निकै मोटो, झट्ट नाम सुन्दा अलि अप्ठ्यारो जस्तो लाग्ने पुस्तकको नाम हो ‘इःमानु निःमा’ । यो पुस्तक थमाउँदै केहीदिनअघि झापाको दमक आउने क्रममा साहित्यकार, लेखक तथा विश्लेषक हरि गौतम सरले भन्नुभयो–‘यो पटक यस्तै कोशेली ल्याएको छु है सर, पढेर केही केही लेखिदिनु होला’ ।
‘इःमानु निःमा’ त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक बालकृष्ण माबोहाङले लेखेको पुस्तक रहेछ । पुस्तक हातमा परेपछि थाहा भयो, इःमा को अर्थ डुल्नु, घुम्नु । नु को अर्थ र । निमाको अर्थ देख्नु बुझ्नु हुदोरहेछ । यसर्थ लिम्बू भाषामा राखिएको यो पुस्तकको नामको नेपाली अर्थ चाहिं डुल्नु र बुझ्नु हुन्छ । यसलाई अझ परिस्कृत गरेर भन्दा यात्रा सस्मरण भन्न सकिएला ।
पुस्तकमा बालकृष्णले देशका विभिन्न भागमा डुलेर आफूले देखेका बुझेका कुराहरू जीवन्त रूपमा पाठकसामु पस्केका छन् । पूर्वको ताप्लेजुङदेखि पश्चिमको कैलालीसम्म र संखुवासभादेखि हुम्लासम्मको जनजीवनको जीवन्तता इःमानु निःमा मा पाइन्छ । पर्वते शब्द, लय र कतिपय ठाउँमा स्थानीय भाषाकै प्रयोगले पाठकलाई आफूसँगै यात्रा गर्दै गरेको अनुभुती दिलाउनु यो पुस्तकको मुख्य विशेषता हो ।
लेखकले पहिलो पटक पुगेका ससाना ठाउँको नाम पनि पुस्तकमा समेटेका छन् । घुम्दै जाँदा जुन समुदायमा पुगिन्छ त्यहाँका मान्छेको नाम र भाषा दुरुस्त उतारेको छन् । जसले पाठकलाई सँगै घुम्दैछु कि जस्तो अनुभूति गराउँछ । यसले पुस्तकलाई थप विश्वसनीय र ओजिलो पनि बनाएको छ ।
पश्चिमको रोल्पादेखि पूर्वको ताप्लेजुङसम्मको यात्रा वर्णन गर्न छुटाएका छैनन् । लेखक ताप्लेजुङको छिरुवामा पुग्दा उनै लेखकले लिम्बू भाषामा बोलेको कुराको केही अंश जस्ताको तस्तै राखेका पनि छन् । लेखक लिम्बूनीलाई लिम्बू कुरामा नै सोध्छन् ‘चा चामा खोस दोत्नु आयुमे ? (खाना खान पाइन्छ बोजु ?) बोजुले जवाफ फर्काउछिन् ‘खोदेतरो आखेन जना केवाई ?) पाइन्छ तर कति जना छौं ? जस्ता विषयहरु समेट्नुले स्थानीय रहन सहन कस्तो रहेछ भन्ने कुरा रोमाञ्चक र स्वादिला तरिकाले उतारेको पाइन्छ । जसले पाठकको निद्रा र अल्छिपनालाई दुर बनाउँछ ।
रोल्पाको यात्रामा लेखकले स्थानीय मगर्नीसँग कुरा गरेको विषयलाई जोडेको पाइन्छ । रोल्पाको थवाङलाई जनविद्रोहको उद्गमस्थल भनेर चिनिने गरेपनि सो गाउँलाई विदेशीले कसरी चित्रित गरेका थिए भनेर अक्सफोर्ड विश्वविद्यालयका अध्यापिका इयान झार्केभिच, फ्रान्सेली मानवशास्त्री आन्ने से डेल्सको अध्ययन र उनीहरुको निष्कर्ष के रहेको थियो भन्ने कुरालाई पनि प्रसङ्ग मिलाएर जोडेका छन् ।
लेखक हुम्लाको सिमकोट पुग्छन् र त्यहाँका लोक्ते सार्कीको कुरा उनकै लयमा यसरी सुनाउछन् ‘दिया खान्या हुँ । नदिया घोप्टी हुँ । लाटा बुन्याको बुन्याई । हेरिदिने कोही नाई । स्थानीय जनजीब्रोका भाषा प्रयोग गरेर लेखकले यात्रा संस्मरणलाई जीवन्त बनाउन खोजेको पाइन्छ । ओलाङगोलाको यात्रा गर्दा लेलेप पुगेका लेखकले सन् १८५० मा बेलायती वनस्पतीशास्त्री जोन डाल्नट हुकरले त्यहाँ ५० वटा घर भएको विवरण प्रश्तुत गरेको तर अहिले त्यसको आधा घरमात्र त्यहाँ बाँकी रहेको उल्लेख गरेका छन् । यसबाट उक्त क्षेत्रबाट मानिसहरु किन बिस्थापित भएका होलान् भनेर पाठकको मनमा जिज्ञासा उत्पन्न हुन्छ । उनले त्यो बेलाका मान्छेको चेतना र अहिलेका मान्छेको चेतनास्तरको तुलनात्मक असर हुनसक्ने अनुमान गरेका छन् ।
