कवि पोषराज
कविता, खण्डकाव्य, महाकाव्य र आत्मकथाका करिव एक दर्जन कृति प्रकाशित गरिसकेका पोषराज पौडेल (जन्म–वि.सं.२००१) पुनः अर्को महाकाव्य ‘शुक्लागण्डकी’(२०७८) लिएर उपस्थित भएका छन् । कास्कीको घार्मीबाट चितवन बसाइँ सरेपछि त्यहीँ नै आफ्नो शिक्षा र साहित्य सेवा गर्दै आएका पौडेल जीवनको उत्तराद्र्धमा केही बर्ष पोखराको दक्षिणी भेकमा समेत बस्न पुगे । करिव चार–पाँच बर्षको उनको पोखरा बसाइ सिर्जन–कर्मका दृष्टिले निकै उर्बर बन्न पुग्यो । पोखरा बसाइकै क्रममा कविले आफ्नो आन्तरिक पीडालाई सिर्जनासँग साट्दै ‘स्वप्न बिम्ब’, ‘जन्मदाता’, ‘अतीतका पाइलाहरु’ लगायत अन्य अप्रकाशित कृतिहरु जन्माउन पुगे । यतिले मात्र नपुगी प्रस्तुत ‘शुक्लागण्डकी’ महाकाव्यका अधिकांश सर्ग पनि त्यही बसाइको उपज थिए । नेपाली समाजको प्रगतिशील रुपान्तरणमा निरन्तर सक्रिय रहेका उनको साहित्यिक–सांस्कृतिक आन्दोलनमा पनि उत्तिकै योगदान रहेको पाइन्छ । आन्दोलनकै क्रममा जेल र हिरासतको यातनासमेत भोगेका पौडेल आफ्नो सिर्जन–कर्ममा निरन्तर लागिरहेको उदाहरण पनि हो ‘शुक्लागण्डकी’ महाकाव्य ।
टाक्सिँदै गएको विधाः महाकाव्य
साहित्य जीवनको प्रतिबिम्ब हो भने महाकाव्य जीवनको महान् रुपको वा महान् जीवनको प्रतिबिम्ब हो । यसैले यसलाई व्यष्टिको नभएर समष्टिको महागीत मानिन्छ, जसमा उदात्त र समष्टि–भाव प्रकटित भएको हुन्छ । महाकाव्यमा जीवनको उदात्तता र महत्ताको खोजी गरिन्छ । यसैले लामो कविताभ्यास र दीर्घ साधनाविना महाकाव्य लेखन सहज र सम्भव हुँदैन । महाकाव्य लेखनमा मात्र धैर्य र साधना चाहिने नभएर पढ्नमा पनि धैर्य, संयम र समय आवश्यक हुन्छ । आजको व्यस्त मानिस लामो समय लगाएर धैर्य र संयमतापूर्वक महाकाव्य पढ्न अग्रसर हुँदैन । अर्कातिर पछिल्लो केही दशक यता आएर हाम्रा कतिपय कविहरुले महाकाव्यीय गुण–गरिमा र महत्ताको उपेक्षा गर्दै आठभन्दा बढी सर्ग लेखेकै आधारमा सबैजसो कवितात्मक कृतिहरुलाई महाकाव्यको संज्ञा दिने धृष्टता गरेको पाइन्छ । यसै पनि कम पढिने र लेखिने महाकाव्यलाई पछिल्ला केही कविहरुको धृष्टताले झनै तुषारापात गरिदिएको छ । लामो कविताभ्यास गरेर ‘शहीदगाथा’ जस्तो महाकाव्य लेखिसकेका कवि पोषराजबाट पाठकहरुले पछिल्लो महाकाव्यमा झनै उदात्तता र भव्यताको अपेक्षा राख्नु स्वाभाविक पनि हो । आयामका दृष्टिले ‘शहीदगाथा’ भन्दा दोब्बरबढी ठूलो प्रस्तुत महाकाव्य कथानक, उद्देश्य, भाव र शैलीका दृष्टिले के कति भव्य र उदात्त हुन सक्यो वा सकेन यहाँ त्यसको गहन समालोचकीय विश्लेषण र निरुपण नगरी महाकाव्यलाई सरसर्ती हेर्ने प्रयास गरिएको छ ।
महाकाव्य प्रबन्धकाव्य भएकाले यसलाई लामो काव्यिक–यात्रा तय गर्नुपर्ने हुन्छ । तर, तीब्र भाव–संवेग भएको कवित्व एक्लैले लामो यात्रा गर्न नसक्ने हुँदा यसलाई आख्यानको सहारा लिनुपर्ने हुन्छ । यसैले महाकाव्यकारमा काव्यशिल्प मात्र भएर पुग्दैन, आख्यानशिल्पको पनि अपेक्षा रहन्छ । आख्यान र कवित्वको उचित तालमेलबाटै महाकाव्यीय यात्रा सुखद र सफल हुन पुग्छ । आख्यान र कवित्वको उचित संयोजन नभएकै कारण