17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गणेश बराइलीको 'मनोयोग': समीक्षात्मक शैल्यक्रिया

कृति/समीक्षा कृष्ण प्रधान April 16, 2023, 5:29 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

परिचयपीठिका -
विद्यार्थी अवस्थामै साहित्यप्रति रुचि राख्ने गणेश बराइलीको पहिलो कविता उनी पढ़ेकै मिरिक हाई स्कूलको वार्षिक मुखपत्र 'लङ्कासानी'-मा सन् १९७१ मा प्रकाशित भएदेखि साहित्यप्रतिको मोह दोबर तेबर बढ़ेर गयो । कविताबाहेक पनि कथा लेख्न रुचाउऩे गणेश बराइलीको पहिलो कथा सन् १९७८ मा सूचना अनि संस्कृति विभाग, दार्जिलिद्वारा प्रकाशित साप्ताहिक 'पश्चिम बङ्गाल'-मा छापिएको पाइन्छ । त्यसपछि बराइलीका कथा, कविताहरू लगातार विभिन्न पत्र-पत्रिकातिर प्रकाशित भएको पाइन्छ ।
बाबा स्वर्गीय नरबहादुर रसाइली र आमा स्वर्गीय सन्तमाया खातीको कोखबाट मिरिक, बस्ती, डुप्टिन न. १० मा जन्मेका स्वनामधन्य साहित्यकार गणेश बराइली प्रचार-प्रसारदेखि सदैव टाढ़ा बसेको देखिन्छ । कुनै स्वप्रचार-प्रसारमा नलागेर यिनी खुरन्धार लेखी साहित्य सिर्जना गर्ने मिरिक भेकका होनहार साथै प्रतिष्ठित साहित्यकार हुन् ।
साप्ताहिक 'पश्चिम बङ्गाल'मा कथा छापिएपछि यिनले उपन्यास लेखनपट्टि ध्यान दिएको बुझिन्छ । हालसम्म गणेश बराइलीको निम्न उपन्यासहरू प्रकाशित भएको पाइन्छ -
१) विगतको व्यथा - हस्तलिखित उपन्यास - १९७४
२) नवालोक - उपन्यास - १९८४
३) नयन-अञ्जुली - उपन्यास - १९९२
४) विम्ब-प्रतिविम्ब - उपन्यास - २००४
५) मन्दाकिनी - उपन्यास २०१६ ।

यिनका प्रकाशित कथा सङ्ग्रह -
१) मनोविम्ब - कथा सङ्ग्रह २०१२
२ ) मनोयोग - कथा सङ्ग्रह (तपाईको हातमा)

'मनोयोग' कथासङ्ग्रहमा समाविष्ठ कथाहरूको थानक -

१ । आवेगहरूमा -
यस कथामा लोग्ने (चन्द्र कुमार), स्वास्नी (अनुराधा) सहित अन्य सहयोगी पात्रहरू दिपक (चन्द्र कुमारका साथी तथा सुधाका पति), रक्सीवालनी गरी मोठ चार जना पात्रहरूका जीवन शैली उदघाटन गरिएको छ ।
चार परिवार चन्द्र कुमार र उनकी श्रीमती अऩि एकजना छोरा, एकजनाको मिठाइलो, रमाइलो, सुखिलो घर परिवार । पेशाले शिक्षक भएकाले गाउँ-घरकाहरू सबैले आदर्श व्यक्तित्वका धनी अनि पूजनीय ठान्छन् । शिक्षक चन्द्र कुमार गाउँमा सरुवा भएर आएपछि उनी बसेका समाजमा शैक्षणिक, राजनैतिक, बौद्धिक बाहेक पनि अन्यान्य विषयहरूमा परिवर्तन गर्न हुटहुटिन थाल्छन् । नभन्दै गाउँकै चुनावमा धेरैपल्ट सफलता हासिल गरेर सबैलाई एउटा उदाहरणको रुपमा प्रस्तुत गर्न सक्षम हुन्छन् । घर-परिवार सुचारुरुपले सञ्चालन गर्नका निम्ति चन्द्र कुमार मूल घरबाट छुट्टिएर अलग्गै बस्न थाल्छन् । चन्द्र कुमार आफ्नो मूल घरदेखि छुट्टिए पनि बेला-बखत मूल घर गई सामान्य आर्थिक सहयोग गर्छन् । पाठशाला सधैं जानु बाहेक पनि पार्टी कार्यकर्त्तासित भेट गरी पार्टीको नीतिबारे चर्चा गर्छन् । तर राति घर फर्किनु अबेर हुन्छ । रातको दस बजेतिर घर पस्दाहुँदी नानीहरू कहिले पढ़्दै गरेका हुन्छन् भने कहिले नानीहरू सुतिसकेका भेट्छन् ।
आफ्ना पार्टीका कार्यकर्ताहरूसित छुट्टिई चन्द्र कुमार छिटै घर आइपुग्छन् । उनकी श्रीमतीले ढोका खोलेपछि भित्र कोठामा दिपकलाई बसिरहेका भेट्टाउँछन् । घरभित्र दिपकलाई देख्दा आफ्नी श्रीमतीप्रति सिकसिक लागे पनि चन्द्र कुमारले त्यसलाई कसैलाई बुझ्न दिँदैनन् । केही दिनपछि चन्द्र कुमार पार्टी कार्यालयतिर नगई पाठशालाबाट सोझै घर आउँछन् । घरको ढोका फेरि पनि बन्द रहेको अनि सोही दिन पनि घरभित्र दिपकलाई देख्दा सरकी श्रीमतीले दिपक बाबु भेटन आउनुभएको छ भनी स्पष्टिकर दिन्छिन् । यसबाजी भने अनुराधाका पति चन्द्र कुमारलाई चिसो पस्छ । चन्द्र कुमारसित सामान्य कुराकानी गरेपछि दिपक घरभित्रबाट निस्कन्छन् । यस्तो अवस्था देखी-देखी पनि चन्द्र कुमारले स्वास्नीप्रति नराम्रो ठान्दैनन् तर श्रीमतीको श्रीमतीको हाउभाउमा सामान्य परिवर्तन भएको चन्द्र कुमारलाई छर्लङ्ङै बुझ्न गाह्रो पर्दैन । दिपक र अनुराधाको यो कुरा गाउँभरि फैलिएको कुरो चन्द्र कुमारको कानमा पर्छ । असह्य भएर वा सहने सीमा नाँघेर चन्द्र कुमार पाठशालाबाट घर तर्फ नगएर सोझै रक्सी पसलतिर लाग्छन् । शिक्षक चन्द्र कुमार माननीय र श्रद्धेय व्यक्ति भएकाले रक्सी पसलका गाहकीहरू उनको सम्मानमा जाराक्-जुरुक् उभिएको देख्दा ती गाहकीहरू सबै उनै शिक्षकका पुराना विद्यार्थी लगायत पार्टीका कार्यकर्तासमेत हुन्छन् । त्यहाँ पनि उही खासखास र खुसखुस चन्द्र कुमारको कानमा थुरिएको होइन । शिक्षक चन्द्र कुमारलाई रक्सी पसलबाट देख्नेहरू नाक-निधार खुम्च्याउन चुक्दैनन् । चन्द्र हतास र निराश हुँदै घर पुग्छन् । ढोका खुल्लै देख्छन् । उनकी श्रीमतीले अनुराधाले केही नभनी खाना टक्र्याउँछिन् । रातको खाना खाइसकेपछि चन्द्र कुमार फेरि घरबाट निस्किन्छन् । साँझमा एकजना उनैको घरतिर आइरहेका कसैलाई देख्छन् र आफ्नो चश्मा उचालेर हेर्दा दिपक नै आइरहेका देख्छन् । चन्द्र दिपकलाई छली अर्को बाटो भएर फेरि रक्सी पसलतिर लाग्छन् । पसलमा अरु कुनै गाहकी नभए पनि भित्रबाट एकजना महिलाले अभिवादन गरी शिक्षक चन्द्र कुमारलाई बस्ने आग्रह गर्छिन् । चन्द्र कुमारले एक गिलास स्वाट्टै पारेर निस्कन्छन् । र सोझै घरतिर लाग्छन् । पतिको यस्तो परिवर्तित रुप देखेर छक्क परे पनि अनुराधा केही बोल्दिनन् । रक्सी पसलमा अन्य रक्स्याहा साथीहरूबाहेक पनि सुधा नाउँ गरेकी एकजना सुन्दरी महिला आएर पिउन थाल्छिन् । ती महिलाभित्र पनि एउटा असह्यनीय आवेग देखिन्छ । चन्द्र कुमार र ती सुधा नाउँ गरेकी महिलाका पीड़ाहरू प्रायः एउटै एउटै नै छ । कुरै कुरामा सुधाले उनको लोग्ने राति अबेर गरेर मातेर घरभित्र पसेपछि नाऩाँभाँतीका कुरा निकालेर झगड़ा गर्ने कुरा बताउनुका साथै लोग्नेलाई धम्क्याउनुलाई आँट आउनलाई सुधाले पिएकी भनी खुलस्त पार्छिन् । सुधासितको परिचय बढ़ेपछि चन्द्र कुमारको जीवनमा नयाँ आयाम थपिएको उनका परिवारलाई मात्रै होइन गाउँ-घरमासमेत फैलिन्छ । सुधा र चन्द्र कुमारको प्रगाढ़ता निकै झ्याङिएर गइसकेको हुन्छ । एक साँझ छुट्टिएपछि भोलिको साँझ निकै अबेर गरेर बितेजस्तो लाग्न थाल्छ चन्द्र कुमारलाई । सायद सुधालाई पनि यस्तै हुँदो हो । निकै दिनपछि सुधा दिपककी पत्नी हुन् भन्ने चन्द्र कुमारलाई थाहा हुन्छ । दुवै घाइते छन् । दुवैका आवेगहरू छन् । यी आवेगहरू झ्याङिएर चन्द्र कुमारलाई आफ्ना सम्पूर्ण खुसीहरू सुधासित साट्न हुटहुटी लाग्छ, एउटा नयाँ घर बसाउन तर्खरिन्छन् तर बनिबनाउ घरलाई भत्काउन नचाहने कुरामा चन्द्र कुमार अडिग देखिन्छ । अर्को दिन रक्सी पसलमा न चन्द्रलाई देखिन्छ न ता सुधालाई नै । यी दुवैको अनुपस्थितिले रक्सी पसल सातो हराएको जस्तो देखिन्छ ।

२ । धरातल र व्यक्ति -
तीनजना व्यक्तिहरू क्रमश 'क', 'ख' अनि 'ग'-हरूलाई एकमुष्ट पारी कथा बुन्ने निहुँमा तीनै व्यक्तिहरू प्रत्येकले आ-आफ्नो उदगार पोख्दै कथालाई रोचक बनाइको छ । आकाङ्क्षाका लोभी 'क' व्यक्ति, 'ख' व्यक्ति कमजोरीको बाघले कोपरिएको अनि तेस्रो व्यक्ति 'ग' पीड़ाको झीरले उनिएको । बेरोजगार 'क' नोकरी खोजमा लुतो लागेको कुकुरजस्तो छटपटिन्छ । धन कमाएर घर भित्रिने लोभमा घर छोड़ेकीले प्रेमिकाले घर बिर्सि होली भन्ने शङ्कामा पिरोलिने 'ख' व्यक्ति आफ्नो कमजोरी वमन गर्छ भने 'ग' चाहिँ हत्तु हैरान भएर एउटा सुव्यवस्थित भाड़ाको घर खोज्दाको पीड़ा ओकल्छ । 'क' व्यक्ति आफ्नै कथामा बाँचेको छ । आन्दोलन, जुलूस, अनसन, घेराउ, विद्यार्थी मोर्चाको नेतृत्व दिने झर्झराउँदा युवा । साथीहरूको होहोरीमा लागी विद्यार्थी जीवन फुर्मास गर्दा परीक्षा फल बिग्रिएर जीवननै नष्ट हुन्छ । परिवारको गह्रौं बोझले थिचिएपछि भट्टी पसलमा आफ्नो परिचय खोज्नमा तल्लीन हुन्छ । योजना जति जम्मै बेचेर आफू धोती न टोपी भएको । ऋृण लिएर बनाएको घरमा कहिले सरकारले ताल्चा ठोकेर उठीवास लाउने हो त्यसको ठेगान छैन । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो 'क' व्यक्ति फेरि ठूला-बड़ा नेताहरूलाई सुम्सुम्याउने जल्पना-कल्पनामै मस्त भई जीवन त्यसै खेरो फालिरहने दिशाहीन व्यक्ति । होला'किले बुलाकी लायो बुलाकीले नाक खायो भने झैं 'ख' व्यक्तिकी श्रीमती मनग्गे धन कमाउँछु भनी घरको झिटीमिटी बिक्री गरेर गएकी चरालाई ढुङ्गो हानेझैं भएको छ । घर रित्तो छ, मानसिकता तितो छ । कसैले यी सबै बिर्सेर नयाँ घर बसाल्ने आग्रह गर्छ, कसैले 'ख' पात्रकी श्रीमतीले अर्कै बिहे गरिसकी भन्ने असहनीय कुरा गर्छ फेरि कसैले उनकी श्रीमती चिताउनै नसकिने सम्पत्ति लिएर घर आउँछे र रातोरात लाखौं रुपियाँका मालिक हुने एक राश आश्वासन दिएर ढुक्क पार्छ । प्रेयसीको सम्झनामा सोंच्दा सोंच्दै आफू खङरङ्ङ भइसक्छ । श्रीमतीको प्रेम पत्र पढ़ेर पर्खिँदा पर्खिँदा 'ख' पात्रलाई जीवन मूल्यहीन लाग्न थाल्छ । घर बनाउने काकाकुली तिर्सनामा 'ग' पात्र अहर्निश छटपटिरहन्छ । जस्तो सुकै भए पनि एउटा जमिन होस् भन्ने चाहना छ । नेताहरूले अजब-गजब, गगनचुम्बी अट्टालिका बनाइसकेर आफू भने तीन पुस्तादेखि बिताइसकेको जिन्दगी लिएर अधमरो जिन्दगी बाँचिरहेको हुन्छ । आमाको मृत्यु भएपछि आमालाई दफन गर्ने कमानबारीको ठाउँमा कमानका मन्सीले व्यवस्था नगरिदिएका भए....बिल्लीबाठ हुने । आमाको कपूरमा बत्ती बाल्नलाई आमाको समाधिमा जाँदा त्यहाँ ता कमानले बाक्लै गरी चिया गाछ रोपिसकेको हुनाले त्यो पनि हुन सक्दैन । अचेल देखिने चियागाछहरुमा 'ग' व्यक्तिले आफ्नै आमाको कपूर छोपिएको देख्छ ।

३ । प्रतीक्षाको एकाग्रतामा -
आफ्नो मान्छेको पर्खाइमा आँखा टट्टाइसक्छ तर आफ्नो मान्छेलाई मान्छेको झुण्डमा देखिँदैन । मेलोमा काम गर्दै गर्दा अचानक ज्वरो आएजस्तो भएकोले रहल एक मेलो भोलि जोत्छु भनी थाँती राखेर औषधि लिन जाने कुरो छोरो बाबुलाई गर्छ । अहिले नै जाने कुरा गर्दा एक मेलो जोतिदिन्छु भनी वचन दिएको कुरा बताउँछ बाबुलाई । बाबु छोरा-बुहारीको सामान्य जीवन बितिरहेछ । बाबु कृष्ण उर्फ किस्ने सुरुबुरु हँसियाँ, खुर्पा अर्जाप्छ । तर छोरो गोपाल उर्फ गोफ्लेलाई यो काम रुच्दैन । आफूले पालेको गोरुकै सहारामा गाउँभरिको खेत जोतिदिएर जीवन धान्ने गर्छ वृद्ध कृष्ण उर्फ किस्नेले । छोरो गोपाल उर्फ गोफ्ले तीन पुरिया औषधि बोकी घर आउँछ । खाटमा ढल्किरहेका वृद्ध बाबालाई बुहारीले ल्याइदिएकी तातो पानीसित दुइवटा पुरिया एकैचोटि खान दिएर एक घण्टा आराम गर्ने निर्देश दिँएपछि गोफ्ले हला-कोदालो बोकेर हरि बाजेको खेतमा फेरि एक मेलो जोत्न प्रस्थान हुन्छ । मेलो सकेर गोफ्ले घर फर्केर आउँदा वृद्ध बाबु लोहारखानमा काम गरिरहेका देख्नु मात्र होइन तर बाबु बीसको उन्नाइस भएका देखेर आङमा सामान्य घाम लागेको अनुभव हुन्छ । हात गोड़ा धुँदै भए पनि परैबाट बाबुलाई आगोको नजिक धेर नबस्ने डाक्टरले भनेका कुरा वृतान्त सुनाउँछ । बाबुको कुनै प्रत्युत्तर नसुने पनि फलाम रेतेको मात्र सुनिनन्छ । बेलुकी फेरि किस्नेले काम ज्वरोले भेटेको कुरा सुनाउँदा छोरो गोफ्लेले बाबुलाई रहल औषधि खुवाएपछि वृद्ध बाबु मस्त निदाउँछन् । आफ्नो गर्नुपर्ने काम सम्पूर्ण सिद्ध्याएपछि गोफ्लेले बाबुलाई डाक्टरकहाँ पुऱ्याउँछ । सम्पूर्ण जाँचेपछि रोगीलाई निको पार्न डाक्टर आफूले नसक्ने भएकाले उनलाई ठूलो अस्पतालमा लाने सल्लाह दिन्छन् । डाक्टरकै भनसुनमा किस्नेलाई छोरो गोफ्लेले ठूलो अस्पतालमा पुऱ्याउँछ । ठूलो अस्पतालका डाक्टरले रोगीलाई सम्पूर्ण जाँचेपछि अबको उपचारको निम्ति पहिल्यै पाँच हजार जमा गर्नुपर्ने निर्देश दिन्छन् । यति मोटो रकम सुनेर गोफ्ले आश्यचर्यचकित हुँदै आफूसित मात्रै चार सय रुपियाँ रहेको कुरा डाक्टरलाई सुनाउँछ । दैनिक रोजकारी गर्ने गोफ्ले आफ्ना प्राणप्रिय बाबुलाई सञ्चो बनाइदिने अनुनय गर्दै पैसाको साटो आफू नै एक महिनासम्म डाक्टरको घरमा दास बनिदिने कबूल गर्छ । डाक्टरहरूसित दास राख्ने चलन नभएको कुरा जनाउँदै पहिलेको पनि एक हजार बाँकी रहेको कुरा सुनाउँछन् । पैसा भोलि घरबाट ल्याएर जम्मै पैसा तिर्ने कुरा गर्दै बाबुलाई अस्पतालबाट लान चाहँदा डाक्टरले पच्चीस सय रुपियाँ बुझाए मात्र रोगीलाई अस्पतालबाट छुट्टी दिने कुरा सुनाउँछन् । असहाय गोफ्लेले आफ्नो मिठाइलो संसारको जहाज डुबेको देख्छ । गोफ्ले सोझै बिरामी बाबा राखेका वार्डमा पस्दा उनी मस्त निदाइरहेका देख्छ । गोफ्ले चूपचाप बाहिर निस्केर भोलि गोरु बेचेर बिरामी बाबुलाई अस्पतालबाट उकास्ने विचार लिएर भाड़ा गाड़ीमा चढ़ी सोझै घरतिर लाग्छ । अस्पतालको बेडमा मस्त सुतिरहेका बूढ़ा किस्ने ब्यूँझेपछि छेवैमा बसिरहेकी नर्सलाई छोरा गोफ्लेबारे सोध्दा गोफ्ले पाँच हजार लिन घर गएको कुरा नर्सले सुनाउँछिन् । नर्सले सुइ लगाएपछि रोगी किस्ने मस्त निदाउँछन् । बिहान उठेर परसम्म नजर पुग्दा मानिसहरू लस्कर लागेका हिँड़िरहेका देख्छन् तर विशाल भीड़को जङ्गलमा उनको छोरो गोफ्लेलाई कसैगरी पनि देख्दैनन् । यद्यपि बूढ़ा छोरोकै अनवरत् प्रतिक्षामा अस्पतालको बेडमा ढल्किरहन्छन् ।

