१. आमुख -
परिवर्तनका क्रममा नयाँ नयाँ विचारधाराहरू जन्मँदै जान्छन् पुराना विचारधारा पनि नयाँ अर्थमा परिवर्तन हुँदै आएको देखिन्छ। वर्तमान समयमा उत्तर-आधुनिकताबारे व्यापक रूपमा चर्चा-परिचर्चा भएको देखिन्छ। यसका जोडदार समर्थन अनि यसका घोर विरोधमा अनेक विद्वानहरूले आफ्नो आफ्नो मत व्यक्त गरेका छन्। औद्योगिक युगको थालनीसितै आधुनिक युगको थालनी भएको तथा सूचना प्रौद्योगिकीको विकाससँगसँगै उत्तर-आधुनिकताको विकास भएको मानिन्छ। संसारमा सूचना प्रौद्यौगिकीको क्रान्तिले वैचारिक परिवर्तन आयो। यो परिवर्तनसँगै साहित्यमा पनि नयाँ नयाँ विचारको परम्पराको विकास भयो। साहित्य अब नयाँ नयाँ रूपमा देखा पर्न थालेका छन्। अब साहित्यिक विधाहरू एकै किसिमका छैनन्। कविता, कथा, निबन्ध, उपन्यास, नाटक अब सालाखाला भई खालि पाठका रूपमा मात्र तयार बनेका छन्। पाठ र यसको निर्माणको पनि नयाँ नयाँ स्वरूप देखा परेका छन्।
उत्तरआधुनिकता कतै साहित्यिक वादका रूपमा कतै शैलीका रूपमा कतै प्रयोगका रूपमा देखिन्छ। कतिले यसलाई आधुनिकताभित्रकै उत्तर रूपमा लिन्छन् भने कतिले यसलाई आधुनिकता- भन्दा भिन्न रूपमा लिन्छन्। उत्तर र आधुनिकता गरी दुई शब्दको समासबाट बनेको यस उत्तर- आधुनिक शब्दले आधुनिक शब्दलाई पनि बोकेको छ। सामान्यतया उत्तरआधुनिक भन्नाले दुईवटा अर्थ द्योतन हुन्छ- १. आधुनिकताबाट मुक्ति र २. आधुनिकता पछिको। यस पछिल्लो अर्थले प्रधानता पाएको देखिन्छ। यसले आधुनिकताभन्दा भिन्न, त्यसभन्दा पर, त्यसको क्षमताभन्दा बाहिर इत्यादि कुरा बुझाउँछ। यस शब्दले पूर्व आधुनिकता र आधुनिकता दुवै प्रकारका अवधारणालाई चुनौती दिएको छ। यस हिसाबले उत्तरआधुनिकताले आधुनिकताभन्दा भिन्नै, अझै आद्योपान्त भएको दार्शनिक र साहित्यिक अर्थ बोध गर्छ। यद्यपि अर्को हिसाबले हेर्दा उत्तरआधुनिकता शब्दले आधुनिकताकै नयाँ विकसित स्वरूपलाई पनि इंगित गरिरहेछ। यो वास्तवमा आधुनिकताभन्दा भिन्नै नभएर आधुनिकता कै उत्तर रूप भन्ने पनि जनाउँछ। इहाब हसनका अनुसार यी दुई अलगअलग नभएर यो आधुनिकताकै निरन्तरताको कडी हो। कसैले यसलाई टेलिभिजन युग, अन्तरिक्ष युग, आणविक युग भन्न पनि चाहेका थिए तर आधुनिक कहलिएको अघिल्लो युगलाई जनाउन ती पदहरू सीमित अर्थका हुनुका साथै ती पदहरू नवीनतम भएकाले र अर्थगत संरचनामा पनि आधुनिकसँग बाँधिएकाले यस कालखण्डलाई उत्तरआधुनिक भनिएको हो। यसकारण आधुनिकता र उत्तरआधुनिकतावाद कुनै पर्खालले छुट्याइएका भिन्नाभिन्नै कोठा होइनन्। सन्धिकालमा परेका एउटै लेखकले पनि अनेक प्रयोगहरूमा बग्दै विभिन्न प्रवृत्तिहरू आत्मसात गर्दछ।
उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Post Independence, post Colonial र Post Graduate सरह Post Modernism प्रयोगमा आएको हो। अँग्रेजीको Post Independent शब्दले स्वतञ्त्रता पश्चात बुझिएसरह यस शब्दको अर्थ आधुनिकता पश्चात भन्ने नै बुझिन्छ। यस हिसाबले हेर्दा उत्तरआधुनिकता शब्दले आधुनिकतादेखि भिन्न वा यसदेखि मुक्ति बुझाउँछ। अँग्रेजीको Post Modernism शब्दको हुबहु अनूदित भएको यस नवनिर्मित शब्दको संरचना भने व्याकरणिक रूपमा त्रुटीपूर्ण देखिन्छ। यो शब्द उत्तरआधुनिक नभएर आधुनिकोत्तर सही हुन्छ। Post Graduate शब्दलाई स्नातकोत्तर प्रयोग भएसरह आधुनिकोत्तर शब्द नै उपयुक्त हुन्छ। यही उत्तरआधुनिकता शब्द नै रूढ भएर प्रयोगमा आएको देखिन्छ। यसका साथै उत्तरआधुनिकताले युग चेतना र प्रवृत्तिपरक चेतना दुवै बोध पनि हुन्छ।
ल्योतार, ज्याँ बुद्रियाँ, फ्रेडरिक जेमसन, फुको, देरिदा आदि चिन्तकहरूले उत्तरआधुनिकतामाथि निकै चर्चा परिचर्चा गरी यसलाई आधुनिकताभन्दा पर वा बेग्लैको अर्थ दिएका छन्। विधामिश्रण, विधाभन्जन, विमिथकीकरण, विपरिचितिकरणदेखि लिएर अनेक विषयवस्तुलाई उत्तरआधुनिकले समेटेको देखिन्छ। उत्तरआधुनिकताका सबैभन्दा प्रखर व्याख्याता ल्योतार्ड (ल्योतार) हुन्। उनका अनुसार ज्ञान र सूचनाहरू नै शक्तिका केन्द्र हुन्। यद्यपि ज्ञानको व्यापारीकरण पनि हुन्छ। सर्वसत्तावादी, सार्वभौम सत्य, महावृतान्त, महान कथन, मिथक आदिप्रति उत्तरआधुनिकताले अविश्वास व्यक्त गर्छ। उनका विचारका प्रमुख बुँदाहरूमा विचारधाराको अन्त, ईश्वरको अन्त, मानवको अन्त, इतिहासको अन्त, साहित्य, साहित्यकार र आलोचनाको अन्त हुन्।
उत्तरआधुनिकताबारे विभिन्न मत मतान्तर पाइन्छ। कतिले यसलाई पुञ्जीवादी अवधारणा मान्छन् भने कतिले सामान्य युगजन्य चिन्तन ठान्छन्। अबको युगमा धेरै परिवर्तन आइसकेका छन्। मानिसका रहन सहन, चिन्तन, जीवन शैली प्रायः सबैमा आमूल परिवर्तन आएको छ। पहिलेका सत्य ठानिएका कुरा अब सत्य नहुन सक्छन्। अब संसार एउटा ग्रामसरह बनेको छ र विश्वग्रामको अवधारणा अघि आइसकेको छ। पहिलो र दोस्रो विश्वयुद्धपछि संसारका मानिसहरूको मानसिक रूपमा ठुलो परिवर्तन आएको देखिन्छ। यही परिवर्तनको सिलसिलामा उत्तरआधुनिक अवधारणाले बल पाएको छ। बुँदागत रूपमा उत्तरआधुनिकतालाई यसरी बुझ्न सकिन्छ-
क) उत्तरआधुनिकतावाद व्यक्ति वा सामाजिक इकाइहरूको स्वतञ्त्रताका पक्षमा तर्क प्रस्तुत गर्दछ।
