17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली साहित्य जगतकी प्रबुद्ध नारी हस्ताक्षर डा. कमला सांकृत्यायन

व्यक्तित्व / कृतित्व गोपालसिंह विश्व October 22, 2022, 4:01 am
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतीय नेपाली साहित्य जगतमा डा. कमला सांकृत्यायनको नाम एउटा गरिमामय स्थानमा आसिन हुन पुगेको साहित्यिक हस्तिको रुपमा लिने गरिन्छ। कुनै समयमा हिन्दी र नेपाली दुवै भाषामा समान रुपले कलम चलाउने डा. कमला सांकृत्यायनले हिन्दी भाषा-साहित्यमा पनि उत्तिकै आदर र सम्मान पाएकी हुन्। अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त लेखक तथा लगभग 36 भाषाका ज्ञाता महापण्डित राहुल सांकृत्यायनकी जीवन सँगिनी रहेकी हुनाले पनि उनकै देखरेख अनि सान्निध्यमा रहेर उनले आफुलाई शिक्षा, भाषा र साहित्यको निरन्तर सेवा गर्दै अध्ययन, अध्यापन र साहित्य सृजन कार्यमा समर्पण गर्ने अवसर पाइन् अनि एक प्रसिद्ध विदुषी नारी हस्ताक्षरको रुपमा परिचित हुन सफल भइन्।
कालेबुङ सहरको एउटा साधारण परिवारमा 15 अगस्त सन् 1930 मा उनको जन्म भएको थियो। उनको पिताको नाम स्व. चन्द्रमान परियार अनि माताको नाम स्व. चन्द्रमाया परियार थियो। त्यसबेला उनका पिताको पारम्परिक जीविका उपार्जन गर्ने साधन लुगा सिउने व्यवसाय रहेको थियो। परिवारमा माता-पिता अनि पाँच जना दिदी-बहिनीहरू थिए। उनको पिताको मृत्युपछि उनकी आमाले त्यो काम सम्हालिन्। त्यसबेला सुकन्या कमला परियार कालेबुङको गर्ल्स हाई स्कुलमा शिक्षा प्राप्त गर्दै थिइन्। सन् 1948 मा त्यहाँबाट उनले म्याट्रिक उतिर्ण गरेपश्चात् परिवारमा आर्थिक सहयोग पुर्याउने र आफ्नै खुट्टामा उभिने प्रयास गर्ने अभिप्रायले उनी नोकरीको खोजीमा लागिन्।
संयोगवश त्यसैबेला हिन्दी भाषा-साहित्यका एकजना विद्वान लेखक, सोभियत रसिया र श्रीलङ्काका विश्वविद्यालय तथा महाविद्यालयहरूमा अध्यापन, बौद्ध दर्शन तथा लुप्त प्राय: ग्रन्थहरूको खोजीमा तिब्बत यात्रा र देश-विदेशको भ्रमण गरेर अपार अनुभव बटुलेका, प्रगतिशील चिन्तनधारा र मानवतावादी प्रवृतिका विराट व्यक्तित्व, प्रसिद्धिको शिखरतिर उक्लिँदै गरेका स्वनामधन्य महापण्डित राहुल सांकृत्ययान कालेबुङ आएर बस्न थालेका थिए। देश भर्खरै स्वाधीन भएको अवधि हिन्दी भाषा साहित्यको विकास र लेखन क्षेत्रमा उनको सुनाम चारैतिर फैलिसकेको थियो। त्योबेलासम्म उनका लगभग 70-80 वटा विविध विधाका ग्रन्थहरू प्रकाशित भइसकेका थिए। त्यही अवधिमा उनले प्रशासनिक शब्दकोशको निर्माण एवं अन्य धेरै लेखन कार्यहरूको जिम्मेवारी लिएका थिए। उनी भारतीय संविधानको अनुवाद कमिटीका सदस्य पनि थिए। यसैले उनलाई एक जना लिपिक अथवा टाइपिस्टको नितान्त आवश्यकता थियो। कालेबुङमा उनका एकजना हितैषी मित्र परमहंस मिश्र बस्दथे। उनैले कमला परियारको सिफारिस राहुल समक्ष गरेका थिए भन्ने कुरा जीवनीकार श्री दुर्गाप्रसाद