१. प्रसङ्ग
काठमाडौबाट इलाम घर जाने क्रममा इलाम सदरमुकाममा साहित्यकार खोलाघरे साहिँलासँग अचानक भेट भयो । साहित्यमा रुचि राख्ने मेरा लागि यो भेट निकै उत्साहप्रद थियो । गत केही वर्ष यता साहित्यका गतिविधि तथा लेखन कार्यमा निकै सक्रिय भएर निस्किएका खोलाघरेले अघिल्लो सालमात्र “ जिजीबिषा—रिक्त/रिक्त ” गजल सङ्ग्रह प्रकाशनमा ल्याएका थिए । योपल्ट पनि उनले भेट्नासाथ “स्थापित/विस्थापित” नामक कथासङ्ग्रह दिँदै भने, “पढेर प्रतिक्रिया गरिदिनुहोला । ”
काठमाडौमा निकै व्यस्त जीवन बाँचिरहेको हुनाले मेरो अभिरुचि भए पनि साहित्यिक लेखन तथा प्रकाशन कार्यमा सुस्तता छाएको थियो । यस्तो समयमा भएको खोलाघरे साहिँलासँगको आजको भेट र उनमा देखिएको क्रियाशीलताले मलाई झक्झकाएको सम्झिएँ ।
खोलाघरे पनि सदरमुकाममा आफ्ना व्यक्तिगत काम सकेर घर जाने तर्खरमा रहेछन् । इलामदेखि उत्तरेसम्म हाम्रो बाटो मिल्ने भएकाले आजको यात्रालाई साहित्यिक र रसमय बनाउन हामी सँगै गाडी चढ्यौँ । उनले काठमाडौका हालखबर र मेरा साहित्यिक गतिविधिको चासो राखे । मैले विहान बेलुकीको जोहो जुटाउँदैमा अन्य कार्य र साहित्यका लागि समय निकाल्न नसकेको कुरा बताएँ । केहीबेरको कुराकानीपछि उनी गाडीमै उङ्न थाले , मचाहिँ उनले दिएको पुस्तक पल्टाउन थालेँ ।
पुस्तकका लागि कृष्णा धरावासीले भूमिका लेखेका रहेछन् । त्यसमा उनले लेखेको एक अंश पढेँ , “अचेल त कथा आफैँ लीला गर्छन् । आफैँ हो भन्छन् , आफैँ होइन भन्छन् । ”
यसबाट स्थापित विस्थापित कथासङ्ग्रहभित्रका कथाहरु लीलालेखनको मान्यतामा आधारित रहेछन् भन्ने कुरा बुझ्न मलाई गारो परेन ।
राँकेमा गाडीबाट ओर्लिएपछि उत्तरे पुग्न करिब तीन घन्टाको पैदल यात्रा तय गर्नुपर्थो । हामीले राँके बजारमा खाजा खायौँ र कुराकानीसँगै यात्रा सुरु गर्यौँ । सधैँजसो कुहिरोले ढाकिएका देखिने यी डाँडापाखाहरु आजचाहिँ उघ्रिएका थिए । त्यस्तै सधैँ पट्यारलाग्दो र कठिनजस्तो लाग्ने बाटो हिँड्न कठिन अनुभव भएको थिएन ।
खोलाघरे साहिँला आफूले भर्खरै प्रकाशनमा ल्याएको नयाँ पुस्तकका सम्बन्धमा बताउन चाहिरहेका थिए । म उनकै कुरा सुन्ने मनस्थितिमा थिएँ । उनी भन्दै थिए , “ मान्छेका मन , मनभित्रका रहर र खुल्दुलीहरु , तिनले बनाएका समस्याहरु , भविष्यका अन्योलहरुतिर सङ्केत गर्ने लेखेँ लागेको छ । ”
