१. विषय परिचय
आदिकवि भानुभक्त आचार्य (जीवनकालः१८७१–१९२५) नेपाली काव्य साहित्य विधाको प्राथमिक कालअन्तर्गत पर्ने भक्तिधाराका केन्द्रीय कवि हुन् । उनको रामायण, रामगीता, भक्तमाला, बधूशिक्षा र फुटकर कविता आदि सङ्गृहीत भानुभक्तको रामायण (२०३९) प्रकाशित छ ।
यो कृति रचना गर्दा नेपालमा भीमसेन थापाको पतन, थापा र पाँडेहरूको संघर्ष र सामान्य राजनीतिक अवस्थाको अस्थिरताले देशमा स्पष्ट आदर्शको अनिश्चितता आदिको यो परिणाम भयो कि देशको समान्य वर्गले घोर अस्तव्यस्त र अशान्तिमा आफ्नो बाटो फैलाउन सकेन । शिक्षाको न्यूनताले संस्कृतको अवहेलना गरायो, निराशावाद र प्रबल विधर्मी शत्रुको भय र त्रासले सामान्य जनतालाई रामको मर्यादामा घोप्ट्यायो । फलतः भानुभक्तले बाल्मीकीय रामको शुद्घ आदर्शलाई छाडी आध्यात्म रामायणलाई नेपाली भाषामा भावानुवाद गर्न पुगे । (शर्माः२०४४;५९)
उनको रामायण, रामगीता, भक्तमाला र फुटकर कवितामा रामको चरित्र वर्णन छ । उनका यी कृतिमा ईश्वरको साक्षात् वा साकार रूपको वर्णन छ । त्यसैले यिनी सगुण भक्तिधारा अन्तर्गत रामभक्ति धाराका कवि हुन् । यिनको काव्य कृतिमा नीतिपरकता, आध्यात्मिक चेतना, व्यावहारिक ज्ञान, औपदेशिकता आदि पाइन्छ । यिनको राम चरित्र वर्णित रामायणमा पितृभक्ति, देशभक्तिको, पतिभक्ति, भ्रातृप्रेम आदि प्रस्तुत भएका छन् ।
नेपालको इतिहासमा सन् १८१४ देखि १८१६ सम्म नेपाल अङ्ग्रेजबिच युद्घ भएको थियो र वि.संं १८७२ मा नेपाल र अङ्ग्रेजबिच सुगौली सन्धि पनि भयो । यस सन्धिले नेपालको महत्वपूर्ण भूमि गुम्न पुग्यो । यसले वीर नेपालीको मानसिकतामा गहिरो पीडा प¥यो । यही युद्घबाट परेको प्रभाव धोई पखाली आध्यात्म भावतिर उन्मुख गराई चित्त शान्त बनाउन भानुभक्तको काव्य कृतिले मद्दत गर्न पुग्यो ।
आचार्यद्वारा रचित बधूशिक्षा सन् १८६२ अर्थात् वि.सं. १९१९ मा लेखिएको काव्य हो (शर्माः२०४८;३९) हाल यो रचना भानुभक्त रामायण कृतिमा सङ्गृहीत छ । यो पृष्ठसङ्ख्या २३८ देखि २४१ सम्म विस्तारित छ । जम्मा चार पृष्ठमा छापिएको यो रचनामा चार हरफको श्लोक छ । यसमा जम्मा ३३ श्लोक छन् । यी श्लोकहरूमध्ये अघिल्लो तिन श्लोक प्रस्तावना खण्डको रूपमा र ३० श्लोक उपदेश खण्डको रूपमा रहेको छ । उपदेश खण्डका रूपमा रहेको ३० श्लोकमा पनि श्लोक ३१, ३२ र ३३ श्लोक बधूशिक्षा रचना कारण उल्लेख गरिएका श्लोक हुन् ।
२ भानुभक्तकालीन राजनीतिक तथा सामाजिक अवस्था
वि.सं. १७७९ मा जन्मिएकां राजा पृथ्वीनारायण शाह गोरखाको राजगद्दीमा १७९९ मा आसीन भएपछि १८०१ बाट नेपाल एकीकरणको प्रयास थालनी भई वि.सं. १८५८ अर्थात् ५७ वर्षसम्म चलेको थियो । यस कालावधिमा नेपालले सीमा पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म गरी ७०० माइलसम्मको क्षेत्रलाई आफ्नो भूभाग बनाएको थियो । नेपालको अङ्ग्रेजसँग युद्घ सन् १८१४–१६ सम्म भएको थियो र त्यस युद्घमा नेपालले धेरै धनजनको लगानी गरेको थियो । तर सन् १८१६मा अङ्ग्रेजसँग नेपालको दरवारबाट अप्रत्यासित सन्धि भयो । यस सन्धिको परिणाम नेपालको पक्षमा रहेन । नेपालले यस सुगौली सन्धिमा झण्डै ४० हजार माइल भूभाग गुमाउनु प¥यो (स्टिलरः१९७५;३६७ ) । यसरी नेपालले आफ्नो भूभाग गुमाउनुको तत्कालीन अन्य विविध कारण भए पनि महत्वपूर्ण कारण भनेको दरवारभित्र रहेको आपसी कलह, बैमनस्यता, जनताहरूबिच रहेको फुट, दरवारिया व्यक्तिमा रहेको स्वार्थीय प्रवृत्ति मुख्य कारणको रूपमा रहेको देखिन्छ (शर्माः२०५१;१३४) । नेपालको अङ्ग्रेजसँग भएको यो युद्घ र सुगौली सन्धिको समयमा राजा राजेन्द्र थिए भने प्रधानमन्त्री भीमसेन थापा थिए । भीमसेन थापाको समयमा नेपालको राजनीति शान्तिप्रद देखिन्न । उनको उदय नै हिँसा र मारकाटबाट भएको देखिन्छ भने अन्त पनि मारकाटबाट नै भएको छ । उनको समयमा नेपालमा सुगौली सन्धि अनुरूप काठमाडौंमा अङ्ग्रेज रेविडेन्ट हडसन रहन थालेका थिए र उनले नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्ष्ोप गर्न थालेका यिए । उनले नै नेपालमा गुटबन्दीको शासनलाई प्रश्रय दिन थालेका थिए (शर्माः२०५१;१३५) । जस अनुसार नेपालको राजदरवारमा राजेन्द्र गुट, साम्राज्यलक्ष्मी गुट, राजेन्द्रको कान्छी श्रीमती राज्यलक्ष्मीदेवीको गुट, थापा गुट, पाँडे गुट, चौतारा गुट, ब्राह्मण गुट (शर्माः२०५१;१३४÷१३५) जस्ता गुट रहेका थिए । यस्ता गुटहरू सक्रिय रहनुमा पनि रानीहरूको स्वार्थ प्रमुख देखिन आउँछ । त्यसै गरी गगनसिंह प्रधानमन्त्री भएको समयमा पनि दरबारिया कलह उग्र थियो, जसको कारण नेपालको राजनीति अवस्था, जनताको मानसिकता र सामाजिक अवस्था अवहित्था थियो । जङ्ग बहादुर राणाको प्रधानमन्त्रीकोे समयावधिमा यो कलह चर्को बन्न पुग्यो । नेपाल इतिहासको कोतपर्व, भण्डारखाल पर्व, अलौपर्व यी सबैले नेपालको अवस्था भयरहित थिएन । यी सबैको कारण पनि दरबारिया षड्यन्त्र, राजेन्द्र शाहको कान्छी पत्नी लक्ष्मीदेवी शाहको स्वार्थीय प्रपञ्च नै थियो । यसरी राज परिवारमा देखिएका कलहको कारण नारी मनमा उव्जिएको ईष्र्या, आफ्नो स्वार्थपूर्ति गर्ने चाहना नै हो । यो चाहनाको लिप्सा दरवारमा मात्र सीमित थिएन । यसको प्रभाव दरवार बाहिर जनसमाजमा पनि थियो ।
भानुभक्तको समयावधिमा नेपालमा नेपालको दण्ड प्रणाली कठोर भएको कारणले इस्ट इन्डिया कम्पनि सरकारले नेपालसँग अपराध सुपुर्दगी सन्धि गर्न मानेको थिएन (शर्माः२०५१;१३५) भने नेपालभित्र त अझै कडा दण्ड प्रथा रहेको देखिन्छ । तर नेपालमा जङ्गबहादुर बेलायतबाट फर्केपछि विस ं१९१० मा लिखित ऐन प्रकाशन गरे । यस ऐनमा चोरी, डकैती, ठगी गर्ने व्यक्तिलाई पनि सजायको व्यवस्था गरिएको देखिन्छ ।
जङ्गबहादुरको समयमा सती प्रथा रोक्ने प्रयास भएको देखिन्छ । यसका लागि ऐनमा १६ वर्ष उमेर नपुगेकी विधवा, दोजिया, धेरै लोग्ने भएका पत्नी सती जान नपाउने, छोराको मृत्युमा आमा र कुमारीहरू सती जान नपाउने नियम बनाइएको थियो । यस आधारमा नेपालमा सती प्रथाको नियम बने पनि लागु नभएको देखिन्छ । उल्लिखित बाहेक अरू सती जाने प्रथा नेपालको कानुनबाट नहटेको देखिन्छ । यसका साथै नेपालमा जुवा खेलको बिगबिगी रहेकाले जुवा खेलाउँदा साहु बसेर हार्दा पनि साहुलाई रकम तिर्न नपर्ने नियम बनाइएको देखिन्छ । दासप्रथालाई निरुत्साहित पार्न पनि नयाँ बस्ती हालको अमलेखगन्जमा गएर बस्नेलाई दासबाट मुक्ति दिइएको र मसिन्या बाहेक अरू जातिलाई दास बनाउन नपाइने नियम बनाइएको देखिन्छ । यसबाट नेपालमा दास प्रथा निर्मूल नभएको देखिन्छ । यसै बिचमा नेपाली साहित्यमा आदिकवि मानिएका भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ म भई देहावसान १९२५ मा भएको हो । यसै कालावधिमा भानुभक्त रचित बधूशिक्षालाई हाल नारीवादी दृष्टि, प्रगतिवादी दृष्टिले हेरी उपेक्षा भएको स्थितिमा साहित्येतिहासको दृष्टिले अध्ययन गरिएको छ ।
३ साहित्येतिहासको परिचय र तत्वहरू
साहित्य इतिहास एक किसिमको इतिहास हो । यसमा साहित्यलाई साहित्य लेखिएको समयको आधारमा हेरिन्छ । यसबाट कृति लेखिएको समयमा कृतिलाई सामाज, राजनीति, संस्कृति आदिले पारेको प्रभावलाई इतिहासको आधारमा पर्यावलोकन एकातिर गरिन्छ भने अर्कातिर साहित्यमा प्रस्तुत समाजको आधारमा कृति लेखन कालको सामाजिक अवस्था हेरिन्छ । साहित्येतिहासलाई सामाजिक–सांस्कृतिक मूल्यहरूका कालजन्य तथ्यहरूको शृङ्खलाबद्घ अनुसन्धानको परिणाम मान्न सकिन्छ भनी इ.एच.कार, आर.जी.कलिङउड, एरिक कहलर, ह्यरि रिटरले बताएका छन् (श्रेष्ठः२०६१;३०) । त्यसै गरी दयाराम श्रेष्ठका अनुसार इतिहास लेखनको रैखिक प्रतिरूप साहित्येतिहासमा पनि प्रतिबिम्बित हुने र राष्ट्रिय इतिहासको गतिसँगै यसको पनि रेखाचित्रात्मक अभिकल्प हुनेहुँदा यसलाई सांस्कृतिक मान्यता प्राप्त मानव अभिलेख मान्नु पर्छ (श्रेष्ठः२०६१;३०) ।
