17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आई लभ यू दार्जिलिङ

हास्यव्यङ्ग्य कृष्ण प्रधान April 30, 2022, 2:15 am
कृष्ण प्रधान
कृष्ण प्रधान

स्नेही दार्जिलिङ !
अँगालोभरिको न्यानो माया ।
तिमीले माया गरेर डाकबाट पठाएकी पत्र हिजो मात्रै हात पऱ्यो । सायद तिमीले बिर्सियौ कि क्या हो को'नि ! टिकट खाममा नटाँसेर आल्पिनले पो खिलेर पठाइछ्यौ । तिमी भुलक्कड़ छ्यौ भन्ने पनि थाहा छ मलाई । मैले यादै गरिनछु...आल्पिनले झण्डै हात घोंच्यो । रिस पनि उठ्यो । पत्र खोलेर हेर्दा मात्र थाहा भयो पानीको अभावले टिकट नटाँसेर टिकट आल्पिनले खिलेर पठाएकी रहिछ्यौ । यतिञ्जेल दार्जिलिङमा पानीको हाहाकार र अभाव छ भन्ने सुनेको मात्र थिएँ तर तिम्रो यस पत्रमा टिकट आल्पिनले खिलेको देखेर पक्कै थाहा भयो दार्जिलिङमा साँच्चै पानीको अभाव रहेछ । के गर्ने प्रियतमा ? छैनको ओखति नै छैन । छैनको कुनै अस्तित्त्व नै छैन । साँच्चै तिमी दार्जिलिङेहरू युगौंदेखि 'छैनौं'-मा बाँचिरहेकाछ्यौ हो'कि !
मेरो मुटुको ढुकढुकी दार्जिलिङ ! तिमीहरूसित के छ र भन ता प्रियतमा ? छैन पक्कै छैन । छैन र पनि तिमीहरूलाई ठिकै छ । पानी छैन ; ठिकै छ । राशिन छैन ; ठिकै छ । किरैसरिको चामल दिँदा पनि ठिकै छ । स्नेही दार्जिलिङ ! मलाई पूरा थाहा छ । तिमी राम्ररी, हृदय खोलेर मनग्गे हाँस्न पाएकी छैनौ । हाँस्नेहरू कति होलान् र तिम्रा देशमा । एक मुठी हाँस्नेहरू होलान् तिमीभित्र । तर मलाई लाग्छ एक मुठी हाँस्नेहरूको इतिहास नै खँजाहा भएको छ । रू़ञ्चेहरूको देशमा तिमी बाँचिरहेकीछ्यौ । तिम्रो रू़ञ्चे देशको इतिहास भग्नावशेष भएको सुन्दैछु । तिमीसित समर्पित भएर हाँस्ने र रुनेहरूमाझ घमासान शीत-युद्ध भइरहेछ भन्ने पनि गाइँगुइँ सुन्दैछु । तर सत्य के हो मलाई थाहा छैन । तिमी बाहिर मात्रै हाँसेर भित्र-भित्रै रोइरहन्छ्यौ भन्ने पनि सुन्दैछु । हाँसिरहनेलाई हँसाउनु सजिलो छ तर भित्र-भित्रै रूनेहरूलाई हँसाउनु गाह्रो छ ।
मेरी प्रियतमा दार्जिलिङ, तिमी अचेल भक्कुचूर डाइस खेल्न थालेकीछ्यौ 'रे ! राजनीतिको डाइस । तर तिमीलाई डाइस खेलेर राजनीति गर्ने शकुनी ठ्याम्मै भन्दिनँ म । मायालु दार्जिलिङ ! तिमी राजनीतिको डाइस खेल कि राजनीतिको खोप्पी खेल । मेरो भन्नु केही छैन । डाइसका छ वटा गोटीहरूमध्ये चिड़िया, ईटा, मुकुट, भोटे, पानालाई छोड़ी झण्डीमाथि खूबै दाउ खेल्छ्यौ अरे ? के साह्रो चेपेकी झण्डीलाई ? झण्डीमा के छ त्यस्तो प्रिये ? राजनीतिको जूवाले तिमीलाई झण्डीजस्तै फ्याल्-फ्याल् बनाइसक्यो र पनि तिमी झण्डी नै सुमरिरहेकी छ्यौ ? अहिलेसम्म पनि तिमीले चेतेकी छैनौ । झण्डीमा के छ त्यस्तो प्रिये ? मुकुटलाई ता तिमी हेर्न सक्दिनौ अरे ! किन स्नेही मेरी प्रियतमा दार्जिलिङ ! मुकुटमाथि भरोसा छैन कि