17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ब्रह्माण्ड र मानव

कविता गोपालसिंह विश्व December 19, 2021, 6:11 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

सत्यको खोज गर्दछ सदैव विज्ञान
ब्रह्माण्डको महाविस्फोटबाट
आएका थिए अस्तित्वमा
पदार्थ, उर्जा र दिक्कालहरू
विज्ञानको मान्यता यो,
र त्यही कालविन्दुको कलिलो पाइलासँगै
सुरु भएको थियो
अन्तरिक्षको अथाह शुन्यतामा
एउटा महा-यात्रा
सृष्टि र विकासको।
उत्पत्ति भएका थिए
सुक्ष्म, अतिसुक्ष्म आदि कणहरू
हाईड्रोजन, हिलियम
इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन
क्वार्क, फोटोन, बोसोन
अतिसुक्ष्म अणु-परमाणुहरू
पदार्थ प्रतिपदार्थहरू
विशाल उर्जा
र बनिँदै गए ब्रह्माण्डमा
असङ्ख्य सुर्य ताराहरू
आकाशगङ्गा, निहारिकाहरू
र ग्रह उपग्रहहरू
समयको कालक्रमसँगै
पृथ्वी भनिने यस ग्रहमा
जीवन अनुकुल वातावरणको
उपस्थितिबाट
भौतिक सैद्धान्तिकीको
औँली समातेर
आयो अस्तित्वमा
निर्जीवताबाट सजीवता
उत्पत्ति भए
सुक्ष्म अतिसुक्ष्म जीवाणु
असङ्ख्य कोशिकाहरू
छायो हारियाली पृथ्वीमा
फुले जीवनका फूलहरू
बहुकोषीय जीव जलचर थलचर
विविध प्रजातिहरुको विकाशक्रममा
अन्तत: अवतरित भयो मानव
यस धरतिमा
अनि सुरु भयो
अर्को इतिहास
उसको जीवनको गतिको
उसको परिश्रम र पराक्रमको
बुद्धि र कौशलताको ।
अघि बढ्दै गयो उ
आदिम प्रस्तर युग
नव प्रस्तर युग हुँदै
समयको पाइलासँगसँगै
आफ्ना आवश्यकताहरूको
प्राप्ति र खोजमा
समय अनुरुप
गर्दै गयो उसले
नयाँ नयाँ अविस्कार
नयाँ चमत्कार
र कालान्तरमा
ल्यायो उसैले
मानव सभ्यताको विकाससँगै
विविध औधोगिक क्रान्ति
सांस्कृतिक क्रान्ति
ल्यायो आधुनिक युगको महा परिवर्तन
यस अथाह ब्रह्माण्डको
पृथ्वी भनिने क्षुद्र ग्रह
यस संसारमा ।

बाग्राकोट (डुवर्स)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।