17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'उमिहोतारु' प्राचीनताको एक झलक

कृति/समीक्षा उषा आचार्य March 19, 2023, 12:43 am
उषा आचार्य
उषा आचार्य

विषयप्रवेश
उमिहोतारु कृष्ण बजगाईँको विदेशभ्रमणमा आधारित नियात्रा हो । व्यक्तिले यात्रा गरेको स्थानको सामाजिक, सांस्कृतिक, प्राकृतिक पक्षप्रति आफ्ना दृष्टिकोण राखेर कलात्मक रूपमा तयार पारेको साहित्यिक रचना नै नियात्रा हो । यस्तो रचनामा यात्रा गर्दाका सुखद अनुभूति, कष्ट, स्थानीय कला संस्कृति साथै ऐतिहासिक सन्दर्भलाई चित्रण गर्दै वर्तमानलाई अभिव्यक्त गरिन्छ । निजी अनुभूति र तथ्यमा केन्द्रित हुने नियात्रा समाज, संस्कृति र मानवजीवनसँग जोडिएको महŒवपूर्ण साहित्यिक विधा हो जसले समाज, इतिहास, प्रकृति र मानव मनलाई एकैठाउँमा संयोजन गर्ने काम गर्छ । कृष्ण बजगाईँको उमिहोतारु नियात्रासङग्रहमा पनि विदेशका विभिन्न ठाउँमा गरिएको भ्रमणका क्रममा देखिएका महŒवपूर्ण पक्षको अभिव्यक्ति पाइन्छ ।
यस कृतिमा लेखकले अमेरिका, बेलायत र जापानमा गरेका यात्राअनुभूतिलाई समेटेका छन् । यहाँ विशेषतः यात्रा गरिएको ठाउँको प्राचीन इतिहास, संस्कृति, आधुनिक विकास र प्राकृतिक सौन्दर्यलाई प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनमा उमिहोतारु नियात्रासङ्ग्रहमा चित्रित सांस्कृतिक र ऐतिहासिक पक्षका कोणबाट कृतिको विश्लेषण गरिएको छ ।
संस्कृति चित्रण
क्याम्ब्रिजमा यात्रा गर्दा देखेका र अनुभूत गरेका विषयलाई क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरी शीर्षकको नियात्रामा प्रस्तुत गरिएको छ । यहाँ लेखकले क्याम्ब्रिजलाई बेलायतको प्राचीन सहरका रूपमा चित्रण गरेका छन् । उनले बेलायतको सबैभन्दा प्राचीन सहरभध्ये एक हो क्याम्ब्रिज । विश्वविद्यालयको सहर क्याम्ब्रिज । कला, संस्कृति र वास्तुकलाको सहर क्याम्ब्रिज भनेका छन् (पृ. १७) । क्याम्ब्रिजमा कास्य युगमा मानव बस्ती बसेको र त्यहाँका मानिसले क्याम नदीमा पुल निर्माण गरेको तथ्य यस संस्मरणमा प्रस्तुत छ । यहाँ काठबाट बनाइएको पुललाई न्युटन नाम दिइएको प्रसङ्ग उल्लेख गर्दै त्यहाँका ऐतिहासिक भवनाको चित्रण गरिएको छ । आधुनिक बने पनि प्राचीनतालाई निरन्तरता दिएको क्याम्ब्रिज सहरमा आठ सय वर्ष पुरानो मिडसमर मेला र वर्षेनी हुने लोक महोत्सवको चित्रण यस नियात्रामा आएको छ । प्राचीन संस्कृतिमा त्यस ठाउँको इतिहास लुकेको हुन्छ । कृष्ण बजगाईंले क्याम्ब्रिजको संस्कृतिचित्रणका माध्यमबाट दोस्रो विश्वयुद्धसँग जोडिएका तथ्य सार्वजनिक गरेका छन् । क्याम्ब्रिज विश्वविद्यालय र फुटबलको आधुनिकीकरणको प्रसङ्ग जोड्दै दोस्रो विश्वयुद्धमा जर्मन सेनाले खसालेको बमबाट क्षति पुगेपछि झन् आकर्षक र कलात्मक बनाइएको गोल आकारको चर्चको चित्रण यहाँ गरिएको छ ।