कसो अब ? हो बुझ्छु, मुकुट प्रति किन तिम्रो यति वितृष्णा ? सब बुझ्छु नि म । किनभने मुकुटले तिमीलाई गतिलो पाराले लण्ड्याएको छ नि ! मुकुट ता राजा-महाराजाको पो हुन्छ ता होइन ? तर मुकुट पहिरिएर राजा हुने तिम्रा डाइसका गोटीहरू जति कोही फारस पसे अनि कोही चाहिँ साङ्लोमा बाँधिएको भोटे कुकुरजस्तो भए भनेर मुकुट प्रति तिम्रो वितृष्णा दिन दुइगुणा रात चौगुँणा बढ़ेको हो'कि ! फेरि कोही चाहिँ फोल्डिङ्वाल मुकुट वेल्डिङ् गरी बाघको ट्रेनिङ सेण्टरमा छन् भन्ने पनि तिमीले लेखेकी रहिछ्यौ । चिठीमा तिमीले एउटा कुरा लेखेकी मैले कति गर्दा पनि बुझ्न सकिनँ । जदौरी गरेर हात पारेको मुकुट पहिरिएर बाघको ट्रेनिङ गरेको कुरा ता पच्यो प्रियतमा तर बाघको छाला ओढे़र भित्र गधा भएको कुरा ठ्याम्मै पचेन । मान्छेको ता प्रोमोशन पो हुन्छ होइन र ! गधा प्रोमोशन भएर बाघ हुनुपर्ने कि बाघबाट गधामा डिमोशन हुनुपर्ने प्रियतमा ? बाघको मति बिग्रेको कि गधालाई दशा लागेको ? स्नेही मायालु दार्जिलिङ ! आउने दिनमा अब तिमीले गधा बनिने छोराहरू जन्माउनु हुन्न । कथङकल त्यस्ता गधा छोराहरू गर्भमा बस्यो भने त्यस्ता गधा छोराहरूलाई गर्भमै तुहाइदिनुपर्छ । नत्र तिम्रा छातीभरि गधाको बजार लाग्नेछ । लाखेस् ! तिमीले एक ठाउँ लेखेकी रहिछौ, म बाघजस्तो छोरो जन्माउनु सक्छु भनेर । हो थाहा छ, तिम्रोमा साँच्चै शक्ति छ बाघछोरा जन्माउने । तर तिमीले जन्माएका बाघपुत्रहरू जति साङ्लोमा बाँधिएको भोटे कुकुरजस्तो पो देखेँ है । मालिकले बिहान मर्निङ् वकमा जता डोऱ्यायो त्यतै त्यतै लाग्नु बाहेक आफ्नो इच्छाले घुम्न नसक्ने । यस्ता हुतिहारा छोराहरूलाई बाघपुत्रको पगरी गुँथाउनु ? यसो गर्नु तमाम् बाघहरूको बदनाम गर्नु हो । तिमीलाई एउटा कविता सुनाउनु मन लाग्यो -
स्नेही हृद्येश्वरी दार्जिलिङ
तिमीले जन्माएकी
तिम्रा बाघपुत्र बाघको मुखुण्डो ओढ़ी
राजनीतिको मास्कले मुख छोपी
गधाको खुशामदी रगत बोकेर
फेरि तिमीलाई नै बलात्कार गर्न आउँदैछ ।
बलात्कार भन्दा अन्यथा ठानौली प्रिये । तिम्रो कुमारीत्व वा कौमार्यको कुरा गरेको होइन । कैयौंपल्ट बलात्कृत भइसकेको तिम्रो राजनीतिलाई फेरि बलात्कार गर्छ कि भन्ने लख काढ़ेर बलात्कारको कुरा गरेको हुँ । किनभने बाघको खोल ओढ़ेर गधा हुन सक्नेले अनि भोटे कुकुर झैं साङ्लोमा बाँधिएर मालिककै ईशारामा भुक्नेले फेरि फेरि तिमीलाई बलात्कार गर्दैन भन्ने के ग्यारेण्टी छ । यसकारण हीराकै श्रीपेच लाएर वा सुनै-सुनैको पहिरनमा जो सुकै आए पनि प्रियतमा जदौरी हीराको श्रीपेच र जदौरी सुनको पहिरनमाथि तिमीले ठ्याम्मै विश्वास गर्नु हुँदैन । उखानै छ नि, 'जुनै जोगी आए पनि कानै चिरेको ।'