खोलाघरेले यो बताउँदै गर्दा लीलालेखनको मान्यतालाई अङ्गीकृत गरेका उनको भाषा पनि इन्द्रबहादुर राईले लीलालेखनका लागि भनेर अघि सारेको तथा प्रयोगमा ल्याउँदै गरेको जस्तो रहेको थाहा पाएँ । म सुन्ने मानसिकताले नै जिज्ञाशु अनुहारले उनलाई हेर्छु । उनी बताएँदै रहन्छन् , “ पुराना पुस्ता र नयाँ पुस्ताका साहित्य सर्जकहरुबाट उकासिएको रहेछु । यिनै उरालाई , हौस्याई ,उकासाईहरुबाट उम्किन नसकेको भएर लेखेँ लागेको छ । कुभलो कतै कसैबाट भएन , गरिएन भन्ने ढुक्कभरि चलेछु । ”
पहिले कविता र गजल मात्र लेख्ने उनले आख्यान विधामा हात हाल्नु मेरा लागि अप्रत्यासित नै थियो । उनको आजको एकोहोरो बोलाइमा मेरा केही जिज्ञाशाहरुको उत्तर पनि आउँदै थियो । “ अकथा पनि हुन थालेको अचेलमा पात्रहरुले विद्रोह मच्चाएर खबरदारी गर्ने अचेलमा लेखकको मृत्युको घोषणा समेत भइसकेको अचेलमा होसै नराखी आख्यान हालियो । ”
म उनका कुरा सुन्दै , चकित हुँदै र मनमनै उनकै बारेमा सोच्दै हिडिरहेको थिएँ ।
उनी पहिले पहिलेका भेटमा आफूलाई साहित्य फुर्नै छोडेको गुनासो गर्थे । अब चाहिँ उनले आफ्नो सम्पूर्ण समय साहित्यमा दिन थालेछन् भन्ने मैले अनुमान गरेँ । अनि अहिले त शैली तथा शब्दहरुको प्रत्येक उच्चारणपिच्छे साहित्य फुर्न थालेको पाएर चकित भएँ । अनि आफैँभित्र नयाँ उर्जा सल्बलाउन थालेको पनि अनुभव गरेँ ।
पत्तै नपाई निकै बाटो काटिएछ । कमेरेभञ्ज्याङ् पुगेपछि मूल बाटो छोडेर छिटो बाटो काट्न हामी जङ्गलको गल्छेडो हुँदै अगाडि बढ्न थाल्यौँ । त्यहाँ पुगेपछि खोलाघरेले भनेँ, “मैले यो कथा सङ्ग्रहमा यही ठाउँको विषयलाई समेटेर धत्तेरिका शीर्षकको कथा लेखेको छु । अचेलभरि एक्लै हिँडेको मान्छे यहाँबाट भित्र पसी बाहिर छिरी ननिस्किएसम्म बाँच्न पाउँछु कि पाउँदिन भन्ने सम्झिराख्छ । ”
अघिदेखि रित्तो डोको बोकेकी एक महिला आउँदै थिइन् । तिनी हामीभन्दा १०—१५ पाइला जति पछि थिइन् । तर बाटोमा एक्लै हिँड्नु पर्दाको डर छल्न केही दूरी राखेर पछि पछि हिँडेकी थिइन् भन्ने जान्न हामीलाई गारो थिएन । तर खोलाघरेको माथिको वाक्य टुङ्गिने बित्तिकै उनले अलि नजिक आएर प्रश्न गरिन् ,“तपाईँ राई हो ? ” ती महिलाले नबोली हिँड्दै गरेको धैर्य तोडिन् । खोलाघरेले पनि सहज उत्तर दिए , “ म राई होइन , अधिकारी बाहुन हुँ ? किन राईजस्तो देखिन्छु र ? ” उनले प्रतिप्रश्न गरे ।
उनले उत्तर दिइन् , “तपाईँले बोलेको र हाम्रो गाउँको राई साहिँलाले बोलेको उस्तै लाग्यो र नि ?”
