17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली भाषामा विज्ञान साहित्यको स्थिति तथा सम्भावनाहरू

विचार गोपालसिंह विश्व July 24, 2022, 4:56 am
गोपालसिंह विश्व
गोपालसिंह विश्व

विश्वका सम्पन्न राष्ट्रहरूमा विज्ञान साहित्य लेखन परम्पराको जग निकै वर्षअघिदेखि नै बसिसकेको हो। यस क्षेत्रमा प्रथमत: युरोप तथा अमेरिकाबाट यसको सुत्रपात भएको जानकारी पाइन्छ। वर्तमान यस परम्परालाई अघि बढाउने क्रममा संसारका अन्य धेरै भाषा-साहित्यका लेखक तथा विज्ञानका विविध विषयका ज्ञाता एवं विशेषज्ञहरू यस विधामा निरन्तर कलम चलाइरहेका छन् र आज आधुनिक विज्ञानको उत्तरोत्तर उन्नतिसँगै विज्ञान साहित्य पनि निकै उन्नत र विकसित अवस्थामा पुगिसकेको छ।
विज्ञान साहित्य भन्नाले विशेष कल्प-विज्ञान अर्थात् विज्ञान आख्यान (Science fiction) बुझिन्छ जो विज्ञानमाथि आधारित काल्पनिक साहित्यकै एउटा अलग विधा हो। यसमा विशेष विज्ञान तथा तकनिकी प्रविधिका सम्भावित परिवर्तनहरूलाई लिएर हुने मानवीय प्रतिक्रियामाथि आधार गरी कथात्मक अभिव्यक्ति दिने गरिन्छ। यसर्थ साधारणत: वैज्ञानिक दृष्टिभंगीमाथि अधार गरी लेखिने सृजनात्मक रचनाहरू विशेष कथा, उपन्यास, नाटक आदिलाई नै विज्ञान साहित्य भनी मान्यता दिइएको छ। तर विज्ञानका विविध विषयहरूमा शोध ग्रन्थ, लेख-निबन्ध, प्रबन्ध आदि गध्य रचनाहरू पनि लेखिदै आएका छन्। ती सबै विज्ञान साहित्यकै निधि हुन्। हिजआज अन्य कतिपय भाषाहरूमा कवितामा पनि विज्ञानको प्रयोग भएको देखिन्छ। संसारका विकसित भाषाहरूमा आजसम्म अनेकौं कल्पविज्ञान (Science fiction)-माथि आधारित चलचित्रहरू पनि निर्माण गरिएको छ। यसै त विज्ञान विषयमा लेखिने सम्पूर्ण रचनाहरूलाई विज्ञान साहित्यमा गणना गरिँदैन। विज्ञान साहित्य भनेको मूलत: विज्ञानमाथि आधार गरी लेखिएको सृजनात्मक आख्यान वा रचनात्मक कृति नै हो। तर विज्ञान साहित्यको कुनै पनि विधामा कलम चलाउने साहित्यकारसँग वैज्ञानिक अन्तर्दृष्टि हुनु नितान्त आवश्यक पर्दछ। विज्ञानको ज्ञान बिना लेखिइएको साहित्य विज्ञान साहित्य हुनै सक्तैन। यसैले विज्ञानलाई ज्ञानसित समन्वय गरी आम जनसाधारणको बौद्धिक क्षमता वा वैज्ञानिक चेतना स्तरलाई माथि उठाउने उदेश्यले लेखिएका अन्य रचनाहरू लेख-निबन्ध अथवा शोध ग्रन्थ आदिलाई पनि विज्ञान साहित्यदेखि अलग राख्न सकिँदैन। साधारणत: मानिसको जीवनमा ज्ञानको विकाससित सम्बन्धित आख्यानभित्र नपर्ने रचनात्मक कृतिहरूलाई साहित्य अन्तर्गत समेट्न सकिन्छ भने विज्ञानमाथि लेखिएका आख्यान बाहिरका (Non-fiction) रचना एवं कृतिहरूलाई पनि साहित्य अन्तर्गत समाहित गरिएको उदाहरणहरू यथेष्ट पाइन्छ। यसर्थ विज्ञान साहित्यलाई बृहत दृष्टिकोणले हेर्नु पर्दा आख्यानात्मक (fiction) र अआख्यनात्मक (Non-fiction) दुई भागमा विभाजित गरी ज्ञान-विज्ञानमाथि