17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यो शहर सिलगढी

कविता गोपालसिंह विश्व October 4, 2021, 3:58 am
गोपालसिंह विश्व
गोपालसिंह विश्व

कुनै कालक्रममा
हाम्रै इतिहासको गढ़ी थियो रे
यो शहर सिलगढ़ी ।
अब त अनुप्रवेशको
शरणस्थल बन्दै
एउटा कुरूप इतिहासको यथार्थ
भयावह अनुहार लिएर
हाम्रो सामु उभिएको छ
यो शहर सिलगढी।
अब जताततै
सत्ताको निम्ति चल्ने तुरुपको पत्ता
एउटा विशेष जमातको बोलबाला छ।
चलिरहेछ ठुलो माछाले सानो माछा
निल्ने प्रक्रिया,
छलबल, कपटचाल, साम-दाम-दण्डभेद
जसको लठ्ठी
उसकै भैंसी, उसकै राज।
अब शक्तिकै निम्ति
प्रयोग गरिने अस्त्रहरूको
एउटा गढ़ भइसकेको छ
यो शहर सिलगढ़ी।
अब यसको अतिक्रमण भइसकेको छ।
हराई सकेका छन् यहाँ
विस्तारै हाम्रा चाउरिएका अनुहारहरू।
उजाड़ पुराना
हाम्रा बस्ती हाम्रा घरहरू।
विस्थापित भइसकेका छन्
सदियौंदेखि रहँदै आएका
हाम्रा बाज्ये-बराज्यु र तिनका सन्ततिहरू।
खोई ? कहाँ छ यहाँ ?
हाम्रो अस्तित्व, हाम्रो चिन्हारी ?
हाम्रो अतीतको त्यो सिलगढ़ी
अब त विस्मृत इतिहासको पन्नाभित्र
मात्र धुकधुकी लिएर बाँचिरहेको छ।
एउटा टिठलाग्दो अनुहार लिएर
मौन शिथिल
मरणासन्न छ बुढ़ो इतिहास
वश्, टकटकी हेरिरहेछ।
अब यसको अपहरण भइसकेको छ।
मेटिन्दै जाँदैछन्
हाम्रा अतीतका पाइलाका डोबहरू।
बिलाउँदै जाँदैछन्
हाम्रा ऐतिहासिक स्थल,
हाम्रो परिचयको ठाउँ-ठहर र धरोहरहरू।
कुनै दिन पुर्खाले
टिस्टामा खुँडा-खुकुरी पखालेको इतिहास
क्रमश: अंग्रेज-नेपाल युद्ध
सुगौली सन्धि, तितलिया सन्धि हुँदै
सिक्किमलाई फर्काइएको यो भूभाग
कालक्रममा
अंग्रेजकै हस्तक्षेपद्वारा
विखण्डित भूभागभित्रको
यो सानो गाउँ
विकाशको गोरेटोमा अनुहार फेर्दै
स्वरुपहरू बदलिँदै आएको सत्य कथा
त्यो पुरानो इतिहासको बाडुलीले
अझै सताई रहेछ हामीलाई ।

हो, यस नगरका
प्रथम नगराध्यक्ष हाम्रै गोर्खा थिए रे
कुनै दिन यहीँबाट निर्वाचित भएका
प्रथम विधायक पनि थिए रे
ती गोर्खासपुत - जर्ज महाबर्ट सुब्बा।
अब ती विस्मृत इतिहासको
पृष्ठभित्र हराइसकेका छन् ।
मल्लहरूको गढ़ मल्लगढ़ी
केशव प्रधानको प्रधाननगर
बाघबीर गुरुङको गुरुङबस्ती
चम्पारानी राईको चम्पासरी
अब सबै सबै दन्त्य कथा भइसकेका छन्।
खोइ ! तिलक मैदानको जमीन
दान गर्ने ती गोर्खा तिलकबहादुर
कता विलाए ती गोर्खे सन्तान ?
गिज्याई रहेको छ आज हामीलाई
त्यहाँ उभिएर
कञ्चनजङ्घा स्टेडियम।
क्रमश: जारी छ अतिक्रमण
अतीतदेखि वर्तमानसम्म।
हाम्रो इतिहासको गढ़ी
यो शहर सिलगढ़ी
अब त नचिनिने भइसकेको छ।
यो शहर सिलगढ़ी
अब अर्कै भइसकेको छ।
यो शहर सिलगढ़ी
अब अरुकै भइसकेको छ।

डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।