ख) यो पूर्णवादी र समग्रताको खण्डन गर्दछ।
ग) यसले महानलाई सामान्य बनाउँदछ।
घ) यसले शब्दकेन्द्रवाद नमानेर अर्थबहुलतालाई स्वीकार्दछ।
ङ) यसले एकता र एकलताको बदली अनेकलता, अनेकता र बहुलता मान्दछ।
च) यसको स्थितिमा कुनै आदर्श र ज्ञानको आधार मानवताको चेतना हुन्छ।
छ) यसले विकेन्द्रता, मुक्तता र व्यक्तिवाद स्वीकार्दछ।
ज) यसले भूमण्डलीकरण, स्थानीयता स्वीकार गर्दछ।
झ) यसले कृतिलाई विधाका रूपमा भन्दा पाठका रूपमा स्वीकार्दछ।
ञ) यसले कुनै जातिको उच्च र कुनैको निम्न संस्कृतिको खण्डन गर्दछ।
ट) यसले नयाँ नयाँ सूचना र प्रौद्योगिकीबाट प्राप्त ज्ञानलाई स्वीकार गर्दछ र व्यक्ति व्यक्तिको आन्तरिक र वैयक्तिक ज्ञानलाई समेत स्वीकार गर्दछ।
ठ) दलित साहित्य, आञ्चलिकता, नारी विमर्शका रचना आदि यसका उपलब्धि हुन्।
यद्यपि उत्तरआधुनिकता कतिपय सन्दर्भमा विरोधाभाषी छ। यसले कुनै पनि कुराको सुस्पष्टता धारणा दिँदैन बरू संशयता दिन्छ। यो एकप्रकारको स्पष्ट नभएको धमिलो (Vague) दर्शन हो। यो अवधारणा पुँजीवादी सोंचलाई सहयोग गर्ने, उनीहरूकै स्वार्थसिद्ध गर्ने कुरा हुन् भन्ने भनाइ मार्क्सवादी चिन्तकहरूको छ। हुन पनि यसबाट कुनै सिद्धान्तको निर्माण हुँदैन बरू पूर्वप्रचलित सिद्धान्तहरूलाई लथालिङ्ग पार्ने काम गर्दछ। यसले कुनै पाठलाई जे जसरी बुझ्यो, त्यही नै सही बुझाइ हो भन्ने स्वीकार गर्दछ जो स्पष्टता छैन।
२. भारतमा नेपाली कथामा उत्तरआधुनिकता -
भारतमा नेपाली कथा लेखनको इतिहास लगभग सय वर्षको छ। यसले विभिन्न चरण उपचरण पार्दै आधुनिकता, उत्तरआधुनिक र उत्तर-उत्तरआधुनिकता पार गरिरहेको छ। सामान्य पारिवारिक कथावस्तुदेखि लिएर अहिले मिश्रित कथावस्तु देखा पर्छन्। इन्द्रबहादुर राई, प्रदीप गुरूङ, उदय थुलुङ, गुप्त प्रधान, विन्द्या सुब्बा, प्रवीण राई जुमेली, कालूसिंह रनपहेंली, सञ्जय विष्ट, समशेर अली, देव भण्डारी, सञ्जीव छेत्री, सुरज धडकन, निमा निची शेर्पा, दलमान गुरूङ, युवा बराल आदिका केही कथामा उत्तर आधुनिक संचेतना पाइन्छन्। यद्यपि गम्भीर अध्ययन गरेर हेरे अझ अरू कथाकारका कथामा पनि पाइन्छन्।
केही कथाकारका कथामा उत्तर-आधुनिकता- विश्वव्यापी चलेको उत्तरआधुनिकताको लेखनको प्रभाव दार्जिलिङ-सिक्किममा पनि परेको पाइन्छ। यताका केही कथाकारका कथा यसका केही झलक र नमूना देख्न पाइन्छ। उनीहरू कसैले युगसचेत भएर यस्तो प्रवृत्तिको लेखेका हुन् कसैले आफ्न लेखनमा स्वतः यस्तो आएको पनि हुनसक्छ।