४ । मनोयोग -
वैश सिद्धिने साथै शिक्षक पेशा हात पर्नुका साथै हातखुट्टा समेत बाँधिन्छन् शिक्षक चरणको । आफूले शिक्षादान गरिरहेका तमाम् विद्यार्थीहरूलाई आफ्नै सन्तान नै ठान्नु पनि चरणको महानता देखिन्छ । जीवनभरि नै शिक्षक चरणले व्यक्तिगत स्वार्थ नहेरी शिक्षादान गर्ने शिक्षक चरणको शिक्षण जीवन समाप्त हुन्छ । आफ्नो शिक्षण जीवनकालमा कुनै पार्टी, धर्म केहीको पनि वास्ता नगरी आफ्नै धुनमा शिक्षादान गर्नु नै ठूलो धर्म ठान्ने सशक्त व्यक्ति हुन् शिक्षक चरण । अन्य सबै कुरोको वास्तै नगरी साहित्यसेवा गरी सम्पूर्ण मानवसमाजको आजीवन सेवा गर्न सकिन्छ भन्ने दृढ़ विचारमा अड़िन्छन् । यस्तै सुसोंचमा डुबिरहेका समयमा उनका पूर्व विद्यार्थी कैलाश र रिङ्देन आई उनलाई अभिवादन चढ़ाउँछन् । दुवैले माध्यमिक परीक्षा प्रथम दर्जामा हासिल गरेका र यसमा उही चरण सरकै गतिलो योगदान रहेको भन्ने कुरा सुनाउँदै पूज्यनीय सरलाई खादा, मालाले वरण गरी मिठाइ चढ़ाउँछन् । आफूले पढ़ाएका विद्यार्थीहरूको सफलताको कुरा सुनेर शिक्षक चरणका आँखा रसाउँछन् । चरण सरकी श्रीमती पनि खुशी हुँदै ती दुवैलाई चिया टक्राउँछिन् । विद्यार्थीहरूका भागमा नयाँ कपको चिया परे पनि सर-गुरुआमाले भने पुरानै कपमा चिया पिउँछन् । ती पुराना कपहरू हेरेर सरले आफ्नो पहिलो तनखाले ती कपहरू किनेका हुन् भन्ने विद्यार्थीहरूले लख काढ़्छन् । विदावारीमा सरले दुवै विद्यार्थीलाई जीवनमा आफूले धेरै कुराहरू लेखिसकेका एकेकवटा मसी कलम दुवैजनालाई दिँदै अब लेख्ने पालो तिमीहरूको भनी ठूलो जिम्मेवारी उनीहरूका काँधमा सुम्पिन्छन् । घर पुगेर कैलाशले गुरुले स्नेहपूर्वक दिएका मसी कलमलाई मन्दिरमा सजाएर राख्छ भने रिङ्देन पनि कलम पूजी लेख्न थाल्छ । दुवै विद्यार्थीहरूले अब्बल दर्जामा स्नातक सिद्घ्याउँछन् । रिङ्देनले सोही मसी कलमको सहायताले साहित्य लेखनपट्टि ध्यान दिन थाल्छ र साहित्य संसारमा प्रसिद्धिको सिंहासनमा विराजमान हुनाका साथै कैयौं साहित्यिक कृतिका धनी समेत हुन्छ । नभन्दै रिङदेन साहित्य अकादमी पुरस्कारले विभूषित हुने खबर आउँछ । यो पुरस्कारको भागीदारी बन्नमा उनै प्रिय शिक्षकको सिंहभाग योगदान रहेको कुरा स्वीकार्दै पुरस्कार ग्रहण समारोहमा सरलाई पनि आफ्नै खर्चमा सँगै दिल्ली लगी सो पुरस्कार सरले स्पर्श गरिदिउन् भन्ने निवेदन चढ़ाउँछ । के खोज्छस् कानो आँखो भइरहेको बेला सरलाई पनि राजधानी घुम्न मन लागेकोले सरबाट अस्वीकार हुँदैन । सरले सभासद भइसकेका रिङ्देनका सहपाठी कैलाश र उनकी श्रीमतीलाई पनि लाने आग्रह गर्दा त्यो अस्वीकार हुने ता कुरैआउँदैन । दिल्लीमा सबै ठामठिम भएपछि उनीहरू फर्किने बेलामा आदरणीय गुरुवर शेखर सरको चरणमा एउटा प्याकेट चढ़ाउँदै सो प्याकेट घरमा लगेर मात्रै खोलेर हेर्ने अनुनय गर्छ । घर पुगी प्याकेट खोलेर हेर्दा प्याकेटभित्र एक जोड़ी चम्किला कपहरू भेट्टाउँछन् शेखर सरले । प्याकेट भित्र शेखरले आफ्नै हस्ताक्षरमा लेखेको चिठी पनि हात पर्छ । चिठीमा रवीन्द्रनाथ र महात्मा गान्धीमध्ये कसले देशलाई गरिमामय उपलब्धि हासिल गराएका थिए भन्ने सरले जुन विभूतिलाई मान्य़ ठान्नुका उनैको आफूले पूजा गर्ने कुरा लेखिएको पाउँछन् ।

५ । दासत्वको अवशिष्ट -
सानी छोरी कल्पनालाई हेरचार गर्नका निम्ति कल्पनाभन्दा चार वर्षले ठूली कलिना नाम गरेकी काम गर्ने केटी पल्लो घरमा ल्याइएको छ । सबैले काली भनेर बोलाउँदा खुशी भई सोधेकी जवाब दिने गर्छे । नेपाली त्यति राम्रो जान्दिन । कल्पनालाई दिनहुँ स्कूल पुऱ्याउनु र ल्याउनु बाहेक पनि धाराबाट पानी ओर्साउनुमै कलिना उर्फ काली केटीको समय खर्च हुन्छ । रहँदा-बस्दा काली नेपाली भाषा निकै राम्रो पाराले फड़्कार्ने हुन्छे । पल्लो घरमा कालीले एक वर्ष बिताइसक्छे । कालीलाई वैंशले गिजोलिसकेको छ । स्किन टाइट जिन्स पेण्ट , कमिज र स्वेटर लगाउनु मात्र होइन केशसमेत ठुटा पार्ने भइसकेकी छ । धाराबाट आउँदा गाउँकै सूरजले जिस्काउँदा काली ठ्याम्मै नरिसाई बरु लजाइ दिएर सूरजलाई भित्र-भित्रै मनपराएको सङ्केत दिन्छे । कल्पना कालीसित हिँड़्दा सुठी नै लजाउने मात्र होइन आठौं श्रेणी पढ़्न थालेकीले कल्पनालाई कालीले स्कूल पुऱ्याउने काम बन्द भएको छ । कालीले मनपराउने सूरज पनि दशौं श्रेणीको विद्यार्थी भइसकेको छ । कालीको हातमा कल्पनालाई दिनु भनी कालीलाई सूरजले एउटा किताब दिँदा काली भुतुक्कै रमाउँछे । किताबभित्र रहेको खाममा के के लेखिएको भए पनि साउँ अक्षरको ज्ञान नै नभएकी कालीलाई कालो अक्षर भैंसी बराबर नै लाग्छ । कालीकै छेउमा खाममा लेखिएका अक्षरहरू कल्पनाले चार-पाँचपल्ट चुम्दा पनि काली मौन बस्छे । सुन्दर स्कूल ड्रेस पहिरिई कल्पना स्कूल जाँदा कालीलाई पनि त्यसरी नै स्कूल जाने रहर लागे पनि त्यो अदम्य इच्छा जाहेर गर्ने कतै ठाउँ हुँदैन कालीको जीवनमा । कालीलाई उसका बाबु लिन आउँदा घर गई गाउँको पाठशाला जाने इच्छा जागे पनि उमेर छिप्पिसकेकोले त्यो सोचाइदेखि टाढ़िन्छे । कालीलाई उसका बाबुले प्राय ६ वर्षपछि घर लिएर जान्छन् । तह नमिलेको बगानको घर । मसिना भाइृ-बहिनीहरू सबै ठूला भइसकेका देख्छे कालीले । बगानमै काम गर्ने स्यामुएलले कालीलाई मगनी गर्न आउने कुराले आमा-बाबु भक्कुमारी खुशी हुन्छन् । मगनीको कुरा सुनेपछि कालीलाई उही सुन्दर सूरजको भक्कु याद आउँछ । सूरज र स्यामुएलको रङ-रुप दाँज्छे । स्यामुएल पनि सूरजले जस्तै कुण्डल लाउने, ठाड़ो केश कोर्ने होला भन्ने मनमनै सोंच्छे । मगनीमा स्यामुएललाई साक्षात देख्छे-रातदिन बगानमा परिश्रम गरेकोले हात-खुट्टा खिइसकेको, अनुहार घाम-पानीले निख्रिसकेको अनि उसले चाहेकी सूरजभन्दा पनि डिङ्गर कालो देख्छे । आफूभन्दा दस-बाह्र वर्षले जेठो । काली मौन बसिरहन्छे....उसको मौनताले केटो मनपराउँदिन होली भन्ने त्रास र डरले घरकाहरू तर्सिरहन्छन् । कालीले चाँड़ै बिहे हुने कुरा गरेर कल्पनालाई फोन गर्छे । स्यामुएल र कालीको नयाँ संसार शुरु हुन्छ । दुवै एकार्कालाई अच्चाकाली माया गर्छन् । स्यामुएलले आफ्नी श्रीमती कालीको निम्ति गाउँमै एउटा सानो पसल खोलिदिन्छ । लोग्ने स्यामुएल दिनभरि बगानको काममा जान्छ अनि काली यता पसलमा व्यस्त हुन्छे । एक रात कालीले अब आउने सन्तान छोरी वा छोरी जे भए पनि ठुलो पाठशालामा पढ़ाइ शिक्षक वा शिक्षिका बनाउने इच्छा लोग्ने स्यामुएललाई जाहेर गर्छे । लोग्नेको कमाइले पुगेन भने छोरा वा छोरीको उच्च शिक्षाको निम्ति काली कुल्ली काम गर्न पनि तयार रहेकी कुरा बताउँछे । आउने दिनमा कालीका सन्तानहरूलाई काम गर्ने सानो र बसी खाने ठूलो बनाएर पहाड़तिर पठाउनु हुँदैन भन्ने आशय व्यक्त गर्नाका साथै आफू काम गर्ने केटी भएर पहाड़मा गई काम गर्ने हुँदा कालीले पढ़्ने समय, जातीय संस्कार, रीतिथिति बाहेक पनि आफ्नो नाम समेत गुमाएकी कुरा लोग्नेलाई सुनाउँछे । यसकारण यी सबैबाट जोगिन खाई-नखाई भावी सन्तानलाई शिक्षित बनाउनुपर्छ भन्ने कुरा लोग्नेलाई आफ्नो उत्कट इच्छा प्रकट गर्छे । दिनभरि लखतरान खटेर आएको स्यामुएल कुनै मनतव्य नगरी अर्कोपट्टि फर्केर मस्त निदाउँछ ।

६ । द ब्रिगेड अफ गोर्खाज् गोल़्ड कप -
दार्जिलिङमा सम्पन्न हुने 'द ब्रिगेड अफ गोर्खाज् गोल्ड कप' संसार प्रसिद्ध फुटबल टुर्नामेण्ट हो । यो म्याच हेर्न ग्वारग्वार्ती मानिसहरू मैदानमा थुप्रिन्छन् । घरमा भक्कु काम हुँदा हुँदै पनि टिकटको दाम जोगाड़ गर्नलाई 'म' पात्र टिकट खल्तीमा हाली मैदान पुग्छ । मैदानमा दर्शकहरूको भीड़ले सिङ्गो मैदान उल्लासपूर्ण वातावरणमा रमाइरहेको देख्छ । साइसाइ र सुइसुइकै भाषामा गगनभेदी हर्षाल्लास गुञ्जिरहेको सुन्छ । कलकत्ताको चिरपरिचित क्लब महम्डन स्पोर्टिङ र दिल्ली इलेभेन कोलिशनमाझको प्रतिद्वन्द्विता । एउटा टोली हरियो-पहेँलो मिश्रित जर्सीमा अऩि अर्को पट्टिको टोली सेतो-निलो जर्सीमा । दुवै टोलीको समर्थन गर्नेहरूमध्ये पारी भित्ताकापट्टिकाहरू महम्मडनको पक्षमा अनि वल्लो भित्ताका दर्शकहरू कोलिशन इलेभेनका पक्षमा कराउँका सुन्छ । त्यहाँ उपस्थित दर्शकहरू सबैका भाग्य कराउनसम्म मात्र भयो भन्ने 'म' पात्रको मनमनै भनाइ देखिन्छ । म्याच घमासान हुँदैछ । फुटबल घरी कलकत्ताका खेलाहड़ीको खुट्टामा ता घरि दिल्लीका खेलाड़ीहरूका खुट्टामा । जति नै किक खाए पनि निर्जीव फुटबल विरोध नभएको 'म' पात्रले देखिरहेछ । मैदानका वारीभित्तादेखि पारीभित्तासम्म बऱ्याम बसेका दर्शकहरू दुवै टोलीको भाले .युद्धमा रमाइरहेका हुन्छन्, साइसाइ र सुइसुइ गरिरहेका हुन्छन्...तर नब्बे मिनटभरि नै 'म' पात्रले निर्जीव फुटबलले हजारौं लात मात्र होइन सयौं चोट खाएको हेरिरहन्छ । उपस्थित दर्शकहरू गोलको तिर्सनामा मैदानै थर्काउने गरी गगनभेदी स्वरमा चिच्याइरहेका छन् भने 'म' फुटबलले आफ्नो निम्ति केही नभनेको कुरा गर्न पनि चुक्तैन । कोलिशन इलेभेनले म्याच जित्छ । खुशीको गीत गाउँदै, उफ्रिपाफ्री गर्दै झण्डा हल्लाइरहेको देखिन्छ तर गोल गर्ने फुटबललाई कसैले स्नेहपूर्वक नसुम्सुम्याएको पनि देखिरहन्छ 'म' पात्रले । म्याच सिद्धिन्छ, दुवै दलले जितेका भए पनि मैदानमा घरि यता घरि उता नब्बे मिनटसम्म गुड़िरहने बबुरो फुटबल भने हारेको 'म' पात्रलाई अनुभव भइरहेछ । फुटबल मैदान फुटबल बेगर मूल्यहीन हुँदोरहेछ अनि म्याच बेगर मैदान महत्त्वहीन हुँदोरहेछ भन्ने यथार्थ दर्शकको स्मरण हुन्छ 'म' पात्रलाई । विजयी टोलीको गगनभेदी नारा गुञ्जेका स्वरहरू उपस्थित दर्शकहरूका कान-कानमा थुरिन्छ, विजयी कप चुमेर विजयी खेलाड़ीहरू आ-आफ्ना शिरमा राखी उफ्रीपाफ्री गरिरहेकाछन् तर फुटबल भने एक कुनामा चूपोलागि लड़िरहेको दृश्य 'म' पात्रले छतछती देख्छ । फुटबलमा हावा भरिएको ता छ ....तर गोर्खाहरूजस्तै संज्ञाविहीन, अस्तित्वविहीन र निष्प्राण लड़िरहेको देख्दा 'म' पात्र आफ्नै जातिको अस्तित्व झल्झल्ती स्मरण गर्छन् ।