श्रेष्ठ आफ्नो पुस्तक ‘कमला सांकृत्यायन’-मा लेख्छन्। नेपालको काठमाड़ौँ निवासी नेपाली साहित्यका एकजना वरिष्ठ लेखक जनकलाल शर्मासित पनि राहुलको राम्रो सम्बन्ध थियो। उनले शर्मालाई पनि एकजना लिपिक खोजिदिने आग्रह गर्दै पत्र पठाएका थिए। नरेन्द्रराज प्रसाईको जीवनीपरक लेख ‘एउटी राजदूत डा. कमला’ अनुसार ‘आफ्ना आदरणीय मित्रको चिठी प्राप्त गरेपछि राहुलको आवश्यकता अनुरूपको टाइपिस्टको खोजी गरिदिने अनुरोध गरेर जनकलाल शर्माले पनि कालेबुङमा रहेका आफ्ना एक जना मित्रलाई चिठी लेखे। संयोगवश जनकलालका तिनै मित्रकी छोरीकी साथी कमला परियार नै टाइपिस्ट रहिछन्। आर्थिक कारणले त्यस बखत कमलाका लागि पनि तुरुन्तै पैसा आउने काम समाउनुपर्ने वाध्यता थियो। त्यसैले कमलाले आफू टाइपिस्टमा रही इमानदारीपूर्वक जागिर खाने वचन राहुललाई दिइन्।‘ सन् 1949 को जून महिनादेखि कुमारी कमला परियार राहुल सांकृत्यायनका शोध रचनाहरू लेख्ने सहायिका अर्थात् एउटी लिपिक एवं टाइपिस्टको रुपमा काम गर्न थालिन्।
त्यो बेला राहुल एक्लो थिए। यहाँ प्रसंगवश उनको वैवाहिक जीवनको पृष्ठभूमिबारे पनि अलिकति चर्चा गर्नु आवश्यक ठहर्ला। वास्तवमा 9 अप्रेल 1893 मा उत्तर प्रदेशको आजमगढ़ जिल्लाको पन्दहा गाउँमा एउटा ब्राह्मण परिवारमा जन्मिएका राहुलको 11 वर्षको अबोध उमेरमै बालविवाह भएको थियो। त्यसबेलाको हिन्दु रिवाज अनुसार बालविवाह पश्चात् छोरी युवा उमेरको नहुञ्जेल ससुराली पठाइँदैन थियो। राहुल मावली गाउँमा बाज्येसित बस्थे। माताको देहान्त भइसकेको थियो। राहुल आफ्नो वैवाहिक बन्धनबाट मुक्त हुन चाहन्थे। उनको चेत आउन थालेपछि मनमा वैराग्य उत्पन्न हुन थाल्यो। फलस्वरूप स्कुल पढ्दा पढ्दै 15 -16 वर्षको उमेरमा उनले गृह त्याग गरे। उनी ज्ञानको खोजीमा देश-विदेश घुम्न थाले, कलकत्तामा रेलवे पार्सल अफिसमा मार्कावालाको काम गर्दै 6 महिनामा बङ्गला भाषा सिके, बनारसमा दयानन्द विद्यालयमा प्रवेश लिए अनि शिक्षकहरूको सेवा गर्दै अध्ययन गरे, आग्राको मुसाफिर विद्यालयमा अध्ययन गरे, लाहौरको डी.ए.बी. कलेजमा संस्कृतको अध्ययन गरे, छपरामा एक सन्तका शिष्य रामोदर दास साधु बने, घुमक्कड़ बने, अनेकौं भाषाहरू सिके, अनेकौं पुस्तकहरू लेखे। उनको जीवनको सङ्घर्षको लामो कथा छ जो एउटा अलग्गै पुस्तकको रुपमा विस्तृतमा हिन्दी, अंग्रेजी, नेपाली र अन्य भाषाहरूमा पनि पढ्न पाइन्छ। आफ्नो जीवनको यस्तै यात्रा क्रममा सन् 1937-38 मा उनी सोभियत रसिया पुगेर अध्यापन कार्यमा संलग्न रहँदा त्यहाँ एउटी युवती आफ्नै सहकर्मी भारतीय तथा तिब्बती भाषा विभागकी सचिव एलेना नर्वेर्तोव्ना कोजेरोवस्काया (लोला)-सित उनको प्रेम विवाह भएको थियो। तर 13 जनवरी 1938 मा उनी एक्लै भारत फर्के। तत्कालीन रुसी सरकारले उनकी पत्निलाई भारत ल्याउने अनुमति दिएन। त्यही वर्ष 5 सितम्बर 1938 मा रुसी पत्निबाट उनको एउटा छोराको जन्म भयो जसको नाम इगोर राखिएको थियो। पछि जुलाई 1945 मा जब उनी पुन: रसिया पुगे तब छोराको अनुहार हेर्न सके। त्यसपल्ट लगभग दुई वर्ष त्यहाँ रहेर अगस्त 1947 मा उनी भारत फर्केका थिए। रुसी पत्नीले आजन्म अर्को विवाह गरिनन्।
