18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कस्ता देखिन्छन् ‘आराधना’ आत्मकथामा रेशमलाल सर ?

कृति/समीक्षा रमेश प्रभात November 28, 2022, 12:45 pm
रमेश प्रभात
रमेश प्रभात

यतिबेला चितवनको नारायणगढ सहरमा बसोबास गर्दै आएका स्रष्टा रेशमलाल श्रेष्ठको जन्म मध्य नेपालको सुन्दर पहाडी भूमि बन्दीपुरमा भएको हो । उनी त्यहीँको माटोमा खेल्दै हुर्केका हुन् । उनले आफ्नो जीवनको पैँतालीस वर्ष अङ्ग्रेजी भाषाका शिक्षक भएर बिताएका छन् । यो अवधिमा उनी विभिन्न तालिममा पनि सहभागी भएका छन् । सरकारी खर्चमा विदेश घुम्न नपाए पनि आफ्नै खर्चमा पटक पटक विदेश भ्रमण पनि गरेका छन् । बन्दीपुरजस्तो सहरमा जन्मेको भए पनि खेती किसानीबाट जीवन गुजारा गरेको सामान्य परिवारमा जन्मेका कारण उनले जीवनमा अभावका कुराहरु प्रशस्त भोगेको कुरालाई उनको आत्मकथा ‘आराधना’ले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।

मलाई किताबसित अघ्घोरै प्रेम छ !
तपाईं किन पढ्नु हुन्छ ? म भन्न सक्तिनँ । मेरो हकमा पढ्नु भनेको ध्यानमा बस्नु हो । यतिबेला मेरो हातमा रेशमलाल श्रेष्ठको ‘आराधना’ नामक आत्मकथाको किताब छ र छेउमा छ सुमन पोखरेलको अनुवादको कविताकृति ‘मनपरेका केही कविता’ । आत्मकथा पढ्दै गर्दा उक्त कविताकृतिको यो कविताले पनि मन तान्यो मेरो ः
“कसैलाई बिर्सनु भनेको
घर पछिल्तिरको बत्ती निभाउन बिर्सिनुजस्तै रहेछ,
जो भोलिपल्ट दिनभर पनि बलिरहन्छ ।

र त्यसैको उज्यालोले,
सम्झाउँदोरहेछ
फेरि सम्झनका लागि ।”
– येहुदा अमिसाई (‘बिर्सनु’ कविता) ः अनु. सुमन पोखरेल

नेपाली साहित्यमा आत्मकथाको बाढी किन आएको होला ?
यतिबेला नेपाली साहित्यमा विविधताले प्रश्रय पाइरहेको अवस्था छ । कविता, नाटक, आख्यान र निबन्धका अतिरिक्त आत्मकथाहरु प्रशस्त लेखिन र छापिन थालेका छन् । भाषासाहित्यसँग गहिरो सम्बन्ध भएका सत्यमोहन जोशी होस् कि राजनीतिसँग गहिरो सम्बन्ध भएको सूर्यबहादुर थापाका बारेमा लेखिएको आत्मकथा होस् पाठकले रुचाएकै छन् । अझ भाषासाहित्य र सामाजिक सेवामा पहिले कहिल्यै देखा नपरेका रुक्माङ्गद कटुवाल, छत्रमान गुरुङ र विनोद चौधरीका लेखाइएका आत्मकथाले पनि बजार लिएकै छन् । यसले बताउँछ, पाठकका रुचि फरक फरक खालका छन् ।
पाठकले रुचाएपछि कुनै पनि लेखक हौसिनु नराम्रो होइन । आफूले जीवनमा भोगेका यावत् भोगाइलाई कलाको लेप लगाएर यथार्थको नजिक रहेर प्रस्तुत गर्नु आत्मकथा हो । यस्ता आत्मकथा कतिपय पाठकका लागि प्रेरणाको स्रोत समेत बन्नसक्छ । यसरी आत्मकथा लेख्नेहरुको भीडमा ‘आराधना’ (२०७४) नामक आत्मकथा लिएर पेसाले पूर्व शिक्षक र रुचिले साहित्यकार रेशमलाल श्रेष्ठ पनि देखा परेका छन् ।