खोलाघरेले कुरालाई ठट्टामै उडाए , “म राई साहिँलो होइन , खोलाघरे साहिँलो पो हुँ । ”
लीलालेखनका लागि भनेर इन्द्रबहादुर राईले अघि सारेको जस्तो भाषाशैलीमा बोलेका खोलाघरे साहिँलाको भाषाप्रति राईभाषी समुदायले बोल्ने गरेको नेपाली भाषाको रुपसँग मिल्न गएकै कारणले ती महिलाले खोलाघरे साहिँलालाई “ तपाईँ राई हो ?” भन्ने भनेर प्रश्न गरेकी रहिछन् भन्ने कुरा मैले झल्याँस्स सम्झिएँ ।
हुन पनि खोलाघरे साहिँलाको बोलाइको लवज पहिले त यस्तो थिएन । लीलालेखनको तलतलले तानिएपछि नै यस्तो लवजमा बोल्न थालेछन् । राईभाषी समुदमयमा बोलिने नेपाली भाषाको रुपलाई नै लीलालेखनका लागि आवश्यक भाषा भनी व्याख्या गरेर इन्द्रबहादुर राईले नेपाली साहित्यका पाठक र समालोचकलाई भ्रममा पारेका रहेछन् ।
“हामी जेलाई सत्य मानेर पत्याइरहेका हुन्छौँ त्यो सत्य नभएर भ्रम मात्र हो ” । भन्दै लीलालेखनको मान्यता बनाउने उनले भ्रम प्रस्तुत गर्दा पनि इमान्दारितार्वक गरेका रहेछन् ।
मलाई ती अनपढ जस्ती देखिने अपरिचित महिला शङ्कर लामिछानेले औपनयासिक पात्र जीवनको पृष्ठभ्मूिमा शार्षकको निबन्धमा बताएजस्तै असाधारण लागिन् । उनले राईभाषी समुदायमा बोलिने नेपाली भाषाको भेद पर्गेलेर त्यससँग लीलालेखनमा व्याख्या गरिएजस्तो भाषाशैलीमा बोल्ने खोलाघरेको भाषामा समानता रहेको बताइन् । यसरी तिनले लुकाइएका रहस्यहरुको पोल खालिदिइन् , भ्रमको पर्दा उघारिदिइन् ।
उत्तरे पुगेपछि खोलाघरे फुएँतप्पा आफ्नो घरतिर लागे , म आमचोकतिर । हामी छुट्टियौँ तर खालाघरेलाई ती अपरिचित महिलाले “तपाईँ राई हो ?” भनी गरेको प्रश्नको गम्भीर अर्थ खोज्ने तलतल छुट्नै सकेन । र यो अति रोचक संयोगबाट प्राप्त तथ्यलाई पुष्टि गर्ने सबल आधारहरु भेटेर रोमाञ्चित भएको छु ।
२ विषय प्रवेश
आफ्नो लेखनयात्रा थालनी गर्दा मानक नेपाली भाषाको नजिक रहेर साहित्य सिर्जना गर्ने इन्द्रबहादुर राईले आयमेली आन्दोलनका क्रममा सम्पूर्णता प्रस्तुत गर्ने भाषाको आवश्यकता रहेको भन्दै भाषिक प्रस्तुतिमा अष्पष्टता र जटिलता सिर्जना गर्न थालेका थिए । उनले लीलालेखनको मान्यता अघि सारी विपठन र विनिर्माणमा सहयोग पु(याउने लीलानुसारी भाषाको आवश्यकता रहेको बताउँदै अझ असामान्य र जटिल भाषाको प्रयोग गरेका छन् ।
राई मातृभाषी समुदायले दोस्रो भाषाका रुपमा वषौँवर्ष प्रयोग गर्दै आएको नेपाली भाषाको कथ्य रुपलाई नै इन्द्रबहादुर राईद्वारा रचित साहित्यमा हुबहु प्रयोग गरिएको छ । आफूले स्वस्फूर्त रुपमा प्रयोग गर्ने यस्तो भाषाशैली मानक नेपाली भाषासँग मिल्दैन । यो कुरा स्वयम् उनलाई थाहा छ । यसै कुरातर्फ सङ्केत गर्दै उनी लेख्छन् , “ होइन मलाई तिमी अचेल बुझ्दैनौ , मेरो भाषा अलग तिम्रो बुझाइभन्दा । म मलाई नै बुझ्दिनँ ; तगारो छ शब्द । बेइमान शब्दहरु मेरो इमान्दारी हाँस्छन् । जुवाब लाग्छन् ; अर्थहरुमात्र तेरै आँखा , तेरै मन , तेरै बुद्धि ।” ( कठपुतलीको मन )
