18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्यारका सुमधुर क्षणहरू

कथा बैद्यनाथ उपाध्याय October 22, 2022, 3:59 am
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

मन अशान्त बनिरहेको थियो। संसारमा कहीं पनि केही ठीक नभए जस्तै लाग्यो उसलाई। प्रत्येक घटना घटनु भन्दा अघि उसबाट किन चुक हुने गर्दछ। यस्तै के के सोचेर उसलाई एक गहीरो पीडा अनुभूत भएको छ। हरबार जीवनमा उसले यस्तै भोगेर आएको छ। किन यस्तो हुन्छ यो भने उसलाई थाहा छैन। जीवनमा मान्छेले गरेको कर्मको मात्रै हैन नगरेको कर्मको फल पनि भोगिरहेकै हुन्छ। यहाँ आएर उसको सोचाई अलमलिने गरेको छ। उसले जीवनबाट बटुलेका अनुभवहरू केलाएर हेर्दछ। जीवनका घटनाहरू किन यस्तो जटिल हुन्छ। आज बिहानै देखि यस्तै के के सोचेर मन बिथोलिरहेको थियो।
भर्खरै उ बजार गएर आएको थियो। बजारको बढ़दो महंगी र आग्रासी रूप देखेर धेरै चिन्तित पनि थियो। अब सबैथोक बिकाउ छ। हर चीजको बजार भाउ छ। मान्छेको इमान पनि बजारमा बेचिन थालेको छ। कसैलाई विश्वास गर्न पनि नसकिने कस्तो श्वासरूद्ध परिस्थितिको सृजन भयो। मान्छेहरूको देखिने अनुहार भन्दा उसको असल अनुहार बेग्लै छ। परिस्थिति सँगै मान्छेको रूप रङ्ग र व्यवहार पनि बदलिँदो रहेछ। संसारमा सबैथोक सापेक्ष हुँदो रहेछ। उपयोगमा आउञ्जेल कुनैपनि चीज राम्रो तर उपयोगमा नआउने बित्तिकै संसारमा सबैथोक फालिने गर्दछ। उस्को आजसम्मको अनुभवले यही सिकाई रहेको थियो।
सानो छँदा बजार सँधै एउटा आकर्षण हुन्थ्यो मनमा। बजार टाढा हुन्थ्यो। बजार गएर आउँदा झण्डै पुरा दिन लाग्ने गर्दथ्यो। पैदल हिंडेर बजार जानुमा मज्जा थियो। थोरै पैसा, थोरै आवश्यकता, साना साना सपनाहरू। जीवन चलेकै थियो।
अब त उमेर पनि पचपन्न भै सको। यत्तिका वर्षहरू अब यादले पोको पारिसकेको थियो। बाल्यकाल अति बिभत्स गरीबीमा बित्यो। स्कुल पढ़न पनि समयमा जान नपाईने। गाई चराउन जानु पर्ने। समय समयमा यजमान गर्न जानु पर्ने। कहिलेकाहीं बारीको पान टिपेर बेच्न लानु पर्ने। बेचेर घरको दैनन्दिन अभाव टार्नुपर्ने बाध्यता थियो। बजारमा कुनै चीज ल्याउने बित्तिकै मोलभाउ नगरी बेपारीहरूले सित्तैमा लान खोज्दथिए। गाँउबाट आएको भन्ने बित्तिकै उसलाई छल कपट कुनै पनि तरीकाले लुटने कोशिस गर्दथिए। शिक्षाको कतै जागरूकतानै थिएन। पढ़नु लेख्नु भनेको फुर्सतको समयमा गर्ने काम सरह हेरिन्थ्यो। यस्तो विकट परिस्थितिमा पनि उस्ले आफ्नो पढ़नेक्रम जारी राखेको थियो।
आफ्नो विगतलाई हेरेर उसलाई दिक्क लागेर आयो। त्यसबेला गरीबी थियो। साधनहरूको कमी थियो। उपार्जन शुन्यकै घरमा थियो। अभावै अभावको एउटा संसार थियो। त्यसबेला पनि पीडा थियो। खान र लाउन नपाउनुको पीडा। हीन भावनाले सँधै मन कुँडिइनैरहन्थ्यो। पीडा अहिले पनि छ। स्वरूप बदलिएको छ।
