18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सेन्टीनेली र सरकार

कविता सतीश छेत्री June 19, 2022, 2:13 am
सतीश छेत्री
सतीश छेत्री

अभेक द्वीपमा
नाङ्गो - भुतुङ्गो
काँचो कँचिलो खाएर
हिँडेको छ ऊ

समुद्र छ उसको रक्षक
मान्छेको आदिमता
उसले राखेको छ
सुरक्षित

मान्छे कहाँबाट
आरम्भ भयो विकास
हेर्न हो भने
ऊ हो प्रारम्भ बिन्दु

ऊ छ आत्मनिर्भर
आत्मविश्वासी
मस्तमगन आफ्नै
नाङ्गोपनमा

एकदिन एउटा
धर्म प्रचारक
मायाले त्यहाँ पुग्छ
उसको आदिमतालाई
एेना देखाएर
एउटा लुगा दिऊँ भन्छ
धर्म प्रचारक भेटिँदैन
कहाँ जान्छ

सरकार पुग्छ
उसलाई संरक्षण दिन
बाँचोस् यही हालमा
तर केही छ कि
असुविधा खबर लिन,
उसको संसारलाई संचेतना दिन
तर
ऊ उसको आदिम हतियार
हान्छ धनुकाँड
सरकार डराउँदै
पक्रन्छ किनार
ऊ खुशी हुन्छ
आफ्नो विजयमा
धनुकाँडमा

उसलाई थाह छैन कि
सरकारसित
एकनाले बन्दुक छ
दुईनाले बन्दुक छ
मेसिन गन छ
एके ४७ -४८
बम गोला बारुद
ग्रिनेड छ
यसलाई खेद्नू भनेपछि
खेदेरै भेद्ने
रकेट लञ्चर छ
टाइम बम छ
फुकिवरी सफाचट् पारेर
जिब्रो टक्क पडकाउने
अझै
एटम बम पनि छ

तर
सरकारले माया गर्छ
त्यो जीवलाई
सर्वेभवन्तु सुखिन:
लेखिएको बम पडकाउँदैन
जताभावि
थाह छ सरकारलाई
एउटा खेल नै
उसको लागि 'खतम खेल' हुनेछ

सरकारको
बमको उद्देश्य
मान्छे मार्नु होइन
संसार नयाँ निर्माण गर्नु न हो
जसले संहारको भूमिका निर्वाह गर्छ
विध्वंसता नभई
सिर्जना कसरी ?
यसैले जसले
महेश्वरको भूमिका पालन गर्छ

तर सरकारलाई थाह छ
के मास्न पर्छ
के जिलाउन पर्छ ।

भलै
कुकुर, बिरालो, हात्ती, बाघ
जन्मँदै
आफ्नो पूर्ण अस्तित्व
लिएर जन्मन्छ
तर
सेन्टीनेली अपूर्ण छ
ऊ मान्छेको
ढाँचा मात्र छ
ऊ नाक मात्र
टुसुक्क अग्लो छ।

यो पनि पक्का हो कि
सेन्टीनेली
अञ्जान छ
अबोध छ
ऊ अनभिज्ञ छ
त्राण खसाउन पुगेको
हेलिकप्टरलाई
धनुकाँड प्रहार गर्छ
लाग्छ कि न
उसलाई त्यो चरा हो ?
आँखामा शंका भएपछि
कुखुराको चित्तले
पखेटा भए जति सबलाई
चिल नै त भन्छ।

संक्रमण छिटो फैलिन्छ उसमा
किन कि
काँचो धेरै खाएर
रोगप्रतिरोधक क्षमता
ऊसित कम छ ।

त्यही नै उसको जित हो
आदिमताको अजायबघर
सरकारले सुरक्षित राखेको छ

हुन त
सेन्टीनेलीले
हानेको तीर पनि
उसले आफ्नो जीवनलाई
गरेको प्रेमकै प्रमाण न हो
भला प्रेम
कसरी नराम्रो हुनसक्छ ?
चाहे त्यो उसले
आफूलाई गरेको होस् वा
अरूलाई।

सेन्टीनेली
प्रेमको पात्र छ ।
ऊ पनि त हो
सिर्जनाकै एउटा क्षुद्ररूप ।
उसको वरपर
पहाडमा सरकार छ
मैदानमा सरकार छ
जङ्गल र खोलामा सरकार छ
कण कणमा सरकार छ
क्षण क्षणमा सरकार छ

जब उत्सवको,
भीडको होइन, सङ्घीयताको
विराट लक्ष्य साधनाको
कुरा आउँछ
तब सबैभन्दा पछि हुन्छ
गोडा दुई - एक सय ऊ ।

बुझेर नबुझेजस्तो
ब्युँझिएको तर निदाएको जस्तो
अनन्त भोगीजस्तो
अल्जाइमरको रोगीजस्तो
तुलुलु राल काडिरहेजस्तो
घोप्टिएर यौनाङ्ग नै माडिरहेजस्तो
तर एकदमै मायालाग्दो
मायामै छ जस्तो
भर्खरै घरजम गर्दैछ जस्तो
कस्तो कस्तो
निष्कपट, निष्कलङ्क, निश्छल
निरपराधी छ ऊ ।

उसलाई लाग्छ
आकाशमा उड्ने
चरादेखि प्रत्येक हावाजहाज
म, मेरो, मलाई
नास्न आएको
कुनै अपरिभाषेय सङ्कट हो ।
उसलाई यही डरले
साट्ठी हजार वर्षदेखि
अझैसम्म
जीवित राखेको छ ।

कामना छ
उसले शब्द पाओस्
अभिव्यक्त हुन सकोस्
तर ती शब्दले उसलाई
निर्माण गरोस्
ऊ उच्चियोस् ।
देखोस् - ऊ वास्तवमा
कति भव्य हुनसक्छ
नजरको आवारण
च्यातेपछि
ऊ कति दिव्य हुनसक्छ ।

कस्तो होला
त्यो संसार
जति बेला
न धनुकाँडको
न बम र बारूदको नै
आवश्यकता पर्छ !
अनि ऊ पनि
अघि आउँछ र
भन्न सक्छ -
'बोतलबन्द सागरमा
तैरिएको पानी
होइनरहेछु बाहिरभन्दा अलग ।
यतिका सौन्दर्यहरू बिच
अभिव्यक्त रहेछु सर्जक।'

(अन्दमान निकोबार द्वीपसमूहमध्येको एउटा द्वीप सेन्टीनलमा बसोबासो गर्ने जाति - विशेष)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।