1. विषयप्रवेश-
असममा पनि नेपाली कविताको फाँट विस्तार भएको छ। कविता विभिन्न उपविधा झाँगिएका छन्। अव कविताका उपभेदहरूमा मुक्तक, हाइकु, सिजो, ताङ्का, सेनर्यु, सेन्यू, सेदोका, रूबाइ, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बस, टुक्का कविता, छोक, कुट पद्य, शायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, केस्रा, खिचडी, युग्मक, आगो, शीत, तियाली र पञ्चाङ आदि रहेका छन्। यसमा व्यक्तिगत रूपमा प्रयोग शुरू भएर अरूले अनुशरण गरेका हुन्, कुनै भने प्रयोक्तामा नै सीमित छन्। कुनै स्वदेशी कुनै विदेशी साहित्यबाट सिर्जना गरिएका हुन्। असमीय साहित्यको परिवेश पाएको नेपाली कविताले पनि त्यसकै समानान्तर हुन पाएको देखिन्छ। असम, मणिपुर, मेघालय, नागाल्याण्ड, मिजोराम आदि राज्यका विभिन्न प्रान्तबाट नेपाली कविताको स्वर सुन्न पाइन्छ। ती स्थानहरूबाट गुञ्जिएर उठेका कविताका स्वरहरूको कोरसले गति पाएको छ। आफ्नो आफ्नो स्थानिक समस्या वैयक्तिक र परिवेशगत अनुभूति, मौलिक भाव र शैली आदिका कविता सिर्जना भएका छन्। असमका विभिन्न प्रान्तहरूबाट कविहरू सक्रिय छन्। यो सङ्ख्या बढ्दो छ।
असम लगायत अन्य पूर्वाञ्चलमा पनि नेपाली कविता लेखनमा सक्रिय देखिन्छन्। यद्यपि यसमा प्राय असमेली कविता लेखनको मात्र चर्चा गरिएको छ। असमेली कवितामा असमकै सामाजिक, सांस्कृतिक, भौगोलिक, राजनैतिक परिवेशअनुसार कविता सिर्जना गरिएको पाइन्छ। यताबाट नेपाल कविता लेखलनले सय वर्षभन्दा बढीको समय र परम्परा रहिआएको छ। यहाँको कविताले विभिन्न मोड-उपमोड पार गरिसकेको छ। यस परम्परामा मणिराज शाहीदेखि शुरू भएर आजका कविहरूसम्म लामो परम्परा, प्रवृत्ति, स्वर आदि पार गरिसकेको पाइन्छ। यस क्रममा हरिनारायण उपाध्याय, पद्मप्रसाद ढुङ्गाना, जगन्नाथ गुरागाइँ, हरिप्रसाद गोर्खा राई हुँदै हरिभक्त कटुवाल, हरि गजुरेल, नव सापकोटा, भविलाल लामिछाने, जयन्तकृष्ण शर्मा, होमबहादुर छेत्री, खडकराज गिरी, खडगबहादुर कौशिक, मोहन सुवेदी, गोमा शर्मा, नरबहादुर छेत्री, ओमप्रकाश बस्नेत, इन्दुप्रभा देवी, धर्मेन्द्र उपाध्याय, दक्षिणा गजुरेल, टेकनारायण उपाध्याय, श्याम लिवाङ, रूद्र बराल, पुजा उपाध्याय आदिसम्म आइपुग्दा असमेली नेपाली कविता उत्तरोत्तर विकसित हुँदै आएको पाइन्छ। अझै अनय नयाँ पुस्ताका कविहरू कविता लेखनमा सक्रिय छन्। त्यहाँको कविताले पनि नदीझैं गति पाएको छ।
२.असमीय नेपाली कविता
