रविले उठ्ने बित्तिकै आफ्नो पलङछेउको खिड्की खोलेर वरिपरिका पहाडहरूतिर राम्ररी हेर्छ—दिन बिहानै निकै धुम्मिएको रहेछ, आकासमा कताकता बादलका झुण्डहरू रहेछन् अनि अलिअलि चिसो सिरेटो पनि चलिरहेको रहेछ ।
खिड्कीमा त्यसरी केही क्षण बिताइसकेपछि रवि सिधै अध्ययन कोठातिर लाग्छ । उसले पोहोर साल दिसम्बर महिनामा किनेको एउटा फूलबुट्टे छाता दराजबाट निकाल्छ र एकपल्ट खोलेर राम्ररी हेर्छ । उसको अनुहार उज्यालो भएर आउँछ । छाता बन्द गरेर ऊ फेरि एकपल्ट खिड्कीतिर जान्छ । त्यसपछि घरको छतमा गएर ओरालो हेर्दा ऊ झन् खुशी हुन्छ—तलतलका गाउँहरूलाई कुइरोले ढकमक्क ढाकेको रहेछ अनि डाँडामा रात्तै भएर फुलेका गुराँसका बोटहरू माझमा सेत्तै भएर फुलेका चाँपका फूलहरू देखा परिरहेका रहेछन् । उसले खुशी हुँदै आफैँलाई भन्छ, “आजचाहिँ पानी पक्का पर्ने रहेछ ।”
रवि झोलामा एउटा पात्लो ज्याकेट हालेर छाता च्यापी स्कुलका निम्ति निस्कन्छ । आधा बाटो हिँडिसकेपछि ऊ सिधै गुराँसे डाँडातिर लाग्छ । त्यहाँ पुगेर स्कुलका टाई र स्वेटर फुकालेर अघि झोलामा हालेर ल्याएको ज्याकेट लगाउँछ । त्यसपछि त्यो नयाँ छाता खोलेर जोडजोडले कराउँछ, “टुडे, आइ एम गोइङ टु एक्सपिरियन्स दि फस्ट रेन अफ अप्रिल एन्ड आइ एम सो ह्यापी !”
त्यो छाता रविले पैसा बचत गरेर पोहोर साल दिसम्बर महिनामा नै किनेको हो । त्यो छाता घरको कसैले पनि देखेको छैन । ऊ धेरै बेरसम्म जङ्गलका खोल्चाखोल्ची हुँदै घुमिरहन्छ, तर त्यो दिन पानी पर्दैपर्दैन । बरु दिनको मध्याह्नदेखि उज्यालो भएर आउँछ । आकासका त्यत्रा बादलहरू कहाँ गए त्यो उसले थाहै पाउँदैन । त्यो दिन ऊ निराश भएर स्कुलको छुट्टी हुने बेलामा ठिक्क घर फर्किन्छ । घरमा आएर आँखाभरि आँसु बनाई आफ्नो कोठाको खिड्कीबाट बाहिर हेरिरहन्छ । त्यसरी बिहान दिन धुम्मियो वा पानी पर्ने सम्भावनाजस्तो लाग्यो त ऊ त्यो छाता लिएर जङ्गलतिर लागिहाल्छ ।
अप्रिल महिनाको त्यो एउटा सोमवारको दिन पानी बिहानदेखि सिमसिम पर्न थाल्छ । घरकाहरूले आज पानी जोडले पर्ने रहेछ भनेर पुराना छाताहरू खोजेर निकाल्न थाल्छन् । छोरालाई छाता लगेर स्कुल जाऊ भन्नलाई आमा छोराको कोठामा पस्दा त छोरा अघि नै स्कुल गइसकेको रहेछ । छोरा यस्तो प्रतिकूल मौसममा पनि स्कुल जानु गाह्रो नमानेको देखेर आमाको छाती गर्वले फुलिएर आउँछ । छोरालाई एउटा राम्रो छाता किनिदिने मनमनै निर्णय लिन्छिन् ।
