18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वर र वर्ण

कविता सतीश छेत्री December 9, 2022, 12:43 pm
सतीश छेत्री
सतीश छेत्री

युद्ध गर्न आउनेहरूलाई
भन्दिनू
देशको झण्डा नलिई आउन् ती
देश भनेको
बाबैको आशीष हो
आमैको पच्छयौरी-तन्ना हो।
त्यहाँ छन्
बालखबालिकाको
अबोध ईश्वरीय हाँसो।
पुरूषको पौरषता
न्यायिक दृष्टि
सपना-जपना।
त्यहीँ बग्छ युगको
उत्तराधिकारी नदी
जसले सबैतिरबाट उभाउँदै हिँड्छ
गङ्गाजल
र जान्छ सागरसम्म ।

त्यहाँ छन् - मन्दिर
बरको अग्लो छायाँदार रूख
यात्रीले खोजेको बाटो।
नदीले बनाएको खेत।
माटोले लिपेको घर।
पहेँला/गेरूवा रङ्गका
तोला तोला सयपत्री।
तितुचाङेको रातो सिउर।
कलेजी रातो रङ्गको लिपिस्टिक लाएर
वसन्तको कार्यक्रममा उभेका
किशोरी लालपातीका पातहरू‌।

त्यसै गाउँका
परदेशीहरूले देखेको सपना पनि
त्यहाँकै गाउँका गल्ली गल्छेँडीहरूमा
जिउँदै छन् ।
सानोमा खेलेको
आँप - अम्बकका आँगनका हाँगाले
भाँच्चिएर पनि हुरीझरीमा
पर्खेर बसेका छन्।

स्कुलहरू छन् - जहाँ टिप्दैछन्
नानीहरूले अक्षर र
खेलाएर हेर्दैछन् - घाममा टल्केको।
त्यसै स्कुलको
पट्टाईहरू भित्र
छन् अझै पनि
पेन्सील रबरहरू छिरेर बसेको।

देशलाई झण्डा बनाएर
युद्धमा दगुर्ने
एकाधिक आत्मघातीहरूले
राख्दैनन् हेक्का केही।
उनीहरूलाई सोध्नू -
किन युद्ध तयार पारेको ?
उनीहरूले भन्नेछन् -
'मलाई ढुङ्गाले लाग्यो।'
अनि फेरि सोध्नू
'किन झण्डा बोकेको ?'
उनीहरूले भन्नेछन् -
'देश- रक्षाका लागि।'
देश रक्षाका लागि कि
आफ्नो सुरक्षाका लागि?

उनीहरूलाई लाग्छ कि
देश भनेको डोको हो।
सजिलो भयो बोक्यो
गह्रौं भयो पल्टाइदियो।
स्वार्थ देखे छोप्यो।
परार्थ देखे छोड्यो।
उनीहरूलाई लाग्छ
धुरिनु भनेको देश हो।

जसरी आमा भनेको
सबकी आमा हुन्
उसरी नै देश भनेको
सबको देश हो।
जहाँ लागेको मन पर्छ भावनाको ईन्द्रेणी
जहाँ बजेको मन पर्छ
बिहानबेलुकी ईश्वरको धुन् ।
जहाँ खेलेको मन पर्छ
नानीहरूले कपुरी 'क'।
जहाँ उघ्रेको मन पर्छ हिमाल।
हाँसेको मन पर्छ गुराँस चिमल।
लहलहाएको मन पर्छ
सातवटा रङ्गमा खेत्।

यस्ता तनले होइन
मनले लुला योद्धाहरू
केही कामका छैनन्
जसले बादलले पानी पारयो भने
'दिन्न' भन्दै दैलो थुन्छन् ।
आकाशमा बिजुली बल्यो भने
भेला गरेर तीर दाग्न लाउँछन् ।

उनीहरूलाई लाग्छ -
आफ्नो होस् वा अर्काको
देशको सरकारलाई
गाली गर्नु भनेको नै
हो देश - निर्माण ।

त्यहीँ
निर्मितिहरू छन्
समितिहरू छन्
समर्पितहरू छन्
अनन्त सम्भावना र
मानवताका गीतहरू छन्
परामर्शहरू छन्
विचारहरू छन्
दर्शनहरू छन्
तर ती गट्ठामा बाँधिएका भने
पूर्वमा उदाएको घामहरूलाई
दैनिक
डाँढापछिल्तिरको खोलामा
फ्याँक्न खटिएका छन्।

अम्बलडम्बल नै छ उनीहरूको
प्रिय खेल
ट्युरी, खिसी, गिल्ला, खित्का
यही छ उद्दम, लामो रेल।

अनि यो गट्ठे तरङ्ग
आलुजस्तो छ
जसलाई एक छेद भएको छ
र त्यहाँबाट त्यो
दुर्गन्धित भइरहन्छ
उज्यालो जोगाउन हो भने
लालटेन पर्छ
जो तात्तिएर पनि फुट्दैन
किमार्थ ।

त्यस डाँढामा स्याल रोयो भने
उस डाँढामा पनि
हु हु गर्छ
उस डाँढामा फ्याउरो रोयो भने
त्यस डाँढामा पनि
आहु आहु गर्छ
प्रतिध्वनित हुन्छन् दुई डाँढा
एकार्काको आवाजले।
उल्काहरूले ठान्छन्
एकअर्काको टाउकामा टेक्यो भने
अग्लो हुन्छ अस्मिता।

जब कि
त्यता उम्रेको पानी
खोलाले उता लगेको छ
र बारी खन्दै गरेको
किसानको निधारमा छेपेको छ
उभौँली चढ्दा
उताको हावाले त्यताको सङ्गीत
अलिकति पोको पारेर
कोशेली बोकिदिएको छ।
त्यताका डाँफेमुनाल घुम्नलाई
उता गएको छ र
उतै घर बसाएको पनि छ ।
त्यताको चञ्चले हिरण
उता पुगेर कुनै
उसकै ढपढाँचाको यौवना
मन पराएको पनि छ
आेहोर दोहोर छन् सब कुरा।

सिमानाले कहाँ रोक्छ हावालाई
बादल झरी वर्षालाई
घामको प्रकाशलाई
फूलको सुगन्धलाई
उच्छवासले ती वर्षिँदै हुन्छन्।
तृप्ति बाँड्दै हुन्छन्।

जूनलाई माया गर्नका लागि
जूनमै टेक्न पर्छ भन्ने होइन।
देश अनुरागको निम्ति
अनुहार मिल्नु पर्छ भन्ने होइन ।

जब हरेक देशको एक'ले
आफ्नो घुरेनबारीमा
एउटा बिरूवा रोप्छ
र भन्छ
यो त्यो देशको लागि ;
हेर्नू
त्यसपछि पृथ्वी के हुन्छ!

वास्तवमा देश बोक्नेहरूले
मुटुको चारकोठाको लागि
एकएकवटा दैलो बनाउन अह्राउँदैनन्।

उनीहरूले त घोलिदिन्छन् रसरङ्ग
बनाउँछन् ईश्वरीय शरबत्।
त्यति बेला
गुञ्ज्यमान भएको हुन्छ
एउटा स्वर
प्रकटित भएको हुन्छ
एउटा वर्ण।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।