शिक्षक हुन् कि स्रष्टा हुन् रेशमलाल श्रेष्ठ ?
समाजमा रहेका व्यक्तिका परिचय विभिन्न परिवेशमा भिन्न भिन्न हुन सक्छ । ठाउँ अनुसार व्यक्तिले फरक फरक खालका परिचय दिनुपर्ने पनि हुन सक्छ । अझ व्यक्तिभित्र विविध खालका व्यक्तित्व छ भने त कुरै अर्को । जसरी बालक हुर्कंदै गएपछि उसका नाता सम्बन्धमा विस्तार हुन्छ, त्यसै गरी व्यक्तिले आफ्नो परिचयको दायरा फराकिले बनाउँदै लैजान्छ । आफ्नो बारेमा उनी कृतिभित्र समेटिएको ‘आराधना’ शीर्षकको रचनामा यस्तो लेख्छन् ः
“मैले शिक्षा क्षेत्रमा २०२२ सालदेखि २०६७ सालसम्म अविच्छिन्न सेवा गरेँ । त्यस अवधिभरि शिक्षा क्षेत्रभन्दा दायाँ बायाँ म कुनै क्षेत्रमा पनि लागिनँ । मेरो पैँतालीस वर्षको शिक्षा साधनाले मलाई एकोहोरो बनायो । केही सामाजिक संघसंस्थाहरुमा भने म पहिलेदेखि नै संलग्न छु । तर कुनै राजनैतिक विचारधाराले मलाई आकर्षित गरेन ।”
बन्दीपुरको भानु मा.वि. र रत्नराज्यलक्ष्मी नि.मा.वि. तथा नारायणगढको बालकुमारी मा.वि. जस्ता सरकारी विद्यालयमा २५ वर्ष तथा नारायणगढकै स्मलहेमल आ.मा.वि.मा २० वर्ष गरी पैँतालीस वर्ष लामो शिक्षण अनुभव सँगालेका रेशमलाल श्रेष्ठको मूल परिचय शिक्षक नै हो । गायन र अभिनयमा पनि रुचि राख्ने हुनाले उनको अर्को परिचय कलाकार पनि हो । त्यस्तै उनी गीत, कविता तथा कथा लेखनमा पनि सक्रिय रहेकाले उनको अर्को परिचय साहित्यकार पनि हो । त्यसबाहेक विभिन्न सामाजिक संघ संस्थामा पनि उनी सक्रिय रहेका छन् । यहाँ उनको ‘आराधना’ नामक आत्मकथाका बारेमा चर्चा गर्न खोजिएकाले उनी शिक्षकभन्दा बेसी लेखक हुन् भन्ने ठहर छ मेरो ।

‘आराधना’ले उठाउन खोजेको कुरा के हो ?
‘आराधना’ नामक आत्मकथाका लेखक रेशमलाल श्रेष्ठले आफ्नो आत्मकथा लेखनका बारेमा स्पष्ट धारणा राखेका छन् । उनी ‘प्रसव पीडा’ शीर्षकको आत्मकथनमा यस्तो लेख्छन् ः
“आत्मकथा जीवनका अविस्मरणीय भोगाइहरुको अभिलेख हो । यसभित्र आफूले जीवनभर भोगेका सम्पूर्ण कथा व्यथाहरु सकभर नछुट्ने गरी समावेश गरिएका हुन्छन् । मेरो यो आत्मकथा सुरु गर्ने बेलामा मलाई यिनै कुराहरुे घच्घच्याएका थिए । त्यसै हुनाले म जताततै छताछुल्ल पोखिएको छु ।
मैले जीवनमा भोगेका कैयौँ यस्ता घटनाहरु पनि छन् जसलाई मैले यसअघि मेरो परिवारका कुनै पनि सदस्यहरुलाई सुनाएको छैन । मेरा ती सबै भोगाइहरुलाई यसभित्र खुलस्त राखूँ कि नराखूँ भन्ने दुविधामा थिएँ । तर आत्मकथा जीवनको खुल्ला डायरी हो । त्यसैले ती सबै भोगाइहरुलाई खुलस्त रुपमा राखिनुपर्छ । सकेसम्म ती भोगाइहरुलाई सबैले थाहा पाउने गरी छर्लङ्गिनुपर्छ भनेर मलाई मेरो अन्तरात्माले बारम्बार भनिरह्यो । त्यसैले मैले मेरो यस आत्मकथामा यथासम्भव सबै भोगाइहरुलाई खुलस्त रुपमा राख्ने प्रयत्न गरेको छु ।”
‘आराधना’ जीवनको आराधना हो । यस कृतिलाई आत्मकथाकार रेशमलाल श्रेष्ठले आफूले जीवनमा भोगेका विविध खालका भोगाइको फेहरिस्त बनाउन खोजेका छन् । आत्मकथा लेख्दा सकभर जीवनमा भोगेका घटनाहरु नछुटून् भन्ने उनको ध्येय रहेको देखिन्छ । तर कृतिभित्र कतिपय एउटै घटना पटक पटक दोहोरिएका छन् । उदाहरणका लागि उनको पहिलो जागीरको प्रसङ्ग, स्मल हेभन स्कुलको स्थापनाको सन्दर्भ, स्मल हेभन स्कुल बिक्री गर्नुपर्दाको पीडालाई लिन सकिन्छ । यी घटना विभिन्न सन्दर्भमा दोहोएिका छन् । लेख्ने क्रममा ‘मैले यसअघि नै यो घटना उल्लेख गरेको छु’ भनेर लेखकले भनेको भए पनि एउटै घटना पटक पटक दोहो¥याउनु पाठकका लागि भने दिक्क लाग्दो बनेर कृतिमा आएको छ ।