विषय , विचार र अनुभवलाई लेख्य रुपमा प्रस्तुत गर्न त्यति सजिलो छैन । त्यो शब्द र प्रसङ्ग नदोहोरिएको तथा सिलसिलाबद्ध हुन आवश्यक छ । लेखाइ औपचारिक र मानक भाषामा हुन आवश्यक छ । तथापि राई मातृभाषाको प्रभावमा इन्द्रबहादुर राईको भाषा त्यसै पनि भिन्न छ । त्यसलाई दाजर््िलिङमा बोलिने पूर्वेली भाषिकाको प्रभावले पनि अझै भिन्न शैलीको बनाएको छ । उक्त प्रसङ्गहरुले नै आफ्नो भाषिक प्रस्तुति अलग बनाएको कुरा राईले उल्लेख गरेका छन् । त्यसैले आफूले बोलेको अरुलाई बुझ्न कठिन छ , जस्तो अर्थ लगाउँछौ लगाऊ , जस्तो बुझ्छौ बुझ भनी सूच्य रुपमा ब्यक्त गरी त्यही नमिल्दोपनलाई लीलालेखनको परिभाषाको आवरणले छोप्ने प्रयत्न गरेका छन् ।
दोस्रो भाषा प्रयोग गर्ने वक्तामा मातृभाषाका भाषिक संरचनाको प्रभाव परेको पाइन्छ । डा. चूडामणि बन्धुका अनुसार पूर्वजको मातृभाषा अर्कै र आजका पुस्ताको मातृभाषा अर्कै भए पनि आज प्रयोगमा आएको मातृभाषामै पनि पूर्वजका मातृभाषाको प्रभावमा रहेको देखिन्छ । डा. नोबल किशोर राईले हालम्म गुरुङ मातृभाषा अपनाउँदै गरेका रुम्जाटारका गुरुङहरुको र नेपाली भाषालाई नै मातृभाषाका रुपमा अपनाउन थालेका पोखराका गुरुङहरुको कथ्य नेपाली भाषाको प्रयोगगत समानताई पूर्वजका मातृभाषाको संरचनागत प्रभाव पुस्तौँसम्म रहने र त्यसले प्रयोग गर्न थालिएको नयाँ भाषालाई पुरानो भाषिक संरचना अन्तरगतको बनाउँछ भनेका छन् । यसलाई इन्द्रबहादुर राईले पनि सूच्य रुपमा स्वीकार गरेका छन् । र आफ्नो भाषिक प्रयोग मानकभन्दा भिन्न प्रकारको हुनमा पूर्वजको मातृभाषाको प्रभाव रहेकोतर्फ सङ्केत गरेका छन् , “म मेरा पूर्वजहरु कराउँछु । हजार हात प्रेरणा पक्रन्छन् मेरा । कति लामो हातेमालो यो । लहर झैँ लहर उभेका छौँ । आफूहरु हुत्तिँदै सबले । ”
यस्तो हुनमा निश्चित कारण पनि छ । ब्यक्ति जहिल्यै मातृभाषामा सोच्छ र त्यसलाई मनमनै उल्था गरी दोस्रो भाषामा प्रस्तुत गर्छ । कतिपय अवस्थामा पहिलो भाषाको पदक्रमको प्रभावमा आएर दोस्रो भाषाको पदक्रममा विचलन आउँछ । वर्षौँ वर्षसम्म प्रयोगमा आएर यस्तो भाषिक प्रयोगले सामान्य नियमको रुप ग्रहण गर्छ । अनि निशिचत भाषालाई दास्रो भाषाका रुपमा सिङ्गो समुदायले नै एकै प्रकारले प्रयोग गर्न थाल्छ । अरुलाई जटिल लाग्ने त्यही संरचनागत भाषिक प्रयोग उक्त समुदायमा सहज र सम्प्रेषणीय बन्न पुग्छ । यही प्रक्रियाले आफ्नो समुदायमा सहज र सम्प्रेषणीय रहेको मानकभन्दा निकै जटिल संरचनायुक्त नेपाली भाषा इन्द्रबहादुर राईले स्वतः स्फूर्त रुपमा प्रयोग गरेका छन् । त्यसैले त उनले कठपुतलीको मनमा भनेका छन् , “ होइन मलाई तिमी अचेल बुझ्दैनौ ; मेरो भाषा अलग तिम्रो बुझाइभन्दा ।” अनि राईले आफ्ना प्रत्येक साहित्यिक रचनामा खज्मजिएका वाक्यहरु मात्र लेखेका छन् । केही उदाहरणहरु हेरौँ :–