७ । आँखा पोखिएको ममता -
साँझ पऱ्यो कि गाँवै सुनसान हुनु मात्र होइन तर गाउँको कुनै घरमा बत्ती बल्दैन । साँझ झर्नभन्दा अगावै घरमा मिठो-मसिनो जे पाकेको छ सो खार्लाप्-खुर्लुप खाएर जङ्गल तथा अभेक ठाउँतिर लुक्न र सुत्नुपर्ने कहालिलाग्दो स्थिति छ । गाउँ-घरका हट्टाकट्टा मरदहरू जति सबै लुक्न जान्छन् अनि घरकी आमा, असहाय र वृद्ध व्यकिहरूमात्र घरमा बसी रात बिताउने अवस्था । गाउँमा प्रायः दिनहुँ 'रेड' गर्ने होहल्लाले विरक्तिएको गाउँ । कति औरतहरू मन बलियो पारी मरद नभएको घरमा 'के को रेड' भनी आश्वासन दिन्छन् भने कति चाहिँ 'जबरजस्ती राती हात लगाए हँसियाँले ठुङ्नुपर्छ' भनी आ-आफ्नो साहस देखाउँछन् औरतहरू । राती 'रेड' गर्ने हल्ला आए पनि बिहान भने त्यो हल्ला निमिट्यान्नै हुन्छ अनि घरका लोग्नेमान्छेहरू, मरदहरू आ-आफ्ना घरमा आउँछन् । सबै भेला भएपछि गाउँ रमाइलो हुन्छ । 'रेड' गर्दाको समयमा साठी हिउँद खाइसक्नेहरूलाई पनि घरबाट निकाली पशुलाई जस्तै पिट्दै लगेको घटना पनि नयाँ होइन गाउँमा । 'रेड'मा कसैलाई छोड़िंदैन्थ्यो । स्कूलका शिक्षकलाई लात र बन्दुकको ब़डले हिर्काएरै मारेको घटना पनि गाउँमा भइनैरहन्छ । आफूले मतदान गरेर बनाएको सरकारको यो क्रुरा क्रियकलापप्रति गाउँलेहरूको गुनासो देखिन्छ । गाउँ सुनसान छ । बिरामीहरू घरमा बस्न सकेका छैनन् । गाउँमा एक हूल बन्दुकधारी मानिसहरू गाउँमा पस्छन् । गाउँको पहिलो घरमा तिनीहरूमध्ये एकजना खिड़्कीको प्वालबाट चाल मारेर चियाउँछ । यो घरका मालिक दलका नायक हुनाले कतै भेटिन्छ कि भन्ने चियाउनुको उद्देश्य थियो । घरभित्र मधुरो टुकीको प्रकाशमा एकजना औरतले उनको बिरामी बच्चालाई काखमा बोकेर यताउति गर्दै, घरि पानी पिलाउने, घरी दूधको लाम्टा चुसाउने प्रयासमा मात्र होइन रोइरहेको नानीलाई चूपो बस्न पनि लाँउछे । तर ती औरत यस मातृसेवामा असफल नै देखिन्छे । आमाको मातृवात्सल्य देखेर खिड़्कीको प्वालबाट चियाउने व्यक्तिले ती आमालाई आफ्नै आमाकै प्रतिरुप देख्छन् । अनि ती आमाको रोगी शिशुलाई आफ्नै आँतको भाइ सम्झिन्छन् । यस्तो स्मरणले जन्मदिने आमाप्रति मनमनै नमन गर्छ अनि चूपोलागि आफ्ना बन्दुकधारी साथीहरूलाई अघि बढ़्नु भन्ने सङ्केत गर्छ । निकै तल पुगेपछि एकजना सिपाहीले उनको उस्तादलाई यो गाउँमा तलासी नलिनु भनी प्रश्न गर्दा यो गाउँका घरहरू जति सबै उनीहरूको घर हो भनी उस्ताद बताउँछन् । संसारभरिका आमाहरूको ममता एउटै हुँदोरहेछ भन्दै आफूहरू देश र आमा बचाउँन निस्केका तर जन्मदिने आमाको हत्या गर्नलाई होइन अनि आफू नोकरीमा भइञ्जेल यस गाउँमा छापा मार्नैछैनन् भनी कबूल गर्छन् । छापामारहरू रित्तो हात निकै पर पुगिसके पनि ती औरत रोएकी हृदयविदारक चित्कारले उस्तादहरूलाई पछ्याइरहेको हुन्छ ।

८ । त्यो दिनको प्रतिक्षामा -
पचास हिउँदको छेउछाउ पुगेको, सोझा, रसिक प्रवृत्ति, मान्छे कालो नभए पनि मुहारभरि वितृष्णाको कालो पोतो लागेको, पाँच फिट एक इञ्च अग्लो तर रक्सी भेट्टाएमा कसैलाई नसम्झी पिएर आँखा राता-राता पारी कसैसित चुइँ नबोली घर पस्ने बानी गोपालको बानी वा हुलिया यस्तै छ । आजभन्दा वीस-पच्चीस वर्ष अघि हातखुट्टा बाँध्ने उत्कट इच्छामा काकाकुली छटपटे पनि अहिले गोपाल मुगलिसै छ । 'म' पात्रले जिस्काउने निहुँमा दुइ वर्ष अघि गोपाललाई एउटी केटीको कुरा गर्दा गोपालले मान्ली र भन्दा त्यो पछि को कुरा हो तर पहिले प्रस्ताव राख्ने अनुरोध गर्छ । तर प्रस्ताव राख्न जाँदा मातेर नजाने पनि 'म' सुझाव दिन्छ । 'म' पात्रको कुरा सुनेर गोपालले पिउनै छोड्छ । घर फर्कँदा सधै दङ्-दङ्ती गन्हाएर हिँड्ने गोपाल 'म'-को बिहेको प्रस्ताव सुनेदेखि यता सज्जन भई हिँड्न थाल्छ । निकै दिनसम्म यो सज्जनपन रहे पनि फेरि अवस्था ता उस्तै । लट्ठ मातेर 'म' पात्रलाई बेलिविस्तार लाउने क्रममा 'म' पात्र गाउँकी केटी अर्कैले भगाएको कुरा सुनाउँछ । विवाह गर्ने पक्कै इच्छा छ भनी सोध्दा पहिले थियो अब उसो छैन भन्ने चित्तदुख्दो उत्तर दिन्छ । कुरै कुरामा फेरि फोन बज्दा अबउसो मगनी-सगनी, बिहेको कुरा नगर्ने, अर्कैसँग पोइल गइहाल्ने रहेछ भन्दै पनि कुरा मिलाइराख्ने एकदिन मिलाएर जानुपर्छ भन्ने कुरा राख्छ । तर 'म' पात्रले रक्सी पिउनु चाहिँ छोड़्नुपर्छ भन्ने प्रस्ताव राख्दा आजैदेखि छोड़ीहालेँ पनि भन्छ । साँच्चै गोपालले रक्सी पिउन छोड़ेको धेरै भए पनि चाँजो मिलाएर पारी गाउँ जाने 'म' पात्रलाई जुरेको छैन ।

९ । अमूर्त प्रश्नहरू -
एउटा केटो गीत गुन्गुनाउँदै कोठाभित्र पस्दा भान्सा घरमा आमाले मुस्लो धुवाँमा खाना पकाइरहेकी हुन्छिन् । विद्यालयमा भर्ना हुनुपर्ने भएकोले आमालाई पनि विद्यालयमा जाने प्रस्ताव राख्छ । अन्तिम रोपाइँ परेकोले आमाले छोरोसित विद्यालय जान नसक्ने कुरा बताउँछिन् । भोलि हाजिरा पाएको पैसाले छोरोको खाता-किताब र पोशाक किन्नुपर्नेछ । छोरोको प्रस्तावलाई टार्दै आवश्यक परे भोलि जानेछु भनी छोरोलाई सम्झाउँछिन् । सबैका बाबा, दाज्यू, दिदीहरू अभिभावकको रुपमा विद्यालय आए तापनि छोरो सधैँ एक्लै जानुपर्ने कुरा सुनाउँछ आमालाई । खाना खाइसकेपछि आवश्यक कागज-पत्र बोकी छोरो विद्यालय लाग्छ भर्ना हुनलाई । प्रधान अध्यापकले विद्यालयमा उपस्थित नानीहरूको नाम रजिष्टरमा टिप्दै जाँदा आफू एक्लै विद्यालय जाने केटोको पालो आउँदा अध्यापकले अभिभावकको नाउँ सोध्दा सजिलैसित छैन भन्ने उत्तर पाउँछन् । कसले पाल्छन् भन्ने प्रश्नको उत्तरमा केटोले घरमा भएकी एकजना महिलालाई नै आमा भन्ने गरेको कुरा सुनाउँछ । केटोको गम्भीर जवाब सुनेर प्रधान अध्यापकले घरमा भएकी महिलाका पुरुष थिएऩन् भनी उल्टो प्रश्न गर्छन् । सायद थियो तर केटो जन्मिनुभन्दा केही महिना अघि ती पुरुषले अर्कै आमा लिएर कतै गएपछि उसले पुरुष नाम गरेका पिताले देख्न नसकेको कुरा खुलस्त पार्छ । प्रसङ्ग बदलेर आमाको जीविकाबारे सोध्दा आमाले संसार पाल्ने काम गर्ने कुरा बताउँछ प्रधान अध्यापकलाई । संसारमा पाल्ने काम के हो भन्ने जिज्ञासा केटोले धान रोप्ने काम बताउँछ । अन्त्यमा केटोले आफ्नो नाम शेखर बताए पनि बाबाको नाम भन्न नसक्ने कुरा बताउँछ । केटो जन्मिनु अघि केटोलाई छोड़ेर जाने पुरुष मान्छेको नाम थाहा नभएको कुरा गर्दै ती पुरुषमाथि शङ्का रहेको कुरा पनि खुलस्त पार्छ । कारण ती मानिस केटोकै पिता हुन् भन्ने ठोस प्रमाण नभएको कुरा पनि जनाउँछ । नानी जन्मिँदा पिताको दाग, चिन्ह लिएर आएको हुन्छ भन्ने केटोको प्रश्नलाई स्वीकार गर्दै प्रधान अध्यापकले हुँदैन भनी बताउँछन् । त्यसो भए मानिस फलानु व्यक्तिकै सन्तान हो भन्ने प्रमाण कसरी लाउन सकिन्छ भन्ने केटोको प्रश्नको उत्तर नदिई शेखरलाई अझ पढ़्दै गएपछि मात्र यस्ता प्रश्नहरूको उत्तर थाहा पाइन्छ भन्दै केटोलाई पढ़्दै जाने आदेश दिन्छन् । त्यसपछि भविष्यमा केटोलाई आमाले पाल्न नसकेको खण्डमा प्रधान अध्यापकलाई जनाए सबै खर्च उनले नै बेहोर्ने आश्वासन दिन्छन् । नवौं श्रेणीमा भर्नाको निम्ति आमाको नाम सोध्दा केटो एकक्षण स्तब्ध हुन्छ । केटो मौन बसेको देखी केटोलाई पालिरहेकी महिलाको नाम सोध्दा केटो आफू ती महिलालाई आमा भने पनि अरु कसैले बोलाउँदा मनिता ठाकुर भन्ने गरेको कुरा स्पष्ट गर्छ । शेखर बाहिर पुगिसके पनि प्रधान अध्यापक पूर्वस्मृतिमा डुबी उनले आजसम्म स्मरण गर्दै पिता पूजेका धर्मदत्त उनकै पिता थियो के ता भन्ने प्रश्नले प्रधान अध्यापकलाई चिर्थोर्छ र यो जीवन-जगत् सत् असतको मधुर समन्वयको परिचय रहेछ भन्ने निर्णयमा पुग्छन् । ढोकामा लामो लहरमा ठेलम्-ठेल गर्दै उभिएका विद्य़ार्थीहरू तैँछाड़् र मैँछाड़् गर्दै भित्र पस्ने अनुमति मागेका होहल्ला सुनेर प्रधान अध्यापक पूर्वस्मृतिबाट फर्कन्छन् ।

१० । शहरभित्रको एउटा घर -
दसैँको छेक छ । गाउँ-घर, बजारका सबै मानिसहरू दसैंको स्वागतमा व्यस्त देखिन्छ । गाड़ी र मान्छेहरूको आवत-जावतले सिङ्गो पहाड़ खुसीले मातिएको छ । 'म' पात्र कर्जा लिनलाई ब्याङ्क जानलाई गाड़ीबाट ओर्लेर सहरको मध्यभागमा ओर्लिन्छ । ब्याङ्क पुगी कर्जाबारे सम्बन्धित अधिकारीलाई सोध्दा उनले 'म' पात्र' - लाई भोलि आउने कुरा गर्छन् । सामान्य कर्जाको निम्ति ब्याङ्कमा चार घण्टासम्म बिताएपछि 'म' पात्र' हतार-हतार मोटर स्ट्याण्डतिर लाग्छ । एउटा कुनामा सामान्य वस्त्र पहिरिएकी महिला पाँच पोका सिस्नुको फूल बेच्न बसेकी हुन्छिन् । दुब्लो पातलो शरीरमा पनि एउटा आँखा मुन्तिर नीलो डामजस्तो दाग 'म' पात्र'-को नजरमा परिहाल्छ । सिस्नुको फूल सोध्दा दस रुपियाँ हो भन्दै यसले प्रेशर पनि कम्ति हुने कुरा बताउँछिन् । 'म' पात्र'ले एक पोका लिएर दस रुपियाँ भुक्तान गरी सिस्नुको फूल लिन्छ । पाँच पोका सिस्नुको फूल बेचेर घर कसरी चलाइऩ्छ भन्ने 'म' पात्र'को प्रश्नको उत्तरमा चलिहाल्छ भन्ने कुरा बताउँदै बिहान बेलुकी एकजना अनेपाली साहेबको घरमा खाना पकाउने कुरा बताउँछिन् । उनको श्रीमान पेशाले काठ मिस्त्री, र उनको कमाइ उनलाई नै पुग्दैन भन्ने कुरा बताउँछिन् । सिस्नुको फूल बेच्ने महिलाले उनका पतिको बारेमा बखान्छिन् । राति मातेर आउँदा किन यस्तो मातेको भन्दा घुस्सीले हिर्काएर आँखा झण्डै फुटाइदिएको कुरा बताउँछिन् । सिस्नुको फूल बेचेकी पैसाले नानीहरूलाई खाता-पेन्सिल किनिदिने कुरा पनि जनाउँछिन् । झण्डै झण्डै फुटेका आँखाले पनि एउटा खुसीको घर हेर्न चाहँदोरहेछ भन्ने कुरा 'म' पात्र'-लाई खुलस्त हुन्छ ।

११ । सपनाका छालहरूमा -
अधवैंशे उमेरको डिलमा पुगेको अरुण शरीर सँगै सोचाइँमा स्वस्थ छ । टाड़ैबाट आमाले बोलाउँदै, अरुणका पिताबारे बखान्नुसम्म बखान्छिन् । अरुणका बाबाले ज्यान दिएर परिवारको भरण पोषण गर्नाका साथै छोरो अरुणकै पढ़ाइमा भएका कमाइ फुर्मास भइहाल्ने कुरा बताउँछिन् आमाले । बाबु-आमाले सोंचेजस्तो विद्यालयमा छोरोलाई पढ़ाउन नसके पनि छोरो जे छ ती सबै अरुणको बाबुको समर्पण हो भन्ने कुराको बेलिविस्तार लाउँछिन् । तर अरुणले यी सबै सपनामा देखेको मात्र रहेछ । बाबालाई भेट्ने उत्कट इच्छा भएकोले एक बोतल लिएर अरुण बाबाकहाँ पुग्छ । बाबाको चरणमा एक बोतल दूध राखी बाबाको खै गर्छ । कामको चटारोले बाबालाई भेटेर सपना देखेका कुराहरूको नालीबेली लाउने उद्देश्यमा बाबाकहाँ पुग्छ । कामको चटारोले आउन नसकेकोमा बाबा रिसाए होलान् भन्ने प्रश्न गर्छ । बाबाको पहिरन छ वा छैन भन्दा बाबाले अरुणकै सानी छोरीको स्कूलको स्वेटरको कुममा फाटेको कुरा झिक्दै उसैलाई नयाँ स्वेटर किनिदिने आदेश दिन्छन् । बाब भ्रमण पिपासु भएकाले अरुणले बाबालाई घुम्न जाने मन छ भनी सोध्दा बाबाले संसार देखिसकेका कुरा बताउँछन् । घुमाउनु नै पर्ने हो भने बुहारीलाई सन्दकपू-फालुटतिर घुमाउने आदेश दिँदै घर उनीहरूले हेरिदिने कुरा बताउँछन् बाबाले । अरुण आफू सिलिगुड़ी जाने भएकोले बाबालाई फल खाने इच्छा सोध्दा बाबाले ल्याउँनु नै हो भने नातिको परीक्षा नजिक भएकोले उसलाई पौष्टिक आहार ल्याएर खानु दिने आदेश गर्छन् । बाबालाई चाहिने कुराहरूमाथि खै गर्दा उनले अरुणकै परिवारको निम्ति खर्च गर्ने कुरा गरेका कुरा गर्दै आफूले सपना देख्नुका साथै आमाले भनेका कुराहरूको सम्पूर्ण नालीबेली सुनाउँछ । बाबालाई आमाले छोड़ेर गएकी कुरा गर्दै चौध वर्ष बितिसकेको कुरा गर्छन् । भाउज्यूले चिया लिएर आई बाबालाई दिँदा मात्र उनको ध्यान भङ्ग हुन्छ । बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै अरुणले अब उसो आमा बितेकी दिनमा उनको आत्मिक शान्तिको निम्ति उपवास बस्ने वचन दिएर अरुण घरतिर लाग्छ । नानीहरू स्कूल जानलाई घरबाट निस्किरहेका देख्छ । साँच्चै सानी छोरीको स्वेटरको कुमनेर केही धागो फुस्केको प्रष्ट देख्छ अरुणले ।

