१. विषय प्रवेश
भारतबाट पनि नेपाली लोकसाहित्य र लोकवार्ताको सङ्कलन, प्रकाशन, अध्ययन कार्य भएको छ। यहाँबाट पनि धेरैजना लोकगीत गायक सङ्कलन आदि रहेका छन्। नेपाली लोकसङ्गीत सम्वृद्ध विस्तृत व्यापक छ। नेपाली साहित्यमा लोकसाहित्यिकहरूको उपस्थिति पनि उल्लेखनीय पाइन्छ। नेपाल र भारतका विभिन्न प्रान्तमा नेपाली समाजमा लोकसाहित्यिक सामाग्रीहरू फस्टिएको पाइन्छ। त्यसमा पनि लोकगीत प्रमुख रूपमा फस्टिएको पाइन्छ। आफ्नो आफ्नो ठाउँको परिवेशअनुसार नेपाली लोकगीतको सिर्जित भएका हुन्छन्। आफ्नो आफ्नो भौगोलिक, सामाजिक भाषिक परिवेश, अनुसारको लोकगीतादिको सिर्जना हुन्छ। दार्जिलिङको चियाकमान, कालिम्पोङको गाउँ बस्ती, सिक्किमका गाउँ-घर, असमको गाई-गोठ र धन-खेत आदि ठाउँतिर पनि कतिपय गीत सिर्जना भएका हुन्छन्। तिनको यथोचित सङ्कलन र अध्ययन गर्नपर्ने आवश्यकता पर्दछ। यहाँका नेपाली लोकगीतमा स्थानीय लोकगीतको प्रभाव, लय आदि पन मिसन सक्छन्। हाम्रो जातैपछिका लोकगीतहरू पनि अध्ययन गर्न सकिन्छ।
३. नरेन्द्र गुरूङ – परिचय
नरेन्द्र गुरूङको जन्म २१ जनवरी, 1९५७ मा पश्चिम सिकिकमको च्याखुङमा भएको हो। उनको घरको सानै उमेरदेखि नै लोकगीत लोकसङ्गीतको परिवेश पाए थिए। उनी सिक्किम सरकारको सांस्कृतिक विभागबाट वरिष्ठ तालिम अधिकारी भएर सेवानिवृत्त भएका छन्। उनले आफ्नो जीवनको अधिकांश भाग नेपाली लोकसङ्गीतको संरक्षण, संवर्द्धनका निम्ति नै समर्पित गरेका छन्। उनले नोपाली लोकसङ्गीतको सर्वेक्षण अध्ययन अनुसन्धान गरेका छन्। उनको पेशा नै लोकसङ्गीतको अध्ययन, सङ्कलन, गायन, संवद्धन रह्यो। उनी नेपाली लोकगीतका एक प्रखर संकलक र गायक कलाकार हुन्। उनले सिक्किम, दार्जिलिङ, नेपालतिरका गाउँ बस्ती घुमी घुमी २७-२८ किसिमका कृषिजन्य श्रमगीत, बिहेबटुलोतिर र अय बेलाको पर्वगीत आदिको संकलन र संरक्षण गरेका छन्। उनले आफुले संकलन गरेका लोकगीतादिलाई आकाशवाणी गान्तोकमा लगभग तीनसयवटा जति नेपाली लोकगीतहरू संकलन र गायन रेकर्ड गरेका छन्। उनले नेपाल र सिक्किमतिर प्रचलित नेपाली लोकगीतहरूको संकलन गरी पुस्तकाकार रूपमा प्रकाशनको तयारी रहेको र निकट भविष्यमा यो प्रकाशित हुनेछ भन्ने जानकारी पाइन्छ।
