‘हाम्रो सामु हजुरले आकाशपाताल हाँक्नु पर्दैन ।’ कक्षामा विद्यार्थी हल्लाले कान खाइरहेको बेला राधवेन्द्रले भने । मेरो आङ सिरिङ्ग भयो । मेरो तीस वर्षे शिक्षण पेशागत अहंकारमा थप्पड लाग्यो ।
सोचेँ– ’विद्यार्थी जाग्दा आफू लत्रिनुपर्छ । विद्यार्थी लत्रिँदा आफूले जगाउनुपर्छ ।’ यही समयको सूत्र अपनाउने विचार गरेँ ।
‘हजुरहरूको बुझाइलाई म सम्मान गर्छु । आफ्नो कमजोरी सुधार्न म लालायित छु ।’ सधैँको रुखो बोलीको सट्टामा विनम्रतापूर्वक र आदरसूचक सम्बोधन सुनेर नब्बे प्रतिशत विद्यार्थी शान्त भए । मैले शिक्षणीय विषयवस्तु सुरुआत गर्न खोज्दा शतप्रतिशत शान्ति छायो ।
त्यस दिन अपनाएको सूत्र अद्यापि जारी छ । कतै खटपट छैन ।
कारण खोजी गर्दा राधवेन्द्रको बोली सुनेँ; ‘जथाभावी खाएर शरीर बिगारेको मुखबाट निस्केको खोक्रो आदर्श हामीलाई पच्दैन ।’
अनिता समेत थप्दै थिइन्; ‘हामी वाणीका मात्रै हैन आदर्श बानीका समेत भोका छौँ ।’
सिर्जनाकुटी, सिरहा ।