साहित्येतिहास रचना गर्ने व्यक्ति पनि इतिहासकार नै हो । त्यसैले उसले इतिहासको मर्यादा, आदर्श र अनुशासनलाई पूर्ण रूपमा स्वीकार गर्नु पर्छ । यस अवस्थामा ऊ गौण रूपमा मात्र समालोचक वा साहित्यकारको रूपमा रहनु पर्छ । त्यसैले साहित्येतिहास रचना गर्दा इतिहासकारको र इतिहास दुवैमा सापेक्ष सम्बन्ध रहनु पर्छ । यदि साहित्येतिहास रचना गर्दा व्यक्ति इतिहासकार प्रधान र समालोचक गौण भएमा इतिहास इतिहास नभएर इतिहासको नाममा परिहास बन्छ भने यसको विपरीत भएमा पनि इतिहास लेखन खण्डित हुन्छ । साहित्येतिहास लेखन पश्चमुखी समयमा बसेर अतीतमा विचरण गरी मूल्य निक्र्यौल गर्नुपर्ने भएकोले यो कार्य सहज छैन । इतिहासकारसँग ऐतिहासिक तथ्य मात्र रहन्छ । इतिहासका तथ्य आफै वाचाल हुँदैनन् । यसलाई वाचाल बनाउन इतिहासको अध्ययन गर्ने रूपाधार निर्माण गर्नु पर्छ । इतिहासको तथ्यलाई अध्ययन गरी साहित्येतिहास लेख्नका लागि प्रक्रियागत अङ्गीभूत तत्वलाई समाहित गर्नु पर्छ । साहित्येतिहासका अङ्गीभूत तत्वहरू यस प्रकार छन् (श्रेष्ठः२०६१;३१–४०)ः
क ) कालविभाजन
ख) कार्य–कारण सम्बन्ध
ग) जीवनी
घ) विविध
अ) मूल्यनिर्णय
ः आ) कल्पना
इ) इतिहासवाद
४ साहित्येतिहास तत्वको आधारमा विश्लेषण
भानुभक्तले बधूशिक्षा एक थोक भन्छु नमान्नू दुःख मनमा हे मित्र तारापति भनी तारापतिलाई सम्बोधन गरी लेखिएको रचना हो । यो सम्बोधन प्रस्तावनामा छ । यसमा काव्य सिर्जनाको पृष्ठभूमि र परिवेश छ । आचार्य भानुभक्त मित्र तारापतिको घरमा वास बस्दा तारापतिकी पत्नी र बुहारीबिच रातभर दन्तबझान हुन्छ । यस दन्त बझानले एकातिर तारापतिको इज्जत सङ्कटमा पर्छ भने अर्कातिर एक दिन पाहुनाको रूपमा वास बस्न पुगेका आचार्य सुत्न पाउँदैनन् ।
वि.सं. १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर तरफ् जान लाग्दा बाटामा एकदिन इनका मित्र तारापति उपाध्याय व्राह्मणसित भेट भयो र ‘आज मेरा घरमा बास बस्नुहोस्’ भनी भन्दा वास बस्ने बखत् भयेको थियेन तापनि मित्रको आग्रह देखी निज तारापतिका घरमा बसे । घडी दसेक् रात् चढेदेखि तारापति उपाध्यायकी ब्राह्मणी र बुहारीले ठाकठुक गर्न थाले । भर्रात झगरा भयाको सुनी बडा रिसले तसै रातभरिमा बधूशिक्षा भन्ने ग्रन्थ तयार गरेँ (भट्टः२०५१;१९)।
यसरी सासू र बुहारी नारीबिच भएको झगडाले एकातिर घरको इज्जत बाहिरिएको र अर्कातिर परिवारमा तनाव उत्पन्न भएको देखी कविले व्यावहारिक ज्ञान, नैतिक उपदेश दिने अभिप्रायका साथ प्रस्तुत काव्य सिर्जना गरेको देखिन्छ । यो प्रस्तावनालाई दृष्टिगोचर गरी नेपालको इतिहाससँग सन्दर्भित गर्ने हो भने तारापतिले शाब्दिक अर्थमा रातमा आकाशमा उदाउने चन्द्रमा बोध गराउँछ । यसले ध्वनिगत अर्थमा दरबारिया कलह र झगडाले नेपालको राजनीतिमा रात परेको बताउँँदै अन्धकारको मालिकको रूपमा रहेका शासक वा तारापतिलाई झगडाको फाइदा अरूले (विदेशी हडसन जस्ता) उठाउन सक्ने कुरा बोध गराउँदै यो काव्य लेखेको देखिन्छ । यसरी नेपालरूपी घरमा झगडा पर्दा घरको इज्जत बाहिर जाने स्थितिमा कवि हृदयले सचेत हुन यस काव्य मार्फत आग्रह गरेका छन् । संस्कृत पढेलेखेका, काठमाडौं आइरहने भानुभक्तको कवि हृदयले एकातिर आफ्नो मित्र तारापतिको घरमा जाँदा भएको दन्तबझान सुनेपछि र अर्कातिर दरबारिया कलहको कारण जनता रातभर ढुक्कसँग सुत्न नसकेको स्थिति बुझेपछि एक तीरबाट दुई सिकार गर्न उनले बधूशिक्षा रचना गरेको देखिन्छ । त्यसमा पनि सचेत वर्ग कुनै पनि बेला दरवारको सिकारमा पर्न सक्ने स्थिति देखी कविले भर्रात जाग्रन झैँ भयो मकन ता लागेन आँखा कसै भन्दा पनि यही स्थिति ज्ञापन गराएका छन् । कविले यदि घरायसी झगडामात्र इङ्गित गरेका भए झगडा पर्दा तारापति लाजमर्दो स्थिति भएर भागेको वा मित्र आचार्यकहाँ माफ माग्न आउन पर्ने थियो तर त्यसो भएको उल्लेख कवितामा देखिन्न । बरु आचार्यले भोलिपल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित विदावादी भै कविजी जान लाग्दा तारापतिलाई बधूशिक्षाका ३ श्लोकको एक्पुर्जी दीकन बाटा लागे (भट्टः२०५१;१९) । यसका साथै आचार्यले लेखेको बधूशिक्षा तारापतिलाई सबै नदिई प्रस्तावनाको तिन श्लोक मात्र दिए । त्यसैले यसमा तारापतिको घरको मात्र चर्चा नगरी कवि हृदयले तात्कालिक देशको युगीन स्थिति पनि प्रस्तुत गरेका थिए भन्न सकिन्छ । साथै पाहुना लाग्न गएको घरमा नै झगडा पर्दा कोलाहलमा कविले पूर्ण काव्य सिर्जना गरे भन्न सकिँदैन । यस कोणबाट पाहुना