18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार श्रीओम श्रेष्ठ "रोदन" सँग साहित्यिक वार्ता

वार्ता कृष्ण बजगाईं October 19, 2008, 6:43 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

नेपाली साहित्यका प्रायः सबै विधाका सक्रिय लेखनमा लाग्नु भएका सशक्त तथा स्थापित साहित्यकार हुनुहुन्छ श्रीओम श्रेष्ठ "रोदन" । करिव दुई दशकदेखि मधुपर्कको सम्पादनमा संलग्न उहाँ हाल मधुपर्कको नायव कार्यकारी सम्पादक तथा लघुकथा समाजका संयोजक हुनुहुन्छ । उहाँसँग इ मेलबाट गरिएको कुराकानी ।

१. तपाईं लघुकथा निबन्ध कविता नियात्रा लगायत धेरै विधामा कलम चलाउनु हुन्छ । कुन विधामामा बढी सन्तुष्ट हुनुहुन्छ ? किन ?

म अहिलेसम्म कुनै विधाबाट पनि सन्तुष्ट हुन सकेको छैन । सन्तुष्टिले सिर्जनामा लाग्ने उत्साहमा कमी ल्याउँदैन र त्यसैले म आफ्ना सिर्जनाले कहिले सन्तुष्ट नहोस् भन्ने चाहन्छु । हो विशेष परिचायक विधाका रुपमा भने निबन्ध र लघुकथा रहेका छन् ।

२.वास्तवमा लघुकथा भनेको के हो ?

लघुकथा ठूलोभन्दा ठूलो परिवशेलाई उतार्ने क्यामराको फोटोजस्तो हो । आकाशभन्दा विशाल र समुन्द्रभन्दा गहिरो मान्छेको मनलाई सहज रुपमा चित्रमा उतार्ने साहित्य नै लघुकथा हो ।

३.समकालिन लघुकथाको प्रवृत्ति के हो ?

समकालीन लघुकथाको प्रवृत्ति सामाजिक राजनीतिक धार्मिकलगायत सार्वजनिक सरोकारका क्षेत्रमा भएका विकृति, विसंगतीप्रति ब्यंग्य र सचेत गर्ने सन्देश प्रवाहित गर्ने रहेको छ ।

४. लघुकथाको वर्तमान अवस्था कस्तो छ ?

यसवर्ष लघुकथाको भएका प्रकाशन र कार्यहरुलाई हेर्दा लघुकथाको स्थिति विगतका तुलनामा निकै बलियो भएको मान्न सकिन्छ । झण्डै साठी वर्षदेखि लघुकथा संग्रह प्रकाशन भएको इतिहास बोकेको भए पनि संस्थागत विकासको लागि हालैमात्र लघुकथा समाजको गठनभएको छ , त्यस्तै www.laghukathaa.com (लघुकथा डट कम) पनि संचालन भएको छ । सुमन सौरभका नवीन परिवेशका डा. रवीन्द्र समीरको अनौठो परिकल्पनाका, कृष्ण शाह यात्री र कृष्ण बजगाईँका सशक्त र सामयिक लघुकथा संग्रहहरुको प्रकाशनले लघुकथाको विकासमा महत्वपूर्ण भूमिका राख्ने छ । त्यस्तै लघुकथाकार विनय कसजूद्वारा सम्पादित प्रतिनिधि नेपाली लघुकथाहरु को प्रकाशन भएबाट पनि विधागत विकासमा सघाउ पुग्ने विश्वास गर्न सकिन्छ ।

५. यसलाई अझ लोकप्रिय बनाउन के गर्नु पर्ला ?

लघुकथालाई अझ लोकप्रिय बनाउन यसको प्रचारप्रसारमा व्यापकता ल्याउनु पर्छ । यसका लागि प्रकाशन प्रसारण र विद्युतीय माध्यममा पनि यसले स्थान ओगट्न सनुपर्छ । अनुवाद प्रतियोगिता गोष्ठीजस्ता कार्यक्रमहरुको नियमित गर्नेतर्फ लाग्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा लघुकथालाई चुट्किला र आकारको साँचो मात्र हो भन्ने भ्रमबाट निकाल्न सक्नुपर्छ ।

६. लघुकथा विकाशका लागि केही भईरहेको छ कि ?