धेरैजसो महाकाव्य दुर्घटित हुने गरेका छन् । देवकोटा जस्ता प्रतिभाशाली कवि पनि आख्यान र कवित्वको उचित संयोजन गर्न नसकी कवित्वकै जोडबलमा महाकाव्यिक यात्रा गर्न पुग्छन् र आख्यानात्मक क्षतिलाई कवित्वले पूर्ति गर्न खोज्छन् । सुन्दर कवित्व र सुदृढ कथानक महाकाव्यीय मेरुदण्ड हुन् भने उदात्त भाव (विचार)लाई रक्त सञ्चार अनि शैलीलाई यसको मांशपेसीका रुपमा लिन सकिन्छ । काव्यिक भावलाई वहन गर्नसक्ने पात्रहरुको चयन र तदनुकूलको वातावरण र परिवेशले महाकाव्यलाई जीवन्त र प्रभावकारी बनाउँछ ।
जम्मा बीस सर्ग र १२६६ श्लोकमा संरचित प्रस्तुत महाकाव्य शार्दूलविक्रीडित, अनुष्टुप्, वसन्ततिलका, दु्रतविलम्वित, शिखरिणी, मन्दाक्रान्ता जस्ता दर्जनबढी शास्त्रीय छन्दहरुमा बुनिएको छ । प्रारम्भमा मङ्गलाचरण, सर्गको सुरु र अन्त्यमा छन्दपरिवर्तन, विभिन्न रसको प्रयोग, प्रकृति वर्णन, वीररसको प्राधान्य जस्ता लक्षणहरुले प्रस्तुत महाकाव्यले पूर्वीय महाकाव्य–मान्यतालाई पछ्याउन खोजेको देखिन्छ । यद्यपि कथावस्तु र नायक भने तदनुकूल देखिँदैनन् । निर्विघ्नतापूर्वक काव्य समाप्त होस् भनेर सुरुमा नमस्कारात्मक, आशीर्वादात्मक वा वस्तुनिर्देशनात्मक मङ्गलाचरण गर्ने पूर्वीय मान्यतालाई पछ्याउँदै यहाँ कविले पहिलो श्लोक आशीर्वादात्मक र त्यसपछि भने वस्तुनिर्देशनात्मक मङ्गलाचरण गरेको पाइन्छ —
‘हे मेरी जननी ! निहार्दछु तिमीलाई र टोलाउँछु
केही सङ्कटमा परेछु म भने सम्झेर बोलाउँछु
पौडूँ सागर यै ग¥यो हृदयले इच्छा, कसोरी तरूँ ?
मेरो माथ मुसार आसिक दिई यो काव्य पूरा गरूँ’ — आशीर्वादात्मक(१÷१)
कथानक
नेपालको पछिल्लो राजनीतिक–सामाजिक अवस्थालाई लिएर लेखिएको ‘शुक्लागण्डकी’ महाकाव्य वैचारिक दृष्टिले प्रगतिवादी देखिन्छ । कविले आफ्ना भावना र विचारहरु काव्यको सुरुदेखि अन्तसम्मै कतै पात्रका माध्यमबाट कतै स्वकथनबाट प्रस्तुत गरेका छन् । देशको शासन व्यवस्थाप्रति कविको असन्तुष्टि ठाउँ–ठाउँमा यसरी व्यक्त भएको पाइन्छ—
दुःखी गरिवको निम्ति बाँच्न गाह्रो हुँदै गयो
लोकतन्त्र यहाँ नौलो सुनको पिंजडा भयो
बलात्कारीहरुलाई राज्यले नै लुकाउँछ
भ्रष्टाचारीहरुलाई राज्यले नै बचाउँछ (८÷५)
आफ्नै भूमिमा पसिना बगाउने भन्दै परदेशबाट फर्किएर शुक्लागण्डकी तटको बाँझो जमिन आवाद गरेर बसेका एक हुल श्रमिकहरु र स्थानीय सामन्तबीचको द्वन्द्व नै महाकाव्यको मुख्य कथानक बनेको छ । विदेशबाट फर्किएका भोला र गौरी, तिनकी छोरी राधा, गोरे र कृष्ण अनि राधा र कृष्णबाट जन्मिएका स्पार्टाकस र पिटर नामका दुई छोराहरु उत्पीडितहरुका प्रतिनिधि पात्रका रुपमा रहेका छन् भने स्थानीय सामन्त जबरसिंह र कम्युनिस्ट पार्टीको टिकटबाट मन्त्री बनेको जबरसिंहको छोरो वृषभसिंहचाहिँ उत्पीडक, भ्रष्ट र जनविरोधीहरुको प्रतिनिधिका रुपमा प्रस्तुत गरिएको छ ।