इन्द्रबहादुर राई – नेपाली कथामा उत्तरआधुनिकताको प्रवृत्तिलाई भित्र्याउने नै खासगरी इन्द्रबहादुर राई हुन्। उनको लीला लेखन सिद्धान्तलाई लिएर आधार बनाएर लेखिएका कठपुतलीको मन कथासङ्ग्रहका जम्मै कथाहरू नै उत्तरआधुनिक सिधान्तमा आधारित छन्। कठपुतलीको मन, बाघ, विश्व तिम्रा चरणमा, आँगनको घाममा लाटा, महारूदन जस्ता कथामा उत्तरआधुनिकता पाइन्छ। अझ विशेषगरी कठपुतलीको मन कथामा गुरूप्रसाद मैनालीको परालको आगो कथाको विपठन गरिएको छ। उनी आफु सचेत पाठक बनेर परालको आगो कथालाई अन्य चारवटा विपाठमा सिर्जना गरिएको छ। यस कथामा अनिश्चितता, अनिर्धार्यता, पुनरावृत्ति, अर्थ वैयक्तिकता, ज्ञानको सीमितता, वैकल्पिक अर्थ सापेक्षता आदि विशेषताहरू पाइन्छ। उनका कथामा साहित्यलाई शब्द, सङ्केत र चिन्हको खेल मात्र ठानिएको छ। घटना र पात्रलाई लीलाको रूपमा लिएर तिनीहरूका गतिविधिहरू बाँच्ने खेलनिमित्त मात्र प्रस्तुत गरेका छन्। राईले शैल्पिक ढाँचाका नयाँ रूप र स्थान (स्पेस) सबैलाई अर्थपूर्ण प्रयोग गरेका छन्।
प्रदीप गुरूङ – नयाँ ढाँचामा कथा लेख्ने प्रदीप गुरूङका केही कथाहरू पनि उत्तर आधुनिक चेतनामा रहेका छन्। नेपाली समाजभित्र आदिवासी, श्रमिक ज्यामीका अन्तर्कथालाई नयाँ शैलीमा उतारेका छन्। वर्तमानकालीन पारिवारिक विघटन र मानवमूल्यको ह्रासलाई सङ्केत गर्न बुढो र गाउट कथा, गोरूबथान र डुवर्सका भित्री गाउँमा आदिवासी र गोर्खालीको वैवाहिक र पारिवारिक सम्पर्कलाई लिएर पनि केही कथा सान्दर्भिक छन्।
प्रवीण राई जुमेली – इन्द्रबहादुर राईले जग हालेको र उनको कठपुतलीको मनको बाँच्ने खेलको कथा शिल्प सचेततालाई प्रवीण राई जुमेली अझ अघि बढाएका छन्। जुमेलीको ऋतुखेल कथासङ्ग्रहलाई नै उत्तरआधुनिक सचेतताका सन्दर्भमा अध्ययन गर्न सकिन्छ। यसमा जम्मा दसवटा कथासँगसँगै दसजना अध्येता-समीक्षकहरूको विमर्श राखिएको छ। यो नितान्त नौलो शिल्प प्रयोग हो। यसमा रहेका दसवा कथाहरू क्रमैले ‘खेलिरहन्छु खेल कति’, ‘खिल्ली’, ‘इम्मेलिया नाचको एउटा रूप’, ‘समय देशको एउटा इ-मानव’, ‘वर्जन’, ‘आ क का ती पा सि’, ‘आइकोनोमिस्ट पात्र’, ‘भ्रान्ति नाटकका सफलतापूर्वक प्रदर्शन’, ‘कला इडोस्पोपिक गाउँ’, ‘भोक अनन्त कथाको पुनःपठन’ हुन्। यी कथाहरूमाथि क्रमैले जय क्याक्टस, पेम्पा तामाङ, कविता लामा, सुधीर छेत्री, वत्सगोपाल, राजा पुनियानी, बासुदव पुलामी, उदय थुलुङ, राजेन्द्र भण्डारी र पारसमणि शमका विमर्श राखिएका छन्। आजको साइबर संस्कृतिले भित्र्याएको सामाजिक मूल्याहीनता, तथा दिनप्रतिदिन क्षीण बन्दै गइरहेको मानवीय संवेदनालाई यीकथाहरूले समेट्नुका साथै कथा लेखनक शैल्पिक पक्षमाथि जुमेली सचेत देखिन्छन्।
