दार्जिलिङबाट आएका मुखिया बादेखि गाउँमा काकाहरु निक्कै डराउँथे । दार्जिलिङमा लाहुर भर्ती भएर पेन्सनमा फर्किएका मुखिया बाको ठूलै रवाफ थियो । दार्जिलिङे मुखिया बाले खेताला बोलाएपछि आफ्नो काम छोडेर भए पनि जानैपथ्र्यो । उनको रोपाईं र परेलीमा कोही छुट्यो भने घरमै गएर बुट बजार्थे ।
उनको रोपाईं नसकुन्जेल कुलाको पानी अरुले छुन मिल्दैन्थ्यो । घोडामा चढेर छक्छक छक्छक गर्दै आएका दार्जिलिङे लाहुरे मुखिया बाको घण्टी बज्नेबित्तिकै बाहिर निस्केर स्यालोट ठोक्नु पथ्र्यो । उसो त ब्याजको स्याज जोडेर लिए पनि चाडबाडमा पर्ने अभाव पनि टारिदिन्थे, मुद्धा मामिला पर्दा निर्णायक बोलवाला हुन्थे मुखिया बा ! चाहेर वा नचाहेर सबैले मान्नैपथ्र्यो दार्जिलिङे मुखिया बालाई । दार्जिलिङबाट मुखिया बाले चारब्याट्री जाने टर्चलाइट र रेडियो लिएर आएका छन् रे भनेर काकाहरुसँग हेर्न जाने हाम्रो बाल मस्तिष्कलाई लाहुरे बाले टर्चलाइटको फोकसमा बाहिर आँगनका डिलमा घुम र डोका बनेर टुक्रिएका चोयाका कुट्का बटुल्न पठाउँदा मध्यरात पनि विहानीको उज्यालो जस्तै लाग्थ्यो ।
कसैले दार्जिलिङको कुरामात्र गर्दा पनि मेरो बालमस्तिष्कले दार्जिलिङको लाहुर भर्तीबाट फर्केका मुखिया बाले भिरेको ठूलो रेडियो र खोलापारी टारी खेतका गरामा छिपछिपे पानीसम्म छर्लंग देखिने टर्चलाइटको फोकस सझिरहन्थ्यो ।
लाहुरे बासँग गाउँका काका र दाजुहरु भेलाभएर कहिले उखुका लाँक्रा, कहिले नुनमा अकबरे पिसेर सलक्क परेका काँक्राका चिरा कर्याप्प पार्दै उही दार्जिलिङको बयान गर्दा घुम्न जाउँ जाउँ जस्तो लाग्थ्यो । यी र यस्तै टिप्स अनि सानामा मैले सुनेको कथाले मेरो बालमस्तिष्कमा दार्जिलिङ, खार्साङको झिलिमिली र एउटा लाहुरे स्वप्निल आकृति नमेटिनेगरि खिचिदिएको थियो ।
पहाडी दुर्गम ठाउँको एउटा गाउँमा, विकासका योजनाबाट धेरै पर निरीह भएर बाँचेको मेरो मनलाई कहिलेकाहीं हिउँदमा दार्जिलिङ गई ढाकरमा नुन–मट्टीतेल, लाहुरेपनको पोगरी भएको छातेटोपी र कालो चस्मा लिएर आउने गाउँले दाजुले गरेको दार्जिलिङको वर्णनले झन अर्कै जस्तो व्यक्त गर्नै नसकिने तृष्णा भरिएको थियो । अहा कहाँ होला त्यो दार्जिलिङ ?