१ घुर्पिस र पिपलीका उस्तै काला भाटाहरुले चारपाटे टिनका ती असी नब्बे टुक्राहरुलाई हावादेखि पक्रिराखेको छ । ( रातभरि हुरी चल्यो )
२ ढोकाभित्र जमेको चिसो उज्यालो , बगेर आएको कालो सडक , आकाशमा बलेका ताराका दानाहरु , उसले हिँड्दै सबै हेर्यो । ( ब्ल्याक आउट काजु बदाम र छोरा )
३ सल्कन्छु समातेर आगो , जीवनभरि समातेर आगो , निभ्छु आगो समातेर खोला त्यो बहँदो लप्को , शीतल ज्वालो । घर आगो । समातेर आगो सर्छ जूनकीरी । पूर्वजन्म आगो । महाआगो महाशून्यको । ( कठपुतलीको मन )
दोस्रो भाषाका वक्ताहरु पूरा वाक्य प्रयोग गरेर भन्दा केही शब्दहरु प्रयोग गरेर नै काम चलाउँछन् । यस्तो पहिलो भाषाका प्रयोग कर्ताले पनि बोल्छन् । पस्किदिएर “ तपाईँ भात खानुहोस् । ” भन्नका सट्टामा “ खानुहोस् । ” मात्र भने पुग्छ । तथाति बाध्यताले बोल्नु पर्दा दोस्रो भाषका वक्ताहरुले केही शब्दहरुले मात्र काम चलाउँछन् । राईले पनि त्यसै गरेका छन् । उदाहरण हेरौँ :– “ तिमी तिनै ज्ञानहरु ? दुःखहरु अनुभवभरि । म यिनै अनुभवहरु ....................चेतनाहरु कामनारु । हामी यिनैहरु ? कहाँ रहेछु र म ? बग्नै परेको जल , जल्नै परेको आगो , बहनै परेको वायु । जानौँ निमित्त मात्र छौँ ..........कहाँ रहेछु र म ? छैन र छैनमा पूर्ण पुग्नु छ । ”
कसैले ऐँसेलुको पात छाम्न लगाए नेपाली मातृभाषी समुदायको मूल वक्ताले “ एकतिर खस्रो र अर्कोतिर चिल्लो छ । ” भन्छ । राई मातृभाषी समुदायमा दोस्रो भाषा नेपाली अपनाएर बोल्ने वक्ताले यसैलाई “ खस्रो–चिल्लो छ । ” भन्छ । यसरी दास्रो भाषका वक्ताहरुले कम शब्दले काम चलाउनुको मुख्य कारण पूर्ण भाषिक ज्ञानको अभाव हो । यसका साथै उनले चिसो उज्यालो , नीलो टाढा,बूढो डर जस्ता एउटै अवस्था वा वस्तुलाई बुझाउन परस्पर विपरीत अर्थ बुझाउने र असार्न्भिक लाग्ने शब्दहरुको प्रशस्त प्रयोग गरेका छन् अनि यसैलाई सम्पूर्णता प्रस्तुत गर्ने भाषा तथा लीलालेखनका लागि आवश्यक भाषा भनी ब्याख्या गरेका छन् ।
कुनै कुरा बताउन आतुर रहेका बेला भाव , विचार र विषयलाई उचित कुरा बुझाउन शब्दहरु ठीकसँग आउँदैनन् । यस्तो अवस्थामा उकुसमुकुस मनबाट अचम्मको संरचनामा शब्दहरु उच्चारित हुन पुग्छन्। यो कार्य पहिलो भाषाका वक्तामा कम र दोस्रो भाषाका वक्तामा बढी हुन्छ । यो अवस्थाको भाषिक रुपका वाक्यहरु राईका रचनामा प्रशस्त पाइन्छन् — “तमास धुवाँको त्यै दैलोभित्र पस्न लागेकी थिइन् ..........चुइँकिदा........”
