कुनै पनि वस्तुहरु वस्तुत: सुन्दर या असुन्दर हुँदैनन् । बस् कुनै वस्तु/व्यक्ति देख्दा हामीले त्यसप्रति हामीमा उत्पन्न गराएको लगाव/आशक्तिका कारणनै ती वस्तु/व्यक्तिहरु कम या अधिक सुन्दर हुन्छन् । यस अर्थमा उनी सुन्दर थिईन् अनि म पनि सुन्दर उमेर १६ वर्ष, सुन्दर कक्षा-१०, सुन्दर स्कुल भटवलिया.....।
बर्दघाटको शिवशक्ति चलचित्र मन्दिरमा "मामाघर" नामक चलचित्र हेर्ने क्रममा दिलिप रायमाझीले जुठो खाएपछि मायाँ बढ्ने महान् सिद्धान्तको प्रयोगात्मक परीक्षण मेलिना मानन्धरलाई गरेको र सफल समेत भएको आफ्नै आँखाले देखेपश्चात् आफ्नो एकोहोरो प्रेमको डोरो दोहोरो गराउने अचुक अस्त्र मेरो हात परेको थियो ।
यस चराचर जगतमा २ वटा काम अत्यन्त दुस्कर हुन्छन् पहिलो क्षमा याचना दोश्रो प्रेम प्रस्ताव, दुवैमा अहंकार त्याग्नु जरुरी हुन्छ तर मानवलाई अहंकार सबैभन्दा प्रीय प्रतीत हुन्छ, शायद ममा पनि केही अहंकार बाँकी नै थियो होला त्यसैले प्रस्ताव राख्न सकिन मैले । फेरी मुखले प्रेमील वाक्यका वाणहरु प्रहार गरी प्रभावित पार्न सक्ने क्षमता ममा थिएन भए जुठोको सहारा लिनै पर्दैनथ्यो तर "मेरो जुठो खाउ" भनेर दिनु पनि हिम्मतको परीक्षा नै हुन्थ्यो, त्यति हिम्मतवाला पनि थिईन म । अनेकन प्रयास, युक्ति एवं निरन्तरको सूक्ष्म अध्ययन पश्चात् उनको एउटा बानीमा सम्भावना देखियो उनी निरन्तर कलम टोक्थिन् र टोकेको आफ्नो स्टारलाईन डट्पेन टेबलमै जीन्सवाला झोलाको छेउमा राख्थिन्..... । उनको पेन मैले एकदिन मौका मिलाएर टोक्न त टोकें तर त्यो टोकाइमा प्रेमको मात्रा कम भएर होला यो घटनाको पर्सिपल्ट उनको बिहे भयो ।
म ठूलो भएँ, बि.एड.को चारित्रिक प्रमाणपत्र लिन बर्दघाटबाट गाडी चढी बुटवलको लागि हिँड्दा सुनवलमा १ बच्चाको हात समातेकी १ जना सुन्दर व्यक्ति चढिन् उनी उनी नै रहिछन्, मेरै छेउमा सिट खाली भएकाले मेरै छेउमा बसिन् । अनुभव र जीवनका केही संस्मरणहरु साटासाट गर्ने क्रममा मैले हठात् उनलाई त्यो मेरो काण्ड समेत सुनाएँ । सहज मुस्कानका साथ उनले भनेको एक वाक्य जसले मलाई चकित बनायो "तिम्रो दुई खण्डे टिफिन डब्बाको खाजा कति मीठो हुन्थ्यो...." ।
उनी झरिन् राजमार्ग चौराहामा.... । मलाई जानुथियो बुटवल बहुमुखी क्याम्पस... । मनले सोंच्दैथियो त्यो जुठोवाला घटना कसले पहिला घटायो होला ! उनले कि मैले ? यत्तिकैमा गाडीमा बुटवल एफ.एम. ९४.४ बाट गीत बज्न लाग्यो "उनको प्रिती पैले हो.......की मेरो प्रिती पैले......"