अहिलेसम्म लघुकथाको विकास र विस्तारका लागि व्यक्तिगत प्रयास भैरहेका थिए तर संस्थागत रुपमा गर्ने अभियानतर्फ लागेका छौं ।

७.अहिले समकालीन नेपाली साहित्यमा लघुकथाको स्थान के छ ?

समकालीन नेपाली साहित्यमा लघुकथाको स्थान विगतका तुलनामा धेरै सम्मानजनक छ । पाठकका दृष्टिले अत्यन्त लोकपि्रय छ । यसमा कुनै शंका छैन ।

८. प्रायः लघुकथामा ब्यंग्यको प्रचुरता हुन्छ । लघुकथाबाट ब्यंग्य झिकिदियो भने त्यहाँ के बाँकी रहन्छ ?

लघुकथामा ब्यंग्यको प्रचुरता त हुन्छ नै तर ब्यंग्य मात्र लघुकथा होइन । त्यसैले ब्यंग्य विनाको पनि राम्रो लघुकथा हुनसक्छ भन्ने कुराको प्रमाण सुमन सौरभको "पराइ विचार" ले पाएको सम्मानबाट पुष्टि हुन्छ ।

९ केही समालोचक तथा साहित्यकार नेपाली साहित्यको लोकपि्रय विधा लघुकथा उपर पुर्वाग्रही दृष्टिकोण राख्छन् । यो कस्तो सोंच हो ?

यो परम्परावादी सोच हो । केही प्राध्यापकीय समालोचक र केही विना प्रतिस्पर्धा विजयी भएका साहित्यकारहरु लघुकथाप्रति सौतेने व्यवहार गरिरहेका छन् । तर गुणात्मक रुपमा लोकप्रियता कमाउँदै गएको लघुकथाप्रति पूर्वाग्रह राख्नु भनेको काँधले पहाडलाई थेग्छ भने जस्तै हुन्छ । तिनीहरु लघुकथाले पाएको लोकपि्रयताबाट अनभिज्ञ छैनन् तर पनि आत्मसन्तुष्टिका लागि सूर्यलाई हातले छेकें भन्ने भ्रममा रमाइरहेका छन् ।

१०. प्रसंग बदलौं तपाईंका कतिवटा कुन कुन विधाका पुस्तकहरु प्रकाशित भएका छन् । प्रकाशोन्मुख पनि छन् कि ?

मेरा प्रकाशित पुस्तकहरुमध्ये ललिता कविसंग्रह २०४५, सरगम संयुक्त कवितासंग्रह २०४७, अर्थहीन अर्थहरु निबन्धसंग्रह २०५४, समयका सम्भावनाहरु निबन्ध संग्रह २०५९, आँखीझ्याल हस्तलिखित लघुकथासंग्रह २०५८, समुद्रवारि समुद्रपारि नियात्रासंग्रह २०६०, नबिर्सने दिनहरु नियात्रा संग्रह २०६२ र शुभारम्भ र दुई लघुकथा संग्रहको सम्पादन छन् । मेरा एक निबन्ध र एक नियात्रा संग्रह प्रकाशोन्मुख छन् ।

११.तपाईं आफै वा तपाईंका कुनै कृति पुरस्कृत भएका छन् कि प्रकाशोन्मुख कृति पनि छन् कि बताइ दिनुहोस् न ।

लामो समयसम्मको निरन्तर साहित्यिक यात्राले मलाई सुखी बनाएको छ । मेरो रुची र पेशा एकै परेकोले पनि म रम्न सकेको छु । अहिलेसम्म मेरो अर्थहीन अर्थहरु निबन्ध संग्रहले २०५४ मा उत्तम शान्ति पुरस्कार र २०६५ मा नबिर्सने दिनहरु नियात्रा संग्रहले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार प्राप्त गरेको छ । त्यसबाहेक मैले युवा वर्ष मोती पुरस्कार शंकर लामिछाने निबन्ध पुरस्कार त्रिचन्द्र देवकोटा सम्मान साधना सम्मान वीरगन्ज साहित्य परिषद् सम्मान प्रतिभा सम्मान पाउने सौभाग्य पाएको छु ।

१२. गत वर्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट पुरस्कृत तपाईं पुरस्कार ग्रहण गर्न अमेरिका पनि जानु भयो । स्वदेशमा सक्रिय स्रष्टालाई विदेशमा बस्नेहरुले पुरस्कृत गर्दा कस्तो लाग्यो ?

