18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

काजोल खातुनलाई नियाल्दा

कृति/समीक्षा बालकृष्ण लामिछाने April 6, 2023, 4:28 pm
बालकृष्ण लामिछाने
बालकृष्ण लामिछाने

१. सन्दर्भ
सिक्किमको एक साहित्यक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा दार्जिलिङको घुम पाहाडमा आएर गाडी परिवर्तन गर्नुपर्ने भयो । पशुपतिनगरसम्म जान स्टेसनमा गाडी लागेको रहेछ । गुरुजीले मलाई अगाडिको सिटमा राखे अनि “ पन्ध्र मिनेट जति समयमा २/४ जना प्यासेन्जर खोज्छु ल । ” भन्दै गाडीको ढोका थुनेर हिँडे ।
केहीबेरपछि बुर्काले अनुहार ढाकेकी एक युवती आई् र मतिर हेरेर सोधी “ यो गाडी पशुपतिनगर जाने हो ? ”
“ हो त । ” मैले छोटो उत्तर दिएँ ।
“ खै ढोका खोलिदिनुहोस् त । ” उसले मलाई गाडीको सम्बन्धित होजस्तै गरेर भनी ।
“ अहँ मलाई आउँदैन त । ” भन्नुको अर्थ यो गाडीको सम्बन्धित व्यक्ति म होइन । गुरुजीलाई सोधेर बस्नु नि भन्ने थियो ।
“तपाईँ त कस्तो अजिर मान्छे त्यति खोलिदिन पनि गाह्रो लाग्ने । ” चर्को स्वरमा मलाई वचन लगाउँदै केही खुलेको सिसामाथिबाट हात छिराएर झ्यालको लक खोलिन् अनि मेरो छेउको सिटमा आएर बसी ।
बोलीको आशय नबुझी जङ्गिएकी उसलाई बोलाउन उचित लागेन । आफ्नै सुरमा अगाडितिर हेरेर भुलिने प्रयत्न गर्दै थिएँ । फेरि उनैले सोधिन् “ गुरुजी खै त ? गाडी कतिखेर हिँड्ने रहेछ ? ”
“मलाई थाहा छैन । ” मैले यो उत्तरसँगै मलाई तिमीसँग बोल्ने मन छैन भन्ने पनि सङ्केत गरेँ ।
“ यो दाइ त कस्तो टिमुर्केको कुृरा मात्रै गर्नुहुन्छ हौ , कतिखेर हिड्छ भन्ने थाहा नपाई पनि गाडी चढिन्छ ? ”
“ त्यो थाह नपाई तिमीचाहिँ किन चढेकी नि ? ” भनेर सोध्न मन थियो तर सोधिन ।
यत्तिकैमा “ अब तत्काल हिँडिहाल्ने हो ” भन्दै गुरुजी २/३ जना प्यासेन्जरलाई गाडीमा चढाउन थाले । युवतीको ध्यान पनि उतै मोडियो ।
झ्याल बन्द गरेर गुरुजीले गाडी स्टार्ट गरे । युवतीले बुर्काजस्तो पारेर टाउकामा बाँधेको सल निकाली र अगाडि लत्रिने गरी दुबै काँधमा मिलाएर ओढी ।
गाडी अगाडि बढ्यो र निकै दूरी पार गर्‍यो । त्यस्ती युवतीका बोली र व्यवहारको मारमा परेर उसकै छेउमा बसिरहँदा मलाई वाक्क लागिसकेको थियो ।
“ दाइ कहाँ पुगेर आउनुभएको हो ? ” उसले केही नसोधेको भए हुने थियो । सोधी , मलाई लाग्यो कि उसको बाझ्ने र गाली गर्ने धीत अझै मरेको छैन ।
“ सिक्किम । ” मैले थोरै ऊतिर फर्किएर एक शब्दमा उत्तर दिएँ । मेरो मुखबाट फुत्किएको शब्दको रुखोपन र अनुहारको आकृतिमा तिमीसँग बोल्न मन छैन भन्ने सङ्केत थियो होला ।
“ मैले त सामान्य ठट्टा मात्र पो गरेको , दाइ त धेरै रिसाउनु भएछ । मलाई पनि साहित्य धेरै मन पर्छ । मेरा धेरैजसो साथीहरु पनि साहित्यकार र पत्रकारहरु नै छन् । ”
मैले ऊतिर नहेरी प्रतिक्रिया जनाएँ “ ए । ”
“ आज इलाम सदरमुकामसम्म गएर घर त भोलिमात्र जानुहुन्छ होला , होइन ?” मसँग पहिल्यै परिचित भएजस्तो उसको यो प्रश्नले मलाई अलि मत्थर बनायो । ऊतिर फर्किएर हो भन्ने सङ्केत गरेँ । यतिबेला मात्र उसको अनुहार नियालेर हेरेँ । पहिले नै कतै देखेजस्तो लाग्यो तर ठम्याउन सकिन ।
“ तपाईँले मलाई चिन्नु भएन हो? ” यो प्रश्नको उत्तर नदिएर उसलाई फेरि नियालेँ । ऊ खिस्स हाँसी ।
यति नै बेला सिमानामा आइसकिएछ । उसले गुरुजीसँग भनी “ मलाई सिमानावारी नै रोकिदिनु है । ”
उनले गाडी रोकिदिए ।
ऊ आफैँ ढोका खोलेर झरी अनि मतर्फ फर्किएर हात हल्लाई त्यसपछि बाटो छेउमा उभिएकी अर्की युवतीतर्फ अघि बढी । अर्की युवती उसैलाई सम्बोधन गरेर भन्दै थिई “काजोल तैँले मलाई कत्रोबेर पर्खाएकी हँ ! ” यत्रिकैमा हाम्रो गाडी अगाडि बढ्यो ।
म पशुपतिनगर आएर अर्को गाडी चढेँ । मलाई राम्ररी चिन्ने , तर मैले राम्ररी ठम्याउन नसकेकी यो काजोल भन्ने को रहिछे ? पहिले मैले उसलाई कहाँ भेटेको रहेछु ? यस्तै यस्तै कुरा मेरो मथिङ्गलमा घुमिरहेको थियो । यस्तैमा फिक्कल आइसकिएछ । पावनभूमि पुस्तक पसल अगाडि आएर गाडी रोकियो । पसलमा परैबाट देख्ने गरी राखिएको पुस्तकले मेरो ध्यान खिच्यो । पुस्तक नाम थियो “काजोल खातुन । ” जुन पायो त्यही पुस्तक नकिन्ने मैले यो पुस्तकचाहिँ यही प्रसङ्गमा किनेको हुँ ।

