एक रात मुम्बईको मीरा भयन्दर गल्लीमा एक दम्पती माझमा धर्मका विषय लिएर झगडा चलिरहेको थियो । श्रीमतीलाई यति साह्रो रिस उठ्यो कि उनले रात्रिभोजका निम्ति पकाइरहेकी मासुको तरकारी भान्साकोठाको एउटा खिड्कीबाट भाँडैसित तल सडकतिर फ्याँकिदिइन् । मासुको तरकारीको कुनै दोष थिएन तर पनि त्यसले त्यो सुल्झिनै नसकेको एउटा पुरानो झगडाको परिणाम भोग्नुपर्यो।
केही बेरपछि भोकाएकी श्रीमतीले खिड्कीमा आएर तलतिर हेरिन्—गल्लीका केही पाल्तु अनि भुस्याहा कुकुरहरू त्यो फ्याँकेको मासुका निम्ति रगताम्मे भएर लडिरहेका थिए । सडकका केही मानिसहरू उकालो फर्किएर उनीहरूको त्यो भान्साकोठाको खिड्कीतिरै हेरिरहेका थिए । एक-दुई जनासँग त उनको नजर पनि जुझ्यो । ऊ लाजले आफैँसित रातोपिरो भइन् । त्यो रातभरि उनलाई निद्रा पटक्क लागेन । आफूले कहिल्यै नसोचेका विचारहरू आइरहे ।
भोलिबहान के सोचेर होलिन् कुनि श्रीमतीले आफैँसित एउटा वाचा हालिन् । तर कुनिकिन उनलाई त्यो दिनभरि एउटा कुराले मन खाइरह्यो कि बेलुकी श्रीमान् अफिसबाट घर फर्किँदा कतै ती गल्लीका कुकुरहरूले फेरि टोकिहाले भने के गर्ने भनेर ।
बेलुकी अफिसबाट आएर श्रीमान्ले उनलाई हिज मासु फ्याँकेको कुरा निकाल्दै निहुँ खोजिरहे तर ऊ मूर्तिझैँ चुप लागेर आफ्नो काम गरिरहिन् ।
राति श्रीमान पलङ परिवर्तन गरेर चाँडै सुतिहाले तर उनलाई भने निद्रा लाग्दै-लागेन । मध्यरातमा के मन आएर हो कुनि उनले भान्साकोठाको खिड्की खोलेर तल सडकतिर हेरिन्—हिज मासु फ्याँकेको ठाउँ वरिपरि एउटा पनि कुकुर थिएन मात्र सडकबत्ती सुनसान बलिरहेको थियो । उनले धेरै साल बिताइसकेकी त्यो गल्ली त्यतिका शान्त र सुन्दर कहिल्यै अनुभव गरेकी थिइनन् । उनले गीत गाउन भुलिसकेकी थिइन् तर त्यतिबेला उसलाई गुनगुनाउन मन लागेर आउँछ ।
दार्जीलिङ