भारतीय नेपाली साहित्य जगतका एक प्रखर एवं बहुआयामिक प्रतिभा सम्पन्न साहित्यकार हुन् डा. जस योञ्जन ‘प्यासी’। नेपाली भाषा-साहित्यसँगसँगै सांस्कृतिक एवं शैक्षिक क्षेत्रको विकासमा पनि उनको यथेष्ट योगदान रहेको छ। लगभग सत्तरको दशकदेखि गीत, गजल, कविता, कथा, उपन्यास, नाटक, समालोचना, लेख, निबन्ध, अनुवाद जस्ता विधामा उनको कलम अविरल गतिमा चलेको पाइन्छ। चार सय भन्दा अधिक गीतहरूका रचयिता उनी एक जना ख्याति प्राप्त गीतकार पनि हुन्। उनको जन्म दार्जीलिङ शहरदेखि करिब 35/36 किमी टाढा चुङथुङ चियाकमानको लोअर डिभिजन अन्तर्गत शिरिषे गाउँमा 14 दिसम्बर 1949 मा भएको थियो। उनको पिताको नाम स्व. गर्जमान योञ्जन लामा अनि माताको नाम स्व. सञ्जा डोल्मा बल हो। आफ्ना माता-पिताका चार छोरी अनि तीन छोरामध्ये उनी कान्छो सुपुत्र हुन्। उनको प्रारम्भिक शिक्षा पाँचौं श्रेणीसम्म चुङथुङ प्राथमिक पाठशालामा भयो। त्यसपछि उनी बिजनबारी विद्यासागर उच्च विद्यालयमा छैटौं श्रेणीमा भर्ना भएर सन् 1965 मा आठौँ श्रेणी उतिर्ण गरेपश्चात् आफ्नो अंग्रेजी भाषाको धरातललाई बलियो पार्ने उदेश्यले दार्जीलिङको सन्त रोबर्ट्स स्कुलमा नवौं श्रेणीमा भर्ना हुन पुगे। तर त्यो बेला नेपाली माध्यममा पढेर एकै चोटी अंग्रेजी माध्यमको स्कुलमा आउँदा प्रवेश परिक्षामा दिइएको अङ्ग्रेजी प्रश्न पत्रहरू नै बुझ्न अप्ठ्यारो पर्दा असफल हुनपर्यो अनि नवौं श्रेणीमा भर्ना हुन नपाउने छाँट बुझेपछि आफूसितै भर्ना हुन आएका मित्रका दाज्यु जो त्यसै स्कुलका अब्बल दर्जाका भूतपूर्व छात्र थिए उनले स्कुलका फादरलाई भनभान गर्दा पुन: आठौँ श्रेणीदेखि नै पढ्नु पर्ने बाध्यता आईपरेछ। त्यहाँबाट उनले सन् 1970 मा हायर सेकेण्डरी परिक्षा उतिर्ण गरे पश्चात् दार्जीलिङ सरकारी महाविद्यालयमा भर्ना भए। उनले सन् 1974 मा नेपाली साहित्यमा सम्मानसहित स्नातक उतीर्ण गरे। त्यसपछि कर्म क्षेत्रमा लागेर सरकारी नोकरी गर्दै स्व-अध्ययनद्वारा उनले सन् 1980 मा एम.ए. गरेका थिए। पछि सन् 2000 मा उनले उत्तर बङ्ग विश्वविद्यालयबाट ‘पारसमणि प्रधानका व्यक्तित्व र कृतित्वको विश्लेषण र मूल्याङ्कन’ विषयमाथि शोध गरी पिएचडीको उपाधि पनि प्राप्त गरे। यसबाहेक सन् 1979 मा उनले पत्रकारिता संस्थान, नयाँ दिल्लीबाट पत्रकारितामा डिप्लोमा पनि हासिल गरेका थिए।