२. प्रसङ्ग

काजोल खातुन बि. सं. २०७२ सालमा प्रकाशनमा ल्याइएको फूलमान बलको कथासङ्ग्रह हो । यस कथासङ्ग्रहभित्र लामा छोटा गरी १३ ओटा कथाहरु सङ्ग्रहित छन् । ती कथाहरुमध्ये एउटा कथाको शीर्षक काजोल खातुन रहेको छ । यही कथाको शीर्षकबाट नै पुस्तकको नामाकरण गरिएको छ । उनले महाभारतकी मैच्याङ् ( २०७० ) कविता सङ्ग्रह , मेन्दोमाया मञ्चित नाटकका साथै सेलोफोन फिल्ममा निर्देशन गरेका हुन् । उनी पेशाले पत्रकार हुन् । यस लेखनमा उनीद्वारा रचित काजोल खातुन कथासङ्ग्रहको सामान्य विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।

क. कथाबस्तु
काजोल खातुनभित्रका अधिकांश कथा युद्ध र आतङ्कका कारण सिर्जित समस्याका विषयमा रचना भएका छन् । पेमासाङ् थिङ कथामा दशबर्षे माओवादी सशस्त्र विद्रोहका क्रममा विद्रोहीहरुले जिल्ला सदरमुकाम कब्जा , जनसरकार घोषणा , बन्द र हडताल गर्न थाल्दादेखि लिएर २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन , लोकतन्त्र स्थापना , शान्ति सम्झौतासम्मका बिषय उठाउँदै परिवर्तनपछि पनि समाजमा कनै भिन्नता नआएकाले विद्रोही बनेर हिडेका जनसेनाहरु खाडीमुलुक नै जान बाध्य हुनुपरेको अवस्था चित्रण गरिएको छ । यसमा २०७२ सालको भूकम्प र धरहरा ढलेको प्रसङ्गसम्मको वर्णन गर्दै विद्राहीसँग गरिएको प्रेममा पनि त्रशित हुनुपरेको र सो असफल भएको विषय कथामा प्रस्तुत भएको छ । अर्को कथा काजोल खातुनले अमेरिकाले अफगानिस्थानमा तालेवानमाथि हमला थालेपछि सिर्जित युद्ध र आतङ्कको भयलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।त्यही समय नेपालमा पनि सशस्त्र विद्रोहका कारण वातावरण उस्तै त्राहि त्राहि बन्नुपर्ने खालको रहेको विषय प्रस्तुत भएको छ । कम्युनिस्ट केटी कथामा राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कार्यका विरुद्ध थालिएको सडक आन्दोलनमा धेरैले जीवन उत्सर्ग गरेर गणतन्त्रको स्थापना भए पनि परिवर्तनपछि तात्विक भिन्नता देखा पर्न नसकेको बिषय प्रस्तुत भएको छ । फूलमायाको देश कथामा रोग , भोक र गरिबीलाई धान्न नसकेर बसाइँ हिँड्नुपर्ने विषय प्रस्तुत भएको छ । माईगाउँकी डोल्मा कथामा वर्ग विभेद र माओवादी द्वन्द्वको असर देखाउँदै समाज परिवर्तनका लागि प्रत्येक व्यक्ति लागिपर्नु पर्ने विषय प्रस्तुत भएको छ । द्वन्द्वको चपेटामा परेर घर छाड्न बाध्य भएको दाइलाई तिहारमा टीका लगाउन नपाएकी बहिनीको पीडालाई मूल विषय बनाएर मखमली हासेन शीर्षकको कथा रचना भएको छ । अनि प्रमको हुरी चल्यो कथाचाहिँ राजतन्त्रविरुद्धको सडक आन्दोलन, साँझको हावाहुरी र अन्तर्जातीय विवाह गर्न बाधक बनेको परिवारको पूरातनवादी सोचविरुद्ध पात्रको मनमा चलको हुरीलाई संयोजन गरी रचना भएको छ । उपन्यासकी नायिका शीर्षकको कथामा उच्चवर्गीय परिवारका मानिसको अनेक शोखका कारण तिनका जीवनमा आएको अस्थीरतालाई मूल विषय बनाइएको छ । नाम्ग्याल दोर्जे कथामा देशमा प्रजातन्त्र आए पनि समाजमा राजनीतिक विकृति कायम रहेको , आन्देलन गर्न नचाहने मानिस पनि बाध्य भई सडकमा उत्रिएर आन्दोलन गरी सहादत प्राप्त गरेको र भारतमा बेचिन बाध्य भएकी नेपाली चेलीको कथा प्रस्तुत भएको छ । रातो डायरी , बन्दुक बोकेकी स्न्दुरी , छापामारको चिठी , प्रेमको पल जस्ता सबै कथाहरुमा माओवादी सशस्त्र विद्रोहका कारण दुःख पीडा , कष्ट भाग्नुपरेको अत्यन्त पीडादायी अवस्थालाई नै मूल विषय बनाइएको छ ।
यसरी काजोल खातुनले समसायिका समाजका युद्धग्रस्त अवस्थालाई प्रस्तुत गरेको छ । यस कथा सङ्ग्रहभित्रका कथाहरुमा देशभित्रको युद्धरत अवस्थाका साथै देशबाहिरको तालेवानले गर्देै गरेको युद्धलाई पनि प्रस्तुत गरेको छ। यस कथा सङ्ग्रहभित्रका सम्पूर्ण कथाहरुमा नै द्वन्द्वका कारण सिर्जित समस्याहरु नै प्रस्तुत भएका छन् । यी कथाहरुले तत्कालीन समयको यथाथलाई नै प्रस्तुत गरेका छन् ।

