18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देवकोटाको क्रान्तिचेत: ‘प्रमिथस’को केन्द्रीयतामा

कृति/समीक्षा डा.कृष्णराज अधिकारी May 9, 2022, 4:18 pm
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

विषय प्रवेशः
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) सँगै नेपाली साहित्यमा स्वच्छन्दतावादको सह–प्रवर्तक बन्दै उदाएका लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) ले पछि स्वच्छन्दतावादको नेतृत्व मात्र गरेनन् साहित्यका विविध विधामा विविध प्रयोग गर्दै नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन अग्रणी भूमिका समेत खेलेका हुन् । नेपालमा राणाशासन उत्कर्षमा पुगेको बेला जन्मिएका देवकोटाको सार्वजनिक काव्ययात्रा सुरु हुँदा भने त्यो शङ्कटापन्न अवस्थामा पुगेको थियो र त्यसको एउटा झम्टाइमा देवकोटा समेत परेका थिए, १९८७ को लाइब्रेरी काण्डबाट । यही काण्डले र १९९७ को सहिद काण्डले समेत केही तर्सेका देवकोटाले वि.सं. २००२ सालसम्म पनि आफ्नो लेखनीलाई विद्रोह र क्रान्तिको पक्षमा उभ्याउन सकेका थिएनन् । हुन त त्यतिखेर प्रकाशित उनको शाकुन्तल महाकाव्यका कतिपय श्लोक (जस्तै सर्ग २१,श्लोक १९४–२००) मा पतनोन्मुख राणाशासनलाई सङ्केत नगरिएको होइन, तर पनि आफ्ना कवितामा ‘क्रान्ति’ शब्दको प्रयोग गरे वापत वि.सं.१९९६ मा जेल परेका आफ्ना सहवर्ती सिद्धिचरण श्रेष्ठ र आमाको सपना (वि.सं.२०००) लेख्ने गोपलप्रसाद रिमाल झैं त्यतिन्जेलका देवकोटामा विद्रोह र क्रान्तिकारी चेत सल्बलाउन सकेको थिएन ।
भारतीय विश्वविद्यालयले नेपाली भाषालाई पाठ्यक्रममा समावेश गर्दा समेत नेपाली साहित्यको अवस्था दयनीय देखेपछि उनको प्रतिभाशाली आशुलेखन फुटकर कवितादेखि खण्डकाव्य, महाकाव्य र निबन्धसम्म पनि एकोहोरिएर लागिपरेको पाइन्छ । वि.सं. २००३ सालको उत्तरद्र्धमा आएर देवकोटामा बल्ल व्यङ्ग्य र विद्रोहका स्वर भरिएका कविताहरू निस्कन थाल्छन् । ‘बाघले बच्चा किन खान्छ’ (२००३ पौष) र ‘साँढे’ (२००३ फागुन–चैत) जस्ता कविताहरूले राणाशासनको थिचोमिचो, शक्तिउन्माद र निर्धामाथि बलियाको रजाइँलाई बाघ र साँढेको प्रतीकका रूपमा प्रस्तुत गर्दै तीव्र व्यङ्ग्य र विद्रोह प्रदर्शित गरेको पाइन्छ । त्यसैगरी ‘प्रभुजी भेडो बनाऊ’ (२००४ बैशाख–जेठ), ‘भाचूँ कि मेरो कलम’ (र.का. २००४, प्र.का. २००७ कार्तिक) जस्ता कविताका माध्यमबाट कविको व्यङ्ग्य र विद्रोहको भावना मुखरित भएको पाइन्छ ।
व्यङ्ग्यबाट क्रान्तितिर
वि.सं. २००४ सालको श्रावणमा राणाशासनको विरुद्ध क्रान्तिमा सामेल हुन आह्वान गरे अनुसार देवकोटा बनारस पुगी नेपाली राष्ट्रिय काँग्रेसमा सम्मिलित भई ‘युगवाणी’ पत्रिकाको सम्पादन गर्न पुग्दछन् । बनारस प्रवासमा बस्दा उनको त्यहाँका समाजवादी तथा माक्र्सवादी व्यक्तित्वहरूसँग पनि सम्पर्क भएको र उनी त्यसबाट पनि प्रभावित बनेको कुरा त्यसबेलाका उनका रचनाहरूले पुष्टि गर्दछन् । ‘ईश्वरवादी र अनीश्वरवादी’ (२००५) जस्तो निबन्ध र ‘पहाडी पुकार’ (२००५) कविता त्यतिखेर निकै चर्चित रहेको पाइन्छ । ‘पहाडी पुकार’ मा कवि मानिसलाई आफ्नो हक अधिकारको लागि लड्न यसरी आह्वान गर्छन्—
