18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

किन के ?

कविता ऋषि के.बी. November 20, 2021, 8:50 pm

हे जिन्दगी !
बस् तिमी यस्तै रहेछौ
- नितान्त एक्लो ।

कोही नजिकै रहने
अनि के के गर्छ हेरिबस्ने ।
कोही झुलुक्क देखा पर्ने
र, सुलसुलेको काम गर्ने ।
कोही देखा नपर्ने
मात्र खेदो खनेर
अहम् महानता प्रदर्शन गर्ने ।
कोही मौन बसेर
कहिले यो सिद्दिएला
र, मेरो पालो आउला भनि जपिबस्ने ।

दिन सबैको आउछ,
रात पनि उस्तै ।
अमृतपान कस्ले गरेको छ र ?
मृत्यु आखिरीमा सत्य हो ।

सास फेर्न गाह्रो हुॅदा तर्कि हिड्ने,
मलामी धाउनेछन् ।
जाडोमा एकसरो धागो नदिनेले,
शवमा कात्रो ओडाउनेछन् ।
भोको पेट मृत्युवरण गरेकोमा
गंगाजल चढाउनेछन् ।
जिन्दगी एक मजाक बनाउने,
गोहीको ऑशु बगाउनेछन् ।
बिचरा म !
सबै !
चेत-याद, मान-सम्मान, धन-तन,
ईर्ष्या- घमन्ड, लोभ- लालच सबै त्यागेर
लमतन्न चितामा जल्दै खरानी हुनेछु ।
मसँग केही-कोही हुनेछैन ।
यतिसम्मकि
मसँग 'म' नै हुनेछैन ।

हेटौंडा, मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।