राजनीतिको डाइसमा तिमीले कहिल्यै जित्न सकिनौ । झण्डीमै तिमीले ज्यान गुमाए पछि जित्छ्यौ पनि कसरी प्राणेश्वरी ! सुन्दैछु राजनीतिको डाइसमा तिमीले पटकपटक झण्डीमै दाउ छोपेकी देखेर तिम्रा भित्ता-पाखा पनि छक्क पर्छ 'रे' ! भित्ता-पाखाको ता के कुरा मैं तीन छक्क पर्छु अन्त । तिमीसित राजनीतिको डाइस खेल्नेहरूलाई तिमीले झण्डीकै गोटी बोकाएर बोकाएर वाक्क र दिक्क लाउँछ्यौ भन्ने पनि सुन्दैछु । यसैले तिम्रा डाइस पार्टनरहरू जुनै झण्डी देखे कि हतार-हतार त्यही झण्डी समाती हुद्दा बनाएर फोटो खिँची फेस बुकमा अपलोड गरेको तीन-चारवटा पोष्ट मेरोमा आइसकेको छ । यो झण्डी झण्डी भनेर एक दिन तिमी ब्रण्डीको रित्ता बोतलजस्तो हुन्छ्यौ है मेरी मुटुको टुक्रा दार्जिलिङ । रित्ता बोतललाई टिन-च्यापला (खाते) वालहरूले बोरामा खाँदेर मधेश झारेको म हेर्न सक्तिनँ प्रियतमा । डाइसको झण्डीसित राजनीति गर्ने तिम्रो यो इच्छालाई रोक्न सक्तिनँ म । तर झण्डीको जूवा खेल्दा-खेल्दा तिमी आफै चाहिँ रित्ता ब्रण्डीको बोतल भएर मलाई लज्जित बनाउने कोशिष नगर्नू भन्ने मेरो विन्ती छ मेरी प्रेयसी दार्जिलिङ तिमीलाई ।
एउटा कुरा अचम्म लाग्छ हृद्येश्वरी दार्जिलिङ ! राजनीतिको डाइसमा तिमीले झण्डीलाई दावमा लगायौ-लगायौ तर शहीदहरूलाई समेत च्याँखे थाप्नु मात्र होइन शहीद दिवसको दिन मञ्चबाट रूने निहुँमा गोहीको आँशु खाराक्-खुरूक् पैंचो मागेर गोहीलाई बसिनसक्नु बनाएको कुराले मलाई बेला-बेला चिथोर्छ; कोपर्नुसम्म कोपर्छ ।
स्नेही प्रेयसी ! अचेल तिमी डाइसको झण्डीले हो'कि ब्रण्डीले हो को'नि ! तिमीले बिनासित्तिका कुराहरू फलाक्न थालेकीछ्यौ भन्ने खबर पनि मकहाँ आइपुगेको छ । तिम्रा विशाल मुटुको सिरानमा अड़ेसिएर वास बस्नेहरूले तिम्रा कुराहरू पत्याउन् वा नपत्याउन् तिमीलाई लुतो कनाइ केही छैन । यसबारेमा मलाई तिमीसित कुनै दुःख मनाउ पनि छैन । कारण त्यो किसिम फलाक्ने तिमी नै होइनौ भन्ने पनि मलाई विश्वास छ । यो ता तिम्रा मुटुको सिरानमा गजधम्म बिसाउऩे शकुनी र दुर्योधनहरूको फल्याकाइँ हो । तिमी ता एउटा सोते मात्रै प्राणेश्वरी दार्जिलिङ ! सोते फुक्नेहरू अरु नै छन् ।
हो प्रियतमा, तिमी मसित लागेकी भए पनि तिमीलाई चैं पक्कै राजननीति लागेको छ । हुन ता तिम्रो संसारमा अचेल कसलाई राजनीति लागेको छैन, होइन ? एकजना गाउँ-बूढ़ादेखि लिएर भुराभुरी अनि भुराभुरीदेखि लिएर भुस्याहा समेतलाई अहिले राजनीतिले भेटेको छ । तिमी पत्याऊ वा नपत्याऊ तर तिम्रा छातीभरि विचरण गर्नेहरू एउटाले अर्कोलाई चिन्नै छोड़िसक्यो 'रे । खोई तिम्रा आचार-संहिता ? खोई तिम्रा लक्ष्मण रेखा ? तिम्रा नैतिक बन्देज गार्लाम्-गुर्लुम् ढलिसकेको तिमीलाई थाहा छ के ? तिमीलाई थाहा छ कि छैन को'नि ? जति समय बित्दै जाँदोछ उति उति तिमी साँघुरी, सङ्कीर्णी भएकी देख्छु म । तिम्रा राता-राता गाला जूवामा हारेको काटाकुटी हस्तिनापुरै देख्छु म । यी साँघुरा र सङ्कीर्णताको घेराबाट तिमी कहिले मुक्त हुन्छ्यौ भन्ने अहर्निश सुर्ताले छटपटिन्छु म ।