सुरुमा भोला–गौरीको समूहलाई त्यहाँको बञ्जर जमिन खन–जोत गर्न अवरोध नगरेर र पछि ऋणसमेत दिएर सहयोग जस्तो गरेको जबरसिं पछि उनीहरुले बाली भित्र्याउन लाग्दा जमिन आफ्नो भएको दावी मात्र गर्दैन ऋणको चर्को व्याज हिसाव गर्दै तिनीहरुले उत्पादन गरेको धान आफैंले उठाएर लैजान्छ । किसानहरुले प्रतिरोध गर्दा छोरो बृषभसिंले प्रहरी बोलाएर गोली चलाउँछ र कतिपयलाई त्यहीँ ढलाउँछ । किसानहरु छिन्नभिन्न हुन्छन् । कृष्ण रोजगारीका लागि खाडी मुलुकतिर लाग्छ र महाकाव्यको अन्त्यतिर मात्र फर्कन्छ । महाकाव्यको अन्त्यतिर आएर कृष्ण, राधा, गोरे र दावा गरी चारजना मिलेर ‘नेपाल बचाऊँ सङ्घ’ खोल्दछन् र अरुलाई पनि त्यसमा समेट्दै लैजान्छन् । राधाले जन्माएका जुम्ल्याहा बच्चाको नाम स्पार्टाकस र पिटर राखिन्छ र तिनीहरु अलि ठूला भएपछि पहाडको गुफामा ध्यान गरेर बस्ने साधुसमक्ष शिक्षादीक्षाका लागि पठाउँछन् । साधुले तिनलाई माक्र्सवादी शिक्षा दिएर प्रशिक्षित गराई पठाउँछन् —
सित्तै कुनै चिज कसैसँग क्यौ नखाई
गर्नु परिश्रम सधैं पसिना बगाई
नारीहरुसँग सफा व्यवहार गर्नु
नानीहरुकन सधैंभर प्यार गर्नु (१९÷१५)
महाकाव्यको अन्त्यतिर आउँदा स्पार्टाकसकै नेतृत्वमा सामन्तलाई जनकार्वाही गरेको देखाइएको छ । कम्युनिस्ट पार्टीबाट चुनाब जितेर मन्त्री बनेको सामन्त जबरसिंको छोरा बृषभसिंले गरेका भ्रष्टाचार, बलात्कार, हत्या र जनविरोधी कार्य अनि तिनका विरुद्ध जनताले गरेको सङ्घर्ष, सामन्तलाई गरेको जनकार्वाही र नयाँ क्रान्तिको आह्वान गर्दै महाकाव्य पूरा हुन्छ—
यो यात्रा रोकिने छैन समता त्यो नभैकन
यो यात्रा रोकिने छैन छली अन्त्य नभैकन
अवको माग हो क्रान्ति अनिवार्य भइसक्यो
उपाय छ र के अर्को नत्र ज्यूँदै मरेभयो (२०÷७६)
चरित्राङ्कन
कविको भाव वा विचारलाई बहन गर्न वा कथाका विभिन्न घटना–सन्दर्भहरुलाई अगाडि बढाउन प्रबन्धकाव्यमा विभिन्न पात्रहरुको सृजना गरिएको हुन्छ । प्रस्तुत महाकाव्यमा पनि भोला, राधिका, कृष्ण, गौरी, गोरे, स्पार्टाकस र पिटर जस्ता सकारात्मक अनि जबरसिंह र बृषभसिंह जस्ता नकारात्मक पात्रहरुको सृजना गरिएको छ । तर, यतिका पात्रहरु भएर पनि कुनैमा पनि नायकत्वको विकास गर्न सकिएको छैन । काव्यको सुरुमा भोलाले श्रमिक किसानको प्रतिनिधित्व गरेको देखिन्छ भने त्यसपछि उनकी छोरी राधा र अर्को युवक कृष्ण प्रमुख पात्रका रुपमा देखिन्छन् । राधाले सुरुमा केही सङ्घर्ष गर्न खोजेजस्तो देखिए पनि आखिर ऊ सामन्त बृषभसिंहको अगाडि नतमस्तक हुँदै आफूमाथि लगाइएको बोक्सीको आरोप स्वीकार्छे र पिटाइ खाँदै र अपमान सहँदै फर्किन्छे । बोक्सीको आरोप लगाएर पिट्दा र दिसा खुवाउँदा पनि सामान्य प्रतिरोध नगर्नु उसको ठूलो कमजोरी हो । यसरी उसको चरित्र औषत नेपाली महिलाभन्दा पनि निकै कमजोर र निरीह देखिन्छ भने सुरुमा सामन्त जबरसिंहसँग सङ्घर्ष गर्न खोज्ने कृष्ण पनि पछि पलायन हुँदै खाडी मुलुकतिर जान्छ र महाकाव्यको अन्त्यतिर मात्र फर्किन्छ । क्रान्ति र आन्दोलनमा संलग्न भएको गोरे जस्तो पात्र पनि सत्ताको उन्मादमा जनविरोधी कार्य गर्ने बृषभसिंहको आदेश अवज्ञा गर्नसम्म सक्दैन ।
