हिन्दी र नेपाली साहित्यमा समान रुपले कलम चलाउने भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार दुर्गा प्रसाद श्रेष्ठको जन्म 10 जनवरी सन् 1939 तदानुसार वि.स. 1995 माघ 5 गतेको दिन जनकपुर (नेपाल)-को सबला बजारमा आमाको माइती घरमा भएको थियो। उनी पिता काशीबहादुर श्रेष्ठ अनि माता सुवर्ण कुमारी श्रेष्ठका ज्येष्ट पुत्र हुन्। दुर्गा प्रसाद श्रेष्ठको उमेर 5 वर्षको छँदा उनका पिता काशी बहादुर श्रेष्ठले उनलाई बनारस लिएर आएका थिए। दुर्गाप्रसाद श्रेष्ठका बाज्ये गणेश बहादुर श्रेष्ठ राणाहरूको निरङ्कुश शासनबाट विरक्तिएर भक्तपुर, नेपालबाट बनारसको दूधविनायक भनिने ठाउँमा आएर भारतको विभिन्न शहरमा केशर-कस्तुरीको व्यापार चलाउने गर्थे। बाज्येको मृत्युपछि, पिता काशीबहादुर श्रेष्ठको समयमा कतिपय कारणवश त्यो व्यापार फस्टाउन सकेन। कालान्तरमा व्यापार छोडेर काशीबहादुर श्रेष्ठ बनारसमै रही साहित्य सेवा-साधनातिर लागे अनि प्रसिद्ध साहित्यकार बने।
उनका ज्येष्ठ पुत्रको रुपमा जन्मिएका दुर्गा प्रसाद श्रेष्ठको प्रारम्भिक शिक्षा-दीक्षा बनारसमै भयो। बुवा साहित्यकार भएको कारण अनि बनारसको साहित्यिक परिवेशले उनलाई ठुलो प्रभाव पारेको थियो। सानैदेखि उनी हिन्दी र नेपाली दुवै भाषामा राम्ररी बोल्न र पढ़्न-लेख्न सक्थे। विद्यार्थी जीवनकालदेखि नै उनले दुवै भाषाको साहित्य क्षेत्रमा कलम चलाउन थालेका थिए। सन् 1956 मा नेपाली भाषामा लेखिएको उनको प्रथम कविता ‘जीवनको उदेश्य’ पिता काशी बहादुर श्रेष्ठको सम्पादनमा बनारसबाट निस्किने पत्रिका ‘उदय’ मा प्रकाशित भएको थियो। यसरी नै सन् 1957 मा इलाहाबादबाट निस्किने ‘कहानी’ पत्रिकामा हिन्दीमा लेखिएको उनको पहिलो कथा ‘जुता’ प्रकाशित भएको थियो। त्यही अवधिमामा उनले गोबिन्द बहादुर मल्ल ‘गोठाले’-को कथा ‘म जुजुमान’ –लाई हिन्दीमा अनुवाद गरी मुम्बईबाट प्रकाशित हुने पत्रिका ‘नवनीत’-मा प्रकाशित गराएका थिए। पछि उनले हिन्दी भाषामा लेखिएको आफ्नो मौलिक कथा ‘सोनिया’ हिन्दीको प्रसिद्ध पत्रिका ‘धर्मयुग’-मा प्रकाशित गराएका थिए। यसप्रकारले दुवै भाषामा लेखिएका उनका मैलिक रचनाहरू सहित उनले नेपालीबाट हिन्दी अनि हिन्दीबाट नेपालीमा अनुवाद गरी हिन्दी र नेपाली भाषाका उत्कृष्ट कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित गराउन थाले। उनी सन् 1960 मा बनारसको रुद्रकाशीकेय महाविद्यालयबाट स्नातक उतिर्ण गरेपश्चात् काशी हिन्दु विश्वविद्यालयमा हिन्दी साहित्यमा स्नातकोत्तर अध्ययनको निम्ति भर्ना भएका थिए। तर अध्ययन पुरा गर्न नपाई सन् 1962 मा नेपाल भ्रमणमा