लाग्न गएको आचार्यले घरको झगडादेखि सचेत भई तारापतिको घरमा झगडा परेर घर बिग्रन लागेजस्तै नेपालको दरबारमा परेको झगडाले नेपालको अस्तित्व सङ्कटमा पर्न सक्ने आभास गर्न पुगे । त्यसमा पनि भीमसेन थापाको पालामा रहेको गुटले ब्राह्मणको बिर्ता धमाधम खोसिरहेको स्थितिमा कवि आचार्यले सबैलाई सचेत बनाउने उद्देश्यले यो कृति रचना नगरे भन्न सकिन्न । घरवार भनेको परिवार हो । सचेत हृदयका लागि देश पनि परिवार हो र विश्व पनि परिवार हो । वास्तवमा परिवार भनेको भनेको आपसी मेल हो । परिवारको मेल इज्जत हो । यो मेल तात्कालिक परिस्थितिमा कविले तारापतिको घरमामात्र गराउन नखोजी नेपाल भरका परिवार अझ नेपाललाई नै तालिम गर्न सकिन्छ कि भन्ने अभीष्टका साथ रचना गरे ।
साह्रै झोक उठयो मलाई र बधू शिक्षा बनायाँ पनि
यस्ले पत्नि, बुहारि, छोरिहरूको तालिम गरौला भनी ।
उपर्युल्लिखित कवितांश मनन् गर्दा कवि आचार्यले तारापतिको घर मात्र सपार्ने सोच नराखी सबै नारीलाई घर बनाउनका लागि सचेत गराउन यो काव्य लखिएको देखिन्छ । उनले यसमा बुद्घिमान् नारीको तारिफ गर्दै घर चतुराञि गर्छन् बुद्घिमानले अगाडी उल्लेख गरेबाट पनि यही कुरा पुष्टि हुन्छ । साथै कविले यस कृतिमा नारीको भत्सर्ना मात्र गरेका छैनन् । असल र बुद्धिमान् नारीको प्रशंसा पनि गरेका छन् ।
आचार्यद्वारा रचित बधूशिक्षा बुहारीको विषयमा नै पूर्णत केन्द्रित छ । यसमा बुहारीले परिवारमा निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्व बोध गराइएको छ । लैङ्गिक समानताको धारणा आउनु पूर्व खास गरी भक्तिवादी युगमा लेखिएको यस कृतिमा तात्कालिक पितृसत्तात्मक समाज, धर्म, संस्कृति, सगोल परिवारमा रहँदा बुहारीले सासू, पति, देवर, देउरानीप्रति राख्नुपर्ने दृष्टिकोण नोकरचाकर, अतिथि आदिप्रति निर्वाह गर्नुपर्ने व्यवहार र सत्कारलाई आग्रहका साथ उपदेशात्मक रूपमा प्रस्तुत गरिएको छ । औपदेशिकताले यस रचनालाई आदर्शको धरोहर बनाए पनि यस कृतिले तत्कालिक राजनीति, सामाजिक जीवनसँग तादात्म्यता राखेको छ । यसलाई साहत्येतिहासको कालगत, कार्यकारणगत सम्बन्ध, कल्पना आदिको आधारमा अध्ययन गर्नुपर्ने देखिन्छ ।
४.१ कालगत आधारमा
कुनै पनि कृतिको विश्लेषण गर्दा वर्तमान दृष्टिले नहेरी त्यस कृति लेखनको काललाई आधार मान्नु पर्छ । साहित्य पनि ऐतिहासिक दस्तावेज भएकोले कृति लेखन समयको इतिहासलाई आधार मानी यसको विश्लेषण गनुपर्छ । कृतिलाई ऐतिहासिक तथ्यबाट मूल्य निर्धारण गनुपर्ने कुरा दृष्टिगत गर्दै ह्यारी रिडरले काल विशेषका समस्याहरूको ऐतिहासिक तथ्यबाट व्याख्या गर्नुपर्ने कुरामा जोड दिएका छन् (श्रेष्ठः२०६१;३१) । यस आधारमा आचार्य रचित बधूशिक्षा १९१९ सालमा लेखिएको हो । नेपाली साहित्यको कालविभाजनलाई आधार मान्ने हो भने यो कृति भक्तिवादी धाराकै उपज हो । आफ्ना कृतिबाट भक्तिमा प्रवृत्त हुन आग्रह गर्ने आचार्यको यस कृति पनि भक्तिवादबाट अछुतो छैन । रामभक्त आचार्यले बधूशिक्षामा पतिभक्त र पारिवारिक भक्त मन नपराउने बधू देखेपछि पारिवारिक मेल कायम गराउन आदर्शकृत परिवार बनाउन घरकी बुहारीले सासू, पति तथा अन्य मान्यजनप्रति गर्नुपर्ने भक्तिलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । यसका लागि कृतिमा पति, पितृ, अतिथि भक्तिप्रति जोड दिएका छन् । यस कृतिबाट आचार्यले नारीप्रति कुदृष्टि राखेका नभई आदर्श घर निर्माणमा योग्यताक्रम अनुसार सम्मान गर्नुपर्ने भाव प्रकट गरेका छन् । यो भाव भक्तिधारा प्रवृत्तिको एउटा अंश मात्र हो ।
४.२ कार्यकारण सम्बन्धको आधारमा
