18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मान्छे निर्दयी पनि रहेछ

कविता बिनोद खड्का October 23, 2008, 11:55 am

जेठको उन्मत्त आकाशलाई सोधे

बर्षाको निवस्त्र झरीलाई सोधे

हिउँदको त्यो लुरे घामलाई सोधे

अनि चैत्रको अन्धो हुरीलाई सोधे ।

जीन्दगी के हो सबैलाई सोधे

अन्तमा फेरी आफैलाई सोधे

जवाफ के पाए थाहा छ?

त्यो त केवल अन्धो यात्रा हो ।

सुख र दूखसंग लुकामारी खेल्दै

पीडा र मस्तीसंगै गुटमुटिदै

बाल्यपन यौवन र बुढयौलीमा हराउदै

जीन्दगी आफैमा ढुन्मुनिदै चल्दो रहेछ

चीत्ताको अनन्त यात्रामा

चीरनिन्द्रामा हराउदै

जीन्दगी आफैमा बिलाउँदो रहेछ ।

तर पनि मान्छे

मान्छेलाई नै हाक्दो रहेछ

तर पनि मान्छे

मान्छेलाई नै थिच्दो रहेछ ।

खुसी बाड्न सक्ने मान्छे

पीडा पनि बाड्दो रहेछ

माया र दया बाड्न सक्ने मान्छे

आतंक र त्रास पनि बाड्दो रहेछ ।

मान्छे निर्दयी पनि रहेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।