ख. पात्र वा चरित्रचित्रण

काजोल खातुन कथासङ्ग्रहभित्रका प्रायः सबै पात्रहरु किशोर तथा युवा उमेरका छन् । प्रायजसो पात्रहरु विद्यार्थी तथा पत्रकारितामा रुचि भएका छन् । उनीहरुका बैशालु मनहरुले समवयी विपरीत लिङ्गीसँग आत्मिक प्यारको अपेक्षा राखेका छन् । तर त्यस्ता ती प्रेमिल रहरका कोमल मनहरु एउटा एउटा बाध्यताले युद्धमा होमिनु पर्ने र युद्धका पीडाबाट प्रताडित बन्नु परेको देखिन्छ । द्वन्द्वरत अवस्थाले उनीहरुको स्वच्छन्द प्रेममा वाधा पुर्‍याएको छ । कथामा अवस्था र परिस्थितिअनुसार छिट्टै आफूलाई बदल्न चाहने गतिशील पात्रहरुको बाहुल्य रहेको देखिन्छ ।
पेमासाङ थिङ कथामा पेमासाङ र मपात्र पुष्प मुख्यपात्र रहेका छन् । उनीहरु कलेजको क्याटिनमा चिया पिउँदै आफ्ना विचारहरु राख्ने क्रममा परिचित भएका हुन् । पेमा माओवादीको महाभारत एरिया कमिटीमा इन्चार्ज थिई । ऊ त्यहाँ रचना नामले चिनिन्थी । घट्टमा मकै पिनेर फर्कँदै गर्दा हेलिकप्टरबाट झरेका सैनिकले बिद्रोही ठानेर गोली बर्साउँदा उनका बाबुको मृत्यु भएको हो भने त्यस घटनापछि जङ्गल पसेका उनका दाजु सोलु आक्रमणका क्रममा मारिएका हुन् । उनै पेमा पत्रकारितामा स्नातक गर्न काठमाडौं आएपछि भने विद्यार्थी फाँटकै उपत्यका कमिटी मातहतको सदस्यका रुपमा जिम्मेवारी पाएर काम गर्दै रहेकी भन्ने कुरा पुष्पले बुझ्न पायो । यस्तो अवस्थामा पेमासँग प्रेममा परेको पुष्पले अनेकथरी कुरा सोच्छ । क्रान्तिकारीहरुले अरुले गर्ने प्रमलाई बुर्जुवा प्रेम भन्न्ो हुनाले कतै पेमाले पनि आफूलाई राजनीतिमा तान्न रणनीति त अपनाएको होइन भन्ने पुष्पमा शङ्का पनि पलाएको छ । पेमा गरिबको शोषण गरी निर्माण गरिएको धरहरा चढ्न अस्वीकार गर्छे । जस्तो विचारको हावा चल्छ मानिसहरु पनि त्यस्तै सोचाइ र व्यवहारका पात्रहरु कथामा प्रस्तुत भएका छन् ।
अचानक अपहरणमा परी पेमा गायब भएपछि चिन्ताका कारण डिप्रेसन भएको पुष्प औषधी खान थाल्छ । समय निकै बितेको हुन्छ , शान्तिसम्झौतापछि पत्रकारिताकै शिलशिलामा दुधौली क्याम्पमा पुग्दा पुष्पले गेटको छेउमा नै अन्दाजी ४ बर्षे छोराका साथ जनसेनाका रुपमा रहेकी पेमालाई देख्छ । हतार उनी अनुहार छोपेर गेटभित्र पस्छिन् । बिग्रेड कमिसारबाट पुष्पले थाह पायो कि उनी ओखलढुङ्गा आक्रमणमा पति गुमाएर विछिप्त रहेकी छिन् । कमिसारले भेट्न नदिएपछि पुष्प त्यसै फर्किन्छ । त्यसको छ बर्षपछि च्याटमा पुष्पले पेमालाई फेला पार्छ । पेमा अयोग्य लडाकु भएर समायोजनमा नपरेपछि इज्रायल पुगेकी रहिछे । ठुलै परिवर्तन गर्न हिँडेकी पेमा त्यो त दिवा सपनामात्र रहेछ भन्ने निष्कर्षमा पुगेकी छ । ऊ इज्रायलबाट फर्किएपछि पुष्पलाई भेट्न र धरहरा चढ्न मञ्जुर भएकी थिई । तर पुष्प बाटोमा रहँदा नै भूकम्पले धरहरा ढलेको समाचार सुन्छ । यसरी द्वन्द्वका कारण त्यसमै सहभागी भएका र अनेक हन्डर खाएका प्रताडित पात्रहरुको पीडित अवस्थालाई कथामा प्रस्तुत गरिएको छ ।