विद्यार्थी जीवनदेखि नै नेपाली साहित्यप्रति उनको झुकाव रहेको थियो। विजनबारी हाई स्कुल पढ्दा एकपल्ट आफुभन्दा वरिष्ठ छात्रहरूले ‘सरिता’ नामको एउटा साहित्यिक पत्रिका लिथोमा प्रकाशित गर्ने चाँजो मिलाएका थिए। त्यस पत्रिकाको निम्ति उनले पनि आफु पाँचौं श्रेणी पढ्दा रचेको एउटा कविता ‘जीवन साथी’ प्रकाशनको निम्ति दिएका थिए। तर त्यस कविताले पत्रिकामा स्थान पाउन सकेन। त्यसबेला उनको उमेर 14/15 वर्षको थियो। यसरी उनी प्रथम प्रयासमा केही निराश भएता पनि यसबाट उनले अझै राम्रो लेख्ने प्रेरणा लिए। पछि दार्जीलिङको सन्त रोबर्ट्स स्कुलमा पुगे पश्चात् उनले शहरको वातावरणमा अझ राम्रो साहित्यिक परिवेश पाउन सके। त्यहाँ उनले शिक्षकका रुपमा जगत छेत्री जस्ता नाम चलेका साहित्यकारको सान्निध्यमा रहेर शिक्षा लाभ गर्ने अवसर प्राप्त गरेका थिए। सन् 1966-67 तिरै उनका कविताहरू जनदुत, दियो, जस्ता पत्रिकाहरूमा प्रकाशित हुनथालेका थिए। त्यसपछि सन् 1969 मा त्यसबेलाका प्रख्यात जातीय कवि अगमसिंह गिरी जस्ता व्यक्तिको पहलमा दार्जीलिङ डिस्ट्रिक्ट युथ अर्गनाइजेसनले आयोजन गरेको जिल्ला व्यापी निबन्ध प्रतियोगितामा उनले भाग लिने अवसर पाए। त्यस प्रतियोगितामा उनले ‘प्रवासी नेपाली’ शीर्षकमा 24 पृष्ठको निकै लामो निबन्ध लेखेर बुझाएका थिए जसका निम्ति उनी प्रथम पुरस्कारद्वारा सम्मानित भएका थिए। प्रतियोगिताका जाँचकर्ता अथवा निर्णायकहरू थिए –सन्त जोसेफ कलेजका नेपाली विभागका तत्कालीन प्रमुख जेरार्ड मुखिया, दार्जीलिङ सरकारी उच्च विद्यालयका शिक्षक एच.बी. कुमाई, टर्नबुल उच्च विद्यालयका शिक्षक प्रख्यात साहित्यकार इन्द्रबहादुर राई अनि सन्त रोबर्ट्स स्कुलका शिक्षक नाम चलेका साहित्यकार डा. जगत छेत्री। त्यसपश्चात् उनी कलेजका विद्यार्थी भएर नेपाली अनर्स लिएर पढ़्न थालेपछि प्राध्यापक डा. तुलसीबहादुर छेत्री जस्ता व्यक्तित्वका छत्र-छायाँमा रहेर अध्ययन गर्ने अवसर पाए अनि कलेज पढ़िसक्दा साहित्यका विविध विधामा उनको कलम चल्न थालिसकेको थियो।
स्नातक उतिर्ण गरेपश्चात् प्रथमत: शिक्षक बन्ने उनको इच्छा रहेको हुनाले सन् 1974 मा केही महिना प्रतिनियुक्तिमा सन्त रोबर्ट्स उच्चतर माध्यमिक विद्यालयमा शिक्षकका रुपमा सेवा पुर्याएका थिए। त्यसपछि दार्जीलिङको रामकृष्ण बी.टी. कलेजमा बी.एड. को तालिम लिन भर्ना भए। तर सन् 1976 तिर उनको चयन खरसाङ रेडियो स्टेशनमा उद्घोषक एवं समाचारवाचकका रुपमा भएको हुनाले बी.