हाम्रो उत्तरमा छ चीन तगडा छेडेर आकाश नै ।
पृथ्वीबाट छुटेर चन्द्रतिर गै बस्ला कि झैँ गर्छ है ॥
काँचै निल्छु कि झैँ गरेर दिनहुँ लम्कीरह्यो भारत
बाटो बन्द भएछ यो मुलुकको यो देश जाने कता?
वर्षौँदेखि जमीरहेछ खँदिलो हीरा सरी संस्कृति ।
एकार्काबिच मित्रता छ दरिलो श्रद्धा र मायाप्रिति ॥
यो लोहा सरिको बलिष्ठ कसिलो तोड्ने गरी एकता
बढ्दैछन् दिनहुँ गतीविधि भने यो देश जाने कता?
मिल्दैनन् झगडा निरन्तर गरीराख्छन् ति नेताहरू !
वाक्कै भो दिनकै छ भाषण उही विश्वास कस्को गरुँ ?
दायाँ ठिक छ भन्छ एक, अरको बायाँ यता हो यता !
छैनन् सारथि हाँक्न क्वै रथ रह्यो यो देश जाने कता ?
टाढासम्मन देख्न सक्छ जसले पाउन्न सत्ता कवै !
जस्को दृष्टि छ स्वार्थका वरिपरी त्यै चुम्छ सत्ता सधै ॥
टुङ्गै छैन कुनै, निरीह जनता भोग्छन् कठै बाध्यता !
भो गन्तव्यविहीन चाल पथमा यो देश जाने कता ?
नौलो लक्ष्य पछ्याउँदै युग बढ्यो सक्दैन पछ्याउन ।
बोल्छन् प्याच्च अनेक वाक्य नमिठा सक्दैन लत्याउन !!
कोही देश बिरुद्ध बोल्दछ भने हेर्दै नहेर्ने त्यता !
बाटै चिन्न सकेन उन्नति हुने यो देश जाने कता ?