चार जना छाेरीपछि बल्ल धनप्रसादलाई पुत्र लाभ भएकाे छ । त्यसैले पनि उनका भुइँमा खुट्टा छैनन् । अस्पतालमा नर्सहरूले तपाईँकाे छाेरा जन्मियाे भनेर सूचना दिएकाे करिब दश मिनेट भयाे हाेला उनले लगभग सुनाउनुपर्नेजति सबैलाई खबर सुनाइसके । अब सुनाउन बाँकी काेही छन् कि एकैछिन साेच्न नपाई उनकाे ध्यान छाेराकाे नामकरणमा गएर जाेडियाे ।
धनप्रसादकी पत्नी रीतामा पनि छाेराकाे जन्मले अन्तरहृदयदेखि नै गर्वकाे अनुभूति भइरहेकाे थियाे । साथै उनले अब परिवारमा आफू पनि अरूसमानकाे अधिकार र सम्मान पाएर बस्न पाउने कुराले अझ सन्तुष्ट भइन् । नहुन् पनि कसरी दुई छाेरीकाे जन्मपछि उनले त्यस घरमा बिताएका हरेक पल उनलाई मात्र थाहा छ । अब उनी घरमा साैता नआउने कुरामा ढुक्क भएकी छिन् । किनकि यसपटक पनि छाेरी नै जन्माई भने छाेरालाई जसरी पनि अर्काे विवाह गराउँछु भन्दै उनकी सासू लागेकाे कुरा रीतालाई राम्ररी थाहा थियाे ।
उता अस्पतालमा नाति जन्मेकाे कुरा सुनेदेखि कालुप्रसादका पनि खुसीले सर्वाङ्ग नाच्न थालेका थिए । बुहारीकाे अवस्था कस्ताे छ भन्ने भन्दा पनि उनलाई पहिलाे नाति, आफ्नाे वंशवृक्ष ! यसकाे नाम चाहिँ के राख्ने भन्ने कुराले सताउन थालेकाे थियाे । तर उनले याे कुरा कसैलाई नभनी मनमनै साेचिरहेका थिए । उनलाई आजभाेलिकाे नाम राख्ने चलन राम्ररी थाहा थियाे । त्यसैले पनि उनी नातिकाे नाम चाहिँ आफ्नै नामबाट जुराउने दाउमा लागेका थिए ।
उता कालुप्रसादकी पत्नी दुर्गा पनि कम बाठी थिइनन् । त्यसमा पनि घरकी मूल नारी, रीताकी सासू उनकाे छाँटकाँट नै अर्कै थियाे । उनी धेरथाेर पढेकी पनि थिइन् । त्यसैले उनकाे पनि साेच नातिकाे नामकरणमा नै रहेकाे थियाे । उनी पनि नातिकाे नाम आफ्नाे नामकाे पहिलाे अक्षरबाट नै राख्ने साेचमा थिइन् ।
अस्पतालले बिदा दिएछि धनप्रसादले पत्नी र छाेरालाई लिएर घर पुगे । घर पुगेपछि कालुप्रसाद र दुर्गा नाति हेरेर मख्ख पर्दै याे काेजस्ताे छ भनी लख काट्न लागे । यत्तिकैमा कालुप्रसादले आफ्ना मनमा खेलिरहेकाे मुख्य कुरा खाेले । नातिकाे नाम चाहिँ के राख्ने ? घरकाे पहिलाे नाति यसकाे नाम त मेरै नामका अक्षरबाट बनाउनुपर्छ । अहिलेकाे चलन पनि यस्तै छ ! उनकाे कुरा भुइँमा खस्न नपाई दुर्गाले भनिन् ‘‘कहाँ तपाईँका नामबाट हुन्छ ? नातिकाे नाम त मेरै नामबाट राख्नुपर्छ । अब पनि हरेक कुरामा तपाईँहरूकाे हक लाग्छ ? बाआमाका कुराले धनप्रसादलाई अलिक नमज्जा लाग्याे । आखिर छाेराे त मेराे हाे नि ! तर उनी केही नबाेली न्वारनकै समयमा कुरा गर्ने साेचेर बसे ।
