17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सरोजा बान्तवा ‘पीयूष’'कृत 'प्रस्फुटन' काव्य सङ्ग्रहमा जीवन-मूल्यको शङ्खघोष

कृति/समीक्षा कृष्ण प्रधान April 6, 2023, 4:45 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

नेपथ्यपीठिका –
झण्डै -झण्डै भानुभक्त, लेखनाथ पौड्याल, देवकोटा र रवीन्द्रनाथ ठाकुरले आफ्नै घर-परिवारबाट प्रेरणा, उत्साह पाएजस्तै नै एघार वर्षकी ठिटौले उमेरदेखि नै साहित्य लेखन आरम्भ गरेकी हुन् सरोजाले । भानुभक्तले उनका बाजे हजूरबाट लेख्ने प्रेरणा पाए, कवि शरिमाणि लेखनाथ पौड्यालले साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाए पनि पछि खासमा उनै पितृप्रसादको ईखले दधिराम मरासिनीको स्नेह, सहयोग र सदभावनाले उनले काव्य सिर्जनाको लेखनविन्दुमा आफूलाई पुऱ्याएका थिए । नेपाली साहित्य को छन्दोबद्घ कवि तथा परिष्कारवादी धाराका संस्थापक लेखनाथ । महाकवि देवकोटा, विश्वकवि रवीन्द्रनाथले आफ्नी भाउज्यूहरूबाट कविता लेख्ने प्रेरणा पाएपछि यी दुवै कविहरूले दस वर्षको उमेरमा कविता लेख्न आरम्भ गरेका पाइन्छ । एघार वर्षको उमेरमा साहित्यत लेखन आरम्भ गर्ने सरोजाले प्रेरक तथा साहित्यिक गुरु आफ्नै आमा-बाबा नै ठान्छिन् । त्यसपछि मङ्पूका विशिष्ट साहित्यिक गुरुहरू उदय थुलुङ, केबी गिरी सरहरूलाई यथाक्रमले दोस्रा र तेस्रा गुरु रुपमा स्वीकार गर्छिन् भने घरका दाज्यू-भाउज्यूले ता टिकाको आशीर्वादस्वरुप अरुको लोकापर्ण धाउनु होइन तर आफ्नै कृति लोकार्पण तर्फ लाग्नुपर्छ भन्ने दिएका आशीर्वादलाई सञ्जीवनी नै ठानी आज कवि सरोजा पियुष आफ्नो पहिलो काव्यसङ्ग्रह प्रस्फुटन प्रकाशित गर्न सक्षम मात्र होइन भारतीय नेपाली काव्य फाँटलाई एउटा नयाँ कृति प्रदान गरेर आफूलाई भारतीय नारी कवि रुपमा दर्ता गराउन सफल भएकी छन् कवि सरोजा ।

प्रस्फुटन –
संस्कृतको नपुंसकवाची शब्द प्रस्फुटनको शब्दकोशीय अर्थ, फुल्ने वा फक्रिने काम, विकास, टुसाउने / प्रकट हुने काम, फुरेर फुट्ने काम हुन्छ । यस प्रस्फुटन काव्य सङ्ग्रहमा अठत्तरवटा साना-ठूला कविताहरू छन् तर अठत्तरवटै कविताहरूमा प्रस्फुटन शीर्षकको कविता देखिन्छ । काव्य सङ्ग्रहको जुन शीर्षक राखिएको हुन्छ ती शीर्षकको कविता सङ्ग्रहमा हुनैपर्छ भन्ने त्यस्तो वाध्यता छैन तर कवि सरोजासिर्जित कविताहरूले कवि सरोजाका भावना, मनोवेग, अनुभूति, आवेग, हर्ष-विस्मात यिनै कविता मार्फत् फुल्ने वा फक्रिने, विकसित हुने, टुसाउने / प्रकट हुने, फुर्ने काम भएको बुझिन्छ । यसैले यस काव्यसङ्ग्रहको शीर्षक सार्थक भएको छ ।
आफ्नो साहित्य लेखनकालमा सरोजाका औलामै गन्न नसकिने कविताहरू विभिन्न पत्र-पत्रिकाहरूमा छापिसकेको छ । स्पन्दन मासिक पत्रिकाकी सह-सम्पादक पनि हुन् यिनी ।