काजोल खातुन उक्त कथाको मूलपात्र हो । ऊ अफगानस्थानबाट भारतको मुस्लिमबहुल सहर हैदराबाद आएकी छ । नेपालबाट एक महिने गोष्ठी र सेमिनारमा गएको म पात्रसँग त्यहाँ अचानक काजोल खातुनको भेट हुन्छ । काजोल खातुन युद्ध र आतङ्कका कारण बाबु आमालगायत आफन्तहरु गुमाएकी पात्र हो । उसले अन्तराष्ट्रिय समाचारका माध्यमबाट नेपालमा चर्किएको द्वन्द्वका बारेमा पनि सुन्दै आएकी छ । उसले इद मनाउन काठमाडौंबाट वीरगञ्ज जाँदै गरेकी सातबर्षीया काजोल खातुन अन्य पाँचजनासहित बिद्रोहीको निशानामा परी जलेर मरेको समाचार सुनेकी छ । ऊ आफू पनि त्यस्तै मरिसकेकी काजोल खातुन रहेको बताउँछे । ऊभित्र उसको उमेरसँग नमिल्ने अस्वभाविक गम्भीरता रहेको छ । उसमा यही पीडाका कारणले यस्तो गम्भीरता आएको बताइएको छ । तथापि काजोल खातुन काबुल फर्किएर मानवता र प्रेमको खोजी गर्न चाहने दृढ अठोट भएकी किशोरीका रुपमा कथामा चित्रण गरिएकी छे ।
कम्युनिस्ट केटी गार्भेन्ट कम्पनीमा काम गर्ने बाबुआमाकी छोरी हो । ऊ निकै अध्ययनशील र क्रान्तिकारी विचार बोकेकी उर्जाशील केटी हो । ऊ सडक आन्दोलनमा प्रहरीको टियर ग्याँसबाट बच्न सहारा लिएको युवक पुष्पसँग नजिक हुन्छे । पटक पटक भेटेर पुष्पलाई राजनीतिक आन्दोलनमा सहभागी हुन प्रेरित गरिरहन्छे । सडक आन्दोलनमै जीवन उत्सर्ग गर्ने ऊभित्र समाजपरिवर्तनको ठुलो अभिलाशा पाउन सकिन्छ । साथै म मुक्ति चाहन्छु भनी पत्रमा साङ्केतिक अर्थ प्रस्तुत गर्ने उसमा मुक्तिसँग गहिरो प्रेम बसेको बुझ्न सकिन्छ । फूलमायाको देश कथामा आफूलाई छाडेर बसाइँ जान लागेको बालसखालाई देखेर भावविभोर बनेकी फूलमायाको चरित्रलाई प्रस्तुत गरिएको छ । माईगाउँकी डोल्मा कथामा सुखी र सम्पन्न सहरिया परिवारमा हुर्किएकी प्रज्वला रिपोर्टर भएर माईगाउँ पुगेपछि बिद्रोहीहरुको आदेशमा एकहप्ता बस्न बाध्य भई । त्यसबेला नै उसलाई त्यहाँको दुःख , अभाव र अशिक्षाका बारेमा थाह ह्न्छु । ऊ पछि सेवाको भावनाले अप्रत्यासित रुपमा शिक्षिका भएर माईगाउँमा गएर बसेकी छ ।
मखमली हाँसेन कथामा द्वन्द्वका कारण घरमा बस्न नसकेर परदेशिएको दाजुका सम्झनामा तिहारमा विव्हल बनेकी बहिनी अर्चनाको विरहीपनलाई प्रस्तुत गरिएको छ । अनि प्रेमको हुरी चल्यो कथामा जन्मजात मुटुरोगी रहेकी अञ्जली सुबेदीमा निराशा र जीवनप्रति उदाशीपन रहेको देखिन्छ । मुटुको फलोअप उपचारका लागि भेलोर गएका बेला उनको जीवनसँग अप्रत्यासित भेट हुन्छ । यो भेटपछि ऊ निकै फरासिली बन्न थाल्छे । एकाएक उसका आँखामा चमक , ओठमा मुस्कान र मनमा आशा पलाउन थाले । गुरुङ केटासँग विवाह गर्न स्वीकृति नदिने परिवारको सोचाइविरुद्ध आन्दोलनको हुरी चलाउने विद्राही चरित्र देखा पर्छ । उपन्यासकी नायिका कथाकी मुख्य पात्र पल्पसा सहरको उच्चवर्गीय परिवारमा हुर्किएकी युवती हो । अहिले स्टाफ नर्स रहेकी पल्पसा आफ्नो सौख पूरा गर्न भन्दै पत्रकारिता थाल्छे । विद्रोहीहरुले गर्न लागेको सदरमुकाम कब्जाबारे रिपोर्टिङ गर्न जाँदा तिनको कब्जा गर्ने योजना विफल भएपछि पत्रकारलाई समेत ३ दिन नियन्त्रणमा लिएर छाड्छन् । त्यसपछि पल्पसा पत्रकारिता पनि मन परेन भन्दै कामविना बस्न थाल्छे । यस्तो अस्थीर सोचाइ भएकी ऊ नचाहँदा नचाहँदै पनि डिभी भरेर अमेरिका जान्छे । तर पत्रकार रहेको मपात्र पल्पसाले आफूसँग प्रेम गर्थी भन्ने कुरा पछिमात्र थाह पाउँछ ।