‘आराधना’मा यति धेरै शीर्षक किन ?
जम्मा ३५६ पृष्ठको आयाममा मूल पाठ फैलिएको ‘आराधना’ नामक आत्मकथाको आरभ्ममा ‘प्रसव पीडा’ र अन्त्यमा ‘आभार’ शीर्षकमा लेखक रेशमलाल श्रेष्ठका धारणा आएका छन् । कूल ८६ वटा शीर्षकमा बाँडिएको यो कृतिको पहिलो शीर्ष ‘मेरो जन्म’ हो भने अन्तिम शीर्षक ‘बोनसमा बाँचेको जिन्दगी’ हो । यसका अधिकांश शीर्षक तीन पृष्ठको आयाममा फैलिएको पाइन्छ भने केही शीषर्क जम्मा दुई पृष्ठका पनि छन् । यसको सबैभन्दा बढी पृष्ठमा फैलिएको शीर्ष ‘आराधना’ नै हो, जुन ७८ आँै स्थानमा छ र यसले १६ पृष्ठको आयाम ओगटेको छ । यो शीर्षकमा नयाँ कुराभन्दा पनि पुरानै कुराको आवृत्ति पाइन्छ ।
पाठकलाई पढ्दा दिक्क नलागोस् भन्ने ख्याल लेखकले गरेको कुरा कृतिभित्र प्रवेश गरेपछि थाहा हुन्छ । आफूले भोगेको फरक फरक खालका भोगाइलाई फरक फरक शीर्षकमा समेट्नका लागि शीर्षकीकरण गरिएको हो भन्ने प्रष्ट बुझिन्छ । कतिपय कुरा त शीर्षक पढेपछि नै बुझिने खालका पनि छन् । लेखकले आफ्नो जन्म, बाल्यकाल, सानोमा गरेका बदमासी, शिक्षादीक्षा, जागीर, तालिम, समाजमा खेलेका विभिन्न भूमिका, विवाह, सन्तानप्राप्ति, विदेशभ्रमण, लेखन अनुभव, जीवनका बारेमा धारणा आदि यावत् कुराहरु खुलस्त राखिएको छ । उनी आफ्नो बारेमा ‘मेरो स्वभाव शीर्षक’मा यस्तो लेख्छन् ः
“आस्तिक भएर पनि धेरै साजसज्जाले सिँगारिएका धार्मिक कार्यहरुमा सरिक हुन नचाहने मेरो यो अव्यवहारिक स्वभावले गर्दा कहिलेकाहीँ म असामाजिक प्राणी भएको जस्तो भान हुन्छ । मनले पूजा गर्छु तर म नियमित रुपले मठमन्दिरहरु धाउँदिन । दीनदुःखीहरुलाई माया गर्छु तर दया गर्न जान्दिनँ । धेरै साथीहरु छन् तर सबैलाई साथ दिन सक्तिनँ । यी मेरा आफ्ना आन्तरिक कमजोरीहरु हुन् जसलाई मैले आजसम्म सच्याउन सकेको छैन । अच्युत त देवतामात्र हुन्छन् । मेरो दृष्टिमा च्युत र अच्युतको सम्मिश्रण नै मान्छेको सक्कली रुप हो । त्यसैले म आफ्ना कमजोरीहरुमै टेकेर मान्छे बन्ने प्रयत्नमा लागिरहेको छु ।”
यस प्रकार ‘आराधना’ रेशमलाल श्रेष्ठको जीवनभोगाइको फेहरिस्त हो । यसमा सिङ्गो जीवनलाई सिनेमाको पर्दामा उतारेजस्तो गरी उतार्ने काम लेखकले गरेका छन् । त्यसका लागि फरक फरक घटनालाई फरक फरक शीर्षकमा उतारेका छन् । पहिलो यौनको अनुभूतिदेखि लिएर जीवनमा गरिएका विभिन्न प्रेमका प्रसङ्गलाई समेत उनले छुटाएका छैनन् । कतिपय पाठकलाई ती कुरा नभए पनि हुने हो कि भन्ने लाग्न सक्छ, तर लेखकलाई लागेका कुरा यसमा खुलस्त राखिएकाले यो कृति उनको जीवनको साङ्गोपाङ्ग प्रस्तुति बनेको छ ।