काव्यमा कवि सरोजाले जीवनमूल्य अन्तर्गत काव्यमा वर्णित सांस्कृतिक, सामाजिक तथा धार्मिक, संस्कारित जीवनमूल्यलाई रेखाङ्कित गरेकी पाइन्छ । खासमा, जीवनमूल्य त्यो आदर्श हो जसलाई मार्गदर्शक ज्योति मानेर सभ्यता सदैव गतिशील हुने गर्दछ । यिनै मूल्य र मान्यतालाई आधार मानी मानव जीवन निरन्तर प्रवाहमान भइरहन्छ । कविको जीवनमूल्यको आधार यसरी अभिव्यक्त भएको पाइन्छ –
जीवनको रङ्ग शून्य पाएँ
गुणान्तरमा घटबढ़्को मिश्रण पाएँ
जीवनको असलली रङ्ग खोज्दा
जीवनलाई इन्द्रेणी बनाएर सजाएँ
अन्तमा घामपानीको छायाँ पाएँ
जीवन एउटा मृगतृष्णा पाएँ
जीवन एउटा सिङ्गो बेरङ्ग पाएँ। (जीवन अनि रङ्ग-पृ. सं. २०)
हामीले हाम्रो जीवनमूल्यलाई नजिकबाट चिनेका छैनौं तर कवि सरोजाले जीवनमूल्यलाई छतछती साक्षात देखेकी छन् र स्वयमले भोगेकी पनि छन् । र ता उनी आदर्शवाद फलाँक्छिन् यसरी –
नकारात्मकलाई कुल्चिएर
सकारात्मकलाई अघि उभ्याएर
सबैलाई मद्दत गर्दै उत्साह दिने
म पनि हजूर जस्तै हुनु नि । (हजुर जस्तै हुनु नि – पृ. सं. २३)
आफ्ना कविताहरूमा कवि सरोजाले जीवनमा आफूले भोगेका, देखेका भक्कु अनुभव, अनुभूतिलाई कहिले विम्बात्मक रुपमा ता कहिले यथार्थ रुपमा प्रकट गर्नममा कुनै कञ्जुस्याइँ गरेकी देखिँदैन । विम्बविधानको अनेकता र भावना र यथार्थको कलात्मकताक सहितका काव्यिक बान्कीहरूमा मानवीय अनुभूतिका स्वाभाविक सत्य तथा यथार्थहरुलाई पर्गेल्ने प्रयास गरेकी देखिन्छ –
अर्जुन नामको अर्थ
एक किसिमको औषधीय गुण
सरोज नामको अर्थ
कमलको फूल
यसरी उद्भिदहरू बिजको
मिलन उपज नै सरोजार्जुन ।
उहाँ मेरो (मेरा -कृप्र) पति परमेश्वर
उहाँको चरण
मेरो मन्दिर
कमलको फूल टिपेर
म मन्दिर पस्छु
जब उहाँको चरणमा
पर्छ कमल
जीवन पाउँछु
मेरो सफल पत्रदल बस्छ
कोमल चरणमा
पर्छु म उहाँको चरणमा
मजबुत छातीमा अड़िन्छ आस
गर्छु म अनेकन् आस
मन्दिर बन्दछ पुष्पहार
धन्ये छ ईश्वरलाई
पाएँ उहाँलाई उपहार । (सरोजार्जुन – पृ. सं. १६-१७)
म ता भन्छु यस काव्य सङ्ग्रहका कविताहरूमध्ये सबैभन्दा उत्कृष्ट्तम कविता हो यो । सरोजा पूर्णाङिगिनी र अर्जुन पति महोदय । दुवै नाम सरोज र अर्जुनको सन्धि (सरोज + अर्जुन =सरोजार्जुन) । बड़ो मिठाइलो सन्धिको मेलबन्धन । भन्नु उसो होइन सरोज र अर्जुनको जम्मै कथा-व्यथा हामीलाई थाहा छ । सरोजालाई आफ्नो जीवनमूल्यको बोध छ । तर उनको जीवनमा जे जस्तो भए पनि कमलको फूल टिपेर मन्दिरमा पसी पतिदेवको चरणमा कमलले स्पर्श गर्दा कवि सरोजाले नयाँ मिठाइलो, सुखिलो, रमाइलो, टेसिलो जीवन पाउँछु भनी एक रत्ति पनि दुःख मनाउ नगरी जीवनमूल्यको उपहार गरेकी छन् । यस कविताले जीवनमूल्यको अर्थ र नारीजातिमा हुनुपर्ने त्याग, बलिदान, समर्पणको भावना जाहेर गरेकी छन् ।
जीवनमूल्यको अर्थ छर्लङ्ङै बुझेकी कवि सरोजाको वास्त
विक अनुभूति चिन्तन सजिवरुपले अजागार गरेकी छन् । आफ्ना शुष्क पीड़ामा पनि सार्वभौमिक तिक्तता ओकल्दै भए पनि शान्त र सौम्य रुपमा यसरी ढाड़स दिएकी देखिन्छ –
विकलाङ्ग हुनु भनेको
इच्छा मर्ननु होइन
इच्छाशक्ति हो
.....................