यसरी काव्यको सुरुमा देखिएको सामन्त र किसानवीचको द्वन्द्व बढ्दै गएर उत्कर्षमा पुग्नुपर्नेमा बीचमै सेलाउन पुग्छ । सामन्तवाद विरुद्धको सङ्घर्ष सङ्गठित र व्यवस्थित हुन नसकी सिथिल हुन जान्छ । यस बीचमा कविले नेपाली राजनीति र समाजमा व्याप्त अन्याय, विभेद, भ्रष्टता, बलात्कार, कुशासन र लूटतन्त्र, एम.सि.सि.मा भएको राष्ट्रघात, कोरोना महामारी, जनयुद्ध र जनआन्दोलन गरेर आएका कम्युनिस्ट पार्टीको वैचारिक स्खलन, क्रान्तिविरोधी गतिविधि र व्यवहार जस्ता विषय सन्दर्भहरु अघि सार्दै त्यसप्रतिका आफ्ना वितृष्णा, विरोध, आक्रोश र कुण्ठाजन्य भावहरु व्यक्त गरेको पाइन्छ । कविले नायक–नायिकालाई सशक्त र घटनालाई जीवन्त बनाउँदै आफ्ना भावहरुलाई तिनै पात्रहरु मार्फत् व्यक्त गरेको भए काव्य बढी प्रभावकारी बन्दथ्यो ।
महाकाव्यको पन्ध्रौं सर्गमा आएर राधा–कृष्णका जुम्ल्याहा पुत्रका रुपमा जन्मेका स्पार्टाकस–पिटर उन्नाइसौं सर्गमा आउँदा गुफामा बस्ने साधुबाट माक्र्सवादी शिक्षा लिन्छन् । आजको सन्दर्भमा हेर्दा यसरी गुफामा बस्ने साधुले विभिन्न शिक्षाका साथै माक्र्सवादको प्रशिक्षण दिएको पनि त्यति स्वाभाविक लाग्दैन । बीसौं वा अन्तिम सर्गमा आउँदा तिनै पन्ध–सोह्र बर्षे किशोर स्पार्टाकसको नेतृत्वमा जनता सङ्गठित हुन थाल्छन् अनि जबरसिं र उसको छोरामाथि भौतिक कार्वाही हुन्छ । महाकाव्यको अन्त्यतिर उदाएका किशोर स्पार्टाकसलाई दोस्रो–तेस्रो सर्गतिरै जन्मेको देखाएर सोही अनुसार घटना र चरित्रको विकास गर्दै अघि बढाएको भए महाकाव्य सुदृढ र सशक्त हुन सक्दथ्यो । तर यहाँ कविले द्वन्द्वको विकास नगरी घटनालाई वीचमा अलपत्र छाडेको देखिन्छ । आफ्नो प्रगतिवादी भाव वा उद्देश्य पूरा गर्नकै लागि महाकाव्यको अन्त्यमा आएर बच्चामा स्पार्टाकसको अवतार आरोपित गर्नु स्वाभाविक देखिँदैन ।
म स्पार्टाकस हुँ मेरो पुनर्जन्म भयो यहाँ
मारिएको थिएँ दासीसाथ त्यो फ्रान्स देशमा
मेरो हुन्छ पुनर्जन्म हजारौं शिर हातमा
कुलीन सबको नास आइ गर्नेछु विश्वमा (२०÷४६)
सङ्गठन र जनविद्रोहमा विश्वास नगरी एउटा व्यक्तिविशेषमा संपूर्ण गुणहरु भर्दै उसैले क्रान्ति पूरा गर्ने विश्वास गर्नु अतिआदर्शवाद हो । राधाले जन्माउने बच्चामा स्पार्टाकसको पुनर्जन्म भएको देख्नु, उसले ‘पुनर्जन्म लिएर आई कुलीनहरुको नास गर्नेछु’ भन्नु अवतारवादी धारणा हो जुन भगवद्गीताबाट प्रभावित देखिन्छ । यौटा बच्चामा प्रमुख सहिद, सांस्कृतिक योद्धा र विद्रोहीहरुको सामुहिक बिम्ब देख्नु पनि अति आदर्शवाद हो—
यिनमा देख्छु क्यै मैले अंश ती कृष्णसेनका
यिनमा झल्किएका छन् गुण क्यै रामवृक्षका
देखिए यिनमा हाँसो च्याङ्वा, चुन्नु, सुवासका
प्रमिथस बनून् आगो चोर यी दरबारका (१५÷४२)
यिनैका आङ्मा आऊन् स्पार्टाकस् भूकम्प भै
भीमदत्त, लखन्थापा, आऊन् ज्योति जगाउँदै (१५÷४३)
नेपाली समाजको शोषण, दमन, अन्याय, भ्रष्टाचार र बलात्कारको चित्रण गर्न जबरसिंह र बृषभसिंह नामका दुई बाबु–छोरालाई अघि सारिएको छ । यी दुई पात्रका माध्यमबाट नेपालको पछिल्लो राजनीतिक अवस्थाले जन्माएको भ्रष्टता, कुशासन र लूटतन्त्रलाई उजागर गर्न खोजिएको छ । जबरसिंलाई स्थानीय सामन्तको रुपमा र उसको छोरा बृषभसिंलाई कम्युनिस्ट पार्टीबाट चुनाव जितेर मन्त्री बनेको तर अनैतिक, भ्रष्ट, बलात्कारी र सत्ताको आडमा