले पनि सुशोभित गरियो । यसका आ–आफ्नै गुण–अवगुणहरु होलान् । तर यतिबेला चितवन नेपाली साहित्यमा निकै सशक्त बनेर आएको छ । अझ त्यसमा पनि चितवनका नारी स्रष्टाको उपस्थिति यतिबेला उत्साहबर्धक बनेको छ । यही पङ्क्तिमा थपिएको एउटा नाम हो – गायत्री अधिकारी ।
नेपाली साहित्यमा वि.सं. २०६० को दशकमा कविताका माध्यमबाट प्रवेश गरेकी गायत्री अधिकारी फाट्टफुट्ट रुपमा गजल पनि लेख्छिन् । उनी कविताको बाटो हिँडेर बिस्तारै आख्यानमा देखा परेकी हुन् । कोभिडको महामारीले धेरैलाई विक्षिप्त बनायो भने उनलाई कथाकारका रुपमा चिनायो । उनको पहिलो कृति बनेर ‘निर्णय’ कथासङ्ग्रह (२०७७) पाठकका सामु आएको हो ।

‘निर्णय’ कथाको छोटो चर्चा
कथाकार गायत्री अधिकारीको ‘निर्णय’ कथासङ्ग्रह (२०७७) तेइस वटा छोटा कथाहरुको सञ्चयन हो । यसमा सङ्गृहीत कथाले घटीमा चार पृष्ठदेखि बढीमा बीस पृष्ठको आयाम ओगटेका छन् । यसमा समाविष्ट ‘माफ’ र ‘रोजाइ’ शीर्षकका कथाहरु जम्मा चार पृष्ठका छन् भने ‘अधुरो प्रेम’ शीर्षकको कथा बीस पृष्ठको आयाममा फैलिएको छ । यसभित्र रचनाखण्डले जम्मा १९५ पृष्ठ ओगटेको छ । यसरी हेर्दा एउटा कथाले सालाखाला साँढे आठ पृष्ठ ओगटेको पुष्टि हुन्छ । यसो हुनु भनेको यी कथाको आयाम छोटो हुनु हो, जुन पाठकमैत्री देखिन्छ ।
यसभित्र समाविष्ट कथा नेपाली जनजीवनसँग सम्बन्धित छन् । समाजमा हुने मानवीय सम्बन्ध, प्रेम, विवाह, विछोड, सम्बन्धविच्छेद, खिचातानी, बुढ्यौली, जीवन बाँच्न गरिने सङ्घर्ष लगायत वैदेशिक रोजगारी कारण परिवारमा परेको सकारात्मक तथा नकारात्मक प्रभावको चित्रणमै यी कथाहरु घुमेका छन् । भूकम्प, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिका अतिरिक्त कोभिडजस्तो मानव निर्मित भवावह घटनामा पनि केही कथा बुनिएका छन् । यसर्थ ‘निर्णय’ समकालीन नेपाली समाजको प्रतिबिम्ब बनेर आएको छ ।

नेपाली साहित्यमा नारीचेतको प्रयोग
नारीवाद एउटा दार्शनिक चेत हो, जुन पश्चिमी साहित्यको देन हो । यसले नारीलाई केन्द्रमा राखेर रचनाको मूल्याङ्कन गर्छ । नारीचेत नारीवादको एउटा उपकरण हो । त्यति हुँदाहुँदै पनि नारीले नारी भएका कारण गर्ने अनुभव नारीचेत हो । यसलाई नारीवादसँग नजोडीकन पनि हेर्न सकिन्छ । यस्तो नारीचेत पुरुषले अनुमानका भरमा लेख्ने गर्छन् ।
नेपाली साहित्यमा यतिबेला पुरुषकै हाराहारीमा नारी लेखकहरु क्रियाशील छन् । उनीहरुका रचनामा नारीले भोग्नुपरेका पीडाका अतिरिक्त नारी भएका कारण गरिने अनुभूतिहरु सशक्त रुपमा आएका छन् । अझ त्यस्तो नारीचेत कवितामा भन्दा पनि आख्यानमा बढी मुखरित भएको पाइन्छ । छोरा र छोरीलाई गरिने विभेद, छोरी र बुहारीलाई गरिने अन्तर, नारी भएका कारण समाजमा भोग्नुपरेका यातना, नारीलाई हेर्ने समाजको दृष्टिकोण आदिमा नारीले भोग्ने भोगाइमा नारीचेत बढी पाइन्छ । यस्ता विभेद र यातनाबाट मुक्त हुन गर्ने भनेको विद्रोह नै हो । यस्तो चित्रण समकालीन नेपाली साहित्यमा गरिएको पाइन्छ ।