अहिले सरकारी विद्यालयमा पढाउँछ। वेतन पाउँछ। खाने र लाउने अभाव टरेको छ। तर मनको पीडा भने आज पनि उस्तै छ। घरमा सावधानीका साथ चलदा चलदै पनि कहीं कतै भूल चूक भयो भने पत्नीले उसैलाई दोषी ठहऱ्याईदिन्छे। तँ सँग आएर मेरो यस्तो भयो। उस्ले आफ्नो हरेक गल्तीहरू भए पनि त्यस्लाई कहिल्यै ध्यानै दिइन। कुनै बेला यस्ता दिन थिए। उस्को कुनै उपार्जन थिएन। एक एक सुकोको लागि अरूको आश गरेरै बाँच्नु पर्ने। त्यसबेला उस्की पत्नीको माग अरू धनाढ्य घरका आईमाईहरूको सरहनै हुने गर्दथियो। कुनैबेला म मजदूरी गरेर भए पनि पाल्छु भन्ने आईमाईको यस्तो व्यवहार देखेर पर्न सम्म पीर परेको थियो। वेतन पाउने भए पछि केही अभावहरू हटे पनि संसारको स्वरूप भने यथावतनै छ। घरी घरी हृदयमा चोट पर्ने गरी चिट्ठीहरू लेखेर उस्को पढने ठाउँमा राखेको हुन्छ। हर समस्याको लागि उसैलाई दोषी ठहऱ्याईएको हुन्छ। दिनभरी विद्यालयमा पाठदान गरेर थाकेर आए पनि घरमा उस्को कुनै मान छैन। लेखक मान्छे हरेक समयमा विभिन्न सोचहरूमा डूबिरहँदा पनि उस्को व्यवहार सँधै रूढनै भै रहने। यो कस्तो प्यार हो उस्की पत्नीको। उसले कहिल्यै सम्झन सकेन। जीवनभर सम्झन सक्ने पनि छैन। सके पनि त्यसको कुनै उपयोग उसको जीवनमा हुने छैन। उसलाई आज यस्तै लागेको छ। हर पीडाहरूलाई चुपचाप सँहदै आएको छ। साथी सँगीहरूमा पनि केवल उसप्रति ईर्ष्या र ज्वलन मात्रै भएको पाएको छ। उसले पढदै गरेका किताबहरू लगिदिन्छन। कसैले हरायो भन्छन। कसैले घरमै राखेर फर्काउँदैनन। तब उसलाई लाग्दछ मान्छेहरूको व्यवहार केवल देखावटी मात्रै हो।
संसारको स्वरूप जाने पछि अब उसको मनमा जीवन प्रतिको आकर्षण पनि कम्न थालेको छ। कृत्रिम माया, कृत्रिम व्यवहार। परिस्थिति सँगै बदलिने। यस्को निस्सारता उपलब्धि भएपछि जीवन निरस जस्तो लाग्न थालेको छ उसलाई हिजो आज। तर हिजो मात्रै उसले अशक्त शरीर लिएर बाँचिरहेको सञ्जयसँग बात मारेको थियो। उसको स्थितिमा दुख जताउँदा उसले भनेको थियो अब त यो अशक्ततामा बाँच्ने आदत परि सक्यो। अब त केही अनुभव हुँदैन, भनेको थियो। उसले फोनमा भनेको कुरो उसको कानमा अझै गुञ्जीरहेझैं लाग्यो।
मान्छे कस्तो कस्तो स्थितिमा पनि बाँच्ने अभिलाषा राखेकै हुन्छन। यो कस्तो विडम्वना हो। सानो छँदा गाँउबाट आठ किलोमिटर टाढा शहरको विद्यालयमा पढन हिंडेर आउने गर्दथ्यो। त्यसबेला उसका गोडामा लगाउने चप्पल थिएन। हिलो बाटोमा पैन्टमाथि घुँडासम्म सुर्केर हिंडने गर्दथियो। आज त्यही बाटोमा साइकिल चढेर हिंडिरहँदा उसको मनमा एक विचित्रको अनुभूति भै रहेको थियो। यो अनुभूति केवल उस्ले मात्रै सम्झन सक्तछ। बाटो उन्नत भयो। परिस्थिति बदलियो। मान्छेहरूको स्थिति भने अहिले पनि बदलिएको थिएन। सीधा सोझा मान्छेहरूप्रति आज पनि त्यही व्यवहार। त्यही शोषणको परम्परा। उनिहरूले पीढी दर पीढी बगानको श्रमिकनै भै रहनु पर्ने। उनिहरूको लागि त्यही मद्यपान, जुवा-तास। जसरी भए पनि उनिहरूको मानसिक विकाश बाधित गरेर सँधै श्रमिक बनाएऱ राख्ने एक षडयन्त्र बगान कतृपक्षको।