उनको जीवनको अधिकांश भाग नै नेपाली लोकसङ्गीतको संवर्द्धन र प्रवर्द्धनमा बितिरहेको छ। उनी गाउँ घर घुमीघुमी नेपाली लोकसामग्रीको खोजी, अध्ययन, सङ्कलन गर्दछन्। उनी लोकगीतमा डुबेका छन्। उनले नेपाली लोकगीतलाई सङ्कलन गरेर सम्पादन गरी तिनलाई लिपिबद्ध पनि गरेका छन्। तिनलाई रेकर्ड गरेर अल्बम पनि निकालेका छन्। पाठकलाई नेपाली लोकगीतलाई गाएर, लेखेर, बोलेर प्रस्तुत गर्दछन्। उनी आफै एक गीतकार, कुशल गायक, नृत्यकार, लोकवाद्यवादक र लोककला समीक्षक हुन्। उनी सिक्किम सरकारको सांस्कृतिक मामिला एवम् धरोहर विभागमा कर्मचारी रही सेवानिवृत्ति भइसकेका छन्। उनले भारतका विभिन्न राज्यका शहर-गाउँतिर आफ्नो लोकनृत्य र गायन प्रदर्शन गरिसकेका छन्। यसबाहेक उनी र उनको लोककलाकार समूहले अमेरिका, दक्षिण अमेरिका अफ्रिका आदि देशहरूमा आफ्नो नेपाली कला देखाएर समृद्ध नेपाली लोकसंगीतको परिचय दिएका छन्। यसैगरी भारतको सरकारी आयोजनमा रहेका गणतन्त्र दिवसको उपलक्ष्यमा दिल्लीमा सातपल्ट सिक्किमेली सांस्कृतिक झाँकीको नेतृत्व गरेका छन्। अन्डमान निकोबार द्वीपपुञ्जमा अनुष्ठित हुने गरेको द्वीप महोत्सवमा पनि चारपल्ट नेपाली लोकसांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन्। यसैगरी दिल्ली, हैदरावाद, इलाहावाद, शिलाङ आदितिर सम्पन्न हुने लोकतरङ्ग, कमनवेल्थ खेलकुद दक्षिण एशियाली आदितिर आफ्नो लोककला प्रदर्शन गरेका छन्। उनका निम्ति लोकगीत मनको बह हो, पहाडपर्वता गाथा, कृषिकार्यसित आबद्ध जनसाधारणको जीवनशैली, समाजका मानिसहरूको अन्तर्मनको कथा र व्यथा, मौसमअनुसारको तितामिठा अनुभव र अनुभूतिको अभिव्यक्ति, हाम्रा संस्कार र संस्कृतिका आधारस्रोत हुन्। यही नै लोकसाहित्य हो।
दार्जिलिङ सिक्किम असम आदि स्थानहरू नै नेपाली लोकगीतका स्थान हुन् जहाँबाट लोकगीतहरूको विकास भएको पाइन्छ। यसै क्रममा सिक्किमका नगेन्द्र गुरूङ पनि नेपाली लोकगीत सम्वर्द्धन र प्रवर्द्धन गर्न कम्मर कसेका छन्। उनी नेपाली लोकगीत, नृत्य र लोकसङ्गीतका अनुसन्धाता, सङ्कलक र स्वयम् कलाकार हुन्। उनी एक लोकसाहित्यका लेखक पनि हुन्। उनले हालसम्म नेपाली लोकगीत र लोकसङ्गीतसम्बन्धित दुईवटा पुस्तक प्रकाशित गरेका छन्- १. लोक दर्पणभित्र भञ्ज्याङका भाकाहरू (२०१७) र २. लोकायनमा बाँचेका नेपाली लोकगीत–सङ्गीत (२०२१)। हालसम्म उनका तेह्रवटा लोकगीत अल्बम रेकर्ड गरेका छन्। रेली रेशम (१९९२, लोकगीत), एनी बरी लै लै (२०००, लोकगीत), केही भनूँ कि (२००३, आधुनिक) रानी रूमालमा (२००४, लोकगीत), स्पन्दन (२००५, आधुनिक), मालश्री (२००६, लोकगीत), असारे बेठी (२००७, लोकगीत), साँझको तारा (२००८, आधुनिक गीत), मिलनको चिनो (२००९, आधुनिकगीत), सुन्दर शहर नाम्ची (२०११, दोहोरी लोकगीत), आकांक्षा (२०१२, आधुनिकगीत), नैना रेशम (२०१५, लोकगीत) बेनीको बजार (२०१५, लोकगीत)। उनका तेह्रवटा गीत अल्बममा आंशिक रूपमा सङ्गीत भरेका छन्।