घरमा हरेक दिन हरसमय बालककाे नाम के राख्ने भन्नेमै चर्चा हुन्थ्याे । अब त न्वारन नजिकिएसँगै सबैजना आआफ्ना नामबाट मिल्ने गरी नामहरू प्रस्ताव गर्नेसम्म गर्न थालेका थिए । यी सबै बेकारका कुरामा गरेका चर्चा रीतालाई फिटिक्कै मन परेकाे थिएन । एक्लै भेटेका समयमा पतिसँग उनी आफ्नाे असहमति प्रकट गर्थिन् तर जिद्दी गर्न सक्दिनथिन् । उनमा पनि भित्रभित्र त छाेराे त मैले जन्माएकी हुँ नि यसकाे नाम के राख्ने भन्ने कुराकाे निर्णय त मैले पनि गर्न पाउनुपर्छ भन्ने लाग्थ्याे तर केही बाेल्दिनथिन् ।
नभन्दै आज बालककाे न्वारन गर्ने दिन पनि आइपुग्याे । पुराेहित न्वारन गर्नका लागि आइपुगिसकेका थिए । उनले यसाे पात्राे पल्टाएर मात्र के बसेकाे थिए, कालुप्रसादले आफ्नाे मनकाे कुरा प्वाक्क खाेले । लाै है गुरु, त्यहाँ नाम जेसुकै जुरे पनि नातिकाे नाम चाहिँ मेरै नामबाट मिलाएर राख्नुपर्याे । कालुप्रसादका कुरा भुइँमा खस्न नपाउँदै दुर्गा आएर उसैगरी नाम चाहिँ जसरी पनि मेरै नामबाट हुनुपर्छ भनेर अड्डी कसिन । अब त चुप लागेर भएन केही बाेल्नै पर्छ ठानेर धनप्रसाद पनि पुराेहित नजिक पुगेर छाेराे त मेराे हाे है गुरु नामकरण गर्दा आजभाेलिकाे चलनअनुसार बालकका बुवाआमाकै नामलाई मिलाएर राख्नुपर्छ भन्दै आफ्नाे राय प्रस्तुत गरे । सबैका कुरा सुन्दा पुराेहित फसादमा परिसकेका थिए । अब त्यस्ता शब्द कहाँबाट खाेज्ने ? याे एउटा बालककाे नाम कतिओटा राख्ने ? कसलाई नजिक कसलाई परकाे मान्ने ? हरे शिव ! अझ त्यसैबिचमा धनप्रसादकी बहिनी नवीना आएर भाइकाे नाम त त्यस्ताे पुरानाे शैलीकाे राख्नु हुँदैन है भन्दै भाइकाे नाम कुनै बलिउड वा हलिउड फिल्मका हिराेकाे अथवा अरू कुनै चर्चित विदेशी व्यक्तिकाे नाम नै राख्नुपर्ने राय प्रस्तुत गरिन् । पुराेहितलाई झन् फसाद पर्याे । अहिलेसम्म एउटा नेपाली फिलिम त नहेरेका पुराेहितले यस्ताे विदेशीकाे नाम कसरी सम्झेर भनून् । नवीनालाई यस्ताे नाम चाहिँ आफैँ भन है नानी मलाई आउँदैन भन्दै पन्छाइदिए ।
नामकरणका विषयमा चलेकाे गलबादी चलि नै रहेपछि पुराेहितले गम्भीर भएर साेचे । अब यसरी हुँदैन । कुराे केही त गरेर मिलाउनै पर्छ । फेरि सबै आफ्नै नामबाट राख्नुपर्छ भन्छन् । कसका नामबाट सुरु गराऊँ ? साेच्दै ज्याेतिषशास्त्रअनुसार नाम जुराउन थाले । घरकाहरू आफ्नै नामबाट नाम रहनुपर्छ भनी अड्डी कसी नै रहेका थिए ।