असममा अहिले पनि छन्दोबद्ध कविता लेख्नेहरूको उपस्थिति थोरै भए पनि नपाइने होइन्। विद्यापति दाहाल, छविलाल उपाध्याय र खेमराज नेपालले एकनिष्ठ भई छन्दोबद्ध कविता, खण्डकाव्य र महाकाव्य लेखिरहेका छन्। छविलाल उपाध्यायले छन्दोबद्ध कवितालाई एकनिष्ठ समर्पित भएर अघि बढाइरहेका छन्। २००० देखि यता मात्र पनि उनका छवि कवितासङ्ग्रह, कवि र कविता, कल्पनामाधुरी, काव्यसेतु, जस्ता चार कवितासङ्ग्रह अनि देवकोटा र उषा अनिरूद्ध जस्ता महाकाव्यहरू र लौहित्य जस्ता खण्डकाव्य प्रकाशित भएका छन्। खेमराज नेपालको पनि सृष्टि महाकाव्य र मेरो देश- हिजो आज र भोलि जस्ता खण्डकाव्य प्रकाशित भएको पाइन्छ। सागर सापकोटाका कवितामा पनि पद्य-लयामकता पाइन्छ। यी कविहरूका छन्दोबद्ध कवितामा पनि सम्प्रेषण क्षमता, अभिव्यक्ति कौशल, गेयात्मकता आदि सबै कुरामा अघि नै छन्। रेवतीमोहन तिम्सिनाको पनि शबरी नामक महाकाव्य प्रकाशित भएको पाइन्छ।
असमेली नेपाली कविहरूले गजल, मुक्तक, लिमेरिक, हाइकु शैलीका विविध कविता पनि देखा परेका छन्। गजल लेखनमा गोविन्द शाण्डिल्य, रूद्र ढुङ्गेल, भविलाल लामिछाने आदि गजल लेखनमा सक्रिय छन्। इन्दुप्रभा देवी, बलराम उपाध्याय आदिका लिमेरिक कविताहरू प्रकाशित देखिन्छन्। सन् २००० देखि यता असम र पूर्वाञ्चलबाट धेरै कविहरू कविता लेखनमा सक्रिय छन्। अनुप शर्मा, खडानन्द शर्मा र अन्य सहयोगी मित्रहरूले असम मुक्तक समाज खोलेका छन्। यसको माध्यमबाट नवपुस्ताका कविहरूबाट अनेकौं मुक्तकहरू प्रकाशित हुनथालेका छन्। भीम धमाला, बलराम उपाध्याय, वसुन्धरा शर्मा, महिम आचार्य, खडानन्द शर्मा, गिरीधारी उपाध्याय, जसोदा छेत्री, युवराज बास्कोटा, कृश्णलाल शर्मा, मल्लीनाथ उपाध्याय, श्याम, देवीचरण सेढाइँ, प्रकाश कुइँकेल, जयन्त आचार्य, मानस धिताल, होमादेवी, घनश्याम सुवेदी, चित्र पौडेल, निर्मला ढुङ्गाना, जसोदा छेत्री, सेवन्त पोखरेल, लालबहादुर छेत्री, प्रितम आचार्य, रोहिणी तिम्सिना, आदि अहिले सक्रिय छन्।
बलराम उपाध्याय, बसुन्धरा देवी, नेत्रप्रसाद अधिकारी, गोविन्द शाण्डिल्य, इन्दुप्रभा देवी, डम्बर दाहाल आदिका मुक्तक-सङ्ग्रह प्रकाशित देखिन्छन्। मणिपुरका आलोक गौतम, मुक्ति गौतम, खत्री कुमार, भवानी अधिकारी, सीतादेवी छेत्री, बसन्ती पौडेल, सीताराम अधिकारी, राहुल राई बोगिको, घनश्याम कोइराला, सृष्टि पौड्याल, आदि कविता लेखनमा लागेका देखिन्छन्। मिजोरामकी लक्ष्मी मिनु पनि कविता लेखनमा सक्रिय देखिन्छिन। गत वर्षको राष्ट्रिय कोरोनाकालीन लकडाउनका समयमा असमका विभिन्न प्रान्त प्रान्तबाट नेपाली कविहरूको सङ्ख्या ह्वात्तै बढेको छ। विभिन्न ठाउँमा कविहरूको महत्त्वपूर्ण उपस्थिति देखिन थालेको छ। नारी कविहरूको सङख्या पनि बढेको छ। अहिले सक्रिय नारी कविहरूमा इन्दुप्रभादेवी, पुजा उपाध्याय (असमर्थ सहर), पूजा आचार्य, नैना अधिकारी (घातप्रतिघातका उद्गारहरू), नीलिमा आचार्य, अनुपमा कट्टेल (शब्दहरू मेरा घाम हुन्), जमुना दाहाल, दक्षिणादेवी गजुरेल (म बोल्दिनँ कलम बोल्छ), जयन्तीकला देवी (कोसेली), कुञ्जदेवी उपाध्याय (पैतालामा अल्झिएका सपना) आदि प्रमुख रहेका छन्। असमेली नारी कविहरूमा नारीत्व चेतना, नारी अधिकारप्रति सचेतता, विद्रोह चेतना, वर्तमानमा नारीका शोषणका विभिन्न रूप आदिबारे अभिव्यक्ति प्रकट गरिएको पाइन्छ।