‘आराधना’को साहित्यिक हैसियत के हो ?
‘आराधना’ नामक आत्मकथा लेखक रेशमलाल श्रेष्ठको जीवनभोगाइको फेहरिस्त हो । यसमा उनले सम्झनसक्ने उमेर अर्थात् बाल्यकालदेखि आफू सत्तरी वर्षको उमेरमा पुग्दासम्मका जीवनका आरोह अवरोहहरुको सुन्दर चित्रण गरेका छन् । आजका युवालाई कथाजस्तो खालका घटना पनि यसभित्र समेटिएका छन् । उदाहरणका लागि उनको स्कुल फि तिर्दाको कुरा, प्रवेशिका परीक्षा दिन काठमाडौँ जाँदाको सन्दर्भ, उनले सुरुमा जागिर खाँदा पाएको तलब, सुरुमा जग्गा किन्दाको मूल्य आदिलाई लिन सकिन्छ । यथार्थ चित्रण भए पनि यसमा प्रयोग गरिएको भाषा, प्रयुक्त शैलीशिल्प, शीर्षकीकरण आदिमा यथेष्ट मात्रामा साहित्यिक स्वाद पाइन्छ । यसर्थ ‘आराधना’ लेखकको जीवनभोगाइ मात्र नभएर साहित्यिक कृति पनि बनेको छ ।

‘आराधना’जस्ता आत्मकथा लेखिनु किन आवश्यक छ ?
सानो मुलुक भएर पनि नेपाली समाजमा विविधता छ । यहाँ विविध जातजातिका मानिसहरु बसोबास गर्छन् । उनीहरुको धर्म, संस्कृति, भाषा, रीतिरिवाज फरक फरक खालका छन् । अझ यहाँ छिटोछिटो भएको राजनैतिक परिवर्तनले पनि विविधता थप्न सहयोग पु¥याएको छ । पुरानो पुस्ताले भोगेका जीवनभोगाइ नयाँ पुस्ताका लागि शिक्षा बन्न सक्छ । जीवनको पाठशालामा सिकेका अनुभवलाई पुस्तकका रुपमा बदल्न ‘आराधना’जस्ता आत्मकथाका लेखिनु आवश्यक छ । सबैलाई सबै कुरा मन पर्नैपर्छ भन्ने छैन । बढीभन्दा बढी पाठकले पढिदिए भने यस्ता कृतिको सार्थकता पुष्टि हुन्छ । अझ कसैले जीवनशैलीका रुपमा अपनाइदिए भने लेखक रेशमलाल श्रेष्ठको सिर्जनाले पूर्ण सफलता पाउन सक्छ । कताकति रहेको भाषिक कसरमसर, ठाउँ ठाउँमा भएको पुनरुक्तिदोष बाहेक यो कृति सफल छ । यसर्थ लेखक रेशमलाल श्रेष्ठलाई यो सुन्दर कृतिका लागि साधुबाद छ ।

अध्यक्ष, अक्षर समूह चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।