कालेबुङ निवासकालमा उनी ‘पार्वती निवास’ नामको एउटा बंगलो भाडामा लिएर बस्ने गर्दथे। त्यहाँबाट कमला परियारको डेरा प्राय: डेढ माइल दूरीमा थियो। उनलाई बेला-अबेला आउनु जानु धेरै असुविधा हुन्थ्यो। एकदिन वर्षाकालमा उनी निथुक्रै भिजेर आएकी थिइन्। त्यो असुविधा देखेर राहुलले उनलाई आफ्नै निवासमा बस्ने व्यवस्था मिलाइदिए। त्यसै बंगलोमा एकजना अंग्रेज महिला श्रीमती आइरिन राय पनि आइन्। उनी अंग्रेजी-हिन्दी टाइप गर्नमा निकै सिपालु थिइन्। उनको सङ्गतले कुमारी कमला पनि निकै पारङ्गत हुँदै गइन्। राहुलको सहायिकाको रुपमा काम गर्दै उनले हिन्दी साहित्यका पुस्तकहरू पनि पढ्न थालिन्। समय बित्दै गयो। अत्यन्त व्यस्त जीवन-क्रम र असन्तुलित खानपानले गर्दा त्यसबेलासम्म राहुललाई मधुमेह रोगले आक्रान्त पारिसकेको थियो। उनी आफ्नो रोगलाई नियन्त्रणमा राख्न चाहन्थे, त्यसको निम्ति उनको निकटमा रहेर हेरचाह गर्न सक्ने एउटी सहधर्मिनीको आवश्यकता पनि महसुस गरिरहेका थिए। तर उमेरको व्यवधान सामु थियो। उनीहरू माझ उमेरमा 37 वर्षको फरक थियो। तर पनि रहँदा बस्दा राहुलको मनमा उनीप्रति प्रेमभाव एवं अनुरागको सृजना हुन थालेको थियो। कालेबुङमा उनलाई भेट्न प्रभाकर माचवे, विध्यानिवास मित्र जस्ता साहित्यकारहरू उनको सहयोगका निम्ति आउने गर्थे किनकि त्यसबेला राहुलं पारिभाषिक शब्दकोश निर्माण तथा अन्य धेरै लेखन कार्यहरूमा व्यस्त रहने गर्थे।
सन् 1949 को दिसम्बर महिनामा हैदराबादमा हिन्दी साहित्य सम्मेलन सम्पन्न भएको थियो। राहुल त्यस सम्मेलनमा उपस्थित हुन कुमारी कमलालाई पनि साथमा लिएर गएका थिए। सम्मेलन पछि उनीहरू अजन्ता, एलोराको दर्शन गरी वर्धा हुँदै प्रयाग आए। उनी भारतीय संविधानको अनुवाद कमिटिका सदस्य रहेको हुनाले पनि उनलाई घरिघरि दिल्ली जानु पर्थ्यो। कालेबुङबाट यति लामो यात्रा गर्नु सुविधाजनक थिएन। यसैले दिल्लीबाट नजिक पर्ने कुनै पहाडी शहरमा उनले आफ्नो निजी घर बनाउने विचार गरे। त्यसबेलासम्म राहुल आफ्नो दीर्घ घुमक्कड़ जीवन व्यतित गरिरहेका थिए यसैले स्थायी घरको त्यति आवश्यकता परेन। तर अब उनलाई कमलासित स्थायी जीवन बिताउने इच्छाले पनि एउटा घरको नितान्त आवश्यकता थियो। सन् 1950 को गर्मीको मौसममा करिब चार महिना उनीहरू नैनीतालमा रहे। त्यसपछि मसुरीमा एउटा घर किनेर स्थायी रुपले बस्न थाले। अन्तत: सन् 1950 को 23 दिसम्बरको दिन उनीहरूले विवाह गरे। विवाह आफ्नै घरमा एकदमै साधारण प्रकारले गरिएको थियो। पुरोहित थिए डा. सत्यकेतु विध्यालंकार। यसरी कमला परियार त्यस दिनदेखि विधिवत रुपमा कमला सांकृत्यायन भइन्।