यत्रो ठूलो सरकार चलिरहेछ देशमा। न्याय र समानताको सँधै ढोल पीटिरहेकोछ सरकार। कहीं कतै प्रभाव न देखिएको वस्तुस्थिति देखेर उस्लाई दिक्क लागेर आयो। यो कस्तो मान्छेहरूको समाज हो। जहाँ एकले अर्कालाई हेपीरहेको छ। सँधैं अरूलाई तल खसालेर आफुमात्रै अघिबढन खोज्ने मान्छेहरूको समाज। न्याय र समानता केवल सुन्नको लागि मात्रै हो। वास्तवमा समाजमा न्याय पनि छैन। समानता पनि छैन। गरिबीको चपेटमा परेकाहरूको लागि कहीं कतै न्याय छैन। उनिहरूको नजरले हेर्दा यो समाज पाशविक समाज हो। जहाँ एकले अर्कालाई लुछिरहेको छ। एकले अर्कालाई होच्याई रहेको छ।
यस्तै के के सोच्तै गर्दा उ धेरै पर पुगिसकेको रहेछ। कसैले नाम भनेर बोलाउँदा उ झस्कन्छ। उ हेर्दछ एउटा परिचित अनुहार सामुन्ने उस्लाई केही सोधिरहेछ। उस्ले सोध्यो- कहाँ हिडेको ? उस्ले जवाब दिंदै भन्यो- गाँउमा हिंडेको। त्यसपछि केही बेर सम्म सानो छँदा उ कस्तो थियो इत्यादि कुराहरू गरे पछि ती वृद्ध भै सकेका व्यक्तिले आफ्नो दुखेसो सुनाए। जीवनमा जो जहाँ जे स्थितिमा भए पनि सुखी छैन भन्ने उस्लाई लाग्यो।
विशेष सभाको लागि मान्छेहरू बोलाउन जाँदा मान्छेहरू घर घरमा पिरोलिएको उसले देख्यो। केही क्षण अघिमात्रै उसलाई उसको कुनै साथीको पत्नीले फोन गरेकी थिइन। उनि आफ्नो पतिको व्यवहारले खिन्न थिइन। उनलाई आफ्नो पति अर्कै आइमाईसँग सल्किएको गुनासो थियो। बिहे गरेर ल्याए देखिनै आफ्नो पतिको व्यवहार राम्रो नभएको गुनासो गर्दै थिइन। उसले उनलाई सान्त्वना दिंदैं भनेको थियो त्यस्तो चिन्ता गर्नु पर्ने कुनै कारण छैन। तर उनि भन्दै थिइन उनका पतिले उन्लाई राम्रो व्यवहार गर्दैनन। बढेका छोराहरूसँग पनि उन्को रूढ व्यवहार छ। यही कुरो उसको मनमा खेलाईरहेको थियो। केही क्षण बाटामा उभिएर आउने जाने मान्छेहरू प्रति नजर लगाईरहेको थियो। एउटी आइमाई गाडी लिएर उस्को अघाडि बाट केही पर गएर टक्क उभिई। उसले चिनेकी महिला। गरीब घरकी छोरी। एउटा सँग बिहे गरेर उस्कै रूपयाको जोरले सरकारी जागिर लिइ आफ्नो पतिलाई छाडेर स्वतंत्र बाँचिरहेकी आधुनिक महिला। उसले हेऱ्यो। स्त्रीहरूको चरित्र पनि बुझि नसक्नुको। उसले सोच्यो। एउटै पुरूष आफ्नी पत्नीसँग भने रूढ़ व्यवहार। के के नमिलेको संसार। तर त्यही पुरूषको व्यवहार अर्की आइमाईसँग भने अतिनै राम्रो हुने। आफ्नो पतिसँग असन्तुष्ट महिलाहरूको अरू पुरूषहरूसँग भने सौहार्द्रपूर्ण व्यवहार। यो कस्तो विडम्बना। पश्चिममा त्यसैले होला विवाह विच्छेदको भरमार चलेको, उसले सोच्यो।