नाम्ग्याल दार्जे उक्त कथाको मूलपात्र हो । ऊ गाउँका मेलाहरुमा सबै दौँतरीहरुलाई पछार्न सक्ने बलियो पात्र हो । २०४८ सालको चुनावमा बुथ क्याप्चर गर्न सहयोग गरी चुनाव जिताएपछि एउटा सरकारी अफिसमा गार्डको काम पाएर काठमाडौँ छिरेको हो । बन्द हड्तालजस्ता कार्यले आफ्नै जीवन कठिन बन्न थालेपछि भने उसलाई यस्तो कार्य पटक्कै मन पर्दैन । युवकले उसलाई आन्दोलनप्रति उर्जा भरिदिन्छ । उक्साहटमा जुलुसमा सहभागी हुन गएको ऊ नफफर्किएको अवस्थामा कथाको अन्त्य हुन्छ । परिस्थितिसँग फेरिएको नाम्ग्यालको गतिशील चरित्रलाई यस कथाले प्रस्तुत गरेको छ । भारतको बेश्यालयमा बेचिन पुगेकी नाम्ग्यालकी छोरी चरीमाया एड्सबाट सङ्क्रमित बन्नुपरेको कुरा पनि प्रस्तुत भएको छ ।
रातो डायरी कथामा माओवादी द्वन्द्वमा पीडित अपहरित पात्रहरुलाई कथामा प्रस्तुत गरिएको छ । कथाकी नारी पात्र लक्ष्मीले रातो डायरीमा भयातुर आतङ्कित अवस्थाको वर्णन गरी आत्महत्या गरेको प्रसङ्ग यस कथामा प्रस्तुत भएको छ । बन्दुक बोकेकी सुन्दरी कथामा माओवादी बिद्रोही पक्षकी सुम्निमा र सुरक्षाकर्मी शशीकलाका समूहबीच जम्काभेट हुनलागेका अवस्थाको वर्णन गरी सुरक्षा फौजलाई लक्षित गरेर प्रहार गर्न खोजेको ग्रिनेड हातैमा बिस्फोट भई सुम्निमाको मृत्यु भएको देखाइएको छ ।
छापामारको चिठी कथामा चैतन्य सर र प्रज्ञाको घरमा डेरा बस्ने आकाश राई माओवादी विद्रोहमा लागेको बिद्रोही पात्र हो । ऊ आफूजस्तै बिद्रोही पात्र शुशीला क्षेत्रीसँग अन्तरजातीय विवाह गर्छ । गुरुङ गाउँको आक्रमणमा परी दाजुको मृत्यु भएपछि ऊ क्रान्तिमा होमिएकी हो । प्रहरीले आकाश र शुशीलालाई पक्रियो र निकै यातना दिएर तीन महिनापछि छाडिदियो । वैचारिक विचलनको सम्भावना र प्रहरीलाई महत्वपूर्ण सूचना चुहाएको आशङ्कामा आकाशको अपहरण गरी सफाया गरिएको समाचार आयो । यस भयात्रु समयलाई शोक र छट्पटीमा बिताएकी शुशीलाले अचानक एउटा पत्र लेखी डेरा बसेको घर छाडी । युद्ध र आतङ्कमा पीडित पात्र शुशीला आफ्नै माइती गाउँ गोरखामा एउटा विद्यालयमा पढाउन थाली । ऊ सानो छोराका साथ समालिएर हिड्न थालेको कुरा कथामा देखाएको छ ।
प्रेमको फूल कथामा आस्थाको पति एक साँझ कीर्तिपुरबाट क्रान्तिकारीको अपहरणमा परेपछि ऊ पीडाले मर्माहत बनेकी छ । फोन गरेपछि आएकी साथी भावना आफ्नो विगतको घटना बताएर उसलाई सान्त्वना दिन्छे । भावना आमा र भाइको मृत्युपछि फुपूकहाँ बस्न थालेकी हो । गलत रिपोर्टिङका कारण फुपूको जेठो छोरा ( ठुल्दाइ ) को हत्या हुन्छ । त्यसपछि जङ्गल पसेका ठुली भाउजू र माल्दाइ पनि दोहोरो भिडन्तमा मारिन्छन् । त्यसपछि भावनाको उत्साह र शाहस भरिदिने एउटैमात्र अमर सर रहेको र उनैबाट भावनाले बाँच्ने प्रेरणा पाएको अनुभव गरेकी हुन्छे । ती पनि बिद्रोहीको अपहरणमा पर्छन् । केही समयपछि खैलौना सम्झिएर बम खेलाउँदा २ जना विद्यार्थी र अमर सरको मृत्यु हुन्छ । यसरी द्वन्द्वको मारमा परेर चूणान्त पीडा खपेर बाँचेकी भावनाको चरित्रलाई यस कथामा सूक्ष्म रुपमा प्रस्तुत गरिएको छ ।

