राकेस भान्साघरअघि उभेर पुस महिनाको घाम तापिरहेको थियो । बजारमा यताउति माग्दै हिँडिहिँड्ने एकजना मत्थु उसको छेउमा आएर एउटा अधुरो वाक्य एकोहोरो दोहोराइरहन्छ— “काँडासरि छ !”
त्यो सुनेर राकेसलाई वाक्क होइन तर हाँस उठेर आउँछ, र अलिकति मुख बनाएर त्यसलाई सोध्छ—“ए मत्थु ! केचाहिँ काँडासरि छ हँ ?”
मत्थु अलिकति अतालिएको जस्तो गरेर “जिन्दगानी काँडासरि छ” भनिराखेर दौडिँदै बजारतिर जान्छ ।
भोलिबिहान राकेसले हिजजस्तै पिठ्यूँ पूर्वपट्टि फर्काएर घाम तापिरहेको थियो । पछाडि फर्किँदा ऊ झसङ्ग हुन्छ—हिजको त्यो मत्थु मुख चलाउँदै सानो स्वरमा के-के बोलिरहेको रहेछ । त्यसरी मुख चलाएको देखेर राकेसले रिसाएझैँ गरेर हपार्छ, “ए मत्थु ! किन त्यसरी एकलै बरबराइरहेको ? पूरै पागल भइसकिस् क्याहो ?” तर मत्थु एक्कासि राकेसको कानमा जोडले “फेरि पनि मेरो केही गुनासो छैन” भनिराखेर कुद्दै जान्छ । उसलाई झनक्क रिस उठेर आउँछ र मनमनमा भन्छ—“भोलि आइज मात्रै न, मैले जानेको छु !”
भोलिपल्ट दिनभरि राकेसले त्यस मत्थुलाई पर्खिरहन्छ तर त्यो आउँदैआउँदैन । राति राकेस सुटुक्क मातेर घर आउँछ र आफूले कति सालअघिदेखि लुकाएर राखेको एउटा तस्बिरअघि घुँडा टेकेर रुँदै भन्छ—“मेरो साँचो मायालाई किन बुझेनौ, म त तिम्रा लागि मर्न चाहन्थे !”
रक्सीको नशाले छोडेपछि राकेसलाई प्रमिलासँग बसेर हेरेको त्यो एउटा चलचित्रको सम्झना झलझल्ती आँखामै आइरहन्छ ।
दार्जीलिङ