लेखकले नेपालको उत्तरी सिमाना ओलाङचुङगोला याक पालनको उर्वर क्षेत्र घुमेको मसिनो गरि उतारेका छन् । याक व्यवसायलाई आधुनिक, उन्नत र गोलालाई समृद्ध बनाउन लेखकले सुझाव पनि दिएका छन् । खर्चको अभाव र विकट भूगोलका दुई प्रतिकुलतालाई चिर्दै लेखक झण्डै पाँच घण्टाको अनवरत ठाडो उकालो कटेर टिपताला नाका पुगेर नेपाल चीनको ७९ नंम्बरको पिल्लर छोएकोमा लेखकले आनन्दानुभूति प्रकट गरेका छन् ।
सन् १९९४ देखि २०२२ सम्म उनले जम्मा ११ वटा यात्रा गरेका रहेछन् । तिनै ११ वटा यात्रा भित्रका उपयात्राहरू, जिल्ला गाउँ, टोल, खोंच, हिमाल, फाँट, दिन, रात, साँझ विहानका हिंडाइ भेटिएका मानिस, देखिएको भूगोल, प्रकृति आदिको चित्रण नै ‘इःमानु निः मा’ हो भन्न सकिन्छ ।
‘जनसंख्या र विकासको लाजनीति’ शिर्षक नै व्यांग्यात्मक जस्तो लाग्ने यो अध्यायमा लेखकको जनसंख्याका विविध आयाम र विकासका बारेमा पनि लेखेका छन् जहाँ गहिराईसम्मको अध्यायन गरेको पाइन्छ । विश्वका विभिन्न देशको जनसंख्या वृद्धि, जनसंख्याको बनावट, नेपालको संरचनाको बदलिंदो स्वरुप आदिका बारेमा गहन ढंगले चर्चा पनि गरेका छन् ।
लेखकले छिमेकी भारत र चीनले जनसांखिक लाभको कसरी सदुपयोग गरेका छन् भन्ने उदाहरण पेश गरेका छन् । भारत सन् १९८० देखि जनसंखिक लाभको युगमा प्रवेश गरेको, चीन यो अवस्थाको अन्त्यमा रहेको तर उनीहरुले युवा जनसंख्याको प्रयोग मार्फत देशमा समृद्धि र विकास हासिल गरेको कुरा उनले पुस्तकमा समेटेका छन् । सन् १९९२ देखि जनसांखिक लाभांसमा प्रवेश गरेको नेपालले मानव स्रोतको रुपमा रहेको जनसंख्यालाई उपयोग गर्न नसक्दा त्यसै खेर गइरहेको तर्फ चिन्ता गरेका छन् । यो विषय साहित्यका विद्यार्थीकोलागि मात्र नभएर राजनीतिक ब्याक्तित्वका लागि पनि अध्यायन योग्य रहेको देखिन्छ ।
इस्मानु निःमा पुस्तक लेखकको विस्तृत यात्रा विवरण हो । जीवन्त प्रष्तुती र स्थानीय जनजीब्रोका शब्द प्रयोग भइदिँदा पुस्तक थप रोचक र पढौं पढौं लाग्ने बनेको छ । वाहिरी आवरणमा मुलुक भित्र लेखिएको छ जसको भित्रिभागका संस्मरणहरु पनि मुलुकभित्रका रहन सहन र रितिरिवाजकै वर्णन गर्नुका साथै यात्राका क्रममा भेटिएका र भोगिएका समय सन्दर्भ अनुसारका फोटाहरु पनि पुस्तकमा समावेश गरिनुले पुस्तकलाई थप सार्थक बनाएको छ । नेपाली रुपैयाँ ६५० मुल्य तोकिएको यस पुस्तकमा ११ वटा अध्याय र ३ सय ७६ पृष्ठ छन् । लेखकले अध्यायन, अनुसन्धान र विभिन्न कामको सिलसिलामा देशका विभिन्न भूभागमा घुमडुल गर्दाको डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको सहजै बुझ्न सकिन्छ । लेखकले धेरै ठाउँमा सन्दर्भ सामग्रीको उल्लेख गरेका छन् । विदेशी विद्वान लेखक तथा अनुसन्धानदाताहरूले उनी पुगेको ठाउँ,त्यहाँको समाज, वनस्पती आदिका बारेमा वर्णन गरिएको छ । नियात्राकारको यो कलाले हर पाठकलाई उनीसँगै यात्रामा हिडाउन सक्नु उनको सफलता हो भन्न सकिन्छ ।