मर्नु त एकदिन अवश्य पर्छ पशु झैं नजिऊँ
मानिस हौं भने मानिस झैं जिऊँ मानिसकै हक लिऊँ ।
सात साले क्रान्तिपछि त्रिपक्षीय दिल्ली सम्झौता भयो । राणाशासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेर क्रान्तिपछि पनि प्रधानमन्त्री बन्न पुगे । जनचाहना विपरितको दिल्ली सम्झौता भएपछि त्यसका विरुद्धमा आवाज उठाउने जनतामाथि दमन सुरु गरियो र आन्दोलनकारी पार्टीमाथि प्रतिबन्ध लगाइयो । यस घटनाले देवकोटाको क्रान्तिकारी चेतनालाई अरू उत्प्रेरित ग¥यो । चापागाई (२०५४ः३३) लेख्छन्— अरू पुँजीवादी वुद्धिजीवी र राजनीतिक शक्तिहरूले माने सरह उनको बुद्धि र विवेकले सात सालको परिवर्तनलाइ सफल क्रान्तिका रूपमा स्वीकार गर्न मानेन र वास्तविक क्रान्तिको आह्वान गर्न थाल्यो । २००७ सालको क्रान्तिपछि पनि जनअपेक्षा पूरा नभएको र जनजीवनमा कुनै सुधार नभएको बरु राजनीतिक भ्रष्टता, सामाजिक विकृति र पाश्चात्य संस्कृतिको अन्धानुकरणबाट अस्तव्यस्त भएको मुलुकले अग्रगति लिन नसकेको देखेपछि देवकोटाले असन्तुष्टि व्यक्त गर्दै शासन व्यवस्थाप्रति तीव्र व्यङ्ग्य प्रहार गरेका छन्—
नवावी कवाफी रवाफी छ नेता
बिलासी गिलासी सुवासी विजेता
प्रजातन्त्रको ढ्वाङ रित्तो करायो
जमाना अनौठो नयाँ आज आयो । (नयाँ जमाना, प्र.का.२०१५)
यसरी क्रमिक विकास भएको देवकोटाको क्रान्तिकरी चेत २०१० तिर पुग्दा अरू तीव्र बन्दै गई ‘दाल भात डुकु’ (र.का. २००८, प्र.का. २०१३), ‘पागल’ (२०१०) हुँदै ‘प्रमिथस’ महाकाव्य (रचनारम्भ २००७, आंशिक प्रकाशन २०१०) सम्म आइपुग्छ र यसपछिका रचनाहरूमा पनि यो प्रवृत्ति अरू विकसित हुँदै गएको पाइन्छ । जोशी (२०४७ः२१९–२२०) देवकोटाको कवितायात्राको अन्तिम मोड (२००७–२०१६) लाई स्वच्छन्दतावादी मूल प्रवृत्ति भित्रकै एउटा प्रवृत्तिका रूपमा प्रगतिवादलाई लिँदै नेपाली स्वच्छन्दतावादी–प्रगतिवादी काव्यधाराको सर्वोच्च र महान् कवि देवकोटालाई ठह¥याउँछन् भने त्रिपाठी (२०३१ः५३) देवकोटालाई २००२–२००३ सालदेखि व्यङ्ग्य चेतना र २००४ सालदेखि क्रान्तिज्वाला प्रकट गर्दै २००७ सालपछि विस्तारै प्रगतिवादतिर उन्मुख कवि मान्दछन् । तर प्रगतिवादलाई स्वच्छन्दतावादभित्रै राखेर मूल्याङ्कन गर्नु र २००७–२०१६को देवकोटाको काव्यिक प्रवृत्तिलाई स्वच्छन्दतावादी–प्रगतिवादी भन्नु युक्तिसङ्गत देखिँदैन । स्वच्छन्दतावाद र प्रगतिवाद नितान्त भिन्न प्रवृत्ति हुन् र २००७ पछिका देवकोटाका रचना स्वच्छन्दतावादभन्दा प्रगतिवादतिरै बढि उन्मुख भएको पाइन्छ ।
‘प्रमिथस’ को जन्म