लेखिएका अन्य निबन्धात्मक रचनाहरू पनि साहित्य अन्तर्गत समेटिने गरिएको देखिन्छ। विज्ञान आख्यान (Science fiction)-लाई पनि दुई भागमा विभाजन गरी हेरिने गरिएको छ। विशिष्ट विज्ञान आख्यान (Hard Science Fiction) र सामान्य विज्ञान आख्यान (Soft Science Fiction) यी दुईमध्ये पहिलोले विशेषतः भौतिक विज्ञान (Physical Science), खगोल विज्ञान(Cosmology), खगोलीय भौतिक शास्त्र (Astro-physics), रसायनशास्त्र, जीव विज्ञान, तकनिकी, कम्प्युटर साइन्स, गणित जस्ता विशिष्ट विज्ञानका विषयवस्तुहरू समेट्ने गर्दछ। दोस्रो सामान्य विज्ञान आख्यान (Soft Science Fiction)-ले समाजविज्ञान, मनोविज्ञान, अर्थशास्त्र, राजनीतिशास्त्र, नृतत्वशास्त्र, जस्ता विषयबस्तुलाई समेट्ने गर्छ। यसरी विज्ञान साहित्यलाई एउटा वृहत् दृष्टिकोणमा पनि हेर्न सकिन्छ।
विज्ञान विषय लिएर साहित्यमा रचनात्मक आख्यानको सृजना गर्ने साहित्यकारहरूको इतिहास पहिल्याउँदै जाँदा सर्वप्रथम युरोप स्थित सिरिया निवासी लुशीयन नामका एक व्यङ्ग्य लेखकले दोस्रो शताव्दीको इश्वी सन् १६० तिर ‘एउटा सत्य कथा’ (A True Story) शीर्षकमा एउटा कथा लेखेका थिए भन्ने बताइन्छ। यसलाई चन्द्र यात्रा सम्बन्धी लेखिएको पहिलो विज्ञान आख्यानको रुपमा लिइन्छ। त्यसपछि लगभग १५०० वर्षसम्म यस्ता विज्ञान आख्यानमाथि कलम चलाइएको थाह पाइँदैन। पछि बेलायतका प्रसिद्ध निबन्धकार फ्रान्सिस बेकन (सन् १५६१-१६२६)-ले ‘नयाँ एट्लान्टिस’ (New Atlantis) शीर्षकमा विज्ञानमा आधारित उपन्यास अङ्ग्रेजी भाषामा लेखे जो उनको मृत्युपछि सन् १६२७ मा प्रकाशित भएको थियो। त्यसपछि जर्मनका खगोलशास्त्री जोहन्स केप्लर (१५७१-१६३०)-ले सन् १६०८ मा ‘सोम्नियम’ (सपना) नामको एउटा उपन्यास ल्याटिन भाषामा लेखेका थिए जो उनको मृत्युपछि उनका छोराले सन् १६३४ मा प्रकाशित गराएका थिए। त्यसपछि यस विधामा फ्रान्सका लेखक साइरेनो द बर्जेराकका दुई कृति ‘द अदर वर्ल्ड अर द स्टेट्स एण्ड एम्पायर्स अफ द मुन’(१६५७) र ‘द स्टेट्स एण्ड एम्पायर्स अफ द सन’(१६६२) प्रकाशित भए। आयरल्याण्ड निवासी जोनाथन स्विफ्टको ‘गुलिभर्स ट्राभेल’ (१७२६) पनि विज्ञान आख्यानभित्र पर्दछ। प्राय: यी सबैलाई प्राचीन विज्ञान आख्यानको रुपमा लिने गरिन्छ। त्यसपछि सन् १८१८ मा बेलायतकी मेरी डब्ल्यु शेलीले ‘फ्रकेन्सटाईन’ शीर्षकमा एउटा विज्ञान उपन्यास लेखेकी थिइन् जसलाई आधुनिक साहित्यको प्रथम विज्ञान आख्यान कृति मानिन्छ। युरोपमा भएको औधोगिक क्रान्ति र पुनर्जागरण कालपछि त्यहाँको जनजीवनमा ठुलो परिवर्तन आयो। विज्ञान र प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व उन्नतिले लेखक तथा साहित्यकारहरू पनि प्रभावित हुनु स्वाभाविक नै थियो। अमेरिका पनि यसको प्रभावबाट अछुतो रहन सकेन। सन् १८४४ मा अमेरिकाका लेखक एड्गर एलन