माड्सापहरू खाजा खान पुग्दा होटलमा एउटा अपरिचित व्यक्तिलाई घाम तापेर खाटमा सुतिरहेको देखे । उनीहरूलाई देखेर झटपट उसले ठाउँ छोडिदियो र खाटको छेउमा बस्यो । मास्टरहरू चिया खाजा खाउन्जेल आफ्ना गफ गर्दै ठट्टा गरिरहेका थिए । त्यो नौलो अनुहारलाई त्यसअघि त्यहाँ कसैले देखेका थिएनन् । एउटाले उसप्रति जिज्ञासु भएर परिचय सोध्यो ।उसले नाम ठेगाना केही नबताई गौशालाको कर्मचारी हुँ, यहाँ गाडी नपाएर बसेको; भोलि बिहान जाने विचार छ भन्दै गाईको गोबरको आयुर्वेदिक साबुन बनाउनेसम्मको फुर्ति लगायो । कुखुराको बँधिया बनाउने गफ सुनेपछि एउटा मास्टरले त हाम्रो गाउँमा पनि जाउँ न भन्ने प्रस्ताव पनि राखे ।
गाउँघरको सामान्य होटलमा उसले मासुभात टन्न खायो अनि बडो फुर्तिसाथ गफ गर्दै रिटायर हुन दुई वर्ष बाँकी छ भनी अरु मानिसहरूलाई पनि विश्वास दिलायो । साँझ मास्टरहरू घुम्दै जाने क्रममा उसले बिरामी कुकुरको उपचार गरिरहेको देखे । गौशालामा बिरामी भएका गाईको उपचार गर्ने मैले नै हो । बाख्रा, कुखुराको भाले आदिलाई खसी बनाउने पनि गर्छु । यता आउँदा सामान नल्याएर मात्र हो । कसैले नसोध्दा पनि ऊ बोलिरहेको थियो ।
साँझको खाना खाने बेला एक प्लेट सुकुटी र रक्सी खायो । भोलि खाना खाएर मात्र हिँड्छु । अहिलेलाई थोरै भए पुग्छ भनेर सुकुटी र रक्सी थप्यो । साँझमा खाना खानै मन लाग्दैन होटलकी साहुनीलाईभन्यो । कोठाको भाडाको बिल एक हजारको बनाइदिनुहोला है दिदी मलाई संस्थाबाट पैसा आउँछ भन्दै सुत्न गयो ।
भोलिपल्ट खाजा खाने बेला मास्टरहरूलाई होटलकी साहुनीले सुनाइन् – ‘हेर्नुस् न सर ! त्यो हिजको भेटनरीवाला त कतिखेर उठेर गएछ थाहै भएन । साढे नौ बजेसम्म पनि नउठेकोले मलाई डर लागेर केटालाई हेर्न पठाएको त कोठा रित्तै ! कहाँ गएर कुटाइ खान्छ । त्यत्रो सुकुटी र रक्सी खाएर भाग्यो ।‘
चियाको चुस्की लिँदै माड्सापहरूले आआफ्ना तर्कहरू राख्न थाले । होइन, मान्छे त खत्रै रहेछ; हामी जस्ता मास्टर हौँ भन्नेहरूलाई पनि जिल्ल बनाइदियो त ! एउटाले खिन्नता प्रकट गर्दै भन्यो । ठग रहेछ । एउटाले सजिलै भन्यो । होइन जासुस पनि हुन सक्छ । अर्काले थप्यो । मलाई त शङ्का लाग्छ यहाँ तास पनि खेलाउने हुनाले सिभिल ड्रेसमा आएको पुलिस पनि हुन सक्छ । अर्काले आफ्नो विचार पोख्यो । आखिर यी सबै शङ्का मात्र थिए । वास्तविकता कसैलाई थाहा थिएन ।
फोक्सिङ