राहुल सांकृत्यायन जस्ता विद्वान पुरुष आफ्नो पूज्य पतिको रुपमा पाएपछि उनको विद्वताको प्रभाव उनीमाथि पर्नु स्वभाविक नै थियो। त्यसै पनि पढ्नु लेख्नु बाहेक उनीसित अरु केही काम थिएन। राहुल जस्ता विद्वान पति पाएर उनलाई आफ्नो शैक्षिक योग्यता अघि बढाउने प्रेरणा मिल्यो। उनले क्रमश: हिन्दी भाषामा विशारद र साहित्य-रत्न उतिर्ण गरेपश्चात् आई.ए., बी.ए. गर्दै सन् 1956 मा एम.ए. पनि पास गरिन्। त्यसपछि हिन्दीका महाकवि तुलसीदासको रामचरित मानस र नेपाली साहित्यका आदिकवि भानुभक्तको रामायण : तुलनात्मक अध्ययन’ माथि शोध प्रस्तुत गरी सन् 1959 मा आग्रा विश्वविद्यालयबाट पी.एचडी. –को उपाधि प्राप्त गरिन्। मसुरीमा उनीहरूको दाम्पत्य जीवन लगभग 10 वर्ष बित्यो। यसबीच उनीहरूका दुई सन्तान एक छोरी जया (20 सितम्बर 1953) अनि छोरा जेता (31 जनवरी 1955)-को जन्म भएको थियो।
मसुरीमा छँदा नै उनले हिन्दी र नेपाली दुवै भाषाको साहित्यमा कलम चलाउन थालेकी थिइन्। त्यसबेला कलकत्ताबाट प्रकाशित हुने हिन्दी पत्रिका ‘नयाँ समाज’-मा सन् 1950 देखि नै उनका रचनाहरू प्रकाशित हुन थालेका थिए। धर्मयुग, विश्वभारती, राष्ट्रिय भारती, नवनीत, आजकल, जस्ता स्तरीय हिन्दी पत्र-पत्रिकाहरूमा उनका सहस्रौं लेख, निबन्ध, संस्मरण आदि प्रकाशित भएका थिए। नेपाली भाषामा भने उनको प्रथम रचना ‘नारी जागरण’ शीर्षक लेख देहरादूनबाट प्रकाशित हुने मासिक पत्रिका ‘जाग्रत गोर्खा’ मा सन् 1952 मा प्रकाशित भएको थियो। त्यसपछि दियालो, हाम्रो अस्तित्व, भानु, प्रतिध्वनि, हिमालोक, सुमन, हाम्रो ध्वनि, नवज्योति, प्रयास, प्रक्रिया आदि लगायत विभिन्न दैनिक पत्र-पत्रिकाहरूमा पनि उनका अनेकौं लेख-निबन्धहरू प्रकाशित भए। हिन्दी र नेपाली भाषामा उनका लगभग 14/15 वटा पुस्तकहरू प्रकाशित छन्। हिन्दीमा देश दर्शनमाला श्रृङ्खलामा चार भागमा ‘सिक्किम, भूटान, मणिपुर, मिजोराम की ऐतिहासिक एवं सांस्कृतिक परिचय’ प्रकाशित छन्। यसबाहेक असम की लोक कथाएँ, नेपाल की लोक कथाएँ, नेपाली साहित्य इतिहास, एशिया मे रामायाण परम्परा, प्रभा, महामानव महापण्डित, मेरी जीवन यात्रा (भाग 6) आदि उनका प्रमुख कृतिहरू हुन्। यस अतिरिक्त सन् 1964 ताका हिन्दी साहित्य समितिको सम्पादिकाको रुपमा पनि उनले काम गरेकी थिइन्। नेपाली भाषामा उनको प्रथम कृति ‘विचार र विवेचना’ ( 14 वटा आलोचनात्मक निबन्धहरूको सङ्ग्रह) सन् 1981 मा प्रकाशित भयो। त्यसपछि ‘महापण्डित राहुल सांकृत्यायन व्यक्तित्व एवं कृतित्व’ सन् 1993 मा अनि ‘दिव्यमणि’ (उपन्यास) सन् 2008 मा प्रकाशित भएका छन्। यसबाहेक अनुवाद विधामा पनि उनले कलम चलाएकी छन्। उनका ती अनुदित कृतिहरू – 1) हीरालाल महेश्वरीको ‘राजस्थानी साहित्यको इतिहास’ 2) हेम बरुवाको मोनोग्राफ ‘लक्ष्मीनाथ बेजबरुवा’ 3) रणजीत साहाको ‘महामति प्राणनाथ’ 4) प्रभाकर माचवेको मोनोग्राफ ‘राहुल सांकृत्यायन’ आदि साहित्य अकादेमी, दिल्लीबाट प्रकाशित छन्।