पोको विज्ञान कथा ‘बेलुन होक्स’ निकै चर्चामा आएको थियो भन्ने जानकारी पाइन्छ। उनी पछि जुल्स ग्याब्रियल वर्नेका आधा दर्जन भन्दा अधिक विज्ञानमाथि आधारित उपन्यास कृतिहरू प्रकाशित भएको पाउँछौं। ती मध्ये १) ‘फाइव विक्स इन बेलुन’(१८६३), २) ‘ए जर्नी टू द सेन्टर फर द अर्थ’ (१८६४) ३) ‘फ्रम द अर्थ टु द मुन’ (१८६६) ४) ‘ट्वेन्टी थाउजेण्ड लिग्स अन्डर द सी’ (१८७०), ५) ‘एराउण्ड द वर्ल्ड इन एट्टि डेज’ (१८७३), ६) ‘मिस्टीरियस ल्याण्ड’ (१८७४), ७) ‘मास्टर्स अफ द वर्ल्ड’ (१९०४), ८) ‘द इन्भेजन अफ द सी’ (१९०५) आदि प्रसिद्ध छन्। सन् १८४६ मा बेलायतमा जन्मिएका एच.जी.वेल्सले पनि विज्ञान आख्यान (Science Fiction)-माथि निकै कलम चलाएका थिए। उनले साहित्यको यस विधामा दर्जनौं औपन्यासिक कृतिहरू दिएर विज्ञान साहित्यको विकासमा ठुलो योगदान पुर्याएका थिए। तीमध्ये १) दी टाइम मेसिन २) वारअफ् द वर्ल्ड ३) द इन्भीजीब्ल म्यान ४) द आइल्याण्ड अफ डाक्टर मोरे ५) अ मोडर्न युरोपिया ६) अ स्टोरी अफ दी स्टोन एज आदि विज्ञानमाथि आधारित औपन्यासिक कृतिहरू प्रसिद्ध रहेका छन्। यसरी आधुनिक कालमा पुगेर कल्प-विज्ञान (Science fiction) विधामा कलम चलाउने धेरै साहित्यकारहरू देखा परे। ती सबैको नाम लिन यहाँ सम्भव हुन नसकेता पनि केही प्रसिद्ध कल्प-विज्ञान साहित्यका लेखकहरू अनि तिनका एक-एकवटा औपन्यासिक कृतिको उल्लेखसम्म गर्ने प्रयास गर्दछु। ती हुन् – १) अल्डुअस् हक्सले (१८९४-१९६३)-को ‘ब्रेभ निउ वर्ल्ड’ (१९३२), २) जोह्न डब्ल्लु. क्याम्पबेल (१९१०-१९७१)-को ‘हु गोज् देयर?’ (१९३८), ३) आइजक असिमोव (१९२०-१९९२)-को ‘फाउन्डेसन’ (१९४२), ४) जर्ज अरवेल (१९०३-१९५०)-को उपन्यास ‘१९८४’ (१९४९), ५) रे ब्र्याडब्युरी (१९२०-२०१२)-को फारेन्हाइट ४५१ (१९५३), ६) रोबर्ट हेनलेन (१९०७-१९८८)-को ‘स्ट्रेन्जर इन अ स्ट्रेन्ज ल्याण्ड’ (१९६१), ७) फिलिप के. डीक (१९२८-१९८२)-को ‘द म्यान इन द हाइ केसल’ (१९६२), ८) फ्र्याङ्क हर्बर्ट (१९२०-१९८६)-को ‘ड्युन’ (१९६५), ९) अर्थर सी. क्लार्क (१९१७-२००८)-को ‘२००१: अ स्पेश ओडीसी’ (१९६८), १०) मार्गेरेट एटवुड (जन्म: १९३९)-को ‘द हेन्डमेड्स टेल’ आदि।
वर्तमानसम्म आइपुग्दा हिन्दी भाषा-साहित्यमा पनि विज्ञानमाथि आधारित फिक्सन र नन-फिक्सन गरी लगभग ८००० पुस्तक कृतिहरू प्रकाशित भइसकेका छन् अनि ३५०० भन्दा अधिक विज्ञान साहित्यका लेखक-लेखिकाहरू यस विधामा कलम चलाई रहेका छन् भन्ने जानकारी पाइन्छ। भारतमा हिन्दी भाषा राष्ट्रिय भाषाको रुपमा स्वीकृत भएको हुनाले पनि विज्ञान विषयक बौद्धिक चेतनाको विकासका निम्ति राष्ट्रिय स्तरमै व्यापक रुपमा कार्यहरू भइरहेका छन्। विज्ञान तथा तकनिकी विकासको निम्ति उच्च शिक्षा एवं अनुसन्धान कार्यको व्यवस्थाको लागि बङ्गलोरमा भारतीय विज्ञान संस्थान (Indian Institute of