नरेन्द्र गुरूङ जन्मजात कलाकार हुन्। उनको घर परिवारको पृष्ठभूमि नै लोकसङ्गीतसित सम्बद्ध छ। उनी जन्मेको हुर्केको घरमा नै लोकगीत-सङ्गीतको परिवेश थियो। बालकैमा घरमा लोकगीत-सङ्गीत सुन्ने परिवेश र अवसर पाएका थिए। आफ्नै घर नै लोकगीतको थलो थियो, बाजे र मामाहरू नै लोककलाकार लोकसंगीतको पार्खी र प्रेमी थिए। दैनिक रूपमा नै लोकगीतको साधना र संगत हुन्थ्यो। यसरी सानैदेखि नै लोकगीत संगीतमा भिज्न सकेका नरेन्द्रले यसैलाई आफ्नो जीवनको आधार बनाए, आफ्नो छुट्टै परिचय बनाए, सिक्किमलाई चिनाए।
३. पुस्तक चर्चा
नरेन्द्र गुरूङको अघिल्लो पुस्तक ‘लोक दर्पणभित्र भञ्ज्याङका भाकाहरूमा’ उनका लोकगीत अल्बमभित्रका लोकगीतहरूका लिखित रूपमा प्रस्तुत गरिएको छ। यसमा आफना लोकगीत अलबमका गीतहरूको लिपिबद्ध गरिएको छ। उनले सिक्किमका विभिन्न गाउँ बस्ती घुमिघुमि लोकगीतको सङ्कलन गरेको छन्। गाउँबस्ती घुमेर त्यहाँका स्थानीय लोकगीत जान्ने बुढा युवा आदिलाई भेटेर सोधेर लय र भाका टिप्दछन्। यसमा नेपाल सिक्किम दार्जिलिङ आदि स्थानतिर स्रोत स्थल र व्यक्तिहरूबाट नै मूल लोकगीत सङ्कलन प्रस्तुत गरिएको छ। प्रस्तुत पुस्तकमा गहन अध्ययन, सर्वेक्षण र सङ्कलन गरिएको छ। यसमा रहेका गीतहरूको अध्ययन गर्दा हाम्रो इतिहास, सामाजिक, आर्थिक सांस्कृतिक अवस्थाबारे धेरै जानकारी पाउँदछौं। यो पुस्तक मूलतः अल्बमभित्र र गीति अल्बमदेखि बाहिरका गीतहरूको संकलन हो। यसभित्र रेली रेशम, एनी बरि लै लै, रानी रूमालमा, असारे बेठी, नैना रेसम, बेनी बजार गरी छवटा लोकगीत अल्बम र अन्य लोकगीतहरू संकलित छन्। यसमा रहेका लोकगीतहरू हुन्- उँधैलाई हेरूँ निरह, सालघारीको डाँड़ै डाँड़ामा, छड्के टोपी, माथि है बाट, पहेमलै पाक्यो, ए आमा, तीनतले घरको, बनको चरी उड्यो, वनको चरी उड्यो, जलै खेल्ने जलेवा, हिमचुली हिमालमा, उडेर आयो धानचरी, सालीज्यू जालीज्यू, बाँसै काटी चोया, सुन्तले भिरैको, मङ्सिरको महिना, भेँडीगोठको गीत, गैरी खेत क्या राम्रो, टुप्पै काटी मालिङ्गो, उकाली ज्यानको, काठै राम्रो श्रीखण्ड, घर कहाँ हो, उँभो उँभो सैलुङ, उँधै लाग्यो