एड. को पढ़ाई अधुरो छोडेर उनी आकाशवाणीको सरकारी नोकरीमा नियुक्त भए। उनी आकाशवाणीका उद्घोषक एवं समाचारवाचक मात्र थिएनन् तर आकाशवाणीमा प्रसारित हुने फुटबल खेलको एक कुशल प्रत्यक्ष प्रसारक पनि थिए। उनका असङ्ख्य गीतहरू सहित नाटक, एकाङ्की, रेडियो रुपक आदि आकाशवाणीबाट प्रसारित पनि भएका छन्। उनी आकाशवाणी खरसाङमा सन् 1982 सम्म थिए। सन् 1983 मा आकाशवाणी, गान्तोकमा उनको स्थान्तरण भएको थियो। तर सन् 1984 मा उनी खरसाङ महाविद्यालयमा सह-प्राध्यापकको पदमा नियुक्त भएर आए। पछि पदोन्नति हुँदै सन् 1996 मा उनी रिडरको ओहोदा सम्हाल्न पुगेका थिए। त्यसपछि उनी सन् 2000 मा बिजनबारी महाविद्यालयको प्राचार्यको रुपमा नियुक्त भएका थिए। त्यहाँ लगभग 10 वर्ष प्राचार्यको कार्यभार सुचारु रुपले सञ्चालन गरेपश्चात् सन् 2009 मा उनले अवकाश ग्रहण गरे। उनी यस अवधिसम्म साहित्यका विविध विधामा कलम चलाउँदै आफ्ना कृतिहरू प्रकाशमा ल्याउँदै प्रसिद्धिको शिखरतिर लम्किरहेका थिए। उनका अहिलेसम्म लगभग डेढ दर्जनजति कृतिहरू प्रकाशित भइसकेका छन् अनि कति प्रकाशोन्मुख रहेका छन् जो यस प्रकार छ :-
1. चिठ्ठी (पत्रात्मक उपन्यासिका – सन् 1978)
2. प्यासीका केही समालोचना (समालोचना – सन् 1983)
3. एउटा देशको खोजमा (कविता सङ्ग्रह – सन् 1985)
4. पारसमणि प्रधान केही कृति कैरन (अध्ययन – सन् 1987)
5. बुद्धदेव बसु (जीवनी अनुवाद – सन् 1991)
6. नयाँ सूर्यको प्रतीक्षामा (नाटक – सन् 1992)
7. शान्ति सन्देह (कविता सङ्ग्रह – सन् 2002)
8. बोलाउँ भने तिमीलाई (गीत सङ्ग्रह – सन् 2010)
9. परख (समालोचनात्मक लेख सङ्ग्रह – सन् 2012)
10. एउटा खुल्ला किताब हुँ म (गीत सङ्ग्रह – सन् 2013)
11. भारतीय नेपाली गीतकार पारिचयिक चर्चा (सन् 2014)
12. परिचर्चा (समालोचनात्मक लेख सङ्ग्रह – सन् 2015)
13. समदृष्टि (समीक्षात्मक लेख सङ्ग्रह – सन् 2016)
14. निर्माया तिमीलाई (गजल सङ्ग्रह – सन् 2017)
15. मेरो यात्रा (निबन्ध सङ्ग्रह – सन् 2018)
16. फेरि फेरि तिमीले मलाई (गीत सङ्ग्रह – सन् 2019)
17. पारसमणि प्रधान अध्ययन अनुसन्धान (शोध ग्रन्थ - 2020)
प्रकाशोन्मुख कृति:-
1. भक्ति-भ्रम (कविता सङ्ग्रह ) – प्रेसमा
2. सारण्य गीत-सङ्गीत (गीत सङ्ग्रह)
3. पाठक र पात्र (कथा सङ्ग्रह)
4. बुद्धं शरणं गच्छामि (नाटक सङ्ग्रह)
