कालो बादलले आकास डम्म ढाकेको थियो । घरीघरी बिजुली चम्कँदै थियो । वातावरणमा एकप्रकारको मौनता थियो । चिसो सिरेटोले डाँडामा उभिरहेको त्यो मान्छेको मनलाई धेरैपल्ट छुएर गयो । एउटा एक्लो रुपी एउटा अग्लो बाँसको लिङ्गोमा बसेर अघिदेखि कराइरहेको थियो—“तिमी कहाँ छौ ? भनन तिमी कहाँ छौ ?”
रुपीको चीत्कार सुन्न नसकेर त्यो मान्छेले आफ्ना दुवै कान दुवै हातले बन्द गर्यो । तर रूपी भने एकोहोरो कराइरह्यो—“तिमी कहाँ छौ ? भनन तिमी कहाँ छौ ?”
एकछिनपछि त्यो रूपी अचानक त्यो मान्छेको अघिपटि खस्यो र एकपल्ट अरट्ठ परेर दुई-तीन थोपा आँसु खसालेर मर्यो । आकास गर्जेर आयो, हुरीबतास चल्यो र एक्कासि मुसलधारे पानी पर्यो । आकासबाट झरेका ती पानीका थोपाहरू त्यो मान्छेले चाख्यो पनि । त्यसपछि त्यो मान्छेले आफ्नो छातीमा मुटुको ढुकढुकी छाम्दै आफैँलाई प्रश्न गर्यो—“कतै म मरेको त छैन ?”
दार्जीलिङ