कालीगह्गा, पूर्वैको आकाशैमा, धानको रोपाइँ, पृथ्वी माता, माङ्सिलाको खेतैमा, पूर्वैको बतास, अनउ र फ्याउरी, छेउ र भित्ता, पानी है पर्यो नि लै, सुनैखानी कुलेखानी, दर्पण छाँयालाई, सानुमा सानु नी, आकाशै ज्यानको, भेटघाट हाम्रो, छक्क छक्क आइपुग्यो रेल, निरधुनी मादलैको, सैलुङे डाँड़ा, घुम्न जाउँला, धरती हाम्रो, सेलो, नयाँ सारे बिरूवा, नौमती धुनमा, चल्यो हजुर, मारूनी, भैरूङ्पाती फूलपाती, पानीको धारामा भेटेको, पशुपति धामको, आकाशै ज्यानको, उँभो हेरुँ ए लै लै, आयो आयो रेलीमाइ, न्याउली गाउँदा, रूख सुक्यो सर्लङ्गै, देउराली डाँड़ा, हातै चुरा हातैमा, मधेसैको लाछा डोरी, ए साथी, गाइने गीत, छड्के पानी यो छाता चुड्काए हो, ए हो गुराँसे डाँड़ा, त्यो गाउँ मेरो, कस्तीका लाटी दिदै, खाउँ कि नखाउँ सुरती, र्याइँ र्याइँ र्याइँ र्याइँ, जाउँ कहाँ, शिकार खेल्ने शिकारीको, उँधो जाँदा देखेथेँ, खान लाउन, मैले देखेको नी लै लै, नजाउँ नजाउँ झन झन माया, गुयाँलाको फूल सुक्यो, डैँ काचुँ कि लै लै, स्वामीज्यूले पठाको, चुड्का, दोलखे, भीर मौरी बस्छ, चप्लेंटी ढुङ्गा चौतारा, आम्मैले होय आम्मैले, कोरीबाटी चुलठी, गुराँसे डाँड़ा, सिङलिङ बस्थी शिरखोला, उठ मेरी मारूना. खोली खोलैमा , देउराली डाँड़ा बाटैमा पर्ला, बाँसै र काटी, चुड्का, मनै रमाइलो, उँभै त हेरूँ, नौमती, ऐ गुणी बैगुणी, दैउराली डाँड़ैमा भेटेको, डम्फूको सेरो सेरोफेरो, ए हो जीवन मेरो, हिउँदे बाली लाउँला, कुन फूल फुल्यो, हिउँ पर्यो, मारूनी शृङ्गार्ने, बिहानै उठी, सइला हजुर, तिरिरि तिरिरि गरी जम्मा एक सय तीनवटा जति गीतहरूको शब्द प्रस्तुत गरिएको छ।
माथि उल्लेखित शीर्षकहरूले नै हाम्रो जीवनशैली, भूगोल, स्वभाव, धार्मिक विश्वास, लोकरीति आदि झल्काइरहेका छन्। यहाँ डाँड़ा, देउराली डाँड़ा, पानी परेको बिम्ब, खेतबाली, पहाड़का उँधो र उँभो, सैलुङे डाँड़ा, खोला, गुयाँलाको फूल, गाउँ, बतास जस्ता भौगोलिक परिवेश झल्काएका छन्। रोपाइँ, दाइँ, घुम्न जाने, डाँड़ा काट्नु आदि जस्ता हाम्रा कर्म झल्किएका छन्। डम्फू, सारङ्गी, चुड्का, मारूनी, दोलखे, सेलो, विरहिनी, समला, सेलो, मादले गीत आदि जस्ता लोकगीतहरू झल्काएका छन्।