साहित्यिक कृतिको स्थान निर्धारणको आधार कृतिकारको समाज हो । ंजुन समाजमा स्रष्टा रहेको हुन्छ, कृतिमा त्यसको प्रतिच्छाया परेको हुन्छ । त्यसैले कृतिको विश्लेषण गर्दा युगीन कृतिकारको सामाजिक, राजनीतिक घटना र परिवेशको जानकारी हुनुपर्छ । नियतत्ववाद अनुसार घटनाहरू निश्चित कारणका अत्याज्य परिणाम हुन् । मानव जाति अस्तित्वमा आएदेखि नै मानिसमा कुन विश्वासले प्रभाव पार्दै आएको छ भने घटनामा कुनै न कुनै चिजको चाँजोको हात हुन्छ (श्रेष्ठः२०६१;३५) । यस आधारमा कृतिमा प्रस्तुत घटना सामाजिक घटनाका प्रतिरूप हुन् । साहित्यिक समाज, मानवीय समाज अझ कृतिकारले देखे, भोगेको र सुनेको समाज हो । त्यसैले कृतिको विश्लेषण गर्दा कृतिमा प्रस्तुत घटनाको समाजसँग कार्यकारण सम्बन्धको आधारमा हेर्नुपर्छ । यस आधारमा बधूशिक्षालाई हेर्दा घर भनेको परिवार मात्र नभई देश पनि हो । घर भनेको कलह होइन शान्ति हो । शान्तिका लागि सहनशीलता आवश्यक छ । सहनशीलता आदरक्रममा निहित रहन्छ । साथै सहनशीलता बढ्ता नारीमा रहने हुँदा घरपरिवार भनेको पुरुषको दृष्टिमा नारी हो । नारी सहनशील, क्षमाशील, मर्यादित भए घरपरिवार असल र आदर्शकृत हुन्छ । जुन घरमा लक्ष्मी लक्ष्मीबिच नै दन्तबझान हुन्छ, त्यस घरमा श्री रहँदैन । घरमा श्री हुन आदर गर्नुपर्नेलाई आदर गर्नुपर्छ । पाथीभित्र मानो छिर्छ मानोभित्र पाथी छिर्दैन । त्यसै गरी बुहारी सासूप्रति मर्यादित रहनु पर्छ भन्ने भाव यस रचनामा व्यक्त छ । यसरी घरलाई आदर्श बनाउन यो रचना भानुभक्तले लेखेको देखिन्छ ः
धन इज्जत घरवार देख्छु बढिया छैनन् कुनै चिज कमी
बूहारी कर्कशा हुन गया क्या घर गरौला तिमी ।
प्रस्तुत कवितांशमा घरको इज्जत जोगाउन बुहारी असल, मर्यादित, कर्कशा रहित हुनुपर्ने भाव व्यक्त छ । यस तथ्यलाई ऐतिहासिक आधारमा हेर्ने हो भने यस कृतिको रचनाकालमा ख्रिस्तान धर्मको प्रभाव हिन्दु धर्ममा विस्तारै परेको देखिन्छ भने अर्कातिर परिवार, समाज र राष्ट्र नै आधुनिकताको नाममा खण्डित हुँदै थियो । यसै कुरालाई लिएर विश्वराज पाण्डेले पनि भानुभक्तको बधूशिक्षा र नेपाली नारी रचनामा आज नवीनताको नाममा भ्रान्ति, लोकप्रियताको नाममा बेमेलका तर्कहरू उत्पन्न भएर अघि बढ्न खोज्ने नेपाली नारीलाई धेरै कुरा कि त देखाउनु परेको छ कि सम्झाउनु परेको छ । यस स्थितिमा आदिकवि भानुभक्त आचार्यले लेखेका बधूशिक्षा उपयोगी सिद्घ छ (पाण्डेः २०६१;५०) भनेका छन् । उनको यो उपयोगी ठम्याई तात्कालिक नेपाली समाजलाई हेरेर भएको देखिन्छ । यसै गरी बुहारी प्रत्येक दिन सिँगारिनुपर्ने, घर व्यवहारमा देखिएका काम गर्नुपर्ने, नोकर चाकरलाई अधीनमा राख्नुपर्ने भाव व्यक्त छ । यस आधारमा यस कृतिमा नोकरलाई ठिक ठाउँमा राख्न पर्ने भावले यसले उच्च खानदानी परिवारलाई देखाएको छ । यो नोकर राख्ने चलन गाउँमा होइन सहरमा छ वा उच्च खानदानमा रहन्छ । त्यसैले यो रचनाले तारापतिको परिवारलाई मात्र देखाएको छैन । यहाँ त नोकरलाई ठिक ठाउँमा राख्नुपर्ने काम नारीको देखाइएको छ र घर गृहस्थी चलाउने काम नारीको मानिएको छ । त्यसैले गृहस्थीे चलाउन नारीले अल्छी पर सारी खानेकुरा पकाउँदा ख्याल गर्नुपर्ने, खानेकुराको सुरक्षा गर्नुपर्ने, खानेकुरा फाल्न नहुने, मालताल ठिक ठाउँमा जतन साथ राख्नुपर्ने भाव व्यक्त छ । यस कृतिमा व्यक्त नारीका कार्यले पुरुषको अल्छी प्रवृत्ति देखाए पनि खास गरी नारीलाई घरको उत्तरदायित्व बोध गराइएको छ र नारीमा सत्वृत्ति हुनुपर्ने भाव व्यक्त छ । यसमा नारीले घरको काम सबै गरेपछि पुरुष निर्धक्कसँग बाहिरको काममा लाग्न सक्ने स्थिति अनुपस्थित रूपमा व्यक्त भएको कुरा पनि बिर्सन हुन्न ।
यस कृतिमा पतिभक्तिको भाव पनि प्रकट भएको छ । पारिवारिक रथ चल्न नारी र पुरुष दुवै चाहिन्छ । झगडा र विरोधले पतिपत्नीको सम्बन्ध रहँदैन, सेवा र आदरले रहन्छ । यसका लागि पत्नीले पतिलाई ईश्वर ठान्नु पर्छ । पत्नी पतिको भक्तिमा रमाउनु पर्छ । पति घरमा रहँदा पत्नीले अन्त मन नदिई हरतरहले पति सेवामा समर्पित रहनुपर्छ । यसरी यस कृतिमा पत्नीले पतिको भक्ति गरेमा पति र पत्नीबिच सुमधुर सम्बन्ध कायम रहने भाव व्यक्त छ । त्यस्तै यस काव्यमा बधूले तीर्थ व्रत ख्याल गर्नुपर्ने भएको कुराले पत्नीलाई पञ्चाङ्गको ज्ञान हुनु पर्दछ भनिएको छ । यसले नारीमा घरव्यवहारका लागि आवश्यक पर्ने शिक्षा लिन पनि जोड दिएको छ ।