युवा पुस्ताका केही सक्रिय कविहरूमा कृष्णनील कार्की, ओमप्रकाश बस्नेत, ज्योति हुमागाइँ, खिलानाथ अधिकारी, अमित अधिकारी, नरबहादुर दर्जी, अर्जुन निरौला, बुद्धि सुवेदी, प्रदीप शर्मा, रण काफ्ले, नारदप्रसाद उपाध्याय, लीलबहादुर सुनार, नरबहादुर छेत्री अहिले कविता लेखनमा सक्रिय छन्। केही पुराना पुस्ताका कविहरू पनि वर्तमानसम्म नै लेख्दैआएका छन्। त्यस्ता केही पुराना कविहरूमा नव सापकोटा, मोहन सुवेदी, भविलाल लामिछाने, डा खेमराज नेपाल आदि हुन्। उनीहरूका कवितामा पनि युगीन चेतनासँगै शिल्प-शैलीगत सचेतता देखिन्छ।
गत २०२०-२१ को राष्ट्व्यापी लकडाउनको अवधिमा दार्जिलिङ-सिक्किम र असमलगायत पूर्वाञ्चल प्रान्तमा नेपाली कविता धेरै मात्रामा प्रकाशित भए। नयाँ नयाँ हाँचका वा युवा पुस्ताका कविहरू देखा परे। नयाँ पुस्ताका नयाँ जोस, नयाँ विचार, चिन्तन, परिवेश, पद्धति, प्रस्तुति आदि देखा परे। विचारमा परिवर्तन आए, परिदृश्य बदली भए। धेरै अनलाइन कविगोष्ठी सम्पन्न भए। कविताको वाचनले पनि बढी विकास गर्न सकेको पाइन्छ। अनलाइन वाचन गरिएका कविता संसारको अर्को कुनामा पनि सहजै हेर्न सुन्न र रसास्वादन गर्न पाइयो। विभिन्न ठाउँबाट विभिन्न केन्द्रबाट हप्तामा एक पटक कतै महिनामा एक पटक आदि कार्यक्रम सञ्चालन भइरहे। दार्जिलिङ, सिलगडी, असम नेपाल, अमेरिका आदि संसारभरिबाट यस्ता नेपाली अनलाइन कार्यक्रम सम्पन्न भए। त्यहाँबाट धेरै कविहरू उदित भए, लोकप्रिय बने, परिचित बने।
रूद्र बराल एक युग सचेत, विश्व सचेत, जाति सचेत, भाव सचेत. वर्ग सचेत, राजनैतिक सचेत, सिद्धन्त सचेत, शैली सचेत. शब्द सचेत कवि हुन्। उनी आफ्नो समयमा विश्वमा भइरहेको घटना, प्रसङ्ग आदिलाई कवितामा उतार्ने गरेका छन्। विश्वमा मानिसहरूको युगानुकूल मानसिकता, सामाजिक राजनैतिक आर्थिक चेतनालाई उनका कवितामा स्वर दिइको पाइन्छ। वर्ष 2020 मा उनको ‘तेस्रो आँखो’ कवितासङ्ग्रह प्रकाशित भएको पाइन्छ। यसै वर्ष २०२२ मा उनको ‘कागजको नाउ’ कवितासङ्ग्रह प्रकाशित भएको छ। यसमा जम्मा त्रिचालीसवटा कविता सङ्ग्रृहीत छन्। प्रत्येक कविताले सन्देश बोकेका छन्, युगको सङ्केत गरेका छन्। यसमा रहेका कविताहरूमा व्यङ्ग्य, विरोधाभाष, युगीन चेतना, युगको विकराल स्थितिको चित्रण पाइन्छ। वर्तमानको शहरीकरणले गर्दा मानिसमा विकृति विभिन्न पक्षमा आएको अङ्कन गरेका छन्। स्वभाषा संसेकृति, मानवीय मूल्य र मान्यता, धर्म अनुशासन आदिको क्षयोन्मुख हुन पुगेको तथ्यलाई कवितामा देखाएका छन्। मानवीय संवेदन पक्षलाई स्वार्थले जितिसकेको