जन–दमन गर्ने पात्रका रुपमा अघि सारिएको छ । जबरसिंहले नदी तटको बाँझो जमिन खनजोत गरेर आबाद गरी बाली भित्र्याउन खोज्दा जग्गा–जमिनमाथि दावी मात्र गर्दैन ऋणको चर्को ब्याज असूल गर्न खोज्दै उत्पादित सबै बाली उठाएर लैजान्छ । किसानहरुले प्रतिरोध गर्दा छोरा मन्त्री बनेको बृषभसिंले प्रहरी दमन गर्न लगाउँछ । अन्धविश्वास र रुढिलाई उत्प्रेरित गर्दै किसान पुत्री राधालाई बोक्सीको आरोप लगाउँछ र उसलाई समातेर ल्याई दिसा खुवाउन लगाउँछ । आजको समाजमा कम्युनिस्ट पार्टीको मन्त्री आफैं अघि सरेर बोक्सीको आरोप लगाई उसमाथि हातपात गर्नु र दिसा खुवाउन लगाउनु अस्वाभाविक र अतिशयोक्ति हुन जान्छ । कम्युनिस्ट भनिने मन्त्री र नेताहरुले पनि रुढि र अन्धविश्वासलाई प्रेरित र संरक्षण गर्ने गरेको, धार्मिक कार्यमा आफैं कर्ता भएको र मन्दिर निर्माण र मूर्ति स्थापना गर्दै हिँडेको अवस्था यथार्थ भएपनि यसरी एउटी अबला महिलालाई मन्त्रीले नै बोक्सीको आरोप लगाई पिट्दै आफैंले दिसा खुवाउन लगाएको कुरा स्वाभाविक लाग्दैन—
‘बोल्छेस् लाज पचाई ए नकचरी’ उफ्रेर गै झम्टियो
थाल्यो गोद्न समाई केश पिठमा लात्तो बजारीदियो ...
मन्त्री क्रोधित भै उठ्यो ‘अब दिसा ख्वाऊँ’ भनी कुर्लियो
यो मन्त्री स्वरको समर्थन गरी ताली ठूलो गुञ्जियो (१६÷१४–१८)
पार्टीका नेता र सरकारका मन्त्रीहरु स्वयम् महिला–बलात्कार र हत्यामा संलग्न हुने गरेको देखाउन कविले कम्युनिस्ट पार्टीबाट मन्त्री बनेको बृषभसिंहलाई अघि सारेका छन् । ऊ खोला किनारमा गिटी कुटेर जीवन निर्वाह गर्ने मजदुरकी छोरी रुपालाई अपहरण गर्न लगाई घरमा लगेर बलात्कार गरी हत्यासमेत गर्दछ । निर्मला पन्तको हत्या प्रकरणको प्रतिच्छाया देखाउन खोजिएको भएपनि काव्यमा यस घटनालाई स्वाभाविक बनाउन सकिएको छैन । हत्या, बलात्कारका कतिपय घटनामा मन्त्री, सांसद वा उच्च पदस्थ व्यक्तिहरु र तिनका आफन्तको संलग्नता नभेटिने होइन तर काव्यमा जसरी गणतान्त्रिक सरकारको कथित कम्युनिस्ट मन्त्री आफैंले गुण्डा लगाएर मजदुरकी छोरीलाई अपहरण गरी घरमा लगेर बलात्कार गरेको देखाइएको छ त्यो त्यति स्वाभाविक देखिँदैन । त्यस्ता घटनामा मन्त्री प्रत्यक्ष र नग्न रुपमा जोडिन र देखिन चाहँदैनन् ।
महाकाव्यको पन्ध्रौं सर्गमा आएर मात्र राधा–कृष्णका जुम्ल्याहा पुत्रका रुपमा स्पार्टाकस–पिटरको जन्म हुन्छ भने उन्नाइसौं सर्गमा आएर मात्र तिनले गुरु (गुफामा बस्ने योगी)बाट शिक्षा लिन्छन् । बीसौं वा अन्तिम सर्गमा आउँदा तिनै पन्ध–सोह्र बर्षे किशोर स्पार्टाकसको नेतृत्वमा जनता सङ्गठित हुन्छन् । जबरसिं र उसको छोरामाथि भौतिक कार्वाही हुन्छ । क्रान्तिका लागि अव निरन्तर अघि बढ्ने सन्देश दिँदै महाकाव्य टुङ्गिन्छ ।
भाव र उद्देश्य
महाकाव्यको मङ्गलाचरणमा नै कविले महाकाव्य लेख्नुको उद्देश्यलाई सङ्केत गरेका छन् । नेपाली समाजको शोषण, दमन, अन्याय, विभेद, वेथिति, भ्रष्टाचार र कुशासनको अन्त्य भई समतामूलक सुन्दर र समुन्नत समाजको चाहना नै महाकाव्यको उद्देश्य रहेको पाइन्छ । कतै–कतै पात्रको माध्यमबाट र धेरैजसो कवि–कथनकै रुपमा यी कुराहरु बारम्बार व्यक्त भएकाले महाकाव्यको उद्देश्य स्पष्ट नै छ । मङ्गलाचरणको रुपमा रहेको पहिलो सर्गको दशौं श्लोकमा कवि भन्छन्—