प्रयुक्त वाक्यले घरमा आगो बाल्दा ज्यादै धुवाँ भएर त्यही धुवाँको मुस्लो बाहिर निस्कँदै गरेको ढोकाबाट उनी भित्र पस्न लागेकी थिइन् भन्ने बुझाउन खोजेको छ ।
दोस्रो भाषाका वक्ताहरु सबैभन्दा बढी उखान तुक्काको प्रयोगमा असमर्थ हुन्छन् । उनीहरु ठक्कर खानुलाई मुखमा खाने चिजका रुपमा बुझ्न सक्छन् । तर्नु शब्दलाई खोलासँग सम्बन्धित रहेको बुझेका उनीहरुले “आँखा तर्यो ” को अर्थ खालापारि हेर्यो भन्ने लगाउन सक्छन् । यस्तो सामूहिक असमर्थतालाई पनि इन्द्रबहादुर राईले आफ्ना रचनामा जस्ताको तस्तै रुपमा प्रस्तुत गरेका छन् । गुरुप्रसाद मैनालीले प्रयोग गरेको “ ज्ञान जानेर आउँछे भने छदैछ , लिन त पोडे भए जाउँला । ” भन्ने वाक्यलाई आधार बनाएर ज्ञानलाई पाउने चिजका रुपमा नभएर जान्ने चिजका रुपमा व्याख्या गरिएको छ ।
ज्ञान जान्नु पद झट्ट सुन्दा त्यति स्वभाविक लाग्दैन । परम्परागत नेपाली भाषिक बनावटमा ज्ञान पाउनु नै भए पनि नेपाली भाषालाई दोस्रो भाषाकका रुपमा अपनाउने समुदायमा एउटा शब्दलाई अर्को शब्दका सादृश्यमा राखेर ज्ञान जान्नु प्रयोगमा आयो । त्यसैलाई जस्ताकै तस्तै टिपेर गुरुप्रसाद मैनालीले परालको आगो कथामा प्रयोग गरे । त्यसैका आधारमा इन्द्रबहादुर राईले उनकै शब्दमा नेपाली भाषाको भाषिक बनावटकै बिनिर्माण गरेका छन् । अनि उनले उखान तुक्काको यस्तै रुपको अधिक प्रयोग गरेका छन् । जस्तै :— आँशु रोयो , दाँत रमायो , सुन्दर हेर्यो , खुसी हाँस्यो , आवाज करायो आदि ।
गएछ , खाएछ , गरेछ आदि अज्ञात भूतका क्रियापदका सादृश्यमा थिएछ , हुएछ जस्ता शब्दहरु किराँत राईभाषी समुदायमा दोस्रो भाषा नेपाली बोल्ने वक्ताहरु प्रयोग गर्छन् । त्यसलाई पनि इन्द्रबहादुर राईले आफ्नो लेखाइमा प्रशस्त मात्रामा प्रयोगमा ल्याएका छन् । जस्तै :– “ काम दाम चैँ तिम्रो थिएनछ । ” ( कठपुतलीको मन )
यसरी एउटा शब्दका सादृश्यमा निर्माण भएको अर्को शब्द जसको प्रचलन छैन । त्यस्ता शब्दहरु राईले ठाउँ ठाउँमा प्रयोग गरेका छन् । केही उदाहरण हेरौँ :—
१ जनकको एउटा फाटो मनिल्लो तलामा टाँगिएको छ ।
२ उसलाई भय लाग्यो । ( आज रमिता छ पृ—३९ )
३ विस्तार विस्तार उदाङ्गो राखिएको दैलोबाट दूरस्थ दिशातिर फुस्रो उज्यालो बढेको देखियो । ( आज रमिता छ पृ — १ १४ )
४ सुहाइलो लाग्ने सबै । ( कठपुतलीको मन )
यसरी उनले एकअर्कासँग असान्दर्भिक लाग्ने चिसो–उज्यालो , नीलो–टाढा , बूढो–डर जस्ता शब्दहरुको प्रशस्त प्रयोग गरेका छन् ।
किराँत राईभाषा र नेपाली भाषाका वाक्यको पदक्रम फरक किसिमको छ । राई समुदायमा नेपाली भाषालाई आफ्नो मातृभाषाको संरचनाअनुकूल बनाएर बोलिने हुनाले नै उनीहरुले बोल्ने नेपाली भाषाका वाक्यका पदक्रम मिल्दैनन् । त्यही समुदायमा हुर्किएका उनले पदक्रम नमिलेका अप्रचलित ढाँचाका वाक्यह्रु प्रशस्त प्रयोग गरेका छन् । कठपुतलीको मनबाट केही उदाहरण हेरौँ :—