मेरी ज्यान दार्जिलिङ ! तिम्रा छातीभरि शहीदहरूको आरोपको कोरस गीत सुन्ने गर्छु । तर शहीदहरूका आरोपको कोरस गीतका क्यासेटहरू न ता कसैको ओंठ-ओंठमा झुण्डेको पाएँ न ता गोठ-गोठमा गुञ्जेकै पाएँ । शायद तिमीलाई पनि त्यो आरोप कोरस सुन्ने भाग्य जुरेको छैन । लु सुन शहीदको आरोप -
साँझबत्ती बाल्ने बेलामा
हामी आएर हजूरको सङ्घारैमा उभिन्छौं
हरेक शहीद दिवसको दिन,
भुकभुकै उज्यालौमै आएर
हाम्रै शहीद बेदीमा उभिन्छौं,
न ता हामीलाई कसैले देख्छन्
न ता हाम्रो पदचाप कसैले सुन्छन्
अदृश्य भएरै हामी सिन्केधुपसित रुमलिन्छौं,
तर हाम्रो वास्ता कसैले गर्दैनन्
किनभने हामी मरिसकेका छौं ।

जुलूस भट्याउँने जोशमा
छर्राले हाम्रो छाती छेँड़िएको यादै भएन
छर्राले हाम्रो गिदी छिल्लीबिल्ली भएको थाहै भएन
किनभने हामी जुलूस भट्याइरहेका थियौं
कि जुलूस भट्याइरहेका थियौं
कता हो कताबाट आएको टियर ग्यासको
अचानक हाम्रा आँखाहरू धुँवाले धमिलिए
मृत्युले हामीलाई अँगालो हाल्यो ।

कतिले देशदोह्री भने, कतिले शहीद बनाए
आमा-बाबुले झर्झराउँदा हीराका टुक्राजस्ता
कतिका सिन्दूर पुछिए, फुटिए कतिका चुराहरू
टुहुरा बने कैयन् भुराहरू
छोराहरू गुमाए....।

शहीद दिवसमा हाम्रो नाउँमा
गोहीको आँशु सापटी मागेर रुँदा
थपड़ी मार्नेहरूको ताँती पनि देख्यौं हामीले
छोरा गुमाएका आमा-बाबाका
गहबाट बलिन्द्र आँशुका धारा बग्दा
सान्तवनाका हातहरू कुँजे भएका देख्यौं हामीले ।

हामीलाई शहीदको जदौरी तकमा पनि चाहिएऩ
हामीलाई शहीद श्रद्धा पनि चाहिएन
हामीलाई शहीदको तकमा पनि चाहिँदैन
हाम्रो नाममा गोहीको आँशु झार्नु पनि पर्दैन
हाम्रो निम्ति हामी केही माग्दैनौं
किनभने
हामी मरिसकेका छौं
गोली लागेर मरेका हौं
हामी मात्र शान्ति माग्छौं
शान्तिको निम्ति विन्ति गर्छौं
ता'कि आउने दिनमा
हाम्रा भाइ-बहिनीहरूलाई
शहीदको तोक नलागोस्
उनीहरू निष्फिक्री बाँच्न सकुन्
निर्धक्क हुर्कन सकुन्
उनीहरू ढुक्क भई खेल्न सकुन् ।
मेरी प्रियतमा दार्जिलिङ ! जल्दा-बल्दा समस्याहरूले तिमीलाई रात दिन एनाकोण्डाले मान्छेलाई बेह्रेजस्तै बेह्रिएको देख्दैछु । पानी तिम्रा भाग्यमा नभएकी स्नेहालु प्रेयसी ! धाराको पानीमा नुहाई आश्वासनको बारूद पड़्काएर भाकल गर्दै किरिया समेत खान्छ्यौ अरे । मेरी प्रियतमा, मेरो एउटै अनुरोध के छ भने, तिमीलाई जाँड़ लागोस् तर भक्कुचूर राजनीति चाहिँ नलागोस् । कारण तिमीलाई थाहा हुनुपर्ने, राजनीत्ति लागेपछि मानछेले लाज, शरम, डर, भय सबै पचाउँछ ।