त्यो दिनचाहिँ गुराँसे डाँडा पुग्दा नपुग्दा पानी जोडले पर्न थाल्छ । रविले खुशी हुँदै छाता खोल्छ र गाउँदैनाँच्दै डाँडा पुग्छ । डाँडाबाट तल गाउँतिर फर्किएर जोडजोडले कराउँछ—“पानी पर्यो मैले नयाँ छाता ओड्न पाएँ । अप्रिल महिनाको पहिलो बर्षाको सबैमा शुभकामना !” त्यहाँबाट ऊ भाले ढुङ्गातिर लाग्छ अनि त्यहाँबाट फूलबारीतिर । उसले त्यो दिन बाटामा आलूदम र मोमो, गोलगप्पा अनि आइसक्रिम पनि खान्छ । त्यो एउटा दिन उसले आफ्नो मनले चाहेजस्तो बिताउँछ ।
बेलुकी रवि उज्यालो अनुहार लिएर घर फर्कान्छ । बाटामा घर फर्किरहेको अर्कै स्कुलको एकजना विद्मार्थीले उसलाई लुथ्रुक्क भिजेको देखेर इशाराले सोध्छ, “के पारा हो?” उत्तरमा उसले मुसुक्क हाँसेर नयाँ छाता देखाउँछ । ऊ घर नपुगी उसको एकजना सहपाठीले स्कुलबाट अभिभावकलाई बोलाइपठाएको पत्र घरमा दिइसकेको हुन्छ । ऊ जस्तो घरभित्र पस्छ उसले परिवारका सबैले उसलाई नै पर्खिएर बसिरहेका पाउँछ । सबैले ऊ पाँच दिन स्कुल नगएर कहाँ गयो भनेर सोध्न थाल्छन् । आमाले त झन् रुँदै उसलाई थप्पडै-थप्पड लगाउँछिन् तर ऊ भने चुप लागेर उभिरहन्छ । उसको त्यस्तो व्यवहार देखेर सबै छक्क पर्छन् । परिवारको कसैले पनि ऊबाट त्यस्तो अपेक्षा राखेको नै थिएन ।
रवि स्कुल नगएर कहाँ गयो होला र किन गयो होला भन्ने प्रश्नहरू परिवारका मनमा खेलिरन्छन् । केही समयपछि आमाले उसका निम्ति भनी ल्याएकी छाता लिएर उसलाई सोध्न र सम्झाउन कोठामा जान्छिन् । उसले डराई-डराई आफ्नो फूलबुट्टे छाता देखाउँदै आमालाई सारा कुरा विस्तारसित बताउँछ । आमा हाँस्नु कि रुनु हुन्छिन् । उसका कुरा सुनेर परिवारका सबै सदस्यहरू स्तब्ध बन्छन् ।
भोलिबिहानै आमा उसको कोठामा आउँछिन् तर ऊ भने मस्त निदाइरहेको हुन्छ । आमाले बिस्तारोसित, उसले चाल नपाउने गरी, त्यो फूलबुट्टे छाता निकालेर माथि छतमा चड्छिन् । पानी सिमसिम परिरहेको रहेछ । छाता खोलेर राम्ररी निरीक्षण गर्छिन्, त्यसपछि तलतिर हेर्छिन्—तलतलका गाउँघरहरूलाई कुइरोले ढकमक्क ढाकेको रहेछ अनि डाँडामा रात्तै भएर मुस्कुराइरहेका गुराँसका बोटहरू माझमा सेत्तै भएर फुलेका चाँपका फूलहरू सिमसिमे पानीमा रमाइरहेका रहेछन् । एकछिनपछि के सोचेर होलिन् कुनि छाता मारेर गुराँसे डाँडातिर हेर्दै आमा आफैँसित एकपल्ट मुसुक्क हाँस्छिन् ।
दार्जीलिङ