प्रस्तुत काव्य पुरुष प्रधान समाजको सत्ताको समय हो । त्यसैले यस कवितामा घरमा सौता भए पनि पतिको रिस, डाह गर्न नहुने, सौता सौताबिच पनि मेल रहन पर्ने, दुवै मिलेर पतिको एकसाथ सेवा गर्नुपर्ने भाव व्यक्त छ । यसले तात्कालिक दरवारमा रहेको रानीहरूको बेमेल र त्यसले सिर्जना गरेको भयसम्म प्रकट गरी दरबारमा पनि मेल हुनपर्ने सङ्केत गरेको बिर्सन्न हुन्न र दरवारमा पनि रानी पति बाँचुन्जेल बाँच्न पाइने र पतिको देहान्तपछि सती जानुपर्ने भाव पनि व्यक्त छ । जस्तै,
सौताको रिस गर्नु पाप छ बहुत्एकै दुवैका पति ।
मर्दामा पनि जानु पर्छ जसले मीले सङ्गै सती ।।
यस उद्धृत कवितांशमा पत्नी पतिको साथ सती जानुपर्ने कुरालाई व्यक्त गरेको छ । यसले नेपाली समाजमा बहुपत्नी तथा सती प्रथा रहेको भाव व्यक्त छ । समयलाई बढ्ता महत्व दिने कवि आचार्यले संसारमा जति प्रगति भएका छन् त्यो प्रगति समयको सदुपयोगले नै हो भन्ने ठान्दै समय खेर नफाल्न आग्रह गरेका छन् ( पाण्डेः २०६१;५०) ।
घर चतुराञि गर्छन् बुद्घिमान्ले अगाडी
बखत चुकि दिँदामा हुन्छ कहाँ पछाडी ।
यसरी आचार्यले समयसँग अगाडि बढ्न समय खेरफाल्न नहुने भाव व्यक्त गरेका छन् । यसै समयलाई ख्याल गरी आचार्यले हाँसेर बस्दा घरको काम सबै नासिने भएकोले नारीलाई डर देखाई सचेत तुल्याउने प्रयासका साथ भन्न पुग्छन् ः
हाँस्नु छैन कदापि नारिहरूले वेश्या हुन्या हाँस्तछन्
बेश्या लौ नहउन् तथापि घरको काम ती सबै नास्तछन् ।।
एक्ले हाँस्न हुँदैन काहि नभई आर्का सँगी भो जसै
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै
प्रस्तुत कवितांंशले नारीलाई खुसीमा रम्न नहुने भन्दा पनि मत्त भई खुसीमा रमिरहन नहुने भाव व्यक्त छ । यसमा आफू लाग्यो रमितामा स्यालले कुखुरा टिप्यो भन्ने नेपाली उखानलाई ख्याल गर्नुपर्ने भाव समेत व्यक्त भएको छ । यस प्रकार यहाँ नारीले हाँसे बेस्या हुने भन्नुको कारण घर व्यवहार बिग्रने स्थितिबाट जोगाउनु हो । यसको साथै नारीहरू एकआपसमा मिलेर कुराकानी गर्दा घरको कुरा बाहिर खोलिन पुग्ने र घरको काम भाँडिने कुरा व्यक्त छ । त्यसैले गोकुल सिन्हाबाट भानुभक्तीय आलोचना परम्परामा लेखिएको लेखमा बधूशिक्षामा कवि नारीे स्वतन्त्रताका विरोधी छन् ( सिन्हाः २०६१;१९) भन्ने कुरा इतिहासलाई साक्ष्य राख्दा अमिल्दो हुन जान्छ बरु भानुभक्तको नैतिक चेतना शीर्षकमा कुमारधर शर्मा ज्ञानीले उल्लेख गरे अनुसार बधूशिक्षा जस्ता कविता लेख्ने कविलाई रूढिवादी कवि भनेर पन्छाउन सकिन्न । बधूशिक्षामा कतिपय रूढिवादी भावना देखिए पनि यो उनको रूढिवादी भावनाको अभिव्यक्ति मात्र होइन । यो नैतिक चेतनाको उन्मेष हो । उनले समाज भाँड्ने उद्देश्यले बधूशिक्षा लेखेनन् बरु ब्रह्मले जे देखे, सोही लेखे ( ज्ञानी ः२०६१;६३) । यस प्रकार भानुभक्तले बधूशिक्षा तात्कालिक घरपरिवार, समाज, देशको परिस्थिति हेरेर युगबोध गरी सचेतताका साथ नै लेखे । कविमा निहित यो सचेतता खोज्न पूर्वाग्रही बन्न हुन्न । यसका लागि ध्वन्यात्मक तह वा प्रतीयमान अर्थ खोजी साहित्यको मूल्य निर्धारण गर्न कोसिस मात्र भयो भने पनि हुन्छ ।
भानुभक्तले बधूशिक्षा लेखेको समयमा नारीहरू घरको काम गर्न मात्र अभ्यस्त थिए । घर छाडेर बाहिर जाने, सरकारी अड्डा, अदालतमा काम गर्ने गर्दैनथे । नारीको काम भन्नु नै घरधन्दा गर्नु थियो । त्यसमा पनि ब्राह्मण कूलमा नारीहरू चुलोचौको भित्र नै रहनु पथ्र्यो । यस स्थितिमा उनले जे जति कृति रचना गरे समाजकै लागि रचना गरे । समाजलाई भक्ति मार्गमा डो¥याउन गरे, सामाजिक सुव्यवस्था कायम गर्न गरे । त्यसैले भानुभक्तको रचनालाई वर्तमान प्रगतिवादी अझ नारीवादी दृष्टिले हेरी मूल्याङ्कन गर्नु भानुभक्तमाथि न्याय नगर्नु होइन कृतिमाथि अन्याय गर्नु हो, सिर्जनाको मूल्य नबुझ्नु हो, अनि टेकेर आएको खुड्किलो माथिल्लो तलामा पुगेपछि नसम्झनु मात्र हो ।
४.३. जीवनी