अमेरिका पुग्दा मलाई मैले सिर्जना गरेका अक्षर र मसीहरुप्रति गर्व लाग्यो । सात समुद्रपारिको देश अमेरिकासम्म पुर्याउन सक्ने साहित्यप्रति गर्व लाग्यो । विदेशमा बसेर पनि भाषा साहित्यका लागि अहोरात्र लागिरहनेप्रति गौरव लाग्यो । यो पुरस्कारले साहित्य अनुसन्धान क्षेत्र हो भन्नेहरुलाई गतिलो झापड हानेको छ ।

१३. स्वदेशमा बस्ने संघसंस्थाहरुले विदेशमा नेपाली भाषा साहित्यमा सेवा गर्नेहरुलाई पो पुरस्कृत गर्नु पर्ने होईन र ?

त्यस्तो पनि नभएका होइनन् । तर नेपाली साहित्यको मूल थलोमा विदेशमा बस्ने नेपालीहरु सम्मानित हुनुपर्छ र भइरहेका पनि छन् । विदेशमा भाषा साहित्यको प्रचारप्रसारमा लाग्नु हरेक दृष्टिले प्रशंसनीय छ ।

१४.विदेशमा नेपाली भाषा साहित्यमा के कति काम भएका रहेछन त ?

अमेरिकामा नेपाली भाषा साहित्यको लागि भइरहेका कामहरु जति प्रशंसा गर्दा पनिकम हुने खाले छ । रोजगारका लागि विदेशमा बसेका नेपालीहरुलाई भाषा साहित्य र संस्कृतिले नै एकताबद्ध गरेको छ । नेपालमा साहित्यलाई फुर्सदको माध्यम बनाउने प्रचलन बढेको छ । जागिरबाट निवृत्त भएपछि रोगी भएपछि वा धेरै पैसा भएपछि साहित्यमा लाग्नेहरुका लागि विदेशमा साहित्यमा लाग्नु ठूलो सन्देश हो । बुझ्नेहरुका लागि विदेशमा कसैलाई फुर्सद हुँदैन । बेफुर्सद जीवनबाट समय निकालेर कमाउने समय गुमाएर भाषा साहित्यमा लाग्नेहरु सदा सलाम गर्न योग्य हुनुहुन्छ ।

१५. नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नेपाली डायोस्पोरा तथा तिनका संस्थाहरुले के कार्य गर्नु पर्ला ?

नेपाली साहित्यका धेरै विधा अन्तर्राष्ट्रिय स्तरका छन् त्यसमा शंका छैन । हो अनुवादको कारण हामी आफैमा खुम्चिनु परेको छ । प्रतिस्पर्धा गर्न सकिरहेका छैनौ । त्यसैले सर्वप्रथम स्तरीय सिर्जनाहरुलाई अनुवाद गरेर विदेशमा प्रचारप्रसार गर्न सक्यो भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सिर्जनाहरु स्वतः स्तर मापन हुने थियो ।

१६. अन्तमा समकालीन साहित्य डट् कम् मार्फत विश्वभरका नेपाली साहित्यका पाठकलाई केही भन्नु छ कि ?

समकालीन साहित्य डटकमले विश्वभरिका नेपाली भाषा साहित्यका पाठकको भोक मेटाउन सफल छ । यो साँचैको उदाहरणीय कार्य हो । जसरी समकालीन साहित्य डट कम ले विश्वभरि नेपाली भाषा साहित्यको प्रचार गरी विकास गर्न खोजिरहेको होस्टेमा हामी सबैले हैसे गर्नु हाम्रो कर्तव्य हो ।

मलाई लाग्छ साहित्यलाई माया गर्न जान्नेहरुले जत्तिको समाज कसैले पाउँदैनन् । जसले आफूलाई माया गर्न जान्दछ उनीहरुले साहित्यलाई माया गर्न जान्नु पर्दछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।