सञ्जय विष्ट - समसामयिक कथा लेखनमा सञ्जय विष्ट प्रखर देखिन्छन्। उनका शब्दान्त, अस्ताचलतिर, जुन जस्तै घाम आदि कथासङ्ग्रहमा उत्तरआधुनिकताका धेरै पक्ष परिलक्षित हुन्छन्। अझ विशेषगरी वर्तमान, उषादेवीलाई भेट्न गएको छैन गौरव, पुल जस्ता कथामा नयाँ शिल्प, सौंदर्य र उत्तरआधुनिकताका रहेका छन्। वर्तमान समयमा सन्तानको नशालु पदार्थ सेवनको कुलतको परिणाम, बाबु-आमालाई पर्ने मानसिक असरलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन्। चडदो उमेरमा नै ड्रग सेवन गर्ने बानी लागेर घरका बहुमूल्य चिज हराउँदै जानु, विभिन्न बहाना गरेर घरदेखि निस्केर के के खानु, ढाँट्नु, सुकेर पहेंलो हुनु, बाबुले ड्रग भन्दा बरू रम खाओस भनेर रम किनेर लगिदिनु गर्छ । सरोगेट मदर, यौन धन्धाको माध्यमबाट भए पनि आजको युगको साधन सामाग्रीको उपभोग गर्नु, जातीय आन्दोलनको आवेगबाट मान्छे राक्षस बन्दैगएको कुरा उनका कथामा पाइन्छन्। कृष्णप्रसाद नेपाली उर्फ प्रमिथस कथामा ग्रीसेली मिथकीय पात्र प्रमिथसलाई काल्पनिक पुनर्सिर्जना गरेर वर्तमान दार्जिलिङे जातीय मुक्ति आन्दोलनको ओजस्वीपूर्ण नाली युवकलाई नयाँ परिदृश्यमा अर्थ्याउन खोजेका छन्। यहाँ प्रमिथस विनिर्माण गरेर दार्जिलिङको नेपालीहरूको सामाजिक अवस्थिति र अस्तित्वको सन्दर्भ प्रस्तुत गरेका छन्। यस कथामा दुई पात्र छन् लेखक र लेखकले कथासिर्जना गर्नको बनाइएका पात्र कृष्णप्रसाद। यद्यपि दुई पात्रमा द्वन्द्वको सिर्जना गरिएको छ। आफैंले सिर्जना गरेको पात्रले लेखकलाई नै ठाडो चुनौती दिएर लेखकबाट स्वतञ्त्रता माग्छ। यस कथाको कथानकीय कार्यकारण सम्बन्ध र कार्यव्यापार छैन। यसमा लेखक र पात्रबिच नाटकीय संवाद गरिएकाले नाटक जस्त पनि बनाइएको छ भने पात्रले दार्जिलिङको सामाजिक, आर्थिक, राजनैतिक र इतिहासविषयक विचार विवेचना गरेर समालोचना जस्तो गरी विधाभञ्जन पनि गरिएको छ। अन्ट्रेन्ड ब्युटिसियनहरू र परै भाग्यमानीहरू कथामा पनि उत्तरआधुनिकता पाइन्छ। विश्वमा चलेको पुँजिवादले जन्माएको उपभोक्तावादले हाम्रो समाजमा पनि परेको प्रभाव, सुखभोगका साधन जुटाउँदा नैतिकता, अनैतिकता आदिको पर्वाह नहुनुको स्थिति देखा परेको पाइन्छ।