‘यो लोकको शोषण अन्त्य गर्न
सामन्तको हर्कत अन्त्य गर्न
समाजको ज्योति बनेर आओस्
समानताको प्रिय गीत गाओस !’ (१÷१०)
वर्गसङ्घर्ष देखाउनका लागि कविले उत्पीडक वर्ग (जबरसिंह र बृषभसिंह) र उत्पीडित वर्ग (भोला, राधा, कृष्ण, स्पार्टाकस, पिटर)का पात्रहरु त अघि सारेका छन्, तर तिनीहरुका बीचको सङ्घर्षलाई व्यवस्थित गर्न र घटनालाई क्रमिक र स्वाभाविक विकास गर्दै उत्कर्षमा पु¥याउन भने सकिएको छैन । शिक्षा र चेतनाको तीब्र विकास भएको बर्तमान समयमा शोषण र दमनका रुपहरु पनि परिवर्तित भएका छन् । आजको समाजमा पनि राणाकालीन समयको जस्तो नग्न र बर्बर सामन्ती शोषण देखाउनु स्वाभाविक लाग्दैन । जबरसिंह आफैं खेतमा गएर किसानले थुपारेको धान जबरजस्ती लिएर जानु, किसानले त्यसको प्रतिरोध गर्न खोज्दा कम्युनिस्ट पार्टीको मन्त्री आएर तिनीहरुमाथि प्रहरी दमन गर्दै हत्या र आतङ्क मच्चाउनु जस्ता घटनाहरु आजको सन्दर्भमा त्यति स्वाभाविक लाग्दैन । त्यसप्रकारको प्रहरी दमन र हत्याका लागि सोही अनुरुपको विद्रोहात्मक चेत, सङ्गठन वा सरकार विरोधी गतिविधि आवश्यक पर्दछ । कि त जनयुद्ध अघिको रुकुम रोल्पामा गरिए जस्तै तीब्र सरकारी ज्यादती र दमन आवश्यक हुन्छ, कि त अरु नै किसिमको सङ्गठित विद्रोह वा आन्दोलन आवश्यक हुन्छ । तर महाकाव्यमा त्यो खाले सचेत विद्रोह वा आन्दोलन गरेको देखिँदैन ।
पटक–पटकका निःशस्त्र र सशस्त्र आन्दोलनबाट सङ्घीय गणतन्त्र स्थापना भई कम्युनिस्टको दुईतिहाई निकटको सरकार बन्दासमेत जनताले परिवर्तनको अनुभूतिसम्म गर्न नपाएको, शोषण–उत्पीडन, गरिवी र वेरोजगारी कायमै रहेको, भ्रष्टाचार, बलात्कार र विभेद बढ्नुका साथै नेता र मन्त्रीहरुले यस्ता अपराधजन्य कार्यहरुलाई संरक्षण गर्ने गरेको, युवाहरुले देशकोभन्दा विदेशको सपना देख्न थालेको, गरिवहरु श्रम बेच्न अरबको खाडीमा जान वाध्य भएको जस्ता विषयहरुलाई महाकाव्यले ठाउँ ठाउँमा उठाएको छ ।
कविको सबैभन्दा बढी आक्रोश सशस्त्र र निःशस्त्र जनआन्दोलनबाट सत्तामा पुगेका कम्युनिस्ट नेताहरुको प्रतिगामी चरित्र र व्यवहारप्रति रहेको देखिन्छ । बृषभसिंहलाई त्यसैको प्रतिनिधि पात्रका रुपमा उभ्याइएको छ । कम्युनिस्ट पार्टीबाटै चुनाव जितेर मन्त्री बनेको ऊ भ्रष्ट र पतित मात्र छैन, श्रमिक किसानहरुमाथि प्रहरी दमनमा पनि उद्दत रहन्छ । हत्या, बलात्कार जस्ता घटना मात्र घटाउँदैन गाउँकी महिलालाई बोक्सीको आरोप लगाउँछ र आफैंले पिट्दै दिसा खुवाउन लगाउँछ । ऊ राजनीति भनेको बाहिर देखाउनका लागि जनताको सेवा गर्ने भएपनि भित्रचाहिँ आफू र आफन्तको वर्ग उत्थान गर्दै सम्भ्रान्त बन्नुहो भन्ने कुरा गर्छ । ऊ यतिसम्म भन्छ कि यो गणतन्त्र हामीले ल्याएको हैन, भारतको सहयोगले आएको हो र हामी ऊप्रति कृतकृत्य हुनुपर्छ—
हाम्रो सामथ्र्यले हैन आएको गणतन्त्र यो
यसमा छ ठूलो हात मित्र भारतबर्षको
गुन जो मित्रले लाए कृतघ्न कसरी बनौं
कृतकृत्य हुनैपर्छ बैगुनी कसरी भनौं ...