जीवनी मानिसको इतिवृत हो । यसलाई अर्को शब्दमा खास व्यक्तिको जीवनको अभिलेख पनि भनिन्छ । यसलाई टि. कार्लाइलले ठुला मानिसहरूको जीवनी नै इतिहास हो भनेका छन् । त्यसै गरी ड्राइडनले खासखास मानिसहरूको जीवनको अभिलेख इतिहास हो भनेका छन् । (श्रेष्ठः२०६१;३६) यी आधारमा मानिसको जीवनमा घटेका घटनाहरूको इतिवृतलाई जीवनी मान्न सकिन्छ । साहित्येतिहासको दृष्टिकोणमा कवि वा लेखकहरूको वैयक्तिक जीवनसँग जोडेर साहित्यिक रचनाहरूको क्रमिक र सार्थक प्रस्तुति गर्नु जीवनीपरक इतिहास हो । यसमा स्रष्टाको जीवनी गौण रहन्छ भने उनीहरूको रचनाले प्रधानता पाई ऐतिहासिक मूल्य प्राप्त गरेको हुन्छ । इतिहासमा तथ्यले महत्व राख्छ, र जीवनीमा पनि तथ्यकै महत्व हुन्छ । यस आधारमा कुनै पनि स्रष्टाको विवरण सामान्य तथ्य हो भने कृति वा रचनाहरू महत्वपूर्ण तथ्य हो । त्यसैले साहित्यिक इतिहास रचना गर्दा व्यक्तिको वा साहित्यको विवरण मात्र उल्लेख नगरी कृति विशेषको ऐतिहासिक तथा सौन्दर्य शास्त्रीय मूल्य र देन, तुलनात्मक गुणको मीमांशा, युगीन सन्दर्भमा कृतिकारको स्थान र योगदान चर्चा गर्नु जीवनीपरक साहित्येतिहास हो ।
जीवनीका उल्लिखित सिद्घान्तका आधारमा भानुभक्त आचार्य र उनको कृति बधूशिक्षालाई हेर्ने हो भने भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते ३१ घडी ३२ पला दिन गुज्रेपछि श्रीकृष्ण आचार्यका छोरा धनन्जय आचार्यकी श्रीमतीका कोखबाट गण्डकी अञ्चलको तनहूँ जिल्लाको रम्घामा भएको थियो । उनका मावली पौडेल थरका हुन् । उनको मामाघर तनहूँ जिल्लाको पोल्याङ गाउँ हो (भट्टराई, २०६१;१५२) । उनी पिताका एक मात्र पुत्र हुन् । यिनी मातापिताका एक मात्र पुत्र भएका हुनाले यिनलाई बडो यत्न साथ पालिएको थियो र पढ्न सक्ने उमेर भएपछि ज्योतिषी, कर्मकाण्ड र पण्डित्याइँका प्रकाण्ड विद्वान् हजुरबुबाबाट यिनले घरमा नै शैक्षिक तालिम प्राप्त गरेका थिए । शिक्षार्जनका क्रममा यिनले कुनै पनि आर्थिक झैझमेला भोग्नु परेन । यिनले १४ वर्षको उमेरमा मध्यकौमुदी, चुरादिगणसम्म पढी कल्पवास बस्न र औषधोपचार गर्न समेत सक्ने भए । आफ्ना हजुरबासँग काशी गई यिनले ज्योतिष, गणित दर्शनशास्त्र आदि विषयमा पनि सामान्य ज्ञान आर्जन गरी १८ वर्षको हुँदा यिनी लेखपढमा होसियार भइसकेका थिए (भट्टराई,२०६१;१५२) ।
यस आधारमा हेर्ने हो भने आचार्यले शिक्षा ब्राह्मण परिवारमा आफ्नै कुल अनुसार नै सिक्ने अवसर पाए । यिनको विवाह १३ वर्षको उमेरमा रम्घा गाउँदेखि ५ कोस टाढा पर्ने मनाङ गाउँका खनाल थरका १० वर्ष उमेरकी ब्राह्मणीसँग १९८४ सालमा भएको थियो । १९०६ सालमा जग्गाको झगडा मिलाउन काठमाडाँैमा कागत पत्र लिई आएका भानुभक्त बालाजुमा गई केही क्षण आनन्द मानी बसे र त्यहीँको परिवेश वर्णन गरेर्र चपला अवलाहरू ... ’ कविता लेखे । त्यस्तै उनले बाबु धनन्जयले पाल्पामा खरदारी काम गर्दा सरकारी बाँकी लागेको ऐन सवाल बमोजिम छोरा भानुभक्तलाई फस्र्याउन भनी कुमारी चोकमा समातिएर थुनिँर्दा रोज रोज दर्शन पाउँछु..., ’ गजाधर सोतीको घरमा वास बस्न पुग्दा भोग्नु परेको मानसिक पीडा अभिव्यक्त गर्री गजाधर सोतीकी घरबुढी ... ’ जस्ता कविता रचना गरे । उनको काव्य कृतिमा उनले जे देखे, सुने, भोगे त्यही कुरा मात्र सिर्जना भएर पोखिएको छ । यसरी उनी जहाँ पुगे त्यहीँको घटना दृश्य, उनको पढाइ र सुनाइ नै उनको रचनामा वर्णित छ । यस्तै बधूशिक्षामा पनि उनले काठमाडौंबाट १९१९ सालमा तनहूँ जान लाग्दा बाटामा मित्र तारापतिको घरमा वास बस्दा भएको सासू बुहारीको झगडालाई प्रस्तुत गरे । यसरी प्रस्तुत गर्दा उनले दरबारको बारेमा सुनेका रानीहरूबिचको झगडालाई पनि प्रस्तुत गरे । अतः उनको जीवनीका आधारमा बधूशिक्षा रचनाको ऐतिहासिक मूल्य रहेको छ ।
४.४. मूल्य निर्णय
मूल्य निर्णय कृतिको ऐतिहासिक पर्यवेक्षण गर्ने आधार हो कृतिको मूल्य निर्धारण गर्दा इतिहासका तथ्यहरूको व्याख्या, विश्लेषण वा लेखाजोखा गर्दा त्यसै समयका नैतिक वा आचारगत मान्यताहरूलाई आधार बनाउनु पर्छ भन्ने धारणा मूल्य निर्धारण हो (श्रेष्ठ ः२०६१;३८) । यस आधारमा यस कृतिको रचना १९१९ साल ख्याल गर्दा यस समयमा एकातिर नेपालको लेखनमा भक्तिवादी धारा थियो भने नेपाली राजनीतिमा दरवारिया कलह थियो । यस कलहले दरवारमा खिचातानी त छँदै थियो साथै देश नै डरले आतङ्कित थियो । यसो हुनुका कारण रानीहरूको स्वार्थ लिप्सा प्रमुख थियो । यसका साथै समाजमा बहुपति, बहुपत्नी, दासप्रथा, सतीप्रथा थियो जसलाई