18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

होस् बातलाई नमारौँ

कविता सतीश छेत्री October 22, 2022, 3:31 am
सतीश छेत्री
सतीश छेत्री

ऊ भन्छ
बात मारौँ न
तिमी भन्छौ
बात मारौँ न
तर मलाई लाग्न थालेको छ कि
बातलाई नमारौँ
जिउँदै राखौँ

तिमीले बोलेको बातलाई
म मार्छु
मैले बोलेको बातलाई
तिमीले मार्छौ ।
हामी बातहरू मारिरहन्छौँ
तर
न तिमीले केही भन्न सकेका छौ
न मैले केही भन्न सकेको छु

हाम्रा वरपर
बातहरू मात्र छन्
कोही मरिसकेका
कोही मार्नु पर्ने ।
कति हो कति
बातहरू छन् ।
मार्दा मार्दा
न बात सकिन्छन्
बात मारेर मारेर
न हामी तृप्त हुन सक्छौँ ।

रक्तबीजजस्ता ती बातहरू
जति मारे
एउटै अक्षरले
अझ अर्को ग्रन्थ बनिँदै जान्छन्
तिमी र म
बातको घात लिएर
बातैको साथ लिएर
फेरि भोलि मार्नु पर्ने बातको
फौज बनाइरहन्छौँ
अनि सोचिरहन्छौँ कि
कहिले लगेर भिडाऔँ
कहिले लगेर ओच्छयाऔँ
कसको बात मीठो
कसको बात तीतो
कसको बात न्यानो
कसको बात अग्लो

जब कि
एकै थोपा पानीले
ती ढाडिन्छन्
एकै सुइरो छेस्काले
ती च्यात्तिन्छन्

बातहरू मसिना जीवहरू जस्तै
मेरा, तिम्रा र
तिम्रा, मेरा
कानबाट पस्दै गएर
मुटुमा तम्बु टाङ्छन्
कि
खन्न थाल्छन्।
तर हाम्रा आँखा भने
चुपचाप चुपचाप
हाम्रा मरेका र मारिएका
बातहरू हेर्दै
बिँडीको सर्को फुकिरहन्छ ।

आँखासित
बोली थियो भने
उसले पनि बात मार्थ्यो कि ?
बातसित आँखा थियो भने
उसले पनि देख्नलाई हेर्थ्यो कि ?

तर जे होस्
नभएको कुरा होस् ।

बातले त
डेन्टिसको दोकानमा
सज्जिएको दाँत देख्यो भने पनि
हाँस्यो भन्दिन्छ।
आँसु देख्यो कि
गोही होस् कि बुद्ध
रोयो भन्दिन्छ ।


अहिले हामी बातलाई नमारौँ
बातहरूलाई
अजम्मरी छोडिदियौँ
युगपछि पनि देखुन् सन्ततिले
कि
बातहरू साँच्चै
मार्ने थोक होइनरहेछन्।

यसैले त अभिव्यक्तै नभइ
बाँचिरहयो
धरती र आकाशको प्रेम
खोला र तिर्खाको प्रेम
फूल र सुगन्धको प्रेम
खोेर्सानी र पीरोको प्रेम
जून र शीतलताको प्रेम
बाँसुरी र धुनको प्रेम


अब तिमीले
बातलाई घुमाएर
कुरा नबनाउनू
अनि नभन्नू कि
लु न त कुरा गरौं।


कुराहरू माकुरा भए
माकुराले
गफको जालो बनाए
शब्दका मौरीहरूले
अर्थका पखेटा अल्झाए।
उड्न सकेनन् ।
अनि ती मौरी
तिम्रा र मेरा आफ्ना थिए
हामीले भर्नु पर्ने चाका
एउटै थियो।


लागेको थियो -
हाम्रा आँखामा
जुन पुतली छ
त्यसमा पखेटा पलाउने छन्
र अनन्त आकाशमा ती उड्ने छन्
हामी सामूहिक जयगान गाउने छौँ
तर
यी पनि फगत्
बातै दरिए।

मार्ने मात्रै ध्याउन्नमा
समयको आइसक्रिम चाट्दै
कोही बेला
त्यो बात पनि मारिपठाउने छौँ
जुन बातले चाहिँ
हाम्राे घरगोठ छाउन पुग्ने थियो
जुन बातले चाहिँ
आँगन कसिङ्गर लगाउन
कि त चुलो सल्काउन
पुग्ने थियो।

पाखुराभन्दा ठूलो
बन्दुक हो
बन्दुकभन्दा ठूलो
बम
बमभन्दा ठूलो
प्रलय हो।

बात मारिरहँदा
एकदिन प्रलय
हामीलाई पहिल्याउँदै आउने छ।
के के गरिस् हेरूँ? भन्ने छ।

त्यतिबेला उसलाई देखाउन
हामीसित बुद्ध हुनेछैन
किनभने त्यतिञ्जेल हामीले
बुद्धलाई पनि
बात बनाएर
मारिसकेका हुनेछौँ।


होस् -
बातलाई नमारौं -
बातलाई जिउँदै राखौँ।

उभिन जानेको
भोलिपल्ट
हुनसक्छ
मान्छेले ध्वनिलाई
बात बनाएको थियो,
अनि लिपि।

अनि यो पनि हुनसक्छ
बस्ती बसाउन एकदिन अघि
मान्छेले
दिल्लगी नगरी
एकअर्काको बातलाई
फोएर हेरेको थियो ।

होला
हुनसक्छ
बातलाई जिउँदै राखौँ।
*

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।