१ गाग्रो फुटेर पानीको छताछुल्ल भो ।
२ कुरा बढ्दै कुन दिन मट्टीतेल खन्याएर मान्छेको आगो सल्काउनु बेर छैन ।
३ जानु रमाएको हल्लाहरु गर्दै थियो ।
४ चामे हेरिरहेको छ अघिल्तिरलाई ।
५ नबोली उभिरहेका भयौँ केही क्षण ।
किराँत राई भाषा र नेपाली भाषाका बीच लिङ्ग , वचन , पुरुष , काल , भाव , वाच्य , आदर आदिजस्ता व्याकरणिक धारामा फरकपन पाइन्छ । त्यसैले किराँत राईभाषी समुदायमा बोलिने नेपाली भाषाका वाक्यमा पदसङ्गति मिलेको देखिदैन । इन्द्रबहादुर राइले त्यही भाषिक रुपलाई जस्ताको तस्तै आफ्नो साहित्यिक लेखनमा प्रस्तुत गरेका छन् । पदसङ्गति नमिलेका केही वाक्यका उदाहरण हेरौँ :—
१ मेरो माइली छारीको विवाह छ ।
२ दिदी चैँ क्यानडा पुगेको छ ।
३ उठ्दा , खाँदा , सुत्दा नौमती बाजा बजाइदिनुपर्छ । बाजा नबजाइदिई हाम्रोहरुले खाँदैन । बाजा नबजाइदिँदा लोकन्दीहरुले पूरा दण्ड गर्छ ।
नेपाली भाषाका औपचारिक रुपका प्रयोगकर्तालाई निकै जटिल लाग्ने यस्तो भाषिक रुपको राईले स्वत स्फूर्त रुपमा प्रयोग गरेका छन् । उनले आफ्नो समुदायबाट नै यस्तै भाषिक प्रयोगमा अभ्यस्तता हासिल गरेका हुन् । त्यसलाई नै लीलालेखनका लागि आवश्यक भाषा भनेर व्याख्या गरी आफ्नो लेखनलाई निकै सहज बनाएका छन् । त्यसैलाई सबैले पत्याएपछि उनलाई लेखनमा व्याकरण , वाक्यगठनेखि लिएर लेखनशैलीसम्म नमिलेको भन्ने कुनै चिन्ता लिनु नपरेको देखिन्छ ।
लीलालेखनमा धारणा र विचारको लीलालाई समेटेर “ सर्वे सर्वाय वाचका ” अर्थात् सबैसबै अर्थका वाचक भन्ने सिद्घान्तलाई मूल आधार बनाइएको भनिएको छ । यो “ब्रह्म सत्य जगत् मिथ्या ”भन्ने पूर्वीय दर्शनबाट प्रभावित छ । हामी जेलाई सत्य मानेर पत्याइरहेका छौँ त्यो सत्य नभएर भ्रम मात्र हो भन्ने राईले साहित्यले पनि यथार्थको भ्रम प्रस्तुत गर्नुपर्ने बताएका छन् ।
वस्ततथ्य यथार्थलाई भन्दा वस्तुले व्यक्तिका मनमा उत्पन्न गर्ने प्रतितिलाई नै सत्य मानिएको हुनाले यसमा वस्तुप्रति व्यक्तिको बुझाइ फरक हुन्छ । यस्तो प्रतिति उत्पन्न गर्ने भाषिक प्रस्तुति पनि फरक किसिमको हुनुपर्ने कुरा राईले बताएका छन् । भाषिक विनिर्माणले व्यक्तिलाई आफ्नो अनुकूलताअनुसारको तथ्य बुझ्न सजिलो बनाउने धारणा व्यक्त गरेका छन् । अनि साहित्यमा उनले जस्तो प्रकारको नेपाली भाषाको भाषिक रुपको प्रयोग गरेका छन् त्यसलाई नै लीलानुसारी भाषा भनी व्याख्या गरेका छन् ।