ग. परिवेश

काजोल खातुन कथासङ्ग्रहभित्र २०४६ सालको जनआन्दोलन हुँदै माओवादी सशस्त्र विद्रोह वि. सं. २०५२– ०६३ दखि लिएर शान्ति सम्झौतापछिसम्मको समयावधि प्रस्तुत भएको छ । कथासङ्ग्रहमा भूकम्पका कारण धरहरा ढलेको देखाइएकाले यसमा २०७२ सालसम्मको समयावधिलाई देखाइएको छ । पेमासाङ थिङ काठामाडौको सहरीया परिवेशका साथै सिन्धुलीको महाभारत पर्वतलगायतका स्थान कथाको परिवेशका रुपमा आएका देखिन्छन् । यसबाहेक इज्रायलको समेत परिवेश वर्णन गरी कथा रचना भएको छ । पेमा र पुष्प अध्ययनरत आर आर क्याम्पस , पेमा आवद्ध बनी काम गरेका युद्धका मोर्चा , जनसेनाको दुधौली क्याम्प तथा आन्दोलित सडकसमेतलाई परिवेश बनाएर कथा रचना भएको छ । यस्तै काजोल खातुन कथामा गृष्मकालीन भारतको मुस्लिमबहुल हैदराबाद सहरको परिवेश चित्रण गरी कथा रचना भएको छ । यसमा अफगानिस्थानको आतङ्कवादी गतिविधि साथै नेपालको माओवादी विद्रोहका कारणले उत्पन्न त्रशित परिवेशलाई पनि प्रस्तुत गरेको छ । त्यस्तै अन्य कथाहरु पनि देशभित्रको माओवादी विद्रोहका कारणले उत्पन्न त्रशित परिवेशलाई वर्णन गरेर नै रचना भएका छन् । कम्यनिस्ट केटी , नाम्ग्याल दोर्जे , अनि प्रेमको हुरी चल्यो कथा प्रतिगमनविरोधी शान्तिपूर्ण सडक सङ्घर्षलाई मुख्य रुपमा प्रस्तुग गरी रचना भएका छन् ।
माईगाउँकी डोल्मा , उपन्यासकी नायिका , रातो डायरी , छापामारको चिठी , प्रेमको फूलजस्ता कथामा विद्रोहीद्वारा अपहरण गरिएका , बन्धक बनाइएका , सफाया गरिएकाजस्ता आतङ्कपूर्ण परिवेशको सिर्जना भएको देखिन्छ । मखमली हाँसेन कथामा कथामा द्वन्द्वका कारण विद्रोहीको निशानामा परेको राजु लामो समयसम्म घर नफर्किँदा खल्लो बनेको बहिनीको तिहार देखाइएको छ । फूलमायाको देश कथामा गरिबीका कारण बसाइँ हिड्नुपर्ने बाध्यात्मक परिस्थितिको वर्णन गरिएको छ ।