त्यस्तै टोकियोस्थित प्राचीन बुद्धमन्दिर सेन्सोजी बौद्ध धर्मको तेंदई सम्प्रदायसँग जोडिएको र संसारमा सबैभन्दा धेरै दर्शनार्थी र अवलोकनकर्ता आउने मन्दिरका रूपमा रहेको तथ्य सेन्सोजी मन्दिरमा किमोनो गर्ल शीर्षकको नियात्रामा प्रस्तुत गरिएको छ । यहाँ दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाको बमबारीका कारण नष्ट भएको सेन्सोजी मन्दिरलाई पुरानै शैलीमा पुनर्निर्माण गरिएको र दोस्रो विश्वपश्चात् त्यो मन्दिर सबैका लागि सार्वजनिक गरिएको तथ्य संस्मरणमा प्रस्तुत छ । त्यस मन्दिरमा दर्शन गर्नुपूर्व मन्दिर अगाडि राखिएको पानीले हातमुख धोएर पवित्र हुनुपर्ने साथै अगरबत्तीबाट निस्किएको धुवाँबाट पवित्र हुनपर्ने मान्यता रहेको कुरा यस संस्मरणमा अभिव्यक्त छ । लेखकले काठको डाडुमा ड्रागनको मुखबाट खलल बगिरहेको पानी थापेर हात थोएँ । मुख कुल्ला गरेँ । जापानी चलनअनुसार बल्ल शरीर पवित्र भयो । त्यसपछि हामी मन्दिरको ठिक अगाडि रहेको विशाल धूपदानीअगाडि पुग्योँ । जापानमा पानीले मात्र होइन अगरबत्तीबाट निस्केको धुँवाबाट पनि पवित्र हुने चलन छ भनेका छन् (पृ.१६०) । उनको यस भनाइमा जापानी संस्कृति झल्किएको छ । बोधिसत्वको रूपमा विश्वास गरिने मन्दिरमा आफ्नो शरीरको जुन भागमा पीडा छ बोधिसत्वको मूर्तिको त्यही भागमा सुमसुम्याए पीडा नाश हुने विश्वास रहेको उल्लेख यहाँ गरिएको छ । हिन्दु धर्ममा प्रचलित स्वस्तिक चिन्ह जापानको मन्दिरमा देख्दा लेखक अचम्ममा परेका छन् । उनले आफ्नो नियात्रामा जापानमा काठले बनेको ड्रागन भगवानको मन्दिर, फुदो म्यु मन्दिरसँग जोडिएका जनविश्वास प्रस्तुत गरेका छन् ।
जापानी शैलीमा निर्मित जापानी सेना र युद्धमा मारिएका अन्य व्यक्तिको आत्माप्रति समर्पित सिन्तो मन्दिरमा आत्माको बास छ भन्ने विश्वास राखी प्रार्थना गर्ने गरेको तथ्य यस नियात्रामा चित्रित छ । आत्मा छ भनेर भनिदिँदा पत्याइहाल्ने विश्वासप्रति लेखक शङ्का गर्छन् तर उनले धर्म मान्ने नमान्ने स्वतन्त्रता सबैलाई छ तर अरूको धर्म र विश्वासलाई सम्मान गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्छन् (पृ.१८६) । यहाँ सिन्तो धार्मिक स्थलको मुख्य मन्दिरभित्र सर्वसाधारणका लागि प्रवेश निषेध भए पनि अगाडि अभिएर प्रार्थना गर्दा आत्मा खुसी हुने विश्वास रहेको कुरा उल्लेख छ । जिउँदो हुँदा दैनिक रूपमा आफ्ना परिवारका सदस्यलाई जसरी व्यवहार गर्छन् उसै गरी मृत्युपछि पनि तिनको आत्मालाई सोही व्यवहार गर्ने मौलिक परम्परा जापानी सिन्तो धर्ममा रहेको कुरा नियात्रामा चित्रण गरिएको छ ।
इतिहासको प्रस्तुति