असम क्षेत्रका कविका कवितामा असमको स्थानीय रङ्ग, मानवीय संवेदना र नैतिक आध्यात्मिक चेतना परिलक्षित हुन्छ। यहाँका नेपाली कवितामा भिन्नै रस, भाव, शैली, उद्देश्य पाइन्छ। त्यहाँको बाँच्दाका राजनैतिक, सामाजिक, आर्थिक, भौगोलिक, भौतिक सुविधा असुविधाहरूसित बाँच्दाका अनुभव, अनुभूति, संवेग, व्यथा-अन्तर्व्यथालाई अभिव्यक्ति दिएका छन्। असमको विशाल ब्रह्मपुत्र नदी त्यहाँको जनजीवनका जीवनरेखासरह अभिन्न भएर रहेको छ। त्यहाँका जीवनका आजीविका, आस्था, संवेदना, संस्कृति आदिको स्रोत बनेको छ। यद्यपि ब्रह्मपुत्र त्यहाँको निम्ति वरदान र श्राप दुवै बनेको पाइन्छ। त्यस नदी बाढी आउँदा सामान्य जनजीवन तहसनहस हुन्छ। असमेली नेपाली कवितामा पनि ब्रह्मपुत्र नदी जीवन्त भएर रहेको पाइन्छ। त्यहाँका प्राय सबै कविका कवितामा ब्रहपुत्र र त्यसका शाका नदीहरूको प्रसङ्गोल्लेख पाइन्छ। त्यसै गरी त्यहाँका कवितामा स्थानीय रङ्ग, भाव, भाषा, भाका पाइन्छ।
असम र कविताका विभिन्न प्रयोग- नेपालीमा रम्बस कविताको प्रयोगको शुरूआत् गर्ने श्रेय असमका मिलन बोहोरालाई जान्छ। हाइकु, रूबाइ, लिमेरिक, आदिका परिप्रेक्ष्यमा अब रम्बस कविता पनि देखा परेको छ। मिलन बोहराले शुरू गरेको यस प्रयोगशील कविताले निरन्तर लोकप्रियता, विकास विस्तार र चर्चा पाउँदै गरेको पाइन्छ। विजय हितानको नेतृत्वमा शुरू भएको नेपाली पर्याकवितालाई गौहाटीका डा. देवेन सापकोटाको नेतृत्वमा पर्याकविताले पनि विस्तार हुन पाएको छ। अब अरूका पनि पर्याकविता लेखन वाचन र समीक्षण हुनथालेका छन्।
3.दार्जिलिङ-सिक्किम र असमका कवितहरूका बीच समानताको सूत्र-
असमका र दार्जिलिङ-सिक्किमका कविहरूका कवितामा भिन्नता र समानता दुवै पाइन्छन्। असमका कवितामा स्थानीय रङ्ग, भाव, भाषा, भाका, रूप शैली, ढप, ढङ्ग, परिवेश पाइन्छ। भाषा शैली प्रयोगमा नै मुख्य भिन्नता पाइन्छ। यहाँ कविता असमेली माटाको गन्ध पाइन्छन्। यद्यपि जातीय समस्याका प्रश्न, राजनैतिक पीडा, आर्थिक कठिनाइ, वञ्चनाको शिकार हुनुपर्दाका पीडालाई त्यहाँका कविहरूले पनि अभिव्यक्ति दिएका छन्। आफ्नो घर बनाउने, जातीय उन्मुक्तिको चाहना र जातीय समस्याहरू दुवैतर्फका कविहरूको निम्ति साझा विन्दु मान्न सकिन्छ। दुवैतिरका गोर्खाली समाजमा राजनितीको पिरो, सांस्कृतिक-भाषिक-आर्थिक अवहेलना, आफ्नो घर नहुनका पीडा, शासक जातिको उत्पीडनको शिकार, शासित हुनुपर्दा उब्जेका परिस्थिति, जातीय अस्तित्व जोगाउन गर्नुपर्ने सङ्घर्ष, स्थानीय सरकारबाट वञ्चनाको शिकार आदि जस्ता विभिन्न कुरा साझा विषयवस्तुका रूपमा रहेको छन्। यीनै कुराका आधारमा समानता पाउन सकिन्छ। भारतीय परिप्रेक्ष्यमा भने दार्जिलिङ र असमका गोर्खालीहरूको समस्या उस्तै उस्तै नै रहेको छ। राज्यको शासन व्यवस्थाबाट बञ्चनाको शिकार, विदेशीको लाञ्छना आदि साझा समस्या हुन्। यता भारतीय नेपाली कवितालाई नेतृत्त्व गर्ने केही मुख्य मुख्य कविहरूमा राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, नव सापकोटा, भविलाल लामिछाने, केवलचन्द्र लामा, नोर्ज्याङ स्याङदेन आदि हुन् भने उता असमतिरबाट पनि नेपाली कविताले अग्रणी भूमिका लिएको देखिन्छ।