“ सबै सबै स्वार्थको जड व्यक्तिगत स्वार्थ नै हो ।” भन्ने इन्द्रबहादुर राईले लीलालेखनको भाषिक रुपको व्याख्या यसरी गरेका छन् कि त्यसको गुदी कुरका बारेमा कसैलाई सोच्ने मौका नै दिएका छैनन् । उनी भन्छन् “आफूलाई हुँदो , आफूलाई मनपर्दो र आफूलाई चाहिएको अनुसार विषयको उपयोग गर्छ जसले पनि ।” यसरी उनले यस्तो भाषिक रुपको किन प्रयोग गरेको हो भनेर सूचना पनि दिएका छन् र आफ्नो इमान्दारिता पनि प्रस्तुत गरेका छन् ।
“आफ्नो रुप परिवर्तन गर्दै , छक्याउँदै , भ्रम उत्पन्न गर्दै , जस्तोहरु– झैँहरु बनाउँदै अघिबढिरहन बाध्य छ जीवन । ” भनेर राईका विचारप्रति बलियो समर्थन जनाउने कृष्ण धरावासीले प्रयोग गरेको भाषा त्यस्तै प्रकारको नै रहेको छ । धराबासीको मात्र नभएर दान खालिङ , लेखनाथ भट्टराई , शिव प्रणत , रत्नमणि नेपालदेखि लिएर खोलाघरे साहिँलासम्मले नै राईले भनेझैँ सत्यको प्रतिति उत्पन्न गर्ने त्यही लीलानुसारी भाषाकै प्रयोग गरेको देखिन्छ ।
इन्द्रबहादुर राईले लीलालेखनका लागि आवश्यक रहेको भाषा भन्दै व्याख्याको जलप लगाएर आफ्नै किराँत राई मातृभाषी समुदायमा बोलिने नेपाली भाषाको रुपलाई प्रस्तुत गरेपछि सबै लेखक र समालोचकहरु अल्मलिएका रहेछन् । अनि राईकै भाषामा “ हामी जेलाई सत्य भनेर पत्याइरहेका रहेछौँ त्यो सत्य नभएर भ्रम मात्र पो रहेछ । ”
यो लेख पढेर इन्द्रबहादुर राईको लीलालेखनका अनुयायीहरुमा पीडाबोध हुनसक्छ । यसलाई पहिले नै बुझेझैँ लीलालेखनका अनुयायी र स्वयम् व्याख्याता कृष्ण धरावासीले मधुपर्क २०५२ भाद्रको समालोचना अङ्कको देखेको सत्य लेख्नु लीलालेखन शीर्षकको लेखमा “यथार्थ पीडादायी छ । ” भनेर सम्झाइसकेका छन् ।
टुङ्ग्याउनी
म यो अति रोचक संयोगबाट प्राप्त तथ्यलाई पुष्टि गर्ने सबल आधारहरु भेटेर रोमाञ्चित भएको भएँ । अनि मलाई इन्द्रबहादुर राईले मनमनै लुकाएको यो अति गोप्य तथ्य , रोचक संयोगबाट सार्वजनिक खोलुवामा परेको कुरा स्वयम् उनको जीवन कालमै उनीसम्म पुर्याउन निकै हतार लागेको थियो । साहित्यकार वीरभद्र कार्की ढोलीले मलाई उनको सम्म पुर्याएका थिए ।
यो पढेर उनी अचम्म मिश्रित खुसीमा एकपटक मुस्कुराए । अनि एकछिन आँखा चिम्लिएर बेहोसीमै भने “अहो ! क्या अचम्मको लीला ।” उनी तत्कालै आँखा खोलेर झस्किए । त्यसपछि पुरै समालिएर आफ्नो पुरानै शैलीमा छोटो प्रतिक्रिया दिए् “लीलालेखनमा अनेक दृष्टिबाट तथ्य खोज्न खुला छ । तर जुनसुकै दृष्टिले हेरिपठाएर तथ्य झिके पनि नेपाली साहित्यमा स्थापित भइसकेको मान्यता अब उल्टिँदैन । ” एकछिन मौन रहेपछि त्यसरी भ्रममाा पारिएको होइन भन्ने अर्थमा फेरि भने , “ज–जसले जे–जे बुझोस् मेरो क्यै आपति छैन , बुझोस् आफू आफूलाई हुँदो कुरा । ” ( कठपुतलीको मन )
नेपाली साहित्याकाशका मुर्धन्य साहित्यकारका रुपमा स्थापित साहित्यकारको निधन भएको निकै समय बितिसकेको छ । उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
इलाम