१२ । यथार्थको उदघोषणा -
प्राइभेट स्कूलकी पच्चीस बसन्त छिचोलिसकेकी शिक्षिका मोना अङ्ग्रेजी पहिरनमा स्कूल जान तयार हुन्छे । बान्किलो रुप रङ भएकी मोनालाई पेण्ट, शर्टमा हावाजहाजकी परिचारिकाजस्तै देखिन्छ । पचास हिउँद सिद्ध्याइसकेकी आमा घरमै भए पनि मोनाका पिता सीमा सुरक्षा गर्दा गर्दै केही वर्ष अघि शहिद भएका हुन् । बाबा बितेपछि पारिवारिक, सामाजिक आफ्नो काँधमा बोकेर जसतसो जीवन धानिरहेकी छे । गाउँ-घरमा उनका दौँतरीहरूले धेरैले उनको ईर्ष्या गरे पनि मोना कसैसित नराम्रो व्यवहार गर्दिन । विद्यालयको एउटा कार्यक्रममा अभिभावकहरू बाहेक पनि विदेशी पर्यटकहरूको समागम देखिन्छ । विभिन्न कार्यक्रम माझमा एकजना पर्यटक मञ्चमा आएर मोनालाई सामान्य बोल्ने अनुमति माग्दा मोनाको अनुमति पाएर पर्यटक आफ्नो सम्भाषण पेश गर्छन् । अङ्ग्रेजी भाषामा बोलेका सम्भाषणमा, विद्यालयका सम्पूर्ण नानीहरू उनकै छोरा-छोरीजस्तो लागेकोले विद्यालयको उत्थानको निम्ति उनले विद्यालय परिसरमा एउटा पुस्तकालय निर्माण गर्ने र त्यसको निम्ति अनुमति अनुनय गर्छन् । उनको कुरा सुनेर विद्यालय कुनै अभिभावक नभएकोले अभिभावकहरू स्तब्ध हुन्छन् । अभिभावकबाट सठिक अनुमति नपाउँदा युवा पर्यटक स्वयम् लज्जित भएको अनुभव गर्छन् । मोनाले यसको अनुमतिको निम्ति विद्यालयका प्राचार्य एवम् सञ्चालन समितिको अनुमति लिनुपर्ने कुरा राख्दा युवा पर्यटकले सम्बन्धित अधिकारीसित अनुमति लिनुपर्छ भन्ने कुरो जनाउँछे । स्थानीय ठेकेदार र स्वयम् पर्यटक समेत पुस्तकालय भवन निर्माण गर्न लागिपर्छन् । दुइ महिनापछि एउटा सुन्दर विद्यालय पुस्तकालय भवन निर्माण हुन्छ । उक्त पुस्तकालय भवनको नाम उनै पर्यटकको नाममा मार्टिन भवन राख्दा शहरदेखि कौशौं टाड़ामा रहेको दुर्गम क्षेत्रमा आफ्नो नाम चलेको देखेर पर्यटक भक्कुमारी खुशी नहुने ता कुरै आएन । आफूले सोंचेजस्तै पुस्तकालय भवन निर्माण भएपछि पर्यटक मार्टिनले उक्त पुस्तकालय भवनलाई विद्यालयका विद्यार्थी लगायत अभिभावकवर्गलाई सुम्पन्छन् । यसपछि एउटा रोचक कार्यक्रम शिक्षिका मोनाकै उदघोषमा आरम्भ हुन्छ । कार्यक्रम सिद्धिएपछि साँझमा मोनालाई पुऱ्याउन मार्टिन मोनाको घरसम्म आउँछन् । आमासित परिचय गराउँछे मोनाले । मोनाले चिया दिएपछि मोना एक्लै भएकी बेला मार्टिनले मोनालाई हृदयभित्रबाटै मनपराएका कुरा गर्दै मोनाले मार्टिनको प्रस्ताव स्वीकारी भने बिहे गरेर उनको देश लाउऩे कुरा राख्छन् । तर जाति र संस्कृतिको मरिमेट्नुका साथै संस्कारमा हुर्केकी पहाड़ी बालाले जस्तै कुरुप भएपनि आफ्नै सम्प्रदायकै केटोसित बिहा गर्ने अनि कुनै परदेशीसँग बिहे नगर्ने कुरा गर्दै क्षमा माग्छे । पर्यटकले पनि प्रत्युत्तरमा उनी यहीँ ठाउँमा बसेर उमेर बिताइदिने कुरा गर्दै मोनालाई कुनै अवस्थामा पनि छोड़्न नसक्ने कुरा गर्छन् । मोना धर्मसङ्कट परे तापनि मोनासित बिहे गर्नु नै हो भने पहिले यहाँका नागरिक हुनाका साथै बिहे गर्नलाई कुनै राम्रो डाक्टरबाट शारीरिक जाँच गराएको प्रमाण-पत्र ल्याएर मोनालाई सुम्पिनुपर्ने अनि मात्र पर्य़टकसित कोर्ट म्यारेज गर्न तयार हुने कुरो बताउँछिन् । मोनाको सबै कुरा मार्टिन स्वीकार गर्छन् । निकै दिन पछि विद्यालय विदा भएकोले मोना घरमै बसिरहेकी बेलामा मोबाइलमा मार्टिनको फोन आउँछ । कुरा गर्दागर्दै, मार्टिन मोनालाई माफ माग्दै उनी आफ्नो देशमा फर्केका कुरा सुनाउँछन् । डाकटरकहाँ गई शारीरिक जाँच गराउँदा उनलाई 'एडस्' भएकोले फेरि पवित्र गाउँमा फर्कन नचाहेर आफ्नो देश फर्केका कुरा जनाउँछन् । यो कुरो सम्पूर्ण गाउँवासीलाई दिने अनुरोध गर्दै सबै चेलीबेटीहरू मोनाजस्तै दृढ़ विचारका बनुन् अनि आँखा चिम्लेर कसैसँग पनि बिहे नगरून् भन्ने सन्देश दिन्छन् । त्यसपछि फोन काटिन्छ ।

१३ । महत्वाकाङ्क्षा -
डम्पिङ ग्राउण्डमा थुप्रेका पोलिथिनका थैलाहरू, प्लाष्टिकका सामानहरू बटुलेर बजारमा बेच्नेहरूमध्ये सलिमा र उसकी ६ वर्षे जतिको छोरो सुलेमान पनि प्रमुख हुन् । सुलेमान सलिमाको गर्भमा छँदै उसको पिता अर्काको बारीमा काम गर्दा सर्पले डँसेर मरेको हो । त्यसपछि सलिमा आफ्नो गाउँ छोड़ी यता आएर यो काम गर्न थालेकी हो । यी दुइ आमा छोरा दिनभरि प्लाष्टिकको थैलो बटुलेर आफ्नो जीवन धान्छन् । एउटा खण्डहरको एक पाखे छानोको भित्तालाई आफ्ना टाउको लुकाउने ठाउँ बनाइएको छ । थुपारिएका प्लाष्टिकका थैलाहरू खाँदिएका बोराहरूले बारेर यिनीहरूले आफ्नो कोठा बनाएका छन् । बाटामा एकजना महिला पुलिस अधिकारी काँधमा तारा लगाएर हिँड़ेकी देख्दा सुलेमानले पनि उसकी आमा पनि यस्तै हुँदा हुन् ता सुलेमान बोरा बोकी हिँड़्नुभन्दा स्कूल जानसक्ने थिएँ भन्ने कुरो मनमनै सोंच्छ । यो कुरा सोंच्दा सोंच्दै यिनीहरू दुइ आमा-छोरा फेरि उही डम्पिङ ग्राउण्डमा आइपुग्छन् । पोलिथिन र प्लाष्टिकको थैला खोज्ने क्रममा सुलेमान निकै तल पुग्छ । आमाले त्यस्तो तलतिर नजाने लाखेस् गर्छ । तलबाट सुलेमानले एउटा पोकामा जिउँदै नानी रहेको र मुखमा लुगाले बाँधेको कुरा सुनाउँछ । सलिमा पनि हत्त न पत्त त्यहाँ पुग्छे । सलिमाले त्यो नानीको मुखको लुगा खोलिदिँदा नानी च्याँर्-च्याँर रुन्छ । सलिमाले नानीलाई आफ्नो मैलो र कटकटिेको साड़ीमा पोको पारी अलि माथि ल्याउँछे । त्यसपछि नानीलाई सलिमाले आफ्नो मुण्टो नानीको मुखमा राखिदिन्छे । नानीले मुण्टा मज्जा मानेर चुसिरहन्छ । यतिबेला आफ्नो फुच्चे छोरोसामु कुन्नि कस्तो लाज लाग्छ । नानीले सलिमाको सुकिसकेको स्तनबाट कति दूध चुस्न सक्यो वा सकेन थाहा नभए पनि मातृत्वको न्यानो आभास पाएर नानी मस्त निदाउँछ । सालिमा सुलेमानलाई यो नानी छोरी रहेकी कुरा बताएपछि सुलेमानले पनि त्यसलाई उसकी बहिनी ठान्छ । बेलुकी सालिमाले आफू बसेको ठाउँ छोड़्ने निर्णय गरी कसैको खेतमा काम गर्ने निधो गर्छे । सुलेमानले यसको कारण सोध्दा यो नानीलाई डम्पिङ ग्राउण्डबाटै भेटेर ल्याएको पुलिसले थाहा पाए पक्रन्छ भनी छोरोलाई बुझाउँछे । त्यो नानीको नाम सुमेरा राखिन्छ । सुमेरा सालिमाको गर्भमा नबड़े पनि उसको कर्ममा बढ़्नुपर्छ भन्दै छोरीको निम्ति आफूलाई पूर्णरुपले समर्पण गर्ने सालिमाले प्रण गर्छे । भोलि नयाँ ठाउँमा गई सालिमाले एक्लै काम गर्ने निर्णय लिनाका साथै यी छोरा-छोरीलाई पढ़ाउनुका साथै बढ़ाउने कुरा सोंच्दा सोंच्दै भुसुक्क निदाउँछे ।

१४ । चिट्ठीको पृष्ठभूमि -
सुनयना केही लेख्दै फेरि च्यातेर फ्याँकिदिन्छे । आमा भित्र पसेर हेर्दा छोरीलाई मौन अवस्थामा देख्छिन् अनि लेख्दै च्यातिएर फ्याँकिएका कागतहरू टिपेर हेर्छिन् । ती कागतहरू हेरेर आमाको आँखाअघि एउटा पीड़ामा वेदना आँखा अघि नाच्छ । च्यातिएका कागतका टुक्राहरू टिपेर आमा भित्रतिर पसेर विगत सोंच्न थाल्छिन् । बाइस भञ्ज्याङ नाँघेकी सञ्जयकी दिदी कल्याणीलाई घरका जेठो छोरोको निम्ति मगनी गर्न अपरिचित मानिसहरू आँउछन् । कल्याणीले भित्र बसेर यी सबै कुराहरू सुनिरहेकी हुन्छिन् । दिदी कल्याणीले भाइ सञ्जयलाई कोठाभित्र सबै कुरा बताएपछि केटो को हुन् अनि के काम गर्छन् भनी खै गर्दा सञ्जय कोठा बाहिर दिदीका प्रश्नहरू राख्दा, केटापट्टिका केटोको नाम बिक्रम र विद्यालयका शिक्षक हुन् भन्ने शिक्षक हुन् अनि घरमा आमा र बहिनी बाहेक अरू कोही छैनन् भन्ने जानकारी दिन्छ । आमा-बाबा केही वर्ष अघि बितिसकेकाले दिदी कल्याणीलाई उनलाई हुर्काइ बड़ाइ गरेकी हुन् भनी सञ्जयले पनि आफ्नो गुनासो पोख्छ । यसपछि दिदी कल्याणी सरकारी नोकरी गर्ने हुनाले दिदीले तपाईहरूको घर भनेजस्तो हेर्न सकिनन् भने उनको दिदीलाई कुनै हेला-होंचो नहोस् भनी आफ्नो प्रौढ़तापूर्ण भाषामा व्यक्त गर्छ । सबै कुरा ठामठिम भएपछि सञ्जयले दिदी कल्याणीलाई घरबाट अन्भाई पठाउँछ । समय बित्दै गएपछि कल्याणीले सुनयना नाउँ गरेकी छोरी जन्माउँछिन् । सोही वर्ष पदोन्नति भई कल्याणी अर्को ठाउँमा सरुवा हुन्छिन् । छोरी सुनयनालाई आफूसँगै राखेर आफ्नो कार्यथलोमा बस्न थाल्छिन् । विद्यालयको जिम्मेवारी सम्हाल्नु परेको सुनयनाका बाबा बिक्रम बेला-बखत कल्याणीकहाँ आएर सबै कुरो बुझी फेरि आफ्नो कार्यथलोमा फर्कने गर्थे । सुनयना पाँचौं श्रेणी पढ़्दाहुँदी बिक्रमको जीवनमा अपत्यारिलो परिवर्तन आउँछ । एकदिन छोरी र स्वास्नीलाई भेट्न आएर केही नसहने कुरा गरी घरमा झगड़ा गर्न थाल्छन् । घरमा रड़ाँको मच्चाई राखेर बिक्रम आफनो घर फर्कन्छन् । वर्ष दिन बित्यो । सुनयना सात किताब पढ़्ने हुँदासम्म बिक्रम स्वास्नी-छोरीलाई भेट्न आउँदैनन् । त्यसभन्दा बिक्रमले कल्याणीले स्वीकृति दिएको खण्डमा कल्याणीलाई छोड़्न तयार रहेको चिठी पठाइसकेका थिए र तुरुन्तै जवाफ समेत मागेका थिए । लोग्नेको चिट्ठी पढ़िसकेर कल्याणीलाई एकैचोटि हाँगाबाट खसेजस्तै नै हुन्छ । आमा कल्याणी रोएकी देखेर छोरी सुनयनाले आमालाई आफ्नो बाहुपाशमा कस्दै आँशु पुछिदिन्छे । त्यतिबेला सुनयनाले बाबालाई एउटा चिट्ठीमा सुनयनाले आफ्नो जन्मदिनमा केही नमागे पनि बाबालाई जन्मदिनमा उपस्थित भएर उनको साथीहरूलाई बाबा भनेर चिनाउने मनसायले लेखेकी कुरा बताउँदै चिट्ठी सठिक भयो वा भएन भनी सोध्दा आमा कल्याणी आँखाभरि आँशु पारेर छोरीलाई निर्निमेष हेरिरहन्छे ।

१५ । प्रहेलिका -
दुइ सन्तान (छोरा, छोरी) र श्रीमतीका धनी गाउँकै विद्यालयमा किरानी काम गर्ने हर्कजङका गाउँ घरमा 'मोटे सर' नाउँमै परिचित छन् । निष्ठापूर्वक काम गर्ने मोटे सर घर फर्किँदा सधैँ पिएर घर पस्छन् अनि घरमा आई झगड़ा गर्छन् । दोस्रो किताब पढ़्ने छोरी बिल्लुले रक्सी पिउँदा कस्तो हुन्छ भनी आँटै गरेर सोध्छे । नानीहरूलाई नराम्रो असर नपरोस् भनी कस्तो पनि हुँदैन भनेर टार्छन् । त्यसो हो भने किन पिउनुभएको भन्दा आमाले रातदिन गाली गरेर पीर पारेकोले पिएको भनी आफ्नो स्पष्टिकरण दिन्छन् । आमाले पिउँदिन ता भन्दा झर्को मान्दे हर्कजङ उफ मोटे सर आमालाई नै गएर सोध भनी टार्न खोज्छन् । बालसुलभ हृदयभएकी बिल्लुले यही प्रश्न आमालाई गर्दा आमाले पनि घुर्की देखाउँदै रक्सी पिउने बिल्लुका आप्पाजस्ता अनि नपिउने पल्लो घरका सहदेव सरजस्ता हुन्छन् भनी आफ्ना शिक्षक पति र अर्का शिक्षकसितको तुलना गरेर सुनाउँछिन् श्रीमती हर्कजङ । आफ्ना आप्पालाई केटाहरूले 'मत्थु सर' भनेका सम्झिँदै आप्पा मातेर आई जुत्तैसँग ओछ्यानमा सुतेका सम्झन्छे । मातेर चूर भई आएर भूस भई सुतेका देखेर छोरो बिरुले आमालाई आप्पा झगड़ी नगरी सुतेका कुरा सुनाउँछ । आमा झर्किँदै भोलि नै आप्पालाई सोध्ने कुरा गर्छिन् । भोलिपल्ट बिरुले आप्पालाई अब उसो सधैँ पिएर आउने अनुरोध गर्छ । आप्पा वा मत्थु सरले बिरुलाई किन भनी सोध्दा बिरुले हिजो झगड़ा नगरी सुतेकामा आनन्द लागेको कुरा बताउँदै रक्सी पिउँदा के हुन्छ भनी प्रश्न तेर्साउँछ । पीर भुलिन्छ भन्ने आप्पाको उत्तर पाएर पीर कस्तो हुन्छ भनी फेरि प्रश्न गर्दा आमालाई सोध्ने निर्देश दिन्छ । अर्कोदिन हर्क सर ठ्याम्मै नपिइकनै घर पस्दा घर परिवार आश्चर्यचकित हुन्छन् । दिदी बिल्लुले भाइ बिरुलाई आप्पा नमाती आएको कुरा सुटुक्कै भन्छे । छलकपटविहीन हृदय भएको बिरुले रक्सी खाँदा खाँदा आप्पाको पीर सिद्धियो भन्ने आफ्नो विचार राख्छ । साँझ परिसकेको बेलामा हर्कजङ सर उर्फ मोटे सर उर्फ मत्थु सरले दुवै छोरा-छोरीलाई स्नेहपूर्वक बोलाएर पैसा दिँदै वल्लो होइन पल्लो आजिलाकोबाट एक बोतल रक्सी लिएर आऊ भन्दै चकलेट किनेर खानलाई पैसा पनि दिन्छन् । रित्तो बोतल बोकेर नानीहरू आजिलाकहाँ जान्छन्...निक्कै रात छिप्पिसक्दा पनि नानीहरू घर ऩआइपुगेकाले श्रीमती हर्कजङ गन्गनिँदै आजिलाको दोकानतिर जान्छिन् । बाटाको छेउमा नालीमा केही चल्मलाएजस्तो लागेर राम्ररी नालीतिर हेर्छिन् । नालीमा उनकै छोरा-छोरी लड़िरहेका देखी उनीहरूलाई उठाएर घर ल्याउँछिन् । दुवैको मुखबाट ह्वास्सै रक्सी गन्हाइरहेको थाहा पाउँछिन् । छोरो बिल्लुको अनुहारमा पानी छ्याप्दै नानीहरूलाई के गरेका भन्दा बिल्लुले आमालाई पीर भुल्न भनी जनाउँछ । आमाले के को पीर भनी सोध्दा, रात दिन तपाईहरू सधैँ झगड़ा मात्रै गरेकाले उनीहरूले पढ़्न नपाएका र हामी फेल भएकाले फेलको पीर भुल्न मातेका हौं भन्ने कुराको सङ्केत दिन्छ । हर्कजङ सर बिलखबन्द परेर नानीहरूलाई निर्निमेष हेरिरहन्छन् अनि अबदेखि कहिल्यै पनि नपिउऩे कबूल गर्दै कान समात्छन् । पारिवारिक द्वन्द्व सम्झिन्छे आमाले अऩि उनीहरूको मानसिक द्वन्द्वमा घरको मूल खाँबो नै हल्लिरहेको अनुभव भइरहन्छ ।