नेपालमा सदियौको विरासत तोड्दै माओवादीले सञ्चालन गरेको जनयुद्धताका भूमिगत रहेर सञ्चालन गरिएका पत्रिका र रेडियोमाथि तत्कालीन सरकारले धावा बोलेका बेला पशुपतिनगर र दार्जिलिङको माथिल्लो भाग नै मिडिया बचाउने केही आश्रयस्थल बनेका थिए । त्यो बेलाको प्रकाशनमा म दार्जिलिङ बसेको पनि हुँ । यस अर्थमा भन्दा ‘मेरो पत्रकारिताको यात्रा बचाएर दार्जिलिङले पूर्णता गरिदिएको छ । तर त्यो बेला दार्जिलिङ खुलेर घुम्ने र नजिकबाट अध्ययन गर्ने मौका मिलेको थिएन । पछि त कुनै कुनै लेखमा ‘पहाडकी रानी’, ‘गोर्खाली लाहुरेको गाउँ’ आदि भनेर दार्जिलिङलाई सम्बोधन गरिएको समाचार पनि पढ्थें । दार्जिलिङको सुन्दरताको बखानले मेरो दार्जिलिङ देख्ने लालसालाई अझ तेज बनाइदिएको थियो ।
पूर्वी नेपालका जुनसुकै भूगोलबाटपनि आवश्यक पर्दा एकैदिनमा पुगेर आउन सकिने दार्जिलिङ समुन्द्रपारी जस्तो मानेर गइदैँन्थ्यो, न कि काम पनि परेको थिएन । लाहुरे गाउँ दार्जिलिङको सुन्दर अनुहार नियालेर हेर्ने भोक मरेको थिएन, केले रोकेको थियो, केले छेकेको थियो । समयचक्रसँगै इलामका पत्रकार सोम सुशेलीले हाम्रो ग्रुप च्याट बक्समा लेखे– ‘पत्रकार महासंघ प्रदेश समितिको तेस्रो बैठक इलामको पशुपतिनगरमा बस्ने योजना भयो है’ । सबै साथीहरुले लाइक संकेत गरेपछि मैले पनि ओके लेखेँ । सोही अनुसार मिटिङ सकेपछि बचेको समय दार्जिलिङ घुम्ने योजना भयो । मैले विगतलाई झल्झली सम्झिए । समय निकाल्न सकिन्न कि भन्दै थिए, सगरमाथा कार्यक्षेत्र भएका पत्रकार मित्र बुद्धवीर राईले तपाईसँगै घुम्ने इच्छा छ भनेपछि मैले नाई भन्न सकिनँ । योजना बन्यो, मेरो लागि गन्तव्य नयाँ नभएपनि दार्जिलिङलाई नियालेर हेर्ने लालसाले भने पूर्णता पाउने पक्का भयो ।
हामीले दुइवटा ट्याक्सी लियौं । म अगाडी परै बाटो दायाँबायाँ देखिनेगरि दोस्रो सिटको विचमा बसेँ र चालकलाई खुसुक्क भने– हतार नगरीकन आसपासका ठाउँहरु हेर्दै जानुपर्छ है । उनले हुन्छ भन्ने संकेतमा मुण्टो हल्लाए । पहिले लाहुर जान पश्चिमका पहाडबाटपनि पशुपतिनगर आउथें रे । लाहुरे मापनको परीक्षामा उत्तीर्ण भएपछि यहाँबाट दार्जिलिङ हुँदै कलकत्ता जान्थे । त्यहाँ पानीजहाज चढेपछि उनीहरू मलाया पुग्दथे भन्ने चाहिँ सानैमा सुनेको थिए । पुरानो बाटो पनि यही हो ? पशुपतिनगर सीमानाको अघिल्तिर गेटभित्र पस्नेबित्तिकै मैले चालकलाई सोधेँ । चालकले जवाफ दिए, सीमा तर्ने चोर बाटा त ६३ वटा छन् सर, तर मुख्य बाटो चाहिँ यही हो, सायद यही होला उनले भने ।