भारतीय नेपाली कविता उन्नतशील मार्गमा छ। यसका आफ्नै प्राप्ति–अप्राप्ति, उपलब्धि-अनुपलब्धि, सीमा छन्। समसामयिक जटिल युग, जीवन पद्धति विश्वमा आएको वैचारिक सामाजिक परिवर्तन, राजनैतिक उतारचढाउ, विश्वग्राम अवधारणाको विकास, आर्थिक उदारीकरण आदिका करणले कवितामा पनि परिवर्तन र क्रम विस्तार विकास भइरहेको पाउँछौं। भारतीय नेपाली भाषा र साहित्यको मूल थलो दाजिलिङ र सिक्किमले नेपाली कवितालाई विकासको अग्रगतिमा लगेको छ भने असमको पनि योगदान स्तुत्य छ। २००० सालदेखि दार्जिलिङ-सिक्किमबाट अनेक कवितासङ्ग्रह प्रकाशित भएका देखिन्छ भने जम्मै स्तरीयता कायम रहेका पनि हुँदैनन्। कुनै कविका कविताहरू व्यक्तिगत प्रलाप, कवित्वको अभाव, अस्पष्ट भाव र विषयवस्तु, अपरिपक्व शैली, व्यञ्जनाभन्दा अभिधाप्रधान अर्थसापेक्ष आदि देखा पर्दछन्। भारतका अन्य विकसित साहित्यका कविताका तुलनामा हामी अझै पछि छौं।
असमको मूल असमी साहित्यसित नजिकमा रहेर पनि त्यस साहित्यको कविताको स्तर र उचाइँमा त्यहाँको नेपाली कविता पुग्न सकेको छैन। धेरैका कवितामा हुनुपर्ने व्यञ्जना शब्द शक्तिको नजिकमा अझै पुग्न सकेको त्यति देखिन्न। धेरैका कवितामा पुरानै ढप, ढाँचा, भाव, शिल्प, शैली पनि नदेखिने होइन। कवितामा प्रत्यक्ष कथनपद्धति, व्यञ्जनाभन्दा र अभिधा व्यापारको प्राधान्य पनि नपाइने होइन। कविताको गुणात्मकता नभएर मात्रात्मकता बढी देखिन्छ। कवितामा हुनुपर्ने आन्तरिक लय, बहुआर्थी वस्तु सङ्गठन, रूपगत वैशिष्ट्य, शब्दगत चमत्कारिता, संरचनागत सघनता, प्रस्तुतिगत नौलोपन आदि कुराको अभाव देखिन्छ। धेरैका कवितामा वस्तुको सामान्य अङ्कन, मनका भावको सपाट वर्णन, वैयक्तिकता, शब्द र अर्थको सामान्य तालमेल आदि जस्ता कमजोरी पक्ष पनि पाइन्छन्। यद्यपि असमेली नेपाली कवितामा सकारात्मक पक्ष पनि पाइन्छन्। आफ्नै वरिपरिको परिस्थिति, सङ्घर्षका कथा-व्यथालाई कवितात्मक अभिव्यक्ति दिएका छन्। धेरै कविका कवितामा सशक्त अभिव्यक्ति गरेका छन्।
कविता विधाका विभिन्न उपविधा, रूप र स्वरूप हुन्छन्. कविता लेखन एउटा उत्तरदायित्वपूर्ण विषय हो। यसले सौन्दर्यका परिधिभित्र रहेर समाजको दर्पणको काम पनि गर्दछ। यसका साथै समाजलाई आमूल परिवर्तनको दिशा निर्देश पनि गर्दछ। भारतीय नेपाली कविताले धेरै विकासयात्रा तय गरिसकेको छ। नयाँ नयाँ स्वरूप, आकार, सिद्धान्त र शैलीमा कविताको विकास भएको पाउँछौं। विश्वसाहित्यको समानस्तरमा नेपाली कविता पुगिसकेको छ। यता असमेली नेपाली कविता पनि समग्र भारतीय नेपाली कविता कविताकै समकक्षमा उभिन सक्छ अभवा सक्दैन भन्ने कुरामा केही मनन गर्नुपर्दछ।