१६ । आधार कार्डका आधारहरू -
बर्खा याममा गराको अन्तिम झार गोड़िहाल्छु भनी सोंच्दै कर्णधोज एकक्षण रुखको छायामा ओत लागी पसिना पुछिरहेका बेला बारीको पल्लो कान्लामा उसकी स्वास्नी गौरी देखा पर्छिन् । लोग्नेलाई घरबाट ल्याएकी मही सिल्भरको मगमा सारिँदिँदै अब रहेका आठ-बाह्र गह्रा गोड़्नु आफूले पनि सघाउने कुरा गर्छिन् । मही स्वाट्ट पारी कर्णधोज फेरि गह्रातिर लाग्छन् । बारीमा काम गर्दै गर्दा माथि डाँड़ाबाट डाकवालाले बोलाएका सुनेर कर्णधोजले बारीमै बोलाए । डाकवालाले कर्णधोज र उनकी श्रीमतीको आधार कार्ड आएको कुरा सुनाउँछन् । कुरै कुरामा गौरीले आठ बेच भइसकेकी काली गाई बेच्ने लोग्नेलाई प्रस्ताव राख्छिन् । बुड़ी गाई कसले किन्ला अनि बुड़ी गाई बेचेर कसैलाई भुपार्नु हुँदैन भनी गौरीको प्रस्ताव सोझै कर्णधोजले नकारीदिन्छन् । गौरी अरु बोल्न सक्तिनन् बरु उनलाई पहिला काली गाई बियाउँदाको सम्झना हुन्छ । त्यतिबेला छोरा रतनले भर्खर दस वर्ष टेकेको हुन्छ । बिगौती भनेपछि हुरुक्कै हुने रतनले चौथो श्रेणीमा फेल गर्दा बाबु चाहिँको सामान्य झपऱ्याइँमा रतन घरबाट निस्केर गएको सत्र वर्ष नाँघिसकेको हुन्छ । फेरि एकदिन डाकवाला देखा पर्छन् । डाकवालाले रतन कुमार, पिता कर्णधोजको नाममा आएको अर्को एउटा नयाँ आधार कार्ड दिएर जान्छन् । आधार कार्डको खाम खोलेर हेरेपछि हराएको छोरो रतनको फोटो देखेर आँखाभरि आँशु पारी छोरो डड़ाँक भएको कुरा सनाउँछन् । कर्णधोजको हातबाट छोरोको आधार कार्ड लिँदै कार्डमा भएको छोरोको फोटो हेरेर बररर... आँशु झार्दै थ्याच्च बसी रुन थाल्छिन् । छक्क परेर हेरिरहेका डाकवालाले दहीको कुरा गर्दा दही नभएकोले भर्खरै धोएर ल्याएको बिघौती खुवाउँछु भनी आँशु पुछ्दै भित्र पस्छन् ।

१७ । चर्किएको पहाड़मा कालो पानीकागज -
पैह्रो गएर, पैह्रोले पुरिएर पहाड़ चर्किएको छ । चर्केको पहाड़लाई पानी-पैह्रौबाट जोगाउनुलाई कालो पानीकागज वितरण गरिएको छ । जताततै कालै कालो पानीकागज देख्दा कालो झण्डा देखाएर विरोध गरेजस्तो लागिरहेछ । चर्किएको पहाड़लाई कालो कागजले कहिलेसम्म छोपेर राख्ने हो भन्ने प्रश्न प्रत्येकको मनमा उब्जन्छ । प्रकृतिले जतिनै ताण्डव मच्चाए पनि मतदानको देउसी खेल्नेहरूको नाकमुख केही देखिँदैन । आए पनि चर्किएको मनमा पानी छर्की सामन्तको पानीकागज ओड़ाएर समग्रता बटुली आ-आफ्नो ढिकुटी भर्न आउऩे चलन चलेको देखिन्छ । 'म पात्र' कालो पानीकागजसित डराउनु मात्र होइन हताश भइरहेछ । यी ओड़ाइएका पानीकागजले कसैको प्रतिनिधित्व गर्ने कुरा 'म पात्र'-लाई याद भइसकेको छ । यहाँ ओछ्याइएको कालो पानीकागज जति सबै निमिट्यान्नै पारेर सामूहिक यथार्थता देखाउने समय आएको छ भन्ने 'म पात्र'-को आशय देखिन्छ ।

१८ । पञ्चमावतार -
चरा भनेपछि हुरुक्कै र भुतुक्कै हुने रविकान्तले पनि आफूलाई ईश्वरसित अर्को जुनीमा चरा बनाइदिने विन्ति बिसाउँछ । उसले रविकान्तको विन्ति स्वीकार्दै उसको मृत्युपछि साँच्चै रविकान्तलाई चरो बनाइदिन्छ । रविकान्त सुन्दर चरा भएपछि मानिसहरूमाझ आफ्नो सुन्दरता प्रदर्शन गर्दाहुँदी एउटा ठिटोले समाती पिञ्जरामा थुन्छ । त्यतिबेला मात्र चरालाई आफ्नो स्वतन्त्र जीवनको सम्झना हुन्छ । पिञ्जराबाट खेत-खलियानमा गाईवस्तु चरिरहेका देखेर ईश्वरले फेरि अर्को जन्ममा पशुको जीवन पाउँ भनी अनुनय गर्दा ईश्वरले पनि उनलाई गोरुको रुप दिन्छन् । लहलह उम्रेको घाँस खाँदै आनन्दनाभूतिमा मक्ख परिरहेको समयमा गोरुका मालिकले त्यसलाई कसाइको हातमा बिक्री गरिदिने कुरा सुनेर गोरुको नौनारी फत्रक्कै गलेर आउँछ । यो कुरा सुनेर मनमनै फेरि ईश्वरलाई अर्को जुनीमा एउटा हरियो पात भएर उम्रिने वरदान माग्छ । गोरुको हत्यापछि रायोको सागको वरदान पाएर लबलहाउँदो साग भएपछि मानिसहरूले मण्टोमै चुँड़्याइँ भुटेर खान थाल्छन् । यस्तो अधमरो जीवन बिताउनुभन्दा बरू अबको जुनी ईश्वरकै चरणमा रहिरहन पाउँ भनी विन्ती चढ़ाउँदा ईश्वरले उसको अन्तिम इच्छाको कदर गर्दै तिनलाई पारिजातको फुल बनाइदिन्छन् । त्यसपछि रातभरि फुलेर बिहान झरेपछि भक्तजनले त्यो पारिजातको फूललाई ईश्वरको चरणमा चढ़ाउन थाल्छन् । त्यसपछि मात्र रविकान्त चीर शान्तिमा मग्न हुन्छ ।

१९ । शाश्वत् धारणा -
आँखा देख्न नसक्ने, पूरै अन्धी भइसकेकी कुरा सासूले बुहारीलाई बताउँछिन् । बुहारीले पनि सान्त्वना दिँदै सासूको निम्ति आफू रहेकी र छोरो पल्टनबाट आएपछि तुरन्तै आँखा अस्पतालमा लगी अप्रेशन गर्ने आश्वासन दिन्छिन् । एउटै मात्र छोरो प्रकाश गत सात वर्षदेखि परिवार धान्नका साथै देशको रक्षार्थ परदेश लागेको छ । प्रकाश दुइ वर्षदेखि घर आएको छैन । बुहारीले चिया लिएर आउँदा सासूले उनको छोरो प्रकाश कहिले आउने हो भनी सोध्छिन् । फोन गर्दा तीन-चार महिनापछि आउँछु भनेका कुरा सासूलाई बताउँछिन् बुहारीले । एउटा वेदनामय उच्छवासमा डुबेको समयमा चिया छाम्दा कपको छेउमा हात लाग्दा चिया झण्डै पोखिन्छ । बुहारीले सम्हालेर सासूको हातमा चिया राखिदिन्छिन् । सासूले गीत गाइरहेकी बेला बुहारीले छोरोको फोऩ आएको कुरा सुनाउँदै आमाले प्रकाशसित बात गर्ने कुरा गरेकी कुरा जनाउँछिन् । आमाले प्रकाशलाई आँखा नदेख्ने कुरा गरेपछि अरुका छोराहरू पल्टनबाट दुइ-तीन महिनाको लामो छुट्टी लिएर आउँछन् तर प्रकाश चाहिँ दुइ वर्ष भइसक्दा पनि ठ्याम्मै घर नआएको कुरा सुनाउँछिन् । यसपाली ता जसरी भए पनि पन्ध्र दिनको भए पनि छुट्टी लिएर आइज भन्ने आमाले इच्छा जाहेर गर्दै छोरोलाई देख्न नसके पनि छोरोको स्वर सुन्न र छोरोलाई सुम्सुम्याउन पाए पुग्छ भन्ने कुरो फोनमा छोरोलाई बताउँछिन् । दुइ हप्तापछि छोरो प्रकाश घर आइपुग्छ । प्रकाशले आमालाई आँखा अस्पतालमा भर्ती गर्छ ।अस्पतालमा सबै बन्दोबस्त भएकोले प्रकाश र बुहारी भोलि आउने कुरा गरेर घर फर्किन्छन् । भोलिपल्ट प्रकाश र बुहारी अस्पताल आएपछि डाक्टरले आमाको आँखा अप्रेशन गर्न सकिन्छ भन्ने कुरा बताउँछन् । आमाको सफलतापूर्वक अप्रेशन सम्पन्न हुन्छ । डाक्टरले आँखाको पट्टी खोल्दै सबभन्दा पहिले कसलाई हेर्ने भनी प्रश्न गर्दा आमाले सबभन्दा पहिले बुहारीको अनुहार हेर्ने इच्छा जाहेर गर्छिन् । आँखाको पट्टी खोलिएपछि पहिला बुहारीको केशराशी, निधार र सिउँदोमा सिन्दूर लगाएकी त्यसपछि आँखा र चञ्चल लहरहरू देख्छिन् । खुसी हुँदै छोरापट्टि फर्किँदा छोरो प्रकाश खुसी भएर हाँसिरहेको देखिन् । आमा खुसीले आँशु झार्न लागेकी देखेर आँशु पुछ्नलाई हात माथि उठाएपछि यसरी आँखामा आँशु आउनु हुँदैन भनी आमालाई सम्झाउँछिन् । तीनैजना घर आएपछि गाउँ घरका धेरै इष्ट-मित्रहरू भेला भइसकेका हुन्छन् ।

२० । अल्जाइमर -
अल्जाइमर रोगले 'म पात्र' ग्रसित छ । अरु ता भैगए तर 'म पात्र' स्वयमले आफूलाई पनि बिर्सेर छेउमा हुनेलाई आफ्नोबारे सोध्छन् । यही प्रश्न कहिले गाईलाई पनि सोध्ने गर्दछन् । कार्यालयमा 'म पात्र' बसिरहेका बेला कर्मचारीलाई म को हुँ भनी सोध्दा सायद ठट्टा गरेका होलान् अनि कसैले चाहिँ 'म पात्र' कार्यालयका प्रमुख हुनाका साथै समाजका प्रतिष्ठित व्यक्ति भएको कुरा भनिदिँदा आफ्नो वास्तविक स्थितिमा आएपछि प्रतिष्ठित व्यक्ति भएका हर्षले मक्ख परेर एउटा सीमासम्म पुग्छन् 'म पात्र' । एक हप्तापछि अल्जाइमर रोगले ग्रसित 'म पात्र' कहाँ दुर्बल, दीन-हीन, रोगी मान्छे उभिँदा 'म पात्र'को उही म को हुँ भन्ने प्रश्न दोहोरिन्छ । ती व्यक्तिले 'म पात्र'-सित सँगै पढ़ेका तर पारिवारिक अवस्था कमजोरको कारणले अरु पढ़्न नसकेर बेरोजगार नै रहेको कुरा सुनाउँछन् । 'म पात्र'-को कार्यालयमा बेरोजगार भत्ता खोज्दै आएका कुरा बताउँदा-बताउँदै 'म पात्र' पुनः सामान्य चेतमा फर्किसक्छन् र सहयोग र बेरोजगार भत्ताजस्ता शब्दहरू सुनेर 'म पात्र' ती व्यक्तिलाई कोसित बोलेका, आफू साधारण कर्मचारी नभई कार्यालयको प्रमुख हुँ भनी धम्क्याछन् । मसिना कर्मचारीसित आफ्नो आवश्यकताको कुरा गर्ने निर्देश दिन्छन् । बाटामा हिँड़्दै गर्दा 'म पात्र' लाई फेरि अल्जाइमरले भेट्छ । धर्मशाला थचक्क बसी एकजनालाई सोही प्रश्न गर्छन् । ती व्यक्तिले आफ्नो उत्तरमा 'म पात्र'-लाई रित्तो प्राणी, आफ्नो आहारको खोजीमा लागिरहने, उदरपूर्ती र धनोपार्जनको निम्ति कहिले लुट्ने, कहिले वा एकार्कामा लुछालुछ गर्ने कमिलाजस्तै प्राणी हो भन्ने कुरा सुनाउँछन् । पुनः होसमा आएपछि ती व्यक्ति वृद्ध सन्त रहेको देखेपछि उल्टो तिमी को हौ भनी प्रश्न गर्दा ती व्यक्तिले आफू पापकुण्डमा फँसेका सामान्य प्राणी, भर्खरै यो संसारको रोग-शोक-भोग त्यागी जन्मेका अबोध बालकझैँ हुँ भनी जवाब दिन्छन् । वृद्ध महात्माको प्रत्येक कुरा मनमा साँचेर 'म पात्र' कार्यालय पुग्छन् । कार्यालयमा सहयोग लिनलाई थुप्रिएका बऱ्याम मानिसहको ताँती देख्छन्...त्यस भीड़मा उनले हप्काएका व्यक्ति वा उनी सँगै पढ़ेका व्यक्ति पनि हुन्छन् । तर उनले ती व्यक्तिलाई उल्टो अभिवादन गरी बऱ्याम मानिसहरुको बीचबाट हातैमा समाती आफ्नो अघिल्तिरको चौकीमा बसाउँछन् । त्यसपछि पुराना कुराहरू गरी जम्मै सहयोग गरी कागत पत्र दिँदै अब उसो मित्रताको सम्बन्ध रहनेछ अनि अवकाशपछि पनि सम्बन्ध यथावतै रहनेछ भनी आश्वासन दिनमा कुनै कञ्जुस्याइँ गर्दैनन् । सम्बन्ध बिगार्नु कति पनि समय लाग्दैन तर सम्बन्ध बनाउनु धेरै समय लाग्छ भन्दै एक हजार हालेको खाम ती मानिस अघि राखिदिन्छन् । यो खामभित्रको एक हजार उनले देखाएका घमण्डको प्रायश्चितस्वरुप भेट चढ़ाउँछन् । त्यसपछि यो रोगले 'म पात्र' धेरैपल्ट पीड़ित हुन्छन् अनि हरेकपल्ट आफूलाई चिन्न नसकेर यही प्रश्न सोध्दाहुँदा कोही बोल्दैनन् । चारैतिर शून्य देख्छन् 'म पात्र' र आफू सोही शून्यतामा हराइरहन्छन् ।

२१ । गाउँका अनुहारहरू -
स्वाभिमानमा बाँच्ने 'म पात्र'-ले सधैं भेटिरहने मान्छेले सायद मानवीय आभिवादनको अपेक्षा राखी हिँड़ेका 'म पात्र'लाई अनुभव भइरहन्छ । उनले सधैँ भेटिरहने व्यक्ति कामको खोजीमा 'म पात्र'को तिर जजमानीको काम गर्छन् भन्ने 'म पात्र'लाई कता कता थाहा हुन्छ । 'म पात्र'को गाउँमा कुनै पुरोहित नभएकाले ती व्यक्तिको बठ्याइँ निकै बढ़िसकेको पनि 'म पात्र'लाई थाहा भइसक्छ । एकजना प्रधान अध्यापकसित गफिँदै हिँड़्दा ती व्यक्तिलाई देख्ने बित्तिक्कै ती प्रधान अध्यापकले बाटो छेकी छोकी दण्डवत् गर्छन् । 'म पात्र'-का छोरा जतिको उमेरका ती व्यक्तिले 'म पात्र'बाट पनि दण्डवतको आशा गरेको 'म पात्र'ले छ्याङ्ङै बुझ्छन् । प्रधान अध्यापकले तिनको बढ़ी-बढ़ाइ गरेका देखेर 'म पात्र' प्रधान अध्यापक ठूला कि पूजा कर्मी ठूला भनी प्रश्न गर्छन् । प्रधान अध्यापकले पण्डित भएकाले देवताका उपासक भएकोले देवतुल्य ठानेका कुरा बताउँछन् । 'म पात्र'ले प्रधान अध्यापकलाई नै ईश्ररतुल्य लाग्छ भनी आफ्नो तर्क राख्छन् । 'म पात्र'को श्रीमतीले तिनी पण्डित व्यक्तिकहाँ गएर हेरकोर गराउँदा नानीको ग्रह जुक्त रेहेकोले चाँढ़ै पूजपाठ गर्ने सल्लाह दिएका कुराको जानकारी दिँदा 'म पात्र'कहाँ पूजा गर्न आउने विन्ती गर्दा ती व्यक्तिले समाजको डरले उनको घरमा आउन नसक्ने कुरा जनाउँछन् । 'म पात्र'ले कुन समाजको कुरा गरेको भनी तर्क राख्दा फल-फूल लिएक ती पूजारीकै घरमा आए घरैमा पूजा गरिदिने सफाइ दिन्छ । ती व्यक्तिले मानव धर्म भुलेर जाति धर्मपट्टि गएको कुरा राख्छन् र श्रीमतीलाई पूजा मन्दिरमै गएर गर्नु अनि दान पूण्य गर्ने चाहेमा अस्पतालका रोगीहरूलाई फल-फूल, मिठाई किनेर ख्वाइदिने सुझाव दिन्छन् । नभन्दै छोरोले माध्यमिक उच्च अङ्क लिएर उत्तीर्ण गर्छ । 'म पात्र' ग्राम पञ्चायतमा काम गर्छन् । कार्यालयमा बसिरहेका बेला ती पण्डित कार्यालयमा आई ढोकाबाटै नमस्कार गर्छन् । ती पण्डित व्यक्ति मतदाता सूचीमा नाम दर्ता गराउन फारम भर्न आएका हुन् भन्ने कुरा राख्छ । मतदाता सूचीमा नाम पर्नु भनेको यताको नागरिक पाउनु हो भन्दै जन्मथलो उता र कर्मथलो यता हुनेले नागरिकता पाउँदैनन् भनी जनाउँछन् । त्यस्तो ता नपाए पनि यता सजिलैसित काम बनिन्छ भन्ने उद्देश्यमा कार्यालयमा आएको कुरा जनाउँदा मतदाता सूचीको निम्ति हेनतेन नियमहरू पालन गर्नुपर्छ भनी सुनाउँदा काम हुँदैन भन्ने ठानी आफू बसेको चौकीबाट उठेर प्रस्थान हुन्छ । एक हप्तापछि तथाकथित पण्डितले पल्लो गाउँकी काइँली सुनारनीलाई रातोरात भगाएर मेची तरेको गाइँगुइँ 'म पात्र'-को पनि कानमा पर्छ ।