‘निर्णय’ कथामा नारीचेतको खोजी
नेपालमा विभिन्न समयमा धेरै खालका राजनैतिक परिवर्तनहरु भएका छन् । देश राजतन्त्रबाट लोकतन्त्र हुँदै गणतन्त्रमा पुगिसकेको छ तर पनि यहाँका अधिकांश नारीहरुको अवस्था उस्तै छ । रातको समयमा नारीले एक्लै हिँड्न सक्ने स्थिति बनेको छैन । नारीलाई अझै पनि पुरुषले भोग्याकै रुपमा हेर्ने गरेको छ । आफ्नी प्रेमिकालाई अरु केटासँग बोल्दा रिस गर्ने पुरुषहरु अझै छन् यो समाजमा । हेरौँ कथाभित्र एउटा नमुना ः
“उहाँ को हुनुहुन्छ ?” उनीसँगै उभिएको केटातिर सङ्केत गरेर मैले भनेँ ।
“साथी ।”
उनले भन्न नभ्याउँदै– “तपाईं को ?” उसले प्रतिप्रश्न ग¥यो मलाई ।
“किन र ? म नयाँ साथी ।” त्यत्तिकै भनिदिएँ र उनीतिर हेरेर मुस्कुराएँ ।
यो वाक्य किन रहस्यमय लाग्यो उसलाई थाहा छैन मलाई । केटीतिर फर्केर मौन रुपमा रिसाएर भन्यो– “फोन आयो घरबाट तिमी नयाँ साथीसँग कुरा गर ल, बाइ कृष्टि ।”
ऊ पछाडि नफर्की बाइक भएको ठाउँमा पुग्यो । (सौन्दर्य, पृ. ११)

आफू शिक्षित भएर पनि आफ्नो लोग्नेले गरेको शङ्कालाई दूर गर्न नसकेका कारण चिन्तामा परेकी म पात्रको पीडा भने पुरातन खालको छ । लोग्नेको मनमा भएको शङ्का हटाउन नसक्दा जिन्दगीभर पिल्सिएर बसेको अवस्था यो कथामा देखिन्छ । एउटा सन्दर्भ हेराँै ः
हामी विवाहित जोडी चाइनामा एउटै घरको फरक अपार्टमेन्टमा बिजोडी भएर बस्नु पर्दाको मानसिक तनाव ९९ डिग्रीमा पुग्यो । समिरको हिसाब लगाउन सकिनँ । समिर किन अलग रहन चाहन्छ ? (सम्बन्ध, पृ. १९५)

विवाह गरेर एक महिना मात्र साथमा बसी अमेरिका उडेको लोग्नेले उतै घरबार गरेपछि दिक्क भएकी अनिषाले परिवारको सम्पत्तिलाई मात्र नहेरी आफ्नो भविष्य हेर्छे र अर्को विवाह गर्छे । नयाँ पतिसँग विदेश जान लागेको समयमा पुरानो पति आएर अधिकार जमाउन थालेपछि उसले यसरी मुखभरिको जवाफ फर्काउँछे ः
धेरै वर्ष अर्कै केटीसँग बसेर आए पनि अनिषामाथि हकदाबी गरेको शैलीमा पवनले सोध्यो– “अनिषा के हो यो ? कहाँ जान लागेको, म आएको छु ।”
अनिषासँग अब कुुनै डर बाँकी थिएन । मान्छेले घोर अन्याय सामना गरेपछि चट्टानजस्तो बन्दो रहेछ । निडरतापूर्वक शिर ठाडो पारेर अनिषाले भनी, “यो यही हो जुन तिम्ले प्रस्ट देख्दै छौ, विनय र मेरो विवाह भैसक्यो र भोलिको टिकट छ विदेश जानलाई तिमी आउनुको अर्थ रहेन ।” (निर्णय, पृ. ३९)