Science)-को निर्माण गरिएको छ। बङ्गलोरमै भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ISRO)-को स्थापना सन् १९७९ मा गरिएको हो। अन्तरिक्ष विज्ञान क्षेत्रमा इसरोले गरेको प्रगति सर्वविदित छ। यसबाहेक नेशनल रिसर्च डेवेलप्मेन्ट कर्पोरेसन, दिल्ली अनि वैज्ञानिक तथा औधोगिक अनुसन्धान परिषद , दिल्लीबाट धेरै वर्षअघिदेखि क्रमश: ‘आविष्कार’ र ‘विज्ञान प्रगति’ नामको विज्ञान पत्रिका मासिक रुपमा प्रकाशित भइरहेको छ। सन् १९१५ देखि हिन्दी भाषामा इलाहबादको प्रयागबाट विज्ञान परिषद भनिने एउटा संस्थाले ‘विज्ञान’ नामको पत्रिका प्रकाशित गरिरहेको छ। सन् १९९१ देखि चलिरहेको विज्ञान भारती नामको बेसरकारी संस्थाले पनि विज्ञान क्षेत्रमा धेरै काम गरिरहेको छ। भारतको २३ वटा राज्यमा यसका शाखाहरू फैलिएका छन्। यस संस्थाबाट पनि विज्ञान भारती भनिने विज्ञान पत्रिका तथा विज्ञानमाथि आधारित बालपुस्तकहरू प्रकाशित भएका छन्। यसरी नै अन्य भारतीय भाषाहरू बङ्गला, मराठी, पञ्जाबी, तमिल, तेलुगु, कन्नड, असमिया आदिमा पनि यस विधामा कलम चलाउनेहरू निकै छन् । यी सबैको तुलनात्मक रुपमा विस्तृत अध्ययन हुन आवश्यक छ।
आजको युगलाई विज्ञानको युग भनिन्छ। नयाँ नयाँ आविष्कारको चमत्कार र सञ्चार प्रणालीमा आएको प्रगतिले संसारमा ठुलो परिवर्तन ल्याइसकेको छ। तर पनि सामाजिक विकास र हाम्रो जातीय विभेदको दृष्टिकोणलाई परिवर्तन गराउने दिशातिर आज हामीले धेरै प्रभावकारी कार्यहरू गर्न सकिरहेका छैनौं। हाम्रो समाज आजसम्म पनि रुढीवाद र अन्धविश्वासका कसिलो जकड़नबाट मुक्त हुन सकिरहेको छैन। अन्य विकसित भाषा-साहित्यका तुलनामा हामी धेरै पछि परेका छौं। नेपाली साहित्यमा विज्ञानपरक लेख-रचना, वैज्ञानिक तथा उनीहरूका आविष्कार सम्बन्धमा लेखिएका जीवनीमुलक कृतिहरू तथा विज्ञान आख्यानका कृतिहरूको अभाव हुनु र विज्ञानको महत्वबारे साहित्यमा त्यति चर्चा नहुनु आजका हाम्रा कमी कमजोरीहरू भएर देखापरेका छन्। तथापि नेपालमा यस क्षेत्रमा धेरै कामहरू भइरहेको छ। नेपाली साहित्यमा विज्ञान साहित्यको पृष्ठभूमि पहिल्याउँदै जाँदा नेपालका भैरव अर्याल (सन् १९३६ – १९७६)-ले विज्ञानमाथि आधारित केही निबन्धहरू लेखेको थाह पाइन्छ। उनले ‘पच्चीसौं शताब्दी अङ्ग प्रत्यङगमा’, ‘मान्छे मोडेल १९३७’, ‘सभापति दुनियाँ’, ‘चन्द्रलोक कसको?’ जस्ता विज्ञान विषयक निबन्धहरू लेखेका थिए। नेपाली साहित्यमा प्रथमपल्ट विज्ञानपरक आख्यानमाथि कलम चलाउने साहित्यकारका रुपमा परिचित व्यक्ति हुन् शङ्कर लामिछाने (सन् १९२७ – १९७५)। उनी भैरव अर्यालकै समकालीन लेखक थिए। शङ्कर लामिछानेलाई नेपाली साहित्यमा मूलतः निबन्धकारका रुपमा शीर्षस्थ स्थानमा पुग्न सफल व्यक्तित्वका रुपमा चिनिन्छ। साहित्यमा विज्ञानपरक आख्यानलाई विशेष नवचेतनवादी वा प्रयोगवादी धारका रुपमा लिने