२२ । साइऩो -
गाउँ-घरको नजरमा भुइँफुट्टा, अवसरवादी, मुखाले नेता भने पनि 'म पात्र'को साइनोले मामा पर्छ । मामा पार्टीका होनहार कार्यकर्त्ता भएकाले यस वर्ष चुनावमा पक्कै टिकट पाउने हल्ला निश्चित पनि छ । पार्टीका बड़े-बड़े नेताहरू मामाकहाँ आएर मामालाई पार्टीका उम्मेद्वारका रुपम टिकट दिएका थाहा पाएपछि मामाको कार्यशैली बुझ्न एकाबिहानै भानिज मामाकहाँ पुग्छ । मामाले उनका कार्यकर्त्ताहरूसित भानिजको परिचय गराएपछि भानिजलाई भानिजका दौंतरीहरूलाई मामाकहाँ ल्याएर परिचय गराउने जिम्मेवारी सुम्पिन्छ । भानिजले पनि सबैलाई मामा समक्ष उपस्थित गराउँछ । चुनाव सम्पन्न हुन्छ । मामाले सबैभन्दा धेर भोट पाएर चुनाव जितेपछि भव्य भोजको आयोजन हुन्छ । दुइ चार दिन भानिज मामाको घर नगएकोले अन्तरी बड़ी मार्फत मामाले डाकेका कुरा सुनेर भानिज मामाकहाँ पुग्छ । मामाले भानिजलाई उनको अफिसको फाइल .यता-उता गर्नेका रुपमा नियुक्ति दिन्छन् । घरमा मान्छे आएका बेला आफूलाई मामा नभनेर सर भन्ने निर्देश दिन्छन् । विभिन्न सभातिर मामाको पुच्छर लागेर हिँड़ेकोले भानिज अथवा 'म पात्र'लाई उनका दौंतरीहरूले 'कान्छा सर' भन्न थाल्छ । भानिजको हातबाट गएका फाइलहरू सबै पास हुने गरेकोले ठेकेदारहरूले भानिजलाई सलाम मात्र होइन रुपियाँको पनि कुरा गर्न थाल्छन् । गाउँका चारैतिर पहिरो गएकोले मामाले सहायता शिविर स्थापना गरेपछि दान वापत् सामग्रीहरू ओइरिन थाल्छन् । राम्रा राम्रा प्याकेटहरू सरको घरमा भित्रन्छन् भने भानिज उर्फ कान्छा सरको घरमा रुपियाँ तथा सर-सामानहरू नथुप्रिने कुरै आएन । एकदिन तल्लो गाउँको जीरे साथीले भानिज वा कान्छा सरलाई ऊजस्तै सानो कामको व्यवस्था गरिदिने अनुरोध गर्छ । सोझा हृदयका भानिजले जीरे साथीको बारेमा वृतान्त बताई उबाट केही सुनिदिने अनुरोध गर्छ सरलाई । सरले जीरेलाई थुप्रै प्रश्नहरू गर्दै बाबुका नाउँ सोध्दा जीरेले आफ्ना बाबुको नाउँ मकरध्वज बताउँछ । कुरै कुरामा मकरध्वजले अर्को पार्टी चलाएका कुरा पनि निकाल्छन् सरले । एकक्षण पछि सरले भानिजलाई बोलाएर जीरे ता विरोधी नेताको छोरालाई काम दिएमा डेकोरम रहँदैन भन्दै अब उसो ब्याकग्राउण़्ड नबुझी कसैलाई नल्याउने कठोर आदेश दिन्छन् । पाँच वर्ष फेरि आएको चुनावमा सरले टिकट पाउँदैनन् । चुनावमा जीरेका बाबु मकरध्वजले विजय हासिल गर्छन् । सरले भानिजलाई अब उसो सर नभनेर मामा भन्ने आदेश दिँदा भानिजलाई एक प्रकारले भित्रैबाट असहनीय भएर दुखेको कुरो बताउँछ । सबै स्थिति र परिस्थिति बुझेपछि मामाको पार्टीको छाप भानिजको घरमा पनि लागेकोले रक्षे गरिदिनको निम्ति 'म पात्र'ले बिहान-बेलुकी भूइँचालो देवतालाई प्रार्थना गरिबस्छ ।

२३ । निश्वासको विश्वास हुँदैन -
सूर्यको प्रकाश झैँ उज्यालो स्वभाव भएका सूर्यप्रकाश सरकारी कर्मचारी हुन् । उनको कार्यालय घरदेखि टाढ़ा भएकोले उनी हप्तामा एकपल्ट मात्र घर आउँछन् । अल्पशिक्षिता श्रीमती एक्लै हुने भएकोले सूर्यप्रकाशले श्रीमतीलाई कुनै डर नहोस् साथै एक्लो श्रीमतीको साथी हुने उद्देश्यले छेवैको महाविद्यालयमा पढ़्ने सुकन्या भदैनीलाई ल्याएर राख्छन् । भाञ्जीको नाम सुकन्या । सूर्यप्रकाशको कार्यालयमै मृत्यु भएको दुःखद समाचार गाउँमा आइपुग्छ । गाउँका युवाहरूको सहयोगमा सूर्यप्रकाशको लाश घरमा ल्याइन्छ । श्रीमती बिणु मुर्छा पर्छे । अन्त्येष्टि सिद्धिएको हप्ता दिनपछि सूर्यप्रकाशकी नाउँमा एउटा सरकारी फारम आइपुग्छ । सूर्यप्रकाशकी श्रीमती बिणु निरक्षर भएकीले उनले फारम सुकन्याको हातमा दिँदै फारममा लेखिएका कुराहरू जान्न चाहन्छे । चिठी खोलिएपछि खामभित्र पेन्सनको फारम रहेको र सो फारम भरेर भोलि पठाइदिने वचन दिन्छे सुकन्याले । महिना दिन बितिसक्दा पनि बिणुको नाउँमा कुनै सरकारी चिठी नआएकोले चिन्ता र आर्थिक सङ्कटले ग्रस्त जीर्ण शरीर लिएर सूर्यप्रकाशको कार्यालयमा पुग्छिन् । कुरा गर्दै गएपछि बड़ाबाबुले श्रीमती बिणुलाई उनका पतिदेवले आफ्नो सर्भिस बुकमा नोमिनीको नाम लेखाउँ भन्दा भन्दै उनी बितेर गएपछि नोमिनीको नाउँ भर्नलाई फारम घरमा पठाएका कुरा बिणुलाई बताउँछन् । घरबाट पठाइएको फारममा नोमिनीको नाउँ सुकन्या लेखिएको छ भन्ने पनि जनाउँछन् । त्यस फारममा ब्याङ्कको खाता सङ्ख्या पनि लेखिएको हुनाले सुकन्याले पाउनुपर्ने रकम सोही खातामा जमा गरिसकिएको कुरा पनि सुनाउँछन् । बड़ाबाबुले सूर्यप्रकाशकी श्रीमतीलाई सूर्यप्रकाशकै श्रीमती भनी एउटा फोटो देखाउँदै कसरी चिन्नु भन्दै सुकन्या को हो भनेर सोध्छन् । सुकन्या भदैनी हो भन्दै श्रीमती बिणुले फोटो हेरेपछि सो फोटो उनकै रहेको तर नाम उऩको होइन भन्ने स्पष्ट पार्छिन् । बिलखबन्द पर्दै बिणुले यो सोझै जाल भयो भन्ने कुरा राख्दा बड़ाबाबुले उनलाई पञ्चायतबाट एउटा बासिन्दा प्रमाण पत्रका साथै स्कूल वा भोटर कार्ड लिएर आउने सल्लाह लिएर कार्यालयमा बुझाएको खण्डमा पेन्सन उनकै नाउँमा गरिदिने आश्वासन दिन्छन् । छलकपटविहीन बिणु घर आइपुग्दा छिमेकी सङ्गीताले सुकन्या दिदीले सिँगापूरमा काम पाएर हिजै काठमाण़्डौंबाट उड़िछ भन्ने कुरा सुनाउँदा विष्णु मौन अस्ताउँदै गरेको सूर्यलाई हेरहेकी हुन्छिन् ।

२४ । भाषाको आघात् -
मतिगड़ामा सरुवा भएर आएपछि 'म' पात्र आफ्ना मिलनसार सहकर्मी विश्वप्रसादसित एउटै कोठामा बस्छन् । 'म पात्र'-को तुलनामा साथी विश्वप्रसाद निकै मोटा भएपनि अह्राए जत्ति काम मन लाएर गर्छन् । मधेसमा किनेमा, गुन्द्रुक,सिन्की हत्तपत्त पाइँदैन । हाटबाट 'म पात्र'ले किनेमा ल्याएर भरे किनेमाको झोलसित भात खानुपर्छ भन्छन् । साथीले सजिलैसित पकाउँछु भन्छन् । कार्यालयमा कामको चापले 'म पात्र' अबेर गरेर घर फर्कँदा साथीले भने पहिल्यै नै किनेमाको झोल आलुको तरकारी पकाइसकेर भात पकाइरहेका हुन्छन् । किनेमामा धनियाँ पनि हालिएको रहेछ । यो देखेर 'म पात्र'ले साथीलाई धनियाँ ता दाल पो हालिन्छ भन्छन् । ग्यास सिलिण्डर सकिएकोले 'म पात्र'ले साथीलाई काउण्टरबाट ग्यास ल्याउने सिलिण्डर लगेर काउण्टरमा ग्यास सकिएर ग्यास छिट्टै सकिएको कस्तो सिलिण्डर दियो भनी गुनासो गर्छन् । कुरैकुरामा साथी विश्वप्रसादले आफूलाई बङ्ला भाषा साह्रै नआएको कुरा साथी 'म पात्र'लाई भन्दा 'म पात्र'ले पनि बङ्ला भाषाप्रति सामान्य ज्ञान रहेको कुरा बताउँछन् । बङ्ला भाषा बोल्नु सिकाउने क्रममा यस भाषामा 'आर' शब्द' जोड़िन्छ -जस्तो 'तोमार' भन्दै 'तोमार' शब्द दुइपटक दोहोऱ्याउँछन् । अफिसबाट फर्केपछि साथीले दिनभरि बङ्ला भाषामै बोलेका कुरा साथीलाई सुनाउँदै ठट्टा नै भएको कुरा बताउँछन् ।

२५ । स्वाभिमानको मूल्य -
निरुपालाई उनका पतिले फोन गरेर जरुरी मटिङ भएकोले आउन नसक्ने कुरा गर्दै छोरालाई पठाइदिने कुरा गर्छ । नर्सिङ होममा आप्पा सिरियस भएको खबर दिँदै श्रीमती र छोरोलाई जाने अनुरोध गर्छन् । यो सुनेर निरुपा खुशी हुन्छिन् । आमा छोरा नर्सिङ होममा पुग्छन् । वृद्ध बाजेलाई अभिवादन गरेपछि बाजेले आप्पाको खै गर्छन् । आप्पा व्यस्त भएकाले आउन नसकेर आमा र उनलाई पठाएका कुरा गर्दै आमा पनि हेर्न आएकी र बोलाउने अनुमति माग्छ । मलाई हेर्न आएकी होइन भन्दै वृद्ध बाजेले अनुमति दिएपछि छोरो आमाकहाँ गएर उनलाई बाजेले भित्र बोलाउँदैछन् भनी आमालाई बाजेको स्वीकारोक्ति जनाउँछ । निरुपा बेडको छेउमा पुग्दा वृद्ध वा ससुरा सकि नसकी ओछ्यानबाट उठ्ने कोशिष गर्छन् । निरुपा छेउमा गई ससुरालाई अभिवादन गर्छिन् । वृद्ध केही बोल्दैनन् । घरका तीनजना बुहारीहरूमध्ये कान्छी बुहारी निरुपालाई उनले प्रथमपल्ट देख्न पाएका हुन्छन् किनभने छोरोले निरुपासित घरजनम गरेको कुरा उनले स्वीकारेका थिएनन् । निरुपाले ससुराको स्वास्थ्यबारे सोध्दै आफूले बनाएर ल्य़ाएकी खाना पस्किने अनुमति माग्छिन् । ससुरा स्वीकार्छन् । बिहे भएको तीस-पैंतीस वर्षपछि प्रथमपल्ट निरुपाले ससुरालाई नजिकबाट देख्न पाउँछिन् । अर्कोदिन निरुपा, छोरा र पति ग्याछो अस्पताल पुग्छन् । अस्पतालमा ग्योछोका शाखा-सन्तान सबै हुन्छन् । वृद्ध व्यक्ति आधा घण्टा अघिनै मरिसकेका हुन्छन् । नर्सले मृत शरीर लानको निम्ति सही गर्न एकजनालाई आउने अनुरोध गर्छि्न् । त्यहाँ उपस्थित सबैले एकार्कामाझ अनुहार हेराहर गर्दै गरेका देख्दा निरुपाले आफू गई सही गर्नलाई पतिलाई सुटुक्कै अनुरोध गरिन् । पति झर्किँदै सन्तानहरू छन् जानुपर्दैन भनी अस्वीकार गर्छन् । उनका आफन्तहरू एकेक गरी बिस्तारै बाहिरन थाल्छन् । दाज्यूहरू यस्तो अवस्थाको सामना गर्ने स्थितिमा नहोलान् र दुइ लोग्ने स्वास्नी गएर रिलिज अर्डरमा सही गर्ने कुरा राख्छिन् । कार्यालयमा पुग्दा दाज्यूहरू अगावै पुगेर उनीहरूलाई पर्खिरहेका हुन्छन् । आफ्नो ब्यागबाट अस्पतालले तोकेको राशी बुझाएपछि रिलिज अर्डरको कागज दाज्यूलाई दिनु भनी विन्ती गर्छिन् पतिलाई । निरुपाकी पतिले कागत दाज्यूलाई हातमा सुम्पिँदा दाज्यू यो के गर्नु भनी सोध्दा यो कागत पछि मृत प्रमाण पत्र बनाउऩ आवश्यक हुन्छ भन्छन् । ग्याछोको गाड़ीमा वृद्ध बाबाको लाश हाली पैतृकस्थलतिर रवाना हुन्छन् भने दाज्यूहरू चाहिँ आ-आफ्ना गाड़ीमा उनीहरूको पछि लाग्छन् ।

२६ । दाग -
अवकाशग्रहणपछि 'म' पात्र घरमा एक्लै बस्न थालेको छ । गाई-वस्तु पालेको छ दिनभरि । घरमा एक्लै बस्दा कहिले-काहीँ तल बाटोतिर टोलाउने क्रममा एउटा पसलमा विधवा औरतको पसलतिर हेर्छ । ती पसल्नीले आफ्नो पसलमा सब्जी बाहेक पनि मासु बेच्ने गर्छिन् । उसकी पति कारगीलमा शहीद भएको, आफू एक्लै छिन्, छोरी-छैन कोही छैनन् । उनलाई धेरैले धेरै नाउँले बोलाए पनि 'म' पात्रले 'साइँली बैनी' भनी सम्बोधन गर्छ । मान्छे साह्रै फर्साइली र नम्र स्वभाव भएकीले साइँली बैनीको पसलमा मान्छे कहिल्यै टुट्दैन । मान्छेहरू गफिँदै गरेको सुन्नलाई 'म' पात्र पनि पसल जाने गर्छ । 'म' पात्र पसल बाहिर उभिएको देखेर साइँली बैनीलाई भित्रै बोलाउँछिन् । पसलमा चिसो चिया पनि बेच्दोरहिछ भन्ने कुरा शङ्खे, दिलबहादुरहरू अन्तिम घुट्को स्वाट्टै पारेर निस्केको देख्दा मात्र थाहा हुन्छ 'म' पात्रलाई । भित्र पिउँदै गरेको सुदनले 'म' पात्रलाई देखेर गिलास अलि लुकाएर राख्छ । साइँली बैनीको पसलमा किसिम मान्छेहरू चिसो चिया खानलाई आउँछन् । तीमध्ये मनबहादुरहरू ढुन्मुनिँदै पनि निस्केका 'म' पात्र देख्छ । केही व्यक्तिगत कुरा गर्नलाई पसल्नीले एकदिन 'म' पात्रको घरमा जाने कुरा गर्छिन् । तर पसलमै भेट भएकोले भेट भएकै बेलामा भनुँ कि भनी सोध्छिन् । 'म' पात्रले के कुरा भनी सोध्दा साइँली दिदी घरैमा आई जनाउने कुरा राख्छिन् । भोलिपल्ट साइँली दिदीको आवाज सुनेर घर बाहिर साइँली दिदीलाई देखी भित्र पस्ने अनुरोध गर्दा चप्पल बाहिरै खोली साइँली दिदी भित्र पस्छिन् । आफूले केही सब्जीहरू ल्याइदिएकी कुरा गर्दै सब्जीका छुट्टा-छुट्टै पोका सित्थैमा 'म' पात्र अघि राखिदिन्छिन् । कुरै कुरामा साइँली दिदीले 'म' पात्रलाई दस हजार रुपियाँ सापटीमा माग्छिन् । आफ्नो महिनावारी खर्च बाहेक त्यत्रो मोटो रकम घरमा नराख्ने कुरा सुनाउँदा भोलि पर्सी भित्रमा त्यति जोगाड़ गरिदिने आग्रह पनि गर्छिन् । 'म' पात्रले चिया बनाएर साइँली दिदीलाई टक्र्यायो । चिया पिउनलाई ओँठ छेउमा कप पुऱ्याउँदा अचानक साइँली दिदीको सेतो साड़ीमा पोखियो । झटपट्ट उठेर टक्टकाउँदै पनि चियाको दाग बसिहाल्छ । बाहिरबाट अन्तरेको प्रवेश हुँदा उसलाई पनि चिया टक्र्याउँछ 'म' पात्रले । अन्तरेले साइँली दिदीलाई निर्निमेष हेरिरहे पनि उऩी आउनुको उद्देश्य चाहिँ सोध्दैन । साइँली उठेर विदा मागेपछि अन्तरेले 'म' पात्रको मुहारमा हेर्छ । साइँली दिदीको साड़ीमा लागेको दागमा अन्तरेको पनि आँखा पर्छ । साइँली दिदी तल पुगिञ्जेल पनि अन्तरे हेरेको हेऱ्यै हुन्छ । बाटामा हिँड़्नेहरूले साइँली दिदीको लुगामा लागेको दागबारे केही खै नगरे पनि लाग्को त्यो चियाको दागले कसैको आँखाबाट नमेटिने गरी प्रश्नहरूको रुमलिरहन्छ ।