गएको बेला आफ्ना शुभचिन्तकहरूबाट त्यहाँको प्रचार-प्रसार विभागमा एउटा लेखकको आवश्यकता रहेको थाह पाएर उनी त्यसको निम्ति राखिएको स्पर्धा परिक्षामा बसे। संयोगवश त्यस परिक्षामा उनी चयनित भए अनि सूचना अधिकारीको पदमा उनको नियुक्ति भयो। सन् 1956 मा आमाको निधन भएको दुई वर्ष पश्चात् सन् 1958 मा नै उनको विवाह कृष्ण देवीसित भइसकेको थियो। यसर्थ उनलाई जीविका आर्जनको निम्ति एउटा जागिरको पनि आवश्यकता थियो। यसरी जागिरमा लागेपछि नेपालमा पञ्चायत व्यवस्थाको प्रचार-प्रसारको निम्ति नेपाल सरकारको तर्फबाट प्रथम नेपाली चलचित्र ‘आमा’ –को निर्माण गरिने निश्चय भयो अनि त्यसको निम्ति पटकथा एवं संवाद लेखन सहित सह-निर्देशनको उत्तरदायित्व दुर्गाप्रसाद श्रेष्ठलाई दिइएको थियो। ‘आमा’-का निर्देशक हिरासिंह खत्रीसित सह-निर्देशनको कार्य गर्दै उनले आफुलाई दिइएको उत्तरदायित्व राम्ररी निभाएका थिए। सन् 1964 को अक्टुबरमा यस चलचित्रको सफलतापूर्वक प्रदर्शन गरिएको थियो। सन् 1966 मा उनले तत्कालीन नेपालका राजाको जीवनी श्री 5 महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेव नेपाली र हिन्दी भाषामा लेखेका थिए। सन् 1967 मा नेपालका राजा श्री 5 महेन्द्र वीरविक्रम शाहको आर्थिक सहयोगमा नेपालीमा उनको पहिलो कथा सङ्ग्रह ‘सम्झनाको बादल’ प्रकाशित भएको थियो। तर लगभग 10 वर्ष नेपालमा कार्य गरेपश्चात् पिताको अस्वस्थताको कारणले त्यहाँको नोकरी छोडेर उनी बनारस फर्किए।
सन् 1974 मा उनको कथा सङ्ग्रह ‘सम्झनाको बादल’ मराठी भाषामा अनुवाद भइ ‘आठव मेघ’ नामले प्रकाशित भयो। उनका केही कथाहरू रुशी भाषामा पनि अनुवाद भइ प्रकाशित भएका छन्। पछि हैदराबादबाट निस्किने तेलुगु भाषाको पत्रिकामा पनि उनका केही कथाहरू धारावाहिक रुपमा प्रकाशित भएका थिए। उनी नेपालबाट फर्केपछि बनारसमा ‘सनमार्ग’ दैनिक समाचार-पत्रमा संलग्न रहेर विज्ञापन व्यवस्थापकका रुपमा कार्य गर्दै हिन्दी र नेपाली साहित्य लेखनमा नै एकचित्त भइ लागिरहे। ‘सनमार्ग’ बाहेक त्यसबेलाको प्रतिष्ठित प्रकाशन संस्था ‘हिन्दी प्रचारक संस्थान’-मा पनि उनले जनसम्पर्क अधिकारीको रुपमा कार्य गरे। यही अवधिमा अन्य प्रकाशकंहरूसँग पनि उनको परिचय भयो। सन् 1973 मा उनको हिन्दी भाषामा पहिलो कथा सङ्ग्रह ‘सत्तारे मौसी’ इलाहाबादबाट प्रकाशित भयो जसको निम्ति सन् 1974 मा तत्कालीन उत्तर प्रदेश सरकारले गैर हिन्दी भाषी लेखकको रुपमा पुरस्कृत गरेको थियो। हिन्दीमा उनको दोस्रो कथा सङ्ग्रह ‘सोनिया’ अनि एउटा उपन्यास ’३१, चण्डी घोष स्ट्रीट’ हिन्दी प्रचारक संस्थान, वाराणसीबाट