गरिएको देखिन्छ। लामिछानेका कथा सिर्जनामा नवीन प्रयोगशीलता तथा नवचेतनामूलक तत्व समाहित भएका पाउछौं। उनका ‘आत्मको मिमांशा’, ‘माया न. ६५३’, ‘उ कसको हो’, ‘टेस्टट्यूव वेवी’, ‘कृत्रिम गर्भधान’ आदि विज्ञान कथा यस्ता प्रयोगका नमुना हुन्। त्यसपछि विजय मल्ल (सन् १९२५ – १९९९)-का विज्ञानमाथि आधारित ३ वटा कथा १) प्रवेशनिषिद्ध देश २) अन्तिम भोज र ३) इन्जीनियरको टाउको प्रकाशित भएको पाउछौं। सन् १९७४ मा प्रकाशित तुलसी कुँवरको उपन्यास ‘नेटोपारि’ सम्पूर्ण रुपले विज्ञानको यथार्थमाथि आधारित नभएता पनि विज्ञान साहित्यको चर्चा गर्दा यस उपन्यासको पनि नाम लिने गरिन्छ। यस उपन्यासको कथानकमा नायक ओम प्रेमिकाको मृत्युपछि व्याकुल बनेर योगाभ्यास र विज्ञानको सहायताले केही चमत्कारहरू देखाउन सक्ने अवस्थामा पुग्छन् र मृत्युको गाँस बनिसकेकी प्रेमिकालाई भेट्ने इच्छा गरी त्यस्तै चमत्कारद्वारा भेट्न सफल भएको कुरा असम्भव र अपत्यारिलो रहेको भएता पनि विज्ञानको प्रयोग मानव हितको निम्ति हुनुपर्छ भन्ने सन्देश उपन्यासमा रहेको हुनाले यसलाई विज्ञान साहित्य अन्तर्गत समेट्न सकिन्छ भन्ने केही समालोचकहरूको मत रहेको छ। तर विज्ञान साहित्यमा तर्कसङ्गत सम्भावित यथार्थको कल्पना जस्ता तत्व समाहित भएको हुनुपर्छ र यसमा वास्तविकताभन्दा बाहिरका अतिरञ्जनापूर्ण वर्णन पनि गरिनु हुँदैन भन्ने कतिको भनाइ छ। त्यस दृष्टिमा यो उपन्यास खरो भएर उत्रिन सकेको छैन।
विज्ञान साहित्यमा आख्यानदेखि बाहिरका कृतिहरुमध्ये जीव विज्ञानमाथि लेखिएको पुस्तक वि.स. २०३२ मा प्रकाशित मोदनाथ प्रश्रीतको ‘जीवाणुदेखि मानवसम्म’ एउटा उल्लेखनीय कृति हो। यस पुस्तकमा डार्विनको विकासवादको सिद्धान्तमाथि आधार गरी एक कोशीय जीवाणुको उत्पत्तिदेखि कसरी विभिन्न प्रजातिका प्राणीहरूको उद्भव तथा विकास हुँदै मानवसम्म आइपुग्यो त्यसलाई सरल भाषामा बुझाउने प्रयत्न गरिएको छ। यसरी नै नेपालमा विज्ञान साहित्य क्षेत्रमा आख्यानदेखि बाहिरका पुस्तक रुपमा प्रकाशित डा. दयानन्द बज्राचार्य (वि.स. २००२ - २०७०) -को, ‘वैज्ञानिक गोरेटोमा’ (वि.स. २०६२) र ‘अँध्यारोमा एक काँटी सलाई जीवनमा विज्ञान’ (वि.स. २०६७) जस्ता उत्कृष्ट कृतिहरू प्रकाशित छन्। यस भन्दा अघि नै उनको ‘नेपालमा विज्ञान तथा प्रविधि’ विषयमा अनेकों प्रबन्धहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएको पाइन्छ। उनी वनस्पति विज्ञानमा जर्मनीबाट विद्यावारिधि प्राप्त गरेका वैज्ञानिक व्यक्तित्व तथा धेरै वर्षसम्म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं उपकुलपति पदमा आसिन रहेका थिए। पेशागत रुपमा उनी त्रिभुवन विश्वविध्यालयका प्राध्यापक तथा वनस्पति विज्ञानका विभागीय प्रमुख रहेका थिए। यसबाहेक दिपेन्द्र शाहको ‘अल्बर्ट आइन्स्टाइन’ (जीवनी- वि.स. २०६९) र कृष्णदास श्रेष्ठको ‘भौतिकवादको विकासको इतिहास’ (वि.स. २०७२) जस्ता कृतिहरू पनि खुबै उपयोगी र पठनीय छन्। साहित्यमा विज्ञानलाई ज्ञानसित समन्वय गरी जनसाधारणको बौद्धिक चेतना स्तरको विकास गर्ने उदेश्यले लेखिएका लेख-निबन्ध, प्रबन्ध, जीवनी आदि गध्य कृतिहरूको पनि साहित्यमा कम महत्व छैन।