यस कृतिमा सार्थक रूपमा प्रस्तुत गरिएको छ । यस स्थितिमा ब्राह्मण खानदानमा जन्मिएका भानुभक्त तारापतिको घरमा जाँदा नारी कलहका कारणले परिवार भताभुङ्ग भएको देख्छन् । त्यसैले घरलाई घरको रूपमा राख्न, आदर्शकृत परिवार बनाउन, भक्तिमा समाज लगाउन प्रस्तुत कृति रचना गरिएको हो । यस कविताको केन्द्रीय विषय नै बुहारी हो । एक रात वास बस्नका लागि पुगेका आचार्यले तारापतिको झगडिया बुहारी देखे । त्यसैले आचार्यको सफल कवि हृदयले तारापतिकी बुहारीलाई मात्र होइन सबै बुहारी अनि देश चलाउँदा पर्ने झगडाका कारणले देश पनि बिग्रने कुरा इङ्गित गर्दै सबैलाई अर्ती दिन यो काव्य रचना गरेका हुन् । यस रचनाको अभिप्राय नारी वर्गप्रति नै दमन गर्नु भए बुहारी शब्द प्रयोग गर्नुपूर्व छोरी प्रयोग गर्ने थिए र तिनका लागि छोरी शिक्षा लेख्ने थिए वा बधू शिक्षापछि सासू शिक्षा लेख्ने थिए ।
४.५. कल्पना
काव्य कविको कल्पनाशील क्षमताको मनोबिम्ब हो । वास्तविक घटनालाई कल्पना रङ्गाएर प्रस्तुत गर्नु कविको धर्म हो । इतिहासकारको तस्वीर सत्यका निमित्त हुन्छ । उपन्यासकारको एउटै काम हुन्छ ःअर्थ आउने गरी एउटा सम्बद्घ चित्र निर्माण गर्नु हो (श्रेष्ठः२०६१;३९) । यहाँ उपन्यासको अर्थ सााहित्यकार हो । सर्जकले इतिहासकारले झैँ यथार्थ घटना नउतारी त्यसको सम्बद्घ चित्रण मात्र गरी काव्य सिर्जना गरेका हुन्छन् । यस आधारमा बधूशिक्षा पनि कल्पनाकै उपज हो ।
साह्रै झोँक उठ्यो मलाई र बधू शिक्षा बनायो पनी
यस्ले पत्नि, बुहारि, छोरिहरूको तालिम गरौँला भनी
प्रस्तुत साभार कवितांशबाट तारापतिको घरमा भएको झगडाले कविलाई रिस उठेको र कविको मनमा उन्पन्न आवेगलाई नियन्त्रणमा राख्न तथा कविले देखेको घटना कुनै पनि परिवारमा घट्न सक्ने भएकाले पत्नी, बुहारी र छोरीहरूलाई तालिम दिन लेखिएको प्रसङ्ग छ । यसबाट यो काव्य उनले नेपालको प्रत्येक घर परिवार आदर्शकृत बनाउन, देश आदर्शकृत बनाउन लेखिएको काव्य हो यसमा कविको कल्पना नै आदर्श रूपमा आएको छ ।
५ निष्कर्ष
भानुभक्त आचार्यद्वारा रचित प्रस्तुत कृति बधूशिक्षा आधुनिक काल विकसित नवीन वादका दृष्टिमा आलोचित भए पनि यसले नेपाल इतिहासको राजनीतिक तथा सामाजिक कालखण्ड बोकेको छ । यो नेपालको पुरानो इतिहास नियाल्ने ऐना हो । यसबाट नेपालको भानुभक्तकालीन पारिवारिक, सामाजिक, राजनीतिक स्थिति पर्यवेक्षण गर्न सजिलो भएको छ । भानुभक्तकालीन नेपालमा नोकर राख्ने उच्च समाज, बहुपत्नी प्रथा, दासप्रथा देखाउँदै पुरुष प्रधान समाजको चित्रण गरिएको छ । घरको कामको सम्पूर्ण जिम्मेवारी नारीमा रहने भएकोले नारीमा अनुनयशील, विनयशील, क्षमाशील हुनुपर्ने भाव व्यक्त छ । नेपाली काव्य लेखन परम्पराको भक्ति धाराको केन्द्रीयता रहेको अवधिमा लेखिएको यस काव्यमा भक्ति धाराअन्तर्गत नै पतिभक्ति, सासूभक्ति, परिवार भक्तिका प्रसङ्ग आएका छन् । प्रस्तुत कृति भक्तिवादी धाराको अमूल्य रचना हो । यस अर्थमा बधूशिक्षा नेपालमा विद्यमान पुरानो सामाजिक समाजको दुरुस्त चित्रण हो ।
साभारः भानु मासिक पत्रिका २०६८
सन्दर्भ सामग्री सूची
आचार्य, भानुभक्त, भानुभक्तको रामायण,(चौथो संस्क.), काठमाडौंः साझा प्रकाशन,
२०५८ ।
घिमिरे, भवानी,सम्पा.,आदिकवि भानुभक्त आचार्य , काठमाडौंः विद्यार्थी पुस्तक भण्डार,
२०६१ ।
प्रधान, कृष्ण चन्द्रसिंह(सम्पा), साझा समालोचना,तेस्रो संस्क., काठमाडौंः साझा
प्रकाशन, २०४४, पृष्ठ ५४–७७ ।
भट्ट, मोतीराम, कवि भानुभक्तको जीवन चरित्र, काठमाडौँः साझा प्रकाशन, २०५१ ।
रिसाल, राममणि, नेपाली काव्य र कवि,पाँचौ संस्क., काठमाडौंः साझा प्रकाशन,
२०५८ ।
शर्मा, ताना, भानुभक्तदेखि तेस्रो आयामसम्म, छैटौँ संस्क., काठमाडौंः साझा
प्रकाशन,२०५०।
शर्मा, देवी प्रसाद, आधुनिक नेपालको इतिहास (सन्१७४२–१९६१), तेस्रो संस्क.,
काठमाडौंः रत्न पुस्तक भण्डार, २०५१ ।
शर्मा, रमा, केही चिन्तन, काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०४८ ।
श्रेष्ठ, दयाराम, इतिहासः सिद्घान्त र सन्दर्भ, दोस्रो.संस्क., काठमाडौंः त्रिकोण
प्रकाशन, २०६१ ।