म एकदिन आदिवासीहरूको एउटा इलाकामा घुम्न गएको थिएँ । मसँग एकजना बहुभाषी आदिवासी मित्र पनि थियो । उनले मलाई त्यहाँका आदिवासीहरूका संस्कृति र अवस्था बारे जानकारी गरायो । मेरो मर्मको मान्छेलाई छुएर म विचलित बनेँ । त्यो एकदिन त्यत्तिकै बित्यो ।
कुनै अर्को एउटा दिन मनका अन्य जिज्ञासाहरूले मलाई त्यस इलाकाको मुटु छुन मन लाग्यो । घुम्दै जाँदा म एउटा यस्तो ठाउँ पुगेँ कि म डरले थरथर कामेँ पनि—दुई दलमा बाडिएका आदिवासीहरू एकअर्कालाई धनुबाट तीर प्रहार गरिरहेका थिए । मलाई रामायण, महाभारत र इतिहासमा भएका तीर-धनुष युद्धको कल्पना आयो । एउटा मन अचम्भित थियो भने अर्को मनले भने प्रश्न गरिरहेको थियो—“मानिस मानिसमाझमा पनि यो आदिमता र आधुनिकताको पार्थक्य कसरी हुन गएको ?” उनीहरूको त्यो छोटो युद्ध सकेपछि मैले त्यहाँको एउटा फुच्चे केटालाई सोध्ने मौका पाएँ—उनीहरू त रुखका पातहरूका लागि झगडेका थिएछन् ।
राति निदाउने बेलासम्म मलाई आश्चर्य लागिरह्यो—मानिसहरू अर्को ग्रहमा पुगिसके तर यी आदिवासीहरू रुखका पातले खाना पकाएर खाँदा रहेछन् । जीवनभन्दा महँगो पातले पकाएका खाना खाएर आदिवासीहरू आदिवासी भएका रहेछन् ।
बिहानै उठेर मैले पर खेतका झम्म परेका केही रुखहरूलाई हेरेँ—सरर चलिरहेको हावाले रुखका पातहरू एक-एक गर्दै झारिरहेको थियो । जस्तो त्यहाँ एउटा पात भुइँमा झर्थ्यो त्यस्तै एउटा मुटु भुइँमा फटफटाएको जस्तो भान हुन्थ्यो । अहिले पनि मलाई रुखका पातहरू झरेको देख्दा डर लाग्छ र रुखबाट पातहरू नझरेका भए हुन्थ्योजस्तो लागिरहन्छ ।
दार्जीलिङ