घ. कथाको उद्देश्य

युद्धका कारण समाज आतङ्कित बनेको , विकासमा गतिरोध देखा परेको , निर्माणभन्दा ध्वंशात्मक क्रियाकलाप बढेको कुरा देखाउने उद्देश्यले काजोल खातुन कथासङ्ग्रहको रचना भएको छ । यसमा विद्रोही र सरकारको दोहोरो भिडन्तको मारमा सोझा जनताहरु पीडित बन्नुपरेको अवस्था देखाइएको छ । युद्धले परिवारका सबै सदस्य गुमाउनु् परेको , आफ्नै अगाडि आफन्तलाई वीभत्स हत्या गरिएको , आफैँ पनि कतिबेला राज्यपक्ष अथवा विद्रोहीको निशानामा परिने हो भन्ने ठेगान नभएको भयातुर अवस्था देखाई त्यसबाट मुक्तिको चाहना कथामा व्यक्त भएको छ । यसमा युद्धले ल्याएको परिवर्तन दिगो नहुने कुरा पनि देखाइएका छ ।
युद्धका कारण पूल भत्काइएको , भवन जलाइएको , आफन्तबीच ढुक्कले चाड मनाउन नपाइएको कुरा कथाले सशक्त ढङ्गले देखाएको छ । साथै अधिकांश कथामा द्वन्द्वका कारण प्रेमी प्रेमिकाले ढुक्कका साथ प्रेम गर्ने वातावरण नरहेको कुरा देखाइएको छ । काजोल खातुन कथामा मपात्र र काजोल खातुनबीचको प्रेम होस् अथवा पेमासाङ थिङ कथामा पेमा र पुष्पबीचको प्रेम होस् वा कम्युनिष्ट केटी कथामा मपात्र र कम्युनिष्ट केटीबीचको प्रेम होस् , युद्धका कारण तिनको प्यारको वातावरण टुटेको देखाइएको छ । यहाँनिरचाहिँ किशोर किशोरीको आत्मिक प्यारको वातावरणका लागिमात्र युद्धको अन्त्य हुनुपर्ने बताउने अधिकांश कथाको वैचारिक धरातल कमजोर बनेको देखिन्छ । समाजका हर क्षेत्रका साथै किशोर किशोरीका प्र्रेमका लागि समेत उचित वातावरण छैन भन्ने मानेमा कथालेखनले सही उद्देश्य पाएको देखिन्छ ।
कथामा परिस्थितिद्वारा निर्मित वैचारिक धारणा निर्माण भएको देखिन्छ । पुष्प धरहरालाई हाम्रो सभ्यता र संस्कृतिको धरोहर ठान्छ भने पेमासाङ कामदारको श्रमशोषण गरी शासकले आफ्नो नाम राख्न निर्माण गरेको सामन्तवादी कार्यको उपज ठान्छे । काम गर्दागर्दै आफ्ना पूर्खाले यहीँ ज्यान गुमाउनु परेको भन्दै पेमा यस्तो सामन्तवादी शोषणले ठडिएको धरहरा चढ्न मान्दिन ।
गणतन्त्र स्थापना भएपछि विद्रोहीले बाँडेको सपनाजस्तो समाज निर्माण हुन सक्तैन । पेमा आफैँ सबै आफन्त गुमाएर पनि सशक्त रुपमा विद्रोही सेनामा सामेल भएकी तर अयोग्य लडाकूमा दरिएर वैदेशिक रोजगारीमा जान वाध्य भएकी छे । यसबाट जतिसुकै ठुलो परिवर्तनको सपना बाँडिए पनि अवस्थामा परिपर्तन आउन नसकेको क्रुा बताइएको छ । समयक्रममा पेमा धरहरा चढ्न मञ्जुर भएको देखाएर लेखकले उग्र विचारको चस्मा फुकालेर समाजलाई हेर्दा नै यसलाई सही रुपमा देख्न सकिने बताएका छन् ।
युद्ध र आतङ्कका कारण समाजका सम्पूर्ण अवयवहरु कमजोर बन्दै गएर व्यक्ति व्यक्तिबीच अविश्वास बढेको कुरा कथासङ्ग्रहमा प्रस्तुत गरिएको छ । यतिसम्म कि प्रेममा चुर्लुम्म डुबेर एकअर्काबिना बाँच्न नसक्ने अवस्थामा पुगिसकेका प्रेमीप्रेमिकाबीच पनि शङ्का गर्नुपर्ने र यस्तो प्रेमलाई विपक्षीले राजनीतिमा तान्नका लागि अपनाएको रणनीतिका रुपमा शङ्का गरेको देखिन्छ । उदाहरणका लागि पेमासाङ थिङबाट एउटा एक अंशलाई हेर्न सकिन्छ :–
“ क्रान्तिकारीहरुको भर हुन्न । उनीहरु त अरुले गर्ने प्रेमलाई बुर्जुवा प्रेम भन्छन् । कतै प्रयोगको रणनीतिक चालबाजी पनि हुन सक्छ ।” ( पृ –१० )
यसरी युद्धका कारण जीवन बर्बाद बनेको , सून्दर संसार क्षतविक्षत बनेको लेखकीय विचार कथामा प्रस्तुत भएको छ ।

ङ. भाषशैली

यस कथासङ्ग्रहभित्रका अधिकांश कथाहरु पूर्वदीप्ति शैलीमा रचना गरिएका छन् । त्यस्तै कथा प्रस्तुत गर्ने क्रममा वर्णनात्मक शैलीलाई ग्रहण गरिएको छ । कथासङ्ग्रहभित्र कथाहरुमा उस्तै सशस्त्र विद्रोह अथवा राजाको प्रतिगमनका विरुद्धको सडक आन्दोलनका घटना दोहोरिएका छन् । सबैजसो कथाका पात्रहरु अल्लारे उमेरका , विद्यार्थी र पत्रकार छन् । केही कथाका पात्रहरु तपाईँको सम्बोधनबाट तिमीमा र तिमीको सम्बोधनबाट तपाईँमा परिवर्तन भइरहेका देखिन्छन् । तिनीहरुभित्र प्रेमको स्वभाविक आकर्षण रहेको छ । तर तिनीहरु द्वन्द्वको मारमा परेका छन् । कतिपय त बाध्य भएर विद्रोही बन्नुपर्ने परिस्थिति सिर्जना भएको देखिन्छ । हत्या , आतङ्क र अपहरणले सबैलाई कायल पारेको छ । यसरी सङ्ग्रहभित्रका प्रत्येक कथामा एकै प्रकारको स्वाद पाउन सकिन्छ । तथापि चित्रमय वर्णनले कथा प्रस्तुतिलाई जीवन्त बनाएको देखिन्छ ।

