एउटा पर्खाल
वर्षौंदेखि ठड़िएको हो
उ र मबीच।
युगौंदेखि उभिएको हो
एउटा पर्खाल
तिमी र मबीच।
उहिलेदेखि बाँधिएको हो
हाम्रो सङ्घारमा
एउटा पर्खाल।
थाह छ,
सागर-महासागर
पार गर्ने क्षमता छ उसित।
कस्तै उचाइँ होस पहाड़को
सिखर चड़न सक्छौ तिमी।
जोसुकैले नापेको होस
जूनको दूरुत्व,
टेकेर पाइला फर्किन सक्छौं हामी।
तर
त्यो पर्खाल
उ र म बीचको,
त्यो पर्खाल
तिमी र मबीचको
अनि
त्यो पर्खाल हामीबीचको
हाम्रो सङ्घारको
किन तोड़िँदैन?
उ
म
तिमी
अर्थात, हामी
साँच्चै हामी किन हुनसकेनौं?
तर, एउटा कुरा
जसले जे नै भनुन्
जति नै अग्लो पर्खाल लगाउन्
चाहिने भनेको जीवन बाँच्न
रातो रगत नै रहेछ।
त्यसैले त
उसले छेकाबार लाएर के भो?
तिमीले पर्खाल लायौ त के भो?
उसको
र
तिम्रो जस्तै
रगत
मेरो पनि रातै छ।
मेरो त्यही रगत यतिबेला
सलबलाइरहेछ
उसको र तिम्रो शरीरमा।
अनि त
उ बाँचेको छ
अनि बाँचेको छौ तिमी।
मैले यहाँ
कुनै सङ्घार नछिरेर के भो?
उ र म
म र तिमी
अर्थात हामी,
साँच्चै हामी भएका छौं।
अनि
तोड़िएको छ त्यो
सानो-ठूलो
धर्म-संस्कार
अनि जात-जातबीच रहेको
युगौंदेखिको त्यो पर्खाल।
राङ्का, गान्तोक, पूर्व सिक्किम