आफ्ना पूज्य पति राहुलका साथ उनले भारतको उत्तरप्रदेश, बिहार, महाराष्ट्र एवं दक्षिण भारतका विभिन्न स्थानहरूको भ्रमण गरेकी थिइन्। यसबाहेक नेपाल, चीन, बर्मा, श्रीलङ्का, सोभियत रसिया, अष्ट्रिया आदि देशहरूको भ्रमण गर्ने अवसर पनि उनले पाइन्। सन् 1953 र 1958 मा दुईपल्ट काठमाण्डौँ, नेपाल गएर त्यहाँका तत्कालीन प्रख्यात साहित्यकारहरूसँग भेटघाट तथा परिचय गर्ने सुअवसर पनि उनले पाएकी थिइन्। प्रथमपल्ट पतिका साथमा र दोस्रो पल्ट छोरी जया र छोरा जेतालाई पनि साथमा लिएर काठमाण्डु स्थित भारतीय दुतावासमा सपरिवार अतिथिका रुपमा रहेका थिए। सन् 1958 मा राहुल बौद्ध दर्शन तथा तिब्बती भाषाका विशेषज्ञका रुपमा चिनियाँ सरकारको निमन्त्रणामा चीन भ्रमणमा छँदा उनी अचानक हृदयाघात भएर सिकिस्त विरामी भए। त्यसबेला चीन सरकारले उनको राम्रो चिकित्सा उपलब्ध गराउनको साथै उनको परिवारलाई पनि निमन्त्रणा पठाएको थियो र कमला आफ्ना छोरा र छोरीलाई लिएर कलकत्ताबाट हवाईजहाजमा 10 अक्टुबरको दिन सोझै पेकिङ पुगेकी थिइन्। पेकिङमा उनीहरू लगभग नौ दिन रहेका थिए। राहुलको स्वास्थ्यमा सुधार आएपश्चात् परिवारले पेकिङ शहरको विभिन्न स्थानहरूको परिभ्रमण गरे। त्यसपछि रेलद्वारा नानकिङ, सङ्घाई, क्वानचाउ, कुन्मिङ आदि शहरहरूको भ्रमण गर्दै उनीहरू कुन्मिङबाट हवाईजहाजमा बर्माको रङ्गून हुँदै 9 नोभेम्बरको दिन कलकत्ता आइपुगेका थिए।
चीन जानु अघि राहुलले मसुरीको घर बिक्री गरेर परिवारलाई अस्थायी रुपले रहने व्यवस्था गरी गएका थिए। उताबाट फर्केपछि अस्वस्थताको कारणले कलकत्ताका एक शुभ चिन्तक प्रसिद्ध डाबर कम्पनीका मालिक अशोक कुमार बर्मनको आतिथ्यमा 18/19 दिन रहे पश्चात् उनी परिवारसहित देहरादून गएर केही महिना रहे। सन् 1959 मा केही रुपियाँको व्यवस्था भएपछि राहुलले दार्जीलिङको कचहरी रोडको छेउमा एउटा बङ्गलो किने जसको नाम राहुल निवास राखियो अनि परिवारको साथमा दार्जीलिङमै रहेर उनी साहित्य साधनामा लागेका थिए। तर त्यही वर्ष उनलाई श्रीलंका सरकारको शिक्षा विभागबाट अध्यापन कार्यको निम्ति निमन्त्रणा आयो। यस भन्दा पहिले सन् 1927 मा राहुल प्रथमपल्ट श्रीलङ्कामा संस्कृतका अध्यापकको रुपमा ‘विध्यालंकार परिवेण’ नामक महाविद्यालयमा रहेका थिए। त्यही महाविद्यालय विश्वविद्यालयमा परिणत भएको थियो अनि राहुल सांकृत्यायनलाई दर्शन विभागको अध्यक्ष अर्थात् दर्शन महाचार्यको पद सम्हाल्न बोलाइयो। उनी सितम्बर 1959 मा परिवार दार्जीलिङमै छोडेर श्रीलङ्का पुगे। यसपल्ट उनी करिब दुई वर्ष वहाँ रहेका थिए। श्रीलङ्कामा यस बीच उनले लगभग आधा दर्जन ग्रन्थहरूको सृजना गरे। ती मध्ये तिब्बती हिन्दी कोश, पाली साहित्यका इतिहास, पाली काव्यधारा, सिंहल के वीर पुरुष जस्ता चार पुस्तक उनले श्रीलङ्मा नै लेखे अनि दुई ‘घुमक्कड़ जयबर्धन’ र ‘कप्तान लाल’ गर्मीको छुट्टीमा दार्जीलिङ आउँदा लेखेका थिए। एकपल्ट उनी श्रीलङ्कामा बिमार पनि भएका थिए। त्यसबेला कमला दुई नानीहरूलाई लिएर श्रीलङ्का पुगेकी थिइन्। मधुमेह रोगले ग्रस्त उनी अन्तत: अगस्त 1961 मा आफ्नो अस्वस्थता र नानीहरूको मायाको कारणले नै अध्यापन कार्य छोडेर दार्जीलिङ फर्के।