उत्सुकता जाग्दै थियो, सडकको एक किनाराका बडेमानका सल्लाका रुखहरु थिए, अहा कति राम्रा रुख ! सँंगै बसेका शोम सुशेलीले ठट्यौली भाषामा तितो यथार्थ सुनाए, यी ठूला रुख भएतिर भारत र तिते, उन्युघारी भएतिर नेपालको भूमि है सर । पछिल्लो सिटमा बसेका सबै साथीहरु आफ्नो भूमिप्रति लज्जाबोध भरिएको हाँसोमा गललल्ल हाँसे । लाचार भरिएको विरक्तिएको हाँसोसँगै एकले भने हाम्रातिर त यत्रा ठूल्ठूला रुखहरु कहाँ रहन पाउँछन् र ? राजनीतिक परिवर्तन हुनासाथ रातारात गायव भैहाल्छन् नि यस्ता रुखहरु ... । गाडी हुइकिरहेको थियो । म स्तब्ध भएर हेरिरहेँ । कुहिरोले झ्याप्प छोप्थ्यो र एकैछिनमा स्वाट्ट खुल्थ्यो, खुलेको मौका छोप्तै रमाइला सिनमा सेल्फी हानेर फुरुङ्ग हुँदै, कुहिरो समात्न खोज्दै छोड्दै गरेजस्ता फोटा र सेल्फी हान्दै हामी अघि बढ्यौं ।
पशुपतिनगरबाट ११ किलोमिटरको यात्रापछि दार्जिलिङ पुगियो । हामी सबै पत्रकारकै टोली थियौं । दार्जिलिङ पस्नेबित्तिकै सगरमाथाका बुद्धवीर राई भन्दै थिएः ‘बोटबिरुवा, हावापानी, खोलानाला, मानिसहरु सबै उस्तै, नेपालीपन भरिएको । चियावारी, बिजुली, सडक र बजारमा चाहिं आकाश जमीनकै फरक यार उनले थपे ।
यताका मानिस कर्मठ रहेछन्, कि सरकारले चासो दिँदो हो’ ? दार्जिलिङमा जस्तो शिक्षा, सौन्दर्य, र कलाको त्रिवेणी अन्त कतै देख्न नपाएका धनकुटाका सन्तोष रुचाल घुमफिर गर्नेमात्र होइन, यहाँबाट धेरैकुरा सिक्नुपर्छ भन्दै थिए । पाँचथरका पत्रकार गणेश राई एक हातमा डायरी र कलम, अर्को हातमा क्यामेरा र झोला च्यापेर वरपर गर्दै फोटा खिच्न लालायित थिए । सुनसरीका जयकृष्ण यादव भन्दै थिए सोचेभन्दा रमाइलो ठाउँ आइपुगियो यार । पाँचथरका विपेन्द्र गौतम, सुनसरीका शशि कोइराला र रीता मोक्तान नयाँ सिनमा सेल्फी लिन पूmर्तिला देखिए । पत्रकार महासंघ प्रदेश १ का तत्कालिन अध्यक्ष विक्रम लुईटल कमाण्ड सम्हाल्दै सम्भावित दुर्घटनाको जोखिमबाट बच्न निर्देश गरिरहेका थिए । विराटनगरका विवेक गौतम, कुमार लुईटेल, ब्रम्हदेव यादव, लगायतका साथीहरु पहाडी चिसो र हरियाली सिनलाई अलिकति भए पनि बोकेर विराटनगर नै लान पाए हुन्थ्यो झैँ गर्दै अहा ! कति स्वच्छ र चिसो हावा भन्दै थिए । त्यो विकट र त्यति भिरालो पहाडमा निकालेको त्यो बाटो र त्यो रेलको लिगको यथार्थ भूगोल देख्ता मलाई धेरै खुल्दुली र ईष्या पनि लाग्यो । ओहो नेपालका यस्ता हजारौं भित्तालाई यसरी नै सिंगार्ने योजना भए नेपाल कस्तो बन्थ्यो होला, मनमनै कल्पना गरेँ । तलदेखिको त्यो बाँदर लड्ने पाखोमा कति सुन्दर र चिटिक्कका घरहरू बनाएर मानिसहरू बसेका । सामूहिक रुपमा पर्यटकीय स्थल र हरियाली स्याहारेका रहेछन्, लोभलाग्दो गरी ।