उनको केही समयअघि प्रकाशित पुस्तक लोकायनमा बाँचेका नेपाली लोकगीत-सङ्गीत (२०२१) नेपाली लोकसाहित्यको अध्ययनमा एक माइलखुट्टी सावित भएको छ। यसभित्र डा मोहन पी दाहाल, शान्ति ठटाल र अनिता निरौलाका भूमिकाले यसको विशेषता र महत्त्व दर्साएको छ। यस पुस्तकभित्र ‘लोक संस्कृतिका बुँदाटिपोटहरू’, ‘लोकगीत-सङ्गीत र लोकनाच’, ‘म र मेरो पर्खाइमा भैलेनीको एक रात’, ‘लोकगीत र सङ्गीतको मुटु हो मादल’, ‘पीड़ामा बाँचेका घँसिया गीत’, ‘चर्कने घामको दर्कने पानी’, ‘नाचहरूको श्रीपेच हो मारूनी’, ‘असारे रोपाइँ मङ्सीरे दाइ’, ‘हाम्रा सङ्गिनी र रत्यौली’, ‘संस्कार ज्वलन्त उदाहरण हो सिलोक’, ‘हाम्रो लोकगीतहरूमा मङ्सिर महिनाको महत्त्व’, ‘हाम्रा लोकभाकाहरू’, ‘हाम्रा लोकगीतमा लोक शब्दहरू’ जस्ता लेखहरू रहेका छन्। यसरी हेर्दा यसमा भैलेनी, मादल, घँसिया गीत, मारूनी, असारे गीत, सङ्गिनी, रत्यौली, लोकभाका, लोकगीतका प्रकारहरू, लोकशब्द आदिबारे अध्ययन गरिएको छ। लेखक आफैं एक लोकगायक हुनाको साथै एक अन्वेषकका रूपमा प्रस्तुत छन्।
यसमा नेपाली कर्मगीत र पर्वगीत दुवै किसिमका गीतबारे अध्ययन प्रस्तुत गरिएको छ। यस पुस्तकमा मूलतः तीन प्रकारका कथ्य प्रस्तुति गरिएको छ- १. गीतको वस्तुनिष्ठ व्याख्या, सूचनामूलकता र भावुकता। लेखक नेपाली लोकगीत र सङ्गीतका माधुर्य, विशेषता, गहिराइको परख गरेका छन्, जानेका छन्, बुझेका छन्। यसमा प्रत्येक किसिमका लोकगीतबारे गहन अध्ययन गरिएको छ। यसमा गीतका स्रोतसम्म पुगेर तिनका विभिन्न पक्ष केलाएका छन्। अर्कातिर लेखैपिच्छे लेखक भावुक भएर हाम्रा यी लोकगीतहरू अब विस्तृतिको गर्तमा जाँदै गरेको, अहिले भौतिकवादी, आडम्बरी प्रवृत्तिबारे चिन्ता र क्षोभ व्यक्त गर्दछन्। यसमा गीतसित गीत सिर्जनाको भौगोलिक, सामाजिक, आर्थिक पृष्ठभूमिलाई पनि केलाइको छ। ऋतुअनुसारको पर्व मनाइदा त्यही मनस्थितिअनुरूपको गीतको सिर्जना भएको पाइन्छ। दाइँगीत, असारे गीत, मंसिरे गीत, धाननाच, आदिका गीतलाई शब्दहरूलाई प्रस्तुत गरिएको छ।
यसमा केही लोकगीतको स्वरलिपि पनि गरिएको छ। यसमा नरेन्द्र रूङले संसकलन र सिर्जना गरेका तेह्रवटा लोकगीतलाई दार्जिलिङका अजनीश राई र सिक्किमका मनोज राईले स्वरलिपिलाई लिपिबद्ध गरेका हुन्। यसरी हेर्दा नरेन्द्र गुरूङ हाम्रा एक निस्वार्थ व्यक्ति, प्रतिभाशाली व्यक्तित्व, कलाकार र एक गम्भीर अनुसन्धाता र अध्येता हुन्। उनको लोकगीतको अध्ययनको काम अझै कायम रहोस्, उनको जोस् जाँगर नसेलाओस्, उनीबाट हाम्रो जातिले अझै लाभान्वित बन्न सकोस् भन्दै उनको सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।