उमिहोतारु नियात्रासङ्ग्रहमा यात्रा गरिएका स्थलसँग जोडिएका ऐतिहासिक पक्षको उद्घाटन गरिएको छ । क्यान्टरबरी टेल्स र क्याथडे«ल शीर्षकको नियात्रामा लेखकले सुन्दर प्राचीन र पर्यटकीय सहरका रूपमा चित्रण गरेका छन् । काश्ययुगमै मानिसको उपस्थिति रहेको क्यान्टरबरी पहिलो शताब्दीमा रोमन साम्राज्यको उपनिवेश भएको ऐतिहासिक सन्दर्भलाई नियात्रामा इतिहासका पाना पल्टाउँदा क्यान्टरबरीमा मानिसको उपस्थिति काँश्ययुगमै भएको पाउँछु । पहिलो शताब्दीमा क्यान्टरबरी शक्तिशाली रोमन साम्राज्यको अधीनस्थ हुन पुगेको थियो भन्ने अभिव्यक्ति दिइएको छ । (पृ. २६ प्राचीन समयमा ढुङ्गाले बनाइएको निकै अग्ला क्याथडे«लको अग्रभाग र प्रवेशद्वारको कला देखेर मुग्ध भएका लेखक प्रविधिबिना यो कसरी सम्भव भयो होला भनी आश्चर्यमा पर्छन् । यहाँ क्यान्टरबरी क्रिस्चियनहरूको पवित्र स्थल भएको भन्दै दुई हजार वर्षपहिले रोममा पनि मूर्तिपूजा गरिने ऐतिहासिक पक्षलाई प्रस्तुत गरिएको छ । त्यस्तै सोही ठाउँमा थमस बेकेटको हत्या गरेको र त्यससँग जोडिएका जनविश्वास र लोकप्रियातालाई नियात्रामा प्रस्तुत गरिएको छ ।
ग्रिनविचको काल्पनिक रेखामा पुगेका लेखकले त्यहाँको सङ्ग्रहालयमा पढेका र देखेका ऐतिहासिक दस्ताबेजलाई नियात्रामा अभिव्यक्त गरेका छन् । डेड सय वर्ष पहिले कट्टी सार्कले बेलायतमा चिया ढुवानीको काम गरेको पछि वाष्पयानको आविष्कार भएको इतिहास यहाँ प्रस्तुत छ । इतिहासमा बेलायतले चिनमा अफिम बेच्ने गरेको कुरा पढेको र त्यसबाट आएको पैसाले विलाशिताका सामान किनेर ल्याउने गरेको सुनिए पनि सङ्ग्रहालयमा चिनियाँलाई अफिमको नसामा लठ्याएर फाइदा लुटेको कुरा अङ्कित नभएको भन्दै अफिमयुद्धको कुनै इतिहास छैन भन्ने अभिव्यक्ति लेखकले दिएका छन् । लेखक ग्रिनविचको यात्रा गर्ने क्रममा राजा चाल्र्स द्वितीयले स्थापना गराएको रोयल अब्जर्वेटरीसामु पुगेका छन् ।
त्यस्तै प्रजातन्त्रको जन्मस्थलमा म्याग्ना कार्टा खोज्दा शीर्षकको नियात्रामा लेखकले विश्वमा पहिलोपटक लिखित अधिकार दिइएको कागज म्याग्ना कार्टा हो भन्दै थोरै भए पनि मानवअधिकारका बारेमा म्याग्ना कार्टामा केही लेखिएको थियो भन्ने विचार राख्छन् । उनले त्यतिबेला तल्ला वर्गका जनता विभिन्न अधिकारबाट वञ्चित थिए । जमिनदार र सामन्तहरूले माग गरेको आधारमा उनीहरू आफ्नो अधिकार प्राप्त गरेका थिए । साथै आफ्नो देशमा आक्रमण गराउन विदेशीलाई बालाएको मलाई मन परेन भनेका छन् (पृ. ६२) । नियात्रामा विगतमा अमेरिका बेलायतको उपनिवेशमा रहेको र त्यहाँ बेलायतको नियम लागु हुने कुरा उल्लेख गर्दै म्याग्ना कार्टाको स्मृतिमा बनाइएको स्मारकको भ्रमण गरिएको कुरा प्रस्तुत छ । यसका साथै म्याग्ना कार्टा र न्याय अधिकारको विश्वव्यापी बिम्ब बनेको भन्दे लेखकले इन्साइक्लोपिडिया ब्रिटानिकाले यसलाई दमनविरुद्धको अभियानको प्रतीक मानेको उल्लेख गरेका छन् ।