२७ । विधवा भत्ता -
खास नाम श्याम भए पनि गाउँमा चङ्खे नामले नै चिन्छन् सबैले, बोलाउँछन् पनि सोही नाममै, चङ्खे नाममै गाउँ-घरमा परिचित पनि छ चङ्खे । नामसित व्यक्तित्व पनि दुरुस्तै मिल्ने भएको चङ्खे एकदिन एउटा सरकारी कार्यालयमा पुगी विधवा भत्ताको कुरा राख्छ । अधिकारीले कसको लागि भनी सोध्दा आफ्नै लागि भन्छ । किन आफ्नै लागि सोबारे प्रष्ट पार्न खोज्छ । उसकी श्रीमती बितेकी कुरा गर्छ र श्रीमतीले जीवितकालमा पानीझरीमा चियापत्ती टिपेर, सय दिने रोजगार गर्नु बाहेक पनि खेतालापाती गरी घर चलाउने कुरा सुनाउँदै स्वास्नी बितेपछि जीवन धान्नु नै गाह्रो परेको कुरा पनि उकेल्छ । पल्लो गाउँकी कान्छी भाउज्यूले दाज्यू खसेकै महिनादेखि विधवा भत्ता पाउनु थालेकी तर आफ्नी श्रीमती खसेकी तीन महिना बितिसक्दा पनि कसैले केही नसोधेका गुनासो पोख्छ चङ्खेले । चङ्खे निकै सन्केको देखेर अधिकारीले सरकारले विधवालाई मात्र विधवा भत्ता दिन्छ तर पत्नी खसेकी लोग्ने अथवा विधुरलाई त्यस्तो भत्ता दिने सरकारको कुनै प्रावधान नरहेको कुरा स्पष्टै रुपमा जनाउँछन् अधिकारी । पुरुषहरूले साठी वर्ष नाँघेपछि मात्र वृद्ध भत्ता पाउने कुराको पनि जानकारी दिन्छन् । चङ्खे भर्खरै उनन्चालीस पुगेको कुरा गर्दै साठी कहिले पुग्नु भनी प्रश्न तेर्स्याउंदै कुनै उपायद्वारा भत्ता भएमा अधिकारीलाई पनि हेर्ने कुरा राख्दा अधिकारी प्रचण्ड रिसाउँदै घूस खाएर भत्ता दिलाउनुजस्तो अनैतिक काम गरेमा जेल परेर नोकरीसम्मबाट हात धुनुपर्छ भन्ने कुरा बताउँछन् । त्यसपछि विकलाङ्ग भत्ताबारे प्रश्न गर्दा शारीरिक अवस्था अस्सी प्रतिशत खँजाहा हुनेले मात्र विकलाङ्ग भत्ता पाउँछ भन्ने जानकारी दिन्छ । उसको गाउँका नेत्रहीन बज्यूले पनि यस्तो भत्ता पाउँछ भन्ने कुरो जान्न चाहँदा बज्यूले पाइरहेकी कुरा बताउँछन् । अन्त्यमा मङ्गलीभन्दा बरू कान्छी भाउज्यू नै ठिक छ भनिवरी जान्छु पनि नभनी कार्यालयबाट बाहिरिन्छ । चङ्खे चूपो लागि गएको अधिकारीले तल...तलसम्म हेरिबस्छन् ।

२८ । झुण्डभित्रको आकृति -
सामेल र सहमतिको युगल झुण्ड छ । सहमतिमा सामेल हुँदा-हुँदै पनि एकले अर्कालाई देख्दैन । झण्डा उचालेर गगनभेदी स्वरमा कराउँछौं तर झण्डामा अङ्कित मानचित्रले हाम्रो चित्कार सुन्छ वा सुन्दैन सोबारे केही ज्ञान नभए पनि हाम्रो गगनभेदी स्वरमा विश्वासहरूले आकाशै छेँड़्लाजस्तै गुञ्जिरहन्छ । लामो लहरमा परिणत भएर हामी निदानबिनाको समस्या र चित्कारहरूमा रुमलिरहेका छौँ । खासमा हामीले उज्याउने गरेको झण्डा एकै रङ्गी-विरङ्गी नभएर एक रङको हुनुपर्ने । झण्डा फगत झण्डा नै हो । यो कहिले कसैको आँगनमा , कहिले कसैको गगनचुम्बी अट्टालिकामा त्यसै त्यसै अग्लिने झिनो आशा बोकेर स-साना झुपड़ीहरूमा हल्लिरहन्छ, हल्लिरहेछ ।

२९ । मनोक्रान्ति -
दुर्घटाग्रस्तमा परेको मानिसलाई अस्पतालमा ल्याइन्छ । आपतकालीन कक्षमा हतार-हतार उपचार गरी ती दुर्घटनाग्रस्त मानिसलाई ह्विल चेयरमा राखी अस्पताल कर्मचारीले साधारण कक्षमा पुऱ्याउँछ । बेडमा लम्पसार सुतेको ती मानिसको छेवमा एकजना नर्सले उसको बान्की परेको अनुहार हेर्छिन् तर चिन्न सक्तिनन् । ती रोगीलाई होशमा ल्याउने विचारले एक गिलास पानी दिन छेवैको बोतलबाट पानी खन्याउँछिन् । बिरामीले पुलुक्क हेरी स्थिति विचार्छ । नर्स पानी लिएर छेउमा आउँदा रोगी बिस्तारै उठ्न खोज्छ तर उठ्न सक्दैन । त्यतिबेला मात्र रोगीको दाहिने खुट्टा भाँचिएको थाहा हुन्छ । रोगी पूर्ण होशमा हुँदैन । नर्सले पानी पिलाएपछि होशमा आएर नर्सलाई विभिन्न कुराहरू सोध्न थाल्छ । अस्पतालमा भर्ना भएका अन्यरोगीका आफन्तहरू आ-आफ्ना मान्छेलाई हेर्न आइरहेका हुन्छन् । रोगी हेर्न आउने एकजना महिलाले नर्सलाई कानैको छेउमा गई यो रोगी बङ्लादेशी रहेछ भन्ने कुरा गर्छिन् । नर्स केही नबोली ती महिलालाई हेरिरहिन्छिन मात्र । तर उनको मनमा थुप्रै कुराहरू उथुलपुथुल भई मनभरि तैँछाड़-मैँछाड़ गर्न थाल्छन् - यी मान्छे हुन र ! यतिबेला फगत विरामी हुन् र बिरामीको न कुनै देश हुन्छ न ता कुनै धर्म वा जात । विरामीको सेवा गर्नु नर्सहरूको कर्तव्य हो । केहीक्षणपछि रोगीले चिया पाइन्छ भनी सोध्छ नर्सलाई । नर्स आफैले चिया ल्याइदिने कुरा गर्छिन् । नर्स चिया लिएर बाहिर गएपछि खुट्टा काटिएको एकजना मानिस वैशाखीको सहारामा सकी नसकी भित्र पस्छ । ती व्यक्तिको अवस्था देखेर आफ्नो पनि एउटा खुट्टा काट्नु परे गाउँ पुग्दा घरकाहरू रुनेछन्, इष्ट-मित्रहरूले बिचारा भन्नेछन् अनि प्रेयसीले देखी उसले बाटो काट्नेछे भन्ने शङ्कामा डुब्छ । कथङ्कल खुट्टा काटिहाल्नु परेमा ती व्यक्ति गाउँ नगई यतै बाटाको छेउमा बसी मागी खानेछु भन्ने कुरा आँखा चिम्म गरी सोँच्न थाल्छ । आँखा खोल्दा नर्स अघिनै चिया लिएर आइसकेकी हुन्छिन् । कुरै कुरामा ती व्यक्तिले यहाँका जम्मै रोगीको खुट्टा काटिन्छ भनी सोध्दा आवश्यकता हुनेको मात्र खुट्टा काटिनेछ भन्ने उत्तर दिन्छिन् । नर्सले रोगीलाई उसको खुट्टा भाँचिएको मात्र हो भन्ने कुरा सुनाउँदा रोगी फेरि आँखा चिम्लिन्छ ।

३० । जीवन - लीला -
परम्पराको आधारमा सञ्जय र मनिकाको दाम्पत्य जीवन आरम्भ हुन्छ । दाम्पत्य जीनवमा बाँधिएको एक वर्षपछि जयजन्म हुन्छ । दम्पत्ति़द्वयको सल्लाहमा नवजात छोरोको नाम दिपक राखिन्छ । तीन वर्ष हुँदा नहुँदै दिपकलाई पाठशालामा भर्ना गरिन्छ । नामजस्तै बालक दिपकको पढ़ाइ, बानी-व्यवहार दिपकजस्तै चम्किलो हुनथाल्छ । पाठशाला गएपछि सञ्जय र मनिकाका मुटुका टुका झन् तिँखारिदै जान्छ । शिक्षक र तिनका सहपाठीका निमित्त प्रिय पात्र भइसकेको हुन्छ । आरम्भमा आमाको हात समाई दिपक पाठशाला जान थाले पनि पछि पछि ता एकलै पाठशाला जान थाल्छ । आमा मनिका छोरोप्रति अति नै सन्तुष्ट थिइन् । पाठशाला जाने आउने क्रम यथावत् रहे पनि सात वर्ष छिचोलिसकेको दिपक पाठशालाबाट घर आइपुग्दैन । गाउँ-घरकाहरूले धुइँपताल लाएर दिपकलाई खोज्नपट्टि लाग्छन् । आमा-बाबु पनि खाइ नखाइ छोरोलाई खोज्नमा महिनौं दिन बिताइसक्दा पनि छोरोको पत्तो लाग्दैन । छोरोको पत्तो लगाउन आमा-बाबाले थानामा उजूरी गर्नुमात्र होइन विभिन्न पत्र-पत्रिकामा समेत दिपकको फोटो छपाई छोरोलाई खोज्न कुनै असर छोड़्दैनन् । तर कतै कहीँ दिपकको सुलाक लाग्दैन । दिपक हराएपछि त्यो घरमा शान्ति कहिले हुँदैन । रगतको आँशु पिएर बाँच्दै भए पनि मनिकाको कोखमा अर्को बालक भूमिष्ठ हुन्छ । दोस्रो छोरोको नाम ज्योतिभूषण राखिन्छ । अब आउने शिशु स्वस्थ भएर जन्मिओस् भनी स़ञ्जयले परिवार लिएर दक्षिण भारतको राम मन्दिरमा भाकल राखेका कुरा श्रीमतीलाई सुनाउँदै दक्षिण भारतको राम मन्दिर जाने प्रस्ताव राखेपछि ठण्डा महिनाको मौसमा दुइ दम्पत्ति छोरो ज्योतिभूषणलाई लिएर राम मन्दिर दर्शनार्थ दक्षिण भारत पुग्छन् । छोरो बोकी पति मन्दिरको मूलद्वार तर्फ फटाफट हिँड़्छन् । मन्दिर परिसरमा भएका थुप्रै माग्ने केटा-केटीहरूले मनिकालाई घेरेका हुनाले मनिका सबैलाई मिठाइ बाँड़्न् थाल्छिन् । एकजना विकलाङ्ग माग्ने केटो असहाय अवस्थामा बसिरहेको मनिकाले देख्छिन् । पैसा र मिठाइ बोकी मनिका ती बिकलाङ्ग माग्ने केटो छेउमा जाँदा माग्नेले अचानक 'आमा' भनी चरणस्पर्श गर्छ । मनिका सामान्य पछि सरेर हेर्दा आमा मनिकाले ती बिकलाङ्ग असहाय माग्ने केटो ता उहिल्यै हराएको उनैको जेठो छोरो दिपक हुन्छ । हत्त न पत्त छोरोलाई उठाउँछिन् । दिपक बिरुपको भइसकेको हुन्छ । मैला लट्टा परिसकेको दिपकको केशराशिमा निकैपल्ट चुम्छिन् । सञ्जयले यो दृश्य देख्छन् र माग्नेले यो गरेको भन्दा आफ्नो छोरो दिपक भनी चिन्नु गाह्रो पर्दैन सञ्जयलाई । दिपकको खुट्टा काटिएको, आँखा फुटिसकेको हुन्छ । आमा र बाबाको काँधको सहारा लिएर दिपक पनि आमा-बाबा र सानु भाइसिते मन्दिरभित्र प्रवेश गर्छ । दिपकको सहारा वैशाखी र एउटा ट्र्वाक्रे भने मन्दिर परिसरमा त्यसै लड़िरहेको हुन्छ ।

कथाप्रवृत्ति-विशेषता -
कथाकार गणेश बराइली मूलतः सामाजिक कथाकार हुन् । यस सङ्ग्रहमा परेका कथाहरूको विशेषता र कथाप्रवृत्ति हेर्दा यिनका कथाहरूमा क्रान्तिकारी, समाजसुधारक, स्वस्थ समाज निर्माण चेत पाइऩ्छ । विशेष समाजिक समस्याहरूमाथि नै कथाहरू लेखेको पाइन्छ । समाजभन्दा पनि गाउँले समाजको यथार्थ तथा आदर्श मिश्रण गरेको पाइन्छ । समाजको वातावरणसित परिचित भएकाले उनी आफैले भोगेका, बुझेका कुराहरूलाई नै आफ्ना कथाहरूमा प्रस्तुत गरेको पाइन्छ । कथाशिल्पीको रुपमा जति उदात्त उनका अनुभूति पक्षहरू छन् त्यति नै धेर उदात्त उनको अभिव्यक्ति पक्ष अब्बल देखिन्छ । अनुभूति र अभिव्यक्तिमा कथाकार गणेश बराइलीलाई सफल देखिन्छ । यिनका कथाहरूका कथानक वा कथावस्तु ससङ्गठित, सोद्देश्य,जीवन्त पात्र, सङ्क्षिप्त संवाद ठुङमार्दो देखिन्छ । वस्तु चयन र वस्तुविधान कुनै पनि अब्बल, पोख्त अनि दक्ष कथाकारको कथालेखनको पहिलो अनि सर्वप्रमुख अङ्ग भन्नु नै शिल्प हो । यिनका कथाहरूको विषय अत्यन्त व्यापक देखिन्छ । कथाहरूमा सामाजिक, राजनीतिक, आर्थिक विषमता, धार्मिक तथा राजनैतिक भेदभाव अनि ह्याँकुला मिचाइका साथै विसङ्गति अनि विषमताको चित्रणका साथै आदर्शमूलक समाधान गर्न खोजेको पाइन्छ । कथाकार गणेश बराइली स्वयम् गाउँमा जन्मेर गाउँको धूलोमाटोसित आफ्नो बाल्यकाल, यौवनकाल र अवकाशकाल बिताएकाले ग्रामीण (चियाकमान) परिवेशमा विद्यमान विविध प्रकारका विषमता, विडम्बना, अन्धविश्वास, रुढ़ीवादी रीति-रिवाज, अत्याचार, उत्पीड़न थरीथरीका मानसिक अनि शारीरिक शोषणसित उनी सोह्रै आना परिचित भएकाले यिनका कथाहरूका कथानक वा कथावस्तुले सोझै जीवनसित साँठगाँठ राखेको पाइन्छ ।
जीवनको नालीबेली कण्ठस्थ छ कथाकारलाई । यसैकारण तत्कालीन एवम् वर्तमान समाजको यथार्थ एवम् आदर्श तथ्य प्रस्तुत गर्नमा सक्षम देखिन्छ । आफ्नो युगको सम्पूर्ण नालीबेली साथै सम्भावना र उपलब्धिहरू यिनका कथाहरूमा व्याप्त छन् । विशेष उपन्यास लेखनमा आफ्नो सीप, कला र बुता देखाउनुका साथै उपन्यास लेखनमा हात बसिसकेका उपन्यासकार गणेश बराइली 'मनोविम्ब' (कथा सङ्ग्रह - २०१२) पछि दोस्रो कथा सङ्ग्रह 'मनोयोग'लाई बान्किलो कथा सङ्ग्रह स्वीकार्नुपर्छ ।
बराइलीका कथागत प्रवृत्तिलाई बुँदागत रुपमा निम्न प्रकारले हेर्न सकिन्छ -
क) नेपाली ग्रामीण र कमाने जनजीवनको सजीव प्रस्तुति.
ख) सुधार र नीतीचेतनाको वकालती,
ग) निम्नमाघ्यम वर्गका पात्रहरूको विशद चित्रण,
घ) धार्मिक कट्टरता प्रति विद्रोह,
ङ) प्रतिनिधिमूलक पात्रहरूको सिर्जनामा आग्रह,
च) नेपाली नारीको दयनीय सामाजिक स्थितिको चित्रण.
च) सामाजिक, राजनैतिक यथार्थका सशक्त चित्रण,
छ) समस्यामूलक प्रस्तुतिमा सजग,
ज) मान्छेका मनका विभिन्न पाटाहरूको विश्लेषण,
झ) आर्थिक समस्याले ग्रसित र पीड़ित, शोषित व्यक्तिका मानसिक द्वन्द्व प्रस्तुति,
ञ) सरल, सरस, परिष्कृत र मिठाइलो भाषाशैली
ट) तत्सम र आगन्तुक तथा कथ्य शब्दको प्रयोग
ठ) आत्मसंस्मरणात्मक शैलीको प्रयोग ।
ड) समाजको नकारात्मक पक्षमाथि व्यङ्ग्य-विद्रोह
ढ) निम्नवर्गप्रति सहानूभूति,
ण) स्थानीयता (local colour) चित्रणमा निपुण ।
कथाकार गणेश बराइलीको कथागत प्रवृत्ति केलाउँदा यिनका कथाहरूमा वियोग, वेदना, आक्रोश, विक्षोभ, विद्रोह, वर्गीय असमानता, जातिभेदले उत्पन्न गराएका विकृति आदिका जीवन्त चित्रण पाइन्छ । यथार्थप्रति भक्कुमारी निष्ठा रहेका कथाहरूमा यथार्थप्रतिको निष्ठा पाइन्छ । समाजका निम्नवर्गीय पात्रहरूका जीवन शैलीलाई प्रभावकारी रुपमा प्रस्तुत गर्नमा यिनलाई सक्षम देखिन्छ । आर्थिक तथा राजनैतिक समस्या, थिचोमिचोले पिरोलिएका पात्रहरूको यर्थाथरुपमा वर्णन गर्नाका साथै पात्रहरूका अभाव, पीड़ा, वाध्यता, विवशतालाई आफ्ना कथाको मुख्य विषय बनाएको पाइन्छ । आञ्चलिकताको रमरम छाप पाइने यिनका कथाहरूमा आफ्नै परिवेश र त्यहाँ जनजीवनको नालीबेली उतारेको पाइऩ्छ । मानवीय मनका विविध अवस्थाको सफल चित्रण गर्नमा कथाकारलाई खप्पिस देखिन्छ । यिनका कथाहरूमा मानिसको अवचेतन मनका विभिन्न पाटाहरूको यथार्थ वर्णन पाइऩ्छ । पात्रहरूका मनका आरोहण-अवरोहण र द्विधाहरूको जीवन्त चित्रण गर्नमा पनि कथाकार गणेश बराइलीलाई पारङ्गत देखिन्छ । यिनका कथाहरूमा स्वाभाविकता, सजीवता, जीवनानुरुपता आदि चारित्रिक विशेषताहरूले गर्दा पात्रहरू अत्यन्त पत्यारिला बनाइएको छ । जीवनको अँध्यारो पक्षलाई देखाउने यिनको उद्देश्य देखिन्छ ।
यिनका कथाहरूको अर्थप्रस्तुति विशेषतः अभिधात्मक र अंशतः प्रतीकात्मक, लक्षणात्मक र व्यञ्जनात्मक पनि देखिन्छ । शीर्षकचयन सुविचारित, उद्देश्यपूर्ण र कलात्मक देखिन्छ । उनको शैली वर्णनात्मक, कहीँ कहीँ भने व्यङ्ग्यात्मक साथै चित्रात्मक पनि छ । सार्थक र मौलिक शैलीले गर्दा कथाकार गणेश बराइलीको अभिव्यक्ति क्षमता छुट्टै प्रकारको देखिन्छ ।

