जोसित युद्ध लड़िरहेछु
उसको अनुहार
मेरै दाज्यू-भाइसित मिल्छ
उसका आँखामा
हामीले सानामा खेल्दा
हाँस उठेर आएको पानी
अझै पनि सुकी नसकेको देखिन्छ,
तर मैले उसैसित
लड़न पर्छ
बिहान घाम उदाएपछि
शङ्ख बजेपछि
म ऊविरूद्ध
आक्रमणमा चिच्याउँदै
अघि बढ़नुपर्छ
हाम्रो घमाशान हुन्छ
चोटग्रस्त
रगतैरगत
जब साँझ ढल्छ
शङ्ख बज्छ
म उसको शिविरमा
मलमपट्टी गर्न पुग्नपर्छ
नत्र त यो युद्ध
हिंसात्मक सिद्ध हुनेछ।
नत्र त यो युद्ध
हार अनि जितको हुनेछ।
उसको चोट धोइदिएर
एक दुई थोपा आँसु
उसले नदेखी खसेपछि
जब मन हलुका हुन्छ
फेरि भोलिको युद्धको निम्ति
यी हातगोड़ा सबल हुनेछन्।
उसले देख्दैन
म अश्रुपूर्ण नेत्रले
ऊमाथि प्रहार गरिरहेको हुन्छु
उसले देख्दैन
त्यहाँ एउटा रूढ़ घेरा छ
ममाथि प्रहार गर्दै
ऊ अझ
त्यही चक्रव्यूहभित्र आफैं
ठेलिँदैठेलिँदै पस्दै हुन्छ
म उसलाई घाइते बनाउन चाहन्छु
ताकि ऊ
पीड़ाले छट्पटिएर
बाँच्नुको मोहले
घस्रिँदै भए पनि बाहिर आओस्
म ऊमाथि
भाला, बर्छा, तीरहरू हान्छु
उसले हानेका
गहिरा गहिरा घाउका डोबहरू
मसित पनि सुरक्षित छन्
छात्तीमा।
मैले आइया, आत्था गर्नुहुँदैन
किनभने उसलाई लाग्नेछ कि
म उसको प्रहार-चोटले दुःखेर
ऊसित लड़िरहेछु।
बदला फेर्नलाई
ऊसित भिड़िरहेछु।
यस्तो होइन।
यदि उसलाई म आहत बैरी रहेछु
भन्ने लाग्यो भने
उसले झनै आत्मविश्वास हराउने छ।
जीवनप्रतिको भरोसा हराउने छ
र अझ दुर्बल हुनेछ
मानसिक दबावले।
तर सत्य हो
यदि ऊ हार्न चाहेन भने
उसले
आफ्नो जीवन
सन्तति र गरिमा-गौरव
सब हार्ने छ।
यो युद्धमा उसले जब
सर्वाङ्ग हार्ने छ
तब मात्र ऊभित्र उदय हुनेछ
एउटा सिङ्गो सम्राट।
खालि उसका आँखाको दानामा
लागेको पातलो झिल्ली
उप्काएर बिस्तारै च्यात्न सक्यो भने
ऊ आफूले
युद्ध मैदानमा होइन आफूलाई
टयूलिप बगानको बिचमा पाउने छ।
त्यस दिन उसको आँखामा आँसु हुनेछ
अनि
ओठमा मुस्कान।
हात हुनेछ
फैलिएको वरको हाँगा झैँ
अँगालेर गुलाबी आकाश।
म
ऊसित उसको
यही कुराहरूलाई बचाईदिन
युद्ध लड़िरहेछु।
मलाई थाह छ
स्पष्टतः थाह छ
यस युद्धबाट
म आफूले कुनै सत्तापाट कमाउनु छैन।
यी घाउहरू जो लागेका छन्
ती नै मेरा
गर्विला उपलब्धिहरू हुनेछन्।
स्वार्थबिना कसरी काम हुन्छ ?
के छ स्वार्थ ?
भनेर सोध्नेलाई भन्दिनू
मेरो स्वार्थ छ
यो युद्धको।
म यही युद्धद्वारा
मातृऋण र पितृऋणबाट उऋण हुनचाहन्छु।
माटोबाट मेरो शरीर बनाइदिने
ती सम्पूर्ण चेतना र पदार्थलाई
दृश्य र दर्शनलाई
प्रेरणा र प्रवाहलाई
उसको छोरा
उसको भरोसा
उसको हित
उसको कृति/कीर्ति
उपहारको रूपमा फर्काउन चाहन्छु।
ताकि फुलैबारी होस्
सर्जकको सृष्टि ।
कोही बेला भाँचिन्छ
अमृतकै हाँगा पनि
लहरा झिक्दा ।
बोटले सहने छ त्यति दु:खाइ।
यो इँटाको कुरा हो
र पो पर्खालको कुरा हो
भरको कुरा हो ।
म पनि दुःखेको छुइन
घाउ र पीड़ा कहाँ
एउटै र परिपुरक हो र ?
घाउ त फूल हो
जसरी कोपिला फुटेर फूल हुन्छ
त्यसरी नै सग्लो छाला
च्यात्तिएर घाउ हुन्छ।
उसले मलाई फूलहरू दिइरहेछ
जसले मलाई तीर हानिरहेछ
म फूलहरूबिच
मौन साधनामा लीन छु।
अनि पीड़ा
पीड़ा त त्यहाँ पनि हुन्छ
जहाँ घाउ हुँदैन
उसलाई पीड़ा छ भने
घाउ बिनाको पीड़ा कसरी हुन्छ
वा निको कसरी हुन्छ ?
म यति मात्र नजर
उसलाई गराउन चाहन्छु।
ताकि उसले
औषधीको खेती गर्न सकोस्।
यसैले म उसित
निर्द्वन्द्व द्वन्द्व बाँचिरहेछु।
रगत बग्योे त के भयो
आहत भयो त के भयो
लड़यो, पछारियो, ठोक्कियो
त के भयो
म ऊसित
धरती साक्षी राखेर
युद्ध लड़िरहेछु।
आकाशलाई उभिन लगाएर
नदीलाई सुसाउन लगाएर
हावालाई फुक्न लगाएर
कपनालाई प्रार्थना गर्न लगाएर
यो युद्ध लड़िरहेछु।