प्रस्तुत नियात्रासङ्ग्रहमा सिग्मण्ड फ्रायडसँग जोडिएको इतिहासलाई प्रस्तुत गरिएको छ । जीवनको अन्तिम समयमा सर्वस्व त्यागेर आफ्नो देश त्यागी ज्यान जोगाउन बेलायतमा शरण लिनुपरेको ऐतिहासिक सन्दर्भ यहाँ चित्रित छ । यहुदी परिवारमा जन्मनु फ्रायडका लागि दुर्भाग्य नै थियो । जर्मनीले अस्ट्रियामा कब्जा जमाएपछि त्यहाँ पनि यहुदीउपर नाजीउपर अत्याचार जारी रह्यो । फ्रायडलाई लागेको थियो आफ्नो चिकित्सक पेसा र प्रसिद्धिले गर्दा नाजीहरूले केही गर्ने छैनन् तर यहुदी सफाया गर्ने हिटलरको अभियानबाट फ्रायड पनि अछुतो रहेनन् भनी नियात्रामा भनिएको छ (पृ. ७६) । अस्ट्रियामा जर्मनीको कब्जा भएपछि यहुदीमाथि अत्याचार गरिएको र त्यसबाट ज्यान जोगाउन विदेशमा शरण माग्नुपरेको कारुणिक इतिहासलाई यस नियात्रामा उद्घाटन गरिएको छ ।
सोही पुस्तकमा भर्जिनिया उल्फको मङ्क हाउस शीर्षकको संस्मरणमा चर्चित लेख भर्जिनियासँग जोडिएका तथ्य प्रस्तुत गरिएको छ । लेखनका लागि बनाइएको उनको छुटटै छाप्रो र लेखनका लागि आवश्यक सबै सुविधा भएको कुरा लेखकले चित्रण गरेका छन् । यहाँ डिप्रेसनको रोगी बनेकी उल्फ दोस्रो विश्वयुद्धपछि झन् विछिप्त बनेकी र त्यसै कारणले आत्महत्या गरेको शङ्का लेखकले गरेका छन् । उनले सायद त्यसबेला उनले युद्धको कालो धुवाँमात्र देखिन् होला । शान्तिको उज्यालो किरण कतै देखिनन् कि ? पीडाको पहाड मात्र देखिन् होला तर खुसी रङ्गीचङ्गी बगैँचा देखिनन् कि ? लाखौँ मानिसको ज्यान लिने विश्वयुद्धले मेरो प्रिय लेखिकालाई आत्महत्या गर्न दुरुत्साहित गरेछ । इतिहासका पानामा कुख्याति कमाएका यद्धनाइकेसँग खुब रिस उठ्यो भनेका छन् (पृ. १३१) । यहाँ विश्वयुद्धले तत्कालीन समयका सामान्य मानिसदेखि कवि कलाकारको मनस्थिति बिगारेको र ज्यान लिएको धारणा लेखकको देखिन्छ ।

निष्कर्ष
प्रकृति, समाज, मानिस र इतिहासको संयोजन भएको उमिहोतारु नियात्रासङ्ग्रहमा लेखकले बहुल विषय र शैलीको प्रयोग गरेका छन् । यस नियात्रासङ्ग्रहमा अमेरिका, बेलायत र जापानमा यात्रा गर्दा देखेका, भोगेका र अनुभूत गरेका विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । विशेषतः सांस्कृतिक पक्षको उद्घाटन र ऐतिहासिक दस्ताबेजलाई चित्रण गर्नु यात्राको उद्देश्य देखिन्छ । यात्राका क्रममा लेखक म्युजियममा पुग्न छुटाएका छैनन् जहाँ प्राचीन संस्कृति र ऐतिहासिक सन्दर्भ जोडिएका छन् । यस कृतिमा बेलायत, जापान र अमेरिकाका प्राचीन संस्कृति, इतिहासलाई चित्रण गर्ने क्रममा नेपाली संस्कृति र इतिहासलाई लेखकले स्मरण गरेका छन् । डायस्पोरामा बसेर डायस्पोरिक जीवन बाँचेका कृष्ण बजगार्इँको नियात्राहरुमा डायस्पोरिक चेतना पनि अभिव्यञ्जित भएको पाइन्छ । यसरी विदेशको यात्रा गर्दा स्वदेश सम्झने र त्यहाँको संस्कृतिमा आफ्नो संस्कृति देख्ने बजगाईँको उमिहोतारु संस्कृति र इतिहासको प्रस्तुतिका दृष्टिले सशक्त नियात्रासङ्ग्रहको रुपमा देखा परेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।