कविवर छविलाल उपाध्याय एक शास्त्रीय कविका रूपमा देखिन्छन्। लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, पुष्पलाल उपाध्याय आदिका लहरमा उनको नाम पनि आउँदछ। उनी छन्दोवद्ध कविता लेखनमा एकनिष्ठ समर्पित छन्। उनी महाकाव्य, खण्डकाव्य, फुटकर कविता लेखिरहेका छन्। उनका कवितामा नैतिक, जातीय, सांस्कृतिक चेतनामा रहेका पाइन्छन्। उनका कामरूपा (खण्डकाव्य), देवकोटा (महाकाव्य), कवि र कविता (कवितासङ्ग्रह), छवि कविता सङ्ग्रह (कवितासङ्ग्रह), कल्पनामाधुरी (कवितासङ्ग्रह), काव्यसेतु, मेरो जन्मभूमि जस्ता कवितासङ्ग्रह प्रकाशित छन्। भविलाल लामिछाने पनि एक सशक्त कवि हुन्। उनका कविताहरूका आधारमा उनलाई प्रखर जातीय चिन्तक, समाज चिन्तक, काव्य चिन्तक, शैली सचेतक कवि मान्न सकिन्छ। उनका अनागत, शब्द हुन यी मेरो, हाशिए के पल (हिन्दीमा), असमाप्त पाइलाहरू, शीर्षकहीन (मुक्तकसङ्ग्रह), शीर्षकहीन, एउटा घर यस्तो, बादलपारिको देश (बालकवितासङ्ग्रह), भविलाल लामिछानेका दुईटा नज्म/केही गजल, गजल, सागरवारि सागरपारि, आकण्ठ स्वर, चराको चिरबिर भराको किरकिर (बालकवितासङ्ग्रह), जिन्दगी धेरथोर (गजलसङ्ग्रह) जस्ता कवितासङ्ग्रह/गजलसङ्ग्रह प्रकाशित छन्। गौहाटीका नव सापकोटा पनि एक वरिष्ठ र आदरका साथ नाम लिइने कविका रूपंमा परिचित छन्। उनका युक्लिप्टस आउँदो पिढीँलाई आशीर्वाद, काव्यान्तर, मदिरा होइन मेरो पसिना, मणिकुट जस्ता कवितासङ्ग्रह प्रकाशित छन्। वर्तमान पीँढीमा कवितालाई नेतृत्त्व गर्ने एक सशक्त कवि हुन् इन्दुप्रभा देवी। उनका तबेलामा घोडा, सपनाको जरो पहिलाउँदै, सय लिमारिक, तबेलामा घोडाहरू आदि उनका कवितासङ्ग्रह प्रकाशित छन्। उनी युग सचेत र शिल्प सचेत कवि हुन्। उनका कवितामा सशक्त र प्रबल भावाभिव्यक्ति पाइन्छ। सामाजिक विसङ्गति, अस्तित्त्वबोधको चेतना, जटिल स्थितिबोधका असमञ्जसता, समकालीन युगीन पीडा आदि उनका कवितामा पाइने स्वर हुन्। उनी विशेषगरी अङ्ग्रेजी लिमारिक कविताको कुशल प्रयोक्ता हुन्।
के बी नेपाली, अनिरूद्ध गौतम, खडगबहादुर कौशिक, डम्बर दाहाल, गोविन्द शान्डिल्य, मोहन सुवेदी, दैवकी देवी तिम्सिना, धर्मेन्द्र उपाध्याय, जयन्तकृष्ण शर्मा, रूद्र बराल, मिलन बोहोरा आदि सक्रिय छन्। अहिलेका नयाँ हाँचका पुजा उपाध्याय, नीलिमा आचार्य, कृष्णनील कार्की, नैना अधिकारी, ज्योति हुमागाइँ, आदि नयाँ स्वाद र स्वर लिएर कवितामा उत्रेका छन्। मिलन बोहोरा एक सशक्त कवि र रम्बस कविताका प्रणेता हुन्। उनको विताको धेरै चर्चा परिचर्चा, वाचन प्रयोग भएको पाइन्छ। यो नितान्त मौलिक कविताको प्रयोग हो। जसरी रूबाइको प्रयोक्ता खलील जिब्रान हुन्, हाइकुका बासो, त्यसै गरी रम्बस कविताका मिलन बोहोरा हुन्। थोरैमा धेरै भन्न सकिने रम्बस कविताको लोकप्रियता बढ्दो छ।