उदय थुलुङ - मङ्पुका उदय थुलुङका कतिपय कथामा उत्तरआधुनिकता पाइन्छ। उनको एकान्तबास कथासङ्ग्रहका केही कथामा कथाको भावभूमि प्रष्ट पार्नका निम्ति प्राक्कथनका रूपमा प्रत्येक कथाअघि नेपथ्य राखेर पराख्यानात्मक परिपाटी अपनाएका छन्। ती कथाको नेपथ्यहरूको यथार्थिक पृष्ठभूमिसित काल्पनिक कथातत्वको सम्मिश्रणतिर पनि यसले सङ्केत गरेको छ। नेपथ्य भनिएका कथात्मक बान्कीका सङ्कथनहरूले यथार्थ संसारतिर विचरण गर्छ भने कथा नै भनिएका आख्यानहरूले काल्पनिक संसारलाई इङ्गित गर्दछ। यस कथासङ्ग्रहका केही कथामा विधामिश्रण, विधाभञ्जन छ, कृतिको पुनर्लेखन र विधान्तरण गरिएको पाइन्छ। यसमा रहेको इन्सेक्ट किलर कथा पारिजातको शिरीषको फूल उपन्यासको पुनर्लेखन हो। यस उपन्यासका पात्रहरू सुयोगवीर, शिवराज सकमबरी आदिलाई यस कथामा विपठन गरेर पुनर्सिर्जन गरिएको छ।
सतीश रसाइली – कथामा नयाँ सोंच र शिल्प प्रविधि लिएर देखा पर्ने अर्का कथाकार हुन् सतीश रसाइली। उनको ऐनाको मेघ (२०११) कथासङग्रहका कतिपय कथामा उत्तरआधुनिकताका प्रयोग पाइन्छन्। मैले पुण्य मन पराएँ, भोक साम्य भएको थिएन, मरूद्यान खोज्नुपर्यो, भोलि उठी कहाँ जाने, ऐनाको मेघ आदि कथाहरूमा विमिथकीकरण, विपरितिकरण, विनिर्माण गरी नयाँ शिल्प सौन्दर्यको खोज गरिएको छ। ऐनाको मेघ कथामा समलिङ्गी पात्र प्रयोग गरिएको छ। अबको युगमा यस्ता समलिङ्गीहरूको बढ्दो उपस्थितिले परम्परागत सोंच र व्यवस्थालाई चुनौती दिएको छ।
समशेर अली – कालिम्पोङका कथाकार समशेर अलीका कथा पनि पाठकका निम्ति नयाँ स्वादका लाग्छन्। उनका कथामा वास्तविक पात्रका जीवनका मह्त्त्वपूर्ण घटनालाई कथाको वस्तु बनाइएको पाइन्छ। दोस्रो विश्वयुद्धका लडाकुको युद्धको पृष्ठभूमिलाई लिएर जीवन्त कथा लेखेका छन्। उनका कथामा समाजमा लुकेर बसेका महत्त्वपूर्ण जिवित पात्रलाई खोजेर तिनको जीवनको महत्त्वपूर्ण घटनालाई संस्मरणका रूपमा कथामा उतारिएको हुन्छ। अलीले वास्तविकता र काल्पनिकताको मिश्रण गरेर नयाँ प्रविधि भित्र्याएका छन्। सोल्दती गोर्खा मोल्तो ब्योनी, बब्लु घोष, मास्टर मोसाय, पेनी ली आदि जस्ता कथामा वास्तविक पात्रका विगतका घटनालाई कथामा बुनेका छन्। एकजना दोस्रो विश्वयुद्धका बेलायती सिपाहीका पराक्रमका रोचक घटनाहरूलाई कथामा उतारेका छन्।
ध्रुव चौहान – ‘खोल कथासङ्ग्रहमा ध्रुव चौहानका कतिपय कथामा विनिर्माण, विपाठको शिल्प पद्धति अपनाएका छन्। इन्द्रबहादुर राईको जार भएको एउटा कथा र जयमाया आफुमात्र लेखपानी आइपुगी कथाहरूलाई एकै ठाउँ पुनर्लेखन गरेर जयमाया र ठुली दुवै दार्जिलिङ आइपुगे शीर्षकको एउटा कथा बुनिएको छ। राईका यी दुई कथाहरूको विपन र अन्तर्पठन गरिएको यस विनिर्मित कथा चौहानको सिर्जना र दृष्टि दुवै हो। अन्य कथामा पनि युगीन संचेतनामा नाटकीय, सूत्रात्मक र विनिर्मित प्रकृतिका पनि छन्।