यसरी नै नेपालमा विज्ञान आख्यानमाथि कलम चलाउने अन्य केही साहित्यकारहरू पनि देखा पर्दे गए। तीमध्ये मोहनराज शर्मा, रमेश विकल, डा. कविताराम श्रेष्ठ, सरुभक्त, विजय चालिसे आदिको नाम उल्लेखनीय रहेको छ। रमेश विकल (वि.स.१८८५ – २०६५)-का लगभग डेढ दर्जन साहित्यिक कृतिहरुमध्ये एउटा कृति ‘विक्रम र नौलो ग्रह’ विज्ञान आख्यानमाथि आधारित बाल उपन्यास प्रकाशित छ। त्यसरी नै मोहनराज शर्मा (वि.स. १९९७ -२०७५)-को एउटा विज्ञान नाटक ‘जेमन्त/यमा’ वि.स. २०४१ मा प्रकाशित भएको पाउछौं। विज्ञान आख्यान क्षेत्रमा डा. कविताराम श्रेष्ठ र सरुभक्तको निकै ठुलो योगदान रहेको छ। डा. कविताराम श्रेष्ठ का लगभग तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ती मध्ये १) पानीको थोपा (बाल उपन्यास – सन् १९८०), २) बनदेवी (बाल उपन्यास – सन् १९८०), ३) स्वभाव गीता (नाटक –सन् १९९२), ४) अनौठो यात्रा (उपन्यास – सन् २००१), ५) बुद्धि बङ्गाराको टेलिफोन (कथा सङ्ग्रह भाग १, २ र ३ –सन् २००२), ६) सृष्टिको पुराण (बाल उपन्यास – सन् २००८), ७) अतृप्त गर्भाधान (नाट्य उपन्यास) जस्ता विज्ञान आख्यानमा आधारित कृतिहरू प्रकाशित भएको पाउँछौं उनका कतिपय कृतिहरू अंग्रेजी भाषामा पनि अनुदित छन् । यस क्षेत्रमा उनको योगदान प्रशंसनीय रहेको छ। यसरी नै साहित्यकार सरुभक्त (जन्म वि.स. २०१२)-का लगभग ३९ वटा कृति प्रकाशित छन् । ती मध्ये १) ‘एक अभिनवको आत्मकथा’ ( विज्ञान उपन्यास र कथा सङ्ग्रह –वि.स. २०४४), २) इथर (विज्ञान नाटक – वि.स. २०४४), ३) छोरी ब्रह्माण्ड (विज्ञान कथा सङ्ग्रह – वि.स. २०४७), ४) यामागल (विज्ञान कथा सङ्ग्रह – २०५४), ५) निमावीय (विज्ञान नाटक सङ्ग्रह – वि.स.२०५५), ६) पदार्थहरूको गीत ( विज्ञान कथा सङ्ग्रह – २०६३) आदि विज्ञानमाथि आधारित आख्यानात्मक कृतिहरु दिएर उनले नेपाली साहित्यप्रति ठुलो योगदान पुर्याएका छन्। त्यपछि यस क्षेत्रमा कलम चलाउने लेखकहरूमध्ये विजय चालिसे को नाम उल्लेखनीय रहेको छ। तिनका लगभग ४ दर्जन कृतिहरू प्रकाशित छन्। बाल साहित्यमा पनि उनको निकै योगदान रहेको छ। त्यसै क्रममा उनको विज्ञान विषयक प्रबन्ध सङ्ग्रह ‘हाम्रो वरिपरिको विज्ञान’ (बाल विज्ञान – वि.स.२०५२), हाम्रो पृथ्वी (बाल विज्ञान ), मङ्गल ग्रहमा विज्ञान (बाल विज्ञान उपन्यास – वि.स. २०६०) र विज्ञानको कैदी (विज्ञान कथा सङ्ग्रह – वि.स. २०७१) प्रकाशित छन्। वर्तमान नेपालमा विज्ञान आख्यान तथा विज्ञान विषयका प्रबन्ध आदि लेख्ने कलमकारहरू निकै देखा पर्न थालेका छन्। ती मध्ये गोरखबादुर सिंह, आमोददेव भट्टराई, रमेश खनाल, महेशविक्रम शाह,, गोविन्दप्रसाद कुसुम, इन्दिरा प्रसाई, तुलसीदास महर्जन, सुनिल पोखरेल, कुमार सिखड़ा, केटी मगर, विजय निवास, विजु सुवेदी, रमेश जङ्ग थापा, मनोज बोहरा आदि प्रमुख हुन्।