अंग्रेजद्वारा निर्मित कलाले भरिएका भौतिक संरचना, बाँदर लड्ने भीडमा ठडिएको स्टेसन, पार्किङ भवन अग्ला घर र पहाडभरी लमतन्न फैलिएको चियावारीको हरियाली देखेर चकित हुँदै घुमिरहेका नेपालीहरु अचेल दार्जिलिङ सहरमा छ््यापछ्याप्ती भेटिदा रहेछन् । एक नेपाली पर्यटक भन्दैथिए– नेपालको तीस प्रतिशत आय त भारत घुम्न आउनेले सक्दारहेछन्, तर यहाँको कला सिकेर फर्किने चाहीँ कमैमात्र पाइयो । बंगाली पर्यटकले खचाखच भरिने सहरका गल्ली, चोक र पर्यटकीय गन्तव्यमा नेपालीको बाक्लो उपस्थिति देखियो । शीरमा ढाका टोपी ढल्काएर होस् वा ह्याट पहिरेर, नेपालीको बढ्दो आगमनले दार्जिलिङका नेपालीभाषीहरु पनि खुसीको अनुभव गर्दारहेछन् । दार्जिलिङको पर्यटकीय बाटोमा घुमिरहँदा अतीतमा मुखिया बाले दार्जिलिङबाट ल्याएको चारबेटरे टसको आँखासम्म आएको दूरप्रकाश र मुखिया बाका छोराले सँधै काँधमा भिरेर हिड्ने ठूलो रेडियोको आवाजमा गुञ्जिएको संगीत र दोहोरी सम्झिरहेँ ।
दार्जिलिङको गहनाका रुपमा परिचित तेन्जिङ रक, तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा प्रयोग गरेका साढे छ किलो तौलका जुत्ता, उस्तै भारी ज्याकेट, पुरानो क्यामेरालगायतका सामग्रीदेखि उनको समाधीस्थलसम्म सजाएको रहेछ । गोर्खाली पहिचान झल्कने खालको कपडा लगाएर त्यहाँ फोटो खिच्न पनि नेपालीहरु तँछाडमँछाड गरिरहेका देखिन्थे, हामीले पनि कुम मिलायौं । म पनि उनीहरुको खुसीभन्दा बाहिर रहन सकिन र भित्रैदेखि सन्तुष्ट हुनेगरी छेउमै टाँसिएर क्लिक क्लिक सेल्फीपनि खिचेँ । आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिक सामुन्नेको चौरस्ता पुग्दा गर्वको अनुभूति भयो । आहा नेपालीपन ! नेपाली पर्यटक तान्न भारतले धेरै कला भरेको रहेछ । चौरास्तामा उभिएर चारैतिर आँखा घुमाएँ, उता चियावारीतिर पनि आँखा डुलाएँ, माथि हिमाल मुस्कुराइरहेछ, यी अमूक साक्षीहरूसित मेरो मनले खोजिरहेको थियो नेपालीपनले भरिएको यो रमणीय भूगोलमा भारतीय हस्तक्षेपमुक्त दार्जिलिङ । चौरास्ताबाट फर्कदा दाहिनेतिर ‘दास फोटो स्टुडियो’ पनि झुलुक्क देखें जसमा सिसाभित्र सजाएका र बिक्रीमा राखेका थुप्रै तस्वीरहरू हेर्नलायक थिए । त्यहाँबाट फर्कदा घुममा युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा समेटिएको सानो रेलको सुस्तगति र पत्पत्ति निस्किएको धुँवा अवलोकन गर्न निक्कै मज्जा आउँदोरहेछ ।