‘प्रमिथस’ महाकाव्य २००७ सालको फागुन चैततिर वा २००७ सालको क्रान्ति भर्खरै जसो सकिएको समयमा लेख्न सुरु गरिएको थियो भन्ने कुरा महाकाव्यका पंक्तिहरू (१ः१३–१४) नै पुष्टि गर्दछन् । अतितका युगको यात्रा गर्न रुचाउने देवकोटाले आफ्नो पहिलो महाकाव्य ‘शाकुन्तल’ मा अतितको पूर्वीय उडान गर्दछन् भने अन्तिम महाकाव्य ‘प्रमिथस’ मा सुदूर पश्चिमी देश युनान पुगी अतितकै उडान गर्दछन् । उनी आफ्ना पाठकहरूलाई ‘शाकुन्तल’बाट प्रकृतितिर लैजान्छन्, त्यसपछि ‘सुलोचना’ बाट नेपाली भूमि डुलाउँछन् । ‘वनकुसुम’ बाट वनतिर लैजान्छन् अनि ‘महाराणा प्रताप’ र ‘पृथ्वीराज चौहान’ बाट भारतीय भूमि घुमाउँदै अन्ततः ‘प्रमिथस’ बाट युनानतिर लैजान्छन् । यसबाट पनि देवकोटाको विकासशील स्वरूपलाई बुझ्न सकिन्छ । ग्रीक दुःखान्त नाटककार एस्किलसले आफ्नो नाटक ‘प्रमेथियस बाउन्ड’ (बन्दी प्रमिथस) र कवि सेलीले आफ्नो कविता ‘प्रमेथियस अनबाउन्ड’ (मुक्त प्रमिथस) को विषयवस्तु बनाएको पाइन्छ भने देवकोटाले एस्किलसको ‘प्रमेथियस बाउन्ड’ लाई नै मुख्य आधार मानी ‘प्रमिथस’ महाकाव्य लेखेको पाइन्छ ।
महाकाव्यको कथानुसार देवता र राक्षस बीचको युद्धको बेला पृथ्वीमा उत्पत्ति भएको मानव ज्यादै अविकसित, गुफामा झुण्ड झुण्ड गरी बस्ने, भाषाको नाउँमा ध्वनि मात्र उच्चारण गर्ने, कीरा सरहको, पुच्छरहीन बाँदर जस्तो थियो र देवराज जिउसले उक्त जातिलाई देखेपछि अत्यन्त घृणा गर्दै त्यस जातिलाई सखाप पार्ने र मानिसको ठाउँमा अन्य जाति राख्ने घोषणा गर्दछन् । जिउसका सहयोद्धा प्रमिथस उक्त घोषणाप्रति रुष्ट हुँदै मानव जातिलाई विकसित र सभ्य तुल्याउन प्रण गर्दछन् । स्वर्गबाट सुटुक्क आगो चोरेर पृथ्वीमा लैजान्छन् र मानव बस्तीमै रही मानवलाई आत्मबल बढाउन, सभ्य हुन र विकसित हुन सिकाउँदै स्वर्गको विरुद्ध सङ्घर्ष गर्न आह्वान गर्दछन् । आगोका कारण मानव क्रमशः सभ्य हुँदै जान्छ र कृषि र वाणिज्यको क्षेत्रमा विकास हुन थाल्छ । उक्त कुरा थाहा पाई जिउसले स्वर्गबाट अग्नि चोरेर मानव बस्तीमा पु¥याउने र मानवको संरक्षण गर्ने प्रमिथसलाई पक्रेर ल्याउने आदेश दिई कठोर सजाय दिन्छ । उनलाई एकान्तको ककेसस पहाडमा लगी छातीमा फलामे चुकुल ठोकी जन्जिरले बाँधेर राखिन्छ । ससह्य वेदना भोगेर पनि उनी जिउसको सामु झुक्दैनन् । मानव जातिको संरक्षणको लागि उनी त्योभन्दा अझ कडा यातना समेत सहन तयार हुँदै अत्याचारी जिउसको छिटै पतन हुने घोषणा समेत गर्दछन् । त्यसपछि ठूलो आँधी चल्छ, चट्टान चिरिन्छ र पृथ्वीको छाती चिरिएर बेपिँध अन्धकारमय भीषण खाडीले धरासर्वस्व निल्न मुख बाएपछि महाकाव्य समाप्त हुन्छ । आँधी तूफान र उलट–पलटमा महाकाव्यको अन्त्य र यसैबाट स्वर्ण युगको सुरुवात हुने (१०ः४३) काव्यको भनाइबाट कवि आमूल परिवर्तन र क्रान्तिको पक्षमा रहेको र विश्व मानवतावादको हिमायती भएको कुरा स्पष्ट हुन्छ ।