बाँड्ने हो सपना मात्रै लक्ष्य ता जोड्नु हो धन
रोजौं यै मार्ग कम्रेड ! नगरीकन दोमन (४÷३४–३८)
छारो हालेर आँखामा जनता लुट्नुपर्दछ
छरेर कनिका बुद्धि उनको भुट्नुपर्दछ (४÷८)
यसरी एउटा कम्युनिस्ट पार्टीको जिम्मेवार नेता र मन्त्रीले भनेका यस्ता कुराहरुलाई सरसर्ती पढ्दा उग्र कम्युनिस्ट विरोधी (अझ जनयुद्ध विरोधी) भाव प्रवाह गरे जस्तो लाग्दछ । यस्ता केही पंक्तिलाई हेर्दा कुनै प्रगतिवादी कविले लेखेको रचना भन्न सकिने स्थिति देखिँदैन । जनताको ठूलो त्याग र बलिदानबाट आएको गणतन्त्रलाई कम्युनिस्ट मन्त्रीकै मुखबाट भारतले ल्याइदिएको भन्नु हजारौं सहिद, वेपत्ता, घाइते र आमजनताप्रतिको घोर अपमान हुन जान्छ । यसले आन्दोलनमा होमिएका जनताको स्वाभिमानमा समेत चोट पु¥याउँदछ । जस्तोसुकै सामन्त र भ्रष्ट व्यक्तिले पनि व्यवहारमा जनतालाई ठग्ने र लुट्ने गरे पनि मुखलेचाहिँ जनता लुट्ने कुरा गर्दैनन् तर यहाँ बृषभसिंहले आफ्ना कार्यकर्तालाई जनता लुट्ने कुरा भनेको पनि स्वाभाविक लाग्दैन ।
कम्युनिस्ट पार्टीको सरकारप्रति जनताको जुन अपेक्षा थियो त्यस विपरीतका कार्य र जनविरोधी गतिविधि देखेर वाक्क र दिक्क बनेका कविका मनमा छताछुल्ल भएर पोखिएका आक्रोश र कुण्ठाजन्य भावहरुलाई उचित परिमार्जन नगरी प्रस्तुत गरिँदा कम्युनिस्ट विरोधी भाव जस्तो देखिन गएको छ । महाकाव्यका प्रतिनायक वा खलपात्रको चरित्राङ्कन राम्ररी हुन नसक्दा पाठकलाई उक्त चरित्र जनयुद्ध लडेर आएको नेता नै हो कि भन्ने भ्रम पैदा भई कम्युनिस्ट विरोधी भाव लाग्न सक्छ । कविले उक्त पात्र वास्तविक कम्युनिस्ट नभएर पछि प्रवेश गरेको वा पहिल्यैबाट गणतन्त्र विरोधी पात्रका रुपमा स्पष्ट चरित्राङ्कन गर्न सकेको भए यस्तो भ्रम हुँदैनथ्यो । तर, काव्यका अन्य सन्दर्भहरु र कवि–कथनका सन्देश पढ्दा तथा कविले जनयुद्ध र जनआन्दोलनमा गरेको योगदान अनि क्रान्तिप्रतिको निष्ठालाई बुझ्दाचाहिँ कविको भाव त्यस्तो देखिँदैन । काव्यको उद्देश्य त देशमा समतामूलक उन्नत समाज–व्यवस्था वा साम्यवादी समाज स्थापना गर्ने रहेको देखिन्छ जुन महाकाव्यको मङ्गलाचरणको दशौं श्लोकमा मात्र होइन महाकाव्यीय सन्देशका रुपमा आएको अन्तिम सर्गको ७६ औं श्लोकमा स्पष्ट पारिएको छ —
‘यो यात्रा रोकिने छैन समता त्यो नभैकन
यो यात्रा रोकिने छैन छली–अन्त्य नभैकन
अबको माग हो क्रान्ति अनिवार्य भइसक्यो
उपाय छ र के अर्को नत्र ज्यूँदै मरे भयो ।’ (२०÷७६)
कोरोना महामारीको समयमा लेखिएको प्रस्तुत काव्यले तत्कालीन कम्युनिस्ट सरकारले गरेका जनविरोधी कार्य, हत्यारा, बलात्कारी र दलालहरुलाई पार्टीमा भित्र्याएर मन्त्री बनाएको अवस्थासमेतलाई ध्यानमा राख्दा सरकार र सत्तारुढ पार्टीका गतिविधिप्रतिको घोर घृणा, आक्रोश, विरोध र वितृष्णाको अभिव्यक्तिका रुपमा त्यस्ता केही श्लोक सिर्जित भएको देखिन्छ ।