साहित्य लेखन सँगसँगै असङ्ख्य गीतहरू लेखेर साहित्य र सङ्गीत क्षेत्रमा उनले पुर्याएको योगदान अतुलनीय रहेको छ। डा. गीता छेत्रीको लेख ‘जस योञ्जन ‘प्यासी’ –को ‘एउटा खुल्ला किताब हुन म’ मा उल्लेख गरे अनुसार जस योञ्जन ‘प्यासी’ सन् 1960-70 को दशकको अन्तदेखि गीत रचना गर्ने गीतकार हुन्। उनले सर्वप्रथम ‘यो चिठ्ठी भनिदे बादल मायालु रानीलाई, सम्झना गरी तड़्पिने दिलले पठाकी रोई रोई’ भन्ने गीतबाट गीत लेखनमा पदार्पण गरेका हुन्। उक्त गीत प्रकाश गुरुङले सङ्गीतबद्ध गरेका थिए। सन् 1971 मा रचिएको उनको अर्कों गीत ‘मेरा बेसुरा गीतहरू तिमीलाई नै समर्पीत छ’, सङ्गीत बद्री दुर्गा खरेल अनि स्वर दुर्गा खरेलको रहेको छ। त्यसपछि सन् 1975 मा रेडियो नेपालबाट रिकर्ड गरिएको उनको गीत ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रै प्रीतको पाप लाग्ने डर।‘ सङ्गीत बद्री दुर्गा खरेल अनि स्वर दुर्गा खरेलको यस गीतले निकै धुम मचाएको थियो। उनको अर्को गीत ‘फूल पनि रोजिन तारा पनि रोजिन, रोजें मैले केवल तिमीलाई जून पनि रोजिन’ सङ्गीत- आनन्द राई, स्वर-विश्व नेपाली, रेडियो नेपालद्वारा आयोजित अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा सर्वोत्कृष्ट सङ्गीत र गायनमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो। उनको अर्को लोकप्रिय गीत हो ‘एउटा खुल्ला किताब हुँ म, तिमीले पनि पढे हुन्छ, अरुले जस्तै पढेपछि पन्नाहरू च्याते हुन्छ।‘ स्वर- डेजी बराइली, सङ्गीत- कर्म योञ्जन। उनले यसरी प्रेम-प्रितिका गीतहरू देखि लिएर देश भक्ति गीत, लोक गीत, आधुनिक गीत, भजन आदि थुप्रै गीतहरू लेखेका छन् अनि धेरै सङ्गीतकारहरूले तिनमा आफ्ना मधुर सङ्गीत भर्दै गए। ती मध्ये प्रकाश गुरुङ, बद्री खरेल, कर्म योञ्जन, आनन्द राई, वशन्त छेत्री, कमल दर्नाल, चन्दन लम्जेल, कुन्दन राई, मणिकमल छेत्री, रुपेश रसाइली, मणि प्रधान आदि प्रमुख हुन्। यसरी नै उनका गीतहरू गाउने गायक-गायिकाहरू हुन् – अरुणा लामा, शान्ति ठटाल, कुमार सुब्बा, दीप श्रेष्ठ, दुर्गा खरेल, दिलमाया खाती, हीरा रसाइली, दावा ग्याल्मो, डेजी बराइली, पेमा लामा, वाङ्गेल लामा, रमला राई, पवन नामदुंग, सुनिता गजमेर, महेन्द्र थापा, रीमा गुरुङ, रमेश बरदेवा, बेञ्जामिन लेप्चा, रुपा थापा, भावना थापा, रिमला मोक्तान, नम्रता बल, शोभा प्रधान, मणि प्रधान, संगीता राई, सोफिया गुरुङ, बिनोद स्याङ्देन, अजनीश आदि।
सन् 1972 तिर उनी दार्जीलिङको नेपाली साहित्य सम्मेलन जस्तो दह्रिलो तथा नाम चलेको संस्थाको कार्यकारिणी सदस्य हुन पुगेर केही अवधिका निम्ति त्यहाँको पुस्तकालयको अध्यक्ष पनि रहेका थिए। सन् 1973 मा उनले गोर्खा दु:ख निवारक सम्म्मेलन, दार्जीलिङको सदस्यता लिएर सह-सचिवको पदभार पनि ग्रहण गरेका थिए। सन् 1981 तिर उनी अखिल भारतीय तामाङ बौद्ध सङ्घका सक्रिय कार्यकर्ता