पुजा उपाध्याय वर्तमानकी एक सशक्त कवि सिद्ध भएकी छन्। कवितामा प्रगीतात्मकता, संक्षिप्तता, मितव्ययिता, शब्दशय्यागत सचेतता, संश्लिष्टता, विपर्यास प्रस्ततु, आर्थी विचलन, आर्थी समानान्तरता, विषयगत केन्द्रीयता, प्रतीक र मिथकको सन्तुलित प्रयोग, विम्ब प्रयोगको जञ्जालभन्दा सरलता, व्यङ्ग्य चेतना, विषयगत व्यापकता आदि प्रस्तुतिगत विशेषता पाइन्छन्। विकृतिमा सौन्दर्य सिर्जना, युगीन प्रतिबिम्बन, सन्देशमूलकता आदि उनको कथ्यगत विशेषता हुन्। कता कता व्यङग्य चेतना, मनोसंवाद र सम्बोधनात्मकता पनि पाइन्छन्। निलीमा आचार्य पनि एक सफल कवि हुन्। उनको परिवर्तन र अन्य कविता (2022) नामक कवितासङ्ग्रह प्रकाशित भएको पाइन्छ। यसभित्रका कविताहरूले लैङ्गिक मानसिकता, सामाजिक र राजनैतिक परिवर्तन खोजेका छन्।
कृष्णनील कार्कीका दुईवटा कवितासङ्ग्रह प्रकाशित छन्। छहारीको आडमा मनोरम सपना (कविता सङ्ग्रह, २०१४) र समयको भाग्यरेखा (कविता, गजल र मुक्तक सङ्ग्रह, २०१९) हुन्। धर्मेन्द्र उपाध्यायको 'रामसिंह ठकुरीको भायोलिन'; विगत समयमा सामाजिक विसङ्गतिहरू र निम्नवर्गका र किनारीकृतहरूका अलिखित सुस्केरालाई हृदयस्पर्शी तरिकाले कवितामा उतारेर चर्चामा आएकी युवा कवि पूजा आचार्यको 'अनुहारभित्रको अनुहार' तथा असमिया, हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा कलम चलाउने, अनुवाद गर्ने एक सक्रिय कवि कुञ्ज देवी उपाध्यायको 'पैतालामा अल्झिएका सपना' प्रकाशित पाइन्छ। गोपाल खँड्का, पूर्ण खँड्का, नरबहादुर छेत्री, नरबहादुर दर्जी, डम्बर दाहालको अतीतका पाइलाहरू, श्याम लिवाङ, पुष्पराज श्रेष्ठ, लक्ष्मण अधिकारी, वैद्यानाथ उपाध्याय, नारद उपाध्याय, अञ्जन बासकोटा, रूद्र ढुङ्गेल, बुद्धि सुवेदी, कृष्ण राउत, अर्जुन उप्रेती, इन्द्रकान्त कार्की, विमल प्रधान (वीरबहादुरको गुनासो, 2021) आदि हुन्।
असममा कविता विकासका निम्ति कविता प्रतियोगिता, कार्यशाला, गजल लेखन प्रशिक्षण आदि पनि सम्प्न भएका छन्। २०१६ मा असम नेपाली साहित्य सभाको आयोजनामा डा. देवी नेपाल र सुरेश सुवेदीको नेतृत्वमा गजल प्रशिक्षण कार्यशाला शृङ्खला पनि सम्पन्न भएको थियो। देउराली प्रकाशनले डा देबेन सापकोटाको नेतृत्वमा पर्या कविताको पनि प्रतियोगिता आयोजना गरेको थियो। कविता वाचन कार्यशालामा हामी "काव्य चौतारी" ले आयोजना गरेको थियो। कवि सापकोटाको ‘परिश्रान्त पृथ्वी’ कवितासङ्ग्रहले पर्यावरण चेतनालाई मूल विषयवस्तु बनाएर समाजमा जागरूकताको अभियानको थालनी भएको छ। उनको यस अभियानलाई अन्य कविहरूले पनि क्रमशः अघि बढाउँदै गरेको पाइन्छ। गौहाटीस्थित पाञ्जाबारीको देउराली साहित्य संस्थान र इन्रद्णी प्रकाशनले पर्यावरण कविता प्रतियोगिता आयोजना गरेका छन्। रेवतीमोहन तिमसिनाको वर्ण पिरामिड, बुद्धि सुवेदीको रेखा चित्र, आदि जस्ता कवितात्मक प्रयोग असमबाट भएको पाइन्छ।
असमेली नेपाली कविताको अध्ययन क्रममा अविनाश श्रेष्ठ, छविलाल उपाध्याय, गोपालबहादुर नेपाली, डा. खेमराज नेपाल, नव सापकोटा, ज्ञानबहादुर छेत्री, मोहन सुवेदी, रूद्र बराल, डा. इन्दुप्रभा देवी, डा. दैवकी देवी तिम्सिना, लक्ष्मण अधिकारी, गोमा अधिकारी आदिका कलम चलेका छन्। यी समीक्षकहरूले असमेली कविताका स्वर, प्रवृत्ति, शिल्प-शैली आदिको सन्धान गरी समीक्षा गरेका छन्।