दिसम्बर 1961 मा कलकत्तामा उनका एक घनिष्ठ मित्र किशोरीदास बाजपेयीको अभिनन्दन समारोह हुनेवाला थियो। उनलाई मुख्य अतिथिको रुपमा बोलाइएको थियो। त्यसबेला उनी अस्वस्थ थिए। तर पनि मित्रको निमन्त्रणा र आग्रहलाई टार्न सकेनन्। उनी सपरिवार कलकत्ता पुगे। 10 दिसम्बरको दिन समारोह सम्पन्न भयो। जसोतसो उनी समारोहमा उपस्थित भए। तर भोलिपल्ट उनलाई कलकत्तामै स्मृतिलोपको आघात भयो अर्थात् उनको मस्तिष्कले काम गर्न छोड्यो। उनी स्पष्टसित बोल्न नसक्ने, लेख-पढ़ गर्न नसक्ने अनि बिस्तार बिस्तार परिचितहरूलाई पनि चिन्न नसक्ने अवस्थामा पुगे। त्यसपछिको उनको जीवन एउटा करुण कथा मात्र भएर रह्यो। उनको सहधर्मिनी कमलाको जीवन पनि उनीसित जोडिएको हुनाले कम दु:खप्रद थिएन। राहुलको उपचारको निम्ति उनलाई जहाँ जहाँ लगियो कमला हमेशा उनकै साथमा रहिन्। आफ्ना हितैषी शुभचिन्तकहरूको सहयोगमा कलकत्ता र दार्जीलिङमा उनलाई सकेसम्म राम्रो चिकित्सा उपलब्ध गराइयो तर सबै निष्फल रह्यो। उनका केही मित्रहरूले आशा गरेका थिए कि सोभियत रसियामा उनको उचित उपचार हुनसक्छ। यसर्थ तत्कालीन भारतीय कम्युनिस्ट पार्टीको प्रयत्नमा उनलाई रसिया लैजाने व्यवस्था गरियो। साथमा कमला पनि जाने भइन्। 31 अगस्त 1962 को दिन साँझमा हवाईजहाजद्वारा उनीहरू मस्को पुगे। रुसी सरकारको तर्फबाट राहुलको उचित चिकित्सा तथा उपचारमा कुनै कसर राखिएन। रुसमा लगभग सात महिना उनको उपचार चल्यो तर उनी निको हुन सकेनन्। उनकी रुसी पत्नि लोला अनि पुत्र इगोर पनि दुइपल्ट भेट गर्न आए। तर उनी कसैलाई चिन्न नसक्ने स्थितिमा थिए। पुत्र इगोरले पिताको गालामा म्वाई खाएर हृदयबाटै प्रेम दर्शाए तर दोहोरो वार्तालाप हुन सकेन। अन्तत: उनलाई स्वदेश फर्काउने निश्चय गरियो। मस्कोबाट उनको उपचार गर्ने विशेषज्ञ महिला डाक्टरको देखरेखमा उनलाई हवाईजहाजद्वारा दिल्ली ल्याइयो। त्यसपछि कलकत्ता र बागडोगरा हुँदै 23 मार्च 1963 मा उनीहरू दार्जीलिङ आईपुगे।
समय बित्दै गइरहेको थियो। 9 अप्रेल 1963 को दिन उनको उमेर 70 वर्ष पुग्यो। त्यही दिन साँझमा उनलाई बेहोशीको दौरा पर्यो। दार्जीलिङ इडेन अस्पतालका डाक्टर उनलाई हेर्न आए, उनलाई अस्पतालमा भर्ती गराइयो तर बेहोशीको अवस्थाबाट उनी फर्कन सकेनन् अनि पाँच दिनपछि 14 अप्रेल 1963 को दिन यस संसारबाट उनको चोला उठ्यो। भोलिपल्ट दार्जीलिङ रेलवे स्टेशनदेखि केही तल हिन्दु-बौद्ध श्मशान स्थलमा उनको पार्थिव शरीरको दाह संस्कार कार्य सम्पन्न भयो। त्यस स्थलको निकटमा उनको पुण्य स्मृतिमा उनकी सह्धर्मिनी डा. कमला सांकृत्यायनको तर्फबाट एउटा चैत्य ‘राहुल स्तुप’-को स्थापना गरिएको छ।
