बाँझो जग्गा मलजल गरी उर्वरा पार्नुपर्छ ।
यै माटोमा सुन न सुनको स्वर्गको पूmल झर्छ ।
खाली राख्ने नगर धरती बृक्ष रोपी सिँगार ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
हाम्रो पानी सलसल बगी त्यत्तिकै खेर जाने ।
बल्थे बत्ती झलमल गरी तारमा तान्न जाने ।
चाँडै ल्याऊ प्रविधि गहिरोसँग धेरै पढेर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
दोस्रो ठूलो जलनिधि छ रे ! उठ्छ हाँसो मलाई ।
सेखी गर्छौ गजब ! नबुझी नाक लामो बनाई ।
हाम्रो ऊर्जा दिनदिन गयो खाडितर्पैm बगेर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
हाम्रो लामो विगत छ युवा वीर योद्धा लडेको ।
अग्ला अग्ला गिरि शिखरमा शूर शेर्पा चढेको ।
गर्दै जाऊ अनुसरण लौ कीर्ति नौलो थपेर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
हाम्रो अग्लो शिर शिखरको विश्वले मान गर्छ ।
हुन्छौं हामी गदगद सधै हर्षले सान भर्छ ।
जाला है गौरव पनि गुमी फाल फोहोर सारा ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
हाम्रो माटो पनि कम छ के हेर खोस्रेर भित्र ।
हज्जारौँ छन् खनिज झिकने यत्न को गर्छ मित्र ?
पक्कै गर्छौ सुखदुख यही देशभित्रै रहेर ।
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।
वास्ना खोज्दै परपर पुग्यो कस्तुरीले चिनेन ।
आफ्नै भाका मधुर सुरिलो बाँसुरीले बुझेन ।
हाम्रो जस्तो अरु मुलुकमा तत्त्व के मिल्दथ्यो र ?
मेरा प्यारा युवक बलिया देशका कर्णधार ।।