पनि रहे। यसबाहेक उनी आकाशवाणी खरसाङका प्रमुख सल्लाहकार, भारतीय नेपाली परिषद्को कार्यकारिणी सदस्य, उत्तरबङ्गाल विश्वविद्यालयको नेपाली अकादमीको कार्यकारी सदस्य, सरस्वती सम्मान समिति, बिड्ला फाउन्डेसन, नयाँ दिल्लीका सदस्य अनि ‘दियालो’ पत्रिकाको सम्पादक मण्डलीमा रहेर उनले साहित्य र समाजका विभिन्न क्षेत्रमा सेवा पुर्याएका थिए।
यसरी नै साहित्य क्षेत्रमा उनले पुर्याएको योगदानको निम्ति उनी विभिन्न सङ्घ संस्थाहरूबाट समय समयमा सम्मानित एवं पुरस्कृत पनि हुँदै आएको देखिन्छ। सन् 1973 मा ‘दियालो’ मा प्रकाशित कविता ‘हरियो हावाको अश्रुत गीतहरू’ को निम्ति अगमसिंह गिरी स्मृति पुरस्कार प्राप्त गरे। संन् 1975 मा नाटक ‘मुर्ति फुटेको मन्दिर’ को निम्ति गोर्खा दु:ख निवारक सम्मेलनको तर्फबाट उनलाई सम्मान पत्र प्रदान गरियो। सन् 1987 मा ‘गोठालेको भोको घर’-को निम्ति सिक्किमबाट स्रष्टा पुरस्कारले सम्मानित भए। सन् 1989 मा ‘आंधी आउनु अघि’ नाटकको निम्ति आकाशवाणी नाट्य लेखन पुरस्कार प्राप्त गरे। सन् 1990मा खरसाङबाट प्रथम अरुगी पुरस्कारले सम्मानित भए। सन् 1993 मा सिक्किम साहित्य परिषदबाट भाषा सङ्ग्रामीका रुपमा अभिनन्दित भए। सन् 1994 मा पारिजात सङ्घ, सिलगढीबाट भानुभक्त पुरस्कार प्राप्त गरे। सन् 1996 मा विद्या प्रचारिणी, बनारसद्वारा उनलाई मदन स्मारक व्याख्यान सम्मान प्रदान गरियो। सन् 1999 मा सङ्गीत महाविद्यालय, खरसाङबाट गीतकारको रुपमा कमल पुरस्कार प्राप्त गरे। सन् 2004 मा कविता सङ्ग्रह ‘शान्ति सन्देह’-को निम्ति दिल्लीको साहित्य अकादमी पुरस्कारले सम्मानित भए। त्यसपछि सन् 2007 मा उनलाई सिलगढीबाट प्रथम रामलाल अधिकारी स्मृति पुरस्कार दिइयो अनि सन् 2011 मा विजनबारीबाट आदित्य विक्रम गुमानसिंह चामलिङ पुरस्कार र सिलगढीबाट प्रथम टी..बी. रायमाझी पुरस्कारले सम्मानित गरियो। यस वर्ष गीत लेखनमा उनको योगदानलाई ध्यानमा राखेर काठमाड़ौं, नेपालबाट उनलाई वि.स. 2076 को छिन्नलता गीतकार पुरस्कारले पनि सम्मानित गरियो। केही महिना अघिदेखि अस्वस्थ रहेको कारण उनी स्वयम् यस कार्यक्रममा उपस्थित हुन नसके तापनि उनकी धर्मपत्नी रूक्मित लेप्चा काठमाडौं पुगेर आफ्नो सहृदयी पतिको पक्षमा यो पुरस्कार ग्रहण गरिन्। अन्तमा, यस्ता अब्बल दर्जाका साहित्यकार तथा गीतकार डा. जस योञ्जन ‘प्यासी’-को सुस्वास्थ्य एवं दिर्घायुको कामना गर्दै उनीबाट अझै राम्रा राम्रा कृतिहरू पाउन सकौं भन्ने आशा गर्दछौं।
बाग्राकोट, डुवर्स