प्रमिथसीय आदर्श र देवकोटा
आफूलाई रित्याएर अरूलाई दिने (उनकै ‘मार्ग’ कविताको सम्झना), अत्यन्त सरल र निष्कपट देवकोटा आफ्नो लेखन जत्तिकै इमानदार थिए वा आफूजस्तै इमानदार थियो उनको लेखनी पनि । यसैले त धेरैले उनको व्यक्तित्वको भरपूर उपयोग गर्दथे तर अवसर आउँदा ‘पागल’ भनेर पन्छाउँथे । मानिसको सेवालाई नै अमृत ठान्ने (उनकै ‘वन’ कविताको सम्झना) देवकोटा वास्तवमै मानवतावादी थिए यसैले कविले प्रमिथसको चरित्रलाई आदर्शीकरण गर्दै यिनका चरित्रबाट आफ्नो जीवन आदर्श र प्रवृत्तिलाई प्रकट गर्न खोजेको पाइन्छ । अन्याय, अत्याचार, शोषण र भेदभाव जस्ता प्रवृत्ति नै मानवताका शत्रु हुन्, अतः मानवताको स्थापनार्थ यी प्रवृत्तिहरू हटाउन सङ्घर्ष वा क्रान्ति गर्नुपर्छ भन्ने देवकोटाको अन्तरआवाजलाई प्रमिथसले मुखरित गरेको पाइन्छ —
सेवा मानवको मेरो मेवा –अरू गरल (५÷३१)
शक्ति प्रियाले आई बोलिन् ‘दिन्छु म मीठो मेवा’
मैले बोलेँ ‘मेरो अमृत मानिसहरूको सेवा’ । (‘वन’)
स्वर्ग सामन्तवादी व्यवस्थाको प्रतीक हो र त्यहाँका देवराज मानव–सभ्यता र विकासका बाधक हुन् भन्ने कुरा प्रमिथसले मानवलाई स्वर्गविरुद्ध सङ्घर्ष गर्न आह्वान गरेबाट स्पष्ट हुन्छ । प्रत्येक मानिसको बाँच्ने अधिकार हुन्छ र त्यो अधिकार कसैले खोस्न खोज्छ भने त्यसका विरुद्ध लड्नुपर्छ भन्दै प्रमिथस भन्छन्–
जस्तो हाँस्दछ झर्दो तारा तिमिर चिरी चरक्क
बिलय विलासी मध्यनिशामा । मर त्यसरी
नमर्न नमर्न नित्य । क्रान्ति क्रान्ति क्रान्ति गर !
तिमिरका विरुद्ध उठ सशस्त्र हो मानव
गिज्याई मर अन्धकार, रातो वा सेतो रापमा
अमरत्वको लेऊ चेत स्वर्गविरुद्ध उठ ! (५÷९)
देवराज जिउसलाई उनकै बाबुसँगको युद्धमा जिताई सिंहासनमा राख्नुमा प्रमिथसकै बौद्धिक भूमिका निर्णायक थियो । मानिसको संरक्षण गर्नु नै उनको अपराध सिद्ध भयो र कठोर यातना दिइयो । महाकवि देवकोटाले पनि नेपाली साहित्यको उत्थानका लागि, शिक्षाको ज्योति फिँजाउनका लागि, राष्ट्रियता र जातीय स्वाभिमानका लागि र समग्रमा मानवताकै सेवा गर्दा ‘लाइब्रेरी पर्व’मा सजायँ पाएको, उपचारको अभावमा वयस्क छोरालाई गुमाउनु परेको, आफूलाई पागल भन्दै राँची लगिएको, आवश्यक उपचारको अभावमा आफ्नो रोगको असह्य वेदना सहन नसकी पोटासियम साइनाइड माग्दै हात पसार्नु परेको जस्ता घटनाहरूलाई दृष्टिगत गर्दा देवकोटा आफैं प्रमिथसका रुपमा उभिएका देखिन्छन् । प्रसाईँ (२०४८ः२२२) भन्छन्— ‘त्यो महाकाव्य स्वयं देवकोटाको आफ्नो आत्मचरित्रमा आधारित एउटा नेपाली महाकाव्य हो । देवकोटाको कवि र मूल पात्र प्रमिथस त्यहाँ एकाकार भएर उभिएका छन् भन्ने कुरा देख्न सकिन्छ ।’ देवकोटा प्रमिथससँग एकाकार थिए भन्ने कुरा २०१६ भाद्र २१ गते मृत्यु शैयामा लेखिएको उनको कविता ‘प्रमिथसको जस्तो दुःख सहन्छु’ (एचयmष्तजबल उबष्ल क्ष् दभबच ) भन्ने कविताले थप पुष्टि गर्छ ।