विवाह गरेर दुई सन्तान जन्माएपछि लोग्ने विदेश लागेको र त्यसपछि घरमा दुःख गरेर बसेकी श्रीमतीले अर्कैसँग सम्बन्ध बढाएको थाहा पाएपछि नेपालभित्र एक्लै बसेको लोग्नेले अनेकौँ हण्डर र ठक्कर खाएपछि साँझको समयमा घर फर्कन्छ । यसपछि श्रीमतीले पनि लोग्नेलाई माफी दिन्छे । यसरी सहमतिमा जीवन चलेको कुरा पनि कथामा यसरी आएको छ ः
“म प्रदीप हो, ढोका खोल न ।” भनेपछि पनि जमुना अझै ढोका खोल्न डराएर अन्कनाइन् । आफ्नै लोग्नेको आवाज पनि चिन्नै नसकिने थियो । जमुनाले बिस्तारै आग्लो झिकिन् र चुकुल खोलेर ढोका उघार्दा प्रदीपको यति दयनीय शरीर र अनुहार थियो कि उनलाई चिन्नै मुस्किल थियो । गालाहरु तिखारिएको र सिकुटिएको शरीर देख्दा विदेश जानु भन्दा पहिलाको माया रसाएर आयो छातीभरि । (सचेत, पृ. ५९)

विवाहको प्रपञ्च रचेर डम्बरेले सोनीलाई भारत पु¥याएर बेच्ने सपना देख्यो । उसलाई मेची भन्सारमा पु¥याएपछि डम्बरेले सिकाएको कुरा डराई डराई भनेकाले प्रहरीले केरकार गरेपछि डम्बरे उम्कन सकेन । यसपछि अदालतमा मुद्दा चल्यो । मुद्दा सोनीले जिती । त्यसपछि उसले कानुनव्यवसायीसँग यस्तो प्रश्न गर्छे ः
अन्तमा सोनीले ज्योतिलाई भनी– “दिदी म तपाईंहरुप्रति आभारी छु तर कस्तो अचम्म लाग्छ, आजसम्म मैले एउटा कुरा बुझ्न सकेको छैन ।”
“के हो त्यस्तो कुरा भन न ।”
“कानुनले मान्छेलाई तह लगाउँछ कि मान्छेले कानुनलाई ?” ज्योतिसँग त्यसको उत्तर थिएन । (कानुन, पृ. १३२)

यसरी ‘निर्णय’का कथामा नारीले भोगेका भोगाइहरु प्रशस्त पाइन्छन् । यी कथालाई नारीवादको चस्माले हेर्दा अपूर्ण लाग्छन् । यसका अधिकांश कथा सम्झौतामा पुगेर टुङ्गिएका छन् । वास्तवमा जीवनलाई सहज रुपमा चलाउनका लागि कुनै रुपमा सम्झौता आवश्यक छ । चाहे पुरुष होस्, चाहे महिलाले सम्झौता नगरी जीवन सहज बन्दैन । बालकृष्ण समले भनेजस्तै आगोले चिसिने र पानीले तातिने गरी एक आपसमा नमिली जीवन चल्दैन भन्ने जीवन दर्शन यो कृतिमा पाइन्छ ।

समापनका केही शब्द
मान्छे स्वभावैले बोलक्कड प्राणी हो । आफूले देखे–भोगेका कुरा अरुलाई सुनाउन पाउँदा आनन्दको अनुभव गर्छ मान्छे । यही आनन्दको विस्तार नै आख्यान लेखन हो । नेपाली आख्यानमा पाइला चाल्दै गरेकी गायत्री अधिकारी कथाकथन शैली सामान्य छ । आफूले अनुभूत गरेका कुरालाई उनी सहज पाराले लेख्छिन् । पहिलो कृति भएकाले उनको स्पष्ट शैली बनिसकेको देखिन्न । कतै उनी निबन्धजस्तो व्याख्या गर्छिन् भने कतै बढी परिवेश चित्रणमा अल्मलिएकी देखिन्छिन् । उनको अर्को कृतिमा यस्ता दोषहरु हट्ने छन् । छिट्टै अर्को कृति पढ्न पाइयोस् भन्दै उनलाई सफलताको मुरी मुरी शुभकामना छ मेरो ।

अध्यक्ष, अक्षर समूह चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।