यता भारतीय नेपाली साहित्यमा यस विधामा कलम चलाउने लेखकहरूको ठुलो अभाव रहेको देखिन्छ। विज्ञानका विविध विषयहरूमा आधारित लेख-निबन्धहरू यदाकदा पढ्न पाइएता पनि विज्ञान आख्यान (Science Fiction), जस्तै विज्ञान कथा, विज्ञान उपन्यास, विज्ञान नाटक आदि उपविधा (Sub-genre)-मा कलम चलाउने साहित्यकारहरूको खडेरी परिरहेको जस्तो अवस्था छ। अपवाद स्वरूप दुई चार लेखकहरूले मात्र यस विधामा कलम चलाउने प्रयत्न गरेको देख्न सकिन्छ। तीमध्ये अग्रणी सिलगढी निवासी मुक्ति उपाध्याय बराल हुन्। उनका विज्ञानमाथि आधारित केही अख्यानात्मक कृतिहरू उपन्यास, बाल उपन्यास, नाटक, एकाङ्की आदि प्रकाशित भएका छन्। सन् १९९८ मा प्रकाशित उनको ‘अनन्त यात्रा’ (नाटक सङ्कलन)-भित्र परेका ‘अनन्त यात्रा’ (रेडियो नाटक), ‘ममता’ पूर्णाङ्की नाटक र ‘बुलाकी’ एकाङ्की नाटक विज्ञान आख्यानमा आधारित सृजनात्मक कृति हुन्। सन् २००६ मा निर्माण प्रकाशन, नाम्ची, सिक्किमबाट प्रकाशित उनको पुस्तक ‘हिमाली’ विज्ञान उपन्यास हो। यसै गरी सन् २०११ मा प्रकाशित उनको ‘मालती’ (बाल उपन्यास) विज्ञानमाथि आधारित उत्कृष्ट कृति मानिएको छ। सन् २०१५ मा यस कृतिका निम्ति उनलाई साहित्य अकादमी, दिल्लीबाट बाल साहित्य पुरस्कारले सम्मानित गरियो। यस उपन्यासलाई असमिया र अङ्ग्रेजी भाषामा पनि अनुवाद गरिएको छ अनि हिन्दी र बोडो भाषामा अनुवाद कार्य भइरहेको छ भन्ने जानकारी पाइएको छ। गत: वर्ष सन् २०१९ मा उनका एकै चोटी चारवटा पुस्तक कृति प्रकाशनमा आयो जसमध्ये एउटा कृति ‘कान्छी’ विज्ञान उपन्यास हो। सन् २००९ मा प्रकाशित दार्जीलिङका प्रेम प्रधानको उपन्यास ‘प्रयोगको मेशिन’ लाई समालोचक दलसिंह अकेलाले विज्ञान विषयक गध्याख्यानको प्रयोग भएको उल्लेख गरेका छन्। यस उपन्यासमा फ्रायडेली यौनमनोविश्लेषण, नारी मुक्ति चेतना, विसङ्गति, निस्सारता र अस्तित्वबादको दर्शनलाई आत्मसात् गरिएको छ। सम्भवत: उपन्यासको मूल तत्व फ्रायडेली यौन मनोविश्लेषण तथा विज्ञान चेतनामाथि आधारित हुनाले यसलाई सामान्य विज्ञान आख्यान (Soft science fiction) उपन्यासको रुपमा लिन सकिन्छ भन्ने केही समीक्षकहरूको मत होला। विज्ञान आख्यानलाई निश्चित परिभाषाभित्र बाँधेर राख्न नसकिएको हुनाले पनि यस प्रकारका कुन कुन उपन्यासलाई सामान्य विज्ञान आख्यान अन्तर्गत राख्न सकिन्छ त्यसको ठहर गर्नु साधारण पाठकका निम्ति निकै कठिन कार्य हुन जान्छ। मनोविज्ञानकै आधारमा लेखिएका अख्यानात्मक कृतिहरुलाई विज्ञान साहित्यमा गणना गर्नु हो भने नेपाली साहित्यमा