प्रकाश हाँगखिम – प्रकाश हाँगखिमका ‘सुनपसिना’’ ह्याङ्मेनको चिठी’’ जस्ता कथासङ्ग्रहका केही कथामा उत्तरआधुनिक चेतना परिलक्षित छन्। अहिले मानिस कसरी उद्योगशील बन्नुपर्छ भन्ने देखाएका छन्। नेपाली कथालाई उद्योग धन्धासित जोडेर नयाँ आयाम दिएका छन्।
सन्जीव छेत्री – ‘’साँचो जस्तै कथाहरू’ नामक कथासङ्ग्रह प्रकाशित गर्ने सन्जीव छेत्रीका केही कथामा उत्तरआधुनिक संचेतना पाइन्छन्। सङ्ग्रहका प्रत्येक कथाको शीर्षक रखाइमा कथा पद जोडिएका छन्। ‘सृष्टिको कथा’, ‘राम्रै खालको कथा’, ‘आँधीको कथा’, ‘एउटा साँचे जस्तै कथा’, ‘कालो ब्याग बोक्ने कथा’, ‘फूलको रिसको कथा’, ‘अचम्मको कथा’, ‘घरभित्रको कथा’, ‘भन्न नमिल्ने कथा’, ‘एउटा बेग्लै कथा’, ‘तिर्खाको कथा’, ‘निकासको कथा’, ‘प्रश्नको कथा’, ‘मेरूदण्डको कथा’, ‘कथा’ जस्ता शीर्षक राखिएका छन्। इन्द्रबहादुर राईले कठपुतलीको मन कथामको सुरूमा नै “कथा कैल्यै नपत्याउनु। कथामा म एउटै सत्य मात्र बोल्छु, एउटै र मायासत्य” । यहाँ कथाकार छेत्री पनि यी कथाहरूमा आफ्नो कुरालाई भ्रमपूर्ण पारिदिएका छन्। यी कथाहरूमा यथार्थ र कल्पनाबीचको झिनो अन्तर, पात्र र समाख्याताको अभेद सम्बन्ध, अनौपचारिक प्रस्तुति, विषयवस्तुभन्दा वैचारिकता, विधाभञ्जन, विकेन्द्रिकरण, स्वैरकल्पना, विनिर्माण तथा पराख्यानात्मकता आदि प्रयोग गरिएको छ। प्रायः जसो कथामा कथागत पात्रले लेखकीय सत्तालाई अमान्य ठहर गर्दै पाठकीय स्वत्व र अस्मिताको वर्चस्वलाई कायम राखेको छ। यस प्रकार पाठकको बुझाइ र विमर्शलाई पराख्यानात्मक भाषिक खेलभित्र ल्याइएको छ।
सुरज धड्कन – सुरज धडकनको “घर’ कथासङ्ग्रहमा पनि उत्तरआधुनिकताका अध्ययन गर्न सकिने ठाउँ छन्। कतिपय शृङ्खला कथाहरू छन् जो एक केन्द्रीय कथा परम्पराभन्दा अघि बढेर गाँस्दै लगिएको पाइन्छ। सङग्रहमा रहेका भुइँ, आधार, घर, छाना, धुरी, कोठा, झ्यालहरूःपर्दाहरू, ढोका, भित्ता, परिवार र परिशिष्ट कथाका रूपमा भूमिका गरी जम्मा एघारवटा कथाहरू अलगअलग हुन्। यद्यपि यी जम्मै कथाहरूमा एउटै घरका अङ्ग-उपाङ्गहरूको शृङ्खला जोड्दै अनि एउटै पात्र पात्रा देवेन्द्र र निलु क्रमशः गाँसिदै गएका छ्। जम्मै कथामा देबेन्द्र कतै लडाइँमा शहीद भएको छ, कतै आर्किटेक्ट, कतै चित्रकार कतै के भएर एउटै व्यक्तिको बहुरूप, बहुभूमिका, बहुगतिविधि देखाइएका छन्। घर शीर्षकको कथामा एउटै घरभित्र मान्छेबाहेक अरूहरू बस्छन् र सबैले बाँच्न पाउनुपर्छ। अहिले संसारमा अमेरिका र रसियाको मात्र एकाधिकार र बर्चस्व होइन ससाना र गरीब देशहरू पनि बाँच्न पाउनुपर्छ भन्ने धारणालाई अघि बढाइएको छ।