‘प्रमिथस’ मा क्रान्तिचेत
महाकाव्यका नायक प्रमिथसको चरित्रलाई कविले मानवतावादी र क्रान्तिकारी गरी दुई प्रमुख चरित्रका रूपमा प्रस्तुत गरेको देखिन्छ । यस महाकाव्यका प्रमिथसलाई प्रथमतः मानव मात्रको संरक्षक र उद्धारकर्ता महामानवका रूपमा प्रस्तुत गरिएको छ । प्रमिथसले मानवका लागि स्वर्गबाट आगो चोरेर ल्याउने काम मात्र गर्दैनन् स्वयं मानव बस्तीमा गई परिश्रम गर्न सिकाउँदै कृषि, उद्योग, व्यापार, नगर विकास लगायतका विभिन्न खाले विकास र उन्नति गर्न लगाउँछन् । स्वर्गबाट लगेको आगोबाट बाह्य अन्धकार हटाउँछन् भने आफ्नो संबोधन, प्रबोधन र उद्घोषद्वारा मानिसभित्र रहेका अन्धकारलाई हटाउँदै उनीहरू भित्र ज्ञान, बुद्धि र चेतनाको ज्योति बालिदिन्छन् । प्रमिथसको मानिसप्रतिको यो त्यागमा रतिभर पनि आफ्नो स्वार्थ रहेको पाइँदैन । केवल न्याय, सत्य र मानवताको भावबाटै उनी यस्तो कार्य गर्न तम्सिएको पाइन्छ । देवकोटा स्वयं मानवतावादी भएकाले आफ्ना मानवीय भावना र आदर्शलाई प्रमिथसको कार्यबाट प्रकट गरेको देखिन्छ । कविले प्रमिथसलाई विशुद्ध मानवतावादी चरित्रको रूपमा मात्र नभई क्रान्तिकारी चरित्रको रूपमा समेत चित्रण गरेका छन् । यहाँ प्रमिथसको क्रान्तिकारिता न्याय, स्वतन्त्रता, मानवता र मुक्तिको लागि समर्पित रहेको देखिन्छ । मनुष्य जातिलाई नष्ट पारेर पृथ्वीमा अर्को नयाँ जातिको स्थापना गर्न खोज्ने जिउसका विरुद्ध विद्रोह गर्दै स्वर्गबाट आगो चोरेर मानव बस्तीमा पु¥याउने प्रमिथस साँच्चीकै एउटा विद्रोही र क्रान्तिकारी देखिन्छन् । बाह्य अन्धकारलाई हटाउनुका साथै मानव प्रगतिका अनन्त सम्भावना बोकेको आगोलाई पृथ्वीमा पु¥याउँदै त्यसको महŒव सुनाएपछि काँचो मासु चपाउने मानिसले पोलेर र पकाएर खान थाल्छ अनि आगोको सदुपयोग गर्दै विभिन्न प्रगतिहरू गर्दै जान्छ । प्रमिथसले गरेको यो विद्रोह स्वर्गाधिराज जिउसलाई असह्य भएपछि प्रमिथसलाई कठोर यातना दिइन्छ । ककेसस पहाडको चिसो प्रस्तरमा लगी छातीमा फलामे किल्ला ठोकेर राख्दा पनि उनी जिउका विरुद्ध, अन्याय र असत्यका विरुद्ध संघर्ष गरिरहन्छन् अनि जिउसलाई चुनौती दिँदै सत्यको विजय निश्चित भएकाले जिउसको पतन हुने उद्घोष गर्दछन् । जिउसले जति बढी यातना दिन्छ त्यति छिटो उसको पतन हुने र मानवको सुवर्णयुग आउने घोषणा गर्दछन् । प्रमिथसका क्रान्तिकारी विचार र चरित्रहरू मानवलाई सम्बोधन गरेको अवसरमा (सर्ग ३ः२४ देखि ६ः१–४१) विशेष रूपमा आएको देखिन्छ । यसका अतिरिक्त चट्टानकिलीत भएर वेदनाको उच्छ्वास निकाल्दा र जिउसको दूत हर्मिज आएर उनलाई जिउससँग झुक्न वा अझ कठोर यातना भोग्न दिएको चुनौतीको भत्र्सना गर्ने सन्दर्भमा पनि प्रमिथसको क्रान्तिकारिता प्रखर रूपमा प्रकट भएको देखिन्छ ः
त्यो दिवस दूर छैन जव डाँवाडोल होला
स्वर्ग ! वसुन्धरा जब काँप्लिन्, व्यायतवदनी । ...