उनका सहृदयी पति राहुलको जीवनको अन्तिम डेढ वर्षको अवधिमा उनी खुबै कष्टदायक स्थितिमा रहनु परेको थियो। त्यसपछिको उनको वैधव्य जीवन पनि कम सङ्घर्षपूर्ण रहेको थिएन। तर बिस्तारै परिवार सम्हाल्दै नानीहरूको लालन-पालन र शिक्षादिक्षा सबै व्यवस्थित ढङ्गले अघि बढाउंदै लगिन्। सन् 1972 देखि उनी दार्जीलिङको लरेटो कलेजमा हिन्दी विभागकी प्राध्यपिकाको रुपमा अध्यापन गर्न लागिन्। सन् 1972 मै केन्द्रिय शिक्षा मन्त्रलायद्वारा गैर हिन्दी लेखिकाको रुपमा उनलाई उनको कृति ‘आसामकी लोक कथाएँ’-को निम्ति राष्ट्रिय पुरस्कारले सम्मानित गरियो। त्यही ताका उनी अखिल भारतीय नेपाली भाषा समितिको उप-सभानेत्रीको पदमा तीनवर्षसम्म रहेर भाषा आन्दोलनमा पनि योगदान पुर्याएकी थिइन्। नेपाली भाषाको संवैधानिक मान्यताको निम्ति दिल्लीमा तत्कालीन भारतको प्रधानमन्त्री इन्दिरा गान्धीसितको भेटमा अखिल भारतीय नेपाली भाषा समितिको प्रथम टोलीमा उनको पनि सहभागिता रहेको थियो। यसबाहेक विभिन्न स्थानहरूमा आयोजित भाषा आन्दोलनको जुलुसहरूमा पनि उनको सक्रिय भूमिका रहेको थियो। नेपाली भषाको संवैधानिक मान्यताबारे सन् 1972 तिरै ‘धर्मयुग’मा प्रकाशित उनको हिन्दी लेखले अनेपाली भाषीहरू पनि अत्यन्त प्रभावित भएका थिए। सन् 1974 मा उनले उत्तरबंग विश्वविद्यालय अन्तर्गत नेपाली अकादेमीको प्रोजेक्ट अफिसरको रुपमा कार्य गरिन्। सन् 1975 मा दिल्लीमा अन्तर्राष्ट्रिय स्तरमा रामायणमाथि सेमिनारको आयोजना गरिएको थियो। विभिन्न देशहरूबाट अनेकौं प्रतिनिधिहरूको आगमन भएको थियो। पाँच दिनसम्म सम्पन्न भएको त्यस समारोहमा नेपाली भाषाको रामायणको प्रतिनिधिको रूपमा उनको उपस्थिति रहेको थियो। उनले रामायणमाथि आफ्नो कार्यपत्र The Ramayana Tradition in Asia प्रस्तुत गरेकी थिइन्। उनी एकताका दार्जीलिङ हिल डेभेलप्मेन्ट काउन्सिलको सदस्य पनि रहेकी थिइन्। सन् 1975 तिर साहित्य अकादेमी, दिल्लीका सचिव पूर्वपरिचित डा. प्रभाकर माचवे समक्ष नेपाली भाषा र साहित्य बारे आवश्यक दस्तावेजहरू बुझाउनमा उनको प्रमुख भूमिका रहेको थियो। सन् 1975 मा साहित्य अकादेमीले नेपाली भाषालाई पनि राष्ट्रिय भाषाको रुपमा मान्यता दिएको थियो। सन् 1974-75 तिर यस पङ्क्तिका लेखकले पनि ‘प्रयास’ पत्रिकाको प्रतिनिधि स्वरूप दार्जीलिङको राहुल निवासमा डा. कमला सांकृत्यायनसित भेट गर्ने सुअवसर प्राप्त गरेको थियो, साथमा थिए तत्कालीन नेपाली साहित्यका प्रख्यात नाटककार दाई श्री मनबहादुर मुखिया, हिमालोकका सम्पादक दाई स्व. भरत यादव अनि मेरा मित्र नरेन्द्र खड्का। त्यो छोटो भेटमा महापण्डित राहुल सांकृत्यायनबारे धेरै जानकारीहरू पाउन सकेका थियौं। त्यहाँ उनका पुस्तकहरूको सङ्ग्रह र संसारकै सबैभन्दा सानो पुस्तक कोरान पनि हेर्ने मौका जुरेको थियो।