जबरसिंह र बृषभसिंह विरुद्ध जनतालाई सङ्गठित गर्दै त्यसलाई वर्गसङ्घर्षको रुप दिई सोही अनुरुप घटनाको विकास गर्दै लगिएको भए महाकाव्य उद्देश्य केन्द्रित हुन गई बढी प्रभावकारी बन्न सक्दथ्यो । तर यहाँ घटना र पात्रहरु उद्देश्य केन्द्रित हुन सकेका छैनन् । महाकाव्यको सुरुवात र अन्त्य राम्ररी गरिएको भएपनि वीचमा कविका भावना र विचारलाई छरप्रष्ट रुपमा राखिएको छ । कतै कोरोना महामारीको सन्दर्भ, कतै अमेरिकी सहयोग नियोग (एम.सि.सि.) प्रतिको धारणा, कतै कम्युनिस्टहरु सरकारमा गएपछि स्खलित हुँदै गएको सन्दर्भलाई अघि सारिएको छ । यस्ता भावहरु व्यक्त गर्न सोही अनुकूलका पात्रहरुको निर्माण र विकास गरिएको भए स्वाभाविक र प्रभावकारी बन्दथ्यो । तर कथावस्तुलाई बीच–बीचमा अलपत्रै छाडी कवि आफ्ना राजनीतिक–वैचारिक भावहरुलाई पस्कन लागेकाले महाकाव्य अपेक्षित प्रभावकारी हुन सकेको देखिँदैन ।
बिसौनी
जनताको ठूलो त्याग बलिदानबाट आएको परिवर्तन पनि केही मुठ्ठीभर व्यक्तिहरुको पेवा जस्तै हुन पुगेको, देशमा शोषण, उत्पीडन, विभेद, कुशासन र भ्रष्टाचार मौलाउँदै गएको र आम जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएको अवस्था औंल्याउँदै महाकाव्यले अर्को क्रान्तिको आवश्यकता औंल्याइएको छ । तर, अर्को क्रान्ति कस्तो, कुन प्रकृतिको र कसरी सम्पन्न गर्ने भन्ने कुरामा भने काव्यले स्पष्ट सङ्केत गरेको छैन । ‘नयाँ खाले क्रान्ति’ भनिए पनि त्यो स्पष्ट हुँदैन । महाकाव्यको अन्त्यतिर आउँदा चार जना पात्र मिलेर ‘नेपाल बचाऊँ सङ्घ’ खोलेकाले त्यो आन्दोलन केवल राष्ट्रवादी वा सुधारवादी प्रकृतिको जस्तो देखिन्छ भने त्यसै सर्गको अन्त्यतिर आउँदा स्पार्टाकस र पिटरले सामन्तलाई जनकार्वाही गर्दै ‘यो यात्रा रोकिने छैन समता त्यो नभैकन’ भन्नुले क्रान्तिकारी दिशामा अघि बढेको सन्देश प्रवाह गरेको देखिन्छ । काव्यको उद्देश्य आमूल परिवर्तनका लागि अर्को क्रान्तिको आवश्यकता औंल्याउनु भएपनि त्यो स्पष्ट रुपमा आउन सकेको छैन ।
शैलीका दृष्टिले भने यो महाकाव्य निकै सरल र सुन्दर देखिन्छ । शास्त्रीय छन्दभित्र अनुप्रासको सुन्दर छटा प्रकृतिचित्रण देखि समसामयिक राजनीतिक–सामाजिक सन्दर्भहरुमा समेत उत्तिकै प्रवाहशील बनेको देखिन्छ । भावानुकूलको छन्द–प्रयोगले कविको काव्यकौशलतालाई उजागर गरेको छ । कुनै पनि घटना वा सन्दर्भमा छन्द बेरोकतोक निर्बाध रुपमा अघि बढ्नु कविको काव्य–कौशलता हो । शुक्ला गण्डकी तटको परिवेश र त्यस वरपरको प्राकृतिक चित्रणको आधारबाट महाकाव्यको शीर्षक नै शुक्लागण्डकी राखिएको छ । शीर्षकले काव्यको उद्देश्य, मर्म र समग्र भावनालाई वहन गर्न नसके पनि त्यहाँको परिवेशलाई समेटेको हुँदा सार्थक नै मान्न सकिन्छ । घटना, पात्र, परिवेश र उद्देश्य बीचको तारतम्य मिलाउँदै तिनको स्वाभाविक विकास गर्न सकेको भए वा केही परिष्कार र परिमार्जन गर्न सकेको भए महाकाव्य अझै सबल र प्रभावकारी बन्न सक्दथ्यो । केही सीमाहरुका बीच पनि ‘शुक्लागण्डकी’ महाकाव्य नेपाली काव्य–साहित्यमा एउटा महत्वपूर्ण प्राप्ति बन्न पुगेको छ ।