उपलब्ध भएका अन्य कृतिहरुमाथि पनि विचार गर्नु पर्ने हुन्छ। यस अघि सन् १९९५ मा उनको विज्ञान आख्यानदेखि बाहिर एउटा बाल उपयोगी पुस्तक ‘हाम्रा केही उपयोगी वनस्पतिहरू’ प्रकाशित भएको पाइन्छ। यस्तै प्रकारले यस पङ्क्तिका लेखकको पनि सन् २०१७ मा ‘ब्रह्माण्ड र पृथ्वी’ नामको एउटा विज्ञानपरक लेखहरूको सङ्कलन पुस्तक रुपमा प्रकाशित भएको थियो। डा. जयन्त विष्णु नारलीकरद्वारा मराठी भाषामा लेखिएको कल्प विज्ञान उपन्यास ‘अंतरालातिल स्फोट’ को हिन्दी अनुवाद ‘अन्तरिक्ष में विस्फोट’ सुरेखा पनाण्डीकरले गरिन् अनि हिन्दीबाट नेपालीमा ‘अन्तरिक्षमा विस्फोट’ फंनणिन्द्र शर्माले गरेका छन् जो गुवाहाटी, असमबाट ‘सपरिवार ‘ पत्रिकामा धारावाहिक रुपमा प्रकाशित भएको थियो। त्यसरी नै विद्यार्थीहरूका निम्ति उपयोगी ‘हाम्रो पृथ्वी’ शीर्षकमा समिर गिरीको धारावाहिक लेख हिमालय दर्पणमा प्रकाशित भएको पाउँछौं। भारतीय नेपाली साहित्यमा विज्ञान आख्यानमाथि कलम चलाउने लेखकहरूको सङ्ख्यामा न्यूनता देखिएता पनि बेलाबेलामा विज्ञान विषयमा आख्यानदेखि बाहिर लेख-निबन्ध आदिमा कलम चलाउने लेखकहरू भने नरहेका होइनन्। यस क्षेत्रमा देखा परेका कलमकारहरूमध्ये मेघमणि दाहाल, नन्द हाङ्खिम, लक्ष्योम् सच्चिदानन्द, राम लोहनी, डी.पी.शङ्कर, भवजित तामांग, विष्णुप्रसाद शर्मा (विप्रश), गोपालसिंह विश्व, समिर गिरी, लरेन्स थापा, लाल थापा, बी.एस.राणा, डा. शरणकुमार रिजाल, निरंकार सिंह, विनोद योञ्जन आदिको नाम उल्लेखनीय रहेको छ। यस दिशामा कलम चलाउनेहरूमध्ये यस पंक्तिका लेखकको नजरमा नपरेका अझ धेरै होलान्। त्यसको निम्ति अझ व्यापक अध्ययनको आवश्यकता पर्ने हुन्छ र यस सन्दर्भमा भविष्यमा अझ गम्भीरतासित ध्यान दिने प्रयत्न गरिनेछ।
पश्चिमी देशहरूमा विज्ञान साहित्य बढो रुचिका साथ पढिन्छ। त्यहाँ विज्ञानमाथि आधार गरी लेखिएका धेरै कृतिहरु बेस्ट सेलर पुस्तकका रुपमा गणना भएका छन्। आज हिन्दी तथा अन्य भारतीय भाषाहरूमा पनि यस विधामा निकै कलम चलिरहेको छ। वर्तमान संसारभरि नै युवावर्गमाझ विज्ञान साहित्यप्रतिको अभिरुची बढिरहेको छ किनकि यो वर्तमान युगको माग पनि हो। हाम्रो समाजलाई अनाश्यक रुढिवादी विचार तथा अन्धविश्वास र अन्ध-परम्पराहरूबाट मुक्त गराएर सचेत बनाउने दिशामा विज्ञान साहित्यलाई नै एउटा हतियारको रुपमा प्रयोग गर्न सकिन्छ। यसर्थ वर्तमान परिस्थितिमा हामीले यसको आवश्यकता र महत्वबारे गम्भीरतापूर्वक सोंच्नु पर्ने हुन्छ। वर्तमान भारतीय नेपाली भाषा-साहित्यमा खट्किरहेको यस प्रकारको कमीको विधागत पूर्ति एवं विकासको निम्ति कलम चलाउनु पर्ने आवश्यकता देखिन्छ। निकट भविष्यमा यस दिशातिर लेखनको विकास गर्न सकिने व्यापक सम्भावनाहरू पनि रहेको देख्न सकिन्छ।

बाग्राकोट (डुवर्स)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।