अत्याचारी डुब्दछ, डुब्दछ जलमा लाचार
अनि आउला मानवको सुवर्णयुग एक । (१०ः२७, १०ः४३–४४)
प्रमिथसले मानवलाई गरेको सम्बोधनमा न्याय, स्वतन्त्रता, मुक्ति र प्रगतिको लागि अत्याचारी जिउस र स्वर्ग विरुद्ध सशस्त्र बनी क्रान्ति गर्नुपर्ने विचार व्यक्त भएको पाइन्छ । मध्यरातमा अन्धकारलाई चिर्दै तारा झरेझैं अन्यायको विरुद्ध सहिद हुन तयार हुनुपर्ने प्रमिथसको धारणा देखिन्छ ः
जस्तो हाँस्दछ झर्दो तारा तिमिर चिरी, चरक्क
विलय बिलासी मध्य निशामा । मर त्यसरी,
नमर्न नमर्न नित्य । क्रान्ति क्रान्ति क्रान्ति गर !
तिमिरको विरुद्ध उठ सशस्त्र हो मानव,
गिज्याई मर अन्धकार, रातो वा सेतो रापमा
अमरत्वको लेऊ चेत, स्वर्ग विरुद्ध उठ । (५ ः९)
‘प्रमिथस’ महाकाव्यको नायक प्रमिथस सत्य र न्यायका लागि मानवका पक्षमा सगरमाथा झैं अटल रहन्छ । कठोर सजायँको बाबजूद पनि सत्यको विजयमा विश्वस्त बन्दै मानवलाई समेत स्वर्गको विरुद्ध, जिउसको विरुद्ध सङ्घर्ष गर्न उद्घोष गर्दछ, प्रेरित गर्दछ । उसले मानवलाई गर्ने सम्बोधनमा बारम्बार सङ्घर्ष र क्रान्तिका शब्दहरू पस्किरहेको हुन्छ । देवकोटाकै प्रतिनिधि पात्रका रूपमा रहेको प्रमिथसको यो ‘क्रान्ति’ कस्तो हो त ?
प्रमिथसले जिउस विरुद्ध मानवलाई आह्वान गरेको क्रान्तिको प्रकृति वास्तवमा मानवतावादी थियो, मानवको संरक्षणका लागि थियो । यो शक्तिशालीले निर्बलमाथि गर्ने अत्याचार, असत्य र अन्यायको विरुद्धमा थियो । यो क्रान्ति प्रसाईँ (२०४८)ले भनेझैं द्वन्द्वात्मक भौतिकवादी प्रकृतिको नभए पनि जोशी (२०४७ः१८४) ले भनेझैं सामन्तवाद र साम्राज्यवाद विरोधी मानवतावादी क्रान्ति मात्र भने अवश्य होइन भन्न सकिन्छ । स्वर्गको महावीर टाइटन प्रमिथस पृथ्वी निवासी मानवको संरक्षण र हितमा लागिपर्नु र आफ्नै सहयोद्धा जिउससँग सङ्घर्ष गर्नु अनि मानवलाई पनि स्वर्ग विरुद्ध सङ्घर्ष गर्न लगाउनुले पनि यो क्रान्तिको आह्वान सामाज्यवाद–सामन्तवाद विरोधी मानवतावादी क्रान्तिका साथै मानवमात्रको मुक्ति र स्वतन्त्रताको लागि पनि हो भन्न सकिन्छ । स्वर्गाधिराज जिउस साम्राज्यवादको प्रतीक हो । ऊ पृथ्वीको दुर्बल र अविकसित मानवको उत्थान चाहँदैन । ऊ मानवलाई निमिट्यान्न पारेर आफूलाई मनपर्ने अर्को जाति (आफ्नो कठपुतली) स्थापना गर्न गर्न चाहन्छ । विश्वका स्वतन्त्र तर गरिव देशहरूमा हस्तक्षेप गरी आफ्नो कठपुतली सरकार गठन गर्न खोज्ने साम्राज्यवादी नीति भएका देशको प्रतिनिधि पात्र जिउस हो भने अविकसित पृथ्वीका मानवहरू, निर्धन देशहरू (तेस्रो विश्व) का प्रतीक हुन् अनि विश्वमा अन्याय, शोषण र भेदभावका विरोधी महामानवहरू (देवकोटा समेत) प्रमिथसका प्रतीक हुन् भन्न सकिन्छ । त्यतिखेर विश्वमा साम्राज्यवाद, उपनिवेशवाद र नवउपनिवेशवाद विरुद्ध चलेको मुक्ति आन्दोलन र स्वतन्त्रताको लहरले देवकोटाजस्ता मानवतावादी कविमा प्रभाव पार्नु स्वाभाविकै थियो । यता देशभित्रै सामन्तवादबाट आहत बनेका कवि बाहिरका साम्राज्यवादी र उपनिवेशवादी घटनाबाट पनि त्यत्तिकै प्रभावित थिए । नेपाली जनतालाई अन्धकारमा राखी आफ्नो एकतन्त्री शासन चलाउँदै आएका राणा शासकहरू जिउसकै प्रतीकका रूपमा र तिनका विरुद्ध सत्य र न्यायको पक्षमा लडेका वीर सहिदहरूलाई प्रमिथसकै प्रतीकका रूपमा रूपमा पनि लिन सकिन्छ । यसरी देशीय सामन्तवाद र विदेशी साम्राज्यवाद र विस्तारवादका विरुद्ध बलिदानीपूर्ण क्रान्ति गर्न प्रेरित गर्ने प्रमिथसको क्रान्तिभित्र सर्वहारा वर्गले गर्ने क्रान्तिसमेत ध्वनित भएको पाइन्छ ।
वि.सं. २००७ सालपछि देवकोटामा सामन्तवाद–साम्राज्यवाद विरोधी विश्व मानवतावादी भावना मात्र विकसित हुँदै गएको नभई प्रगतिवादी चेतनासमेत पलाउन थालेको पाइन्छ । देवकोटा आफ्नो यस भावनालाई बहन गर्ने कुनै उपयुक्त पात्रको खोजीमा थिए । फुटकर कविताबाट यो सम्भव नहुने हुँदा महान् उद्देश्य र चरित्रले ठाउँ पाउने, विचारले प्रशस्त चलखेल गर्न पाउने विधा महाकाव्य नै ठानी प्रमिथस गाथालाई पक्रँदै प्रमिथसका माध्यमबाट आफ्नो भावना प्रस्तुत गर्न पुगेको पाइन्छ । मानव जातिको उत्थानका लागि प्रमिथसले कठोर भन्दा कठोर यातना सहन्छन् । चिललाई कलेजो ठुङ्न लगाउने, प्रत्येक अङ्गमा शूल ठोक्ने र सुइरा रोपिने जस्ता यातना सुनाउँदा पनि उनी जिउसको अगाडि झुक्दैनन् । बाँच्न पाउनु प्रत्येक मानवको जन्मसिद्ध अधिकार हो तर स्वर्गाधिराज जिउस मानवको यस नैसर्गिक अधिकारलाई निमिट्यान्न पार्न खोज्छ । प्रमिथसको मुख्य विरोध यसैमा रहन्छ । यसरी प्रमिथसले उद्घोष गरेको क्रान्ति बाहिर हेर्दा सामन्तवाद र साम्राज्यवाद विरोधी उदार मानवतावादी क्रान्तिजस्तो देखिए पनि ‘क्रान्ति’ शब्दमा दिइएको जोड, त्यसको बारम्बारको आवृत्ति अनि स्वर्ग र राजा (जिउस) विरुद्धको आक्रोशलाई हेर्दा अनि उत्पीडित मानवलाई उठाउन गरिएको पयास समेतलाई हेर्दा क्रान्तिको स्वरूप सर्वहारा वर्गीय क्रान्तितिर पनि लक्षित रहेको बुझ्न सकिन्छ । फेरि, यो महाकाव्य २००७ बाट लेख्न सुरु गरिएको र त्यस समयावधिबाट देवकोटामा प्रगतिवादी चेत बढ्न थालेकोले गर्दा पनि यसो भन्न सकिने आधार देखिन्छ ।
तिम्रो छ जीवनको अधिकार स्वर्ग विरुद्ध (५÷१६)
बोल सय बोल हजार बोल पारावार
बोल अमर, अमर क्रान्ति, क्रान्ति अमर । (५÷२७)
निष्कर्ष
प्रजातन्त्रको उदय भइसकेपछि समकालीन धेरैजसो साहित्यकारले पूर्ण सन्तुष्टि प्राप्त गरेको र आ–आफ्नो कलम अन्य दिशामा मोडेको बेला देवकोटाले विद्रोहलाई अझ सशक्त बनाएर लगेको देखिनुलाई प्रसाईँ (२०४८ः२१७) ले द्वन्द्वात्मक भौतिकवादी, क्रान्तिद्रष्टा अथवा प्रगतिवादी कवि सिद्ध गर्ने ठाउँ नभएको भन्दै देवकोटा वास्तवमा पुँजीवादी संस्कृति र उदात्त प्रजातन्त्रको विरोधी भएको कहीँबाट पनि सिद्ध नहुने बताउँछन् । अत्यन्त भावुक र प्रतिभाशाली कवि देवकोटा आफ्ना भावनालाई पोख्न