प्रकाशित भए। उनी मूलत: आख्यानकार हुन्। उनले कथा र उपन्यास विधामा अधिक कलम चलाएका छन्। अहिलेसम्म उनका नेपालीमा एउटा कविता सङ्ग्रह, एउटा कथा सङ्ग्रह, एउटा समालोचना, दुईवटा जीवनी र छवटा उपन्यास अनि हिन्दीमा दुई वटा कथा सङ्ग्रह, एउटा उपन्यास, दुइवटा जीवनी र एउटा यात्रा संस्मरण प्रकाशित भइसकेका छन् । वर्तमान 84 वर्षको उमेरमा पनि उनले दुवै भाषामा आफ्नो लेखन तथा अनुवाद कार्यलाई निरन्तरता दिई रहेका छन्। हालैमा उनले निलम कार्की ‘निहारिका’-को नेपाली उपन्यास ‘चीर हरण’को हिन्दी अनुवाद गरिसकेर प्रकाशकलाई बुझाइसकेको जानकारीमा आएको छ। विश्वको 25 भाषामा अनुवाद भएको कृति स्वामी परमहंस योगानन्दको ‘Autobiography of a Yogi’ –लाई आफ्नो नामको उल्लेखसम्म नगरी नेपाली भाषामा उल्था गर्ने व्यक्ति पनि उनै हुन्। हालमा उनी एउटा पौराणिक ग्रन्थ ‘हिमवत् खण्ड’-को हिन्दी अनुवाद गर्ने कार्यमा लागिपरेको थाह लागेको छ।
नेपाली भाषामा उनका अहिलेसम्म प्रकाशित कृतिहरू यसप्रकार रहेका छन् :-
1) सम्झनाको बादल (कथा सङ्ग्रह – 1967)
2) स्पन्दन (कविता सङ्ग्रह – 1970)
3) उसैको लागि – एक अध्ययन (समालोचना – 1970)
4) उसका अन्तहीन कथाहरू (उपन्यास – 1972)
5) भाग्य रेखा (उपन्यास – 1973)
6) शेषान्तर (उपन्यास – 1974)
7) कोसेली (उपन्यास – 1975)
8) वाग्मती साक्षी छ (उपन्यास – 1980)
9) एउटा साथी मर्छ यहाँ (उपन्यास – 1981)
10) कमला सांकृत्यायन (जीवनी -2015)
11) तैलंग स्वामीको जीवनी (अनुवाद – 2013)
12) काशीबहादुर श्रेष्ठ : व्यक्तित्व र कृतित्व (सम्पादन)
हिन्दी भाषामा प्रकाशित उनका कृतिहरू यसप्रकार छन् :-
1) सत्तारे मौसी (कथा सङ्ग्रह - 1973)
2) सोनिया (कथा. सङ्ग्रह – 1975)
3) 31, चण्डी घोष स्ट्रीट (उपन्यास – 1978)
4) देश-देशान्तर (यात्रा संस्मरण – 1998)
5) वचन (काशी बहादुर श्रेष्ठको उपन्यास नेपालीबाट हिन्दीमा अनुवाद -2015)
6) प्रतिनिधि नेपाली कहानियाँ (नेपालीबाट हिन्दीमा अनुदित कथाहरूको सङ्कलन – 2016)
यसबाहेक अङ्ग्रेजी भाषामा पनि साहित्य अकादेमी प्रकाशन, दिल्लीबाट उनको एउटा कृति ‘Kashi Bahadur Shreshta (Monograph – 2003) प्रकाशित छ। सन् 1937 देखि उनका पिताले सम्पादन एवं प्रकाशन गर्दै ल्याउनु भएको पत्रिका ‘उदय’ को सम्पादन एवं प्रकाशनको जिम्मेवारी उनले सन् 1987 देखि आफ्नो हातमा लिएका छन् अनि अहिलेसम्म यसको 183 अङ्क प्रकाशित भइसकेको छ। सन् 2008-2012 को अवधीमा उनी साहित्य अकादेमी, दिल्लीको नेपाली भाषा परामर्श समितिका सदस्य पनि रहेका थिए। यसबाहेक उनी भारत र नेपालका विभिन्न साहित्यिक सङ्घ-संस्थाहरूका सदस्य र सलाहकार पनि रहेका छन्। भारतीय नेपाली साहित्यका शिखर पुरुष इन्द्रबहादुर राईले उनलाई हिन्दी र नेपाली सहित्यका सेतु भनेका थिए।