नाम ‘ध’ बाट जुरेछ । पुराेहितलाई केही राहत मिल्याे । नाम जुरेकै शब्दबाट राख्नुपर्छ । उनले ठाने । स्वतन्त्र भएर नाम राख्न त थुप्रै शब्द थिए ‘ध’ बाट - धनञ्जय, धर्मराज आदि राख्दा पनि हुने थियाे । तर, यहाँ त्याे अवस्था नरहने उनले बुझिसकेका थिए । यहाँ त सबैकाे नामकाे अक्षर पनि चाहिने अनि नाम पनि सामान्य हैन ‘एक्स्ट्रा’ नै हुनुपर्ने ! सबै जना आआफ्ना अड्डी कसी नै रहेका थिए । पुराेहितले सबैलाई सम्झाउँदै एक प्रस्ताव राखे । उनले भने, ‘‘अब सबै जनाकाे नामका अक्षरबाट नाम जुराउन सकिँदैन । एउटाका बाट जुराए अर्काे रिसाउने अर्काका बाट जुराए अर्काे रिसाउने । त्यसैले बरु जुन अक्षरबाट जुरेकाे छ त्यसैबाट सबैकाे नामका अक्षर पर्ने गरी नानीले भनेझैँ एक्स्ट्रा नाम जुराउँछु। जे भए पनि सबैले स्विकार्नुपर्छ है । पछि कसैले नाइँ भन्न पाइँदैन । हुन्छ ?’’ ‘‘अँ हुन्छ ।’’ दुर्गाले सहमति जनाइन् । साथै पुराेहितका कुरामा सबै जना सहमत भए । सबैले स्विकार्ने प्रण गरेपछि पुराेहित नामकरणतिर लागे ।
पुराेहितले सबैका नामका पहिला अक्षर टिप्दै भने, ‘‘बालककाे नाम ‘ध’ बाट जुरेकाले पहिलाे अक्षर ‘ध’ नै रहने भयाे । पहिलाे अक्षर ध हुने सुन्नासाथ धनप्रसाद खुसीले गजक्क फुले । हजुरबुबा कालुले अनुहार अलिक कालाे बनाए तर केही पनि बाेलेनन् । अब त्यसैगरी अरूका पनि नामका पहिला अक्षर मिलाउँदै जाँदा पुराेहितले ‘धन्दुकारी’ शब्द फेला पारे । यसाे हेरे, यसमा त घरका सबै जनाकाे नाम पनि पर्याे र शब्द सामान्य पनि भएन । गाली गर्नबाहेक याे नाम कसैले राख्दैनन् । फेरि आफ्नाे नाम नै यही भएपछि उसलाई याे शब्दले गाली गरे पनि गाली लाग्दैन । ठिक छ यही राखिदिन्छु । पुराेहितले साेचे र भने, ‘‘अब बालककाे नाम मैले जुराएँ । तपाईँहरू सबैले साेचेअनुसारकाे नाम बनाउन त सारै गाराे पर्याे तापनि एउटा नाम भने जुरेकाे छ । सायद भगवानले पनि सुनेछन् कि क्या हाे ! आखिर नाम निस्कियाे । सबैले स्विकार्ने हैन त ? पछि नाइँ भन्न पाइँदैन नि ।’’ सबैले सहमति जनाएपछि उनले बालककाे नाम ‘धन्दुकारी’ उद्घाेष गरे ।
सबै जना नाम के रह्याे कस्ताे भयाे भन्नेतिर भन्दा पनि आफ्नाे नामकाे अक्षर कहाँ पर्याे भन्नेमै साेचमग्न भए । सबैले केही नसाेची सुरुमा त खुसीले गदगद हुँदै ‘हुन्छ’ भने । तर, केही बेरपछि कालुप्रसादले पुराणकाे कथा सम्झेछन् क्यारे । अलिकति नातिकाे नाम नमिलेकाे हाे कि भन्ने कुरा गरे तर पहिले नै यही नाम हुनुपर्ने अड्डी कसेका र पुराेहितले भनेकाे नाम स्वीकार गर्ने वाचा पनि गरिसकेकाले केही बाेलेनन् । दुर्गाका मनमा पनि याे कुरा त पर्याे तर खाेल्न चाहिनन् ।
चार जना छाेरीपछि बल्ल जन्मेकाे हर्षकाे नातिकाे नाम आफ्नै हठले गर्दा ‘धन्दुकारी’ भएकामा उनीहरू मनमा चाहिँ सन्तुष्ट हुन सकेनन् । कालुका मनमा ‘यसले नामजस्तै काम गर्याे भने ?’ भन्ने कुरा कता कता चसक्क बिझ्न थाल्याे । तर उनी केही नबाेली नातिकाे नाम ‘धन्दुकारी’ नै स्विकार्न विवश भए ।