एकताका उनी राष्ट्रिय अल्पसङ्ख्यक आयोग (National Commission for Minorities)-की सदस्या पनि रहेकी थिइन्। सन् 1982 मा पश्चिम बङ्गाल सरकारले उनलाई उनको कृति ‘विचार र विवेचना’ को निम्ति भानु पुरस्कारले सम्मानित गर्यो। सन् 1993 मा भारत सरकारको मानव संसाधन विकास मन्त्रालयको केन्द्रिय हिन्दी संस्थानको तर्फबाट उनलाई हिन्दी साहित्यमा योगदान गरे बापत् प्रथम राहुल सांकृत्यायन राष्ट्रिय पुरस्कार दिइयो। नेपाली भाषामा लेखिएको उनको पछिल्लो कृति ‘दिव्यमणि’ ऐतिहासिक उपन्यासको निम्ति उनलाई सन् 2009 को साहित्य अकादेमी पुरस्कारले सम्मानित गरिएको थियो। उनी लरेटो कलेजमा लगभग 25 वर्ष हिन्दी विभागकी वरिष्ठ प्राध्यापिका अनि विभागीय प्रमुख रहनुको साथै दुई पटक अस्थायी रुपमा प्राचार्यको पद पनि सम्हाल्न पुगेकी थिइन्।
उनको अन्तिम विदेश यात्रा सन् 2007 मा अस्ट्रियामा भएको थियो। अस्ट्रियाको राजधानी भिएनामा 14-15 दिसम्बर 2007 मा राहुल सांकृत्यायन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय गोष्ठीको आयोजन गरिएको थियो। त्यस गोष्ठीमा उपस्थित हुन उनकी छोरी जया सांकृत्यायनको नाममा निमन्त्रण पठाइएको थियो। कमला सांकृत्यायनको स्वास्थ्य ठिक थिएन तथापि छोरीले आमालाई पनि साथमा लाने जिद गरेपछि डा. कमला पनि साथमा गएकी थिइन्। संगोष्ठीमा आमा-छोरी दुवैले आ-आफ्ना कार्यपत्रहरू पढे। श्रोताहरूबाट सोधिएका प्रश्नहरूको उत्तर छोरी जयाले राम्रोसँग दिएकी थिइन्।
हिन्दी भाषा साहित्यको समानान्तर नेपाली भाषा साहित्यप्रति डा. कमला सांकृत्यायनले पुर्याएको सेवा र योगदानको मूल्याङ्कन गर्दै सन् 2008 मा वाराणसी स्थित विद्या धर्म प्रचारिणी नेपाली समितिको तर्फबाट उनलाई ‘मदन स्मारक सम्मान’ प्रदान गरियो। यसबाहेक उनले कोलकाताबाट ‘रुपलेखा पुरस्कार’ अनि देहरादुनबाट ‘भानु पुरस्कार’ पनि प्राप्त्न गरेकी थिइन्। अन्तत: नेपालले पनि उनको योगदानको कदर गर्दै उनलाई ‘महाकवि देवकोटा सम्मान’ प्रदान गरेको थियो।
भारतीय नेपाली समाज र साहित्य जगतमा समर्पित एउटा साधारण जीवन तर असाधारण व्यक्तित्वकी धनी एवं प्रकाण्ड विदुषी नारी हस्ताक्षर डा. कमला सांकृत्यायनको लामो अस्वस्थतापछि दिनाङ्क 25 अक्टुबर 2009 को दिन सिलगढीको एउटा नर्सिङ होममा देहान्त भयो। भोलिपल्ट दार्जीलिङमा हिन्दु बौद्ध श्मशान घाटमा उनको दाह संस्कार गरियो। अन्तिम संस्कारको समय उनका पुत्र जेता सांकृत्यायन, जयन्त सांकृत्यायन र पुत्री जया सांकृत्यायन सहित हजारौं साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो।
सन्दर्भ :-
1) कमला सांकृत्यायन – दुर्गाप्रसाद श्रेष्ठ
2) महापण्डित राहुल सांकृत्यायन व्यक्तित्व एवं कृतित्व – डा. कमला सांकृत्यायन
3) महापण्डित राहुल सांकृत्यायन जीवन, व्यक्तित्व एवं कृतित्व – बौद्धाचार्य शांतिस्वरूप बौद्ध
4) राहुल सांकृत्यायन – प्रभाकर माचवे
5) बीसवीं सदी के महान अन्वेषक महापण्डित राहुल सांकृत्यायन - सम्पादक : डा. ओमप्रकाश पाण्डेय, डा. किरण सहाय

बाग्राकोट (डुवर्स)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।