अलि तल झरेपछि नेपालका राजा वीरेन्द्रले पढेको स्कुल जो अहिले पनि सरकारी मातहतबाटै चलाइएको रहेछ, राजकीय महाविद्यालय । हामीलाई घुमाउने चालकले भन्दै थिए ‘नेपालका पनि धनीमनीका छोराछोरी त अझै पनि यही स्कुलमा पढ्छन् नि, वातावरण स्वच्छ छ’ । बतासेलुपमा युद्धकाक्रममा मारिएका गोर्खाली सिपाहीको स्मृति बगैंचा चिटिक्क सजिएको रहेछ । त्यहीबाट कञ्चनजंघा हिमश्रृंखलालाई बाइनाकुलरले हेर्ने व्यवस्था पनि रहेछ । आँखैसामु कञ्चनजंघा हिमाल मुस्काएको देख्दा चिसो फुईंकीको पर्वाह नै भएन । धित फुकाएर घुमिघुमी हेरियो ।
चियाक्षेत्रमा कार्यरत कर्मचारीलाई त यसक्षेत्रका पाखाभित्ता खुला विश्वविद्यालय सरह नै रहेछन् । यसको अध्यायन, अनुसन्धान गर्नेलाई पनि दार्जिलिङ उत्तिकै महत्वपूर्ण थलो बनेको रहेछ । त्यही भएर सिन्धुपाल्चोक, दोलखा, स्याङ्जालगायत जिल्लाबाट चियाखेतीप्रति इच्छुक किसानहरु यतैका मिरिक, खर्साङ, सौरेनी, कालेम्पोङ लगायतका स्थानमा घुम्न आउँदारहेछन्न् । अधिकांश नेपाली पशुपतिनगर नाकाबाट दार्जिलिङ पस्छन् भन्थे पशुपतिनगरका बासिन्दाहरु । पशुपतिनगरको सीमा प्रहरीले राखेको तथ्यांकका आधारमा एकैदिनमा ३५ समूहसम्म नेपालीहरु पर्यटकको रुपमा दार्जिलिङ पस्ने गरेको रेकड रहेछ ।
दूरी उति टाढा नहुनु र बोलीचाली पनि नेपालीमैं हुनुले दार्जिलिङलाई नेपालीले घुम्ने गन्तव्य बनाउन सजिलो भएको अनुभव भयो मलाई । एकदिन बस्नेगरी जाँदा भारतीय एकहजार रुपैयाँले नै खानेबस्ने खर्च पुग्ने भएकाले पनि दार्जिलिङ सस्तो पहाडी पर्यटकीय क्षेत्र भएको होला । दुःखको कुरा चाहिँ नेपाली गाडी भारत छिर्न नपाउने तर भारतीय गाडी निर्वाध नेपाल पस्न पाउने नियम रहेछ, बहुत विभेदपूर्ण नियम । सीमा नाकाबाट भारत पस्नेबेलामा भारतीय नम्बर प्लेट भएकै गाडी रिजर्व गर्नुपर्ने, हामीले पनि तेसै गर्नुप¥यो । समय र पैसा हुनेहरु दार्जिलिङ पुगेर सन्दकपुर, गान्तोक, मिरिक, टिष्टाजस्ता रमाइला गन्तव्य पनि गाह्रो नभइ घुम्न सकिने रहेछ । चराहरु चिर्बिराइरहेको कुनै लेकाली जंगलको झल्को आउने चिडियाखानामा बंगाल टाइगर, रेडपाण्डा र याक हेर्न पाउँदा प्रकृतिको नजिक पुगेको अनुभव हुन्थ्यो रे तर हामी गएको दिन चिडियाखाना बन्द रहेछ । त्यो मौका हामीबाट चुक्यो । टाढाका साथीहरु र घुम्ने दीर्घकालीन योजना नभएकाले हामी दार्जिलिङ पुगेको दोस्रोदिन नै फर्कियौं । पशुपतिनगरबाट झापा झर्ने गाडी समाउँदा साँझ परिसकेको थियो । झापा झर्दा बाटाभरी दार्जिलिङको रमाइलो मस्तिष्कमा ओहोरदोहोर गर्दै कुदिरहेको थियो ।
दार्जिलिङलाई तीन चरणमा देखेँ । बाल्यकालमा मैले सुनेको लाहुरे दार्जिलिङ । पत्रकारिता बचाउँन आश्रय लिएको दार्जिलिङ र खुल्ला आकशमुनी नियालेर हेरेको दार्जिलिङमा धेरै भिन्नता लुकेको रहेछ । रमाइलो दार्जिलिङ ।