उसको साथीले भन्दैथियो। अशान्तिमा जीवन बिताउनु भन्दा त विच्छेद भएर एक्लै बस्नुनै निको। एउटा घरमा चिट्ठी दिन जाँदा त्यस घरमा हजुरआमा र नाति खेलिरहेका थिए। उनले भनिन यस्की आमा अर्कै सँग पैला गई। यो एकलै छ। यसलाई छाडेर म कहीं जान पनि पाउँदिन। विवाह गरेर यो जन्मिए पछि यस्की आमा माईत गएर बसी। गएपछि आउन मानिन। पछि थाहा लागो उ अर्कै सँग रम्न थालेकी रहीछ। यो दुई वर्षको भयो अनि उसले बोलाएर भनि यसलाई लैजाओ नत्र भने अनाथ आश्रममा लगेर राख्नेछु। त्यस पछि यस्लाई लिएर आएँ। अब यो मेरो साथी जस्तै छ। हजुरआमाले भनिन। छोरो अन्तै नौकरी गर्छ। यो र म मात्रै घरमा छौं। अर्को घरमा जाँदा त्यस घरमा आमा र छोरी मात्रै थिए। पति अन्तै बस्ने गरेको छ। विवाह विच्छेद नगरे पनि सम्पर्क भने कायम छैन। विवाहयोग्य छेरीलाई लिएर उनि एकलै जीवन बाँचिरहेकी थिइन। छोरीको कुनै ठिटोसँग प्रेम सम्पर्क चलिरहेको छ। समय समयमा आएर उसैले मदद गर्ने गरेको छ।
मान्छे मान्छे बीचको सम्पर्क किन यस्तो अमिल। बाहिर मिलेर हिंडिरहेका जोडीहरूमा पनि भित्र भित्रै कति धेरै परखालहरू छन। सोचाईहरूको अमिल छ। रूचिहरू भिन्न भिन्नै छ। यस्तै के के नमिलेको कथाहरूमात्रै उसले जीवनमा देख्तै आएको छ। मान्छेहरू एउटासँग विच्छेद गरेर अर्कोसँग सुखपूर्वक बाँच्न सकिन्छ भन्ने आशा गर्छन। यसैको परिणाम होला पारपाचुके प्यारहरू। यी सब मान्छेहरूको भ्रम मात्रै हो। वास्तवमा मान्छे कहिल्यै सुखी भएको उसले देखेको थिएन। जीवनका अनुभवले पनि यस्तै भनिरहेको थियो।
एउटै मान्छेको एउटासँग रूखो सम्पर्क अनि अर्कोसँग भने मधुर आत्मीयता। यो कस्तो विडम्बना। कि यो मान्छेको क्षणिक व्यवहार मात्रै हो। उ यस्तै सोचेर अन्योलमा परिरहेको थियो। एक महिला र एक पुरूष बीच फोनमा बातचित चलिरहेको थियो। दुवै विवाहित पुरूष र महिला। दुवैको दाम्पत्य प्रेम खटासमा थियो। आफुले विहे गरेकी पत्नीसँग भने पटक्कै किन हो कुन्नी मनै न बस्ने। घरि घरि त आइमाईको जात देखिनै विरक्ति लागेर आउने गरेको थियो। तर त्यो महिलासँग भने किन हो कुन्नि मन पनि खुस नै लागिरहेको थियो। ती महिलालाई पनि यसरी फोनमा बात मारिरहँदा आफ्नै प्रियतमसँग बातचित गरिरहेझैं लागिरहेको थियो। जीवनको पतझड पछि फेरि बहार आए जस्तै लागिरहेको थियो।
विहे अघि आफ्नी पत्नीसँग पनि बातचित गर्न धेरै रमाइलोनै लागिरहेको थियो। विवाह भयो। सुखमय संसारको कल्पना थियो। दिन दिनको कच कच र झगडाले त्यो भाप जस्तै कहीं विलीन भएर गयो। अनि संसार उराठलाग्दो भएर आयो। उ त्यो दिनलाई सम्झन्छ अनि अहिले बात मारिरहेकी आइमाईलाई सम्झन्छ। उसलाई लाग्दछ यी महिला भने त्यस्ती छैनन।
उसलाई याद छ ती युवतीहरू जो सँग उसको सम्बन्ध नजिकिंदा नजिकिंदै फेरि टाढा भएर गएको थियो। मन धेरै नजिक भएर पनि विवाहले उनिहरूलाई टाढा बनाईदिएको थियो। उनिहरूलाई सम्झन्छ अनि कल्पना गर्दछ तीनै सँग उस्को सम्पर्क भएका दिनहरू। केहीक्षण भावनामा डुब्ने गर्दछ। उस्लाई लाग्दछ ती युवतीसँग उस्को वैवाहिक सम्बन्ध निविढ़ हुने थियो होला। अहिले पनि तिनै कल्पनाहरू उसलाई मिठो लागिरहेको थियो। जीवनमा जे सँधै अधूरो र अपूग बनि रह्यो त्यो नै सायद जीवनको सुमधुर प्रेम हो। उसले आफ्नो हृदयको भित्री कुनाबाट आज यस्तै अनुभव गरिरहेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।