पत्रकारले बिहानै फोनमा चाल पायो कि शहरमा एकाबिहानै ट्रकले मान्छेलाई किचेछ। अब उ जर्याक जुरुक उठ्नै पर्ने भयो। उठ्यो । पत्रकारको धर्म हो घटनालाई बेलीविस्तार लगाएर जनतासमक्ष पुर्याउनु। पत्रकार त्यो पनि अहिलेको डिजिटल युगको । उसले समाचार सर्वप्रथम विस्तार गर्न पाउनुपर्छ । यो कुराको सचेतना घटनाभन्दा महत्त्वपूर्ण हुन्छ ।
ट्रकले मान्छे किचेको ठाउँमा पत्रकार पुग्दा किचिएको मान्छे र किच्च्याउने ट्रक दुवैले आफ्नो काम सकेर बसेका थिए। ड्राइभर पनि उपस्थित थियो। किचिने मान्छे पनि उपस्थित त थियो तर मृत।
मृतकका आफन्त आइपुगेका थिएनन् । यही मौकामा केही कुरा ड्राइभरद्वारा जान्ने र त्यसलाई समाचार बनाउने ठान्यो पत्रकारले। ड्राइभरले आफ्नोतर्फबाट त्यो मान्छेलाई बचाउने भरिसक्ये प्रयास गरेकै हो तर मान्छे मातेको रहेछ र धर्खरिएर आफैँ ट्रकका चक्कामुनि परेर मरेको हो भनी जनायो ।
अब भने बिहानै त्यो मान्छेले कहाँ पायो त मात्ने कुरा? यो पत्रकारका लागि महत्त्वपूर्ण भयो। मृतकको छाद सुघ्ने काम पनि पत्रकारले गर्यो । घिन मान्नु भएन पत्रकारले। अनि उसले एकाबिहानै दोकान खोलेर प्रशासनलाई नटेर्ने रक्सी व्यपारीलाई पनि संज्ञानमा लिनुपर्ने ठान्यो। यसमा प्रशासनिक विफलता पनि एउटा पक्ष थियो । सबैलाई समेटेर उसले समाचार बनायो र फोटोसहित पोष्ट गर्यो । सबैभन्दा पहिले समाचारलाई सबिस्तार पेश गरेकोमा उसले आनन्द अनुभव गर्न थाल्दैथियो त्यहाँ अचानक केही राजनीतिक कार्यकर्ता हाजिर भएर फोटो खिच्ने काम सम्पन्न गर्नथाले। मृतकको गलबन्दी, जुन लगाएरै उ मृत बनेको थियो त्यो राजनीतिक दलको झण्डा थियो ।
अब ट्रक ड्राइभर कुन दलको हो त? अनुसन्धान गर्नैपर्ने भयो । दुर्भाग्य के भइदियो भने ट्रक पुछ्ने टालो पनि अर्को राजनीतिक दलको झण्डा नै रहेछ। घटना राजनीतिप्रेरित हुनलाई पनि मनग्ये भयो।
अहिलेसम्म मृतकका आफन्त आइपुगेका छैनन् । पुलिस आए र आफ्नो काम गरिसकेर ट्रक हटाउने र ड्राइभरलाई हिरासतमा लिने काम गरे। मृतकलाई पनि सडकको किनारामा लगियो।
यी सबै घटना भइसकेपछि यो घटनालाई लिएर अब विभित्र राजनीतिक दलको पत्रकार सम्मेलन हुनु निश्चित भयो। यसको कभरेज लिनुपर्ने दायित्व पनि पत्रकारकै भयो।
मृतकका आफन्त कतिबेला आएर आफ्नो दायित्व पूरा गर्लान् कि नगर्लान् यही यो कथाको मुद्दा रह्यो ।
अहिले अरू सबै आफ्नो दायित्व निर्वाह गर्न व्यस्त छन्।