शीर्षकको सार्थकता -
१ । आवेगहरूमा - ९०४ शब्दभित्र लेखिएको यस कथाको शीर्षक एक शब्दात्मक शीर्षक भएको कविता हो । आवेग [संस्कृतको आ>विज् (विचलित हुनु)+घञ] = नाम शब्द शब्दको शब्दकोशीय अर्थ हुन्छ, मानसिक उत्तेजना या मनको क्षोभका कारणले उत्पन्न हुने आकुलता या उत्कट भावा, जोश, अचानक मनमा उत्पन्न हुने नसोंची केही गरिहाल्ने प्रवृत्त हुनु, कुनै खराब वा असल कामको प्रतिक्रिया तथा प्रभावले अकस्मात मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति, झोंक, मनोविकार , मानसिक उत्तेजनाको प्रभावले गरिएको काम, मनको असामान्य स्थिति अवस्था, चेतनमाथि अचेतनको प्रभुत्व । आवेगलाई सञ्चारी भावमा राखिएको छ । यहाँ दुइ पात्रहरू चेतन अवस्था कसरी अचेतनतर्फ जानसक्छ भन्ने स्थिति दर्शाएको छ । दुवै पात्रहरू आ-आफ्नै आवेगमा भुटभटिएका देखिन्छ । मानिस नैतिकवान र चरित्रवान बन्नुपर्दछ भन्ने सन्दर्भमा कथा संरचित भएको छ । त्यसैले, यस कथाको शीर्षक कथाको प्रस्तुति शैली (ढाँचा) सँग सम्बन्धित देखिएकाले शीर्षक सार्थक देखिन्छ ।

२ । धरातल र व्यक्ति -
धरातल र व्यक्ति -
६३२ शब्दहरूमा लेखिएको यस कथाको शीर्षक संस्कृतको पुलिङ्गी शब्द 'धरातल' र 'व्यक्ति' (ना.) मिली बनेको 'धरातल र व्यक्ति' पदावलीबाट निर्माण भएको छ । संस्कृतको पुलिङ्गी शब्द घरातलको शाब्दिक अर्थ भूमि, सतह, आधार हुन्छ भने संस्कृतको नाम व्यक्तिको शब्दकोशीय अर्थ मानिस, अरुभन्दा छुट्टै अस्तित्व भएको मानिस, स्वतन्त्र सत्ता भन्ने हुन्छ । 'धरातल र व्यक्ति'-ले शाब्दिक रुपमा आधारहीन, टेक्ने र समात्ने ठाउँ नभएको बुझिन्छ । यस कथाका पात्रहरू सबैको धरातलको आधार नै नरहेको विषयवस्तुलाई प्रतीकात्मक रुपमा राखिएको हुनाले कथाका शीर्षक सार्थक छ भन्न सकिन्छ ।

३ । प्रतीक्षाको एकाग्रतामा -
संस्कृतको स्त्रीलिङ्गी शब्द 'प्रतीक्षा'को शब्दगत अर्थ, उत्सुकतापूर्वक कुनै आउने व्यक्ति या वस्तुको बाटो हेर्नु हुन्छ भने 'एकाग्रता'को शब्दकोशीय अर्थ, एउटै कुरामा मात्र मनलाई केन्द्रित गर्ने प्रवृत्ति, एकाग्र हुनाको भाव वा अवस्था । 'प्रतीक्षाको (ना. / सं.)' र 'एकाग्रतामा' (ना./सं.) मिली बनेको 'प्रतीक्षाको एकाग्रतामा' पदावलीबाट निर्माण भएको यस कथा १२९६ शब्दहरूमा लेखिएको पाइन्छ । यस कथाका दुवै पात्र बाबु-छोरा गरिबीको भुँवरीमा परे पनि जीवन धान्नमा आफूलाई समर्पित गर्ने खालका असहाय पात्र हुन् । बिरामी बाबुलाई अस्पतलामा छाड़ी छोरो अस्पतलाको खर्च लिन गएको कुरा थाहा पाएपछि छोरोको प्रतिक्षामा आँखा टट्टाइञ्जेल छोरोलाई कुरिरहेका हुन्छन् । लस्कर लागेर हिँड़िरहेका मानिसहरूका विशाल भीड़माझको मानिसजङ्गलमा छोरोलाई कसैगरी पनि देख्दैनन् र पनि छोरोको प्रतिक्षा एकाग्रतामा लिन भएको विषयवस्तु यस कथामा वर्णित भएकोले विषयवस्तु अनुकूल शीर्षक सार्थक देखिन्छ ।

४ । मनोयोग -
एक शब्दात्मक शीर्षक भएको कथा 'मनोयोग'-को (ना. सं.) -को शब्दकोशीय अर्थ, कुनै काममा दत्त चित्त भएर लाग्ने प्रवृत्ति, मानसिक एकाग्रता हुन्छ । ६७९ शब्दभित्र लेखिएको यस कथामा एकजना सफल शिक्षक र आज्ञाकारी गुरुभक्तिमा लिन हुने दुइ विद्यार्थीहरूका गुरुप्रतिको मोह, आदर्श र मनोविज्ञानलाई प्रतीकात्मक रुपमा दर्शाइएको हुनाले शीर्षक उपयुक्त रहेको छ । यसै कथाकै नाममा पनि यस कथासङ्ग्रहको नामाकरण गरिएको छ ।

५ । दासत्वको अवशिष्ट -
८२४ शब्दहरूको संयोजन गरी लेखिएको यस कथाको शीर्षक 'दासत्वको' (ना. /सं. /पु.) 'अवशिष्ट' (वि. / सं.) मिली बनेको 'दासत्वको अवशिष्ट' भन्ने पदावली रहेको छ । दास्तव-को शब्दगत अर्थ दास हुनाको भाव वा अवस्था, गुलामी वा कमारोपन, दासको काम हुन्छ भने 'अवशिष्ट'को शब्दगत अर्थ कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको, बाँचेको, उब्रेको, बाँकी, थाँती रहेको हुन्छ । आर्थिक अवस्थाले जकड़िएर गरिबी रेखामुनि बसेका अभिभावकहरू आफ्ना लालाबालालाई पालन-पोषण तथा चाहेजस्तो शिक्षा प्रदान गर्न नसकेर बालाखै उमेरमा अर्काको घरतिर काम गर्न पठाउने गर्छन् तर ती काम गर्नेहरूको पनि एउटा अदम्य आशा हुन्छ, पढ़्ने, बिहे गरेर सुखिलो घर संसार बनाउऩे । तर त्यो असम्भव हुन्छ । बिहे भएपछि आफ्नो सन्तानलाई आफूजस्तै अर्काको घरमा दास, गुलामी गर्न नपठाएर उच्च शिक्षा प्रदान गरी दासत्वको जञ्जीरबाट उकेल्ने विषयमा लेखिएको यस कथाको शीर्षक उचित तथा सार्थक देखिन्छ ।

६ । द ब्रिगेड अफ गोर्खाज् गोल़्ड कप -
यस कथाको शीर्षक 'द' (article), 'ब्रिगेड' (collective noun), 'अफ' (prep.), 'गोर्खाज्' (n.), 'गोल्ड' (adj.), 'कप' (n.) ६ वटा अङ्ग्रेजी पदावली 'द', 'ब्रिगेड', 'अफ'. 'गोर्खाज्' 'गोल्ड' र 'कप' मिलेर बनेको छ । ७११ शब्दहरू सँगालेर लेखिएको यस कथामा दार्जिलिङमा आयोजन गरिने संसार प्रसिद्ध फुटबल टुर्नामेण्टको निहुँ बनाएर लेखिएको यस कथामा निर्जीव फुटबललाई हजारौं लातले हिर्काएर आफ्नो मोज लुटे पनि चूपो लागि एककुनामा बसिरहने हावा मात्र भरेको फुटबलसित गोर्खाहरूजस्तै संज्ञाविहीन, अस्तित्वविहीन र निष्प्राण लड़िरहेको विषय समेटेर लेखिएको यस कथाको शीर्षक सार्थक रहेको छ ।

७ । आँखामा पोखिएको ममता -
'आँखा'मा (ना. / आँखोको बहुवचन / सं. अक्षि.) 'पोखिएको' (भू.का.) 'ममता' (ना. / सं.) मा तीन पदहरू छन् । छापामार्नको निम्ति आएका सिपाहीहरूमध्ये एकजनाले घरभित्र आमाले उनको विरामी बच्चालाई दूधको मुण्टो चुसाउँदै गरेकी देख्दा छापामार सिपाहीलाई आफ्नै आमाको झल्झल्ती सम्झना हुनाले आफ्नै आमाप्रतिको मातृवात्सल्य सम्झेर आफ्नो बाटो लागेको घटनालाई कथाकारले कथामा प्रस्तुत गरेकाले .यस कथाको शीर्षक सार्थक हुनु मात्र होइन बान्किलो पनि भएको छ । प्रस्तुत कथा ६३९ शब्दभित्रमा लेखिएको पाइन्छ ।

८ । त्यो दिनको प्रतीक्षामा -
५४६ शब्दहरू एकमुष्ठ पारी ५४६ शब्दहरूमा लेखिएको तीन पदावली मिलेर बनेको 'त्यो (सर्व.) दिनको (सं.' /न.) प्रतीक्षा' (सं./स्त्री.)मा मान्छेको बिहे गर्ने तिर्सना रहेको तर भनेजस्तो केटी नपाएको अनि पाइए पनि अर्कोले लगिदिएको र फेरि केटीको सुइँको पाउँदा रक्सी छोड़ेको विषयवस्तु समेटि तयार पारिएको यस कथाको शीर्षक कथा सुहाउँदो नै भएको छ ।

९ । अमूर्त्त प्रश्नहरू -
७६८ शब्दहरूमा दुइ पदावली 'अमूर्त' (वि. सं.) र 'प्रश्नहरू' (सं. पु) मिली बनेको 'अमूर्त प्रश्नहरू'ले निराकार, अवयव ऩभएको उत्सुक्ता मेट्न वा समुचित पाउने जिज्ञासा भन्ने बुझिन्छ । स्कूलमा भर्ना हुनलाई आफ्नै पिताको नाम साथै आमाको नाम पनि भन्न नसकेको घटनाले प्रधानाध्यापक पूर्वसमृतिमा परी अनुत्तरित प्रश्नको अपेक्षामा परेको घटना बुनेर कथाको विषयवस्तु बनाइएको .यस कथाको शीर्षक सार्थक रहेको देखिन्छ ।

१० । शहरभित्रको एउटा घर -
'शहरभित्रको एउटा घर' शीर्षक तीनवटा पदहबरू मिली बनेको छ । जसमा 'शहरभित्र' (शहर = फा.पुं. भित्र= प्रा. नायो) 'एउटा' (एक+वटा, वि.) 'घर' (प्रा. ना.) तीन पदहरू छन् । जसको शाब्दिक अर्थ शहरभित्र रहेको एउटा घर भन्ने हुन्छ । लोग्ने मातेर घरमा हुँड़ीबिड़ी मच्याएर स्वास्नीको आँखा फुट्ने गरी कुटे पनि एउटा खुसी घर हेर्न चाहने नारीको चाहनालाई विषयवस्तु बनाएर लेखिएका ६०० शब्दको यस कथाको शीर्षक विषयवस्तुअनुसार सार्थक र उपयुक्त देखिन्छ ।

११ । सपनाका छालहरूमा -
यस कथाको शीर्षक दुइ शब्दको छ र ती शब्दहरू हुन् - 'सपनाका' र 'छालहरूमा' । 'सपना' नामपदमा सम्बन्ध षष्ठी 'का' लागेको छ अनि संस्कृतिको नामशब्द 'छाल' 'हरू' लागेर बहुवचन बनेको छ । यस शीर्षकले थुप्रै सपनामा बाँच्न खोज्ने चाहनाको अर्थ दिन्छ । १५९३ शब्दहरूमा लेखिएको यो कथा यस सङ्ग्रहको सबैभन्दा लामो कथा हो । बितिसकेकी आमालाई सपनामा देखेपछि एक्लै बसेका बाबुकहाँ गई बाबुको खै गर्ने, घुमाउनु लाने तथा सपनाका कुरा गर्दा स्वयम् सन्तुष्ट बाबुले सानी नीतिकनीको स्वेटरको कुममा फाटेक कुरा झिक्दै उसैलाई नयाँ स्वेटर किनेर सपना पूरा गर्ने आदेश दिएको यस कथावस्तुको शीर्षक उपयुक्त र सार्थक देखिन्छ ।

१२ । यथार्थको उदघोषणा -
यस कथाको शीर्षक 'यथार्थको' (वि. सं.) 'उदघोषणा' (ना. सं.) पदहरू मिलेर बनेको 'यथार्थको उदघोषणा' भन्ने पदावली रहेको छ । पच्चीस बसन्त छिचोलिसकेकी प्राइभेट स्कूलमा कार्यरत शिक्षिकासित विदेशी पर्यटकको चिनाजाना भएपछि पर्यटकले उनकै स्कूलमा पुस्तकालय निर्माण गर्ने कुरा सुनाएपछि सो अनुमोदन भई स्कूलमा पुस्तकालय निर्माण हुन्छ । पर्यटकले शिक्षिकालाई मनपराएर बिहे गर्ने प्रस्ताव राख्दै पर्यटकले शिक्षिकालाई उनकै देशमा लाने प्रस्ताव राख्दा संस्कारमा हुर्केकी शिक्षिकाले जस्तै कुरुप भए पनि आफ्नै सम्प्रदायका केटासित जीवन धान्ने आफ्नो ढिट विचार राख्दा पर्यटकले आफ्नो देश नगई आजीवन यतै बस्ने कुरामा सहमत हुन्छन् । शिक्षिका धर्मसङ्कटमा परे पनि बिहे गर्नु हो भने सर्वप्रथम पात्र यतैको नागरिक हुनाका साथै बिहेको निम्ति कुनै डाक्टरसित जाँच गराई स्वस्थ शारीरिक जाँचको प्रमाण पत्र लिएर मात्र शिक्षिकाले पर्यटकसित बिहे गर्न स्वीकृति जनाउँछे । शिक्षिकाको कुरा स्वीकार गरी डाक्टरकहाँ जाँच गराएपछि पर्यटक एडसले ग्रसित भएको थाहा पाउँछन् । पर्यटकले विदेश पुगेर फोन मार्फत् माफ माग्दै उनलाई एडस भएको कुरा जनाउँछन् । पर्यटकको स्वीकारोक्तिलाई विषयवस्तु बनाएर १२०० शब्दहरूमा लेखिएको यस कथाको शीर्षक सार्थक र उपयुक्त देखिन्छ ।

१३ । महत्वाकाङ्क्षा -
'महत्त्वाकाङ्क्षा' कथाको शीर्षक एक शब्दात्मक छ । महात्त्वाकाङ्क्षा नामपद शब्द हो । ८४० वटा शब्दहरू संयोजन गरी लेखिएको यस कथाको शीर्षक 'मह्त्त्वाकाङ्क्षा'-ले शाब्दिक रुपमा उच्च लक्ष्य प्राप्त गर्ने आकाङ्क्षा, उच्चाकाङ्क्षा भन्ने अर्थ दिन्छ । डम्पिङ ग्राउण्डमा थुप्रेका रद्दी चिजबिजहरू बटुली जावन धान्ने आमा-छोराले डम्पिङ ग्राउण्डमा पोकामा बाँधिएको जिउँदै नवजात शिशु भेट्टाउँछन् । नवजात शिशु छोरी रहेकी कुरा आमा सालिमाले छोरो सुलेमानलाई बताउँछिन् । सलिमाले नानीलाई आफ्नो मुण्टो चुसाउँछिन् । यसभन्दा अघि बाटामा एकजना महिला पुलिस अधिकारीलाई देख्दा उसकी आमा पनि यस्तै तारा लाउने महिला अधिकारी भएकी हुँदो हो ता आफू खाते भएर हिँड़्नुपर्दैनथ्यो भन्ने सुलेमानले सोच्छ । अर्कोतिर डम्पिङ ग्राउण्डमा भेट्टाएकी छोरी र छोरोलाई नयाँ ठाउँमा बसाइँ सरी काम गर्ने अनि छोरा-छोरीलाई स्कूल पढ़ाउने र हुर्काउने आकाङ्क्षामा मस्त निदाएकी विषयवस्तु बनाएर लेखिएको यस कथाको उपयुक्त र सार्थक भएको छ ।

भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।