सधैं हतारिने हुँदा केही रचना विशेषलाई मात्र आधार बनाएर उनको मूल्याङ्कन गर्दा त्यो अपूर्ण हुन जान्छ, किनकि उनका कतिपय रचनाहरू गम्भीर प्रकृतिका वा सोचविचार गरी लेखिएका नभएर कसैको आग्रह,अनुरोध वा लहडमा लेखिएका र कतिपय आफ्नो आर्थिक समस्या टार्न (जस्तै बनारस प्रवासकालका कतिपय रचनाहरू) अनि कतिपय रचनाहरू शारीरिक अस्वस्थता र मानसिक पीडा भोगिरहेको अवस्थामा पनि लेखिएको हुँदा सबैमा उत्तिकै भाव र विचार नहुनु स्वाभाविक पनि हो । फेरि आर्थिक अभावले ग्रस्थ उनलाई आर्थिक कारणले पनि सिद्धान्तनिष्ठ र राजनीतिमा प्रतिबद्ध हुन नदिएको कुरा पनि केही हदसम्म साँचो हो । सानैदेखि उनको मस्तिष्कमा जरा गाडेर बसेको आध्यात्मिक चेत र संस्कारलाई पाश्चात्य अध्ययनले धेरै ढाकेको भए पनि बेला बखत उक्त संस्कारले शिर उठाउँथ्यो र त्यस समयमा उनले लेखेका रचनामा पुरानै प्रवृत्ति (स्वच्छन्दतावादी) दोहोरिने हुँदा उनलाई दार्शनिक अडान नभएका भनी आ–आफ्नो विचार अनुकूल हुने गरी टिप्पणी गरिएको पाइन्छ । वास्तविकता के हो भने उनी क्रान्तिप्रति प्रतिबद्ध भइ नसकेका तर क्रान्तिको आवश्यकता महसुस गरेका र त्यसप्रति आस्थावान् कवि अवश्य हुन् । वि.सं. २००२ सम्मका रचना, २००३ देखि २००६ सम्मका र २००७ देखि पछिका रचनाको विकासक्रम र त्यसको विकासशील स्वरूपलाई हेर्दा सो कुराको पुष्टि हुन आउँछ । देवकोटाको वैचारिक स्थितिलाई बुझ्नु भनेकै उनका रचनाको विकासक्रम र त्यसको विकासशील स्वरूपलाई बुझ्नु हो । ‘प्रमिथस’ मा प्रयुक्त क्रान्तिचेत प्रसाईँले भनेझैं विशुद्ध द्वन्द्वात्मक भौतिकवादी प्रकृतिको नभए पनि देशीय सामन्तवाद र विदेशी साम्राज्यवाद–विस्तारवाद विरुद्ध गरिने क्रान्ति मात्र नभई सबै प्रकारका अन्याय, विभेद, शोषण र उत्पीडनका विरुद्ध स्वतन्त्रता र समानताको स्थापनार्थ गरिने क्रान्ति हो जसमा स्पष्ट रूपमा माक्र्सवादी वा सर्वहारावर्गीय क्रान्ति नदेखिए पनि यस प्रकारको क्रान्तिको आवश्यकता रहेको भाव ध्वनित भएको पाइन्छ । देवकोटा यहाँ प्रतिबद्ध द्वन्द्वात्मक भौतिकवादी वा क्रान्तिकारी नभएर क्रान्तिप्रति आस्थावान वा प्रगतिवादोन्मुख कविका रपमा देखिन्छन् ।


प्रमुख सन्दर्भ
.जोशी, कुमार बहादुर. (२०४५) देवकोटाका प्रमुख कविताकृतिको कालक्रमिक विवेचना काठमाडौंः सिद्धार्थ वनस्थली प्र.प्र.।
...........................,(२०४७) देवकोटाका कविता–यात्राको विश्लेषण र मूल्याङ्कन काठमाडौंः ने.रा.प्र.प्र. ।
चापागाईँ, निनु .(२०५४) ‘देवकोटाका रचनाको अन्तर्विकास र प्रवृत्ति’ साथी १३ः६ ।
त्रिपाठी, वाशुदेव.(२०३१) कुमारवहादुर जोशी लिखित महाकवि देवकोटा र उनका महाकाव्यको भूमिका, काठमाडौंः सहयोगी प्र.।
प्रसाईँ, गणेशवहादुर.(२०४८)नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारा काठमाडौंः ने.रा.प्र.प्र. ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।