हिन्दी र नेपाली भाषा-साहित्यप्रति उनको योगदानको मूल्याङ्कन गर्दै भारत र नेपालका अनेकौं सङ्घ-संस्थाहरूले उनलाई पुरस्कृत एवं सम्मानित गरेका छन्। 1) प्रथमपल्ट सन् 1974 मा उत्तरप्रदेश सरकारद्वारा ‘सत्तारे मौसी’ हिन्दी कथा सङ्ग्रहको निम्ति सम्मानित। सन् 1992 मा नेपाली साहित्य परिषद, देहरादूनबाट ‘भानु पुरस्कार’-ले सम्मानित भए। त्यसपछि 2) सन् 1994 मा नेपालका राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहको बाहुलीबाट प्रथम नेपाली चलचित्र ‘आमा’ को निर्माणमा पुर्याएको योगदानको निम्ति सम्मानितभएका थिए। 3) सन् 1996 मा ‘सोनिया’ हिन्दी कथा संग्रहको निम्ति उनलाई ‘कुसुम कुमारी अन्तर्राष्ट्रिय पुरस्कार’-ले सम्मानित गरियो। 4) सन् 1999 मा नेपालका युवराज दीपेन्द्रद्व्रारा नेपाली चलचित्र क्षेत्रमा योगदानको निम्ति सम्मानित भए। 5) सन् 2000 मा विश्व हिन्दी सम्मेलन, नयाँ दिल्लीमा ‘सहस्राब्दी हिन्दी लेखक सम्मान’ प्राप्त। 6) सन् 2001 मा हरियाणाबाट ‘लक्ष्मी नारायण डुबे हिन्दी सेवक सम्मान’ प्राप्त। 7) सन् 2005 मा सिक्किमबाट ‘जय स्मारक सम्मान’ प्राप्त। 8) सन् 2006 मा बनेपा, नेपालबाट ‘सृजना सम्मान’ प्राप्त। 9) सन् 2009 मा साहित्य सेवा समिति, बाग्राकोट, डुवर्सबाट ‘साहित्य सम्मान’। 10) सन् 2010 मा नेपाल पत्रकार सङ्घ, काठमाडौंबाट ‘साहित्य स्रष्टा सम्मान’। 11) सन् 2010 मा महाकवि लक्ष्मी प्रसाद देवकोटा शताब्दी सम्मान। 12) सन् 2012 मा नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट ‘दियालो पुरस्कार’ प्राप्त। 13) सन् 2013 मा हेटौंड़ा, नेपालबाट ‘मातृभूमि राष्ट्रिय सम्मान’ प्राप्त। 14) सन् 2014 मा नेपाली साहित्य अध्ययन समिति, कालेबुङबाट ‘पारसमणि प्रधान स्मृति पुरस्कार प्राप्त। 15) सन् 2022 मा नेपालबाट उनलाई वि.स. 2078 को जगदम्बा श्री पुरस्कारले सम्मानित गरिएको छ।
यसै क्रममा सन् 2023 को जनवरी 15 तारिक बाग्राकोट भीमसेन भवनमा सम्पन्न बद्रीनारायण प्रधान स्मृति पुरस्कार अलङ्करण समारोहमा नेपाली भाषा-साहित्यप्रति उनको दीर्घकालीन योगदानको कदर गर्दै बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, बाग्राकोट, डुवर्सको तर्फबाट उनलाई 12 औं बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरी सम्मान जनाइएको छ। हामी उनको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछौं।
बाग्राकोट (डुवर्स)