.....................
विकलाङ्ग हुनु होइन
एक सक्षम व्यक्तित्व हो
विकलाङ्ग भनेको
तिरष्कार होइन
...............
..............
विकलाङ्ग भनेको छारो होइन
विकलाङ्ग भनेको
नामको मान्छे होइन
एक साँचो मान्छेको शान
पूर्णाङ्गहरूको निम्ति
जिउने आघार हो । (विकलाङ्ग – पृ. सं. १३४-१३५)
आहा ! कति ठूलो कुरा । कति विराट दर्शन । जीवनमूल्यको ज्वलन्त नमूना । विकलाङ्गप्रतिको गज्जब सहानुभूति । जीवनमूल्यप्रतिको एउटा सुस्पष्ट दृष्टिकोण र जीवन बाँच्ने, जिउने एउटा मृत्युञ्जय दृढ़ आस्था देखिन्छ कवि सरोजाको जीवनदर्शनमा ।
यस सङ्ग्रहमा समविष्ठ अठत्तर कविताबारे अरु गन्थन गर्न सकिएन । यसको तक्निकी कारण के हो भने, अठत्तरवटै कविताको साङ्गोपाङ्ग नालीबेली केलाउँदा लामो भएर फेसबुकले ग्रहण गर्न नमान्ने डर भएकोले एककवटा कविताको नालीबेली कोट्याउन नसकेको एक रास दुःख मनाउन भइरहेछ । निकट भविष्यमा यस काव्यकृतिको समीक्षात्मक लेख तयार पार्ने योजना भएकोले अन्य कविताबारेको प्रसङ्ग यहीँ थन्काएको छु ।
समग्रमा कवि सरोजाका कविताहरू मनन गर्दा, यिनका कवितामा आफ्नै खालका निज लय, यति गति र अभिव्यक्तिका सुगमता भेटिन्छन् । उनी स्वप्निल, कल्पनाको सोंचविचारमा मात्रै आधारित नभई यथार्थ र जीवनदर्शनको युक्तिसङ्गत मेलका साथ आफ्ना मिठाइला, टेसिला विचारहरूलाई अभिव्यञ्जित गरेकी छन् । हेनतेन नभनी सत्ये भन्नु हो भने, मानिसका घाउमा मलम लगाउने प्रयासहरुको सापेक्ष तथा परिप्रेक्ष्यकै आधार तत्वमा यिनको सिर्जनात्मक अट्टालिका प्रतिष्ठा भएको देखिन्छ ।
कवि सरोजाका कविताहरू सरल अनि सबैलाई जिब्रोमा भिज्न सक्ने भाषाको प्रयोग पाइन्छ । कवितामा उच्चाटलाग्दो, क्लिष्ट भाषाको प्रयोग पटक्कै देखिँदैन । यिनका कविताहरू आफ्नै चेतनासँगको संवाद हो । उनको सुसंस्कारित विचार, भावना युगसँगको टड़्कारो वार्तालाप पनि हो । शक्तिशाली नारीशक्तिको बेजोड़ अनुभूति तथा चिन्तनशील कवित्वको युगीन समायोजनाबाट जन्मिएको प्रस्तुत काव्यकृतिले नयाँ जीवनमूल्य, नयाँ सोँचाइँ, नयाँ हेराइका कारण यो काव्यकृति बौद्धिक पाठकको लागि हल्का फुल्का लागे पनि साधारण तपाई हामीजस्ता पाठकका निमित्त भने उदाहरणीय सिर्जना भएको छ भन्ने प्रस्तुत काव्यकृतिका विश्लेषक दाबी गर्दछु ।
कविताको समुद्रमा हाम नफाल्नु फालिहालिन् कवि सरोजा । अब जस्तै छाल उर्लेर आए पनि समद्रको छालसित इत्रिँदै, हाँस्दै पौँठाजोरी खेल्दै सरोजाको दोस्रो कृति प्रकाशित हुनैपर्छ । किनभने कवि सरोजामा लेख्ने क्षमता, सिप भक्कु छँदैछ ।
यस पहिलो काव्यकृति प्रकाशनको निम्ति कवि सरोजालाई भक्कु श्यावाशीका साथा हरियो आशीर्वाद ।
काव्यकृति – प्रस्फुटन
काव्यकार – सरोजा बान्तवा ‘पीयुष’
प्रकाशनकाल – फरवरी २०२३
प्रकाशक – अर्जुन शर्मा निरौला
संस्करण – पहिलो ५०० प्रति
आवरण एवम् सज्जा – राजेश छेत्री, दुर्गागढ़ी
मूल्य – भा. रु. २००/-

सिलिगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।