च. शीर्षकीकरण

कथासङ्ग्रहको एउटा कथाको शीर्षकबाट पुस्तकको नाम काजोल खातुन दिइएको छ । पुस्तकको नामाकरण उपयुक्त भए पनि कथासङ्ग्रहभित्रका अन्य कथाहरुको शीर्षकीकरण गर्नमा लेखक सबैभन्दा बढी चुकेका छन् । पहिलो कथाको शीर्षक पेमासाङ थिङ् नराखेर पहिलो वाक्यांश धरहरा ढल्यो राखिएको भए सबैभन्दा बढी उपयुक्त मानिने थियो । यसो हुँदा प्रतीकात्मक रुपमा बिभिन्न अर्थ प्रक्षेपण गरी कथाको मूल्य निकै बढ्न सक्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यसले कथाकारको अभिप्राय पनि अझ प्रष्ट हुन सक्थ्यो । काजोल खातुन कथा पढिसकेको पाठकले मखमली हासेन शीर्षक पनि कुनै पात्रको नामबाट राखिएको अनुमान गर्छ । कथाको शीर्षक माईगाउँकी डोल्मा राखिएको छ तर कथाचाहिँ काठमाडौकी प्रज्वलाको प्रस्तुत गरिएको छ । अनि प्रेमको हुरी चल्यो कथाको शीर्षक पात्र हेरेर त्यस्तो हुरीले प्रेम गर्नेहरु आफैलाई उडाएको देखाइएको होला भन्ने सहजै अनुमान गर्न पुगिन्छ । तर कथामा चाहिँ प्रेमीहरु अन्तरजातीय प्रेमविवाह गर्न परिवार बाधक बनेपछि यस्तो पुरातनवादी सोच बढार्नका लागि हुरीजस्तै बन्ने आँट पलाएको देखाइएको छ । बन्दुक बोकेकी सुन्दरी कथाको शीर्षकले युद्ध बन्दुकले होइन उसको सुन्दरताले जितेको सङ्केत गर्छ । तर कथामा सुन्दरीको सुन्दरतामा कुनै शक्ति रहेको देखाइएको छैन । केटी वा युवतीका ठाउँमा सुन्दरी राखिएकाले भएको गल्तीले पाठकलाई अल्मल्याउँछ । यसले कथाको उद्देश्य वा सन्देशमा नै फरक पारिदिन्छ । त्यसैले कथाको शीर्षक छनौटमा कथाकार सबैभन्दा बढी चुकेका देखिन्छन् ।

३. निष्कर्ष
काजोल खातुन कथाकार फुलमान बलद्वारा लेखिएको कथासङ्ग्रह हो । यस कथासङ्ग्हमा नेपालको सशस्त्र विद्रोह , प्रतिगमनविराधी सडक सङ्घर्ष र आतङ्कवादका कारण दुर्दान्त बनेको जीवन व्यथालाई प्रस्तुत गरिएको छ । यसमा विवशताले द्वन्द्वमा होमिएका , आतङ्कको मारमा परेका अवस्थाअनुकूल विचार बोकेका पाात्रहरुको बाहुल्य रहेको छ । यसले द्वन्द्वग्रस्त नेपाली गाउँसहर हुँदै भारतको हैदराबाद , अफगानिस्थान र इज्रायलसम्मको परिवेश प्रस्तुत गरेको देखिन्छ । पूर्वदीप्ति शैलीबाट प्रस्तुत भएका यस सङ्ग्रहका कथाहरु वर्णनात्मक रुपमा प्रस्तुत भएका छन् । गरिबी अशिक्षा , पछौटेपनले गाँजेको समाजमा युद्ध र आतङ्कले जरा गाडेको कुरा कथाले साङ्केतिक रुपमा प्रष्ट पारेको छ । बन्दुकबाट ल्याइएको परिवर्तन दिगो र प्रभावकारी हुँदैन भन्ने यस सङ्ग्रहका कथाहरुको सन्देश प्रस्तुत भएको छ । पूल भत्काइएको , भवन जलाइएको , विकास निर्माणमा गतिरोध सिर्जना गरिएको तथा व्यक्तिका मनमा त्राश र आतङ्क भरिएको हुनाले यो समाज निकै पछि धकेलिएको देखाउने कथाका उद्देश्य रहेको देखिन्छ । काजोल खातुन कथासङ्ग्रहका लागि दिइएको शीर्षक उपयुक्त भए पनि पेमासाङ् थिङ् , माईगाउँकी डोल्मा , मखमली हासेन , बन्दुक बोकेकी सुन्दरी कथाहरुको शीर्षकीकरण गर्नमा कथाकार केही चुकेका देखिन्छन् ।
यसको भूखासमा मलाई कथा लेख्न आउँदैन भन्ने कथाकार त्यसरी कथा लेख्न नै नजान्ने त कहाँ हुन् र ? तर अन्य कामका व्यस्तताका बीच हतार हतार रचना गरी हतार हतार प्रकाशनमा ल्याएका हुन् भन्ने प्रष्ट बुझ्न सकिन्छ । केही परिस्कार पाउन सकेका भए अब्बल दर्जाका कथा बन्ने थिए भन्ने क्रुामा दुईमत छैन । आगामी दिनमा प्रकाशनमा आउने उनका कथाहरु पेमासाङ् थिङ् , काजोल खातुन र छापामारको चिठीजस्तै सशक्त बनून् भन्ने कामना गर्दछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।