निमा निची शेर्पा – नयाँ हाँचका कथाकार निमा निची शेर्पाका ‘लहराघात’ र “दम्को गाउँ’ गरी दुईवटा कथासङ्ग्रहमा यसका केही लक्षण देखा परेका छन्। उनको ‘”दम्को गाउँ’ कथासङ्ग्रहका अधिकांश कथाहरूमा समकालीन आख्यान चेतना र इतिवृत्त-दर्शनमा समेत केही मौलिकता आए देखिन्छ। सङ्ग्रहका अधिकांश कथाहरू परम्परागत सरल रेखीय इतिवृत्तीय घेरामा सिमीत नरही विविध संरचनावृत्तहरूको संयोजनबाट बनेका छन्। सूत्र प्रयोगात्मक कथानकहीनता र स्वैरकल्पनात्मक शैलीमा लेखिएका उनका कथाहरू युगीन सन्दर्भका साथसाथै विधाभञ्जन र विधामिश्रणको स्थिति निकै प्रभावकारी रहेको देखिन्छ। उनका लीला, नमरेको ईश्वर, भिरैभिरमा ईश्वर शीर्षक कथाहरूलाई सफल दृष्टान्तका रूपमा अघि सार्न सकिन्छ।
२. मूल्याङ्कन र उपसंहार -
उत्तरआधुनिकता आफैंमा एक अस्पष्ट, विवादास्पद विषय भए तापनि यसको चर्चा परिचर्चा समय समयमा भइरहेको छ। यद्यपि उत्तरआधुनिक चेतनाको स्पर्शले वस्तु, प्रस्तुति र शिल्पमा नयाँ रूप, नयाँ ढाँचा, नयाँ सन्दर्भ नयाँ प्रवृत्ति र नयाँ तकनिकीको स्थापना भएको छ। नेपाली साहित्यमा यसको पक्ष र विपक्षमा विभिन्न धारणा र मत व्यक्त गरिदैआएको छ। भारतीय नेपाली कथा साहित्यमा पनि उत्तरआधुनिक प्रसङ्ग, चर्चा, समीक्षा आदि गरिँदै आएको छ। अब यो समय उत्तरआधुनिकताभन्दा अझै अघि बढिसकेको छ। नेपाली साहित्यमा इन्द्रबहादुर राईले शुरू गरेको उत्तरआधुनिक प्रवत्तिलाई अपनाउने अन्य नेपाली कथाहरूको ठुलै समूह हाम्रो अघि रहेका छन्। प्रवीण राई जुमेलीले अझ यसलाई मलजल लगाएर अघाडि बढाउने काम गरेका छन् भने उदय थुलुङ, सुरज धडकन, सञ्जीव छेत्री हुँदै नयाँ पुस्ताका कथाहरूले यसलाई मार्ग प्रशस्त गरिरहेका छन्।
सहयोग लिइएका पुस्तक सूची –
१. डा. राजकुमार छेत्री; दृष्टिपथ; दार्जिलिङ, मनमाया प्रकाशन, २०१८।
२. ममता लामा; नेपाली समालोचना दृष्टि र आधार, कालिम्पोङ, नेपाली साहित्य अध्ययन समिति, २०१४।
३. सम्पा. रूद्र बराल; समकालीन भारतेली नेपाली साहित्य गति र प्रवृत्ति; गौहाटी, असम नेपाली साहित्य सभा, २०१९।
४. सम्पा. सनत रेग्मी र भाउपन्थी; कथाविमर्श; काठमाडौं, नेराप्रप, २०६८.
५. सञ्जीव उप्रेती; सिद्धान्तका कुरा; काठमाडौं, अक्षर क्रियसन्स नेपाल, दो.सं.२०६८।