अधिकांश कविहरूका कवितामा राजनैतिक चिन्तन, जातीय चिन्तन, समाज चिन्तन, देश चिन्तन र मानवीय अस्तित्व चिन्तन पाइन्छन्। वर्तमानको बढ्दो शहरीकरणबाट उब्जेका मानसिक सन्त्रास, स्वार्थअन्धता, जातीयता प्रेमप्रति ह्रास, कृतिम खाद्यान्नबाट उब्जेका मानसिक शारीरिक विकृति, शारीरिक श्रमबिनाको जीवन शैली, एकलपन आदिलाई अधिकांश कविहरूले सम्बोधन गरेका छन्।
4. समकालीन असमेली नेपाली कविताको प्राप्ति र सीमा –
असमेली नेपाली कविताबारे धेरै अध्ययन भएको पाइन्छ। विभिन्न समीक्षकहरूले आ-आफ्ना अध्ययन, अर्थ्याइ, दृष्टिकोण आदिबाट असमेली नेपाली कविताबारे आफ्नो धारणा प्रस्तुत गरेका छन्। यद्यपि सबैमध्ये प्रखर रूपमा डा इन्दुप्रभादेवीले राजनीति र समाजमा देखिएको अनैतिक र भ्रष्टारी कार्यकलापको चित्रण र नैराश्यबोध, सामाजिक विषमता र अस्थिरताले सृष्टि गरेको बिद्रोह भावको प्रकाश, समाजमा रहेका वर्गभेदप्रति र धर्मान्धताप्रति व्यङ्ग्य, गरिबी र बेरोजगारी, मार्मिक चित्रण, अस्तित्वबोध र आत्मपरिचयको खोजी र जाति सचेतता, विसङ्गताका बिचमा जीवनको अर्थानुसन्धान, ग्राम्य जीवनप्रतिको लोभ र साथसाथै गाउँबाट भएको सहरमुखी यात्राको विवरण, पारम्परिक ऐतिह्य र ईश्वरप्रति अनास्था, पुरूषतान्त्रिक समाज व्यवस्थाप्रति विद्रोह र नारी जीवनप्रति नयाँ दृष्टि, भूमण्डलीकरण र उत्तरआधुनिकतावादको प्रभाव, अन्तर्मुखी र बहिर्मुखी दृष्टिले कवितालेखन, लोककथा, लोकविश्वास र बालखेल गीतको आधारमा वर्तमान जीवनलाई हेर्ने प्रयास आदिका स्वर सन्धान गरिएको पाइन्छ। असमेली कविताको प्राप्ति पक्ष धेरै छन्। यद्यपि सीमा र कमी-कमजोरी पत्रलाई पनि आँखा चिम्लन सकिन्न। यहाँकका कविताहरूको कमजोरी पक्ष पनि अलग्गै रूपमा हेर्न सकिन्छ। जति उँचाइमा पुग्नेपर्ने थियो त्यति पुगेको लाग्दैन। अझै पनि त्यहाँका कवितामा शैली-शिल्प र प्रस्तुतिगत सचेतता जति हुनुपर्ने त्यति भएको पाइन्न। यहाँबाट प्रगतिवादी कविता लेकन पनि त्यति देखिन्न। असमेली साहित्यको परिवेशत्र पनि त्यही पर्यायका हाम्रा कविता पुगेका छन् वा छैन, त्यो अध्ययन गर्नुपर्ने देखिन्छ।
अतः नेपाली कविताको मानचित्रमा असमको महत्त्वपूर्ण स्थान रहेको छ। यहाँबाट नेपाली कविता लेखन परम्परा लामो रहेको छ। यहाँबाट धेरै कवि जन्मिए, धेरै कविता लेखिए। यहाँबाट नेपाली कवितामा दिनानुदिन प्रयोग र प्रकाशन बढ्दो छ। असमबाट कोलाज कविता, रम्बस कविता, रेखाचित्र, वर्ण पिरामिड, एलाक् आदि जस्ता कविताहरूको प्रयोग पाइन्छ। जातीय समस्या, राजनैतिक समस्या, शहरीकरणको समस्या, याञ्त्रिकताप्रति सजग, स्वार्थलिप्तता आदिजस्ता युगीन समस्यालाई असमेली कविताले समावेश गरेको पाइन्छ।