मेरी मायालु दार्जिलिङ, म तिमीलाई औधी माया गर्छु । आई लभ यू टु मच । तिमीलाई माया गरेको एउटै कारण के हो भने, तिमीलाई तिम्रै आँगनको राजनीतिले खुल्लम-खुल्ला, हाका-हाकी बजारमा वलात्कार गरेको छ । तिमीलाई हानाहान र तानातानका गिद्दहरूले जबरजस्ती नङ्ग्याएर, चिथोरेर तिम्रो अस्तित्त्वको शीलभङ्ग गरेको छ । तिम्रो कमुलो मन अपहरण गरेर आश्वासनको धृतराष्ट्रले तिम्रो कौमार्य लुटेको छ ।
आफ्नी प्रेयसी राजनीतिको बजारबीचमा बलात्कृत भएको थाहा पाउँदा कुन हुस्सु, लट्ठक प्रेमिले स्वाकार्लान् ? तर म तिमीलाई स्वीकार्छु, हजारौंपल्ट स्वीकार्छु । शास्त्रमा भनिएको छ, "बलात्कृत नारी कुमारी झैं पवित्र हुन्छे ।" त्यसैले तिमी बलात्कृत भएर पनि पवित्र छ्यौ ; चोखो छ्यौ । एउटा कुरा चाहिँ पक्कै हो, सो के भने तिमी पवित्र अनि चोखो भएर पनि तिमी रित्ता छ्यौ ; खोक्रो छ्यौ । तिमीसित सबै भएर पनि केही पनि छैन स्नेही दार्जिलिङ । राजनीति भनेको चौरस्ताको घोड़ाजस्तै हो । सिजनमा टुरिष्टहरू घोड़ा चढ़ेपछि अनि अफ सिजनमा आक्कल-झुक्कल तिम्रै शाखा-सन्तान चढ़ेजस्तै राजनीतिको घोड़ामा पहिले गोराहरू चढ़े , त्यसपछि अरु चढ़े अनि अहिले तिमीभित्रका जनावरहरू चढ़ेर तिम्रा लक्ष्मण लेखा नाँघी गर्नुसम्म धलिमलि गरिरहेका छन् । तिम्रा राजनीतिको घोड़ामा चढ़्न नपाउनेहरू धुरीमा चढ़्न उत्ताउलिएका देख्दा म दङगदास परिरहेको छु ।
मेरी प्रियतमा दार्जिलिङ, राजनीतिको घोड़ा चढ़्न पनि तिमीले अरूलाई नै दियौ । भए जत्ति महत्त्वपूर्ण सरकारी कार्यालयहरू पनि तलतिरै पठाइसक्यौ । राजभवनका सयौं वर्ष पुराना को'नि के के पनि शुटिङको निहुँमा मुम्बई पठाइदियौ । पानी ता छँदैछैन । राम्ररी खोतलि हेऱ्यौं भने के के पनि सुटुक्कै पठाइसक्यौ होली को'नि ता नि ! तिमीभित्र न ता एकता छ न आपसी सुझबुझ नै । न ता कुनै योजना छ न ता कुनै रणनीति नै । छ भने तिम्रा राजनीतिमा फोहोर मात्रै देख्छु म हिजोआज । फोहोरको थुप्राइमा राजनीतिले तिमीलाई ढुकुमुकु खेलेर तिमीलाई खोक्रो रित्तो बनाइसकेको तिमीले याद गरेकीछ्यौ प्रियतमा ? भाले ढुङ्गाजस्तो हल न चल भई बाहिर मात्र हाँसेर तर भित्र चाहिँ रोईरहेर मात्र अब कति दिनसम्म यसरी सही बस्छ्यौ मेरी हृदयकी रानी दार्जिलिङ तिमी ।
यसैले मेरी प्रियतमा दार्जिलिङ ! अब ढिलो गर्ने समय छैन । वर्तमान राजनीतिको डाइसमा झण्डीमा मात्रै दाव छोपेर डाइस खेल्ने समय गयो । राजनीतिको डाइस खेल्छयौ नै भने डाइसका छ वटै गोटी चिड़िया, भोटे, पाना, ईटा, मुकुटहरूमा पनि दाव लगाऊ । झण्डीमा मात्रै दाव लगाइरह्यौ भने तिमी नै झण्डी भएर लफ्र्याक-लफ्र्याक उड़्नुबाहेक अरू केही गर्न सक्तिनौ । यसकारण प्रियतमा दार्जिलिङ, डाइसको झण्डीमाथि भर नपर । यस्ता झण्डीहरूले हामी सबैलाई ब्रण्डीजस्तै बनाएको छ ।
आज इति । तिम्रो उत्तर पाए लामो लेख्नेछु ।
तिम्रो छात्तीमै लुटपुटिन चाहने,
तिम्रा ज्यान ।

सिलिगुड़ी ( भारत) ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।